व्यङ्ग्य निबन्ध : अंकल प्रचण्ड, माईन्ड नगर्नु ल !

~सन्तोष चिमरिया~santosh-chimoriya

अंकल प्रचण्ड !
म पहिला खाडी तिर बस्थे । छुट्टीमा आउँदा घरजम गरियो । सत्ता र स्वास्नी कस्लाई छोड्न मन लाग्छ र अंकल । तर नछोडी हुन्न । तपाईंका भागमा ९ महिना परेको भन्ने सुन्छु । बिहे पछी मेरा भागमा जम्मा २ महिना परेको थियो । रमाइलो र तिर्सना सकिएकै थिएन परिस्थितिले घोक्रेठ्याक लगाई हाल्यो । तपाईंको पनि पात्रोबाट १ महिना घटेर बिदावारी हुने दिन कान्ला नाग्दै सिंहदरबार नजिक आई पुग्नै लागेको छ । सत्ताकै रस्वाद नपाए पनि भंयकर आकर्षणले भरिएको चिज छोडन कस्तो हुन्छ मलाई थाहा छ ,अंकल !

मलाई कस्तो लाग्छ भने अंकल, नयाँ प्रधानमन्त्री र नयाँ बेहुलो उस्तै उस्तै हुन । सबैको हाई हाई ! घरैमा हाई हाई ! बुढी लिएर मावली गयो उतै हाई हाई ! ससुराली गयो बिष्णुको साक्षात अबतार भएजस्तो महा हाई हाई ! दुईचार दिन घ्यु, मह, दुध, मासु सबैथोक सबभन्दा धेरै दिएर पेटले नधान्ने स्थित सृजना हुन्छ । तर सबैथोक छोडेर खाडी जाने दिनले सुहागरातकै दिन देखि मनमा टेन्सन भएर चौरासी ब्यन्जन पनि खल्लो लाग्दो रहेछ । तपाईंलाई पनि चैतमा सत्ता छोड्नुको बाध्यताले टेन्सन हुदो हो अंकल ! संसारमा बाध्यता नामको चरी जुन छ नि अंकल त्यो भंयकर निष्ठुर छ । खैर , अधि बढौ अंकल ।

अंकल पछि मेरो छोरो जन्मियो । सन्तान त्यसमा पनि छोरो ! छोराको माया कति हुन्छ त्यो अंकललाई भन्नै परेन । कुनै पनि सिद्धांत, आदर्श ,वाद र नैतिकता भन्दा छोरो माथी हुन्छ । अर्काका छोरालाई गोली हान्न सकिन्छ तर आफ्नो छोरालाई झापड हान्न हात उठदैन । मलाई पनि छोरोको मुख हेर्न तिब्र रहर भयो र अर्को तिन बर्षपछी म नेपाल आए । तर छोरोले बाउ चिन्दैन हेर्नुस अंकल । को भनेर आमा चाहिले सोध्दा तोते बोलीले अंकल हो भन्छ , बाउ भन्दैन । प्रत्येक तीन बर्षमा एकपटक आयो अंकल , सधैं छोराको अंकल हुनुपर्ने बाध्यताले छोड्दैन । यो अंकल भन्ने सम्बन्ध जुन छ अंकल , त्यो सार्बजनिक र आम हो । खेलाची जस्तो ! नपत्याएको जस्तो ! बाउको प्राधिकार नभएको काम चलाउ जस्तो ! सबैलाई भन्दा फरक नपर्ने रहेछ । त्यसैले मैले पनि तपाईंलाई अंकल भनेर सम्बोधन गरे ।

तपाईंले पहिलो संबिधानसभा पछि पाएको प्रधानमन्त्रीको पद बाउ जस्तो सम्पुर्ण प्राधिकार सहितको थियो अंकल । अहिले तपाईं “अंकल प्रधानमन्त्री ” बन्नु भएको छ , प्राधिकार रहित ! मेरो छोरालाई बाउ २ महिनापछि जान्छ भन्ने निश्चित भएजस्तै तपाईं बहिरगमन सुनिश्चित गरेर आउनु भएको छ । त्यसैले सरकारका सचीव तपाईंलाई अंकलको ब्याभार गर्छ्न । तिनलाई तपाईंको डर पनि छैन , भर पनि छैन । तिनलाई तपाईं छुट्टी मनाउन सिंहदरबार छिर्नु भएको हो भन्ने राम्रोसँग थाहा छ । त्यसैले तपाईं गरिबसंग सरकारको कार्ययोजना ल्याउ भन्नू हुन्छ ती नर्सरीका विद्यार्थीले होमवर्क गरेजस्तो खेस्स्रा ल्याई दिएर झारा टार्छन । तिनलाई तपाईं भंयकर निर्देशन दिनुहुन्छ , ती गम्भीर भएर सुन्छ्न र टाउको हल्लाउछ्न । आफ्नो क्याबिनमा छिर्छ्न र फेसबुक चलाउछ्न । अंकल प्रधानमन्त्री हुनुको सबैभन्दा घाटा यहि हो । कसैले सुन्दैन । कसैके पत्याउदैन । तपाईंसंग होला भिजन स्विजर्ल्याण्ड बनाउने । तर पत्याउनेले पत्याउन पर्यो ।

यी र यस्ता ब्याभारले दिक्क भएर मैले बाउ हुने निर्णय गरेर खाडी छोडे । तपाईंलाई पनि सम्पुर्ण प्राधिकार सहितको बाउ हुने रहर भए सिंहदरबार छोड्नुस र दरो प्रतिपक्षी नेता भएर बस्नुस । त्यहाँ तपाईंले बाउको प्राधिकार सुरक्षित गर्न सक्नुहुन्छ । प्राधिकार बिनाको अंकल प्रधानमन्त्री हुनुभन्दा प्राधिकार सहितको बाउ प्रतिपक्षी नेता हुनुस अंकल ।

आज बाउको मुख हेर्ने दिन , बिहानै प्राधिकार सम्पन्न बाउका खुट्टा ढोगेर तपाईंलाई पनि यसो बाउ बन्ने प्रेरणा मिलोस भनेर यति लेखे । माईन्ड नगर्नु ल अंकल !

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *