छन्द कविता : बुद्धको देशमा

~निर्मोही व्यास~Nirmohi Vyas

छन्द : स्रग्विणी


बुद्धको देशमा युद्धको जग्जगी
सिद्धको भेषमा गिद्धको बिग्बिगी
जाल बुन्दो छ झन्झन् खुनी माकुरा
निल्नलाई सधैँ शान्तिका आँकुरा


डुक्रँदै छन् मदोन्मत्त साँढेहरू
छन् मुसार्दै जुँघा धूर्त ढाडेहरू
दङ्ग छन् चर्तिकाले चमेराहरू
छैन विध्वंसबाहेक कामै अरू


धुन्धुकारीहरूको कुरै के गरूँ ?
लुट्नसम्मन् लुटे देशको आबरू
ध्वस्त पारेर नेपाल भन्छन् ‘नयाँ’
चित्त काटिन्छ हाम्रो कटक्कै यहाँ


थालियो रीति–संस्कार नौलो प्रथा
छैन गाई–गधामा कुनै भिन्नता
रम्य नेपाल कालो र मैलो भयो
ओजिलो गर्विलो कान्ति सारा गयो


क्रान्तिको लक्ष्य हो — स्थापना शान्तिको
किन्तु नेपालमा खालि दिग्भ्रान्ति भो
मात्र दुःशासनैको चल्यो शासन
निम्तिए देशमा दुर्दिनै–दुर्दिन


देश थापेर यो स्वार्थको दाउमा
पर्छ नेतृत्व नै पत्रुको पाउमा
किन्तु कोसङ्ग पोखौँ गई वेदना ?
वेदनामा स्वयम् नै छ संवेदना !


शान्ति–सद्भावको स्तम्भ ढालेपछि
पुण्यको आडमा पाप पालेपछि
स्वार्थकै मात्र झन्डा उचालेपछि
मर्छ मान्छेपना लाज फालेपछि !


आज जाऔँ जहाँ त्यै छ युद्धस्थल
रक्तको बग्छ रातो र तातो भल
छाउँदा घोर नैराश्यको बादल
बत्तिए देश छाडी युवाका दल


घाउ बल्की रहेको छ खै औषधी ?
भोग्नुपर्ने अझै हो कति त्रासदी !
व्याप्त सर्वत्र विद्वेष–आँधीहुरी
बज्नु कैले कठै ! प्रीतिको बाँसुरी ?

१०
आस नै आसमा,प्यास नै प्यासमा
गुम्सिँदै–पिल्सिँदै त्रास नै त्रासमा
रित्तिने भो नि हाम्रो भनी जीवन !
अल्पिए कल्पिएरै हिजोका दिन

११
“भोलि होला सुनौलो बिहानी यहाँ
पाउलान् फूलले जिन्दगानी नयाँ
छाउला देशको म्लान आकाशमा
शान्ति–सद्भाव–सौहार्दको लालिमा”

१२
स्वप्न सम्पूर्ण धूलो–खरानी भयो
प्राप्ति — ‘रोजै भिजेको सिरानी’ भयो
सास फेर्नै छ गाह्रो यहाँ दिन्दिन
मृत्युभन्दा छ साह्रो यहाँ जीवन

१३
भन्दछन् — ‘फेरियो फेरि संवत्सर’
फेरिँदैमा नयाँ के र क्यालेन्डर ?
धेर आए–गए वर्ष नौला यहाँ
किन्तु हाम्रो अवस्था जहाँको तहाँ

१४
आँसुको यो अविश्रान्त दर्के झरी !
आजलाई भनूँ ‘आज’ लौ के गरी ?
झुल्कला लग्न जैले यहाँ हर्षको
पर्व होला त्यही नै नयाँ वर्षको

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *