कथा : आमा

~अभिमन्यु निरवी~Abhimanyu Nirabi

चिसो एक साँझ । रेस्टुरेन्टको भित्ताहरूमा कोरिएको अब्स्ट्रयाक्ट चित्रकलामा एक नजर फ्याँक्यो सुनयले । पृष्ठभूमिमा बजिरहेको प्रेमिल धुनको सुरमा टाउको दायाँबायाँ हल्लायो र सामु बसेकी प्रेमिकाको आँखामा हेर्‍यो । चोरायो आफूलाई । डुब्यो भित्र कतै । त्यही पल मोबाइल बज्यो ।

सुनय झस्क्यो । प्रेमिका पनि झस्की ।

‘कसको ?’ प्रेमिका आवेगमा आई ।

‘आमाको,’ सुनयले मोबाइलको डिस्प्ले हेर्दै भन्यो ।

‘ह्या… बेला न कुबेला । भो नउठाऊ ।’ प्रेमिकाले आदेश दिई । सुनयले आदेश मान्यो । उठाएन मोबाइल । बरु फत्फतायो, ‘कस्तो बेलामा किनेर लग्देछु यार मोबाइल । इरिटेटै भइसक्यो । ’

फेरि छिनमै बज्यो मोबाइल । झक्र्यो लाग्यो सुनयलाई । मोबाइलको त्यही एउटा रिंग टोन हो जुन प्रेमिकाले गर्दा र आमाले गर्दा किन यति फरक तरिकाले बजेजस्तो लाग्छ । सुनयले दिक्क मान्यो र जबरजस्ती उठायो, ‘के भयो फेरि ? दिक्क नपार न हो आमा ।’

‘थुइक्क पाजी …तेरो बुद्धि ।’ आमाको ठाउँमा एउटा वजनदार पुरुष आवाज रननन भएर सुनयको कानमा छिर्‍यो । त्यसपछि त्यो पुरुष लगातार बोल्यो ।

सुनयको आँखा एकोहोरो भयो । मुख खुल्लै रह्यो । उसले सास फेर्नै बिर्सेजस्तो गर्‍यो ।

प्रेमिकाले सोधी , ‘के भो ? राख न मोबाइल… ?’

‘कति कराइरा ? एक छिन चुप लाग्न सक्दैनौ ?’ सुनय एकैचोटि आवेगमा आयो ।

प्रेमिकाले घोसे मुन्टो लाई । पहिलोपल्ट सुनयको कर्कश आवाजले प्रेमिकाको कानलाई घोच्यो तिखो सुइरोले झैं । वरिपरिका मान्छेहरूले कर्के आँखा बिच्छ्याए एकैचोटि । एउटा असुहाउँदो खालको शून्यता छायो ।

सुनयको आँखाको दुई किनार भत्कियो र उर्लियो बाढी बनेर । त्यसपछि उसले सुस्त भन्यो, ‘आमालाई हस्पिटल लगिराख्नु, म अहिले नै हिन्छु ।’

‘के भयो ? ’ केही बेरको शून्यता चिर्दै प्रेमिकाले दबेको आवाजमा सोधी ।

‘आ..आमा सारो बिरामी छिन् रे… ।’ सुनय सुँकसुँकायो ।

काठमाण्डूबाट सदरमुकाम जाने रात्रिबस तयार थियो । कोचाकोच मान्छेहरू । झ्यारझ्यारे स्पिकरमा एकोहोरो बजिरहेको पट्यारलाग्दो गीत । दमले ग्रसित बूढो मान्छेझैं घ्यार्घ्यार गरिरहेको थोत्रो इन्जिन । हरेक घ्यारघ्यारसँगै सुस्तरी थर्किरहेका थिए झ्यालका सिसाहरू । त्यही सिसाझैं काँपिरहेको तनलाई ढसमस्स सिटमा फाल्यो सुनयले । छेउको सिटमा एक जना बूढो मान्छे थियो, कपाल दारी र आँखी भौंसम्म फुलेको । बस गुड्नेबित्तिकै बूढो निदायो र सुनयको काँधमा लक्र्यो । उठायो सुनयले । बूढो फेरि लक्र्यो… । सुनयले उठाएन योपटक । बूढोको अनुहार हेर्‍यो ।

छोकडाजस्तै चाउरिएको अनुहारको छाला हेर्‍यो । फुलेको कपाल हेर्‍यो । दुइटा दाँतबिनाको गिँजा हेर्‍यो र सम्झ्यो आफ्नी आमालाई । आमाको कपाल फुलिसक्यो । अनुहारको छाला मुजा पर्न सुरु गरिसक्यो । तर, आमाका दाँत झरेका थिएनन् । आमाका आँखामा अझै पनि भविष्यप्रतिको सुन्दर खाकाहरू जीवितै थिए ।

पन्ध्र वर्षपहिले सुनय र उसकी आमा शव वाहनको सिटमा थिए । धूलौटे बाटोमा बेजोडले गुडिरहेको शव वाहनले बेलाबेलामा आवाज दिन्थ्यो ‘टीं’ । तर सुनय र आमा चुपचाप थिए । हस्पिटलमा उपचार गर्दागर्दै बितेका बाको लासलाई लिएर घरतिर जाँदै गर्दा सुनयको आँखा भरियो । आमा बेहोसझैं भइन् । के के सम्झेर हो उनी भक्कानिइरहिन् । त्यही बेला सुनयले आमालाई आफ्नो काँधको भरोसा दियो र भन्यो, ‘तिम्रो छोरो तिमीसँगै छ आमा… नरोऊ ।’ आमाले एक्कासी सुनयलाई पाउदेखि शिरसम्म हेरिन् र झन् भक्कानिइन् । लाग्यो होला, ‘अब एक्लै सुनयलाई र उसका दुई बहिनीहरूलाई कसरी हुर्काउँला ?’

तर, आमाले हिम्मत काँ हारिन् र ? एउटा ढुंगोजस्तो तन र नौनीजस्तो मन लिएर उनले सुनयलाई र बहिनीहरूलाई हुर्काइन् । बा बितेको डेढ वर्षमै सुनयले एसएलसी दियो । पास भयो । आमाले भनिन्, ‘अब पढ्नलाई काठमाण्डू जा । दुई वर्ष म धान्छु । त्यसपछि तँ कमाउन सक्छस् ।’

पहिले आमाको कुरा सुनेपछि चक्कर लाग्यो । त्यसपछि भरोसा । आमाको गोडामा निधार राखेर सुनय बिदा भयो घरबाट । हरेक तीन–चार महिनामा घर नपुगी नहुने । आमाको आवाज नसुनी नहुने । आमाले पकाएको नखाई नहुने । घर भन्नु नै आमा थिइन् । तर, अब के होला ? आमासँगै घर रहला कि नरहला ? मनमा एक तमासले कुरा खेलिरह्यो सुनयको ।

‘खाना ..खाना.. ल खाना खाउँ है… । यता ल यता…,’ यही खिरिलो आवाजले सुनय झस्क्यो । एउटा होटल अघि बस रोकिएको थियो । सुनय बसबाट झर्‍यो । होटलभित्र छिर्‍यो । पानी पियो । मान्छेहरू भोकाएका थिए । भोका मान्छेहरूले अगाडिको भरि थाल छिनमै रित्याए । छेउको बेन्चमा बुट्टे सारी लगाएर बसेकी महिला आफ्नी छोरीलाई खाना ख्वाउँदै थिई । छोरीले खान मानिन । महिलाले कर गरी । सुनयले आँखा झिमिक्क नगरी त्यो सब हेरिरह्यो । चुपचाप ।
…..
‘पुग्यो भनेर हुन्छ ? यति खा । उता काठमाण्डूमा के कसरी खान्छ कुन्नि ?’ आमा हरेकपल्ट घरमा यसरी नै कर गर्थिन् ।

हरेकपल्ट घर पुग्दा आमाको यस्तै ढिपी सुन्न पथ्र्यो । घरमा होस नहोस् तर आमाले जोडेकी हुन्थिन् मीठो मसिनो केही । एक गिलास दूध । एक टुक्रा मासु । एउटा परेवाको फूलजत्रो नै किन नहोस् तर अन्डा । आमालाई लाग्दो हो छोरो बलियो भयो भने घर बलियो हुन्छ, छोरो स्वस्थ भयो भने घर स्वस्थ हुन्छ । त्यही कुराले होला आमाको सब ममता सुनयमाथि खनिएको थियो । त्यसो त बहिनीहरूलाई पनि उनले छुटाएकी कहाँ थिइन् र ?

सुनयले पढ्यो । मिहिनेत गर्‍यो र काम सुरु गर्‍यो । काम थियो ब्यांकको क्यासियर । आफू जागिरे भएको कुरा सुनयले आमालाई प्रधान बाको घरमा रहेको युटीएलको सेटमा फोन गरेर बतायो । आमा खुसी भइन् र भनिन्, ‘यही सुन्ने रहर थियो छोरा ।’ त्यसपछि आमाले सुँक्कसुँक्क गरेर नाक बजाइन् र एक छिन चुप लागिन् । सायद उनले फरियाको फेरले आँसु पुछिन् ।

दिनले रंग फेर्‍यो । पूर्वबाट उदाएको घामले खुसी लिएर आयो । अनि साँझले सन्तुष्टि । जागिर खाएको पहिलो साल नै सुनयले आमाको लागि मोबाइल किन्यो र हुरीझैं हुत्तेर घर पुग्यो । आमाले ओल्टाई पल्टाई मोबाइल हेरिन् र सोधिन्, ‘कसरी हो चलाउने ?’

सुनय आमाको छेउमा बस्यो र मोबाइलको कि प्याडमा औंला राख्न सिकायो । आमाले सिक्दै बिर्संदै गरिरहिन् । बिर्संदा पनि उनी हाँस्न छोडिनन् र भनिन्, ‘सक्दिनँ हो म यो भाँडो चलाउन ।’
तर, सुनयले सिक्न कर गरिरह्यो ।
….
रातको बीचमा गाडी घ्याच्च रोकियो । ब्रेकको तिखो आवाजले बस्ती थर्कियो । सुनय तर्सियो । छेउको बूढो त उठ्दा पनि उठेन । ‘अगाडि स्यालले बाटो काट्यो’ ड्राइभर बिस्तारै बोलेको सुनियो । गाडीले फेरि आफ्नै गति लियो । सुनयलाई कुन बेला हस्पिटल पुगूँ र आमालाई भेटूँजस्तो भएको थियो । मन स्थिर थिएन । छटपटी, पीडा, उकुसमुकुसले सुनयलाई जबरजस्ती थिचिरहेको थियो ठूलो ढुँगालेझैं । तर, त्यस्तैमा कोही चुपचाप निदाइरहेका थिए । कोही जोडजोडले घुरिरहेका थिए । घुराइको घ्यारघ्यार आवाजलाई जित्दै कसैको मोबाइल बज्यो ।

ठ्याक्कै अगाडि सिटमा बसेको एउटा जुल्फेले मोबाइल हतपत उठायो र बोल्यो ‘हेलो मम… म आउँदैछु । आधी बाटो आइपुगें । पीर नलिनु के तपाईं… बिहान चिया खानेगरी आइपुगिहाल्छु नि… बरु बनाएर चाहिं राख्नु है– (हाँसो) ।’

सुनयलाई एक्कासि आमासँग बोल्न मन लागेर आयो । मोबाइलमा आमा भनेर सेभ गरेको अक्षरहरू खोज्यो र डायल गर्‍यो । तर, आमाको मोबाइल अफ थियो ।
…..
घरमा मोबाइल फोन लगिदिएपछि आमाको दिनचर्याजस्तै भएको थियो सुनयलाई फोन गर्ने । खुसी हुँदा, दु:खी हुँदा, मीठो पाक्दा, एक्लो महसुस हँुदा सुनयको मोबाइलको घन्टी बज्थ्यो । एउटा तातो साँझ, आमाले फोन गरेरन् भनिन्, ‘घर भुलिस् कि क्या हो तैंले ? आए हुने ।’

‘काम भएर हो ।’
‘काम त मरेसी मात्तै सिद्धिन्छ । मिलाएर आइज घरतिर ।’
‘च्व टाउको नखाऊ न, पछि फोन गर्छु म,’ सुनयले आमाको मन बुझेन । उसले हतारहतार कुरा सकायो ।
आमाले सुनयको फोन कुरिन् । तर, सुनयले गरेन । दिनभरको भागदौड । साँझपख साथीहरूसँगको भेटघाट । राति वाइन पार्टी । दिनको चौबीस घन्टा पनि कम लाग्न थाल्यो उसलाई । त्यही बीचमा भेटिएकी थिई उसकी प्रेमिका । आमाले उसको फोन कुरेर थाकेपछि आफैंले फोन गरिन् । आमाको फोन देखेर सुनय झस्कियो । आमाले भनिन्, ‘कामले आउन नभ्याए ठीकै छ, मैले गाउँबाट आउने बसाँ तँलाई मन पर्ने कुराहरू पठाइदेकी छु । लिन जा बसपार्क ।’
‘किन दु:ख गर्‍या त ? ?’
‘पछि छोराछोरी भएपछि बुझ्लास् ।’
‘ल ल हेरुँला म ।’ सुनयले झिंझिएर भन्यो र फोन राख्यो ।
प्रेमिका कोठामा थिई । घरबाट पठाइदिएको बोरा खोतल्दै उसले सोधी, ‘ह्वाट इज दिस ?’
‘आमाले पठा हो घरबाट’ सुनयले बुझायो ।

‘ह्वाट रबिस, यस्तो पनि के पठाको ? मान्छेले देख्दा नि के भन्छ ? यस्तो मासु कसरी खाने ? पकाउनै जान्या छैन ।’ मासु हेर्दै बोली प्रेमिका ।

सुनय केही बोलेन । प्रेमिकाले भनी, ‘यो दसैंमा म तिम्लाई गज्जबको ठाउँमा लैजान्छु । लोकल कुखुराको बेस्ट मासु पाइन्छ त्याँ । आई विल बुक द होटल है ?’
‘दसैंमा त घर जान पर्‍यो नि ।’

‘ह्या सधैं गाको घर त हो नि । यसपालि घुम्न जाने । पाएको बिदा धुमधामले मनाउने ।’
सुनयलाई पनि हो झैं लाग्यो । उसले स्विकार्‍यो । एक्कासि प्रेमिका अँगालोमा बेरिई रूखलाई लहराले बेरेझैं ।

दसैंमा आमा एक्लै भइन् । सुनयले फोन त उठायो तर सीधै भन्यो, ‘यसपालि म आउन्न आमा ।’
आमाले बिन्ती बिसाइन्, ‘टीकाको दिन मात्रै भए नि आइज छोरा ।’
‘भ्याउन्न आमा, साथीहरूसँग घुम्दैछु ।’ सुनय खस्रो सुनियो ।

आमा भक्कानिइन् । सायद उनको आँखाहरूबाट बगेको नदीले उनको फरियाको फेर भिजायो होला । आमाको सुँकसुँकाहट र बोझिलो श्वासले त्यही भन्दै थियो । आमाले अड्किएको बोलीमा बिस्तारै भनिन, ‘बाटो हेरुँला म ।’ उता आमाले मोबाइलको रातो बटन थिचिन् । यता सुनयले प्रेमिकाको रातो ओठलाई चुम्यो । पूर्णेको जुन झलमल्ल लाग्यो र गयो । सयपत्री ओइलायो, मखमली सुक्यो तर सुनय घर गएन ।
…..
‘ल है झरुँ झरुँ… । सदरमुकाम आइपुग्यो ।’ खलाँसीको तिखो आवाज हावामा गुन्जियो । सम्झनाका हरेक भारीहरूलाई बिसाएर ओल्टाइपल्टाइ गर्दै गर्दा आँखा झपक्क मात्र भएको थियो, ओर्लने ठाउँ आयो । सुनय हतारहतार बसबाट ओर्लियो । ऊसँगै बूढो पनि ओर्लियो । बूढोलाई लिन एउटा बाइकवाला केटो अघिदेखि नै कुरेर बसिरहेको थियो । बाइकवालाले सुनयलाई देख्नेबित्तिकै भन्यो, ‘भर्खर आउँदै हो तिमी ?’
‘हो’ सुनयको आवाज दबिएको थियो ।
बूढो नजिकै आइसकेको थियो । बूढोलाई देखाएर बाइकवाला बोल्यो, ‘मेरो हजुरबा ।’
‘एउटै सिटाँ बसेर त आको,’ बूढोले भन्यो ।
बाइकवाला फिस्स हाँस्यो ।

‘हेर न आमालाई हस्पिटलमा राखेको छ त्यसैले आको,’ सुनय हतारियो ।
‘हो र ? चढ उसो भए ।’ बाइकवालाले बूढो र सुनयलाई बाइकमा चढायो र कुदायो त्यहाँबाट ।
‘को बाबु हो ?’ बूढोले जान्न चाह्यो ।
बाइकवाला बोल्यो, ‘मेरो स्कुल पढ्दाको साथी । उसको आमा हस्पिटलमा रे हजुरबा ।’
त्यसपछि बूढो केही बोलेन ।

सुनय हस्पिटल पुग्यो । तर, त्यहाँ आमा थिइनन् । आमाको नाम कतै पनि दर्ता भएको थिएन । अनि सुनयलाई लाग्यो, कतै आमाको चाल हो कि यो ? घर बोलाउने चाल, काका काकी र अरूहरू राखेर बिहे गर्न कर गर्ने चाल । उसलाई एक्कासि नरमाइलो लाग्यो । यतैबाट काठमान्डु फर्किऊँझैं लाग्यो । तर, त्यहाँसम्म पुगेपछि घर छिर्ने रहरले उसको हर इच्छालाई जित्यो । ऊ साथीको बाइकमा बस्यो । बाइक फेरि हुइँकियो ।

घर पुग्दा आँगनमा मान्छेहरूको भीड थियो । घरको खुला ढोकाबाट फटफट एउटा भाले पखेंटा बजाएर निस्क्यो र टाढा भयो । पोथीबिनाका चल्लाहरू चिउँचिउँ गर्दै वरिपरि घुमे । आँगनमा कसैको लास थियो । लास छोपेको कपडाबाट निस्किएको खुट्टाको औंला आमाकै थियो । एक हेराइमा चिन्यो सुनयले ।

सुनय जब जब आमाको नजिक गयो तबतब सम्हालिन गाह्रो भयो उसलाई । उसको आँखाको कुना भरिए र पोखिए । सुँक्कसुँक्क आवाज बढ्दै गयो र बदलियो एउटा क्रन्दनमा । बोकेको ब्याग झ…र्‍यो । आफ्नै ज्यान सम्हाल्न गाह्रो भयो र टेक्यो दुई घुँडा जोडले । अरू बेलामा भए आमाले सोध्थिन्, ‘दुख्यो कि तँलाई ?’ तर, आज केही भनिनन् । आमा बोल्दै बोलिनन् । एक झोंका हावा बहेली खेल्दै आयो ।

आमाको अनुहारबाट छोपिराखेको सेतो कपडा उडायो । आमा चिरनिद्रामा थिइन् र निद्रामै आमाको अनुहारमा एउटा गहिरो प्रतीक्षा लिपिएको थियो, सुनयको आगमनको । एउटा नमीठो गुनासो थियो बेवास्ताको । सुनय टोलायो र घोप्ट्यो आमाको छातीमा । आमाको ढुकढुकी चलेन । आमाको हातले सुनयको टाउको सुमसुम्याएन ।

फोन गर्ने पुरुष बोल्यो, ‘हिंड्दाहिंडदै ढलिन् भाउजु । हर्ट एट्याकले उनलाई लग्यो । तँलाई गाह्रो हुन्छ भनेर मात्रै ढाँटेको । हिजै बितेकी हुन् भाउजू ।’

सुनय बोल्नै सकेन । केवल चुपचाप आमाको छातीमा टाँसिइरह्यो ।
फोन गर्ने पुरुषले फेरि भन्यो, ‘बहिनी ज्वाइँहरूलाई पनि खबर गद्र्या छ, आउँदै होलान् ’

दुई वर्ष बित्यो । घरतिरबाट एक कल फोन आएन । हरेक दिन घरमा मीठो पाक्दा आमाको फोन आउँथ्यो । हरेकपल्ट यता बाडुल्की लाग्दा उता आमाले सम्झिन्थिन् । हरेक चाडमा आमाले फोन गर्थिन् र कुरेर बस्थिन् बाटो । सब सकियो । सब बन्यो एकादेशको कथा । यतिका दिन बित्यो, न कसैले सोध्यो, ‘तँलाई कस्तो छ ?’ न कसैले भन्यो ‘तेरा लागि तँलाई मन पर्ने चीज बनाएर पठाइदेको छु ।’ न कसैले मायाले भन्यो, ‘बाटो हेरेर बसेको छु ।’

यी सब पुराना भए । तर, पुरानो भएको थिएन आमाको याद । आमा दिलमा हुँदाहुँदै पनि कोठाको भित्तामा ठूलो फोटो बनेर बसेकी थिइन् । त्यहीं अड्कियो सुनयको आँखा र टोलायो ऊ । निकैबेर ।

प्रकाशित: चैत्र ६, २०७२

(स्रोत : कान्तिपुर)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.