यात्रा संस्मरण : आत्मीय अँगालोमा बाँधिएको  वृहत् साहित्यिक यात्रा

~राजेन्द्रप्रसाद अर्याल~

ड्यासबाट बोल्दाबोल्दै कवि मञ्जुलको गला अवरुद्ध भयो । वाक्य फुट्न सकेन अनि द्रविभूत हुनुभयो । दर्शक दिर्घातर्फ मौनता छायो । सबै स्तब्ध देखिन्थे । तीस सेकेण्ड जतिको यो दृष्य तथा अवस्थाबाट मञ्जुल सम्हालिनु भयो । एक्कासी यथावस्थामा आई आफ्ना चञ्चल भावभङ्गीमा छोटा तथा चुट्किला दुईवटा कविता सुनाएर ड्यासबाट बाहिरिनुभयो ।

प्रशङ्ग दुई दिने गोरखा साहित्यिक यात्राको हो । २०६४ असार १ मा सुरुभई २ गते सम्पन्न भएको गोरखा साहित्यिक मञ्च, काठमाडौंले आयोजना गरेको काठमाडौं–गोरखा–काठमाडौं साहित्यिक यात्रामा साहित्यकारहरु, पत्रकारहरु लगायत ४५ जना जतिको सहभागिता रहेको थियो । काठमाडौंको सोह्रखुट्टेबाट सुविधायूक्त टुरिष्ट बस र एउटा कार प्रात: ९.३५ बजे गोरखाको लागि प्रस्थान गर्‍यो । पाएक पर्ने गौंडा, चोक र बाटोहरुबाट साहित्यकारहरु थपिनेक्रम तब बन्द भयो जब थानकोट चेकपोष्टबाट वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रित र कविता पौडेल बसमा भित्रिनु भयो । आयोजकहरु कवि राजुबाबु श्रेष्ठ, कथाकार सीता अर्याल, उपन्यासकार सुनिल मास्के र साहित्यप्रेमी भास्कर तथा ज्योति गुरुङ्खहरुको सक्रियता उच्च थियो । को–को आए, आएनन् भन्नेतर्फ वहाँहरु कृयाशिलतापूर्वक निरीक्षणमा व्यस्त देखिनुहुन्थ्यो भने वहाँहरुको मोवाइलहरु ज्यादै उपयोगी भइरहेका थिए यसै मेसोमा । आयोजक संस्थाका अध्यक्ष राजुबाबु श्रेष्ठले गोजीबाट लिष्ट झिक्दै भिडाउन थाल्नुभयो— मोहनराज शर्मा, मोदनाथ प्रश्रित, मञ्जुल, पद्मावती सिंह, राजेन्द्र थापा, भागिरथी श्रेष्ठ, श्रीओम रोदन, मञ्जुकाँचुली, शङ्करकुमार श्रेष्ठ, शारदा अधिकारी, कविता पौडेल, गोवर्धन पूजा, युवराज नयाँघरे, बिमल भौकाजी, गीता कार्कि, राजकुमार बानिया, ………। पत्रकारहरुमा कान्तिपुरका फूलमान बल, समाचारपत्रका ब्याकुल पाठक, अन्नपूर्ण पोष्टका राजेन्द्र श्रेष्ठ, गोरखापत्रका जयदेब भट्टराई………….., ल ल ,भयो । बाँकी कोही छैन, सबैको उपस्थिति भयो । एकातिर बसमा एक सिटपनि खाली थिएन भने अर्कोतिर उठ्ने यात्रु देखिएनन् । कति मीठो र उच्च व्यवस्थापन । यसै मेसोमा राजुबाबु श्रेष्ठले बसलाई साइड लगाउन भन्नु भयो र उपस्थित सम्पूर्ण श्रद्धेय साहित्यकारज्यूहरुलाई साहित्यिक यात्रामा संलग्न हुनुभएकोमा स्वागत अभिवादन गर्नुभयो ।

बसभित्र सहभागिहरुको एक आपसमा हाइ–हेलो र अभिवादन साटासाट हुँदै गयो । नागढुङ्गाबाट हामी ओरालो लाग्यौँ । एक रातको लागि उपत्यका छाड्यौँ हामी सबैले । गाडी अचानक घ्याच्च रोकियो र निभेसभरमा नै झन द्रुत गतिमा गुड्न थाल्यो । ड्राइभरले ब्रेक परीक्षण गरेका पो रहेछन् । प्रसिद्ध गीतकार राजेन्द्र थापाले एक मुठा पत्रिका वितरण गर्नु भयो । मुठाको मोटाइ हेर्दा लाग्थ्यो काठमाडौंबाट प्रकाशित भएका सो दिनका पत्रिकाहरु सबै–सबै त्यही मुठामा छन् । अर्कोतर्फ आ–आफ्ना नयाँ कृतिहरु हित्त चित्त मिल्ने साहित्यकारहरुले एक आससमा साँटासाँट गरेका पनि देखिन्थ्यो । केही समय सबैको ध्यान पत्रपत्रिका तथा उपहार स्वरुप प्राप्त पुस्तहरुमा केन्द्रीत हुन गयो । तर कथाकार शंकरकुमार श्रेष्ठको हाँसिमजाक, ख्यालठट्टा गरिरहनु पर्ने रसिक स्वभावको कारण पत्रिका अध्ययनले छाएको मौनता लामो समयसम्म कायम रहन सकेन ।

हुनत व्यक्तिगत रुपमा गोरखाको भ्रमण प्राय: सबैले यस अघि नै सम्पन्न गरिसक्नु भएको रहेछ । कथाकार भागिरथी मात्रले आफू नयाँ यात्री भएको कुरा अवगत गराउनु भयो । व्यक्तिगत भ्रमण गर्नु र समूहगत साहित्यिक भ्रमण हुनु साहित्य श्रृजनाको दृष्टिले फरक कुराहरु हुन् । मैले स्पष्ट देखिरहेको थिएँ– गोरखासँग आत्मियता बढाउन, त्यहाँको प्राकृतिक छटाको उपयोग साहित्यमा गर्न र नयाँ ठाउ‘ अनि नौलो परिवेशको दृष्यावलोकनबाट रसास्वाद गर्न प्रत्येक साहित्यप्रेमीहरु जिज्ञासु र उत्साही देखिनु हुन्थ्यो । वहाँहरुको भाव भङ्गी र हाउ भाउ हेर्दा लाग्दथ्यो बस भित्रको साहित्यक परिवेशले सबैलाई प्रभावित पारेको छ । सर्जकहरुले साहित्यिक उर्जा थपिएको अनुभूति गरेको हुनुपर्दछ । त्यसैको परावर्तन मुखमण्डलमा पर्नाले वहाँहरु हँसमुख देखिनुहुन्थ्यो । बेलाबेलामा आ–आफ्ना भावनाहरु नोटबुकमा लिपिबद्ध गरेका दृष्यहरु मैले देखिरहेको थिएँ । मनसुन सुरु भै सकेको अवस्था थियो तापनि कुनै भागमा पुग्दा केही पानी परेका थियो त कतै मन्द घाम । बसका झ्यालबाट देखिएको पहाडी वस्तीका हरियाली दृष्य सहितका विविध प्राकृतिक परिवेश र त्रिशुली नदीको कलकल आवाजले गर्दा साहित्यिक सर्जकहरु आत्मविभोर बनेको अनुभूति हुन्थ्यो मलाई ।

गाडी द्रुत गतिमा नै गुडिरहेको छ । महादेववेशीमा नास्ताको लागि १५ मिनेट गाडी रोकियो । सामान्य नास्तापछि हामी पुन चलायमान भयौं । साहित्यिक माहौल खडा गर्दै मलेखु पुग्यौं । मलेखुको स्वादिलो माछासँगै हामी सबैले भोजन उदरस्थ गरेपछि हाम्रो गाडी एकैचोटी चितवनको चेरेशस्थित त्रिशुली नदिको किनारमा रहेको नेपालको एकमात्र केवलकारको प्राङ्गणमा रोकियो । केवलकारको स्वादिलो तथा उत्सुक भ्रमण पछि हामी प्रसिद्ध मनकामना मन्दिरको प्राङ्गणमा पुग्यौं र केही समय पूजा न्यास ध्यानमा व्यस्त भयौं । त्यसपछि पूर्वघोषित कार्यक्रमानुसार मनकामना प्राङ्गणसँगैको रामयुग मल्ल प्रतिष्ठानमा चियाको चुस्कीसँगै स्वत:स्फूर्त कविता, गजल, मुक्तक वाचन कार्यक्रम सम्पन्न पछि दिनको ठीक ४ हामी तल झर्‍यौं ।

केवलकारको ओहोर दोहोरमा लाग्ने करिब २० मिनेटजतिको यात्रा वास्तवमा उत्सुकतापूर्ण हुने खालको नै थियो । अरुभन्दा पनि समग्र नेपालको पहाडी परिवेशको चित्रण गर्न सो दृष्यले सबै कवि तथा साहित्यप्रेमिहरुलाई अभिप्रेरित गर्ने मात्र नभै लठ्याउँथ्यो नै । साहित्य श्रृजनाका लागि त्यस्ता दृष्यहरु उर्वर नहुने त प्रश्न नै आएन । केवलकारको डब्बा भित्र आफ्नो शरीर थियो तापनि कहिले कुहिरोसँग त कहिले भिरपाखा र वनजङ्गल अनि हरियाली प्रकृतिसँग लुकामारी खेल्दै – खेल्दै सम्पन्न भएको यात्रा सबैलाई रोमाञ्चकारी लाग्नुपर्छ ।

हामी ४:३० मा मजुवा खैरेनीको मस्र्याङ्दीको पुल तरेर गोरखा जिल्लातर्फ लाग्यौं । त्यसपछि एक आपसमा गोरखा जिल्लाको पर्यटकिय विशेषता र ऐतिहासिकताको तथा यसको भौगोलिक विकटताको विषयमा विशेष चर्चा परिचर्चाहरु हुँदै गए । ऐतिहासिकताको विषयमा मोदनाथ प्रश्रितज्यूले विशेष व्याख्या गरी गोरखाको गौरबपूर्ण इतिहासको सम्झना गराउनु भयो । यस्तै गफमा गफिँदा गफिँदै हामी गोरखा बजारको होटल विसौनिमा पुग्यौ । त्यहाँ उपस्थित साथीभाइहरुसँगको मिलनले दिलै मुस्कुरायो । आ–आफ्नो कोठामा झोला विसाएर हातमुख धोइपखाली गरी पुनर्ताजगी भयौ । हाम्रै आतिथ्यमा सोही होटलको हलमा पृथ्वी साँस्कृतिक परिवार गोरखाले देखाएको विविध साँस्कृतिक कार्यक्रमको स्वाद लिनतर्फ लाग्यौं । गोरखाको कौरा नृत्यले सबैको मन जित्यो । कार्यक्रमको समाप्तिपछि विसौनी होटलको प्राङ्गणमा खैचडीको तालमा गाइएको कौरा नृत्यको गीतमा मन्त्रमुग्ध भै कवि मञ्जुल, शारदा अधिकारी, कविता पौडेल, शंकर कुमार श्रेष्ठ, डीएसपी गीता उप्रेती, पत्रकार बन्धुहरु लगायतका संस्कृतिप्रेमीहरु कम्मर मर्काई–मर्काई छमछम नाच्न थाल्नुभयो । कौरा नृत्यमा साहित्यकारहरुको संलग्नता र सहभागिताले गर्दा स्थानिय कलाकर्मिहरुमा झनै उर्जा थपिएको प्रतित हुन्थ्यो ।

गोरखको स्थानिय खाजा मकै, भटमास, गुन्द्रुकको अचार सहित कुखुराको रोष्टमा पेय पदार्थ थपथाप गरी उपस्थित सम्पूर्णले नास्ता गर्‍यौं । त्यसपछि केही समय पश्चात् हरि साँस्कृतिक केन्द्रले प्रायोजन गरेको बेलुकीको खाना पछी डिएसपी गीता उप्रेतीले व्यवस्था गर्नु भएको होटलको सयन कक्षमामा विश्रामको निम्ति हामी लाग्यौं ।

भोलिपल्ट विहान अर्थात् असार २ गते प्रात: ६:०० बजे गोरखकाली र गोरखनाथको दर्शन गर्न हामी सबै त्यतातर्फ प्रस्थान गर्‍यौं । जतिसुकै कठीन उकालो उक्लिनु परेतापनि हामीलाई सिमसिमे पानीले सितलताको प्यास मेटाएको थियो । गोरखा दरबारको अवलोकन र विभिन्न देवदेवीहरुको दर्शनका साथै त्यसको टुप्पाबाट दृष्टिगोचर हुने प्राकृतिक भूवनौटको रसास्वादन गर्न थाल्यौं । गोरखा दरबारबाट देखिने मनासलु, अन्नपूर्ण, धौलागिरी जस्ता प्रख्यात हिमश्रृङ्खलाहरुलाई वर्षायामको कुहिराले छपक्कै छोपको थियो तापनि नजिकै रहेको उपल्लो कोट र वरिपरीका वस्तिहरु भने छ्याङ्गै खुलेको देखिन्थ्यो । त्यस डाँडाबाट हामीले गोरखाबजारमात्र देखेनौं, लिगलिगकोट, मनकामना, उत्तरी क्षेत्रका भूभागहरु समेत समग्र गोरखाको दृष्यपान गरेको अनुभूति गर्‍यौं । पृथ्वीनारायण शाहको राजगद्धी हेर्न सबै उत्साही देखिन्थे । दरबारको डाँडाबाट गोरखाबजारतर्फ हेर्दा देखिने तल्लो दरबारको परिशरलाई उद्यानले घेरिएको र झण्डै त्यसको वीचमा अवस्थित अनावरण गर्न नभ्याइएको पृथ्वीनारायणको शालिक भूँइमा पछारिएको दृष्यले वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रित झस्कनु भयो । नेपालको उद्गम स्थलमा त्यो दृष्यलाई कतिपयले प्रितिकर नठानेको व्यहोरा झल्कन्थ्यो । दरबार र गोरखाको ऐतिहासिकताको चर्चा परिचर्चा गर्दै हामी केही तल झर्‍यौं र नास्ताको लागि केही क्षेण विश्राम गर्‍यौं । दण्डपाणि अज्र्याल स्मृति केन्द्रले व्यवस्था गरेको नास्तामा गोरखाको ताजा सेलरोटी लगायत विविध परिकारहरुको स्वाद जिब्रोमा लिई रामशाह चौतारा हुँदै गोरखा उद्योग वाणिज्य संघको भवनमा हामी झर्‍यौं जहाँ साहित्यकारहरुको स्वागतार्थ गोरखाली उद्योगी व्यवसायीहरु प्रतिक्षारत हुनुहुन्थ्यो ।

उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष अच्यूतलाल श्रेष्ठको सभापतित्वमा सञ्चालित स्वागत तथा भेटघाट कार्यक्रममा सिडिओ, डिएसपी, जिशिअ जस्ता जिल्लाका कर्मचारी प्रमुखहरु, उद्योगवाणिज्य संघका संस्थापक अध्यक्ष एवं गोरखा जिल्लाका वयोवृद्ध समाजसेवी चुडानारायण किसनबाबु श्रेष्ठ लगायत गोरखाका विभिन्न व्यक्तित्वहरुको उपस्थिति देखिन्थ्यो । विभिन्न वक्ताहरुले बोल्दै गए । प्रश्न गर्ने र उत्तर दिने क्रम पनि चल्यो । त्यस स्वागत तथा भेटघाट कार्यक्रमबाट अतिथी साहित्यकारहरु आल्हादित हुनुभयो । आपसमा वहाँहरु भन्दै हुनुहुन्थ्यो –“भिन्न पेशा र व्यवसाय भएर के भयो त ? ‘अतिथी देवो भव’ भन्ने गोरखाली संस्कार र परम्परामा हुर्किएको उद्योग वाणिज्यसंघले हामीलाई अत्मिय अङ्गालोमा बाँध्यो ।” उसैको व्यवस्थापनको स्वादिलो खानाले भोकको तृष्णा मेटाई हामी जिल्ला सभा हलमा सम्पन्न हुने साहित्यिक कार्यक्रममा सहभागि हुन तलतिर झर्‍यौं ।

जिल्ला सभाहलको प्राङ्गणमा पाहुना साहित्यकार तथा पत्रकारहरु लामबद्ध हुनुभयो । हलभित्र प्रवेश गर्ने क्रममा गोरखा साहित्य संगमका अध्यक्ष अनन्त मुस्कानले सम्पूर्ण अतिथिहरुमा माल्यार्पण गर्नुभयो भने हलमा भरिभराउ दर्शहरुले तालि बजाई स्वागत गर्नुभएको थियो । लाग्दथ्यो जिल्ला सभाहलमा उपस्थित गोरखालीहरुले सिङ्गै गोरखा भएर न्यानो आतिथ्यता पस्किरहेका छन् । दिनको ठीक एक बजे वरिष्ठ साहित्यकार प्रा. डा. मोहनराज शर्माले वृहद् कवि गोष्ठीको उद्घाटन गरेपछि सुरुभएको कार्यक्रमको सभापतित्व गोरखा साहित्यिक मञ्चका अध्यक्ष राजुबाबु श्रेष्ठले गर्नुभएको थियो । गोरखा साहित्य सङ्गमका सचिव राजकुमार श्रेष्ठले मीठो भाषाशैली र अनुशासित भावभङ्गीमा सञ्चालित उक्त कार्यक्रममा सोही संस्थाका अध्यक्ष अनन्त मुस्कानले तिख्खर तथा स्वादिलो कविता वाचन गरी स्वागत गर्नुभयो । काठमाडौबाट जाने र स्थानिय साहित्यकारहरुले पालैपालो कविता, गजल, मुक्तक वाचन गर्नु हुँदै थियो । कार्यक्रम सञ्चालक राजकुमार श्रेष्ठले आफ्नो हातको माइक्रोफोन गोरखामा प्राध्यापनरत साहित्यकार रुद्र पोखरेल जो हरि साँस्कृतिक केन्द्रका सचिव पनि हुनुहुँदो रहेछ, वहाँलाई हस्तान्तरण गर्नुभयो । केन्द्रका सचिव पोख्रेलले केन्द्रको परिचयलाई दर्शकमाझ छर्लङ्ग पार्नुभयो । हुन पनि हो रहेछ, गोरखाको भाषिक तथा साहित्यिक अनि खोजमूलक कार्यमा अगाडि बढ्ने प्रतिभाहरुलाई पुरस्कृत गर्ने उद्देश्यले यो हरि साँस्कृतिक केन्द्र नामक संस्था २०४२ मा खुलेको रहेछ । यसैबाट प्रेरणा लिई जिल्लामा केही यस्तै अन्य संस्थाहरु पनि खुल्दै आएका रहेछन् पनि । त्यसैले गोरखाको साहित्यिक पुरस्कार स्थापनाको क्षेत्रका यो संस्था कोशेढुङ्गाको रुपमा स्थापित भएको रहेछ । हो, त्यसै हरि साँस्कृतिक केन्द्रले प्रत्येक वर्ष हरि उत्कृष्ठ प्रतिभा पुरस्कार अर्पण गर्ने क्रममा २०६२ को सो पुरस्कार कथाकार श्रीमती सीता अर्यालको दोश्रो कथा सङ्ग्रह ‘उपमा’ लाई र ‘गोरखा गाथा’ खण्डकाव्यका सर्जक उप. प्रा. धनेश्वर भट्टराईलाई २०६१ सालको सो पुरस्कारले विभूषित गरियो ।

पुरस्कार वितरण समाप्ति पछि कविता वाचनको कार्यक्रम पुन: सुरुभयो । अतिथि साहित्यकारहरुले कविता वाचन गर्नुभएको थियो । मोदनाथ प्रश्रितले “गोरखा नेपालको गौरब त हो नै परिचयको द्योतक पनि हो । पृथ्वी नारायणका खराब पक्ष र कमिकमजोरीहरुको बिरोध गर्नु पर्छ तर उनले नेपाललाई एकताको सुत्रमा बाँध्ने काम जुन गरे हो त्यसको चाहिँ मुक्तकन्ठले प्रशंसा किन नगर्ने ?” भन्ने भावको कविता वाचन गर्नु हुदा तालीको गडगडाहट आएको थियो । त्यस्तै प्रसिद्ध गीतकार राजेन्द्र थापाले ज्यादै मर्मस्पर्षि ३/४ वटा मुक्तक वाचन गर्नुभयो । त्यसपछि मञ्जुल कविता वाचनको लागि ड्यासमा जानुभयो । गोरखालीको कस्तो माया ? कति धेरै प्रेम ? एउटा मर्द कविलाई दुई दिने भ्रमणमा नै रुवाउन सक्ने कति आत्मीय र गाढा माया ? कविको सरल र भावुक हृदय पग्लियो । वहाँले अनुभूत गर्नुभयो होला – गोरखालीहरु शिक्षामा कमजोर होलान् तर संस्कार र संस्कृतिमा उच्च रहेछन् । त्यस्तै धनमा गरिब होलान् तर मनका धनि रहेछन् । यहि सत्य अनि यथार्थताभित्रको व्यवहार  गोरखालीबाट जुन पाउनुभयो त्यसले वहाँको मन जित्यो अनि द्रविभूत हुनभयो । कवि एवं स्थानिय साहित्यकारहरु नारायण पोख्रेल, गोरखाली काइला, यदु वगाले, यसोदा, रुद्र पोख्रेल, निलकण्ठ, माया भुसाल लगायत दर्जनौले कविता पाठ गर्नु भएको थियो । समय अभावका कारण सम्पूर्ण कविताहरु वचन गराउन नसकेकोमा कार्यक्रम सञ्चालकले क्षमा माग्दै हुनुहुन्थ्यो । कार्यक्रमको अन्त्यमा सभापति राजुवावुले पुन: यस्तै कार्यक्रमहरु बारम्बार गर्नेतर्फ सबैस‘ग सहयोग र सद्भावको झोलि थाप्नुभयो ।

गोरखाली कविहरुले अभिव्यक्त गरेका साहित्यिक रचनाहरुबाट त्यस भेगका इतिहास र वर्तमान मात्र बोलिरहेको थिएन, भविष्यको समेत सङ्केत गरेका प्रतित हुन्थ्यो । साहित्यले राजनीतिलाई घच्घच्याइरहेको बुझिन्थ्यो र कमिकमजोरीहरुप्रति औंला ठड्याइएको थियो । घडीमा ५:३० बजिसकेको हुँदा हाम्रो गाडी जिल्ला विकास समिति हलको प्राङ्गणबाट सबैलाई अभिबादन गर्दै काठमाडौंको लागि प्रस्थान गर्‍यो । बाटोभरी साहित्यिक माहौंल खडागर्दै रातको झन्डै दश बजे हामी सबै सकुशल काठमाडौ उत्रियौ । राजधानिबाट प्रकाशित हुने प्राय: सम्पूर्ण दैनिक पत्रपत्रिकाहरुले ‘साहित्यिक यात्रा’ को वर्णन मात्र नगरी जिल्लाको पर्यटकीय सम्भावना, धार्मिक  महत्व, प्राकृतिक विविधता आदिको विषयमा समेत व्याख्या विवेचना गरेका थिए ।

-राजेन्द्रप्रसाद अर्याल,गोरखा ।
हाल– म्याडिसन, अमेरिका ।

(स्रोत : ज्ञानविन्दु पत्रिका)

This entry was posted in नियात्रा and tagged , , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *