कविता : मस्र्याङ्दी नदी

~भीष्म उप्रेती~Bhishma Upreti_1

मस्र्याङ्दी नदी
हिउँ पग्लेर मात्र बगेको होइन
तिलिचो ताल बगेर मात्र बनेको होइन ।

पिसाङ, तिलिचो र गंगापूर्ण हिमालहरू
र तीसँगै जोडिएका अन्य पहाडहरूसँग
भन्नलाई अनेक कथाहरू छन्
कसरी तिनीहरू उभिए दृढतापूर्वक
र बेसहारा मानिसहरूलाई बास दिए
मानिसका दुस्मनजस्ता
चिसो हिउँ र मुटु छुने बतासलाई
सहेर आफूले
कसरी मानिसलाई खेल्ने र सपना देख्ने काख दिए
कसरी बढ्यो स्वार्थको पहाड मानिसभित्र
र त्यसले तिनै हिमाललाई
हरिया गहनाविहीन बनायो
कसरी तात्न थाल्यो पर्यावरण
र हिमाललाई प्यासी राख्तै ग्लेसियर
माथि सर्दै गयो ।

कसरी आँखाभरि राखेर हुर्काएका मानिसले
ती बूढा हिमालहरूलाई माया मारेर
भुर्रर उडेर गए
र, फेरि फर्केर हेरेनन् …।

यी हिमाल र यिनैसँग जोडिएका पहाडहरूसँग
भन्नलाई अनेक कथाहरू छन्
तर, सुनिदिने कोही छैन
एक्लो, असहाय र मूक बन्नुपरेपछि
आवाजहरू आँसु बन्दा रहेछन्
शब्दहरू पग्लेर बग्दा रहेछन् ।

मस्र्याङ्दी नदी
हिउँ पग्लेर मात्र बनेको होइन
तिलिचो ताल बगेर मात्र बनेको होइन ।

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक ३३०)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *