निबन्ध : गालीः एक विवेचना

~मोदनाथ प्रश्रित~

कसैमाथि रीसले, ईख(इष्र्या)ले वा कसैलाई हेपेर, घृणा गरेर, उसका दुर्गुण र कमजोरीहरूको भन्डाफोर गर्दै या उसको कुभलो चिताउँदै भावावेशमा व्यक्त गरिने बोली बचनहरूलाई गाली वा सराप भनिन्छ । अरूका कमजोरी र दुर्गुणहरूलाई सभ्य भाषामा औल्याउनुलाई आलोचना या टिकाटिप्पणी भनिन्छ । जुनसुकै समाजमा पनि असल र खराब स्वभावका र अरूको भलो र कुभलो चिताउने दुवै खालका मानिस हुने हुनाले मानिसले स्थिति अनुसार एक अर्काप्रति माया र प्रशंसा प्रकट गर्ने र रीस तथा गाली व्यक्त गर्ने अवस्था हुन् पनि स्वाभाविक हो । मानिस अनेकौं प्रकारका भावनाहरूले भरिएको प्राणी हो । त्यसैले ऊ कहिले खुशी हुन्छ, हाँस्छ र अरूलाई प्रेम र प्रशंसा गर्छ, कहिले रिसाउँछ, रून्छ र अरूलाई रीस, घृणा गरी गाली र सराप दिन्छ ।

हामी कहाँ पनि प्रशंसा र गालीको भाव व्यक्त गर्ने हजारौं शब्दहरू चलनचल्तीमा रहेका छन् । हरेक कुराको सीमा र मर्यादा भए जस्तै प्रशंसा र गालीको पनि सीमा र मर्यादा हुनुपर्छ । कुनै समाज कत्तिको सभ्य र सुसंस्कृत छ, त्यहाँका मानिसहरू कत्तिको विवेकी र परिस्कृत स्वभावका छन् भन्ने कुरा त्यहाँ चलेका प्रशंसा र गालीका शब्दहरूबाट पनि थाहा पाउन सकिन्छ ।

वैज्ञानिक इतिहासकारहरूले वर्गहरूको उदय हुनुभन्दा पहिलेको मानव समाजलाई जंगली र बर्बर (असभ्य) अवस्था भनी वर्गीकरण गरेका छन् । मानव समाज जति जति अघि बढ्छ, उति उति सभ्यता र संस्कृतिमा पनि खारिंदै जाने हुनाले दासस्वामी समाजभन्दा सामन्ती समाज, सामन्ती समाजभन्दा पूँजीवादी समाज र त्यो भन्दा समाजवादी समाज क्रमशः बढी सभ्य र सुसंस्कृत हुँदै जानु स्वाभाविक हो । हाम्रो समाज अहिले ऐतिहासिक विकास प्रक्रिया अनुसार सामन्तवादबाट पूँजीवादतिर संक्रमणको अवस्थामा छ । त्यसैले हामी यसलाई आधा सामन्ती र आधा पूँजीवादी समाज भन्दछौं । तर हाम्रो समाजमा भौगोलिक जातीय र सामाजिक रूप र विकासको क्षेत्रमा ज्यादै धेरै विविधता भएकोले हाम्रो देशका विभिन्न जाति र समूहहरूकाबीच पनि ऐतिहासिक विकासका विभिन्न चरणका विविधताहरू पाइन्छन् । हामी कहाँ कुसुन्डा र राउटे जस्ता पूरै बर्बर या असभ्य अवस्थाका मानिस पनि छन् । चेपाङ जस्तान भर्खर गुफा युगबाट निस्केर सभ्य युगतिर पाइला चाल्न लागेकाहरू पनि छन् । जनजातीय (कविलातन्त्री) युगका अनेकौं अवशेष बोकेका थारू, गुरूङ, तामाङ, शेर्पा आदि जातिहरू पनि छन् । त्यसरी नै बाधा प्रथा, भोटा पथा जस्ता दास प्रथाका अवेशष पनि छन । सामन्तवाद त अझ पनि नेपालको प्रमुख चरित्रकै रूपमा रहेको छ र शहर बजारमा पूँजीवादले पनि हाँगा हाल्दैछ । त्यति मात्र हैन, श्रमिक र श्रमसमर्थक बौद्धिक क्षेत्रमा समाजवादी विचार र संस्कृतिले समेत प्रशस्त प्रभाव बढाउँदै गएको छ । समजाको यस्तै खिचडी अवस्था रहेकोले हाम्रा प्रशंसा र गालीहरूमा उन्नत सभ्यता र संस्कृतिका भन्दा असभ्य र पछौटे समाजका चिन्हहरू बढी भेटिन्छन् ।

हामी कहाँ कसेको, खासगरी ठूलाबडाको प्रशंसा गर्दा पनि दासप्रथात्मक र सामन्तवादी संस्कारले गर्दा एकदमै सीमा नाघेर चाकरी, स्तुतिमा सातांै आकाश नघाउने, अतिशयोक्तिले व्यक्तिलाई अलौकिक स्तरसम्म पु¥याउने आदतहरू पनि छन् भने गालीमा पनि लाज, धैर्य र सामाजिक मर्यादा समेत नाघेर बर्बरता, दासता र सामन्तवादका कुसंस्कारहरूलाई एकदमै नांगो र तल्लो स्तरसम्म उतार्ने बानीहरू पनि छन् । यस लेखमा हामी कहाँ चलेका गाडीहरू कस्ता कस्ता छन्, तिनले कुन युग, समाज र अवस्थाका संस्कार र भावनाहरूलाई व्यक्त गर्छन्, आज तीमध्ये कुन कुनलाई राख्न उचित हुन्छ र कुन कुनलाई छोडेमा मात्र हामी सभ्य र सुसंस्कृत ठहरिन्छौं, त्यसको छोटो चर्चा गरिन्छ ।

यहाँका गालीहरू नातागोता, अश्लीलता, जनजाति, क्षेत्र, शरीरको बनौट, स्वभाव, चरित्र, अन्धविश्वास , वर्ग, लिंग आदिको आधारमा प्रयोग गरिएका पाइन्छन् । तिनका केही नमूना केलाएर हेरौं ।

(१) नातागोतालाई हेपेर, छेपन लगाएर गरिने गाली–त्यो साले÷साली किन ठूलो हुन्छे ?÷ हुन्छ ?, तेरा बाबुको तागत छ भने, तेरा बाबुको छातीमा रौं आएको छ भने, राँडीको छोरा, राँडीको बाहान, सात बाबुको बच्चा, ससुरा, तेरा सात पुस्ता लिएर आ, आमाको पोइ, बाबुको जोई आदि ।

कुनै मानिसले गल्ती गर्छ भने गाली वा आलोचना उसैले पाउनुपर्छ । तर उसका आमा–बाबु, साला, ससुरा, सात पुस्ता आदिमाथि किन हिलो छयाप्ने ? कसैका आमा बाबु, दिदी बहिनी, इष्टमित्र हुन्छन् र सबैको इज्जत प्रतिष्ठा उस्तै हो । “धान खाने मुसो, चोट पाउने भ्यागुतो”हुँदैन । एउटाको गल्तीनिम्नि उसका नाताकुटुम्बले गाली पाउनु सरारसर अन्याय हो र सो गाली गर्ने व्यक्तिको अविवेक र निकृष्ट मनोबृत्तिको परिचायक हो । यसरी नातागोतालाई छोएर गाली गर्ने संस्कार दास मनोवृत्ति र संस्कारको अवशेष हो ।

(२) अश्लील गाली– आमा बाबु र दिदीबहिनी चकारेर, गुप्ताड्डहरू देखाई वा सत्यस्ता संकेत गरी “यो खा” आदि भनेर या तेरो फलानो अंग मेरो यो … जस्तो भनेर, यौनक्रियासँग सम्बन्धित विभिन्न कुराहरूलाई ठाडै फलाकेर, या आमा चकाराइलाई थोरै बड्डयाई “तेरीमा झ्याक्ने, तेरीमा ठास्ने” जस्ता शब्दहरूबाट गरिने गालीहरूलई अश्लील (असभ्य या फोहोरी) गाली भनिन्छ ।

सभ्य समाजको एउटा प्रमुख लक्षण हो–गुप्ताड्डहरू ढाक्नु, रतिक्रियालाई पशुको जस्तो खुल्ला नपार्नु र तीसँग सम्बन्धित कुराहरू पनि (रोग उपचार आदिको अवस्थामा बाहेक) खुला र नांगो इशारा र भाषामा व्यक्त नगर्नु आदि । निरपेक्ष यौन स्वतन्त्रताको स्थिति अति प्राचीन जंगली अवस्थामा थियो । त्यसबेला लुगाफाटो, घर कोठा आदि नहुनाले र मानव चेतना ज्यादै प्रारम्भिक अवस्थामा हुनाले त्यस्तो कुरा स्वाभाविक थियो । त्यसैका अवशेषहरूका रूपमा बर्बर र पछौटे कविला अवस्थासम्म पनि केही खुकुलो यौन सम्बन्ध, अश्लील शब्दहरूको प्रयोगमा छाडापन, कपडाको कमीले जननाड्डहरूको ढाकछोपमा पनि कमी आदि जस्ता कुरा पाइन्थे । समाजले सभ्य र सुसंस्कृत हुँदै जाने क्रममा यस्ता कुराहरूलाई नियन्त्रण र परिमार्जन गर्दै जान्छ । सभ्य समाजका प्रेमी प्रेमिका र पतिपत्नीहरू पनि प्रेम र यौनसम्बन्धी कुराहरूलाई नांगो भाषा र इशारामा हैन, शिष्ट, भावुक, कलात्मक भाषा र हाउभाउबाट प्रकट गर्छन् । अतः जहाँ जति बढी अश्लील गाली र जति छाडा यौनसम्बन्धी इशाराहरू हुन्छन्, त्यो त्यति बढी असभ्य र पछौटेपनको चिनारी हो ।
सभ्य समाजको अर्को लक्षण बाबु, आमा, गुरू र मान्यजनहरूको आदर, मातृजातिको कदर, विद्वान, समाजसेवीहरूको सम्मान, श्रमजीवीहरूको मर्यादा र संसारको चाहे जुनसुकै जाति र क्ष्ँेत्रको मानिस होस् ऊ सित शिष्ट व्यवहार आदि पनि हो । कसैले आमाबाबु, दिदीबहिनी चकारेर तपाईलाई गाली ग¥यो भने कत्तिको रीस उठ्छ र आमाबाबुहरूको प्रतिष्ठानिम्ति, आत्मसम्मानका निम्ति तपाई कसरी जुध्न पुग्नुहुन्छ, के सबैलाई त्यस्तो लाग्दैन र ? त्यसैले यदि हामी आफूलाई सभ्य र सुसंस्कृत बनाउन चाहन्छौं भने हामीले यस्ता जंगली र असभ्य स्वभावका गाली बोलीहरू छोड्नैपर्छ ।

(३) हामी कहाँ थरीथरीका जातजाति र विभिन्न क्षेत्रका निवासीहरूलाई हेपेर, एउटा एउटा नाम जुराएर गाली गर्ने पनि चलन छ । (यसबारे “मिल्काउन पर्ने केही साम्प्रदायिक अवशेषहरू” मा उल्लेख भैसकेको छ ।) तर पनि प्रसंगवश केही कुरा कहाँ कोट्याऊँ ।
थारू, बजिया, लिंडे, डाङग्रे, करेटा, डुम, चमार, सार्की, गाइने, कुसुन्डो, कुमाल, खसेटो, भोटे आदि जस्ता विभिन्न जातजाति वाचक शब्दहरू हाम्रो समाजमा गालीका रूपमा प्रयोग गरिन्छन र अनेकों पेशाका मानिसलाई अछुत भनेर छुनसम्म घृणा गरिन्छ । यी हाम्रँे हैकमी वर्णवादी समाजका ठूला बडा भनाउँदा जातले तल्ला भनिने जातलाई र खास गरी शोषक वर्गले श्रमिक वर्गलाई ह्याउने गरेका परम्पराका अवशेष हुन् । गालीमा यस्ता शब्दहरू प्रयोग गर्नाले ती जातजातिहरूको अपमान हुन्छ । हामील्े सबै जातजातिहरूको उत्तिकै सम्मान र कदर गर्ने प्रजातान्त्रिक संस्कृतिको विकास गर्नुपर्छ । त्यसैले गालीमा यस्ता शब्दहरू प्रयोग गर्ने बानी तुरून्तै छोड्नुपर्छ । त्यसरी नै बाहुनको जातै छुच्चो, चित्तै सानो, नेवार–डरछेरूवा, मगर–लिंडे, कुमाई–फटाहा, कायस्थ–जाली, थारू गोरू, राई–चितुवा, गुरूङ–जाँडे आदि जस्ता सिंगै जातजातिलाई नै छेपन लगाउने गाली, अनि गाउँमा बस्ने मधिसे, पहाडतिर बस्ने पहाडी अािद जस्ता खास खास क्ष्ँेत्र वा इलाका का सारा निवासीहरूलाई आक्षेप लाग्ने खालका गालीहरू पनि बन्द गरिनुपर्छ । यूरोप, अमेरिकातिरका मान्छेले हामीलाई एसियाली पाखे, असभ्य जंगली आदि भनेमा रिस उठ्छ किन उठ्दैन ? त्यसरी नै शहरियाले गाउँलेलाई गंवार भन्दा, नेपालको दक्षिणी भागमा बस्नेले उत्तरतिरका मानिसलाई भोटे, पहाडी भुच्चड भन्दा र पहाडकाले तराईकालाई मधिसे मूलाभन्दा रीस उठ्छ ।

कुनै पनि जातजाति र कुनै खास क्षेत्र वा देशमा बस्ने मानिसहरू न सबै असल हुन्छन् न सबै खराब । असल र खराब मानिस जुनसुकै जातजाति, इलाका र देशमा पनि जन्मन्छन् । अतः सिड्डै जातजाति, कुनै खास क्ष्ँेत्र र देशका सारा मानिसलाई एकै ठाउँमा मुछेर गरिने गाली र नराम्रा भावनाहरूले देश, राष्ट्र र जनतालाई फुटाल्छन् । यस्ता गाली र भावनाका बिउहरू समेत उखेलेर मात्र सारा जनताको र मानवताको बीचमा हार्दिक एकता ल्याउने वातावरण बनाउन सकिन्छ ।

(४) हामी कहाँ कसैको खानपीन, पहिरन, धार्मिक प्रतिक, श्रमका साधन आदिलाई पनि गाली बनाएर प्रयोग गरिने चलन छ । जस्तै– नेवारलाई कोदे, पाडा, (कोदो, कोदाको जाँड र पाडा खाने), पहाडबासी गरिबलाई ढिंडे, पिठे (ढिडो र पीठो खाने), थारू आदि तराईबासीलाई घोंघी (घोंघी खाने), भारतीय मूलका मानिसलाई सतुवा (सातु खाने), जाँड रक्सी खाने विभिन्न जाति र समूहलाई मतवाली आदि जस्ता शब्द या गाली हेपाइको रूपमा प्रयोग गरिन्छ । यसरी नै तराईबासी र भारतीयहरूलाई धोती, धोतीगाँठे (धोती लगाउने), पहाडवासीहरूलाई टोपी (टोपी लगाउने), पहाडी क्षेत्रका भाङग्रो लाउने र गादो पार्ने जनतालाई भाङग्रे, गादे जस्ता शब्दले हेप्न खोजिन्छ । त्यस्तै बाहुनलाई काठा (काठको सुरो समाएर होम गर्ने), पोडे, च्यामेहरूलाई खर्पने (झार बढारमा खर्पनको प्रयोग गर्ने), कुमालेलाई माटे, घैटे आदि जस्ता शब्दले पनि गाली गरिन्छ ।

हाम्रँे देश गरिब छ, सबैलाई भातैभात वा मीठो खाने कुरा पुग्दैन । जुन ठाउँमा जे उब्जन्छ, जे जस्तो पाइन्छ धेरै जसो जनताले त्यही (त्यो पनि आधा पेट) खाएर गुजारा गर्नुपर्छ । यस्तो स्थितिमा हामी प्रशस्त उत्पादन बढाएर सबैलाई पौष्टिक खाना पेटभरी खान सक्ने बनाउन प्रयास गर्ने कि जनतालाई गरिब भनेर उल्टै हेपी उनीहरूको खाने कुरालाई घृणा गरी कोदे, पीठे, सतुवा आदि भन्ने ? यसरी खाने कुराको आधारमा गरिबलाई हेप्ने बानी सामन्ती बानी हो । यस्तो बानीलाई मेट्नैपर्छ । मान्छेले सकेसम्म हावापानी सुहाउँदो कपडा लगाउन चाहन्छ । तराईतिर बढी गर्मी हुनाले धोती फर्ने र पूरै शरीर नढाक्ने चलन छ भने हिमालतिर बढी जाडो हुनाले बख्खु र उनीका न्याना कपडाले पूरै शरीर गम्लङ ढाक्ने चलन छ । बीच पहाडमा मझौला खाले लुगा लगाइन्छ । गरिब जनताले मोटा, खस्रा, फाटेका तुनेका भाङ्ग्रा, बोरा आदि जे पायो त्यही लगाए इज्जत मत्रै ढाकेर गुजारा गर्नुपर्छ । तिनै जनतालाई पहिरनको आधारमा हेप्नु कस्तो पछौटे र हेपाहा दृष्टिकोण हो ? त्यसरी नै कसैको धार्मिक उपकरण वा श्रमका साधनहरूको आधारमा हेप्नु वा गाली गर्नु अनि गरिब र श्रमजीवी जनतालाई बुड्डा, नाड्डा, कछाडे, दाउरे, गोबर, दरिद्री, कंगाल, टुहुरो जस्ता शब्दले हेप्नु पनि आफूलाई अविकसित दिमागको, अप्रजातान्त्रिक र सामन्ती संस्कृतिको दलाल सावित गर्नु नै हो । कोदो, पिठो, सातु आदि खानु, धोती, टोपी लगाउनु, गादो, भाङ्ग्रो भिर्नु, विभिन्न श्रमका साधन प्रयोग गर्नु के कुनै अपराध हो र यसलाई गालीको रूप दिने ?

(५) मानिसको शरीर र त्यसका अड्डप्रत्यड्डको बनोट, छालाको रंग आदिको आधारमा अरूलाई गाली गर्ने चलन पनि हामी कहाँ प्रशस्त पाइन्छ । जस्तै–टाउके, घन टाउके, भुस्तिघ्रे, सिङखुट्टे, बाउन्ने, पुड्के, ग्याँचे, दाह्रे, फालीदाँते, दन्ते, आँखे, मुसाकाने, लाम्काने, कैले, फुस्रे, ध्वाँसे, कुइरे, पित्ले, काले, कलमुखा, घोरमुखा, तिखे, नेप्टे, नाके, बुटुने, लिङलिङे, लाँक्रे, भुँडे, घ्याम्पे, कानो, अन्धो, लँगडो, नकटो, कनकटो, बुच्चो, खुइलो, लुँडी, कुप्रे, बाड्डे जस्ता शब्दले गाली गरिन्छ । मानिसको शरीर, उसको अंगप्रत्यड्ड र रङ के कस्ता छन् त्यो उसले आफै बनाएको नभई प्रकृतिको देन हो । त्यो कुनै पनि व्यक्तिले वा उसका आमाबाबुले ढंग नपु¥याएर, बुद्धि नभएर त्यस्तो बनाएको होइन । प्रकृतिले दिएको शरीर, अंग र अंगप्रत्यड्ड बोकेर हिंड्नु उसको गल्ती र अपराध पनि हैन । उसो भए के आधारमा त्यस्ता शब्दहरूलाई गालीको रूपमा प्रयोग गरिन्छ त ? यसरी अरूको शरीर, छालाको रंग र अंग–प्रत्यड्डको बनोटलाई नै हेपाई र गालीको आधार बनाउनु खुद आफैलाई प्रकृतिको नियम नबुझ्ने बेबुफ, उल्लु र मूर्ख सावित गर्नु हो । यो ज्यादै नै अवैज्ञानिक स्वभाव र पछौटेपनको चिनारी हो ।

कुनै मानिसले गर्भको विकृतिले वा कुनै दुर्घटनामा परेर आफ्नो अड्डप्रत्यड्ड गुमाउँदा ऊ स्वयंमा ज्यादै दुःखी र बेसहारा भएको हुन्छ । उसमाथि हाम्रो स्नेह, सहानुभूति र सहयोगको ठूलो खाँचो छ । त्यसो गर्नु सभ्यता र सुसंस्कृतिको द्योतक हो । के उल्टै तिनीहरूलाई अपाङ भनेर हेप्नु र त्यपसै बापत गाली गर्नु क्रुर, जंगली र नीच स्वभावको नमूना हैन ? कुनै मानिस गोरो, सग्लो रु अग्लो हुँदैमा महान् हुने, कालो, अपाङ र होचो हुँदैमा सानो हुने हैन । के अफ्रिकाका काला जातिहरूमा विद्वान, वैज्ञानिक र महान् मानिसहरू छैनन् ? लेनिन र तेड्ड स्याओपिड्ड पुड्के भएर के भयो ? आस्त्रोभ्स्की र पारिजातले कुँजो भएर पनि समाजलाई देन दिएका छैनन् र ?

(६) हाम्रो समाजमा पितृतन्त्री सामन्ती व्यवस्था भएकोले पुरूषहरूमा नारीहरूलाई हेप्ने परम्परा र बानी पाइन्छ । त्यसैले यहाँ नारीहरूले पुरूषलाई गर्ने खालका गाली कम र पुरूषले नारीहरूलाई गर्ने गाली निकै धेरै भेटिन्छन् । आइमाईलाई माइतीको वर्गस्थितिको आधारमा, नारीहरूको सम्पत्तिमा अधिकार नहुने परम्पराको आधारमा र शारीरिक बनोटको आधारमा समेत गाली गरिन्छ । जस्तै–पिठेकी छोरी, आटेकी छोरी, ढुटे, नागाकी छोरी, मेरा दौराको फेरा समाएर आएकी, माइतीमा देखेको भा”पो हुन्छ, “पिठेकी छोरी, आटेमा परी, उर्लेर मरी”, माइती धनी छन् भनेर ठूली भएकी, यहाँ तेरा बाबुको के ल्याएकी छस् र ? बुङची, गुन्टुरी, थसुल्ली, ख्याउटी, जगल्टे, ढयाँसी, फाँके, नेप्टी, कैली, हाँडी, कलौटी, चिम्सी, भठ्ठा, लोत्तर, सोत्तर डंकिनी आदि ।

आफूले अनेकौं बाचा बन्धनसहित बिहे गरेर, कुटुम्ब बनेर सासु ससुरालाई सम्मान र ढोगभेट समेत गरेपछि स्वास्नीसित रीस उठ्यो भन्दैमा उसका माइती खलकमै छेपन लगाएर गाली गर्नु साह्रै अधमपन र दुष्टता हो । हाम्रो समाजमा आजसम्म छोरीहरूले बाबुआमाको सम्पत्तिबाट भाइसरह अंश पाउने चलन छैन । त्यसैले माइती धनी नै भए पनि त्यहाँबाट प्रशस्त सम्पत्ति ल्याएर लोग्ने सरहको मालिक्नी बन्न सक्ने स्थिति नै हुँदैन । जुन अवस्था हामीले अन्तबाट बिहे गरी ल्याउने अरूकी छोरीको हुन्छ, ठीक त्यही अवस्था हामी कहाँ अन्त जाने चेलीबेटीको पनि हुन्छ । हामीलाई छोएर, हाम्रँ चेलीबेटीलाई हेपेर हाम्रा ज्वाई खलकले गाली गर्दा हामीलाई जस्तो पीर पर्छ, त्यस्तै पीर हाम्रँे व्यवहारले हाम्रा ससुराली खलकलाई पनि पर्छ । यति पनि बुझ्न नसक्नु कस्तो दिमागी दरिद्रता हो ?
कतिपय लोग्ने मानिसहरू रिसको बेला आफ्नै स्वास्नीलाई कुकुर्नी, सुँगुर्नी, रन्डी, फुँडी जस्ता गाली गछन् तर स्वास्नी कुकुर्नी, सुंगुर्नी, रन्डी, पातर्नी भएपछि त्यसको लोग्ने के हुन्छ भन्नेतिर नै दिन्न । के स्वास्नीलाई यस्ता गाली गर्नुले आफैलाई कुकुर, सुंगुर आदि भनेको ठहर्दैन र ?

“साले”, “साली” भनेर अरूलाई गरिने गाली पनि स्त्रीजातिलाई हेप्ने बानीबाटै चलेको हो । आफूले हेपेकी स्वास्नी र अझ उसको पनि भाई हुनाले “सालो” शब्द नै गालीको प्रतिक बनेको छ । हुँदाहुँदा पुरूषहरू साले सुंगुर, साले कुकुर, साले कुुखुरो जस्ता गाली गरेर आफैले आफूलाई सुंगुर, कुकुर र कुखुरा आदिको भेना वा पोइ भन्ने आरोप लाएकोसम्म भिउ पाउन्नन् ।

सारा विश्वमा पुरूष र नारीको उत्तिकै महत्व छ र दुवैको उत्तिकै समानता र मर्यादा कायम गर्ने समाजवादी संस्कृति अनेकौं देशमा कायम भैसकेको अतः हामीले नारीलाई पितृतन्त्री चिन्तनले हेप्ने र गाली गर्ने सामन्ती र पूंजीवादी बानी बेहोरालाई निमिट्यान्न पार्नैपर्छ ।

(७) मूल्याहा, पिराहा, राहु, केतु, बोक्सी, डाइनी, चुंडेल, किचकन्या जस्ता गाली अन्धविश्वासमा आधारित छन् । यस्ता गाली गर्ने मानिसको दिमाग विज्ञानका नियमहरूबाट टाढा रहेको प्रष्ट हुन्छ । मुर्दा, तँलाई घारामा कस्ने, मरीजा, तेरा छातीमा माले गिद्ध भट्भटाउनुपर्ने, तँलाई खाल्टामा पुरेको देख्न पाउँ, तेरा हात कोर लागेर झरून्, पक्लक्कै भएस, तँलाई हैजाले बढारोस्, तेरौ ढोकामा काँढा लागोस् आदि जस्ता गालीहरू आफूले आफ्ना विरोधीलाई केही गर्न नसकेर क्षुद्र शब्दले मनको तितो फाल्ने कायरताका प्रतीक हुन् । यस्ता गाली गर्ने मानिसको चेतना अति पछौटे, रूढीग्रस्त र जंगली नीचताले भरिएको रहेछ भन्ने प्रष्ट हुन्छ । एउटा सभ्य, सुसंस्कृत, समर्थ र विवेकशाली मानिसले यस्तास निकृष्ट गाली कदापि गर्न सक्दैन ।

(८) यी माथि उल्लेख गरिए खालका गालीहरू असभ्य, अवैज्ञानिक र शोषण एवं हेपाहा प्रवृत्तिका निशानी भएकाले आफुलाई र आफ्नो देश एवं विश्वलाई सभ्य, सुसंस्कृत, वैज्ञानिक र समतामा आधारित मानवतावादी बनाउन चाहने प्रत्येक व्यक्तिले आफ्नो चिन्तन र बोलीबाट यिनलाई उखेलेर मिल्काउनुपर्छ । त्यसपछि पनि मानिसका खराब बानी व्यहोराहरूलाई औल्याउने, चिनाउने र तिनलाई हटाउने प्रेरणा दिन टिकाटिप्पणी, सुझाव र आलोचनाको खाँचो पर्छ । शिष्टतासाथ तिनको आलोचना र टिकाटिप्पणी गर्दा पनि नमान्ने मिचाहा, बदमास, शोषकहरूलाई वा अल्छी, कामचोर, बेइमान प्रवृत्तिकाहरूलाई हत्तोसाहित गर्न केही गालीहरूको खाँचो परिनैरहन्छ । अतः यस्ता गाली गर्दा मानिसको विचार, स्वभाव, चरित्र, व्यवहार आदिलाई हेरेर गर्नुपर्छ । त्यसो गर्दा उक्त व्यक्ति कसैको धन, पद र प्रभुत्वको आधारमा हेपिन नपरोस् र युग र समाजलाई अगाडि बढाउन सकियोस् भन्नेतिर ध्यान दिनुपर्छ । उदाहरणका निम्ति ती गाली यस्ता हुन सक्छन्–प्रतिक्रियावादी, अन्धविश्वासी, रूढीवादी, शोषक, मिचाहा, अल्छी, कामचोर, लुटाहा, लुटेरा, स्वाँठ, जबरस्वाँठ, युगद्रोही, जनद्रँेही, सामन्ती, पूंजीवादी, साम्राज्यवादी, प्रभुत्ववादी, हैकमवादी, विस्तारवादी, जाली, छुल्याहा, फटाहा, फासिष्ट, हिट्लर, जंगे, छुच्चो, लुच्चो, लाछी, पानीमरूवा, लम्फु, अडवाङगे, कुवाको भ्यागुतो , जुम्से, झुस्के, लबस्तरो, बेइमान, अवसरवादी, दहीचिउरे, तिहुन चखुवा, चमेरे, घुसघुसे, जड्याहा, गँजडी, रकमी, जुवाडे, गोबरगणेश, चुइयाँ, रन्डो, फुँडो, चोर, डाँका, बदमास, खुनी, खुँखार, ज्यानमारा, गरिबमारा, रन्डी, नक्कली, नखरमाउली, पात्तर, बेश्या, जुम्सी, लबस्तरी, चोथाले, बेताले फतौरी, गुन्डा, मन्डले आदि । कसैलाई यस्ता गाडी गर्दा पनि रीस र आवेशका भरमा जथाभावी हैन, यथार्थ र तथ्यको आधारमा गरिनुपर्दछ र ठीक सम्बन्धित व्यक्तिलाई तोकेर गर्नुपर्छ । “छोरी कुटेर बुहारी तर्साउने” भने झैं गरी निशाना नताकी “पाँडे गाली” गर्दा अर्थको अनर्थ हुनसक्छ र व्यर्थैमा असम्बन्धित मानिससँग बैरभाव हुनसक्छ । यसरी नै दुष्ट मानिसका वास्तविक स्वभावलाई ध्यानमा राखी साँढे, ब्वाँसो, स्याल, फ्याउरो, मुसो, कन्सुत्लो, खच्चड, छुचुन्द्रो, बोको, सुंगुर, चोंचे, कुकुर, गधा, गोरू जस्ता गाली प्रयोग गर्न सकिन्छ । तर गोरू, गधा जस्ता शब्द एकदमै श्रम गरेर पनि पिटिनु पर्ने, लादिनु र जोतिनु पर्ने जन्तुलाई श्रमप्रति घृणा गरेर गरिने गालीका प्रतिकको रूपमा भने प्रयोग गरिनु हुन्न् ।

यसरी हामीले प्रत्येक दिन बोलचालमा प्रयोग गर्ने गालीहरू पनि ठीक ढंगले प्रयोग नगर्दा जनताका, प्रगतिको, प्रजातन्त्रको विपक्षमा जाने र सही ढंगले प्रयोग गर्दा तिनको पक्षमा जाने हुन्छ । हामीले आफूलाई सभ्य र सुसंस्कृत मानवमा परिणत गर्ने हो भने गलत गालीहरूलाई हटाउने र ठीकठीक गाली प्रयोग गर्ने बानी बसाल्नै पर्छ ।

(मोदनाथ प्रश्रितका संकलित रचनाहरू खन्ड–६ बाट) ।

(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक ८ – Dec. 28, 2011 – २०६८ पौष १३ गते, बुधबार)

This entry was posted in निबन्ध and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *