नेपाली लघु उपन्यास : बारवालीको डायरी

~सुशीलराज रेग्मी~

साँझको लज्जा अधेँरी, कतै धिप–धिप त कतै झकमक्क बलेको काठमाडौं । चारतले घरको सेपिलो कोठा, बेरोजगारीमा पिल्सिएको म अनि प्रेममा रुमलिएको मेरो रुम पार्टनर । गाउँबाट ल्याएको भटमास र आलुको तरकारीसँग मोबाईलको उज्यालोमा बेलुकाको छाक टारेपछि जुठो भाँडो बाटामा खाँदेर हामी आफ्नै तुनेलोमा निस्कने तयारीमा छौँ । उसो त ऊ अक्सर खाना सकिनुसँगै मोबाईलमा खासखुस सुरु गरिहाल्थ्यो आज सायद रिचार्ज सकिएछ क्यार मसँगै बाहिर निस्कियो । ऊ त्यही नजिकैको पसल तिर सोझियो म चाहिँ केही बेर सितल-पैदल गरेर फर्कने सोचले अघि बढेँ ।

महाबौद्धको साँघुरा गल्लीहरुमा घरी बोनस र कमिशन सम्झँदै मुस्कुराउँदै हिडेका कर्मचारी त घरी नाम्लाले थिचिएको टोपीले पसिना पुछ्दै हिँडेका भरियाहरुसँग ठोक्किँदै चुरोटको तल्तल मेटाउन निस्केको म भिड छिचोल्दै ठमेल तिर सोझिँदै थिए । उसो त ठमेलका डिस्को र बारहरुमा छिर्नु मेरो न त योजना नै छ न त अनुभव नै । दिनभरीको बेरोजगारी दौडसँगै खाएको हन्डर र ठक्कर पचाउन भनेर अर्काको सुख हेर्न निस्केको म अभागी ।

अभाव र तनावले भरिएको विद्यार्थी जीवन, जेनतेन दोस्रो श्रेणीसम्म ल्याएर पास गरेको बिबिएससम्मको प्रमाणपत्र, काठमाडौंको बसाइ अनि किसानको छोरो । जागिरको लागि न त गतिलो प्रमाणपत्र थियो न त पहुँच नै । कैयौँ कार्यालय र कम्पनीहरुमा धाउँदा पनि जागिर खान नपाएको झोँकमा सिग्रेट खान सिकेको मलाई हिजो आज लतजस्तै भएको छ । लेखाइ, पढाई छैन कोठामा न त बसेर टिभि हेरौँ भन्नु छ, न त उज्यालोमा कुनै पुस्तक नै पढौँ भन्नु छ । उसै त काठमाडौं, त्यसै माथि सधैंको लोडसेडिङ, खाना खानसाथ निन्द्रा पर्दैन । समय काट्न कै लागि भए पनि केही बेर बाहिर ननिस्की हुँदैन । त्यहीमाथि यो चुरोटको लत, पोलेमाथि अगुल्टो भाको छ, बेरोजगारलाई पैसाको खनारो । उसो त २ मुठा साग रु ५ मा दिनुन भनेर सागवाली आन्टीसँग गनगन गर्ने मेरो रुम पर्टनर पनि हर साँझ रु १०० त फोन मै फाल्छ । गफ पनि कति आको कहिले त आधारातसम्म पनि फोन मै बोली रहेको हुन्छ । समय र पैसाको नास, हुँदो न खाँदो । त्यही फोन सुन्नका झ्याउले पनि म हरदिनजस्तो बाहिर निस्कन्थें, अनि निन्द्रा आउला जस्तो भएपछि गएर लुसुक्क सुतिदिन्थेँ ।

ईन्द्रचोक हुँदै ठमेलको रमझम हेर्दै टहलिएर फर्कनु मेरो लागि दैनिकीजस्तै बनेको थियो । कलेजको पढाई नसकिदा त झन साथीभाइको लहलहैमा वीर अस्पातलसम्म पुगेर नर्स पनि जिस्काइयो । २–३ ओटीले त फोन नम्बरसमेत दिएका थिए । कोही जमानामा त म पनि आधारातसम्म फोनमा बोलेँ हुँला । यो आइमाईको लत नै यस्तो, लागेपछि सर्वस्व नसकिँदासम्म होस् नआउने । बिरामीको नाङ्गो शरीरसम्म देखेका नर्सहरु कहिले काँही त भाइबर र स्काइपमा गफ गर्दागर्दै नाङ्गो पनि भई दिने । अहो ! समय र पैसा क्या खेर फालियो । जब जागिरका नाउमा मार्केटिङ कम्पनीका स्याम्पो र फेसवास बोकेर दैलो–दैलो हिडियो तब बल्ल पैसाको महत्व बुझियो । आज भोलि त मिसकल गर्नेहरुको पनि वास्ता नै लाग्दैन ।

भिड खुकुलो भो, आज धेरै परसम्म एक्लै जाने मन पनि थिएन । अगाडिको, हिराचन बाको पसलबाट चुरोट किनेर फर्कने मन भयो । यसो पसल तिर सोजिएको मात्र के थिएँ, अगाडि फोनमा चर्को–चर्को बोल्दै गरेकी युवती तर्फ आँखा पुगे । कालो ओभरकोट, कसिलो जिन्सको निलो पाइन्ट च्यापेर घुडासम्मै पुगेको लेदरको बूट, हेर्दै सिनेमाकी नायिका होलीजस्ती । अक्सर जस्ती भए पनि युवतीप्रति केही बेर अडिने यी पुरुष आँखा यति सुन्दर युवती देख्दा त हट्नै मानेनन् । मैले बाटो वारीको पेटीमा बसेर आँखा नझिम्काइ हेरी रहे । हेर्दै खाइ लाग्दो शरीर, लोभ लाग्दो पहिरन अनि आङमा कसिएर आकार झल्काइ रहेका कपडा । मेरो पुरुष मस्तिष्कले के–के कल्प्यो कल्प्यो । रेशमी रातो (खैरो पारिएको) खुल्ला केशले छोपिएर अनुहार पुरा देखिएको थिएन । म चै कति बेला कोल्टो फर्केली र हेरौला भन्दै बसेको । उसो त सम्मुख मै परे पनि मलाई वरमाला पहिराउने त हैन तैपनि लोभी, पापी मन नहेरी पसल छिर्नै मानेन ।

ऊ उता फर्केर फोनमा छिटो–छिटो कुरा गरे जस्तै सुनिन्थ्यो । थोरै टाढा भएर होला गफ केको विषयमा थियो भन्ने चै प्रस्ट बुझ्न पाइएन । जेहोस् बोलीचाली हेर्दा निकै हतारमा भए जस्तो लाग्थ्यो । देब्रे हातले फोन कानमा च्यापेर गफ गर्दै थिइ अनि दाहिने हातले आडैको रातो होन्डाको डिओ स्कुटरको पछाडि खै के गर्दै थिइ । उसले डिक्कीबाट कालो सिसा सहितको गुलाबी हेल्मेट निकाली । उसको हेल्मेटसँगै केही चीज भूइमा खसे झै लाग्यो । अचानक उ हेल्मेट लगाएर कोल्टो फर्की । ठूला चस्माले ढाकिएका आँखा अनि हेल्मेटले ढाकिएको टाउको अनुहार प्रस्ट थिएन र पनि अलिकति देखिएका गाला निकै रसिला र पोटिला थिए । म उसै तिर हेरेर टोलाएँछु, पार्वती देखेर टोलाएको जालान्धर जस्तै । उसले इन्द्रचोकलाई दाहिने घुमेर युटर्न मारी र गोलीको रफ्तारमा हिँडी । उसको स्कुटरको आवाज मधुरो हुँदै गयो अनि बल्ल सम्झन पुगेँ ‘ओहो ! उसको हेल्मेट झिक्ने बेला केही चीज भुइमा झरे झैँ लागेको थियो के रहेछ’ भन्ने । म हतार–हतार उ उभिएको स्थानमा पुगेँ, यता, उता हेरेँ, भूर्इबाट खसेको सामान टिपेँ । आहा ! कति राम्रो पुस्तक बिचरीलाई भनिदिनु पर्ने म पनि कस्तो एकोहोरो टोलाएरै हेरेको हेरै पो भएछु ! हतनपत पाना फर्काइ हालें । निलो बाक्लो गाता भएको भित्र केही पेज मात्र लेखिएको, ‘ला यो त उसको डायरी पो रहेछ ।’ अब के गरौँ, कसरी फिर्ता गरौँ, भन्ने भयो । टिपेर हातमा लिएँ, मन मनै सोचेँ – ‘जेसुकै होस् आज लगेर पढ्छु र भोली यसै बेला आउँछु र भेट भो भने फिर्ता गरिदिन्छु नत्र केही उपाय सोचौँला ।’ हिराचन बाको पसलमा डायरी बोकेरै छिरेँ । ट्राउजरको गोजीमा बोकी ल्याएको नोटले दुई वटा मोटा मैनबत्ती मागेँ । साहुबाले अलि आश्चर्य माने झैँ गरी ‘आज चुरोट नलिने’ भन्दै सोधे । मैले आज केही काम छ बा सिधै कोठामा जानुछ भनेर टारेँ । अनि हतार–हतार भिड छिचोल्दै रूम तिर लम्केँ ।

त्यति सुन्दर युवतीको पर्सनल डायरीमा के लेखिएको होला भन्ने कुराले मलाई निकै उत्सुक बनायो । मानौँ त्यो डायरीमा अक्षर नभएर उसैका अङ्ग नै छन् कि जस्तो । म केही बेर मै रूममा आइ पुगेँ । साथी फोनमा खै के गनगन गर्दै थियो, सायद कुनै गम्भीर विषयमा गफ हुँदो हो । हुन त यो जाबो प्रेमको जातै यस्तो, प्रफुल्लता भन्दा गम्भीरता बढी, हाँसो भन्दा आशु बढी । खैर जेसुकै होस् भन्दै मैले गोजीको लाइटर झिकेर क्यान्डलमा झोसेँ । कोठा उज्यालो भो अनि खाटमा घोप्टो परेर डायरीका पाना उघार्न थालेँ, सायद उसको पहिचान कतै उल्लेख छ कि भन्ने आशमा ।

‘सपना’ पहिलो पटक बार छिर्दा ढाँटेर दिएको परिचय, विस्तारै त्यही पहिचान अनि हिजोआज बारको दुनियाँको महङ्गो अनि मसहुर नाउँ । बारमा बोलाउनको लागि एउटा नाउ मात्र भए पुग्यो पछाडि जातीय पहिचान जनाउने कुनै पुछर झुन्डाइ राख्नु नपर्ने । उसो त मेरो कक्षा ८ सम्मको सर्टिफिकेट र नेपाली होस् भनेर दिएको नागरिकता प्रमाणपत्रमा सकुन्तला कुमारी शर्मा लेखिएको छ । जीवनमा आजसम्म यो समाज र सरकारले दिएको पहिचान कहीँ काम लागेन, क्रमशः एकएक टुक्रा अर्थहिन लाग्यो र हटाउँदै गएँ । अन्त्यमा बार छिर्नुताका त्यही ‘सकुन्तला’ मात्र पनि भन्न लाज लागेर ‘सपना’ भनिदिएकी ।

१२ वर्षपछि आज फेरी उसले अतीत बल्झाइ दियो । आकाशमा जुन हराएर घाम उदाउँन आँटी सक्यो तर मेरा आँखामा निन्द्रा आउने कुनै सुरसार नै छैन । करिब ५०० को हाराहारीमा घरधुरी रहेको सिन्धुपाल्चोकको बिकट गाउँ शिखरपुरबाट रत्नपार्क हुँदै ठमेलको आजको बारसम्म आइपुग्दाका घटनाहरु सबै–सबै मस्तिस्कमा फिलिमका रिल घुमे झैँ घुम्न थाले । जिल्ला नफर्केको पनि १० वर्ष भइसक्यो । फर्कनु पनि कसका लागि । अविवाहित केटी, परिवारले ‘तँ हाम्रा लागि मरिस्’ भनेको पनि थुप्रो भइसक्यो । पहिले–पहिले त आमा आक्कल झुक्कल गाउँको पिसिओबाट फोन गर्थिन् तर हिजोआज उनले पनि दाइ–भाउजुको कुरा सुनेर होला फोन गर्न छाडिन् । मेरो जे छ जायजेथा, इस्ट–मित्र सबै यही बार र काठमाडौं मै छन् । कति तीज र तिहार गए न आमाले छोरी खोजिन् न दाजुभाइले चेली । सम्झेर ल्याउँदा मरुँ कि बाँचू हुन्छ । मरेर के नै जितिन्छ र मरिहाल्न पनि मन लाग्दैन । एक्लै भए पनि काल लिन नआउँदासम्म भए पनि बाँच्नु पर्ला भन्ने अठोट बोकेकी छु । आँखा एक झिमिक पनि मार्न तैयार छैन । जिन्दगी आँखा अगाडि घुमि रह्यो आज मन घरी ‘सपना’ त घरी ‘सकुन्तला कुमारी शर्मा’ बन्दै घुम्दैछ, पुराना सबै यादहरु ताजा पारेर ।

मेरो कागजी नाउ ‘सकुन्तला कुमारी शर्मा’ मा त्यस्तो खास र अपरिहार्य कुनै पनि टुक्रा नलागेरै मैले एक–एक गर्दै तिनीहरुलाई प्रयोग गर्न छोडेकी । त्यो सबै सार्थक नलाग्नुका पछाडि पनि कैयन कारणहरु छन् । जबदेखि बुझ्ने भएँ त्यति बेलादेखि नै समाजमा देखेँ, सुनेँ कि छोरी मान्छेको बिहेपछि थर, गोत्र दुबै फेरिन्छ रे ! र श्रीमान जुन थर, गोत्रका हुन्छन् त्यही थर, गोत्रका हुन्छन् रे ! त्यसैले यो कुरा जब समाजमा आँफैले प्रस्ट देखेँ र भोगेँ त्यही बेलादेखि नै भन्नै पर्ने ठाउँमा मात्र थरको प्रयोग गरेँ नत्र अक्सर परिचयका क्रममा थरको प्रयोग नै छोडिदिएँ । उसो त मेरी आमा पनि बिहे अगाडिसम्म अर्याल थर कि थिइन रे ! तर बिहेपछि चाहिँ शर्मा भएकी बाबुसँग विहे गरेका कारणले । तर मेरा मावलीहरु अझै पनि त्यही थर र गोत्र मै छन्, पुरुष भएकाले । कस्तो हेपाहा पुरुषवादी समाज, आईमाईको थर र गोत्रसम्म पनि स्थायी हुन नदिने । यसरी सकुन्तला कुमारी शर्माबाट शर्माको बिलिन भयो साथै कुमारी पनि । जब १७ वर्षको हुँदा मेरो बाल्यकालको साथी, मेरो स्कूलको हेडसरको छोरो निराजनसँग कुमारित्व गुमाएँ त्यसपछि नाममा थरसँगै कुमारी पनि लेख्न छोडि दिएँ । अक्सर कम मान्छेहरु हुन्छन् पारिजातजस्ता, जो अविवाहित त हुँ तर कुमारी हैन भन्न सक्छन् । मैले पनि कुमारी रहिनँ भन्ने कुरा नाउबाट कुमारी शब्द हटाएर उद्घोष गरें । अब त्यही बाँकी बचेको सकुन्तला पनि रत्नपार्कसम्म आईपुग्दासम्म थियो तर बार छिर्नु अगाडि नै हराएर सपना हुन पुग्यो । र अहिले ‘सपना’ नै सफल छ ‘सकुन्तला’ भन्दा ।

आज भन्दा करिब २९ वर्ष अघि सिन्धुपाल्चोकको एउटा सामान्य गाउँ शिखरपुरको गरीब, किसान परिवारमा जन्मेकी म, आमाको काख मै मेलापात गरेर तिनै बारीका आली र काँल्लाहरुमा एक्लै खेलेर हुर्केकी । बा भारत तिरै काम गर्नु हुन्थ्यो, सायद दर्भानको ! त्यसैले होला बच्पनमा बाले जागीर र अफिसको बारेमा कुनै जिकिर नै गर्नु भएन । त्यहीमाथि बा कहिले कसो ठूला चाडवाडमा मात्र घर आउने । हरेक छुट्टीसँगै आमाको जिउ भारी गराएर फर्कने । गरीब भएर धेरै सन्तान भए वा धेरै सन्तान भएर गरीब भए मेरा बाआमा, मैले कुरो बुझिन दुबै हो झै पनि लाग्छ ।

देशमा छोरीलाई पनि विद्यालय पठाउने लहर चलिसकेको थियो । म माथिका २ दाजुहरू स्कुल जानुहुन्थ्यो । जेनतेन मलाई पनि विद्यालय पठाइयो । शिक्षक शिक्षिका, गाउँ भरिका दौँतरी, नयाँ–नयाँ ज्ञान, गुनका कुरा, त्यै भएर पनि मलाई विद्यालय जान औधी मन पर्ने । शनिबार पनि लागि दिए हुन्थ्यो जस्तो लाग्ने । कक्षा २ बाट नै म सधैं प्रथम वा द्वीतिय हुँदै आएँ । एकाध सर, गुरुमाहरुले त भन्नु हुन्थ्यो – निराजन हेडसरको छोरा भएर मात्र हो नत्र त खासमा कक्षा प्रथम त म नै हो रे ! तर मलाई निराजनले जितेकोमा कुनै गुनासो थिएन । ऊ औधी मिलनसार थियो । अनुहारको भाव पढेर नै नजिक आएर सोध्थ्यो, ‘सकुन ! के भा छ हँ तिमीलाई’ भनेर । कक्षा एकदेखि नै ऊ मेरो घनिष्ट साथी मध्येको एक हुनपुग्यो, त्यो पनि केटा त ऊ मात्र हो अरु साथी सबै केटीहरु नै थिए । उसले मेरो निकै ख्याल पनि गर्थ्यो । कक्षा ५ मा हुँदा उसले आफ्नो विज्ञान कापी मलाई नोट गर्न भनेर दिएको अझै याद आउँछ ।

दुःख, सुख गर्दै भए पनि बुबाआमाले मलाई विद्यालय पठाएकै थिए, म पनि राम्रै मेहनतसँग पढ्दै थिएँ । तर म कक्षा ५ मा पुग्ना साथै माइलो दाई साथीका लहैलहैमा लागेर पढाई छोडेर इन्डिया तिर भागे । केही समय त सम्पर्क मै आएनन् । र सम्पर्कमा आएको केही वर्षसम्म कमाइ घरमा भित्रेन पनि । म कक्षा ५ मै हुने बेला नै आमाले भाइ जन्माएकी, सन्तानसँगै घरमा समस्या बढ्दो । म जेनतेन कक्षा ८ सम्म पुगेकी के थिएँ अब पढाउन सक्दैनौ भन्ने कुरा गर्न थाले । एकदिन आमाले नै मुखै फोरेर भनिन्, ‘सबै स्कुल हिनेर घर चै कसरी चल्छ नि ! अब सानो भाइलाई पनि पढाउनु पर्छ ।’ जब सानो भाइको कुरा निस्कियो म गम्भीर भएँ, जसरी भए पनि बहिनीको पढाई सुचारु गर्नु पर्छ भनेर म माथिका दाजुहरु नबोले पनि भाइको लागि म आफ्नो पढाई रोकी दिन तयार थिएँ, ऊ म भन्दा सानो छ, हुन त बहिनी नै भएको भए पनि म उसको लागि आफ्नो पढाई रोकी दिन्थेँ । त्यसै माथि मलाई भाइको साह्रै माया लाग्थ्यो, कान्छो भएर हो वा भाइ भएर हो मलाई उसको साह्रै माया लग्थ्यो । मैले आफ्नो पढाई रोकेरै भए पनि भाइको पढाई सुरु गर्ने प्रण गरे । किनकि सानालाई बाटो देखाउनु र अवसर दिनु ठूलाको कर्तब्य हुन आउँछ भन्ने मलाई थाहा थियो । तर मेरा दाजुहरुले त्यसो गरेनन्, छोरा भएर हो वा मन नै स्वर्थी भएर हो त्यो उनीहरु नै जानुन् । यसरी मेरो औपचारिक पढाई कक्षा ८ मा प्रथम भएसँगै रोकियो । मन भरी झोला र किताब बोक्दै आमासँग मेलापातहरुमा लतारिएँ । घरको छाक र भाइको भविस्यको नाउमा ।

यसैगरी मेलापातहरु मै अक्सर दिनहरु बित्ने गर्थे । कहिले नवविवाहिताहरुको लजालु रातको अनुभव त कहिले वर्षौदेखी श्रीमान बिदेसिएकाहरुको पिडादायक गुनासो । मेलामा समय कहिले दिन भरी हाँसेर त कहिले अरुकै पिडामा गम्भीर भएर बित्थ्यो । तर जब मेला सकिन्थ्यो वा स्कुले विद्यार्थीहरुमा आँखा पर्थे तब पढ्न नपाउनुको पिडा उर्लेर आउँथ्यो । केही पल्ला गाउँका केटी साथीहरु बाहेक मेरो नजिकैको साथीहरुमा निराजन नै थियो त्यो पनि आफ्नै गाउँको । ऊ एसएलसीको तयारीमा थियो, यता म भने दिनभरी मेला र पात । सरासर स्कुल जान पाएको भए सायद म पनि अहिले एसएलसी परीक्षाको तयारीमा दिन रात तल्लिन हुने थिएँ होला, के गर्नु छोरीको कर्म त्यो पनि गरीबको कोखीमा । यसरी मेला पात र घास दाउरा नै दैनिकी बनी सकेको थियो । अब त पढ्न नपाउनुको पिडामा छट्पटाउन पनि छोडिसकेकी थिएँ, नियतीसँग हार मानेर बसेकी । म मेला र घासपातबाट फर्किँदा कहिले काही निराजनसँग बाटोमा भेट हुन्थ्यो, हामी डोको बिसाएरै धित मरुन्जेल गफ गर्थ्यौं, ऊ अक्सर बच्पनका रमाइला क्षण सम्झाएर मलाई हसाउने प्रयास गर्थ्यो । दैनिक स्कुल जान नपाए पनि केही ज्ञान गुनका कुरा ऊ मसँग साटिहाल्थ्यो । ‘पढ्न नपाए पनि पिर नगर म छँदैछु’ भनेर आस्वस्त पार्थ्यो, अनि म पनि ढुक्क भए झैँ गर्थेँ । यसरी उमेरसँगै हाम्रो मित्रता पनि प्रेममा परिणत भइसकेछ ।

एकदिनको कुरा हो, म बारीमा घास काट्दै थिएँ, निराजन ट्युसनबाट फर्कदै थियो, उसो त म पनि जानी जानी अबेर गरेर बसेकी, ऊ ट्युसनबाट यति बेलै फर्कान्छ भन्ने जानेर । उसो त ऊ पनि काम बाठो थिएन, खै कसो कसो साथीभाइलाई छलेर त्यही बाटो आउँथ्यो एक्लै, सायद उसलाई पनि एकछिन मसँगै बसेर गफ गर्न पाउँदा निकै रमाइलो लाग्थ्यो होला । उसका बरु दिनभरी स्कुलमा साथीहरु हुँदा हुन् एक्ली त मै हुँ, मेलामा पनि उसलाई याद गरेर दिन काटेकी हुन्थेँ । तर हाम्रोबीच भौतिकता केही थिएन, निस्चल बालप्रेम । हाम्रा लागि सामिप्यता नै काफी थियो । झिस्मिस अँधेरो भइसकेको थियो, म डोको भरिएर पनि अल्याङ् टल्याङ् गरेर बसेकी, उसैको बाटो हेरेर । ऊ पनि मलाई देख्ना साथ बारीको डिल तिर उक्लियो अनि म भएकै मकैबारी तिर सोझियो । ऊ आएर मेरो आडैमा बस्यो । ‘डोको भरियो ?’ उसले सोध्यो । मैले हाँस्दै भने, ‘तिमी आउनु भन्दा २० मिनेट अगाडि ।’ ऊ मुसुक्क हाँस्यो । अनि मैले सोधेँ, ‘खाजा खायौ त ?’ उसले भन्यो, ‘दिउँसो खाएको त हो तर कस्तो भोकलागि सक्यो भन्या ।’ मैले रुमालमा पोको पारिराखेको मकै र भट्मास ऊ तिर सारेँ । मैले पनि घरबाट ल्याएका भुटेका मकै र भट्मास बचाएर राखेकी, उसैलाई दिन भनेर । उसले सोध्यो, ‘अनि तिमीले खायौ त ?’ ‘मैले खाएँ यो तिम्रै लागि हो,’ मैले भनेँ । तैपनि उसले पहिलो फाँको मैलाई नै खुवायो अनि आफू खान लाग्यो । मैले कुर्ताको सलले उसका पसिना पुछिदिएँ, ऊ मुस्कुराउँदै भट्मास टोकी रह्यो । सायद बिहानैदेखिको पढाई, निकै भोकाएको हुँदो हो । म मन मनै भन्छु, ‘तिमीले म सानो छँदा स्कुलमा ल्याएर खुवाएको टिफिनको गुन तिरेकी हुँ निराजन ।’ उसले बेला बेलामा एक–दुई फाँक म तिर सोझ्याउँदै सबै मकै र भट्मास खाइसक्यो, बल्ल उसका मुहारमा उज्यालो छायो, साँच्चिकै भोकाएको पो रहेछ !

भटमास खाइसकेपछि ऊ मेरो काखमा टाउको राख्दै पल्टियो, घरको सानोभाइ जस्तै गरी । मलाई थोरै अफ्ठ्यारो लाग्यो, उमेरले गर्दा पनि होला । हुन त हामी सानै उमेरदेखि धेरै समय सँगै बसेर पनि समय कटेका थियौ तर यस्तो आभास भएको थिएन । यसपाली जिउ नै थोरै सिरिङ्ग भएर आयो । उसले स्कुलमा म नहुँदा न्यास्रो लाग्ने गरेको कुरा बतायो, मलाई पनि त स्कुल जान नपाउँदा निकै नरमाइलो लाग्थ्यो तर के गर्नु गरीब परिवारमा जन्मेकि म त्यसै माथि छोरी भएर । यस्तै, यस्तै गफ हुँदै गर्दा मेरो एउटा हात उसले समाएको थियो भने अर्को हातले मैले उसको कपाल सुम्सुम्याउँदै थिएँ । गफ गर्दा गर्दै म गम्भीर भएँछु । रोक्छु भन्दा भन्दै एक थोपा आसुँ उसका गालामा तप्प खसी हाल्यो । ऊ जुरुक्क उठ्यो, आफ्ना हातले मेरा आँसु पुछिदियो अनि निधारमा चुम्बन गर्दै भन्यो, ‘म छँदै छु नि लाटी ! रोइ हाल्नु पर्छ त ?’ उसले तानेर आफ्नो अङ्गालोमा बाँधिहाल्यो । म आमाको काखमा रुँदै गरेको बच्चा फुलिए झै फुलिएँ, उसकै अङ्गालो मै बाँधिएर केही बेर सुक्क–सुक्क गर्दै आसुँ पुछेँ । उसले मलाई च्यापी रह्यो, म पुरै नथामिँदासम्म । आँखा ओभानो पारेर मैले उसका आँखामा हेरेँ, ऊ पनि गम्भीर थियो । मलाई चोट लाग्दा उसलाई पनि त दुख्थ्यो, सम्झेँ सायद यही हो प्रेम ।

ऊ गम्भीर भएको मलाई पनि हेर्न मन लागेन, म ऊ तिर हेरेर मुस्कुराइ दियेँ, ऊ पनि मुसुक्क हाँस्यो । उसले हाँस्दै फेरी अङ्कमाल गर्यो । यसपाली उसले मेरो आँखा, गाला हुँदै ओठसम्मै चुम्बन गरिदियो । उसले यो क्रिया केही बेरसम्म जारी राख्यो । म पनि आस्वस्त भएँ वा उत्तेजित उसका निधार अनि गालाहरु अनायासै चुमी दिएँ । त्यसपछि त मलाई लडाएर आफू माथि परिहाल्यो । आँखा खोल्दा उसका आँखा मेरा आँखा नजिकै थिए अनि उसका ओठ मेरा ओठ नजिकै थिए । उसले मेरा ओठ पहिले चुम्यो अनि फेरी चुस्न थाल्यो । म लाजले रातो, पिरो भएँ, आँखा बन्द गरेँ । करिब ५–७ मिनेट जति ऊ मेरो माथि चली नै रह्यो । ऊ मेरो शरीरबाट हटेको भान हुनासाथ थोरै आँखा खोलेर हिरेँ केही कोल्टो फर्केर पैन्ट लगाउँदै थियो, मैले पनि घुँडा मुनी पुगेको सुरुवाल तानेर बाधी हालेँ । लाजले उसको मुख हेर्न पनि सकिन । ऊ पनि पहिले झैँ आँखा जुधाउन सकी रहेको थिएन । मान्छे नचिनिने गरी अँध्यारो भइसकेको थियो । म हतार हतार डोको बोकेर उसलाई जाउँ पनि नभनि, उसको मुख तिर पनि नहेरी बारीको डिल-डिलै घर तिर दौडिएँ । त्यो रात मन भरी त्यही साँझको कुरा मात्र खेली रह्यो । भोलि उसको मुख कसरी हेर्नु होला, त्यही बारीमा घाँस काट्न कसरी जानु होला झैँ लाग्यो, ति मकैका बोटहरुले मलाई नाङ्गै देखे भने झैँ लाग्यो, लाजले भुतुक्क भएँ । आँखा झिमिक्क नगरिकनै उज्यालो भएको त्यो रात आजै जस्तो लाग्छ ।

त्यो घटनाको केही सातासम्म हामीले एक अर्कालाई भेट्ने साहस नै गर्न सकेनौँ । जीवनको पहिलो गल्ती भनौ या अनुभूति, सारै लाज लागेको थियो एक अर्काप्रति । करिब एक महिनापछि फेरी निराजन बाटोमा भेटियो, म पल्ला घर कि सविना भाउजुसँगै थिएँ, उसले औपचारिक कुरा गर्यो, काम, काज र श्वास्थ्य कस्तो छ भनेर सोध्यो (शायद मकैबारीको घटनाले म कतै आमा हुने वाली त छैन भन्न खोजेको हुँदो हो श्वास्थ्यको कुरोले) । मैले केही लजाउँदै भने, ‘स्श्वास्थ्यले अझैसम्म त धोका दिएको छैन पीर मान्नु पर्दैन ।’ ऊ मुस्कुरायो, सायद मेरो उत्तरको आसय बुझ्यो । मैले पनि उसको पढाई र दिनचर्या सोधेँ, उसले सबै राम्रै बतायो । धेरै समयको अन्तरालमा भेटिएको तैपनि साथमा भाउजु पनि थिइन मैले नै निराजनसँग बिदा मागेँ । ऊ पनि ‘हुन्छ ल, भेट्दै गरौँला’ भनेर बाटो लाग्यो । भाउजुलाई २–४ कदम अगाडि जान दिएर म केही सुस्त गतीमा हिँडे, एकपटक उसलाई फर्केर हेर्ने मन थियो त्यसैले । म पुलुक्क पछाडि फर्केँ, ऊ पनि मै तिर हेर्दै रहेछ, उसले मुसुक्क हाँसेर हात हल्लायो, म पनि हात हल्लाउँदै मुसुक्क हाँसे अनि मन–मनै भनेँ ‘राम्रोसँग पढ्नु ल अनि मलाई चाँही न बिर्सिनु नि !’ पाइला लम्काउदै भाउजुसँग बराबर हुन लागेँ ।

त्यस दिनपछि हामीबीचको डर र लाज केही मात्रामा हराएर गयो । अब फेरी भेटेर मनभरीका कुरा भन्न मन लागेको थियो । न भेटेको पनि महिनौ भइसक्यो । कहिले मकैबारीको लाज त कहिले उसको एसएलसीको तयारी । अब त उसको परीक्षा पनि सकियो अब फुर्सदिलो छ । उसले पनि सायद लाजले होला भेट्ने हिम्मत नै नगरेको । त्यो बाटोको भेटपछि बल्ल उसमा पनि आत्मबल आएछ । केही दिनपछि ऊ मैले घाँस काट्ने ठाउँमा आयो । त्यस दिन हामीले धित मरुन्जेल गफ गर्यौँ । हामी यतिसम्म खुलेर गफ गर्यौँ कि हाम्रो पहिलो गल्तीका कारण कतै म आमा त भइन ? भन्ने कुरा, हुन त त्यही डर मलाई पनि महिनावारी नहुँदासम्मै लागि रहेको थियो, धन्न महिनावारी सुरु भो र म ढुक्क भएकी । उसलाई पनि त्यही डरले सताएको थियो रे ! हामी दुबै जना कक्षाका अब्बल विद्यार्थी, कक्षा ८ मा नै प्रजनन् श्वास्थ्य पढाई हुँदा हामीले पनि धेरै कुरा पढ्न र बुझ्न पाएका । त्यस दिन हामी अबेरसम्मै गफ गरेर बस्यौँ । अन्त्यमा छुट्टीने बेला मात्र अंकमाल र एक–एक चुम्बन गर्यौँ । तर त्यस दिनपछि भने हामीले थुप्रै भेट गर्यौँ, उसको एसएलसीको रिजल्ट नआउँदासम्मै । पहिलो भेटमा जस्तो अरु–अरु भेटहरुमा मलाई आमा हुन्छु कि भन्ने डर रहेन किनकि ऊ कहिले आँफै लगाउने कुरा लिएर आउथ्यो त कहिले मलाई खाने कुरा लिएर आइदिन्थ्यो । यसै गरी हामी एक अर्काको निकै नजिक भयौँ, श्रीमान–श्रीमतीजस्तै ।

केही समयपछि उसको एसएलसीको रिजल्ट पनि आयो । सुन्न म निकै आतुर थिएँ । पछि थाहा पाएँ उसले डिस्टिङ्सन मार्क्स ल्याएर एसएलसी पास गरेछ । अब केही दिन मै ऊ काठमान्डौँ पढ्न जाँदैछ अरे ! भन्ने सुनेर मन आत्तिएर आयो । उसलाई कहाँ र कतिबेला भेटौँ झै भयो । मन थाम्न नसकेर सविना भाउजु कि सानीछोरीसँग खबर पठाएँ । उसलाई सिकाएर पठाएँ (निराजन दाईलाई गएर भन दिदीले भेट्न खोज्नु भा’छ भनेर) । उसको घर निरजनको घर नजिकै थियो । सानी भए पनि ऊ पाकी थिइ उसलाई मात्र भन है भनेपछि खुसुक्क उसैलाई मात्र भन्ने । खबर पठाएपछि ऊ आउछ भन्ने आस मनमा पलाएर आयो । म केही अबेर गरेर बारीमा घाँस काट्न निस्केँ । म उसकै बाटो हेर्दै मकैका बोटहरुसँग गफ गर्दै बसेकी, घोगा माथि घोगा हालेका मकैसँग सोध्न मन लागेको थियो- ‘तिमीहरु पनि बैँस कसरी पोख्छौ ? के तिमीहरुलाई पनि यस्तै एकान्त र अँधेरी चाहिन्छ ? या खुलेआम ? अनि घोगा माथि घोगा फलाई दिन्छौ ?’ मकैका बोटहरु हेरिमात्र रहे लाज माने झैँ गरी । मकैका धापले पसिना खल्खल्ती आए । म परवाह नगरी डोको भर्न तल्लिन छु, निराजन आउनासाथ बसेर मन भरी गफ जो गर्नुछ, मलाई छोडेर नजा है भन्नु छ । एक दुई अँगाला घाँस अरु काटेपछि लगभग डोको भरियो । एकछिन आलीमा बसेर सुस्ताउन आँटेकी मात्र के थिएँ कोही पुरानो नेपाली गीत सुसेल्दै आयो, ला ! निरजन आइपुग्यो, उसको सुसेलीको सङ्केतसँग अभ्यस्त भइसकेकी म पनि । म सललाई डल्लो पारेर पसिना पुस्न थालेँ । घाँटीमा मकैका पातहरुले पाछेको हुँदा पसिनाले चहराए झैँ पनि लाग्छ । कुर्ताको फेरो उचाल्दै बग्दै गरेको पसिना पुछेँ । अब ज्यानमा पसिनाको गन्ध बाँकी नै रहे पनि पसिना भने ओभानो भयो ।

उसको सुसेली नजिकिँदै आयो अनि मैले पनि काँसो लागे झैँ गरी खोकेँ, अब दुबैको सङ्केत पुरा भो, ऊ आली–आली हुँदै म तिरै सोझियो, ऊ जति–जति नजिक आयो मलाई ऊ अब काठमाडौँ जाँदैछ भन्ने कुराले उति नै गम्भीर बनायो । ऊ नजिक आउना साथ मैले आफूलाई सम्हाल्नै सकिन, उसलाई झम्टेर अँगालो हालेर रोएँ । ऊ पास भएकोमा बधाईसम्म दिन बिर्सेर अब ऊ काठमाडौँ जाँदैछ भन्ने कुरो दोहोर्याउदै रोएँ । उसले मलाई सुम्सुम्याउँदै भन्यो, ‘म सधैंका लागि जाने हो र ? त्यस्तो कमजोर नबन न, तिम्रै हौसलाले त म यति राम्रो अङ्क ल्याएर पास भाको छु’ उसले मेरा आँखाका आँसु पुछ्दै सम्झायो । म उभिए पनि उसैका छातीमा आड लाएर अडिएकी थिएँ । केहीबेर रोएपछि उसले समाएर बारीको डिलमा बसायो, मलाई धेरै बेर सम्झायो । मलाई पनि आभाष भयो ‘म आफू पढ्न नपाए पनि उसको सफलताको बाटो मेरा आँसुले रोकी दिनुहुँदैन, उसलाई निकै माथि पुग्न सहयोग गर्नु पर्छ’ झैँ लाग्यो । उसले जब म उसको हौसला भएको कुरा बतायो तब मैले सम्हालिँदै आँसु पुछेँ ।

खै ! किन हो किन उसको काखमा मलाई दुधे बालख झैँ पल्टेर रोइदिन मन लाग्छ । उसले त्यति भाँती सम्झाएपछि चाहिँ म केही ठाडो भएँ अनि ऊ तिर हेरेर मुस्कुराइ दिएँ उसकै खुशीका लागि । बल्ल उसका मुहारमा पनि कान्ती छायो । मलाई ऊ सहर जाँदैछ केही दिएर पठाउन पाए हुन्थ्यो झैँ लागेको छ तर दिनकालागि केही छैन । उसले मलाई आफ्नो काखमा राखेर मेरा केश मुसार्दै निकै अर्ती र हौसला दियो, मन ढुक्क भएर आयो, उसको झन–झन माया लागेर आयो, अब सहर जाँदैछ कहिले पो भेट हुने हो, अस्ति नै जाबो १–२ महिना त कस्तो गाह्रो भा’को थियो अब त झन के हो, के हो ? यस्तै, यस्तै मनमा तर्कना दगुर्दै गर्दा मलाई उसको निधार चुमिदिन मनलाग्यो, मैले उठेर उसको निधार चुमी दिएँ, अनि भनेँ, ‘मलाई सधैं यसै गरी माया गर्नु है ।’ उसले मलाई आफ्नो अङालोमा कसेर मेरा ओठ चुमी दियो । म पनि के कम उसको देब्रे गालामा दाँत नै गढ्ने गरी टोकी दिएँ अनि भनेँ, ‘लौ मेरो चिनो यही हो सहर बसुन्जेललाई ।’ ऊ ऐय्या भन्दै मलाई झम्टिन लाग्यो । छोरा मान्छेको शरीर हेर्दा पातलो भए पनि दह्रो छ, उसले मलाई डिल मुनी लडाई हाल्यो । अघि पुछेको पसिना फेरी जस्ताको तस्तै भयो । आज म उसले जे गरे पनि रोक्ने मूडमा छैन । किनकी यो भेट अब केही महिनासम्मकालागि अन्तिम हुन पनि सक्छ । सायद अब अर्को भेटको लागि महिनौ कुर्नु पर्छ भन्ने कुरो उसका मनमा पनि गहिरो गरी बसेको हुँदो हो ।

त्यस दिन हामी दुबै लामै समयसम्म एक अर्कामा बाँधिएरै बस्यौँ । घण्टौ बसेपछि उसले आफैँले भन्यो ‘हिड जाउँ, निकै अबेर भइसक्यो फेरी घरका सबै खोज्दै आइपुग्लान् ।’ उसलाई खुशी देखेर म पनि निकै खुशी थिएँ । मैले डोकोमा नाम्लो अल्झाएँ, उसले डोको उचाली दियो । ऊ अघिअघि म पछिपछि मधुरो स्वरमा गफ गर्दै घर तिर सोझियौँ । त्यस दिन मलाई छोड्न ऊ मेरो घर नजिकैसम्म आयो । सायद अँध्यारो भएर पनि होला । गाउँघर न हो अलिक साँझ पर्नासाथ सुनसान भई हाल्ने । अब घर नजिकै आइ सकेको थियो, कसैले देख्ला र खप्की खानु पर्ला भन्ने डरले मैले उसलाई त्यही रोकेर ‘अब तिमी जाउ, यहाँबाट म एक्लै घर गई हाल्छुु’ भनेँ । उसले पनि हुन्छ भन्यो र फरक्क फर्कियो, ऊ हिँड्नै आँट्दा मैले उसको हात समाएँ । सायद उसले कुरा बुझ्यो, उसले मेरो निधार र ओठमा चुमी दियो अनि ‘पीर नगर ल, म छिट्टै सहरबाट फर्किहाल्छु नि’ भन्दै बिदा माग्यो, म पनि चिसो मनसँगै पसिनाले भिजेको शरीर लिएर घर तिर लम्केँ, ठूलै बिराम गरेर डराएको बालखा जस्तै ।

त्यसको भोलिपल्टै उ काठमाडौं हिडिहाल्यो, पढ्नका लागि । खै कुनै एउटा राम्रो कलेजमा विज्ञान संकायमा भर्ना हुन्छु भन्दै थियो, त्यसपछि विदेश पढ्न जान चाहेपनि पाईन्छ भन्दै थियो । नत्र यतै डाक्टर इन्जिनियर हुने सोच थियो, बढो लामो सोच थियो उसको । सफल भएर मलाई छिट्टै लिन आउँछु भनेर आश्वस्त पारेको थियो अन्तिम भेटमा । खै उसका सपना पुरा भए वा नयाँ सपनामा हरायो अझै बुझ्न सकेकी छैन । उसकै हातले आँसु पुछेर नरुन भनेको हुँदा म त बस उसैको बाटो हेरेर मात्र बसेकी आल्केमिस्ट कि फातिमा जस्तै ।

दिन बिते, महिना बिते, हामीबीच कुनै सम्पर्क छैन । आज भोलि जस्तो हात हातमा फोन हुँदो हो त म कति फोन गर्दिहुँ, उसले रिसिभ नगरे पनि म कति मिस्कल हानेर उसलाई भुल्नै नदिँदिहुँ । सम्झ्यो भने भक्कानो छुटेर आउँछ । उसले मलाई सम्झने कोशिस नै गरेन वा मसम्म खबर नै आइपुगेन यो त दैव नै जानुन् । अब मसँग उसलाई सम्झेर बस्ने बाहेक अरु कुनै उपाय नै थिएन ।

उमेरले १७ नाघेर १८ लागेकीले पनि होला बिस्तारै विहेको कुरो चल्न लाग्यो, म विहेको विषयमा मानसिक हिसाबले तयार नै थिइन, म अनेक बहाना बनाएर विहेबाट तर्कन चाहँन्थे । कतिसम्म भाग्दै हिड्नु, बिस्तारै मलाई हेर्न भनेर केटाहरु घर मै आउन लागे । कहिले काहीँ त केटा भन्दै अंकलहरु पनि आए, सायद गरीब परिवार कि केटी भएकी भएर पनि होला, केही हुने खाने भनाउँदा बुढाहरु पनि मेरो हात माग्न आए । जब विहेको लागि निकै दबाब हुन लाग्यो तब म चुप रही रहन सकिँन, मैले मेरो र निराजनबीचको प्रेम र हाम्रो सम्बन्ध सबैलाई भनिदिएँ साथै विहे मात्र निराजनसँग गर्ने नत्र कसैसँग नगर्ने अडान पनि सुनाएँ । तब घर भरीका सबै मै माथि खनिए, घर कि एक मात्र नारी मेरी आमा पनि मलाई नै कुटुँला जस्तै गरिन् । विस्तारै खबर ओल्लो पल्लो घर हुँदै सारा गाउँ भरी फैलियो । निराजन पहिलो छुट्टी नआउँदै उसको परिवार सदरमुकाम सर्यो, सायद हल्ला उसका घरसम्मै पनि पुगेछ क्यार । अब हाम्रो भेट हुने सम्भावना झन् झन् मधुरो हुँदै गयो ।

सोही सम्बन्धका कारणले म बदनाम र बद्चलन सावित भएँ । जीवनमा सबै कुरा परपर गए निराजन टाढिएसँगै । मनको वह पनि कोसँग गएर पोखौ झै हुन्छ । जब पिडा सार्है नै असह्य हुन्छ तब तिनै मकैका बोटहरुलाई नै अँगाल्दै रुन्छु । तिनै त थिए नि मेरा प्रेमका साक्षि र साथी भनाउँदा । आकाश तिर फर्केर धित मरुन्जेल रोएँ । आकाश तिर फर्केर ईश्वरलाई मेरो हालत निराजन सामु पुर्याइदिन भनेँ । अब, रुन मन लागे म डोको बोकेर तिनै मकैका बोटहरु माझ जान्थेँ र मन हलुको पारेर आउँथे ।

एक दिनको कुरो हो, करिब दिउँसोको १, २ बजेको हुँदो हो, आमाले नयाँ चाँही कुर्ता सुरुवाल लगाएर बस्न भनिन् । मोटा मोटी अनुमान लगाएकी भए पनि म अचम्ममा थिएँ । मन मनै लागेको थियो आज चाहिँ फेरी कुन चाँही दर्भान आउने हो मलाई नियाल्न । केही बेर मै पल्ला गाउँका मामासँगै केही २/३ जना नयाँ अनुहारहरु टहरामा झुल्किए । आएका सबै पुरुष अनुहारहरु थिए । कोही दारी पालेका, कोही गलबन्दी बाँधेका, हाम्रै मावली काकाजस्तै । सोही भिडमा एकजना केही जवानको सैलीमा पहिरन गरेको मान्छे, दारी, जुँगा खौरेर चिटिक्क पर्न खोजेपनि परेला वरिपरी हेर्दा उमेरले ४० नाघेकै हुनुपर्छ जस्तो लग्थ्यो । पल्ल गाउँका मामा अघि अघि अनि अरु लुरुलुरु पछिपछि गर्दै आगन मै आइपुगे । बाआमा पल्तिर केही खास खुस गर्दै थिए म पनि भान्सा छिरेर त्यही झ्यालबाट निहालिरहे । मन मनै लाग्यो कुरो पक्कै मेरै विहेको बारेमा नै त होला । तर यसपाली बाबुआमाले पनि केही पूर्व जानकारी दिएका छैनन्, सिवाय नयाँ कुर्ता सुरुवाल लगाएर बस्नु भन्ने बाहेक ।

‘हैन घरमा को हुनुहुन्छ होला ?’ – एउटा धोद्रो पुरुष आवाजमा कोही बोल्यो । जहाँसम्म तिनै मामा पर्ने हुनुपर्छ । तमाखुको धुवाँले धोद्रिएको आवाजले मात्र औपचारिकता पुरा गरेजस्तो लाग्यो । मेरा बाआमा बिहानैदेखि सटरपटर गर्नुको कारण यस्तो पो रहेछ भन्ने बल्ल बुझेँ । सायद यही कामका लागि नै बा बिना चाडवाड नै घर झुल्किएका । आमा पनि हिजो साविकको भन्दा १ भारी घाँस बढी काटेर आजलाई फुर्सदिलो बनेकी । बा दर्पन हेरेर टोपी मिलाउँदै थिए अनि आमा मोहीमा चिनी घोलेर हतार हतार गुन्यूको मोजा मिलाउदै थिइन् । सायद ईज्जत धान्ने भनेको यही होला, चिनी घोल्दै र उध्रेको छोप्दै । आगन्तुकहरुको आवाज नजिक पिँढीसम्मै आयो, ‘हैन घरमा कोको हुनुहुन्छ ?’

बा ‘ओहो ! जेठान साब नमस्ते है’ भन्दै हात जोर्दै निस्के अनि आमा पछिपछि टाउकोमा मजेत्रो हाल्दै निस्किन् । दैलो निर पुग्नै लाग्दा फर्केर म तिर ईशारा गर्दै भनिन्, ‘मैले बोलाएपछि त्यो चिनी हालेको मोही र गिलास लिएर निस्कनु,’ (चिया पानी दिनु अघि सबैलाई नमस्ते गरेर आफ्नो शिलस्वभाव देखाउनु भनेर आमाले बेला बेला भन्ने गर्थिन) । म भान्साको सानो झ्यालबाट उनीहरुको गफगाफ र हाउभाउ नियालिरहेकी थिएँ । बाले खाटमा ओछ्याएको काम्लो हातले पुछे झै गरी सबैलाई खाटमै बस्न डाके । अनि पालैपालो सबैलाई नमस्ते गरे । आमा पनि मझेत्रोले टाउको ढाकेर सबैका अगाडि पालैपालो निहुरी परिन् । सबैले एक आपसमा केही बेर सन्चो बिसन्चो सोधे । पुरानो चिनजान भएर पनि होला तिनै मामा पर्ने नै बढी बोलेका थिए । एकछिन पिढी मै बसेर गन्थन गरेपछि मामा गोठ तिर लम्कदै केही फत्फताए, सायद पशु चौपायाका बारेमा केही गफ गरे हुनन् । आमा पनि सँगै गोठ तिर तानिदै हेर्दै थिइन् ‘सायद एक्लै घाँस काटेर पालेका बस्तु भाउ कसैले थोरै तारिफ गर्दैए मात्रै पनि घाँसका भारीको थकाई मेटिए झैँ हुँदो हो’ । बाँकी अरु सबै भलादमी भएरै काम्लो माथि नै बसी रहे । त्यही मध्येको अधबैसेजस्तो देखिने पुरुष घरीघरी यसो भान्सा तिर पल्याकपुलुक हेरेजस्तो लाग्थ्यो, सायद मैलाई हेर्न निकै आतुर हुँदो हो ।

म मनमनै निक्कै तर्कनाहरु खेलाउँदै भित्रबाट नियाली रहेँ । एकछिन पश्चात सबै फेरी पिढी तिरै लम्किए । बा उनीहरुसँगै भलाकुसारी गर्न लागे । केही बेर मै आमाले बढो नम्र स्वरमा ‘छोरी शकुन मामाहरुलाई पानी लिएर आउ’ भनी डाकिन् । बोलाएपछि के कसरी आउने भन्ने बारे आमाले पहिले नै अराइ, सिकाइ गरेकी । म केही अनौठो मान्दै भए पनि आज्ञाको पालन गर्न लागे । किनकी आज आमाले निकै माया गरे झैँ गरेकी छिन्, कास, सधैं यस्तै माया र स्नेहमा हुर्कदी हुँ । परिवारको इज्जत कै लागि भए पनि म नम्र भएर निस्केँ, मनको आवेश मन भित्रै दबाएर ।

सबैलाई नमस्ते गर्दै मैले बढाबढा गिलासमा मोही पानी सबैलाई दुबै हातले टकारेँ । गिलास समाउने बहानामा सबैले मेरा मुखमा पुलुक्क हेरे, मैले लाजले आँखा जुधाउन सकिन । खै के नियाल्न खोजे त्यो बुझ्ने कोशिस नै गरिनँ । मोहीका गिलास सबैलाई पुर्याइ सकेँ, तिनै मामा बाहेक अरु कसैले थप्न मानेनन्, सायद तिर्खाएर भन्दा पनि शिस्टाचार राख्नलाई खाएका हुँदा हुन् । सबैलाई भो बनाइ सकेपछि म त्यही बसी रहनुको औचित्य भएन, त्यसै पनि सबैको हेराइले मलाई बिझाएको थियो । म फटाफट गिलास टिपेर भान्सा तिर पसी हालेँ । कतिपय मान्छेहरु त म दैलोबाट भित्र नपसुन्जेलसम्मै मेरो चाल नियाल्दै थिए । मन मनै यो हुल मेरो बिहे कै लागि जम्मा भएको अनुमान लगाए पनि यस हुल भित्र मेरो उमेर सुहाउँदो कोही केटा थिएन । मैले जान्न र बुझ्न खोजेको कुरो मात्र यति थियो कि यदी मेरै बिहेको कुरो हो भने केटा किन आएन ? के ऊ के ऊ अभिभावकहरुले हेरेकै भरमा हुन्छ भनि देला त ? या कतै उ अपाङ्ग र बिकलाङ्ग त हैन, आउन नसेकेरै नआएको हो कि ? मेरा मनमा हजार तर्कनाहरु खेल्न थाले । मन उदास भयो, भित्र भित्रै निरास भएँ, पढ्न नपाउनुको चोट अनि विहेपछिको अन्योलको भविष्य, मैले केही सोच्नै सकिन । जे जसो होस् आमाले केही भनिछन् भने चित्त नबुझे त्यति बेलै प्रतिवाद गरुला, आजै बिहे गरेर पक्कै पठाउने छैनन् होला । यस्तै कुरा मन भरी खेलाउँदै म लिस्नो छाडेर आँटी गएँ अनि बिछ्यौनामा पल्टेर केही बेर रोएँ, घरी स्कुल सम्झेँ, घरी भविष्य त घरी निराजन । मन हावा झैँ घरी कहाँ त घरी कहाँ दौडी नै रह्यो । सायद आँसुले पो मन गरुङ्गो भाको हो कि झै लाग्यो, मन हलुङ्गो नहुँदासम्मै म रोएँ, रोएरै मन हलुको पार्ने बानी जो परेको थियो ।

म रुँदा रुँदै कति बेला निदाएँछु पत्तै भएन, झमक्क रात परी सकेको थियो । “घाँस काट्न गइछ कि भनेको त डोको नाम्लो पनि यही रहेछ, वस्तुभाउ कराउन थाले, अब म भात पकाउँ कि घाँस काट्न जाउँ” भन्दै आमा गन्थनाएको सुनेर म निन्द्राबाट ब्यूझेँ, हतार हतार तल झरेँ, म यत्रोबेर माथि नै थिएँ भन्ने थाहा पाएर आमा झन् झन्किएझैँ गरिन् । केहीबेर अघि मात्रै “छोरी शकुन पानी लिएर आउ ल” भनेर डाकेकी आमा यिनै हुन् र ? जस्तो लाग्यो । मलाई देख्नासाथ सल्काउनै आँटेको चुलो पनि छोडेर “भात पका म एक भारी घाँस लिएर आउँछु” भन्दै थनथनाउदै हिडिन् । मलाई भने ति दिउँसोका मानिसहरु किन आएका होलान् भनेर सोध्न मन लागेको थियो तर आँट नै गर्न सकिन, आमा त्यसै त आगो भएकी रिसले । मनमा कौतुहलता कायम नै रह्यो । म छानोको थोरै खर थुतेर चुलोमा आगो सल्काउन थालेँ । बाआमा घाँस र भाइ-दाइ पढेर आउँदासम्म भात पकाइ सक्नु जो छ । मन अमिलो बनाउँदै भए पनि म भात, तिहुन पकाउन लागेँ ।

केही बेर मै घर भरी सबै जहान भरिए । म पनि लाल्टिनको उज्यालोमा खाना कुरेर बसेकी । सबै हात गोडा धोएर चुलो ओरीपरी भरिए, आमा अझै खै गोठ तिर केके गर्दै थिइन् । बा र भाइहरु खाएर उम्केपछि बल्ल आमा भान्सामा झुल्कीइन्, मलाई खान बस भन्दै आफू खाना पस्कन लागिन् । मलाई भने भात भन्दा पनि दिउँसैको कुरा मनमा दौडी रहेको थियो । मैले सिधै केही सोधी हाल्न पनि सकिँन, नसोधी रहन पनि सकिँन । र केही मेसो नपाए झैँ गरी सोधेँ, “आमा ति दिउँसोका मान्छेहरु किन आएका रे ?” भात मुछि मात्र रहेँ गाँस हाल्नै मन लगेको थिएन । आमाले मुखमा भातको गाँस हाली सकेपछि केही अस्पस्ट स्वरमा भनिन्, “तँलाई हेर्न आएका, राम्रै छन् अर्को हप्ता टिका टाला गर्न आउँदै छन् ।” मेरै बिहेका लागि आएका होलान् भन्नेसम्म त मैले पनि बुझेकी हुँ तर मैले जान्न खोजेको कुरो खासमा केटा चैँ कुन रहेछ भनेर मात्र न हो, तर आमाले कुरो अधुरो गरिन् । सिधै केटो को हो ? के हो ? भन्दा ‘उत्तौली, बिहे गर्न आतिएकी’ भन्लिन् भन्ने डर । अल्छि गरी गरी १/२ गाँस मुखमा हालेँ । कुरा घाँटीमा गाठो परेर अल्झेकाले होला गाँस घाटीबाट तल झर्नै मानेन । केही सिप लागेन र आफैँ सोधेँ, “आमा अनि केटो चै कति पढेको रे त ? के गर्छ रे ?” त्यति भनेकी मात्र के थिएँ आमाले अलिक झोक्किए झैँ गरेर भनिन्, “देखिनस् त्यही सेतो सर्ट लाको चाँही हो केटा ।” यति पुरा पनि सुन्न नपाउँदै मलाई मुखको गाँस थाल मै थुकी दिउँ जस्तो भयो, म छाँगाबाट खसे जस्तै भएँ । त्यो हुलमा ४० नकाटेको पुरुष कोही थिएन, लगभग बाउ कै उमेरका मान्छेसँग पो मेरो जिन्दगीको सम्झौता गरी सकेछन् । मैले उचालेको हातको गाँस थालमा थेचार्दै भनेँ, “त्यो ४० नाघिसकेको बुढोसँग बिहे गर्नु मैले ?” आमाले आँखा जुधाएर हेर्ने हिम्मत नै गरिनन् र पनि भनिन्, “श्रीमती कालगतीले मरेकि रे !, छोरा छोरी सानै छन् भनेर हतार हतारमा बिहे गर्न खोजेका रे ! गाउँका हुने खाने मान्छे हुन्, १० सम्म पढेका पनि रहेछन्, छोरो मान्छेको उमेर २/४ वर्ष बढी हुँदैमा केही हुँदैन ।” यति सुन्ना साथ मेरो रिसको सिमा रहेन । म खाँदा खाँदैको थाल हुर्याएर उठेँ र रूँदै माथि आँटी तिर सोझिएँ ।

कुरा २/४ वर्षको हुँदो हो त चित्त बुझाउँथे हुँला ! तर कुरो २ गुना भन्दा बढीको रह्यो म जीवनसँग कुनै पनि हालतमा सम्झौता गर्ने पक्षमा छैन । मेरी आमा एक नारी भएर पनि यस्तो कुरामा कसरी सहमती जनाएकी होलिन् ? के मेरा शरीरको आकार र ओजन हेरेर नै आमाले मलाई त्यो ४० नाघेको पुरुष अनि उसको घरको बोझ थेग्न सक्छे भन्ने सोचेर यसो गरेकि हुन् वा छोरी कि आमा हुनुको आफ्नो बोझ हलुको पर्न खोजिन् मैले बुज्नै सकिन । मलाई असह्य चोट लाग्यो, सही नसक्नु भयो । मलाई अहिलेको भोको पेट भन्दा पनि भोलीको भविष्यले पिर्नुसम्मै पिरल्यो । केही पर पुगेपछि मैले रिसिँदै भनेँ, “बरु मर्छु तर त्यो बुढोसँग बिहे गर्दिनँ ।” आमाले म भन्दा पनि झोक्किदै भन्निन्, “बैस थाम्न नसकेर दुनियाँसँग सुत्दै हिडिस् अब कहाँबाट पाउँछेस् त कन्ने कुमार ?” मेरो रिस र चोटको कुनै सिमा नै रहेन, उत्तिनै खेर घर छोडेर हिडौ जस्तो भो । आँटीको सानो झ्यालबाट बाहिर निहालेँ, चकमन्नै अध्यारो थियो, जाउँ कहाँ जाउँ, नजाउ एकछिन बस्न मन छैन यो घरमा । सिरकले मुख ढाकेर घोप्टो परेर धित मरुन्जेल रुन मन लाग्यो । घर भरीका पुरुषहरु मेरो पक्षमा कोही बोलेनन् । कान्छो भाइ सानै थियो त्यसलाई विहे भनेको के हो केही थाहा नै थिएन, तैपनि म रोएको देखेर होला सोध्न आएको थियो, मैले रिसमा हकारेर पठाइदिएँ त्यसपछि उसले फेरी अर्को पटक सोध्ने आँट नै गरेन । सानो थियो पिट्छे कि भन्ने डरले पनि होला नजिक नै परेन ।

झ्याउकिरीको आवाज पनि कानमै खाला जस्तो गरी चर्को थियो, मेरा आँसुले सिरानी पुरै भिजिसकेको थियो, रात लगभग छिप्पिसकेको थियो । बा घुरेको आवाजले घरी घरी आकाशमा बादल गर्जेको हो कि झै भान हुन्छ । बाहिर चुक पोखेजस्तो अँध्यारो छ । सबै मस्त निन्द्रामा छन् । सिरक भित्रबाट थोरै टाउको तानेर सबै तिर नियाल्छु, सानो भाइ तिर हेर्न मन लाग्यो यसो हेरेको त उ मस्त निदाइ सकेको रहेछ, हुन त उसलाई केको चिन्ता र तै नि बिचरो बालख नै छ । अघि मेरै मायाले त हो नि सोध्न आएको विचारोलाई बित्थामा किन हकारेँ हुम्ला झै लाग्यो । घर भरीको कान्छो, त्यही माथि पनि आफू स्कुल जान छोडेर उसलाई पढाएकी त्यसैले पनि होला त्यसको निकै माया लाग्छ । म बिसाउँदै रुदै गरेँ, सायद रुवाइको सिलसिला सुरु नै भयो । मलाई उज्यालो हुना साथ घर छोडेर कही जान मन लाग्यो, तर जाने कहाँ ? को छ र मेरो यो संसारमा ? मनमा यस्तै यस्तै हजारौँ तर्कना खेलाउँदै म त्यस रात अनिँधो मै बिताएँ । अरुको सल्याङबल्याङसँगै उज्यालो फैलिँदै गयो, मैले भने झन निदाएझैँ गरी सिरकले मुख छोपिदिएँ । अबेर उठ्न मन छ, अनि आफ्नो एक्लो जीवन अनि एक्लो योजनाको तयारीमा जुट्नु जो छ ।

निकै अबेर गरेर उुठेँ, म उठ्दा सबै आफ्नै काममा लागिसकेका रहेछन्, मैले सोचेजस्तै भयो । अब केही निर्णय लिनु पर्ने अवस्य थियो जिन्दगीको फैसला आज नै लिन सकिन भने जिन्दगी भरी पछुताउनु पर्नेछ र अधबैसे उमेर मै सायद विधवा भएर बाँकी जीवन काट्नु पर्ने हुन्छ । तल झरेर हरेँ भान्सामा केही भाँडा जुठै थिए अनि बस्तुभाउ कराउँदै । बाआमा मेला गइसकेछन्, दाइभाइ पनि सायद स्कुल गए हुनन् । यसो गोठ तिर पसेर वस्तुभाउलाई पानी, पराल गरेँ, ति दाम्लामा बाँधिएका पशुसँग न त गुनासो नै छ, न त रिस नै । जे हुँदैछ सबै आफ्नै भाग्यको खेल हो झैजस्तो लाग्छ । भन्सामा पसेर मेरो भाग भनेर राखिएको भात खाएँ अनि मन मनै भनेँ आज सायद यही हो अन्तिम छाक, घरको अनि आमाको हातको । मेरो मनमा एक्कासी घर छोडेर हिंड्ने योजना बन्यो । खाना सकिओरी जुठो भाडो पनि गरिदिएँ अनि सोच बनाएँ, अब म पनि काठमाडौँ जान्छु, केही गायक र प्रसिद्ध खेलाडीहरु पनि, घर छोडेर काठमाडौं गएर परिचय बनाएका थिए भन्ने सुनेकी हुँदा मेरो मनमा पनि केही आँट पलाएर आयो । त्यसै माथि निराजन पनि त काठमाडौँ मै छ नि, सकभर भेटेर उसैलाई केही मेसो मिलाउनु पर्ला, मेरो आफ्नो भनेको अब उही त थियो आशाको केन्द्रबिन्दु । म माथि आँटी चढेर आफ्ना एक दुई जोर कपडा एउटा सानो झोलामा हालेँ । आउँदो तीज अनि दशैं, तिहारमा केही मन परेका कपडा र भाइलाई केही किनिदिन भनेर बचाई राखेकी करिब २/३ हजार पैसा हुँदो हो, मेला गएर आँफै कमाएकी । ति सबै पोको पारिओरी म डोको बोकेर बारी तिर निस्किएँ । गाउ घरको ठाउँ, अलिक सुकिला मुकिला लुगा लगाएर कतै निस्क्यो भने पनि कता र किन भनेर निधिखुदी गर्छन् । त्यसैले मैले पनि पुरानै कुर्ता सुरुवाल मै आफ्नो घरसँगको नाता तोडेर हिँडे । जिन्दगी जीउनको लागि थोरै बहुत हिम्मत त गर्नै पर्यो । घरबाट केही पर बारीमा पुगेपछि केही बेर त्यही बसेँ, गाउ तिर फर्केर हेरेँ, घर प्रस्ट नदेखिए तापनि गोठ भने देखियो प्रस्टै । फेरी भाइको मुहार झल्झली सम्झेँ, लाग्यो सायद म उसैको यादमा आतिन्छु होला, यदी काठमाडौं मै पुगे भने पनि छिट्टै घर फर्कन्छु होला । फेरी मन दरो पारेँ, निराजन काठमाडौं नै छ भन्ने सम्झे अनि, डोको नाम्लो मकैबारी मै मिल्काएर म आफ्नो भविष्य खोज्न काठमाडौँ जाने निर्णयमा बसपार्क तिर सोझिएँ ।

काखीमा च्यापी हिडेको कपडाको गुटुरो देखेर नै धेरैले मेरो मानसिकता माथि कड्कलबाजी सजिलै गर्न सक्थे । मन भरी डर र अन्यौल साथमा २–४ जोर पुराना कपडाको पोको, सुरुवालको गोजीमा रहेको मेलापातको कमाई करिब ३ हजार नेपाली हुँदो हो । सबैसँग नजर झुकाउँदै टाउको लुकाउँदै मैले बसपार्क छिरेर टिकटको जोहो गरेँ । न लामो चिनजान, न पुरानो साथी, त्यो बसमा ढोका हान्ने भाइले निकै सहयोगी ब्यवहार देखायो । उसले सबैलाई यसैगरी ब्यवहार गर्छ वा मात्र मेरैलागि गर्यो यो त कि ऊ जानोस् कि त भगवान जानुन् तर जे गर्यो बढो आत्मीयताका साथ गर्यो, उसले मलार्इ सीटसम्मै लगेर बस्ने बन्दोबस्तो मिलायो । अब झ्याल पट्टीको सीटमा बसेर गाडी कतिबेला हिड्ला भन्दै बसेँ ।

केही बेरमै ड्राइभरले चर्को आवाजमा त्यही भाइलार्इ बोलायो, उसले पनि सबै ठीकठाक छ भन्ने सङ्केत गर्यो । केही बेरमै गाडीले गति लिइहाल्यो । करिब २–४ सय मीटर हिँडेको के थियो बस रोकियो, एक युवक रातो टीका र खादामा सजिएर बस उक्लियो । यसो दायाँ बायाँ हेरेझैँ गर्यो अनि मेरै सीट तीर सोझियो । सायद यो उसैले टिकट काटेकोले होला अघिदेखि कोही बस्न नआएका । म उसको क्रियाकलाप नहेरेजस्तो गरेरै पनि नियालिरहेकी थिएँ । उसले ढोकातीर चिहाउँदै हात हल्लायो, सायद उसलाई छोड्न अरू पनि आएका हुदाँ हुन् । फेरी अघिजस्तै ड्राइभर र ढोके भाइको सङ्केत आदान प्रदान भो, बिस्तारै गाडीले गति लियो । धन्न चिनेका कोही परेनछन् बसमा म मनमनै खुसी भएँ । रात्रीबस गोधुली बेला हुन आँटीसकेकोले अब चहलपहल कम छ । मलाई बिदेशी पर्यटकले झैँ झ्यालबाट चिहाएर प्रकृती हेर्नु छैन म तिनै डाँडाकाँडामा हुर्कीएकी मान्छे, त्यसैलै मैले झ्यालको पर्दा टम्मै लाएकी छु, घरीघरी साना तीनै चोकमै गाडी रोकिँदा पनि पानी, काँक्रो र खाजा भन्दै कराएको प्रस्ट सुनिन्छ । म मुन्टो नमर्काएरै पनि त्यो युवकको हाउभाउ नियाल्दै छु, बोली हाल्ने कुरो भएन, बोल्नुपर्ने खास केही कारण पनि थिएन त्यही माथि, घर छाडेर हिडेकी केटी, डराएको मन । आफ्नै डर लुकाउनै भ्याई नभ्याई छ मलाई । ऊ भने बेला बेला म तिर फर्केर हेर्छ, केही भन्छु भन्छु झैँ गर्छ र पनि बोली हाल्न चाँही सक्दैन । सायद अन्जान मान्छे के भनेर बोल्ने भन्ने उपयुक्त बहाना सोच्दै होला ऊ । केही सीप नलागे ‘हजुरको घर फलानो ठाँउ हैन र ? देखेदेखे जस्तो लाग्यो’ भन्न बेर लगाउँदैनन् केटा मान्छे, बोल्ने अनेक बहाना जानेका हुन्छन् उनीहरुले । ‘छोरा मान्छेसँग पैसा र छोरी मान्छेसँग रूप भयो भने कहिल्यै पीर गर्नु पर्दैन, पैसाले जे पनि किन्न मिल्छ अनि रूप जहाँ पनि बिक्छ’ मसँग आज थोर बहुत पैसा पनि छ अनि जन्मजात पाएको सुन्दर रूप पनि, तर पनि म नबोल्नुका पछाडि यी दुबै कुराको घमन्ड भने कदापि होइन । मनमा तर्कना खेलेर एक्लै मनमनै बात गरेकी हुँदा म आँफैमा व्यस्त थिएँ, त्यसमाथि पनि मेरो हविगत लुकाउनु बाध्यता थियो । र पनि उसले बेला बेलामा कुम जोडेको अनि म तिर पुलुक्क पुलुक्क हेरेको सबै देखेकी छु तर थाहा नपाएझैँ त्यसै वास्तै नगरी बसिरहेँ । गाडी आफ्नै गतिमा दौडिरह्यो, घुम्तीहरूमा गाडी घुम्दा जीउ ठोकीने र बेला बेलामा उसले मलाई नियाल्ने क्रम जारी नै छ, तर म भने अझै बेवास्ता गरे झैँ आफन्नै धुनमा टोलाएर बसेकी छु ।

करिब एकाध घन्टाको बस यात्रापछि बस अलिक बेसरी नै मोडियो एउटा घुम्तीमा, सायद निक्कै घुमाउरो हुँदो हो, पूर्व जानकारी बिना नै मोडिएको बसको बेगले म उसका आँङमा अलिक बढि नै कोल्टिएँछु । दरिलो पुरूष शरीरले मेरो बेग सजिलै रोक्यो, म थामिएँ र उसलाई ‘सरी’ भनेँ । ऊ पनि ‘इट्स ओके’ भन्दै मक्ख पर्यो । अब भने म अलिक अडिलो र सतर्क सैलीमा बसेँ । किनकी फेरी पनि अर्को घुम्तीमा उसको आँङको आडेस लाउन नपरोस् । दुबै सम्हालिएर बस्यौ, केहीबेर मौनता छायो अनि एक्कासी मेरा अनुहारमा हेर्दै उसले सोधीहाल्यो, ‘हजुर पनि काठमाडौँसम्मै हो ?’ शान्त पोखरीमा ढुंगा हानेझै भयो, मेरो मौनता भङ्ग भयो । मैले नबुझेझैँ गरी फेरी सोधेँ, ‘हजुर, केही भन्दै हुनुहन्थ्यो ?’ मैले प्रतिप्रश्न गरेँ । उसले फेरी उही सवाल दोहोर्यायो, ‘हजुर पनि काठमाडौँसम्मै हो ?’ मैले एकै शब्दमा जवाफ दिएँ, ‘हजुर’ । केही बेरको मौनतापछि ऊ फेरी बोल्यो, ‘पढाइ, लेखाइ उतै वा जबको सिलसीलामा ?’ उ केही नजानिँदो गरी मै तीर मोडियो अनि सवाल माथि सवाल गर्दै गयो मानौँ ऊ मलाई जागिरको लागि अन्तर्वार्ता लिँदैछ । अब हिउँ फुटिहाल्यो (ice break) सायद धारा प्रवाह सवाल गर्ने भो, म मनमनै मुस्कुराएँ ।

उसले मबाट धेरै जानकारी लिन आट्यो, उत्तर दिनबाट बच्नको लागि आँफै सवाल गर्दा बेस ठानेर मैले उसैको बारेमा सोध्ने योजना गरेँ । उसले अरू नालीबेली सोध्नु अघि मैले नै उसलाई सोधेँ, ‘अनि हजुर चाँही केको सीलसीलामा हिड्नु भो त काठमाडौँ ? उसले के कति सही बताउँछ भगवान जानुन् तर मैले भने करिब आधा आधी सवालको मात्रै सही जवाफ दिएँ हुँला उसलाई । मान्छेका आ–आफ्नै बाध्यता हुन्छन् त्यसैमाथि मेरो त अनिर्णयको समय, अन्धकारमा रहेको भविष्यको के कुरा गर्नु, भोगेको भूत भन्नै सक्दिन, जे बोल्दैछु बाटो काट्न र उसका प्रश्न निरूत्तर नरहुन् भन्नकालागि मात्र हो । मेरा हर जवाफहरूमा झुट र बाध्यता दुबै मिसिएका छन् । जानेरै पनि झुट मिसाएर बोल्नु मेरो बाध्यता हो । परिस्थितिले मान्छेलाई कङ्गाल अनि चन्डाल दुबै बनाउँछ, म झुट बन्दैछु । मेरा झुटा उत्तरहरूले पनि उसका ओठमा मुस्कान भर्न सफल छ । झुटको पनि आफ्नै विशेषता छ, मिलाएर गर्न सक्यो भने मै हुँ भन्नेको पनि मन जितेर प्रिय हुन सकिन्छ, तर सच्चाई सामु नआउन्जेल । कतिपय सच्चाई काल आईसक्दासम्म पनि आउँदैनन् अनि मृत्युपछि आउनुको पनि कुनै अर्थ छैन । मानिस एकमुष्ट न त महिना जीउँछ न त वर्ष नै, जीन्दगी त पल पलको यात्राबाटै अनन्तको यात्रामा लिन हुने क्रिया न हो । जो मान्छे हरपलको अनुभव साटेर जीउन सक्छ उही नै खुसी भएर जीउने हो रैछ यहाँ बाँकी त सबै रूदै जन्मन्छन्, गुनासो गर्दै जिउँछन् अनि पश्चाताप गर्दै मर्छन्, कठै मान्छेको जिन्दगी । म पनि धेरैपछि जिन्दगी जीउने कला जिन्दगीसँगै सिकिरहेकी छु । करिब आधा जिन्दगी त गुनासो मै बिताएँ । त्यो गाडीको यात्रामा मेरा हरेक झुटहरूले उसलाई खुसी पारेको देख्दा लाग्छ खुसी हुनकालागि भलै झुटको सहारा लिनै किन नपरोस् तर जिउनुको अर्थ नै खुसी हुनु हो । गुनासो त अबुझहरू गर्छन्, केही वर्ष अघिसम्मकी ‘म’ जस्तै ।

गाडी आफ्नै गतिमा गुड्दै, मोडिँदै, रोकिँदै गर्छ । केही छिटफुट ग्यापहरू बाहेक हामीले प्रायः गफ गरेरै समय बितायौ । नबोली बस्दा उसको स्पर्शले जति उत्तेजित बनाउँथ्यो गफ सुरू भएपछि त्यसो भएन । सायद शान्त मनहरु बढि नै खतरनाक हुन्छन्, अब ज्यानमा ठक्कर भएपनि मनमा कुन्ठा थिएन, यात्रा सहज नै छ । ऊ खाडीमा मजदुरी गर्न घर छोडेर हिडेको भन्ने थाहा पाउनु अगाडि नै मैले काठमाडौँ पढ्न बसेको भाइ भेट्न हिडेको भनेकी हुनाले पनि होला ऊ केही संयमीत भएर कुरा गर्न थाल्यो । पढाई जम्मा ८ कक्षाको जिल्ला स्तरीयसम्मको रहेछ म जस्तै र पनि उसले मेरा झुटमा विश्वस्त भएर आफूलाई अनपढको दर्जामा राख्यो अनि मलाई बुद्दिजीवि जसै गर्यो । बनावटी भए पनि कुराले नै मान्छेको स्तर निर्धारण गर्ने हो, त्यो भन्दा पनि मुख्य कुरो आफ्नो मानसिकताले नै आफ्नो स्तर निर्धारण गर्ने हो । आखीर म पनि कक्षा ८ सम्मको पढाईपछि पढ्ने रहर मन भरी बोकेर मेलापात गरेकी मान्छे, मनमा कुनै सङ्कोच नगरी बोलेको झुटले नै मलाई ऊ भन्दा भिन्न बनायो, यो हुनुमा मेरो भनाइ जति दोषि छ उसका बुझाइ पनि उत्तिकै दोषि छन् । जिन्दगीले सिकाउने मुख्य पाठ पनि त यही हो की जसका ओठमा हाँसो छल्की राख्छ तारिफ उसैको हुन्छ कीनकी मानिसको जीवन भरको दौड केबल खुसी–खुसी जीवन बिताउनु त हो नी । तर दुर्भाग्य मानिस अबोध र अज्ञानी हुँदासम्म मात्र हाँस्छ जब बालापन हराउँछ अरूको नजरमा केही जान्ने, सुन्ने कहलाउँछ तब उ जीवन बिर्सन्छ, सम्झन्छ त केबल जीउन सकिएन वा जीउन जानिएन मात्र । आफ्नो पराजयको शंखघोष मानिस आँफै गर्छ अनि जीन्दगी हारेर जीउँछ र हार्दै मर्छ । उसले आफूलाई र मलाई फरक फरक दर्जामा राखेर जब जीवनको तुलना गर्यो तब म स्तब्ध भएँ अनि केहीबेर गहिरो सोचमा परेँ ।

मेरो मौनतामा प्रहार गर्दै उसले क्षमायाचना गर्यो, ‘कतै मैले केही बढि त बोलीन ? के गर्ने खाडीको कामदार परियो हजुर मीठो बोल्न जान्दिन दुःख नमान्नुहोला ।’ उसको एकनासको हारको स्वीकारोक्तिले मेरो बलजफ्ती कायम राखेको मौनता भंग गर्ला झैँ भो । मन मनै भनेँ म पनि त जम्मा कक्षा ८ पास नै त हो भनुँ झैँ लाग्यो तर, भावनामा बगेर आाँफैलाई गलत सावित गर्न पनि त भएन, साँचो लुकाएरै भएपनि प्रतिष्ठा कायम गर्नु नै त मानव दम्भ हो नी म पनि आफ्नो सच्चाई लुकाउन सफल नै रहे, उसका नजरमा पढे, लेखेकी र आधुनिक नै ठहरिएँ, यद्यपि मेरा कपडाको गुटुरो र हाउभाउको अड्कल गर्नेहरू मेरा कुरामा विश्वास नगरेरै मलाई गाउँबाट झरेकी पाखे भन्ठान्थे होलान् तर उसले मलाई नै महान देख्यो आफू भन्दा । यो पनि सायद उसको महानता हुनु पर्छ । मैले प्रसङ्ग बदल्न चाहेँ, अब उसका पारिवारिक अनि ब्यक्तिगत विवरण बुझ्न मन लाग्यो, कतै मेरो भन्दा उसका कथा पो सुन्न लायक छन् की ! यदी मैले जसै उसले पनि कुरा लुकाएन भने ।

उसकै मुखतीर हेर्दै मैले पहिलो सवाल गरेँ, ‘अनि हजुर काठमाडौँसम्म मात्रै की त्यहाँबाट पनि कतै टाढाको साइत छ ?’ यद्यपि ऊ विदेश हिडेको अनुमान उसले पहिल्यै खाडीको कामदार भन्नासाथ लागेको थियो । उसले लामो सास फेर्यो, सँगै बसे पनि एक अर्कासँग नछोइएरै बसेका हामी उसको लामो सास फेराईसँगै पाखुराले मेरा कुममा हलुका स्पर्श गर्यो । मैले एक स्पर्श मै उसको बिदेशिनुको पीडाको अनुमान लगाएँ, अनि मन मनै भने सायद मेरा बा पनि आमाबाट टाढा भारत जानु पर्दा यस्तै गरूङ्गो मन लिएर जान्थे होलान् । म एकछिन एकोहोरिएँ । उसले लामो सुस्केरासँगै भन्यो, ‘के गर्नु सरकारी नोकरी खाने गरी पढ्न सकिएन घर चलाउनै पर्यो, जिम्मेवारी निभाउँनै पर्यो, २–४ पैसा कमाउन सकिन्छ की भनेर परदेश तिरै छु, २ महिनाको छुट्टी आएको थिएँ, सकियो अब उतै फर्कदैछु, भोलिको फ्लाइट छ ।’ उसले एकै जवाफमा धेरै सवालको हल गर्यो । काठमाडौँसम्मको सहयात्री, मैले उसको ब्यक्तिगत जीवन धेरै कोट्टाउन चाहिन र पनि सोधी हाल्न मन लाग्यो र सोधेँ, ‘तपाईको बिहे भो ?’ गाउँले परिवेशको मान्छे नढाँटी भन्यो, ‘हजुर भाको छ, एउटी छोरी छ, ८ महीना की भइ’, उ मुस्कुरायो । उसका मुस्कानलाई साथ दिँदै मैले फेरी थपेँ, ‘अनि हजुरलाई छोड्न भाउजु आउनु भएन ?’ ‘आउछु त भन्दै थिइ मैले हिड्ने बेलाँ गार्हो मान्ली भनेर भैगो तिमीलाई एक्लै फर्कन दुःख हुन्छ रहर नगर भनेँ ।’ उसले नमुस्कुराइकनै मेरा प्रश्नको जवाफ दियो । उसका आँखाले केही पर हेरेझैँ गरे, उसका आँखामा उसकी सुत्केरी श्रीमती प्रस्ट देखिन्थी । उसलाई सान्त्वना दिँदै मैले भने, ‘आजको जमानामा पनि देश, परदेश, सानो काम, ठूलो काम भनेर मन सानो गर्नु हुँदैन, आजको संसारमा मानिसहरू आफ्नै देशमा मात्र कहाँ सीमीत छन् र, संसार साँघुरो भैसक्यो, रह्यो समयको कुरा यो पनि वितिहाल्छ फेरी घर फर्कने दिन आइहाल्छ अनि त आफ्नै घर आफ्नै जहान, दैव नलागे खुसी फर्कन बेर लाग्दैन दाजु ।’ मेरा कुराले उसले फेरी लामो सास तान्यो यसपाली भने उसका मुहारमा केही चमक देखियो, सायद सपना उसका पनि सुनौला हुँदा हुन् । केहीबेरको लागि दुबैमा मौनता छायो । सायद हामी आ–आफ्नै भूत, वर्तमान र भविष्यको तुलना गर्दै थियौँ ।

गाडीको चर्को हर्नले मौनता भंग गर्यो । उ मतिर फर्केर मुस्कुरायो, सायद ऊ अब आफ्नो भोलिसँग केही आशावादी थियो । घरी विगत सम्झिँदै त घरी भविष्य कल्पिँदै बाटो त काटियो तर जिन्दगी बसको यात्रा जस्तै सहज कहाँ छ र ! छेउको सीटको यात्रुमा भर पर्ने । उसो त जिन्दगीको कल्पनाको डोब नै हराईसक्यो, भविष्य खोज्न हिडेकी छु, मेरो भविष्य अनुमान गर्ने त्यस्तो प्रष्ट आधार पनि छैनन्, अब त्यही काठमाडौँको खाल्डोमा भविष्य खोज्न हिड्दैछु, म साँचीकै गम्भीर हुन्छु, गहभरी ऑशु हुन्छन्, लुकाउनकै लागि भएपनि झ्याल बाहिर हेरेझैँ गर्छु । घरी घुमाउरो त घरी उकालो गाडीले लामै बाटो तय गरिसकेछ क्यार । बेला बेलामा निदाउन खोज्दा थोरै कोल्टिएर टाउकोले कुममा स्पर्श गर्नु बाहेक उसले म माथि कुनै पुरूष स्वभाव देखाएन, जो अन्जान युवतीसँग रात्री बसमा अक्सर पुरूष मानसिकताले गर्न खोज्छ । म मन मनै अनुमान गर्छु, ‘नाबालक सन्तान र माया गर्ने श्रीमती छोडेर बिदेशीनु अघिका रात, एक आपसमा बर्सौ पुग्ने माया साटासाट भए हुँदा हुन्, घरी एक्लोपनको कल्पना गर्दै श्रीमती रुँदी हुन् त घरी चाडवाडमा घरबाहिर हुनुपर्दाको कल्पनामा आफू रूँदा हुन्, सायद हिजोको रात अनिदै बित्यो होला दुबैको, मेरो जस्तै ।’

छोटो यात्रा मै पनि बढो आत्मियताको आभाष भयो । बिस्तारै काठमाडौँ नजिकिँदै छ । नपुग्दासम्म त बसिराख्नलाई बस छ, बस भरी मान्छे छन्, बराबर भाडा तिरेपछि सबैको हैसियत बराबर भाको छ तर, काठमाडौँ झर्नासाथ सबैभन्दा बेसहारा म नै हुनेछु, बसपार्कको घेरा बाहिरको परिधि मेरालागि नयाँ संसार र नयाँ जीवन हुनेछ । जब–जब अन्जान शहरमा बेसहारा अनि बिना पैसाको जीवनको कल्पना गर्छु तब कहाली लागेर आउँछ र पनि मनमनै, बाबा पशुपतीनाथको आराधना गर्छु, आफ्नो प्रेम अनि निराजनसँगको भेटको कल्पना र पुकार गर्छु, केही राहत महसुस हुन्छ । कहिले कसो जिन्दगी यती कठोर भइदिन्छ कि मन हारेर नौनीजस्तै कोमल भाइदिन्छ । गफको तालमा घण्टौं बितेको पत्तै भएन, झ्याल बाहिरको दृश्य हेर्दा काठमाडौँ पुगी सकेको आभाष भयो । ढोके भाइले छिटफूट यात्रुहरु झार्दै बिदा गर्दै गरे । सँगैका दाजुले पनि आफ्नो समान मिलाउदैँ सोधे, ‘हजुर कहाँ झर्नु हुन्छ ? की बसपार्कसम्मै हो ?’ मैले जवाफमा भनेँ, ‘हजुर हो, म बसपार्कसम्मै हो उतै नजिक पर्छ (त्यहाँबाट पनि अनन्तै थियो तर पनि मन मनै भने बाबा पशुपतीनाथ तिम्रै शरणमा आउँदैछु है)  । केही बेर मै कोटेश्वर भन्ने ठाउँ आयो, सँगै बसेका दाजु हात हल्लाउँदै झरे र भने, ‘ल राम्रोसँग पढेर ठूलो मान्छे हुनु है ।’ बदलामा मैले उनलाई पनि ‘आफ्नो ख्याल गर्दै काम गर्नु, भविष्य उज्वल बनाउनुस् है’ भनेँ । त्यसपछि एक कोल्टे फर्केर हेरेका के थिए गाडीले गती लिइहाल्यो अनि उनी ओझेल परे । मनमनै कुरो खेल्यो अब म पो के गर्नु ? गन्तब्य नपुग्दासम्म पो सिटको बास, गन्तब्य पुगेपछि पाटीमा पनि बास पाइने होकी होइन, जिन्दगी जीउन निस्केकी म, हेर्दै जाउँ जिन्दगी जीउन कतिसम्म गार्हो हुँदो रहेछ । बनावटी हाँसो हाँसेर आफूमा साहस भर्ने कोशिस गर्छु । दुःखी, गरीब र असहायले आश्रय पाएको पशुपतीनाथ कै पहिलो दर्शन गरेर यो खाल्डोमा जिउने अदम्य साहस बटुल्ने योजना भयो । काठमाडौँ मेरा लागि पुरै नौलो छ, नजानेको कुरामा घमन्ड गर्नुको केही अर्थ छैन । गाडी चढ्दा मलाई सघाउने भाइलाई खुसुक्क भनेँ मलाई बसपार्क झर्नासाथ पशुपतीनाथसम्म जाने बस चढाइ दिनु ल । उसले ‘ल ल हुन्छ, ढुक्कले बस्नुस्’ भन्यो ।

जेनतेन उसको सहायताले म पशुपतीनाथको गेटसम्मै आइपुगेँछु । बसबाट झरेर मन्दिर तिरै लागेँ । अब जिन्दगीको यात्रा सुरु भो त्यो पनि पैदाल, निकै मन्द गतीमा । समाजको ठक्कर र चोटले यो मन्द गती पनि कतै कुनै दिन हराएर जाने त हैन ? बढो चिन्तापूर्ण यात्राको आरम्भ भयो । मन्दिर, पेटी, टुँडाल, तिर्थालु अनि आर्यघाट मैले पशुपतीनाथको सेरोफेरो एकएक नियाल्दै हिडेँ । भोकै दर्शन गरे फल पाईन्छ भन्ने हाम्रो मनसिकतालाई खन्डन गर्दै रातदिन भोकै मन्दिरका पेटीहरुमा बसेर पशुपतीनाथको दर्शन गर्नेहरु पनि टन्नै रहेछन् त्यहाँ, मलाई मन्दिरसँग पनि केही खास आश रहेन । म मन्दिर भन्दा पनि मन्दिरको आश्रयमा बस्नेहरु नियाल्न थालेँ । असहाय, अपाङ्ग, बुढाबुढीदेखि साधु, सन्त अनि गाजा, चरेसका ब्यापारी । मन्दिर पनि सबैले आ–आफ्नै अनुकुल प्रयोग गर्दा रहेछन् ।

आर्यघाटदेखि गुहेश्वरीसम्म पैदल यात्रा सकेपछि अब काठमाडौँ हेर्न मन लाग्यो । कता जानु कसरी जानु भयो मलाई । पैदाल हिड्दै अघि आएकै बाटो तिर लागेँ । किताबको भरमा काठमाडौँका केही नामहरु सुनेकी थिएँ अब तिनै नामको सहारामा हिंड्नु पर्यो भन्ने सोचेँ । छेउ मै लागेको माइक्रोले रत्नपार्क भन्दै कराउँदै थियो, त्यसैमा बसेँ । २–४ छाक सादा  भात खान र एक दुई दिन बस चढ्न पुग्ने पैसा सायद त्यही मेलापातको कमाइले नै पुग्थ्यो होला तर त्यसपछि चाहिँ जागीर खोज्नु पर्छ, यत्रो ठूलो शहरमा सानो तिनो काम कसो नपाइएला र ! कामको भन्दा पनि यो शहरमा मलाई निराजनको खोजी बढी आवश्यक थियो, यदि कसै गरी उ भेटियो भने सायद मेरा समस्या सुल्झेलान्, त्यसैले मेरो आँखा कुनै कलेजको ड्रेसमा उभिएको युवक देख्ना साथ त्यतै गइहाल्थे । कतै निराजन नै पो हो कि भने झै लाग्थ्यो । हेर्दा हेर्दै माइक्रोले रत्नपार्क भनिहाल्यो, म आफ्नो कपडाको गुटुरो बोकेर ओर्लिएँ । बेरोजगारहरुको गतिलो चौतारी रत्नपार्कमा ।

काठमाडौँआउनुका पछाडि सबैका आफ्नै उद्देश्य हुन्छन्, त्यसैमाथि यो रत्नपार्कमा आएर टहलिनेहरू अक्सर बेरोजगार । हुनत देशमै बेरोजगारको बाहुल्यता छ । यिनै बेरोजगारहरूको हुलमा पनि स्वरोजगारी श्रृजना गरेर ब्यापार, ब्यवसाय चलाउँदै आएकाहरू पनि प्रसस्त रहेछन् । पार्क छिर्नु अघि नै जे जती दृश्य आँखामा परे ती सबै सानो छँदा पढेको कवितासँग मेलखाने खालको लागेन । उ बेलामा पढेझै, ‘काठमाडौँ शहर हेर्न लाग्ने रहर’ भनिहालुजस्तो थिएन । अस्तब्यस्त सडक, फोहोरको डङ्गुर, मान्छे–मान्छेबीच तँछाड–मछाड, न सुखमा साथ न दुःखमा सहानुभूति, अहो ! विचित्रको हुँदोरैछ शहर भनेको । त्यसैले होला मन भरी रहर बोकेर शहर छिरेकाहरू रात दिन कहर काटेपछि पुनः गाँउ कै डहरहरूमा डोको नाम्लो गर्न राजी हुन्छन् र गाँउ फर्कन्छन् । म बन्दुकबाट निस्केको गोलीजस्ती ‘कि गन्तब्य पुग्छ, कि त निशाना चुक्छ, फर्केर पुनः बन्दुक मै बस्ने न मन छ, न त मिल्ने अवस्था नै ।’ उमेर पुगेकी छोरी अचानक हराउँदा अक्सर मान्छेले पोइला हिडी भन्दा हुन्, या त योसँग गई रे ! भन्ने निक्र्यौल भएन भने जिन्दगीसँग हारी र मरी भन्दा हुन् । दुनियाँ के भन्छ, के भन्दैन त्यसैमा अल्झियो भने यात्रा अघि बढ्दैन । हरेक छालहरूसँग डराउँदै अघि बढ्न छोडेको भए कोलम्बस अमेरिकाजस्तो देशको जन्मदाता हुने थिएनन् । अन्जान शहरमा संघर्ष गर्न डराएर बस नचडेका भए, रामकृष्ण ढकाल एक सफल गायक हुदैन थे होला । वर्तमानमा गर्व गरिहाल्ने लायक केही नभए पनि सुन्दर भविश्यको कल्पना मेरो पनि थियो तर सपना पुरा हुने नहुने भविश्यकै गर्भ मै कतै छ । घरी उत्साह त घरी उदाशीनता मनभरी बोकेर मान्छेहरूकै हुलमा हुलिँदै रत्नपार्कको रौनक हेर्न मन लाग्यो ।

समुह–समुहमा थुप्रिएका जमात अनि जादु, सर्कस र मुकुन्देका भाषण, बेराजगार भुल्ने उपाय रहेछन् यस पार्कभित्र । बेलायतमा कहलाएको वक्ताहरूको कुनो ९कउभबपभचक अयचलभच० जस्तै रूख चढी भाषण गर्ने मुकुन्देले पनि थुप्रै जमातलाई आफ्नो भाषणले भुलाउँदै थियो, केही बेर म पनि मुकदर्शक बनेँ । समाज, धर्म र राजनीतिमा धाराप्रवाह बोली राख्ने मुकुन्दे घरी दार्शनिक झैँ लाग्यो त घरी बिच्छिप्त झैँ । यो सपनाको शहर काठमाडौँले कतिलाई रातारात सीतारा बनाएको छ त कतिलाई रातदिन सीत मुनीको बास । म सीतारा हुन्छु वा रातदिन सीत मुनी नै, यो त भाग्य लेख्ने विधातालाई नै थाहा होला तर पनि २ मुठी शास रहुन्जेल संघर्ष गर्ने मेरो प्रण कायम नै रहनेछ । यता उति टहलिएर एउटा कुनामा थचक्क बसेँ । हिमाल, पहाड, तराई सबै ठाउँका लवज र भेषभुषा सुन्न र देख्न पाइयो । मासु, चिउरा, बुढीआमादेखि, पानी, बदाम बेच्ने युवतीसम्म सबैको नाङ्गो पसल यत्रतत्र छन् । नयाँ मानिसको प्रवेशसँगै युवतीहरू बदाम र पानी सोध्न आईहाल्ने तर मेरो बसाई र हाउभाउ हेरेरै होला एउटी बहिनीले नजिकै हुनेहरूलाई सोध्दै हिडिन तर मलाई बदाम खाने ? भनेर सोध्न सकीनन् । उसै पनि मसँग यसरी फुर्मास गर्ने पैसा पनि त थिएन । गोजी खाली भए पनि पेट खाली राखिराख्न कहाँ सकीन्छ र ? भोकले मलाई पनि घच्घच्याई सकेको छ । महङ्गा होटल छिरेर खानु त हामीजस्ता फुटपाथेको तक्दिरमा हुनु पनि त पर्यो ।

नचिनेको, नचाखेको परिकार भन्दा बारीमा देख्दै, खाँदै हुर्केको कांक्रो तीर आँखा गए । बुढीआमाको कांक्रो पसल तीर सोझिएँ । २ चीरा काँक्रो र १ पोको चाउचाउ लिएर फेरी सोही कुनामा बसेर मुकारेँ । बुढीआमा कांक्रोमा पानी छम्कदै बेला बेला म तिर पल्याक, पुलुक्क हेर्थिन्, म भने जोतेर ल्याएका गोरूले ढुटोमा मुख गाडेझैँ चाउचाउ र कांक्रो मै भुलेँ । हर नयाँ आगन्तुकहरूलाई बदाम र पानी बेच्दै गरेका युवतीहरू बेला बेला युवाहरूबाट जिस्क्याईन्थे, युवतीहरू बिना प्रतिक्रिया झुन्ड झुन्ड छरिएको जमातसँगै उसैगरी बदाम र पानी खानेकी भन्दै उमेरअनुसारको साईनो लगाउँदै बोल्थे । बिस्तारै सूर्य मलिनो हुँदै गयो, अब दिन थाकेर रातलाई बोलाउँदै छ, बासको ठेगान हुनेहरु गन्तब्य जाने सुरसारमा छन्, केही युवतीहरू अझै युवा जमातहरूसँग वातचित मै ब्यस्त छन् । यो शहर हो, यहाँ हरेक चीज बिक्छ भन्ने अनुमान उनीहरुका वातचीतबाट प्रस्ट हुन्छ । दिउँसो भर पानी बेच्नेहरूमध्ये कोही अब जवानी बेच्ने सुरसारमा छन् । म केही दकस मानै झै गरी केही पर सरेँ । कांक्रो बेच्न बसेकी आमा अझै पनि म तीर पल्याक, पुलुक हेर्दै बचेको कांक्रो डोकोमा भारी हाल्दै छिन् । अब यही बसी राख्नु असजिलो लाग्यो मलाई । बुढीआमा भारी बोकेर निस्कीन्, अब केही युवा, युवतीका जमात बाहेक बाँकी सबैले पार्क छोडिसकेका छन् । बुढीआमा केही पर पुगेर पनि मतीर हेरेर बाटो लागिन्, म पनि उज्यालो खोज्दै बाटो लागेँ । तर जाने कहाँ ? मेरा लागि बलेजस्तो कुनै बत्ती लागेन, म बाटबाटै हिँडिरहेँ, उज्यालोको साहारामा ।

बाटाको पेटीपेटी हिडेरै म रानीपोखरी, दरबार हाइस्कुल, वीर अस्पताल हुँदै धरहराको फेदसम्मै आईपुगेछु । केहीबेर फेदमै बसेर धरहरा नियालेँ । अहो यति माथिबाट पो कुदेका रहेछन् जङ्गबहादुर राणा, साँचीकै दरो मुटुका रहेछन् । केही पर झिलिमिली उज्यालो बनाई रहेका होटलहरू, गाडीको बाक्लो आवत जावत हेरेर काठमाडौँ केही मनमोहक देखियो अनि धरहरा मुनीको पेटीमा बसेर रेडियो नेपालमा अक्सर बज्ने गरेको गीत मनमनै गुन्गुनाए (रातोरानी फुलेझैँ साँझमा तिमी फुल्यौ कलेजी माझमा मनको रहर… कान्छीलाई घुमाउने काठमाडौँ शहर) ।

बत्तीको उज्यालो र मान्छेको बाक्लो चहलपहलले डर त हरायो तर भोक हराएन, भोकले पेट बटार्न थाल्यो । डाइना मकै नचबाएसम्म धार्जे नहुने पेट जाबो एक चिरो काँक्रो र चाउचाउमा किन मान्थ्यो । आफ्नै पेटले समेत मान्छेको आफ्नो परिस्थिति बुझिदिन्न, गरीब र दीनहीनहरूलाई पनि उतिकै भोकले सताउँछ जती, महँगा होटलमा आधा खाँदै आधा छोड्दै हिड्नेहरूलाई लाग्छ । यही पेटले त मान्छेलाई बेईमान र बदमाससम्म बनाउँछ । मलार्इ भने कमजोर र सिथिल बनाउला झै गर्यो । केही गर्नका लागि बाँच्नु पर्छ अनि बाँच्नका लागि खानु पर्छ, गोजीमा २/४ पैसा छउन्जेल किन भोकभोकै बस्नु, मानिसहरू हुनेखाने परिवारकै पनि युरोप अमेरिका छिरेर डलरको लोभमा भाँडा माझ्छन् भने म पनि रूपैयाँको अभावमा कुनै होटलमा भाँडा माझुँला, गरिखान के को लाज, आज पेटभरी खान पुग्ने पैसा छँदैछ, म खानाको जोहोमा सस्ता सडक होटलको खोजीमा निस्केँ ।

सरदारको ढावामा सुख्खा रोटी र तरकारी खाएपछि भने ८–१० घन्टाका लागि पेटको पिरलो हरायो । अब यो निस्पट्ट रात कसरी काट्नु, जहाँ जहाँ उज्यालो त्यतै त्यतै केही बेर भुल्दै समय काटेँ । मसँग लुटिनका लागि यौवन बाहेक सुन, पैसा खासै छैन । चोरसँग खासै डर छैन र यौवन त्यति सजिलै लुटिहाल्न मिल्दैन, त्यसैले मनमा खासै त्रास रहेन । र पनि कतिन्जेल हिड्नु , यो सुनसान रातमा, टुक्रुक्क भएपनि कतै बस्नपाए हुनेथियो भन्ने भयो । म वीर अस्पताल तीर छिरेँ । एकाध घन्टाका दरले प्रत्येक तला र क्याबीन चाहार्दै त्यतै बेन्च ओगट्दै बिरामी कुरूवा झैँ रात फालेँ । यहाँ मृत्युको मुखमा पुगेर छटपटाउँदै गरेकाहरूलाई हेर्दैमा आफ्नो दुःख बिर्सिएँ । मिर्मीरे उज्यालोसँगै ड्युटीका नर्सहरू फेरिए, अस्पतालमा केही चहल पहल सुरू भो अब त खुला आकासमुनी नै पनि खासै डर भएन, दिनदहाडै कसले पो के गर्ला र म जस्ती झुत्रे झाम्रे पाखेलाई । केहीबेर बाटो मै टहलिँदै उज्यालोसँगै फेरी पार्क छिरौँला, भीड हेरेरै दिन फालुँला तर फेरी अर्को रात नपर्दै बासको जोहो गर्न पाए हुने, राम्रोसँग नसुतेको पनि ३ दिन हुन आँटिसक्यो । मन भरी यस्तै रहर बोकेर अनिदो आँखाले दुनियाँ नियाल्दै बाटो लागेँ ।

आकाशमा घाम जती–जती माथि सर्दै गयो रत्नपार्कमा मान्छेहरूको जमात बढ्दै गयो । केहीबेरमै हिजोकै अनुहार पनि बाक्लै देखिए, अधिकांश पुराना अनुहारहरू बेच्न बसेका मध्येबाटै थिए, किन्नेहरू अक्सर नयाँ अनुहार नै देखिए । देशका हरेक कुना काप्चाबाट दैनिक हजारौँ नयाँ अनुहारहरु काठमाडौँ भित्रन्छन्, कोही जागीरको खोजीमा, कोही अवसरको खोजीमा त कोही खाडीका भीसाको खोजीमा, भने मजस्ता कतिपय एक नयाँ सुरूवातको खोजीमा । यहाँ आउनुका पछाडि सबैका आ–आफ्नै योजना र उद्देश्य हुन्छन् । फिलहाल यस पार्कमा म न त बेच्न बसेकी न त किनमेल गर्न नै, म त बस् बस्नैका लागि यहाँ बस्दैछु । केही बेरमै पल्लो कुनामा हिजोकी कांक्रो बेच्ने आमा पनि आइन्, फर्कदा लगभग रित्तो देखिएको डोको अलि गरूङ्गो गरी बिसाइन् । दिनभरी बेच्न पुग्ने हालेर आएकी हुँदिहुन् । डोको बिसाएर प्लास्टिक बिच्छ्याउँदै नाङ्गो पसल थाप्दै गर्दा उनका आँखा म तीर परे, म भने केही परबाट उनीतिरै नियाली रहेकी थिएँ, किनकिन, हिजैदेखि म पनि उनी प्रति अली केन्द्रीत थिएँ जसरी उनले मलाई बेला बेला नियाल्थिन् । उनको र मेरो नाता थियो त बस् काँक्रो बेचेको साईनो, गोरू बेचेको साईनो भनेजस्तै । काँक्राको चाङ मिलाई सकेपछि उनले म तीर हेर्दै हातले इशारा गरिन्, म यताउता पल्याक पुलुक् हेरेँ, उनले फेरी डाकेको इशारा गरिन्, म केही संकोच र दकस मान्दै उनै तिर लागेँ ।

तिमी हिजैदेखि यहिँ छौ ? आमाले प्रश्न गरिन् । एकछिन म नाजवाफ भएँ । आमाले फेरी सोधिन्, अनि काठमाडौँ किन आएकी ? की कसैले झुक्क्याएर यहाँसम्म ल्याई पुर्याए ? अनजान मतलबी सहरमा मेरो यतिका चासो गर्ने को नै भेटिएला र ! मनको भारी बिसाउने गतिलो चौतारी र बहाना भेटिएझैँ लाग्यो मलाई । आमाका सामु मैले सबै मनका वह पोखेँ सिवाय मेरो र निराजनको प्रेम कथा । मेरा कहानीले आमा गम्भीर भईन्, लाग्यो मैले मेरा कथा नभएर उनकै कथा पो सुनाएछु क्यारे । मैले घर छोड्नु र काठमाडौँसम्म आउनुको कथा सुनाएपछि आमाले लामो सास फेरिन् । केही पर फुटपाथमै चिया बनाउँदै गरेकी अर्की आन्टीलाई २ कप चिया ल्याईदिन इशारा गरिन् । उनले थैलीका केही खुजुरा पैसा प्लास्टिक मुनी घुसार्दै घरबाटै पिसी ल्याएको खुर्सानीको पोको पनि काँक्रोको चांग नजिकै मिलाइन् । चिया आईपुग्यो, आमाले एउटा म तिर तेसार्दै फेरी सोधिन्, हिजो बेलुकी के खायौ ? भोक लाग्यो होला जाउ उ त्यहाँबाट २ वटा पाउरोटी लिएर आउ भन्दै रू १० को नोट तेसारिन्, ‘पर्दैन आमा मसँग छ’, भन्दै पाउरोटी लिन लम्केँ ।

सुखले मानिसलाई बैरी बनाउँछ वैरभाव जगाउँछ तर दुःखले एक अर्काको नजिक बनाउँछ, जोड्छ, त्यसैले होला कसैले ठूलै कुरा भने, दुःखीको घरमा मात्र तेरो बास हुने भए हे ईश्वर दया राखी अझ मलाई दुख दे ।’ हरेक अन्त्य एक नयाँ सुरूवात हो, मेरो लागि घरयासी जीवन बाबु, आमाको माया, दाजुभाइको साथ अन्त्य हुनुसँगै एक सहयोगी आमा फेला परिन् । चिया र पाउरोटीसँगै उनका कथा सुरू भए, सन्तान नभएका कारण श्रीमानले अर्को विहे गरेका र बिस्तारै हेला हुँदै अपमानित भएर बस्नु भन्दा एक्लै दुःखजिलो गरेर पेट पाल्छु भनेर धादिङबाट काठमाडौँ उक्लेकी उनको कथाले मेरा आँखा भरी आँशु टिलपिल गरायो । घाम छिप्पीनसकेकाले होला काँक्रो खानेको खासै माचो थिएन । हामीले थुप्रो बेर एक अर्काका दुःख साटासाट गर्यौ । आमाले मलाई आँफूसँग बस्न आग्रह गरिन् । के खोज्छस् कानो ? आँखो । भनेझैँ भो मलाई, मेरो सबैभन्दा ठूलो समस्या समाधान भो । बस्ने छतको व्यवस्थासँगै रोजी रोटीको प्रबन्ध गर्ने मेसो पनि देखेँ । यसरी अचानक हराएकी सन्तान भेटेझैँ गरी एक अन्जान आमाले शरण दिएपछि मेरा कथामा अनायास मोड आयो । गरिखान सक्ने आँट हुने हो भने काठमाडौँ आफैमा एक अवसर हो, मैले सो अवसर २–४ रात सडक पेटीमा नसुती पाएँ, अर्काको जुठोले छाक नटारी पाएँ । हरदिन जुठोपूरो खाएर पेटीकै बास वर्षौँ बस्दा पनि काठमाडौँमा आफ्नो निजी बास भनेर बस्न नपाउने हजारौ छन् । बिना योजना जन्मेका सन्तान भन्दा रहरले अपनाईएका अनाथहरूले माया पाउछन् । सायद मेरो जीवनमा पनि त्यो प्यार फेरी फर्केर आयो । दिनचर्यासँगै फेरी रात पर्न आट्यो, आमाले कांक्राको डोको पनि आँफै बोकीन् मैले बोक्छु भन्दा मानिनन् अनि उनी अघिअघि म पछिपछि बाटो लागेँ, अब केही सुरूवात भो त केही सधैँको लागि अन्त्य । हुर्केकी छोरी यसैले लग्यो भन्ने नखुलेपछि घरकाले सायद मरी भनेर माया मारे हुनन् । हुनत मैले पनि बिना खबर घर छोडेर हिडेँकी । खैर जे होस्, शीर लुकाउने छत दिएकोमा ती आमा अनि ईश्वर दुबैलाई धन्यवाद दिएँ ।

फराकिलो मन की नारीसँग साँघुरो कोठामासँगै बस्ने गरेपछी मैले धेरै कुराका बारेमा जान्न र सुन्न पाएँ । अब काँक्रोसँगै हामीले मकै, पानी, बदाम र खाजाले पार्कमा ठुलै ठाँउ ओगटेर बेच्न थाल्यौ । हरिया काँक्रा र मकैसँगै रसीला ओठ अनि भरिला छातीले हो की, बिस्तारै बिक्री बढ्न थाल्यो । २ जनामात्रको परिवार भएपनि हरेक चाडवाड र अवसर हामी दुई आमाछोरीलेसँगै रमाएर बितायौँ । आमाका अर्ती उपदेश र सल्लाह बमोजिम एकपटक जन्म दिने आमालाई फोन गर्ने निष्कर्षमा म पुगेँ । उनले जस्तै भएपनि आमाको मन हो आत्तिन्छ भनीन्, मलाई पनि हो झैँ लाग्यो, कसो कसो गाँउको पीसीओको फोन नं. पत्ता लगाई आमालाई भोलिपल्ट खुसुक्क बोलाइदिन आग्रह गरेँ । भोलिपल्ट भनेकै समयमा आमा आईन्, फोनमा बोलेको सुन्ने वित्तिकै रोईन्, मेरो पनि मन थामिएन दुवैको एकैछिन रूवाबासी चल्यो । केहीबेरपछि दुबै सम्हालिँदै वातचीत भो, सानोभाइलाई स्कुलमै चक्कर आउने लड्ने खालको नौलो विमारले छोएको रहेछ, २–३ पटक नजिकैको मेडिकलमा उपचार गर्दा पनि नभएपछि बाले भारतमा उपचारका लागि लगेका रहेछन् । उपचारकै शीलसीलामा एउटा भैसी पनि बेचेछन् विमार अझै बीस को १९ भाको छैन रे । मन सारै आत्तिएर आयो, उतिखेरै भाइ भेट्न जाँउ झैँ भयो । मन दरो पारेँ आमा रोलिन् भनेर आखाँबाट आँशुका धारा खसाले पनि आवाज रून्चे पारिनँ । माया भन्दापनि उपचारका लागि पैसाको जरूरी हुन्छ, जेनतेन केही जम्मा गर्न सकेँ भने छिट्टै पठाउँला भन्दै मनमनै योजना गरेँ । मेरा बारेमा केही चिन्ता नलिनु छिट्टै थोरै पैसा जम्मा पारेर घर आँउछु भाइ भेट्न भनेर आमालाई सम्झाउँदै फोनबाट बिदा भएँ । फोन राखेर एकान्तमा बसी निकै बेर रोएँ, मन हलुको होला भनेर तर उस्तै भो ।

हरदिन मकैका घोगा र काँक्राका चीरासँग भाइको सीघ्र स्वास्थ्य लाभको कामना गरिरहेँ । भनिन्छ, समस्या बाजा बजाएर आउँदैन सायद मेरा जीन्दगीमा पनि एकपछि अर्को समस्याका उकाला पहाडहरू थाहै नपाई बाटाका अघि कैयन देखापर्ने क्रम जारी नै छ । संघर्षका कथा सबैका आ–आफ्नै हुन्छन् तर मलाई मेरा समस्या अलिक पीडाभरी लाग्छ । हुनतः आफ्नो सीङको भारी सबैका हुन्छन् । २–४ पैसा अलिक बेसी जोर्न सकिन्छ की भनि म बुढीआमालाई एउटा कुनामा छातामुनी बसाउँदै आँफू पार्कका कुना कुनासम्म मकै, पानी, बदाम र काँक्रा लाँदै बेच्दै गर्न लागेँ । रोजगार–बेरोजगार, साना–ठुला, धनी–गरीब सबै आफ्नो समय र अनुकुलता हेरेर पार्क बेला बेला छिरेकै हुन्थे । तर अक्सर अनुहारहरू हरदिन नयाँ नै देखिन्थे भने केही पुराना नै पनि हुन्थे । पैसा जोरजाम गर्न पाए भाइको उपचारमा केही सहयोग हुने थियो र भाइ पुनः पहिले जस्तै तन्दुरूस्त हुन्थ्यो भन्ने मात्रै छ मलाई ।

म बदाम र पानी बोकेर एकहुल युवाको जमातमा पुगेँ, मैले बदाम राखुकी भनी नसोद्दै त्यही समुह (झट्ट हेर्दा पहिलो पटक काठमाडौँ आए जस्ता २–३ युवक पनिसँगै थिए तर त्यो मसँग सवाल गर्ने र एकजना अर्को चाही काठमाडौँको हावाले राम्रै भेटेजस्तो थियो, पहीरन र हाउभाउ) को एकजनाले अलिक उत्ताउलो पारामा सोधीहाल्यो, ‘कतीमा दिन्छ्यौ ?’ मैले उसका प्रश्नको आशय बुझेरै पनि बदामको दाम भनेँ, ‘मानाको २० रूपियाँ दाजु ।’ ‘ए मानाले भरेर पो हो ! म त मुठीले नापेर हो की भन्ठानेेको त’ बाँकी सबै गलल हाँसे । आफ्ना छोरी बहिनीका लागि ज्यानको बाजी लगाइ दिने पुरूषहरू अर्काकी छोरीसँग कति सजिलै जीउको मुल्य सोध्छन् है ! अचम्म छ हाम्रो समाज, सडकको पेटीमा बसेर नाङ्गो पसल गर्नेहरूलाई चोर, बेमान देख्छन्, डालामा बदाम बेच्नेलाई चरित्रहीन देख्छन्, उसका कपडाको ब्रान्ड हेरेर उसका मानसिकता र बौद्धिकताको आँकलन गर्छन् । गरीबका आफ्नै बाध्यता छन्, अपमान सहेर पनि जीविका त चलाउनै पर्यो मन मनै सम्झेँ । त्यस्तैमा चिया बेच्ने अन्टीकी छोरी दगुर्दै आईन् । सोचेँ खुजुरा पैसा लिनका लागि होला । किनकि दिउँसो हामी अक्सर खाजा खाँदा र खुजुरा पैसाको लेनदेनका शिलशिलामा भेट्थ्यौ नत्र आ–आफ्नै सुर । बहिनीले आत्तिदैँ भनि ‘आमा पेट दुख्यो भनेर फत्र्याक फत्र्याक पर्नु भाको छ जाउँन दिदी । आमालाई अस्पताल लैजानु पर्ला जस्तो छ ।’ मेरो जीउ चिसो भो खुट्टा काम्न थाले, एक दुई ठाँउमा बदामको पैसा लिनै छोडेर म आमा भएतिर दगुरेँ, आमा पीडाले छट्पटाउँदै हुनुहुन्थ्यो । हत्तपत्त टेम्पोमा हालेर अस्पताल लगिहालेँ । त्यही बोलाउन गएकी बहिनीलाई काँक्राको पसारो मिलाएर छोपीदिनु भरे लिन आउँला भनि छाडेँ ।

अब दैनिकी झन् जटिल भो, दिनभरी रत्नपार्कको रमिता अनि राती हस्पिटलको बास, निकै ब्यस्त भनौँ वा अस्तब्यस्त, सारै गार्हो भो । यो जाबो काँक्रो र बदाम डालामा बोकेर हिड्नेलाई को ऋण पत्याओस , पत्याई हालेपनि तिर्नु कसरी, विना पैसा जिन्दगी उधारो छ, खाता जहिले पनि बन्द हुन सक्छ । अस्पताल सरकारी भए पनि दबाई उस्तै महँगो, चाइनाले जसरी गरीबका लागि सस्तो सामान बनायो त्यस्तै गरी गरीबकालागि भनेर सस्तो दबाई किन बनाएन ? हामी गरीब पनि बिमारी हुँदा धनीले जस्तै महँगो दबाई कसरी खानु । ईश्वरले पनि गरीबलाई बरू निरोगी र छोटो आयु दिउन् रोगी र लामो उमेर भन्दा । जिन्दगीमा पैसाको महत्व र जरूरत बल्ल नजिकबाट नियालेँ । डोकोमा बोकेर ल्याएका काँक्रा दिनभरीको घाम खाएर ५ रूपीयाँ चीरा बेच्दा महँगो भएन ? दुईवटा देउ भनेर चर्को डाँको गर्नेले औषधि पसल गर्दो रहेछ, मैले पनि, के सारो महँगो हो दाजु यो दबाई पैसा अलिक मिलाईदिननु न भन्दा, यो दबाई हो बैनी तिम्रा बारीको मकै काँक्रा होईन भनेर मुखभरीको जवाफ लायो । संसार यस्तै छ, अर्कैको मात्र सीत्तैमा खोज्छ मान्छे । लगभग महिना दिन जति हस्पिटलको बास भएपछि अस्पतालले डिस्चार्ज दियो । आमाको ज्यान त बच्यो तर पहिले झैँ डोको बोकेर ब्यापार गर्न सायद सक्नु हुन्न होला ।

बिना आमाको रत्नपार्क सुन्ने सुन्ने लाग्न थाल्यो मलाई । पातको साँघुमा चलेको दैनिकीमा मेरो प्रेम, मेरो यौवन कता हरायो हरायो । हरेक स्कुले युवा, युवती देख्दा स्कुले जीवन याद आउँछ, हरेक कलेजका युनिफर्ममा सजिएका युवाहरूको जमातमा यतिका समय रत्नपार्कमा रमीता हुदाँ कहिल्यै देखिन निराजनलाई । कतै उ देश बाहिर गईसकेको पनि हुन सक्छ भन्ने मनमनै लाग्यो । आमाको औषधिमुलोमै जम्मा भएको रकम सबै सकियो, उता भाइको उपचार अझै जस्ताको तस्तै, बाले सँगै क्वाटरमा राखेर दबाई चलाउदैछन् रे भन्ने खबर गाँउको पिसीओ बाटै थाहा पाएँ । चार पैसा सङ्गाल्न सकिएन के मुख लिएर घर जानु त्यो पनि बिरामी आमा छोडेर । मलाई केही बढी नै पैसाको जरूरत पर्यो । काँक्रो र मकै बेचेर सिटामोलसम्म त पुग्दो रहेछ तर अस्पताल गएरै सुत्न अलिक बढी नै कमाउनु पर्दो रहेछ जसको अभाव अचेल हरपल खड्किन्छ । मैले रत्नपार्कको विकल्प खोज्न थालेँ, कहाँ काम गरौँ कसरी पैसा जोरजाम पार्नु भन्ने मात्र भो, त्यस्तैमा हाम्रै कोठा पारीकी दिदीलाई सम्झे, निकै हाईफाई जीवन शैली, सजिलो काम । मलाई पनि बारकी वेटर हुन मन लाग्यो र साँझ उनलाई भेट्ने निधो गरेँ ।

तिनै दिदीको सहारामा मैले ठमेलका बार देखेँ । करिब ३–४ वटा बार चालेपछि मलाई म्यानेजरको कुरा मन पर्यो अनि चौथोमै जोईन गर्ने सोच गरेँ । यसरी सपनाको नामबाट सुरु भयो मेरो बार लाईफ, अनि भन्न थाले मान्छेहरू, ‘सपना द बारवाली’ । एग्रीमेन्टकै दिन दिएका पैसाले मैले केही राम्रा कपडा किनेँ, वर्षौँपछि मेकअप गरेँ । ग्राहकका आँखामा खुसी देख्न आफ्ना ओठमा मुस्कान बोकेर मान्छे सामु होटलको मेन्यु लियर उभिन थालेँ । बिस्तारै सबै कुरा दैनिकी बन्दै गए । खुला रत्नपार्क मै पनि हेपिनु परेकै हो, यहाँ कसैले प्याच्च केही भनी हालेपनि नशाको झोँकमा मुख छाड्यो भनि चित्त बुझाउने बाटो छ । ५ रूपैयामा एक चिरो काँक्रा बेचेर भुलेकी म यहाँ त एक प्लेट काँक्रा टेबलसम्म ल्याईदिएकै पनि ५०० सम्म बक्सीस पाएकी छु । यहाँको माहोल हेर्दा लाग्छ पैसा कमाउन केही गार्हो छैन, तर पैसा नहुँदा केसम्म हुन्छ त्यो मलाई राम्रैसँग थाहा भइसकेको छ । जतिसक्दो धेरै पैसा जोरजाम गर्नु छ, उता भाइ त यता कर्म दिने आमा, दुबैलाई तन्दुरूस्त बनाउने मन छ । सडक कुरेर बसेकी मैले शहर कस्तो हुन्छ यहाँ आएपछि छर्लँग देखेँ । बर्दिधारी पुलिसदेखि ब्रिटीस लाउरेकी स्वास्नीसम्म सबै नशामा मातेको देखेकी छु । गरीबलाई चरीत्रहीन देख्ने समाजमै धनीमानी भनिएकाहरूको नाङ्गो चरीत्र पनि यिनै आँखाले देखे, यिनै कानले सुने । समयसँगै मैले पनि हैसियत फेरेँ, झट्ट हेर्दा हुने खाने जस्तै देखिने म पनि भएँ । अर्काको जुठो खाएर पेट पाल्नु भन्दा अरूका जुठा भाँडा माझेरै भएपनि आफ्नै चुलोमा आगो बाल्न पाउँदा मन अर्कै हुन्छ । भन्नेहरूले जेसुकै भनुन् मैले शरीर बेचेकी छैन, उसो त शरीरको मोल दिन्छु भन्ने पनि प्रसस्तै भेटिए बारका दिननहरूमा । चाडवाड हेरेर बारको रमझमका दीन १०–५ मिनेट नाची दिनु मात्र पर्छ महिना दिन खान पुग्ने कमाई हुन्छ । अर्कैका खुसीमा नाच्दै र हाँस्दै बर्सौ बितेको थाहै भएन । आज फेरी क्रिशमसको नाम पारेर बारमा ठुलै रमझम छ, टेबल हेरेर कहाँ कसलाई खटाउने भन्ने मेरै जिम्मामा छ अचेल । उसो त बार मेरै पौरखमा चलेको छ भन्दा पनि फरक पर्दैन । घर गाँउको खबर नपाएको पनि बर्सौ भो । मन उदास, उदास छ आज को कृशमस ईभ सकेर भरे घर तीरको पीसीओमा कल गर्नुछ ।

आजको कृशमसको रौनक, अक्सर मान्छेहरू बार छिर्छन्, पैसा लुटाउन वा भनौ लुटेको कमाई उडाउन । पैसा हावामा उड्छन् आज, कतिका कम्मर र छातीमा कतिले पैसाका फूल सिउरिदिने हुन् जुवाडेहरूले यो त भरे कपडा टक्टक्याउँदा मात्र हिसाब हुन्छ । सबैलाई अह्राई सिकाइ आज केही भब्य पार्नु छ बार । म बेलैमा निस्के । म नपुग्दै बार झकिझकाउ सजिइसकेको थियो, जसका गोजी गरूङ्गो र ठूला नोटले भरिएको छ उसैको रोजाईका गीत बज्छन् अनि उसकै रोजाईका मान्छे नाच्छन्, पैसावालाको बढो कदर छ बारभित्र पनि । सबै चिटिक्क परेर तमतयार छन्, बारमा थुप्रै खाले युवतीहरू पनि छन्, बम्बैबाट फर्केकादेखि युरोपका पीआरधारीसम्मै । कोही बिक्न तयार छन् त कोही रोजेर किन्न आएका छन् । बुढाले घरबाट निकालेकादेखि बुढा घरबाहिर भएकासम्म सबै नाच्छन् आज । अहो ! युवतीहरूका पनि नौला सोख, मन परेका पुरूष ग्राहक देखे भने एकरातको मूल्य दिन्छु भन्नेहरू पनि आइदिन्छन बारमा, अनि एकरातको पुरूष किनेर जान्छन् सुरू सुरूमा म पनि बढो अचम्म मानी हेर्थे, अचेल त दैनिकी भइ सक्यो । बिस्तारै सबै टेबल भरिए, मैले गर्ल र ग्राहकका तालमेल अवलोकन गर्दै, अर्हाउँदै, सिकाउँदै बसे पुग्छ, अचेल पुरानी भइसकेँ, मेन्यु बोकेर टेबल धाईराख्नु पर्दैन, उस्तै जिद्दी ग्राहक परे मै गएर हजुर, तपाई भन्नु पर्छ निकै मपाई गर्ने पनि हुन्छन् । शिशाले बारेका मञ्चमा डिजे घन्कँदै छ, पालैपालो युवती फेरिदैँ नाच्दै गर्दैछन्, काउन्टरमा धेरै नै जम्मा भए भोलि सबैको हिस्सा लाग्छ म सबैलाई उसैगरी खटाउँदैछु ।

यस्तैमा एउटी बहिनी अलिक झिँजो मानेको अनुहार लिएर गुनासो गर्न आइन् । ‘दिदी त्यो ७ नं. को टेबलमा बस्नेहरूले तिम्रो बारको खास मान्छे पठाईदेउ, तिमी अलिक सिकारू रैछौ हाम्रो भाषा नबुझ्ने’ भने । मैले बहिनीलाई उनीहरूको हाउभाउ सोधेँ, उसले जानेजति भनि । ‘एउटा नेपालको सरकारी इन्जिनियर हो रे ! अर्को लन्डन पढेर छुट्टीमा आको, बढो बेसरम् छन् दिदी, हात र मुख दुबै उसैगरी चलाउँछन् मनपरी’ उसले भनि । बर्सौ यस्तैहरूका भीडमा विताईसकेकी मलाई मान्छे हेरेर ब्यवहार गर्न आउछ, ‘म जान्छु तिमी त्यो टेबल हेर’ भनेर म ७ नम्बर टेवलतिर लागेँ । जम्मा २ जना युवक त्यो पनि एक कोल्टे परेर फोनमा कतै केके भन्दै थियो अनि अर्को देब्रे हातमा वियरको ग्लास अनि दाहिने हातमा चुरोटको धुँवा पत्ताउँदै नाच्दै गरेकी युवतीका शरीरभरी आँखा दौडाउदै थियो । उसको चरोटमा खरानीको कोइलो लामै भइसकेको थियो सायद सल्कायो तर तान्न बिर्सेको छ । म गाँजर र काँक्रोको फ्री सलादको चारो हालेर रक्सीको बिल बढाउने उद्देस्यले उसका अघि देखापरेँ । ‘मे आई ह्याभ द प्लेजर अफ सर्भींग यु सर ?’ मैले नम्र भएर सोधेँ, फोनमा बोल्दै गरेको मान्छे केही कोल्टो फर्केकाले अनुहार प्रस्ट देखिएन । त्यही नाच हेर्न मग्न भएकाले भन्यो ‘तिमी पनि लिने भए एक एक प्याग मगाउ तिनै जनालाई ।’ सायद उसैले सपना भन्ने मै हो भनेर बुझ्यो की सजिलै यसो भन्यो । बारको बिल बढाउन कहिले कसो ग्राहक हेरेर एक, दुई प्याक खाईपनि दिनु पर्छ । म फर्केर फुल बोतल नै लियर आएँ, सकेको खानुस् बचेको यही राखिदिनुस्, हीसाब हेरेर गरौँला भनेर लग्यो भने बोतल रित्तिन्छ । अक्सर बारमा ब्यापार यसै गरी हुन्छ, मैले तीन प्यालामा रक्सी भरेँ आफ्नोमा चाहिँ थोरैमात्र । सगैँ ग्लास उचालेर ठोकी दिनु मात्र पर्छ एक अडर अझ बढ्छ । म सकभर उनीहरूलाई मात्र खुवाउने सुरमा छु ।

प्याला भरिएपछि उसले साथीलाई कोट्यायो अनि मलाई पनि खान इशारा गर्यो तिनै वटा प्याला उठे ठोकीए, मैले पनि ‘मेरी क्रिशमस भनिदिएँ अनि खाएझैँ गरेँ । अब खालान् नी भनेर ‘ह्याभ प्लेजर सर’ भनेर हिड्न मात्र के आँटेकी थिएँ उसले मेरा नाडी समाएर तान्दै भन्यो ‘बिना तिमी कसरी प्लेजर हुन्छ बेबे, ह्याभ सीट अन माई ल्याप ।’ म हुत्तिएर अर्को फोनमा बोल्दै गरेको युवकका छातीमा अडिन पुगेँ, म ‘सरी’ भन्दै छल्किएको वियर परेको उसको कोट पुछ्न मात्र के आटेकी थिएँ उसले पुल्लुक्क मेरा अनुहारमा हेर्यो अनि मेरै खास नामबाट पुकार्यो, ‘शकुन तिमी’ भन्दै । १२ वर्ष अगाडि मकैबारीमा बस्दा जसै गरी, म एक्कासी चिसी भएँ, उ मेरै हराएको निराजन थियो, यतिका वर्ष बेलायत तिर पढेर नेपाल फर्केको रे ! उ हेरेको हेरै भो, म निद्रामा छु झैँ लाग्यो । मलाई एकछिन पनि त्यहाँ बस्न मन लागेन । म हतार हतार फर्केर अघि कि बहिनीलाई नै, ‘त्यो टेबल हेर ल, मेरो टाउको बेस्करी दुख्यो, म निस्के आजलाई, म्यानेजरलाई भनि दिनु, म पछि फोन गर्छु’ भनि निस्केँ । एक्कासी १२ वर्ष अघिको इतिहास दोहोरियो अतित बल्झियो, म बेडमा घोप्टे परेर निकै बेर रोएँ, १२ वर्ष अगाडि घर छोडेको रातमा जस्तै, अब शायद फेरी त्यो बारमा फर्कन्छु वा फर्कन्न कुनै निधो छैन । जिन्दगी फेरी अर्थहिन भो निरस भो अत्तित बल्झ्यो निराजन बल्झ्यो, जिन्दगीले भोलि कहाँ र कोसँग भेट गराउने हो डर मात्र लागेर आयो । रातको २ बज्न आँटी सक्यो आँखामा निन्द्रा छैन, म झ्यालबाट काठमाडौँ नियाली रहेछु, हजार कोल्टे फेर्छु तर यो जस्ताइ निदाउन सक्दिन । अनि मन मनै भन्दैछु काठमाडौँ तिमी यत्तिकै निदाइराख्नु ल, भोलि उज्यालो नहोस् ताकि जिन्दगीले फेरी अर्को भेट निराजनसँग नगराओस्, अतित नबल्झाओस्, (अनि मन मनै भनेँ ‘मेरी  क्रिशमस माइ डियर निराजन’)

हरेक शब्द, शब्दमा आँखा डुलाउँदै म खाली पानामा पुगेर रोकीएँ । अब डायरीको पछाडिको बोक्रो भेटाउन मात्रै ३(४ पाना हुँदो हो, तर कोरा थियो । क्रमशः तिनै रित्ता पानाहरू पनि छोचोल्दै म कभरमा ठोक्किएर मात्रै रोकिएँ, दोस्रो मैनबत्ती पनि आफ्नो कम्मर भन्दा तलै पुगेर बल्दै रहेछ । साथी, करीब २ घन्टा अगाडि नै सुतेजसो गरेपनि अझै सिरक भीत्रबाट मोबाईलको उज्यालो धमिलो देखीन्थ्यो सायद जिउँदै थियो होला । उसकी प्रेमीकासँग बिदा मागेर शुभरात्री भन्न नपाउँदै उसको मोबाईलको पैसोले शुभरात्री भनेको हुनुपर्छ । उ अधुरो मन लिएर कोल्टो फेर्दैछ । उता उसकी प्रेमीका ब्यालेन्स हुनेहरूका दिनचर्या सुन्दै होली मेरो अनुमान । अहो ! प्रेमी, हुनेलाई पनि तड्पाएकै छ अनि, नहुनेका त झन् के कुरा तड्पिएरै दिन रात कटाउनु पर्ने । आगोको उज्यालोमा पुतली हुम्मिए झैँ, झुम्राको आगोलाई रातो देखेर समाउन खोज्ने बच्चा झैँ मानिस जिद्दी भएर सधैँ प्रेममा रूमलिन्छ, कल्पिन्छ, तड्पिन्छ, खैर, कति सफल पनि भएका छन् । तर मेरा आँखा अगाडिको प्रेमले निन्द्रा खोसेको छ । उ अझै निन्द्रामा झैँ गरी बढो विस्तारै कोल्टो फेर्दैछ । उ आफू अनिँदै भएको देखाउन चाहन्न, म बुझ्छु प्रेम गर्नेहरूका पिडा । मैले मैनबत्ती फुकेर निभाएँ । अब सुत्नु पर्छ । भित्तातीर कोल्टो फेर्दै सोचेँ, कतै बारवालीले आज मलाई पनि रूम पार्टनर जस्तै कोल्टे फेरिरहनु पर्ने पार्ने त होईन ? हैन, म सुत्छु, अब निन्द्रा देवीको काखमा पल्टन्छु, म घम्लुङ्ग सिरकले मुख ढाक्छु । तैपनि बारवालीको अनुहार सिरक भरी सिनेमा हलको पर्दामा झैँ देख्छु, उसका हरेक क्रियाकलाप चलचित्र झैँ फटाफट सर्दैछन्… ।

**समाप्त**

academicsushil@gmail.com

(स्रोत : आजको खबर डट कम)

This entry was posted in नेपाली उपन्यास and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *