समीक्षा : एउटा जिउँदो युग बोक्ने काजीदाइ

~कुमार काफ्ले~kumar-kafle

युगको उर्दी जारी गर्ने काजीदाइ पाहुना झैं कहिलेकाँही जन्मथलो आउँछन् र आफ्नो नाभि गाडिएको माटो सुँघेर फेरि जान्छन् त्यही मरुस्थलतिर।जाँदा उनी कोटको खल्तीमा एकमुठी माटो हाल्छन् र हातमा लागेको शेष माटो आफ्नो निधारमा सुस्तरी दल्छन् कुनै वैष्णवले नाकमाथि चन्दन लगाएझैं।त्यो सुगन्धित माटो निधारबाट नाक,गाला हुदैं ओरालो लाग्छ र सम्पूर्ण शरीरमा पुगेर विलय हुन्छ।बाटो हिड्दा जंगलमै कैयौं रात बिताउँछन् मृग,कस्तुरी र तिनीहरूका शावकहरूसँग।दुबोको नरम विस्तारामा हातको शिरानी हालेर उनले रानीवनको जंगलमा तामाकोशी,सुनकोशी र रोशीको किनारामा केही रात सपना देख्छन् आफूले सिंगो युग बोकेको।

त्यो सपना धेरै वजनदार र गह्रुंगो छ तर काजीदाइ त्यसलाई सिमलको भुवाझैं हलुका गरी उचाल्छन् र ढाडमा बोक्छन्।अलि पर पुगेर कुनै धर्मात्माले वरपीपल र समी रोपेर बनाएको चौतारीमा सुस्ताउँछन् यद्यपि त्यो युगको भारी बिसाउँदैनन् बरू कंगारूले आफ्नो बच्चालाई खोकिले थैलोमा हालेर जसरी माया र सुरक्षा गर्छ त्यसैगरी उनी पनि आफू बाँचेको युगलाई खोकिलामा हाल्छन्।

युग पनि सारै सोझो र सजिलो थिएन,कहिलेकाँही फुत्कन खोज्थ्यो उनको खोकिलाबाट,खस्न खोज्थ्यो उनको ढाडबाट तर त्यसले सत्ययुगमै बाचा हारिसकेको थियो कि जसले आफू जन्मेको ठाउँ,टेकेको माटो र हिँडेको बाटो बिर्सदैंन त्यसबाट भाग्न,उम्कन र छुटकारा पाउन असंभव थियो।

जब काजीदाइ काठमाडौं खाल्टोको असन,इन्द्रचोक र ओमबहालतिर साथीभाइहरूसँग लुकामारी खेल्थे तब गाँउमा वनजंगल र बुट्यानहरूमा मृग र कस्तूरीसँग खेलेको सम्झन्थे अनि त्यहाँको धुलामा औंला र छेस्काहरूले लेख्थे मेरो पियारो वखलढुंगा।

सिद्धिचरणले आफ्नो जन्मथलो,माटो,खाली खुट्टाले नापेको बाटो,मोड र घुम्तीहरू,हातमा उठेका ठेला र नुनिला पसीनाका ढिका अनि वनजंगल,लतालहरा आदिको सम्झना मनमा अटेसमटेस भएर आएपछि कविताको रुपमा विस्फोट हुन्छ र लेख्छन् मेरो प्यारो ओखलढुंगा तर त्यसमा सुनकोशी,तामाकोशी र रोशीको कुरा पनि थियो।अर्को एउटा कवितामा त झन ‘डोको,खुकुरी,खर्पन र टोकरी,ज्यावलहरूको मुस्कान;कोशी,गण्डकी,कर्णालीका नित्य हे कलकल गान’ भनेर पो लेखे।काजीले यस्तो के लेखे हँ!ओखलढुंगाका मान्छे कता रोशीको,कोशी,गण्डकी र कर्णालीका कुरा लेखेका!म रनभूल्लमा परें।

म र मेरा बालसखाहरूले लख काट्यौं,’बुढा काठमाडौं छिरेपछि दशतिरका कुरा लेख्न थाले,चाँहिदोनचाँहिदो लेख्न थाले।’किन त्यस्ता कुरा लेखे भन्ने गुदी कुरा हामीले उनी स्वर्गलोकमा उर्वशी र मेनुकासँग सफर गर्न थालेपछि बल्ल बुझ्न थाल्यौं।उनी त ओखलढुंगाको सानो चौघेरोमा मात्र रमाउने कवि होइनरहेछन्,मेची,काली,हिमाल,पहाड, तराई चारैतिर उत्तिकै छाइरहेका रहेछन्।धेरै पछि अझ थाहा’भो उनी त देशको सीमारेखा पनि तोडेर विश्वभर पो रम्न,घुम्न र त्यसैलाई आफ्नो काव्यचेतनाले लिपिवद्ध गर्ने अनि रंग भर्ने गर्दारहेछन्।लाग्यो पहिलेको बुझाई आलाकाँचो र बोक्रा मात्र रहेछ।

प्रकृतिप्रेमी सिद्धिचरण नेपाली स्वच्छन्दतावादी कविताको प्रवर्तकका रुपमा एक नम्बरका कवि भएपछि साहित्यका कतिपय समालोचकहरूले मुख खोल्न हिचकिचाए। नेपाल भाषाका साहित्यकार तथा समीक्षकहरूले उनलाई हाम्रा कवि भनेर निकट राखेर बोलेपनि उनीहरूले समेत कवि सिद्धिचरणको काव्य सामर्थ्यले कुनै भाषा र स्थान विशेषको सीमा तोडेर बाहिर जाने कुराको वकालत गरेनन् तर उनले ती सबै सीमानाहरू तोडेर अघि बढे।त्यसैले यो उनले बोकेको युग हो।

काजीदाइले माटो सुँघेर समय र स्थानको मधुर नाटकीकरण गर्दै काव्यमा उतार्ने प्रयास गरे।पहिले काव्य अनि मात्र दर्शनतर्फ डोरिन रुचाउने काजीदाइका कवितामा स्पेनी कवि फ्रेदरिको गार्सिया लोर्काको सुक्ष्मताको आभास हुन्छ।

क्रान्तिबिना शान्ति आउँदैन भन्ने प्रिय काजीदाइले अठार वर्ष लामो कारावासको सजाय पाँउदा पनि शासकहरूसामु घुँडा टेकेनन्,आफ्ना कविताको अपमान गर्न चाहेनन् र कलमको निब भाँचेनन् र त संवेदनशील मनमष्तिष्कलाई आत्मसमर्पण गरेनन् अनि ‘आत्मसमर्पण नगर्नु पनि विजय हो’भन्ने आफैले लेखेको कवितांशको भावलाई आत्मसात गरे।

सम्झना गराइहालुँ जेल बसाईकै क्रममा स्वर्गवास हुनुभएका आफ्ना पिताजीको मृत देहमा दागबत्ती दिएर एउटा सन्तानको कर्तव्य निभाउन समेत पाएनन् काजीदाईले।यद्यपि त्यस कठिन,दुखदायी,पीडादायी समयमा पनि उनले काव्य साधनालाई जारी राखेर एउटा असाधारण मान्छेको परिचय दिए यो संसारलाई।’आवाज’ र ‘कविता’ नामक साहित्यिक पत्रिकाको संस्थापक सम्पादक भएर पनि साहित्य सेवा गरे ती असाधारण मान्छेले।

लाग्छ अहिले पनि काजीदाइ एउटा जिउँदो युग बोकेर असाधारण मान्छेको परिचय दिइरहेका छन्।

– ओखलढुंगा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *