निबन्ध : तमोरको आह्वान

~उत्तम न्यौपान~

प्रकृति आपैmमा विशाल चीज हो । मान्छे प्रकृतिमा जन्मन्छ अनि प्रकृतिमा नै जीवनको अन्तिम सास फेर्छ । प्रकृतिमा पाइँने हावा, पानी, पातपतिङ्गर, झरना, पहाड, सेता हिमाल, चराचुरुङ्गीको आवाज अनि मृग, खरायोजस्ता जनावर उफ्रेको नाचेको मन नपराउँने को होला र ? आजको धुवँँधुलोले आकुलव्याकुल मान्छे प्रकृतिमै घण्टौ समय बिताउन चाहन्छ । त्यही प्रकृतिमै रमाउँने उच्च अभिलाषाका साथ बिहानै पाँच बजे म मेरो साथी प्रकाशकहाँ भेडेटार जाने प्रस्ताव बोकेर ढोका ढक्ढक्याउन पुग्छु । यताउता गर्दा–गर्दैै धरानको घण्टाघरमा साढे छ बजिसकेको रहेछ । घण्टाघर नजिकै एउटा बस भेडेटारका लागि छुट्नै लागेको पत्ता पाएपछि म टिकटको लागि काउन्टरतिर लाग्छु । त्यो दिन तमु ल्होसार परेको रहेछ । बस प्याकजस्तो देखिन्थ्यो । सय रुपियाँ डबल भाडा तिरेपछि बल्ल ढुक्क भयो । सिटमै बसेर जान पाइँने भयो भेडेटार ।जुन ठाउँमा पनि नयाँ यात्रुलाई भेटाएपछि भाडमा मनपरी गर्ने यो त रित बनिसक्यो नेपालमा । यो हाम्रो व्यवस्थाकै कमजोरीले भएको हो । जे होस् धरानको समथल भागलाई छोड्दै बस पहाडको उकालो लाग्दै थियो । मेरो साथी कानमा एअरफोनमा मस्त थिए । बीच–बीचमा प्रकृतिको छटा देखेर दङ्ग पर्दै कानबाट एअरफोन निकाल्न बाध्य हुन्थे उनी । धन्य प्रकृति, तैँले मान्छेलाई ब्युँताइदिइस् । पहाडको चिसो हावा पछाडिको भ्mयालबाट ठोक्किन पुगेछ । कति चिसो हावा, मेरो जिउ नै काँप्लाजस्तो भयो । पछाडि हेरेको दुईजना जोडीहरू गफ मार्दै रहेछन्् । यसो पछाडि नहेरेजस्तो गरेर झयाल लगाउँने प्रयास गरेको त दुरी मिलेन कि कोण मिलेन, झयाल नै बन्द भएन ।

सायद ती जोडीले मेरो कुरा बुझेछन्् । एकछिन् पछि त्यो झयाल बन्द भएको पाएँ । बल्ल मेरो मन ढुक्क भयो । भ्mयालको पर्दा हटाउँदै म त्यो पहाडको उकालीओराली, अनि विशाल हरियालीको आनन्द लिँदै भेडेटारको यात्रामा अगाडि बढे । मैले पहाडको थुप्रै यात्रा गरेको छु तर यो पहाडको यात्रा मेरा निम्ति एकदमै नौलो थियो । यो पूर्वी पहाडको यात्रा मेरो जिन्दगीकै प्रथम यात्रा थियो । प्राकृतिक रूपमा पूर्वको र पश्चिमको पहाडमा खासै अन्तर पाइनँ । तर बाटोघाटो र विकासको कुरा गर्ने हो भने पूर्वको बाटो मलाई एकदमै मन प¥यो । त्यति घुमाउरो बाटोमा पनि गाडीले कतै पनि यो पहाडको बाटो हो भन्ने आभाष दिलाएन । एकपटक ब्रिटेनका राजकुमार चाल्र्स धरान घुम्न आएका थिए रे ¤ घुम्दा–घुम्दा उनी भेडेटार पुगेछन्् । भेडेटारको त्यो मनमोहक दृष्यले उनको मन नै लोभिएछ तर बाटोको नाजुक अवस्थाले उनलाई पिरोलेछ । पछि ब्रिटेन सरकारको सहयोगमा धरान–धनकुटा बाटोको निर्माण भयो, जुन बाटो नेपालकै उत्कृष्ट बाटोमा गनिने गर्दछ ।

प्रकृतिको त्यो मनमोहक दृश्य अगाडि बस एउटा कुराले मेरो मनलाई आतङ्कित पा¥यो । बाटोको ठाउँ–ठाउँमा बारबार एउटै कुरा लेखिएको थियो– “खम्बुवान जिन्दावाद, खम्बुवानविरोधी होशियार ¤” हैन यी मान्छे कुन शताब्दीको कुरा गर्दैछन्् ? यत्रो जातीय र सांस्कृतिक विविधता भएको देशमा कस्तो मूर्ख कुरा गरेका ? एउटा राजालाई त हामीले फाल्यौँ–फाल्यौँ । फेरि यहाँ नयाँ राजा बन्ने सपना देख्दैछन्् । मलाई लाग्दै थियो, कतै यो मेरो अन्तिम यात्रा त हुने होइन ? केही गरी भोलि देश टुक्रा–टुक्रामा बाँडियो भने भोलि म फेरि यहाँ आउन पाउँने हुँ कि होइन ?आज म प्रकाश यादव जो एउटा मधेसी समुदायका विद्यार्थी हुन् उनीसँग हातमा हात अनि काँधमा काँध मिलाएर एकदम निर्धक्कका साथ देशको जुनसुकै ठाउँमा घुुम्न सक्छु । प्रकृतिको मजा लुट्न सक्छु । कारण हो मानवता र भातृत्वको भावना । कारण हो नेपाली हुनुको भावना । तर यहाँ देश टुक्राउँने कुरा गरिँदैछ । हिमाल, पहाड र तराईलाई अलग्याउँने कुरा गरिँदैछ । मधेसी पहाडीको नाममा लडाएर हाम्रो सार्वभौमसत्ता समाप्त पार्न खोजिँदैछ । के थाहा अहिले जुन यादव साथीसँग–सँगै हिँड्दैछु । भोलि यी दुष्ट नेताकै कारण कतै अलग्गिनेमात्र हैन, भोलि यी हातहरू एक–अर्काका विरुद्घमा उठ्ने त होइनन् ? हे आमा, यस्तो दिन कहिल्यै नआओस् । बिन्ती, पुकार छ मेरो ।

करिव ४५ मिनटको यात्रापछि धनकुटा जिल्लाले हामीलाई स्वागत गरेको थाहा पाएँ । “भेडेटारमा यहाँहरूलाई हार्दिक स्वागत छ” लेखिएको बोर्ड देखेपछि म र मेरो साथी प्रकाश प्रष्ट भयौँ कि पक्कै अब हामी बसबाट ओर्लने ठाउँ आएछ ।

हामी बसबाट ओर्लदा घामका किरणहरू हाम्रो टाउकामा ठोक्किँदै थिएँ, मानौँं ती किरणले हामीलाई स्वागत गर्दैछन्् । समुद्र सतहदेखि १४२० मिटरको उच्च भुभागमा अवस्थित भेडेटारको त्यो टावरमा चढेर मनमोहक प्रकृतिको आनन्द लिन पाउँदा म जस्ता प्रकृति पारखीको मन उत्साहित नहुने कुरै भएन । टावरको दक्षिणतर्फ सुनसरी जिल्लालगायत सम्पूर्ण पूर्वाञ्चल विकास क्षेत्रको अधिकांश भाग, अनि उत्तरतर्पm विशाल हिमालका अलवा धनकुटा जिल्लाको सम्पुर्ण भुभाग देखिने हुनाले उक्त ठाउँको विशेष महत्व छ । विश्वको सर्वोच्च शिखर सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण हिमाल हिउँले लपक्क ढाकिएको हेर्न पाउँदा मेरो मन गर्वले उत्साहित भयो । उक्त टावरबाट नेपालकै सुन्दर नगरी भनेर चिनिने धरान, विशाल सप्तकोशी नदी पनि देखिने हुनाले जो कोहीले पनि प्रकृतिको भरपुर आनन्द लिन सक्छ । यस्तै मनोरम प्रकृतिकै कारण होला, ब्रिटेन राजकुमार चाल्र्सलाई त्यो ठाउँ औधी मन परेको । टावरबाट करिव पाँच÷छ सय मिटर पश्चिमतर्पm लागेपछि पाथिभरा भगवती देवीको मन्दिर आउँदो रहेछ । उक्त मन्दिरको आफ्नै ऐतिहासिक महत्व होला, तर त्यहाँबाट देखिने प्राकृतिक छँटाले मनमा नयाँ उर्जा दिएजस्तो लाग्यो । त्यो भीरपखेरामा पैदल हिँड्दा–हिँड्दा निकै थकाई तथा भोक लागेको थियो तर पनि हामी अगाडि बढ्यौँ । भेडेटारको त्यो टावरबाट पूर्वतर्फ राजारानी भन्ने ठाउँ रहेछ । तर हामी उत्तर तमोर नदीतर्फ लाग्यौँं, जुन नदी कञ्चनजङ्घालगायत विशाल हिमालका फाँटबाट उत्पत्ति भई बग्दो रहेछ । यो नदी स्वदेशी तथा विदेशी पर्यटक तथा अनुसन्धानकर्ताका लागि एकदमै प्रख्यात रहेछ । यहाँ वर्षेनी देश–विदेशबाट ट्रेकिङ, ¥याफ्टिङ तथा खोज–अनुसन्धान गर्न आउँनेको भीड लाग्दो रहेछ ।

तमोरको त्यो कञ्चन पानी अनि पानीको वेगबाट उत्पन्न छाललाई भिडियोमा कैद गर्दै हामी तमोरको किनारैकिनार हिँड्यौँ । हिँड्दै जादा निकै हिँडेको पत्तै भएनछ, अलि माथि पुगेपछि एउटा झोलुङ्गे पुल आयो । त्यो पुलबाट तमोर नदी हेर्दा छुट्टै संसारमा पुगेको आभाष भयो । त्यो पानीको रङले बताउँथ्यो, नदी कति गहिरो छ भनेर । पुलको उत्तरतर्फ स्थिर पानीको त्यो अद्भुत शक्ति अर्कोतर्फ, दक्षिणतर्फ पानीको वेगले निम्ताएको त्यो छाल यी दुबै अवस्थामा पानीले आफ्नो शक्तिको रूप प्रदर्शन गरेको आभाष जो–कोहीले गर्न सक्छ । हामीसँग तमोरजस्ता सयौँं नदी छन््, जहाँबाट हामीले हजारौँं मेगावाट बिजुली निकाल्न सक्छौँं तर हाम्रो सरकारको लाचारीपनले गर्दा हामी अन्धकार जीवन बिताउन बाध्यमात्र छैनौँ, आज आएर हामीले हाम्रै देशमा बग्ने नदीलाई आप्mनै नदी भन्न पाएका छैनौँ । कोशी, महाकाली, गन्डकीजस्ता नदी सबै हाम्रा नेताले अरूलाई नै सुम्पिसकेका छन्् । “आप्mनो देशको मायाँ कसलाई पो हँुदैन र ? देशका मुख्य नेताहरू नै गद्दार निस्केपछि कसको के नै लाग्छ ? देशको ढुकुटी त रित्याए, त्यत्तिले नपुगेर देशको प्रकृति समेत बेच्न भ्याए ।” साथी प्रकाश भन्दै थिए— “प्रकृति भनेकी आमा हुन् र प्रकृतिलाई बेच्नु भनेको आमालाई बेच्नु हो । धिक्कार छ, आमालाई बेच्ने नेताहरू हो ।”

मौकाले भनौँ या प्रकृतिको साथले हुनुपर्दछ, पुसको जाडोमा पनि मौसम घमाइलो नै थियो । त्यो कञ्चन पानीमा डुबल्की मार्न मन लाग्यो । पानी एकदमै चिसो थियो हिउँजस्तै तर तमोरमा हाम फालेपछि त्यो जाडो हट्यो । मन सफा भयो । मनमा डेरा जमाएर बसेका सारा धमिला विचार हराएजस्तो लाग्यो । शरीरमा नयाँ उमङ्ग छायो । ठीक त्यही बेला मनमा एउटा कल्पना पनि उब्जियो— “देश विखन्डन गर्न सुर्रिएका हाम्रँ केही नेताहरू पनि एकपटक यो पानीमा आएर डुबुल्की मार्ने हो भने उनीहरूको मन र दिमाग पनि सफा हुन्थ्यो कि ¤” तमोरमा हाम फाल्दा उनले बारम्बार एउटा पीडा मलाई सुनाइरहेझैँ लागिरह्यो— “म यो वा त्यो राज्यको भन्दा पनि सिङ्गो नेपालको थिए र सधै सिङ्गो नेपालकै नदी भएर बग्न चाहन्छु । दश वर्ष लामो युद्घमा म रातो रगतले निकै पटक धमिलिएकी छु । म यस्तै कञ्चन भएर बग्न चाहन्छु । मलाई थाहा छ, यो जात, धर्म र क्षेत्रीयताको लडाइँ एकपटक सुरू भएपछि कहिल्यै नरोकिने लडाइँ हो । बिन्ती, यो लडाइँ रोक । म धेरै रङ्गिन चाहन्न ।” के तमोरको यो आह्वानलाई राष्ट्र विखन्डन गर्न कस्सिएका नेताहरूले सुन्लान् ? मेरो मनमा अहिले पनि यही प्रश्न सलबलाइरहेको छ ।

(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक १२ – Jan. 25, 2012 – २०६८ माघ १०, बुधबार)

This entry was posted in निबन्ध and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *