कथा : हैसियत

~कुमार काफ्ले~kumar-kafle

फेसबुकले धेरै साथीसंगीहरूसँग भेटघाट र भलाकुसारी गरायो।धेरै राम्रा,केही नराम्रा साथीहरू थपिए मेरो जीवनमा।पहाडको एउटा दुर्गम गाउँमा सरकारी विद्यालयमा शिक्षण गर्ने म फुर्सदमा कथा,कविताहरू लेखि टोपल्थें।यसै सिलसिलामा मेरो सङ्गत साहित्यकै क्षेत्रमा क्रियाशील मित्रहरूसँग बढ्दै गयो।

एकदिन साथीहरूले राजधानीमा साहित्यिक भेटघाट कार्यक्रम गर्ने कुरा राख्नु भो।म पनि कार्यक्रममा जान उत्सुक थिएँ।कहिल्यै नदेखेका,नभेटेका साथीहरूसँग भेटिने,चिनजान बढ्ने लोभले म त्यहाँ जान लालायित थिएँ।

घरमा श्रीमतीलाई भनें,पर्सि म काठमाडौं जान्छु है!

अचानक काठमाडौं जाने कुरा सुनेर महेश्वरी छक्क परिन् र भनिन् ठट्टा नगर्नुस् न हजुर पनि!यहाँ आफूलाई कस्तो टाउको दुखेको छ।

उनको टाउको दुख्न थालेको निकै वर्ष भइसक्यो।मैले उपचारको लागि गाउँकै स्वास्थ्य चौकी भन्दा अन्त लैजाने हिम्मत गरेको छैन।ब्रुफिन र सिटामोलको निरन्तर सेवनले उनी दिन प्रतिदिन कमजोर हुँदै छिन्।चौमासिक रुपमा आउने तलबले पसलको उधारो तिर्न र बालबच्चा पढाउन धौधौ थियोे।त्यसमाथि बुुबाको उपचारको लागि लिएको ऋणको ब्याज पनि बुझाउनुपर्थ्यो।चाडपर्व मान्न र अन्य आवश्यकता पूरा गर्न बेलाबेलामा ऋण थपिने क्रम जारी थियोे।

अनुहार हेर्दै मलिन थियोे र टाउको बाँधेर बसेकी थिईन् उनी।उनको मनले भने झैँ लाग्यो, हजुर काठमाडौं जाने भए मलाई पनि लिएर जानुस् न!एकपटक राम्रो हस्पिटलमा लगेर देखाईदिनु न!

म साँच्चिकै उनले यसै भन्ने हुन् कि भन्ने डरले कुरा मोड्न लागें हतारहतार।तर कहिलेकाहीँ त भन्न मन लाग्थ्यो अब हामी तिम्रो उपचार गर्न काठमाडौं जाने,अनि उपचारपछि मनकामना दर्शन र पोखरा घुमेर आउने!मौका मिलेमा लुम्बिनीसम्म घुमेर फर्कने!
मनमा त थियो तर मैले यो कुरा कहिल्यै प्रकट गरिनँ न उनले नै यसबारेमा गुनासो गरिन्।म यी तमाम कुराहरू र आफ्नो विवशता सम्झेर क्षणक्षण विस्मित हुन्थें।

मनको कुरा मनैमा सीमित भइरहेको थियोे।

उनले म काठमाडौं जाने कुरा पत्याएकी थिईनन् तर म जाने निश्चित जस्तै भइसकेको थियोे।कहिले केही आपत पर्छ कि भनेर पर्सको भित्रपट्टी चेपमा जहिल्यै दुई तीन हजार पैसा लुकाएर राख्ने गर्थें।त्यसरी लुकाएको बाहेक खुद्राखाद्री पाँच सात सय रुपैयाँ हुँदो हो मसँग।त्यही पैसाले काठमाडौं पुगेर आउने सोच बनाएको थिएँ मैले।

त्यसको भोलिपल्ट साँझ मैले झोला मिलाएँ।एउटा डायरी र एक जोर फेर्ने लुगा राखें।केही वर्ष भएथ्यो मैले नयाँ लुगा नकिनेको।मेरा क्रियाकलाप नियालिरहेकी उनले मुख फोरिन्।

ए हजुर त साँच्चै जान लाग्नु भएको रहेछ,मैले त नपत्याइरहेकी!के पर्यो त्यस्तो अर्जेन्टी?नगइ नहुने!

होइन एउटा कार्यक्रम छ जानै पर्ने खालको।

ए, कुनै तालिम,गोष्ठी हो कि के हो त?

अफिसबाट कहिलेकाहीँ तालिम गोष्ठीमा जाँदा भत्ता ल्याएको सम्झेर उनले सोचिन् होला त्यस्तै पैसा आउने कार्यक्रम रहेछ क्यारे!

मैले भनें,होइन तालिम त,साहित्यिक भेटघाट कार्यक्रम छ।

उनले अनुहार अँध्यारो पारिन् र भनिन् म सँग त पैसा छैन नि!कसरी पुगेर आउनुहुन्छ काठमाडौं?

मैले तिमीसँग पैसा मागेको छु त लाटी!

अनि कसरी गएर आउनुहुन्छ त!

मेरो बदमासी समातिन आँटेको थियोे र हतारहतार भनें साथीसँग लिएको छु।

तलब आउँदा हात लाग्ने भन्दा चार पाँच हजार घटाएर भन्ने गर्थें म।

ए फेरि ऋण गर्नुभयो है?कति पुग्यो ऋण हिसाब गर्नुस् त!

ल ल भो,सुत्ने बेलामा ऋणको कुरा नगर त!तिमीले नै भनेकी हैनौं खानेबेला घिन र सुत्नेबेला रिनको कुरा गर्नुहुँदैन भनेर!

उनी चुपचाप, म पनि चुप!तर मनभरि कुरा खेलिरहेका थिए।

साहित्यले नाता जोडिदिएको र सिर्जना मार्फत आत्मीय सम्बन्ध कायम भएका दिपेन्द्र, मालिका, विपिन,बिमला,तुलसी, बाबुराम,निर्दोष,गणेश,सपना,अमृत लगायतका दर्जनौं साथीहरूसँग प्रत्यक्ष भेटघाट र भलाकुसारी हुनेवाला थियो।देश विदेशमा रहेका सौगात,वीरेन्द्र, शारदा,लोकेन्द्र लगायतका धेरै साथीहरूले त्यो ऐतिहासिक भेलाको लागि शुभेच्छा र शुभकामना व्यक्त गरिरहेका थिए।यस्तै सम्झनाको तरेलीमा निद्रा गायब भएको थियो।कहिलेकाहीँ सम्झनासँग निद्राले पनि हार्दोरहेछ।

*****

बिहान हिँड्ने बेलामा उनले केही खुद्रा पैसा हातमा थमाइन्।राम्रोसँग जानुहोला, घर फर्कदाँ पैसा उघ्र्यो भने केही पत्ता ब्रुफिन ल्याउनुहोला है!यताको मेडिकलमा भन्दा सस्तो पर्छ कि भनिन्।

मन एक तमासको भो!टाउकोमा घनले ठोकेजस्तो लाग्यो।जति मरिहत्ते गरेर काम गरेपनि एउटी श्रीमतीको टाउको दुखेको उपचार गराउन नसकेको पीडामा डुबें।ब्रुफिन कता सस्तो पाइएला भनेर सोच्नु,खोज्नु परेको छ।हे भगवान्!धन्न सिटामोल चाँहि हेल्थ पोष्टले सित्तैमा दिइरहेको थियोे।नत्र घर फर्कदाँ ल्याउने सूचीमा सिटामोल पनि शानदार तरिकाले चढ्ने थियोे।अरुका श्रीमतीहरूका माग सारी र सिक्री हुदाँ मेरी प्यारीको डिमाण्ड ब्रुफिन थियोे।मैले मनमनै आफू र आफ्नो विवशतालाई धिक्कारें।सोचें,दशैं पेश्की आएपछि जसरी हुन्छ राम्रो हस्पिटलमा लगेर उपचार गराउँछु।मैले यस्तो योजना बनाएको पनि दुई वर्ष भइसक्यो!भ्यागुताको धार्नी कहिल्यै पुग्दैन भन्थे हो रहेछ।

छिट्छिटो यस्ता कुराहरू मनमा आए र गह्रुङ्गो मन लिएर म राजधानीतिर लागें।राति पनि अनेकौं सोच मनमा खेलाएर त्यति निद्रा नपरेकोले बसको सिटमा मस्त निदाएछु।

कार्यक्रम तय गरिएको दिन सबेरै उठें र झोलाबाट लुगा झिकें।कच्याककुचुक परेका रहेछन्।कपडामा मेरो हैसियत ऐनामा झैँ प्रतिबिम्बित भए जस्तो लाग्यो।रङ खुइलिएका तिनै कपडा लाएर खाना खाएँ र गोल्ड स्टार ब्राण्डका जुत्ता लगाएर लागे प्रज्ञा प्रतिष्ठानतिर।प्रज्ञाको गेटबाट भित्र छिर्ने बेला सुरक्षाकर्मीले केरकार गरे।आज हाम्रो कार्यक्रम छ भनेर गएँ।तिनीहरूले पत्याए कि पत्याएनन् मैले वास्ता गरिनँ।सबैभन्दा पहिला त्यहाँ मै पुगेको रहेछु,यताउता हेरें,कोही देखिनँ।

केही क्षण त्यसै टहलें,बालकृष्ण सम,भिमनिधि तिवारी,सिद्धिचरण, मोतीराम लगायतका स्रष्टाका सालिक हेर्दै भानुभक्तको प्रतिमामुनि गएर सुस्ताएँ।त्यत्तिकैमा केही मान्छेहरू आए कोही बाइकमा,कोही स्कुटीमा।मालिका,विपिन,बिमलाहरू रहेछन्।एकादुई पैदल पनि आएका थिए तर उनीहरूको लवाई,हिँडाई मेरो भन्दा उत्तम खालेजस्तो लाग्यो।त्यहाँ सबैभन्दा निम्छरो मै थिएँ भनेर ठम्याउन मलाई कुनै समय लागेन।आफूले आफैंलाई सम्झाएँ,मान्छेको हैसियत लवाइखवाइ र सम्पत्तिले निर्धारण गर्दैन,तँ यस‌ै ठीक छस्।

भेटघाट उपलब्धिमूलक रह्यो।साहित्यलाई माया गर्नेहरूको एउटा साझा संस्था बनाउँदै देश विदेशसम्म नाम र सम्मान कमाउने उद्धेश्यसहित भेला सकियो।भेला सकिदाँ पर्सको चेपमा भएको एक हजार रुपैयाँ पनि सकियो।त्यसपछि साथीहरूले खाजा खान जाने प्रस्ताव राखे।मैले मेरो खल्ती सम्झिएँ र नछामी पत्ता लगाएँ;मसँग होटल,रेष्टुरेन्टमा खाजा खान पुग्ने पैसो थिएन।साथीहरूले खुवाउलान् भन्ने आशामा सँगसँगै जान अप्ठ्यारो लागेकाले म तर्किदै अरुभन्दा पछिपछि सुस्तरी हिँड्न थालें।तर मालिकाले पक्रिनुभयो र अँगालो मारेरै अगाडि लिएर जानुभो,म असमञ्जसमा परें।

रेष्टुराँमा खाजा खान थालियो,स्वादिलो थियोे तर मन खाजामा भन्दा खाजाको पैसा कसरी तिर्ने चिन्तामा डुबेको थियोे।भोक लागेपनि म ढिलो गरेर खाइरहेको थिएँ।छिटोछिटो खाउँ भने पैसा तिर्नेमा आफै परिएला!फेरि यी पन्ध्र सोह्र जनाले खाएको खाजाको पैसा तिर्ने सामर्थ्य मसँग थिएन।अघिल्लो पटक काठमाडौं आउँदा जिन्दगीमा एकपटक कफीको चुस्की लिनुपर्यो भनेर क्याफेमा छिरेको सम्झिएँ।एक कप कफीको साठी रुपैयाँ खत्रक्क तिर्नुपर्दा म फत्रक्क परेको थिएँ।

काठमाडौं सारै खर्चिलो लाग्यो।खल्ती रित्तिनै आँटेको थियोे।अब घर फर्किनुपर्यो भन्ने सोचेर ब्रुफिन किन्न अौषधी पसलतिर सोझिएँ।ब्रुफिन किन्ने बेला पैसा नियालें;घर फर्कन बसभाडा पनि नपुग्ने रहेछ।किनौं कि नकिनौं भनेर दोमनमा परें।अा!जे पर्ला सोही टर्ला भनेर दुई पत्ता झ्याप्प किनेर झोलामा हालें।

टिनिनिनि! टिनिनिनि!! टिनिनिनि!!!

म झस्किएँ।
उताबाट छोरीको आवाज आयो।
बाबा,हजुर छिटो आउनू न!यहाँ ममीलाई कस्तो साह्रो भएको छ।अौषधी पनि सकिएछ,छिटो अौषधी लिएर आउनू ल!!

म किंकर्तव्यविमूढ भएर एकछिन सालिक झैं उभिइरहें।

काठमाडौं आएर दुई तीन हजार रुपैयाँ बेफ्वाँकमा सिध्याएकोमा ग्लानी महशुस हुन थाल्यो।मन भतभती पोल्यो र त्यहाँबाट सिधै कोटेश्वर गएर गाडी चढें।बीच बाटामा कन्डक्टर पैसा उठाउन आयो।मसँग पूरै भाडा तिर्न पैसा थिएन,त्यसैले झर्ने बेलामा दिन्छु है भाइ भनेर टार्न खोजे।घामट रहेछ,मान्दै मानेन।हाम्रो गलफत्ती सुनेर अगाडिबाट अर्को चर्को आवाज आयो;पैसा नदिने भए के खान गाडी चढेको झार्दे न!झार्दे!!

म झननन भएँ।उता घरमा बूढी बिरामी छे यता चढेको गाडीबाट झार्दे भने त कसरी घर पुग्नु!

त्यो झार्दे न झार्दे भन्ने रुखो बोलीवालाको स्वर कताकता सुने झैँ लाग्यो र यसो घाँटी तन्काएर उ तिर हेरें।केही वर्ष अघि मैले नै पढाएको पल्लो गाउँको कमले पो रहेछ चालक त!उसलाई देखेपछि अलिक सास आयो र भनें बाबु कमल मसँग आज गाडीभाडा तिर्ने पैसा छैन!केही दिनपछि जसरी नि तिमीलाई हात लाइदिन्छु है?

ऊ पनि तीन छक्क पर्यो र कन्डक्टरलाई सरसँग पैसा नमाग्नू है भन्यो।गाडीका सबै यात्रुहरूले मै तिर हेरे वाल्ल परेर।

गाडीबाट अोर्लेर म छिटोछिटो घरतर्फ दौडिएँ।घर पुग्दा ठूली छोरी आमाको टाउको समातेर रुञ्चे मुख लाएर बसिरहेकी रहिछिन्।उनीहरूको अवस्था देखेर मैले मन थाम्न सकिनँ।तत्कालै ब्रुफिन खोलेर एक चक्की खुवाएँ र अप्ठ्यारो गरेर पानीले अौषधी निलेपछि उनले म तिर हेरिन् र आँशुका ढिका खसाल्दै भनिन्,
म अब बाँच्दिनँ होला!यी छोराछोरीको राम्रो ख्याल गर्नूस् है!

मेरो कानमा हजार डेसिबलको ध्वनि आएर बज्रिए जस्तो लाग्यो।भाउन्न छुटेर आयो,म केही बोल्नै सकिनँ!

सानो छोरो भन्दै थियोे बाबा तपाईं किन लुनु भएको?

– ओखलढुंगा।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *