व्यङ्ग्य निबन्ध : लुङ्गी डान्स

~महेश थापा~

न पेट्रोलको गन्ध सुँघ्नु पर्‍या छ न त बेमौसमी पटाकाले कान पिरोलेको छ। ढुक्क भई माइक्रो, टेम्पोमा सवार हुन पाइया छ। यस्तो हाइसन्चोका बीच संविधानसभामा नयाँ घमासान शुरू भएको छ।

लामो उहापोह पछि संविधानसभा निर्वाचन सम्पन्न भयो। डेढ वर्षदेखि नयाँबानेश्वर चोकले व्यहोरिरहेको शून्यताको भर्पाइ गर्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रभित्र गजबको चहलपहल बढेको छ। बाहिर हाते माइकधारीहरू फेरि भेला हुँदैछन्। ‘दलाल… नोकर… राष्ट्रघाती… कठपुतली…’ जस्ता नाराहरूले विरोध तुरिएको हैन, सुरिएको बुझाउँछ।तर, ‘संसारको सर्वाधिक समावेशी सभा’ ब्युँतिएकोमा स्वदेशीभन्दा विदेशी बढी खुशी देखिन्छन्, विविधता रुचाउने भएकोले। जैविक र सांस्कृतिक विविधता हेर्न नेपाल आउने विदेशीहरूले अबको आधा दशक चारभञ्ज्याङ नकाटी यही सभा भवन हेरे पुग्नेभो। कस्तो सस्तो र सुलभ पर्यटन! नेपालीलाई ‘माल पाएर पनि चाल नपाएको’ भनिन्छ, तर हामी कति महान भने संसारका छिप्पट लोकतन्त्रहरूले सयौं वर्षमा गर्न नसकेको काम हामीले चुट्कीको भरमा पूरा गर्‍यौं।

रंगीविरंगी फूलहरूको बुके झैं हाम्रो सभामा यसपालि केही नयाँ थुँगाहरू पनि थपिएका छन्। टुटुल्को उठेका, पोलेर खुइलिएका, तछारिएका, काम्रो बाँधिएका सभासद्हरूको उपस्थितिले सभालाई अद्वितीय बनाइदिएको छ। देशलाई नयाँ संविधान नदिई नछाड्ने हुटहुटीका कारण दोस्रो संविधानसभाको पहिलो बैठकका लागि सबै हतारमा छन्। कोही देखेर त, कोही भोगेर खारिएका सभासद्हरू पुरानो गल्ती दोहोर्‍याउन मरिगए तयार छैनन्। सबै संविधान जारी गरिहाल्न जोशमा छन्। सबैको मुखमा एउटै शब्द झ्ुन्डिएको छ– संविधान। बिहानीले दिनको संकेत गर्छ भन्छन्। यसपटकको संविधानसभा उर्वर हुने छाँट छ।

नभन्दै, हलभित्र सबैले आसन ग्रहण गर्दानगर्दै अघिल्लो पंक्तिका एक सभासद्ले जुरुक्क उठेर प्रस्ताव राखिहाले, “संविधानसभालाई व्यवस्थित ढंगले संचालन गर्न सभामुख चयन गरौं।”

“हुँदैन, हुँदैन”, सँगैका अर्का सभासद् बुलन्द आवाजमा कराए, “हामीले जनतासँग एक वर्षमा संविधान जारी गर्ने वाचा गरेका छौं, जुन सभामुख चयन विवादले समय नष्ट भएर संविधान निर्माणमा विलम्ब हुन सक्छ।”

त्यही मेसोमा उनले बरु सभाभन्दा अगावै संविधान कसले घोषणा गर्ने भनेर तय गर्ने प्रस्ताव पनि राख्न भ्याए, जसबाट दुःखले बनाएको संविधान जारी हुन नसकेर देशको दुःख कायम रहोस्। तर, सभा शुरू नभई शुरू भएको यो गलाबाजीलाई चिर्न ज्येष्ठ सदस्य मार्फत कारबाही अगाडि बढाउने समाधान निकालियो। तर, चुनावको थकानबाट उत्रिनसकेका ज्येष्ठ सदस्यले प्रस्ताव राखे, “पहिला कार्य संचालन नियमावली बनाऔं।”

“पहिला पनि कार्य संचालन नियमावली बनाउनै सात महीना लागेको थियो। यस्तो विवादित विषयमा लगाएर एक वर्ष खेर फाल्ने षडयन्त्र नगर बुढा”, छत्रे टोपी लगाएका सभासद् बीचबाट कराए।

यो भनाइको समर्थन र विरोधमा सभा माछाबजारमा परिणत भएपछि ‘पालैपालो बोल्नुस्’ भन्दै ज्येष्ठ सदस्यले सबैको झाँको झार्न खोजे, तर केही लछारपाटो लागेन।

“दलित समुदायका पनि सबभन्दा उत्पीडित जातिकाले नयाँ संविधान घोषणा गर्न पाउनुपर्छ।”

“होइन, जनजातिले पाउनुपर्छ।”

“जनजातिमा पनि असली भूमिपुत्र थारूले…।”

“किराँतहरू हुँदाहुँदै थारूको कुरा कसले निकाल्यो?”

“समृद्ध संस्कृति भएका नेवारलाई बिर्सन पाइँदैन।”

“धरतीपुत्रले जारी नगरेको संविधान मधेशलाई मान्य हुँदैन।”

“बोकाले दाइँ हुनेभए गोरु किन चाहिन्थ्यो? यो बनाउने खसले गर्छ संविधानको घोषणा पनि।”

“खबरदार! आधा आकाशको तेजोबध गर्ने काम नहोस्।”

महिला सभासद्हरूको एउटा समूह रोस्टमतिर लागि पनि हाल्यो। एउटी कलाकार सभासद् विरोध स्वरुप नाच्न थालिन्। ज्येष्ठ सभासद्ले प्रश्न गरे, “माननीय, नाचेर संविधान बन्ला त?”

“सगरमाथा चढेपछि संविधान बन्छ भन्दै सरकारी खर्चमा मान्छे पठाउँदा केही भएन। हामीले नाच्दा किन टाउकोदुखाइ?”

“आज संविधानसभाको म्याद थप्ने दिन होइन, नाच्न छाड्नुस्।” यत्तिकैमा कसैले मोबाइलबाट गीत बजायो– ‘लुङ्गी डान्स, लुङ्गी डान्स…!’ जो जहाँ थिए, सबै त्यहीं नाच्न थाले।

(स्रोत : हिमाल खबर १६ मंसिर २०७०)

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *