नियात्रा : संझनामा तिन दशक अघिको मनाङ

~डा. हरिकुमार श्रेष्ठ~

आज एकछिन घोत्लिएर मनाङ जाँदाको विगतलाई खोतल्ने जमर्को गरेको छु । मनाङ् प्रवेश गरेको आज ३० वर्ष र ८ महिना पूरा भएछ । समयले कति छिटो डाँडा काट्दो रहेछ पत्तै भएन । त्यतिखेर भरखर प्रमाणपत्र तह (कृषि) अध्ययन पूरा गरी जागिरे जीवन यात्राशुरु गर्दै थिएँ ।  आफ्नै चाहनाअनुसारको हिमाल हाँसेको, डाँफे, नावर, चौँरी, याक, घोरल, मृग र भेडाहरू रमेको ठाउँमा घुम्न र सेवा गर्न मन लाग्यो । स्याउ, खुर्पानी, आरू, ओखर, उवा, जौ, फापर फुलेको, फलेको । झुलेको हेर्न मन लाग्यो । त्यस्तै, बुद्धको जन्मदेश नेपालको दुर्गम क्षेत्रमा बसोबास गरिबस्ने बुद्धका अनुयायीहरूसँग हातेमालो गर्दै अगाडि बढ्न मन लाग्यो । अझ हिमाली सिरेठो, हिमाली पानी र झरनासँग चुम्दै घुलमिल हुन मन लाग्यो । अनि सल्ला, भोजपत्र, धुपीको सितलतामा रम्न मन लाग्यो ।

त्यसैले, त्यस रमणीय, शान्त, सुन्दर र पवित्र क्षेत्रलाई मैले कृषि क्षेत्रको कर्मथलो बनाउँदै आफूले आर्जन गरेको ज्ञान र सीपलाई त्यस क्षेत्रको कृषि विकासमा लगाउन मन लाग्यो । कृषि क्षेत्रमा पिछडिएको र अति बिकट ठाउँ भएकोले मानिसहरू हतपति त्यता जान नरुचाए तापनि मलाई त्यस्तो ठाउँमा बसी सेवा गर्ने अति नै रहर जागेर आयो । त्यसैले मेरो जागिरको सिलसिलामा मध्यमान्चल विकास क्षेत्रबाट जिल्ला कृषि विकास कार्यालय, धादिङ्को लागि अस्थायी नियुक्ति लिए तापनि पाएसम्म मनाङ् नै जाने अठोटका साथ पश्चिमान्चल विकास क्षेत्रको पोखरास्थित क्षेत्रीय कृषि निर्देशनालयबाट जिल्ला कृषि विकास कार्यालय मनाङ्को लागि प्राविधिक सहायक पदमा २०३९ श्रावणमा अस्थायी नियुक्ति लिएँ र साथीहरूसँगै जाने तम्तयारीमा लागेँ ।

त्यतिखेर मनाङ् जानको लागि तनहुँको डुम्रे बजारदेखि पैदल हिंडेर जानुपर्ने थियो । त्यसैले मेरो घर गाईखुर, गोरखामा भएकोले साथीहरूसँग तनहुँकै तुरतुरेमा भेटगरी जाने तिथिमिति निधो गरि घरतिर लागियो । तर मेरो घरायसी समस्याले उक्त दिन प्रस्थान नगरी २, ३ दिन सुस्ताउन बाध्य भएँ । त्यतिखेर हिजो आज जस्तो सन्चार सुविधा नभएकोले साथीहरूलाई खबर गर्न पनि सकिन । उहाँहरू लामो समय मलाई कुर्दा पनि भेट हुन नसकेपछि आफ्नो बाटो तताउनु भएछ । मपनि घरमा बुबाआमासँगको सल्लाहपछि २०३९ श्रावण मसान्तको दिन घरबाट प्रस्थान गर्ने निर्णयमा पुगेँ । त्यतिखेर म भरखर विद्यार्थी जीवन पार गरेको चढ्दो उमेर र जोस जाँगरले भरिएको ताकतिलो केटो थिएँ। डाँडा, काँडा, उकाली, ओरालीको लागि कुनै प्रवाह थिएन । तापनि घर छाडि एक्लै त्यति टाढा कतै नगएकोले आफूलाई त चिन्ता छँदैथियो। तर घरपरिवारलाई पनि यो चिन्ताले निकै नै गाँजेको अनुभूति मैले सजिलैसँग उहाँहरूको अनुहारमा कोरिएका तरङ्गमा पढ्न सक्दथेँ ।

साथीहरूसँग सँगैजान नपाइ एक्लै अपरिचित ठाउँतिर जानुपर्ने भएकोले मेरो मनमा निकै नै तरङ्गहरू मडारिरहेको हुन्थ्यो । एकातिर चिन्ता र पिरलो थियो भने अर्कोतिर हर्षको पनि सीमा नै थिएन । मेरो मनमा दिनरात निकै कुराहरू फन्फनी घुमिरहेको हुन्थ्यो । एक्लै कसरी पुग्ने ? बाटोमा बाघ भालु लाग्ने हो कि ? चोर र डकैतिबाट लुटिनु पर्ने हो कि ? जागिरको अनुभव नभएकोले आफूले सिकेका ज्ञान र सीपलाई प्रवाहमा बाधा अड्चन आउने हुन् कि ? यदि यस्तो अवस्था आएमा कसरी समाधान गर्ने ? कार्यालयमा साथीहरूबाट कस्तो सहयोग पाइने हो ? घर फर्कन समयमै पाइने कि नपाइने ? बिरामी भए उपचार कहाँ गर्ने ? घरमा सम्पर्क कसरी गर्ने?  तलब कति पाइने र कति बच्ने हो ? घरमा आवस्यक पर्दा पैसा कसरी पठाउने हो ? जागिरमा स्थायी हुन सकिन्छ कि सकिदैन ? पछि अध्ययन गर्न जान पाईन्छ कि पाइन्न ? यसको अलावा अन्य अनगिन्ती सोचहरु पनि मज्जाले घुमिरहन्थ्यो ।

म प्रस्थान गर्ने दिन एकाबिहानै चराहरूको मधुर आवाजसँगै उठ्दा घरमा खाना पनि तयार भइसकेको रहेछ । खाना खाएपछि सूर्यको रोसनीलाई पिठ्युँतिर पार्दै मलिन अनुहारका साथ सपरिवारलाई छाडें। म घरबाट मनाङ्को लागि प्रस्थान गर्दा मेरा परिवारजन सबैको नयनभरी आँशुले भरिइ तप्पतप्प र तुरुरु चुहिरहेको पीडादायी दृस्यले मेरो मन पनि भक्कानिएर आउँथ्यो । तर सम्हाल्दथेँ । त्यसमाथि घरमा मेरी भरखर सुत्केरी भएकी श्रीमती थिइन् । विस्तारै विस्तारै मेरा पाईलाहरू आफ्नो कर्मथलो वा गन्तब्यस्थानतिर जब अगाडि बढाउन थालेँ, गाउँको बाटोमा मेरा नाता कुटुम्ब, गाउँले दाजुभाइ तथा दिदीबहिनीहरूबाट पनि विदावादी हुँदै गएँ । केही समयपछि मेरा घरपरिवारको मलिन अनुहार पनि मेरो लागि दूर हुँदै गयो । मेरो नजरले नदेख्ने भए तापनि टाढाटाढाबाट पनि मैले मेरो गाउँ नियाल्न सकिराखेको हुन्थेँ । नागबेली बाटाहरूले जब डाँडा काँडाहरूलाई फन्को मार्न थाल्यो तब आफ्नो जन्मथलो पनि मेरो नजरबाट बिलिन हुन पुग्यो ।

म पहिलो दिन तुरतुरे, बाइसजँघारे, कालीमाटी पाउँदी ढिक, भोटेवडार, फलेकसाँघु, बेसीसहर हुँदै खुदीतर्फ लागेँ । वर्षाको याम भएकोले बाटोघाटो त्यति राम्रो थिएन । त्यहिमाथि झनै खच्चड र गधाको लावालस्करले बाटो निकै अप्ठ्यारो हुन्थ्यो । कहिले भित्तामा सेपिएर त कहिले बाटोको डिलमा मुस्किलले अडिनुपर्ने । कहिलेकाहिँ त जुत्ताचप्पल नै हातमा लगाएर हिँड्न बाद्य भइन्थ्यो । बाटोमा फाटपूम्ट हिमाली ड्रेस लगाएर हिँड्ने व्यक्तिहरू पनि भेटिन्थे । उनीहरूलाई भेट्दा पनि निकै नै खुशी लाग्दथ्यो र सोच्दथेँ कि म त उनीहरूकै ठाउँको लागि खटिएर जान लागेको एक राष्ट्रसेवक कर्मचारी । उनीहरू नै मेरो लागि सबैथोक हुन्जस्तो लाग्दथ्यो । दिनभरी मस्र्याङ्दी नदीको किनारै किनार हिड्नु पर्ने । जति अगाडि बढ्यो त्यति हिमाली श्रृङ्खलाहरू मुस्काइरहेको देखिन्थ्यो भने अन्य पहाडी दृश्यहरू पनि त्यति नै मनमोहक र रमणीय । गाउँहरू अग्लाअग्ला पहाडहरूमा एकै ठाउँमा बुचुक्क देखिन्थ्यो । लाहुरेहरू बढी भएको गाउँहरू सजिलै छुट्याउन सकिन्थ्यो । किनकि उनीहरूका घरहरू धेरैजसो जस्ता पाता वा ढुङ्गाले छाइएको हुन्थ्यो । बाटोमा पुलपुलेसा नभएकोले कतिपय खोलामा त जति नै बाढी आए तापनि होम्मिनु सिवाय केही हुन्थेन । त्यसरी होम्मिएको दिन सम्झँदा अहिले पनि कहाली लागेर आउँछ ।

पहिलो दिनमा बेशीसहरबाट खुदी जाँदा उर्लेर आएको भलाम खोला तर्दाको क्षण अहिलेजस्तै लाग्दछ । यसरी मस्र्याङ्दी नदीको किनारै किनार दिनभरिको नागबेली बाटाहरू हिँडेपछि बेलुकी बास बस्न खुदी पुगेँ । खुदीको झोलुङ्गे पुल कट्नासाथ देब्रेपट्टिको खर (फुस) को छाना भएको होटेलले मलाई तुरुन्त आकर्षण गरिहाल्यो । होटेलको ढोकामा टक्क रोकिएँ । मैले यहाँ बास पाइन्छ कि साहुजी भनेर सोधेँ । पाइन्छ भन्ने जबाफ पाएपछि आफ्नो झोला बिस्तारै बेन्चमा राखी टुसुक्क झोला नजिकै बस्न पुगेँ । पहिलो दिन घर छाडी हिँडेको लामो यात्रा, त्यहिमाथि वर्षायामको टन्टलापुर घाममा एक्लै हिँड्नु परेकोले निकै नै थकाई लागेकोले खानपिनपछि एकछिन होटेलवालासँग साधारण चिनजान र गफ गरी मट्टितेलबाट बल्ने टुकी लिएर निद्रादेवीको शरणमा पुगेँ । त्यस होटेलमा रक्सीको चुस्की लगाउनेहरूको कमी पनि थिएन । त्यसैले उनीहरूले रक्सीको तालमा अलि हल्ला पनि गर्दथे । होटेल खुदी खोलाको किनारमै भएकोले खोलाको चर्को स्वर र सुस्केराले बेलाबेलामा बिउँझाइ राख्दथ्यो । जीवनमा टाढा बाटो एक्लै हिँडेको पहिलो दिन र रात यसरी बिताएँ ।

भोलीपल्ट बिहान मिर्मिरेमा चराचुरूङ्गीको कलरव ध्वनीसँगै उठ्दा कुखुराको भालेको डाँको पनि यत्रतत्र सुनिनुको साथै खुदी खोला पनि अबिरल सुस्केरा हाल्दै बगिराखेको थियो । आफ्नो गन्तब्य स्थानतिर बाटो तताउने सुरसार कसेँ । साहुजीलाई ढोका खोल्न उठाएँ । त्यसपछि करिब ६ बजेतिर सूर्यको पारिलो रोसनीमा आफ्नो गन्तब्य स्थानतिर पाईलाहरू अगाडि बढाएँ । म उठ्दा खुदी बजार चकमन्नजस्तै थियो । करिब ४० मिनेटको तेर्सो बाटो हिँडेपछि दोबाटो भेटेँ, जहाँ म पहिलोपल्ट अलमल्ल परेँ । कसैलाई सोधौँ भने बिहान चाँडै नै भएकोले कोही पनि भेटिएनन् । त्यसबेला मैले निर्णय गर्न पर्ने भयो । म कि त मस्र्याङ्दीको पुल तरी पारीबाट जाने कि त वारीतिरको बाटो । त्यतिखेर निर्णय गर्न निकै नै कठिन भयो । पारीको बाटो समथर थियो भने वारीको उकालो । त्यसैले हिमाली क्षेत्र जाँदैछु भने अवस्य पनि उकालै चढ्नुपर्छ भन्ने निक्र्यौल गरी उकालो चढ्न थालेँ ।

करिब एकघण्टाको उकालो चढेपछि एउटा बुचुक्क परेको सुन्दर र रमणीय बस्ती भेटेँ, जहाँ बाटोमै खानेपानीको धारो पनि रहेछ । म त्यहाँ मुख धुन लाग्दा एकैछिनमा पधेर्नीहरूको पनि घुईंचो लाग्न थाल्यो । त्यो बाटोमा बटुवाहरू त्यति नहिँड्ने हुनाले र मेरो नयाँ र कलिलो चेहरा देखेपछि उहाँहरूलाई म प्रति शङ्का लाग्न थालेछ र निकै मृदुमाषामा मलाई सोध्न थाले “एकाबिहानै कता जान लाग्नु भएको बाबु ?” भनेर । मैले विस्तारै आफ्नो बेलीविस्तार लगाएपछि उहाँहरूले भन्नुभयो कि मैले समाएको बाटो त निकै नै कठिन र कष्टकरको साथै डरलाग्दा जङ्गली जनावरहरूको पनि त्यत्तिकै विगविगी पो रहेछ । अनि मलाई थाहा भयो कि मैले पक्कै बाटो बिराएछु भन्ने कुराको । त्यसपछि त मेरो मुटुको धड्कन बढ्न थाल्यो । त्यतिखेरै उहाँहरूले पारीपट्टिको बाटोलाई औँलाले देखाउँदै थप भन्नुभयो कि “तल झरेर मर्स्याङ्दीको पुल तरी पारीबाट भुलभुले भएर तेर्सोबाटो अगाडि बढ्ने, त्यही नै हो मनाङ जाने बाटो” ।

म मुख धोएपछि उहाँहरूको सल्लाहलाई शिरोपरी गरी उहाँहरूसँग विदावादी भएँ । आफूलाई फनक्क १८० डिग्रीको कोणमा घुमाएँ र पहिला उकालो चढेको ओरालो बाटो समाएँ । त्यसपछि म केही बेरमै त्यही दोबाटोमा पुगेँ जहाँ मैले बाटो बिराएको थिएँ । त्यहाँको झोलुङ्गे पुल पार गरी सहि मार्ग समाउन पुगेँ । त्यहाँबाट खेतैखेतको समथर नागबेली बाटो पार गरी ङादी बजार पुगेँ । यो बजार पहाडको फेदी र ङादी खोलाको किनारमा अवस्थित सानो र सुन्दर थियो । यो बजार कट्नासाथ केही छिनमै ङादी खोलाको झोलुङ्गे पुलमा पुगेँ । यो पुल तरेपछि बाहुनडाँडा जान भने ठाडै उकालो चढ्नुपर्ने रहेछ । कतैकतै त नाकै ठोकिएलाजस्तो उकालो रहेछ । म नयाँ जोस र उमङ्गको साथ अगाडि बढेकोले यसको कुनै प्रवाह भएन । बिहानीपख नै भएकोले पनि उकालो चढ्न सहज भयो । फाँटतिर खेतमा धानका रोपोहरू हरियो देखिन्थ्यो । पाखोबारीमा मकै, भटमास र कोदो अनि कान्ला कान्लामा बोडीका झ्याङहरू । वातावरण निकै नै स्वच्छ थियो भने प्राकृतिक दृश्य भने जति अगाडि बढ्यो उति मनोरम र रमणीय हुँदा मेरो मन पनि निकै नै लोभिएको थियो । हिमालहरू अगाडि नै झलमल्ल अनुहारमा मुस्कान छाडिराखेकै हुन्थ्यो । मानिसहरू पनि निकै नै सीधासाधा देखिन्थे ।

मुख्य उकालो कटेपछि पानीको कुलैकुलो तेर्सोबाटो हिँड्दै थिएँ जहाँ खेतमा पानी लगाउन आउनु भएको एक बृद्ध कृषकसँग भेट भयो । उहाँ आफ्नो परम्परागत पहिरन भोटो, दौरा र नेपाली ढाका टोपीमा हुनुहुन्थ्यो । उहाँको गालामा कोरिएका रेखाहरूले उहाँको परिश्रम र कामको अनुभवलाई बताइरहेको हुन्थ्यो । भेटमा उहाँले मेरो अगाडि धेरै प्रश्नहरू थम्याउनुभयो । कहाँबाट आएको बाबु ? कहाँ जाने ? के कामको लागि जाने ? कति समय बस्ने ? मैले उहाँले सोध्नुभएका प्रश्नको उत्तरहरू सरल, नम्र र शिष्ट भाषामा दिएँ । उहाँले अझै थप्नुभयो कि “तिमी त कलिलै छौ के तिमी साच्चै नै जागिर खान जान लागेका हौ त ?” उहाँले मेरा उत्तरहरूको विश्वास नगर्नु भएजस्तो लाग्यो । त्यसैले मैले मेरो कुराको अलि विस्तार गरेँ । त्यसपछि उहाँले थप्नुभयो “एक्लै रहेछौ विस्तारै राम्रोसँग जाउ बाबु” ।

manang-6

बाटोमा कहिले रमाउँथे भने कहिले घरको यादले गर्दा कतिपय अवस्थामा त बाटो काटेको पनि पत्तै हुँदैनथ्यो । केही समयको उकालोपछि बाहुनडाँडा पुगेँ । यस ठाउँबाट चारैतिरजस्तो हेर्न सकिन्थ्यो । उत्तरतर्फ झलमल्ल उज्यालो, रसिलो पहाड र हिमाल हाँसेको दृश्यले मन धेरै कल्पित हुँदै पनि गयो । अनि मनमनै भन्ने गर्थें, मेरो देश नेपाल प्राकृतिक दृश्यले अति नै धनी, मनमोहक र स्वर्ग रहेछ । त्यसैले पो विदेशीहरूको तन मन र धनलाई खिची आकर्षण गर्दो रहेछ र वर्षे नि हजारौं विदेशी पर्यटकहरू नेपाल आउँदा रहेछन् । 

बाहुनडाँडाको एक होटलमा पसेर खानाको लागि अनुरोध गरेँ । तर खाना तुरुन्त नपाइने रहेछ । पकाउन समय लाग्ने रहेछ । खाना पाक्ने अवधिभर बिहानभरिको थकाई पनि मेटिने रहेछ । खाना पाकुन्जेल आफ्नो गन्तब्य स्थानको खोजी नीति पनि गरेर भ्याएँ । करिब एक घण्टामा खाना पनि तयार भयो । भोक निकै नै लागेर होला खाना पनि स्वादिलो लाग्यो । खानापछि आफ्नो पोकोपुन्तुरो बोकी उत्तरतर्फको ओराली लागेँ । बाटोमा छरपस्ट विदेशी पर्यटकहरू, भरियाहरू, गाइडहरू र अन्य पदयात्रीहरू भेटिन्थे । कतैकतै त जन्तिजस्तै गोराहरूको लावालस्कर भेटिन्थ्यो । उनीहरूसँग बोली मिसाउँकि जस्तो लाग्थ्यो तर उनीहरूसँग बोल्ने आँट नै गरिन । धेरै मानिसहरूको आवत जावतले गर्दा भदौरे चर्को घाममा छहारी बस्न चौतारो पनि खचाखच भरिएकोले कतैकतै त पाईला टेक्ने ठाउँसम्म पाईदैनथ्यो । बाटोमा दिसा पिसाबको लागि साझा प्राकृतिक शौचालय नै यत्रतत्र थियो । देशी विदेशी सबै रुखका बुच्काहरू, खोल्साखाल्सीका अन्तरकुन्तर, ढुङ्गा वा ढिस्कोको छेल पारी दिसा पिसाब गरेका हुन्थे । परिस्थितिअनुसार चल्नैपर्ने, लाज मानेर पनि नहुने । कतिपय विदेशी भने खोलातिर नाङ्गै पनि देखिन्थे र कतिपय त उनीहरू बीच अङ्कमाल र चुम्बन गर्न पनि भ्याइ हाल्थे । जुन दृश्य हाम्रो लागि लाजमर्दो र अनौठो हुन्थ्यो ।

manang-1

कहालीलाग्दो भीर, पहरा, उकाली, ओराली हुँदै जगातबाट च्याम्चे पुगेपछि मिर्मिरे साँझ हुन लागेको थियो । त्यसपछि अर्को स्थानमा बास बस्नको लागि लमजुङ् र मनाङ्को सीमा ताल भन्ने ठाउँ पुग्नुपर्ने रहेछ । त्यसभन्दा यता बास बस्ने कुनै ठाउँ नभएकोले त्यस स्थानमा पुग्न करिब २ घण्टा लाग्ने जानकारी पाएँ । म त्यति थाकेको थिइनँ । त्यसैले डेढ घण्टामा पुग्न सक्छु भन्ने हिम्मत गरी च्याम्चेको पुल तरी लागेँ तालतिर उकालो । म एक्लै थिएँ । मस्र्याङ्दीको तीरैतीर, डरलाग्दो भीरको बाटो, घना निगालो घारी, चकमन्न सन्नाटाले छाएको अध्यारो साँझमा अगाडि बढ्दै निगालो घारीहरू पार गर्दै गएँ । मेरा गोडाहरू झनै मच्चिमच्चि अगाडि बढिरह्यो । मानिसहरू बिरलै भेटिन्थे । केही छिनपछि त झनै चकमन्नै भयो । कहिँ कतै केही नदेखिने । आवाज त केबल मस्र्याङ्दीको मात्र थियो । मस्र्याङ्दी अबिरल विशाल सुस्केरा हाल्दै जोड्ले बगिरहेकी थिइन् । त्यतिखेर त मन पनि अलि डराएजस्तो भयो । कतै अन्धकार ओढारजस्तो ठाउँ । जाने कता हो कति हो केही मेसो थिएन ।

जे होस्, जोस र जाँगर उर्जा अझै थपेँ । अन्यथा पार लगाउन नसकिएलाजस्तो भयो । निरन्तर अगाडि बढ्दै गएँ । निगालो घारीमा भालुको बास हुन्छ भन्ने सुनेको थिएँ । कतै भालुले झम्टिएर सिध्याइदिने त हैन जस्तो पनि लाग्दथ्यो । जति हिँड्यो त्यति अध्यारो, खोँच, कन्दरा, एकान्त र उकालो । साथमा पिलिपिली पेनटर्चको उज्यालो मात्र थियो । कता बेट्री सकिन्छ कि भन्ने अर्को चिन्ता । निगालो घारी झनै बाक्लो थियो । पक्कै पनि चारैतिरको गगनचुम्बी पहाडहरूले मलाई कैद गरेको होलाजस्तो लाग्दथ्यो । मस्र्याङ्दीको आवाज पनि अलि कम हुँदै गएकोले गहिरो धसिएर वा लुकेर गएको हो किजस्तो लागेको थियो । पछि घर जान फर्केर आउँदा हेरेको त नभन्दै हो रहेछ ।

manang-2

पहरा काटेर बनाएको डरलाग्दो बाटो पनि रहेछ । छुस्स दायाँ बायाँ तलमाथि भएमा सीधै मस्र्याङ्दीमा चुम्न पुगी जीवन बिसर्जन गर्न पर्ने स्थिति रहेछ । अब धेरै टाढा पिलिपिली बत्तीको उज्यालो देख्न लागेकोले उकालो सकिएछ कि जस्तो लाग्यो । यसो घडी हेरेको त करिब करिब डेढ घण्टा जति नै लागेछ । दुई दिनको हिँडाईको आधारमा यहाँ मेरो अनुमान पनि मिलेछ । त्यसपछि भने मन प्रफुल्ला भइ हर्षको सीमै रहेन । तर मसँग भएको पेनटर्चको उज्यालो अगाडि मात्र हेर्न पुग्दथ्यो । टाढा उज्यालो पुग्दैनथ्यो । त्यसैले बाटो हिँड्दा निकै नै होस पु¥याउनु पर्दथ्यो ।

उकालो पनि सकियो । तर बिहानजस्तै समस्या आइपर्‍यो । मस्र्याङ्दी वारी जाने कि पारी जाने भनेर । बत्ती बलेको ठाउँमा पुग्न पनि अब करिब आधा घण्टा लाग्ला जस्तो देखिन्थ्यो । त्यसैले पारीतिरका बत्ती बलेको ठाउँमा जान झोलुङ्गे पुलतिर लम्किएँ । पुल जम्मा तीनवटा लट्ठाले बनेको अति डरलाग्दो रहेछ । एउटा लट्ठा तलतिर र अर्को २ वटा माथितिर । त्यसमा गाउँघरको बाख्रालाई घाँस हाल्न बनाइएको टाट्नोजस्तो देखिने गरी बार लगाइएको थियो । त्यसैले उक्त पुल पार गरी पारी जान हिम्मत ममा पटक्कै भएन र वारी पट्टिकै बत्ती बलेको स्थानतिर ताकेर हिँडे । केही छिनपछि एउटा होटलमा पुगेँ र बास पाईन्छ कि भनेर सोधेँ । बास मिल्यो र भित्र गएर अगेना छेउमा बसेँ । त्यहाँ कोही मथेको घिउ चिया पिइरहेका थिए भने कोही याक र चौँरीको सुकुटीको स्वादमा रक्सी (आरा) त कोही जाँड (छ्याङ्) पिइरहेका थिए । म रक्सी नखाने हुँदा चियाको लागि अनुरोध गरेँ ।

त्यहाँ त मानिसहरूको बोलीचाली, रहनसहन, भेषभुषामा पूर्ण परिवर्तन । मेरो गाउँतिर हिउँदमा हिमाली क्षेत्रतिरबाट जिम्मु, पाँचऔंले, नीरमसी लिइ गाउँघर घुम्दै हिँड्ने व्यक्तिहरूजस्तो लाग्न थाल्यो । प्रत्येक वर्ष हिउँदमा हिमाली क्षेत्रमा बसोबास गर्ने नेपाली (भोटिया) हरू मेरो घरमा पनि बास बस्ने भएकोले मलाई त्यहाँ सबै कुरा सहज बन्यो । उनीहरूको बोलीचालीमा एकदम माया र ममता झल्कन्थ्यो । तर तलबाट जाने जतिलाई रोङ्स्या भनेर जिस्क्याउँदा पनि रहेछन्, जसरी हाम्रो क्षेत्रका मानिसले हिमाली क्षेत्रमा बस्ने मानिसलाई भोटे भन्दछन् । त्यहाँ अनौठो कुरा के पाएँ भने चौरी र याकको मासुको फिलाफिला झुण्ड्याएर राखिएको थियो । धेरै मासु देखेर म त आश्चर्यमा परेको थिएँ । त्यहाँका मानिसहरू पाहुनालाई अति नै सम्मान र सत्कार गर्दथे । त्यसैले खाना पस्केर दिनुभन्दा अगाडि भाडाजति सबै भान्सेले लगाएको आङ्दोको फेरले नै पुछेर दिने चलन । खाना खान अलि किलकिल लागेजस्तो हुन्थ्यो तापनि यो त त्यहाँको प्रचलन नै रहेछ त्यसैले बाद्य भएर नबोली खान सिबाय केही थिएन ।

manag-3

त्यतिखेर त्यहाँ मासु भातको जम्मा रु २० तिर्नुपर्दथ्यो । अर्को कुरा, खाना खाएपछि बसेको पैसा नलाग्दो रहेछ । त्यो दिन म अति थकित भएकोले खाना खाएपछि बिछ्यौनातिर लागें । मनाङ् प्रवेशसँगै जाडोले पनि निम्ता दिइहाल्यो । ताल क्षेत्र समथर भएकोले मस्र्याङ्दी नदी नजिकै भए तापनि हिजोको खुदी खोलाजस्तो ठूलो स्वर थिएन । त्यसैले सुताइ भने निकै नै आनन्द भयो ।

बटुवाको रूपमा हिँडेको तेस्रो दिन । सदाझै बिहान उठी बाहिर हेर्दा त यो चारैतिर गगन चुम्बी कहालीलाग्दा पहाडहरूले घेरेको मस्र्याङ्दी नदीको किनारमा अवस्थित एक सानो उपत्यकाजस्तो लाग्यो । काठको छानो भएका घरहरू बाटोको दुईतर्फ लामबद्ध र लमतन्न थियो । ठाउँ अति रमाइलो र आत्मै चुम्ने खालको । आकास निकै नै स्वच्छ र साँघुरो भएकोले आफ्नो जन्मस्थलभन्दा नितान्त फरक पाएँ । मैले यसो म जाने बाटो पनि नियालेको थिएँ, जसले मलाई टुलुटुलु हेर्दै मेरो स्वागतको लागि प्रतिक्षा गरिराखेको जस्तो लाग्दथ्यो । हिजो जान नसेकेको पारीपट्टिको ठाउँ पनि यसो नजर लगाएको त खेती गर्ने ठाउँ र गोठहरू मात्र रहेछ । त्यसैले यसपटक मैले समाएको बाटो नै सहि रहेछ ।

म विस्तारै धारापानीतिर अगाडि बढेँ । एकछिनपछि त ढुङ्गा बिच्छ्याइएको उकाली बाटो हिँड्नुपर्ने रहेछ, जुन मस्र्याङ्दी नदीको किनारै किनार अगाडि बढी राखेको थियो । बाटोमा निगालो घारी उस्तै थियो । पहाडको पत्थरबाट महिलाको कपालजस्तो लामोलामो सर्लक्क परेको घाँसका गाँजहरू प्रसस्त देखिन्थ्यो । अन्य रूख बिरुवाहरू कोणधारी प्रकारका धेरै देखिन्थे । कृषकहरूको खेती गर्ने ठाउँहरू निकै उर्बर देखिन्थ्यो तर क्षेत्रफलमा सानोसानो थियो । करिब २ घण्टाको उकालो भीर, पहरा छिचोल्दै धारापानी पुगियो । सोभन्दा करिब आधा घण्टा अगाडि खोत्रो पनि देखियो । धारापानी पनि मस्र्याङ्दी नदीकै किनारमा थियो । त्यसको पारीपट्टि थोँचे पर्दथ्यो । देख्दा वारीपारीजस्तै भए तापनि जान आउन त्यति नजिक थिएन । त्यतिखेर मनाङ्को एकमात्र माध्यमिक विद्यालय पनि थोँचेमा नै थियो । ताल, धारापानी, थोँचे, बगरछाप, वडार गाउँहरू मनाङ्को सुगम र कृषियोग्य स्थानको रूपमा परिचित थियो ।

manang-5

धारापानीबाट विस्तारै तरपायँ तरपायँ हिँड्दै करिब एक घण्टामा बगरछाप पुगियो । बगरछाप पनि निकै नै रमणीय स्थान थियो । जहाँ एक सरकारी आयुर्वेद अस्पत्ताल र अन्य सरकारी फिल्ड कार्यालयहरू पनि थिए । बगरछाप जाँदै गर्दा मैले कृषि शिक्षा पढ्दा नदेखेका फलपूम्लका बिरुवाहरू जस्तै स्याउ, खुर्पानी, ओखर इत्यादि हेर्न पनि निकै नै आतुर थिएँ र बाटोमै देखेँ लटरम्म फलेका स्याउका बोटहरू पनि । स्याउका बोटहरू देखेर मात्र पनि मनको सन्तोष कहाँ भयो र ! त्यसको ताजा स्वाद चाख्नै मन लाग्यो । त्यसैले पहिलो पटक बोटबाट भरखरै टिपेर ल्याएको गोल्डेन डेलिसियस जातको स्याउ खाएँ । त्यसपछि आफ्नो गन्तब्य चामेतिर पाईलाहरू बढाएँ ।

हिमाली स्वच्छ हावापानी, पहाडी श्रृङ्खलाहरू, पानीका झरनाहरूले मलाई अति नै मन्त्रमुग्ध बनायो । बिहान करिब १० बजेतिर मस्र्याङ्दी नदीकै किनारमा अवस्थित चामे बजार पुगेँ । तलका अन्य गाउँहरूभन्दा यो ठाउँ भने अलि कोप्चेरो र साँघुरो लाग्यो । त्यहाँ पुग्दा त आकास झनै साँघुरो । तर यसलाई घना जङ्गल, मनमोहक पहाडहरू, लमजुङ् हिमालले घेरेर राखेकोले यसको सोभा झनै बढाएको थियो । लमजुङ्, गोरखा र मनाङ्को सीमामा अवस्थित मनास्लु हिमाल भने आफू आएकै बाटोमा छाडिसकिएकोले चामेबाट निकै टाढा देखिन्थ्यो । चामे बजार प्रवेश गर्नभन्दा अगाडि एक सानो खोल्सा थियो, जहाँ मैले आफ्नो अनुहार धोएँ । बिहानीपख भएकोले खोल्सामा माथिल्लो तहको पानी जमेको देख्दा अनौठो पनि लाग्यो । हिउँसँगको त्यो नै मेरो पहिलो स्पर्स थियो । त्यसपछि सोध्दै खोज्दै जाँदा केही पर बाटोको दाहिनेतिर जिल्ला कृषि कार्यालय, चामे, मनाङ् लेखिएको बोर्ड देखेँ । त्यसपछि म सीधै कार्यालयमा हान्निएँ ।

manang-7

कार्यालयमा आफूसँगै नियुक्ति लिएका साथीहरू र अन्य साथीहरू पनि भेटेँ । कार्यालय प्रमुख पनि रामपुरबाटै भरखर बि एस्सि एजि पास गरि आउनु भएको छबिलाल पौडेललाई पनि भेटेँ । कार्यालय त रामपुरमय भइसकेको रहेछ । त्यहाँ पुगेपछि कार्यालयका केही कामहरू उहाँहरूले नै सिकाउनु भयो । लाग्थ्यो उहाँहरू त २, ४ दिनमै रैथानेजस्तै भइसक्नुभएछ । मैले त्यस दिन मिति २०३९ भाद्र २ गते मेरो नियुक्तिपत्र र उहाँहरूले लेखिदिनुभएको हाजिर हुन पाउँ भन्ने निवेदनपत्र कार्यालयमा पेश गरेँ । त्यसपछि कार्यालयमा विधिसम्मत हाजिर पनि भए र सोही समयबाट म आधिकारिक रूपमा सरकारी कर्मचारी भइ आफ्नो जागिरे जीवनको सुरुवात गरे । कार्यालयको सानो कामपछि खाना खानको लागि सन्जू होटलमा पनि साथीहरूले नै लैजानुभयो । बस्नको लागि पनि त्यहीँ बन्दोवस्त भयो । खाना खाएपछि बस्नको लागि छुट्टै पैसा पनि तिर्न नपर्ने रहेछ । उक्त होटल मसँगै कृषि पढ्ने मणिकुमार श्रेष्ठको दाइ गोपाल श्रेष्ठले संचालन गर्नुभएको रहेछ । झनै रमाइलो भयो । यसरी समाप्त भयो मेरो तीनदिने यात्रा । यहाँहरूसमक्ष मनाङ्मा कार्यरत छंदाको गतिविधिहरू पनि पछिल्लो खण्डमा पस्कने नै छु ।

  • ताइपेई, ताइवान

(स्रोत : Nepalplus)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *