कविता : आमा छोराको वार्तालाप

~कुमार काफ्ले~kumar-kafle

हिजो,
तिमी सानो छँदा छमछमी खेलेको देखेर
तोतेबोली बोल्दै तातेताते गरेर
जब तिमी मेरो काखमा आएर
लुटपुटिदैं रमाएर वक्षस्थलमा खेल्थ्यौ
म सारा दु:खकष्ट भुलेर तिमीमै हराउँथें।
आज,
तिमी ठूलो भएर
सारा संसार घुमेका छौ
जान्ने सुन्ने भएका छौ र
खै कहाँबाट पलायो यस्तो बुद्धि!
मलाई भागबन्डा लगाउन खोज्दैछौ
कहिले जोख्न खोज्छौ कहिले दामासही लगाउछौ
म बूढी किंकर्तव्यविमूढ भएर
एक तमासले तिम्रा चर्तीकला नियालिरहेछु
मेरा भावनाहरूलाई तिमी लल्कारिरहेछौ।
भोलि,
जब म मृत्युुशय्यामा छटपटाइरहेको हुनेछु
तिम्रा असह्य चोट र पीडाहरू सहन नसकेर
मेरा आँखामा सुकिसकेको मूल फेरि फुट्नेछ
र मेरो चित्कार सुनेर तिमी
सायद पश्चाताप गर्दै समीप आउनेछौ
त्यसबेला म कामना गरिरहनेछु कि
कतै तिमी आउन ढिला नहोस्।

*** *** ***

हिजो,
जब म सानो थिएँ
मलाई यो संसारको धेरै कुरा थाहा थिएन
मेरो लागि विश्व ब्रह्माण्ड त्यही घरआँगन
र संसार तिम्रै काख र छाती थियोे
मेरो जिवीका त्यतिमै चल्थ्यो।
आज,
मेरा महत्त्वकांक्षा चुलिएर
सगरमाथा होचो देख्दैछु
आकाश साँघुरो भएको छ
र म अन्तरिक्षमा सयर गर्दैछु।
मेरो अहंकारको आयतन बढेर
यो धरा सानो देख्दैछु
अनि स्वार्थको घनत्व बढेर
उचाल्नै सकिरहेको छैन।
भोलि,
बिहान भालेको डाकसँगै
म अग्लिएका महत्त्वकांक्षाहरू
बढेका अहंकार र स्वार्थहरू
डम्पिङ साइडमा विसर्जन गरेर
अस्तिकै जस्तो तिम्रो
सानो छोरो भएर तिम्रो काखमा
आइपुग्नेछु आमा!
मलाई तिम्रा आँशु तेजाबभन्दा कडा
र तिम्रो मन कपासभन्दा नरम लाग्छ
तिम्रो काख धरतीझैं विशाल लाग्छ
मलाई त्यही तिम्रो न्यानो र मायालु काखमा लुटपुटिन मन छ।

– ओखलढुंगा।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *