कथा : एक प्रेम कथा मेरो पनि

~सुशीलराज रेग्मी~

श्रीगणेश, हिन्दू धर्मअनुसार कुनै चिज सुरू गर्नु भन्दा अगाडि प्रयोग हुने शब्द, अनि ‘श्री’ सुरूवात को पनि सुरूवात । म उसको पहिलो प्रेम, यानि प्रेमको सुरूवात, उसको जीवनमा आएको खुसीको क्रम यानि खुसीको सुरूवात । हाम्रो सम्बन्धले उसमा छाएको सफलता यानि सफलताको सुरूवात । मुख्य कुरा हाम्रो प्रेमपछि उसले जीन्दगीलाई हृदयदेखि नै धन्यवाद भनेको थियो, लाग्थ्यो प्रेमपछि नै उसले जीवन पाएको छ वा भनौँ जीवनको सुरूवात । म उसका लागि एक सुरूवात थिएँ । सट्टामा उसले मेरो नाउँ नै ‘श्री’ राखिदियो ।

‘श्री’ मलाई राजले राखिदिएको नाउँ । अनि राज मलाई माया गर्ने मान्छे । भन्नुहोला अनि तिमीले माया गर्ने मान्छे चाहीँ को नी ? त्यो पनि राज नै हो । हाम्रो प्रेम एकतर्फी थिएन । म पनि राजलाई उत्तिकै माया गर्थेँ जति राज गर्थ्यो तर समय सधैँ एकनाश कहाँ हुन्छ र । प्रेममा सर्वस्व गुमाउन चाहनेहरूका हुलमा प्रेम गर्नेहरूको सर्वनास गर्न उद्दत हुनेहरू पनि छन् । समाज छ धर्म छ आर्थिक हैसियत छन् मान्छे पिच्छेका अभिमान र ईगो छन् । यो युगमा प्रेम हुर्काउन त्यति सजिलो अवश्य छैन । यद्यपि प्रेम विवाहको दर बढ्दो छ तर प्रेम दिनदि नै बिलिन छ । खाटी कुरो समय गतिशील छ परिवर्तनशील छ ।

कुनै जमानामा समय मेरा लागि पनि नितान्त प्रिय थियो, मन परेको मान्छे समीपमा हुनुले समयको हर उतारचडाब सह्य थियो समय खुसहाल थियो । फुलेका गुलाब र रमाउँदै गीत गाएका चराहरू सखीजस्तै लाग्थ्यो समयसँग कृतज्ञ थिएँ, हिजो म प्रेममा थिएँ । बिडम्बना कहिले काहीँ सूर्यको तेज पनि बादलको घेराबन्दीमा परेर निस्तेज हुन्छ । म हराएँ … कतै दुर बादल भित्र …!

आज १४ फ्रेब्रुअरी यानि प्रेम दिवस । भन्छन् चरा चुरूङ्गीले पनि जोडी खोज्ने दिन । अपसोच मेरा लागि प्रेम दिवश, दिवश नै सावित भो । कहाली लाग्दो अतितको स्मृति, शहिद दिवस भने झैँ प्रेम दिवश । कहिले हाँगा हाँगा डाली डाली भएर फुलेको प्रेम आज एक थुङ्गा पनि हाहाकार छ । फर्केर हेर्दा मेरो अन्जुलीबाट पोखिएको प्रेम यस्तो थियो ।

केही पुरानो कुरा … ।
जो नजरमा पनि थिएन म उसैको दील भित्र थिएँ । संसार अचम्मको छ हाम्रो प्रेमजस्तै । भाग्यमा प्रेम लेखिन्छ या प्रेममा भाग्य म यसै भन्न सक्तिन तर जे भयो केही असामान्य भयो । मैले आफ्नो लाज नसमाल्दै राजले घरको आधा जिम्मेवारी सम्हाली सकेकी थिएँ । राज र म बीच करिब एक दशकको फरक छ । उसो त प्रेममा न त जात, धर्म हेरिन्छ न त रूप र उमेर नै । हाम्रो प्रेममा पनि हामीलेसँगै हेर्न नपाएका गुलाब फुलेका र फक्रेका १० बसन्तले हामीबीच कुनै असमानता छ जस्तो लागेन । म बालिक भैँ सक्दासम्म ऊ जागिरे भैँ सकेको थियो । त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्र संकायमा स्नातकोत्तर गरेर ऊ आफ्नै शहरमा स्थापित शिक्षक भइसकेको थियो । भन्नेहरू त भन्छन् जाबो मास्टरहरुसँग बिहे गरेर सधैँ रोज मर्राको जीन्दगी । यो सायद महत्वाकांक्षी युवतीहरूको अभिमान बोलेको हुनुपर्छ । सुख र खुसी कहिल्यै एकै होइनन् । ममा पनि एक अल्लारे यौवन गुज्रेर गयो तर तिब्र महत्वकांक्षा कहिल्यै हाबी भएन ।

सानो छँदा शिक्षक शिक्षिकालाई आदर्श ठान्ने बालबालिकाहरू यौवनसँगै महत्वकांक्षी हन्छन् । कोरा ज्ञानको आडम्बरमा स्वार्थी र मतलबी हुन्छन् । बाबु र प्रेमी दुबै शिक्षक भएर पनि हुन सक्छ मेरो नजरमा शिक्षण एक सम्मानित पेशा थियो अनि शिक्षक एक सम्मानित ब्यक्तित्व । तर बिडम्बना सासुबाटै बुहारी माथि छिचोमिचो हुम्छ, नारीबाटै नारी प्रताडित हुन्छे, मानिसबाटै मानिसको हत्या अपराध गरिन्छ अनि पेशामा आबद्दहरू नै पेशाको दोहोलो काढ्छन् । र त शिक्षकले शिक्षकलाई छोरी जिम्मा लगाउन आनेकाने गर्छन् । सिङ्गो शिक्षण पेशा नै प्रिय लाग्नुका पछाडि राज थियो । सायद त्यो प्रेम थियो, तर प्रस्ताव राजबाटै आएको त्यो पनि म १८ वर्ष पुगेको दिन । यानि मेरो १८ औँ जन्मदिनमा उसले मलाई केही दिनु सट्टा मैसँग केही माग्यो । उसले मसँग उसका प्रेम प्रस्तावको जवाफ माग्यो ।

छोरी मान्छे स्वभावैले गम्भीर र भद्र हुन्छन् उसैमाथि म अन्तर्मूखी मान्छे । बस स्टपमा एक्लै बस कुरेको देखेर उसले बोल्ने हिम्मत नगरेको भए सायद म उसका प्रेममा पर्ने नै थिईन । तर एक मन म उसका समीप रहिरहन चाहन्थेँ, उसका गुण–गान सुन्न मन पराउथेँ घुमाई फिराई नगरी भन्दा म उसलाई मन पराउथेँ तर आम युवतीहरू झैँ म पनि चाहन्थे उही मसँग पहिले बोलोस् । मेरा मनका कुरा बुझोस् मेरो आँखाको ईशारा सम्झोस् । किनकी म पनि एक नारी हुँ । तर कैयौ पटक बाबासँग घरै आउँदा पनि उसका आँखा बोले तर उ बोलेन । उमेरले निकै सानी उसै माथि छोरी मान्छे । मन पराएर पनि कैयौ कुरा मनमा थुनेर राख्नु पर्ने नारीका आफ्नै बाध्यता हुन्छन् । बाबु, दाजुको प्रतिष्ठा र कुलको मर्यादाका लागि प्रेमको बलिदान गर्नेहरू लाखौँ छन् । मनको कुरा मुखसम्मै आइपुग्दा पनि रोकिन्छन् । र रोकिय मेरा पनि । कैयौँ पटक मेरो आँखाको भाका नबुझेको बदला मैले त्यसै क्षण लिएँ । त्यस दिन बसस्टपमा मैले नचिने जस्तै गरी उसलाई मेरा बेवास्ताको बदला लिएँ । जब मैले उसलाई अपरिचित जस्तै औपचारिक ब्यवहार गरिदिएँ त्यसबेला उसको अनुहार साँचै हेर्न लायक थियो… बि–च–रा राज … । तर त्यस बेवास्ताको बदलामा मैले कैयौँ चुम्बन गरेकी छु मनमा, स्मृतीमा र पछि यथार्थमा पनि ।

मुखामुख पर्दा पनि हामी एक अर्कासँग त्यस दिनसम्म बोलेका थिएनौँ । उसो त उसलाई नदेखेको दिन हुँदैनथ्यो । कथम कदाचित देख्न पाईन भने त्यो दिन वर्ष दिन जस्तै लाग्थ्यो । सायद सबै प्रेम गर्नेहरूलाई यस्तै लाग्छ । ऊ निकै लगनशिल र अध्ययनशिल मान्छे हरेक दिन कामको सिलसिलामा मेरै घरको बाटो ओहोर दोहोर गरिरहन्थ्यो । रोड मै घर हुनु पनि मेरो लागि सौभाग्य झैँ लाग्थ्यो । झ्यालको आडमै पुस्तक लिएर बस्नुको यौटा प्रमुख कारण राज नै थियो । ऊ सफलताको लागि रातदिन यसरी कुद्थ्यो की मानौँ सिङ्गो समाजको उन्नतीको जिम्मा उसकै शीरमा छ । उमेरले केही जेठो मान्छे दाजु, दिदीको दामाली, मैले चाहेर पनि उसँग प्रेमको कल्पना गर्न सकेकी थिइनँ । उसले छोरो मान्छे हुनुको लाज राख्यो । सानैदेखि मलाई नियालेका आँखाले म १८ पुगेपछि धैर्यता तोडे, राजले मलाई औपचारिक प्रेम प्रस्ताव राख्यो । के खोज्छस् कानो ? आँखो भनेझैँ भो । तर पनि मैले केही दिन कुराएँ, टारेँ र अन्तमा आई लभ यू टु भनिदिएँ । यसरी म प्रेममा परेँ ।

प्रेम प्रतिभावान मानीसले गर्ने चिज हो र प्रतिभा समाजका मूल्य र मान्यताहरूको नजरमा सधैँ दोषि र कसुरदार हुन्छ । किनकी प्रेम गतिशिल छ, यो समाजका मूल्य मान्यताहरूको अनुयाई भएर रहन सक्तैन, प्रेमले समुन्द्रको गहिराई नाप्न चाहन्छ अनि आकाशको उचाई नाप्न चाहन्छ । दुर्भाग्य समाजले मूल्य मान्यताको उलङ्घन सहन सक्तैन । यथास्थितिवादीहरूको हुलमा प्रेम जोगाउन गाह्रो हुन्छ । तथापि हामीले जोगायौँ । परिवारकी कान्छी छोरी, रूपकी सुन्दर अनि मृदुभाषि । घरपरिवारले मलाई औधी माया गर्थे । म पनि स्वभावैले मायालु थिएँ । त्यसैले मेरो प्रेम पनि झ्याङ्गिदै गयो … घरपरिवार सँग भन्दा पनि राजसँग ।

जिन्दगी सधैँ सरल रेखामा बग्दैन । जीवनको अंक गणित र बिज गणितसँगै कुनै कुनामा जोमेट्री पनि छ जहाँ सरलरेखा मात्र होइन बक्र रेखाहरू पनि छन् । छँदा खाँदाको जागिर छोडेर उज्वल भविश्यको खोजीमा राज परदेश भासियो । अब हाम्रो प्रेम र स्नेह इन्टरनेटका पानाहरूमा झल्किन्छन् । गोप्य र असामान्य प्रेम केही टीकाउ हुन्छ । एकै ठाउँमा रहेर पनि हाम्रो प्रेममा कसैको नजर परेको थिएन । हुन त हाम्रा लागि प्रेम ‘चार डेट र दुई सेक्स’ कदापि भएन र होइन पनि । मुस्किलले एकाध पटकको भेटमा उसले मलाई यसरी अँगालेको थियो मानौँ उसको काखमा कुनै संवेदनशिल बस्तु छ जो उसकी प्रेयसीले उसलाई उपहार स्वरूप दिएकी छ । प्रेमले सामिप्यता खोज्नु स्वभाविक हो तर हाम्रो प्रेमले हामीलाई हातको दुरीमा भन्दा पनि अँखाको दुरीमा रमाउन अभ्यस्त पारेको थियो । प्रेममा रमाउने आ–आफ्नै तौर तरिका हुन्छन् । हामीलाई पनि हाम्रो प्रेम हराभरा राख्न बढिमा दिनको एक पटक र कम्तीमा हप्ताको एकपटक हामी एक अर्काको आँखाको दुरीमा हुनुपर्थ्यो । प्रेम पनि लत न हो जस्तो पार्यो त्यस्तै पर्छ । हामीले हाम्रो प्रेमलाई यसैगरी लत लगाएका थियौँ । अपसोच यही प्रेम कसैका लागि कुलत पनि सावित भइदिन्छ ।
उही राज जो मेरालागि मबाट कोसौ टाढा गयो । मनग्य पैसा कमाएर मलाई सुखमा राख्न भन्दै ।
सुनौलो भविश्यको खोजीमा राज मुग्लान भासिएसँगै ममा एक्लोपनको आभास हुन थाल्यो । उसका पल पलको खबर लिन मैले पनि फेसबुकमा आफ्नो नाम दर्ता गरेँ । ‘तिमीलाई लाने कालले मलाई पनि लान्छ’ भने झैँ राजका लागि दर्ता गरेको मेरो फेसबुक नामावली सबैकालागि अवसर हुन पुग्यो । युवतीका नाममा एक सुन्दर तस्बीर राखेर फेक आईडी खोली हेर्नुस् फ्रेन्ड रिक्वेस्टको धुईरो लाग्छ । किन खनिन्छन् यी पुरूषहरू महिला भन्नासाथ, बत्तीमा पुतली झुमिएझैँ ? पुरानै मायाको जतनमा जुटेकी ममा दैनिक दशौँ प्रेम प्रस्ताव आउन थाले । म प्रायः अफलाईनमै बसेर राजको बाटो हेर्थेँ। वर्षौँ पुरानो हाम्रो प्रेम अब फेरी फेसबुकको संसारमा नविकरण भएको थियो, भुगोलका दुई कुनाबाट । उसका पोस्ट र पिक्चरहरू हेरेर मेरा दिनचर्या कट्न थाले । बिस्तारै, भाईबर, टुईटर, ह्वाट्सएप हाम्रा भेटिने चौतारी बने ।

प्रेम एकतमास मौलाउँदै थियो । उ मुग्लान पुगेर दिनानुदिन सफलताको सिँढी चढ्दै छ यता म राम्रो अंक ल्याएर आईएससी पास भएँ । म पास हुँदाको क्षण, महँङ्गो नै भएपनि पहिलो कल राजलाई गरेकी थिएँ, प्रायः सबै प्रेम गर्नेहरू यसै गर्छन् होला । हरेक खबरको पहिलो श्रोता प्रेमी प्रेमिका नै हुन्छन् । तर म पास भएकोमा बधाई दिँदै छोटो सम्वादपछि नै फोन राखिदियो राजले । मनमा पास हुनुको उमङ्ग नै हरायो । लाग्यो खुसी हुनु र सफल हुनु बेग्लै कुरो हो । म सफल त भएँ तर उसको छोटो औपचारिक सम्वादले खुसी हुन भने सकिनँ । त्यसपछि पास भएको खबर कसैलाई सुनाईरहन मन लागेन । फोन गरेर जानकारी माग्ने अरूलाई पास भएको औपचारिक जानकारी मात्र दिएँ, मन गह्रुङगो भयो । मलाई मेरो सफलताको क्षणमा उसँग पेटभरी गफ गर्न मन थियो । उसका नजरमा आफूँ अझ प्रिय र गौरव हुन मन थियो तर उसले औपचारिकता निभाउँदै फोन राख्ने अनुमति माग्यो । परदेशको मामिला उसका आफ्नै बाध्यता हुँदा हुन् नत्र यस्तो खुसीमा ऊ औपचारिकता मात्रै पुरा गरेर फोन नराख्नु पर्ने । मेरो खुसीको तरङ्ग क्षणिक रह्यो । अन्ततस् भरे उसले सविस्तार भन्यो । कामको अलीक माचो रहेछ । उसले मेरा खुसीसँगै आधारात अनिदो बस्यो र बिदा माग्यो । मेरा स्मृतीमा ऊ केही घन्टासँगै रह्यो । करिब मध्यरात तीर आफ्नो च्यादरको सप्को भित्र ऊ अट्ने गरी कल्नाको आँचल फिँजाएर सुत्थे उसलाई समेट्ने गरी । यसरी ईन्टरनेटका सहारामा श्री र राज एक अर्काका परिपुरक रहे । यो भावना थियो तर यथार्थ !

भित्ताका पनि कान हुन्छन् भन्थे अब त ईन्टरनेटका पनि आँखा, कान हुन्छन् झैँ लाग्छ । ईन्टरनेटकै सहारामा हाम्रो प्रेम पनि समयसँगै हुर्की, बढी घनिभूत भयो । बिस्तारै ईन्टरनेट चलाउनेहरूले चाल पाउन थाले । आँगनबाट पिँडी अनि पिँढीबाट मझेरी, सडकको दुर्गन्ध भान्सासम्म पुग्न बेर लागेन । मेरा व्यवहार र फोन कलहरूमा घरकाले चासो देखाउन थाले घुमाई फिराई अब छोरी ठूली भइसकिछ भन्न थाले । ढाँटेको कुरा र फाटेको लुगाले कतिन्जेल छेक्छ र ! आखिर एकदिन सबै छताछुल्ल भयो । भाईबरका च्याट बक्समा आई लभ यु, आई लभ यु टु… सँगै थुप्रै गुलाब र किसका स्टीकरहरू सहीत म पक्राउ परेँ । मेरो प्रेम परिवारको मुख्य चासो बन्यो, केरकार गरियो केही समय फोनबाट समेत बर्जित गरियो । म पानी बिनाको माछो बनेँ । जब जब म उसलाई अति नै मीस गर्थेँ मैले योग विधिको सहारा लिएँ । एकान्तमा आँखा बन्द गरेर भगवान साक्षिराखी मैले मेरो खबर टेलिप्याथी गर्न थालेँ, जसलाई अल्फा म्यासेज पनि भनिन्छ । अब मेरो प्रेम विज्ञानबाट योग तिर फक्र्यो । तर यथार्थ फूले जति फल्दैन… अनिी … अनि जीन्दगी, शीर जोगाउन नाक कटाउनु पर्छ अनि नाक जोगाउन शीर । मर्नु भन्दा बौलाउनु निको रे ! तर ठिक विपरीत मैले नाक जोगाउन शीर काटिदिएँ आफ्नै अनि आफ्नै प्रेमको ।

समयको लीला कसले बुझेको छ र । हिजोसम्म परिवारकी प्रिय पनि मै आज सबैको नजरमा उश्रृङ्खल र उत्ताउली पनि मै । कहिले गाली, गलोज र धम्की त कहिले अर्ती उपदेश । अब परिवारको नजरमा म कुलतमा फसेकी अम्मली जस्तै भएँ । नाना थरी तर्क, वितर्क गरेर मलाई राजसँग टाढा रहन भनियो । ‘१६ वर्षको जवान छोरो अकालमा मर्दा त चित्त बझाउँछन् मान्छे तेरो त चार दिनको प्रेम न हो बिर्सिदे’ मम्मीले सजिलै भन्नुभयो । बिहेकै दिन मन्डपमा नबस्दासम्मै आफ्नो हुनेवाला पति नदेखेकी मेरी आमाले प्रेमलाई कति सजिलै ब्याख्या गरिन् । मानौँ यो प्रेम म सानी छँदा खेलेको राजा रानी खेल जस्तै हो, खेल सकिना साथ राजा रानीको पनि सम्बन्ध सकियो ।

दोष केही हाम्रा निजी हुन्छन् त केही उमेरका । १८–१९ को उमेरमा वियोग । मलाई एक्लोपनले गाल्दै पिरोल्दै थियो । राजसँग फोन र म्यासेज बर्जित थिए । बाबुको ठाडो आदेश र दिदी, दाजुको छानबिनपछि मैले फेसबुक पनि चलाउन छाडिदिएकी थिएँ भन्दा पनि हुन्छ । तर प्रेम कहाँ बसको कुरो हो र मलाई अदृश्य बसेरै मुहारपुस्तिका छिर्न मन लाग्यो ।

पोलेको घाउ आगोले नै सेकिन्छ, हीरा हीराले नै काटिन्छ । मलाई पनि एक्लोपनको कहर मेट्न कोही मन बुझ्ने साथीको खाँचो छ । मलाई प्रेमी होईन असल मित्रको खाँचो छ । मेरो प्रेमको पीडा बुझेर मलाई हौसला र साथ देओस् । म केही सीमित मान्छेहरू फेसबुकको सहारामा नजिकिए । मनमा राज र च्याटमा रैतीहरू, म रानो हराएकी माहुरी झैँ भए । फोनबाट हटे पनि मस्तिस्कबाट नहटेको राजको नम्बरमा एकनास कल गरौँ झैँ लाग्छ । तर घाउ बल्झिरहन पनि चाहन्न । फेसबुकमा आएका केहीहरूसँग नजिक हुने प्रयास पनि गरे पीडा साटेर मन हलुको गरौँला भन्ने सोचेर आत्मिए ठानेका केही युवाहरूले केही दिन मै औकात देखाए । मन बुझेर सान्त्वना देलान् भन्दा तन हेरेर सन्तुष्टी लिन चाहे । रात छिप्पीएसँगै उत्ताउला र उच्शृंखल बन्दै गए । दिनको माहापुरूष र रातको पुरूषमा तुलना हुनै सक्तैन । होला पुरूषहरूका नजरमा प्रेम जिज्ञासा होला प्राप्ति होला तर नारीका नजरमा प्रेम त्याग हो समर्पण हो । मैले प्रेमका नाउँमा जीवन समर्पण गरे खुसी समर्पण गरे । साँची यी पुरूषहरू अधिकांश उस्तै, अकेली र असहाय नारीका यौवनमा गिद्धे नजर लाउनेहरूको भीड रहेछ ईन्टरनेटको दुनिया पनि । राजको पिडा भुल्ने बहानामा नजिक भएका फेसबुकेहरू सबै सिनो कुरेका स्यालजस्तै लागे । रिदम, किरण र विवेकको भित्री अङ्ग नै मेरा म्यासेज बक्समा देखिए लगत्तै मैले फेसबुक पनि नचलाउने निर्णय गरेँ । अब मात्र स्मृतीमा म राजको अनि राज मेरो ठानेर यो जीन्दगीको दौडमा सरिक छु ।

मेरा कथित आफन्तहरूले फोन र म्यासेज मार्फत समुन्द्र पारीको राजलाई उसको स्वाभिमानमा ठेस पुग्ने गरी नाना धम्की र गाली, गलोज गरेको खबरपछि म निकै मर्माहत भएकी थिएँ । उसको पीडाका ब्यर्थ कारण आफू बनेकोमा सधैँ आफैँलाई घृणा गरिरहन्छु । म अब राजकी हुन सकुँला या नसकुँला तर उसको मुहार नहेरी मरिहाल्न पनि सकिन । आत्महत्या त्यति सजिलो पनि छैन जति भन्नेहरू भनिदिन्छन् । मेरो ढुकढुकी भित्रको प्रेमले मलाई मर्ने अनुमति दिएन । नयाँ फेसबुक आईडी खोली, २ पेज लामो बाध्यता, माफी र प्रेम मिसाएर एउटा म्यासेज लेखेँ । अन्त्यमा भनेकी थिएँ, सबैथोकको कसुरदार मलाई ठान्नु, आफ्नो प्रेममा खोट नगलाउनु, परदेशको मामिला छ स्वाथ्यको ख्याल राख्नु, प्रेम जीत्नका लागि जीवनमा सफल हुनु पनि जरूरी छ सधैँ सफलताको शिखर चढ्नु, मलाई सम्झेर आँशु होइन मलाई बिर्सेर पसिना बगाउनु, यो श्री केबल राजकी हो अरू कसैकी सुरूवात त के अन्त्य पनि हुन सक्तिन । अन्त्यमा यत्ति भन्न चाहन्छु, जीन्दगीसँग मरेर पनि राजको मुहार एक पटक आँखा भरी हेर्न यो श्री बाँची रहने छ, प्रेम दिवसको यही शुभकामना … उही तिम्री दुःख की कारक ‘श्री’ ।

हाल : दक्षिण कोरिया

(स्रोत : आजको खबर डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.