स्रष्टा परिचय : “ग्याङ अफ फोर”का राजव

~श्यामल~

जहाँ सरुवा भएर गयो, त्यहीँको समाजमा हराउँछ र लेख्छ। खजुरा बस्यो र लेख्यो ‘जहाँ पिँजडा पनि कैद छ’। अमेरिका गयो र लेख्यो दर्जनौँ कथा र केही उपन्यास, केही कविता। जहाँ गए पनि र जस्तोसुकै समाजमा भए पनि तिनीहरूभित्र पसेर तिनमा जीवित वा मुर्च्छित मानवीय संवेदनालाई स्पर्श गर्‍यो र आफ्नो सिर्जनशील चासोलाई जारी राख्यो। अरुले नदेखेका वा देखेर पनि वास्ता नगरेका विषयमा उसले मनमस्तिष्क केन्द्रित गर्‍योे। त्यसैले कवि विमल निभा भन्छन्, ‘पोटु जे लेख्छ, राम्रो लेख्छ। लेख्न सक्छ।’ पोटिला गाला भएको सुन्दर गोलो मुहारको हँसमुख साथी राजव। जसको अफिसियल–औपचारिक नाम जनार्दन पुडासैनी हो, तर बाबुको देवराज नामबाट कलमी गरेर उसले आफ्नो नाम बनायो। त्यसो त मलाई श्यामल नाम दिने पनि उही थियो। अहिले ऊ काठमाडौँ र अमेरिकाको बोस्टन ओहोरदोहर गरिरहन्छ। उसलाई आफ्नो नेपाल जतिसुकै दरिद्र, अव्यवस्थित र खराब नेताहरूबाट शासित भए पनि यसलाई गाली गरेर आफूलाई देशभन्दा माथि सम्झने रोगले कहिल्यै छोएन। कथाकार–कवि अविनाश श्रेष्ठको विचारमा पनि ऊ निकै सामर्थ्यवान् लेखक हो भन्ने कुरा पछिल्लो उपन्यास ‘सोटिट’ बाट फेरि पनि पुष्टि गरिदियो। आमाका बारेमा लेखिएका हजारौँ कविताको भीडमा भिन्नै आयामले उसले आमाको महिमागान गर्‍यो।

बाबुको देवराज नामबाट कलमी गरेर उसले आफ्नो नाम बनायो। त्यसो त मलाई श्यामल नाम दिने पनि उही थियो। अहिले ऊ काठमाडौँ र अमेरिकाको बोस्टन ओहोरदोहर गरिरहन्छ। उसलाई आफ्नो नेपाल जतिसुकै दरिद्र, अव्यवस्थित र खराब नेताहरूबाट शासित भए पनि यसलाई गाली गरेर आफूलाई देशभन्दा माथि सम्झने रोगले कहिल्यै छोएन।

काठमाडौँमा रहँदा काठमाडौँलाई गाली गर्ने टुच्चा अवसरवादी मोफसलवादीलाई कवितामै दह्रो जवाफ दियो र लुगा सिलाउने मजदुर ‘श्रीरामको काम’ प्रति संवेदित भयो। जागिरे थियो, हाकिम र कारिन्दाबीचका अनेकौँ द्वन्द्वलाई उसले आफ्ना कथामा ल्याएर नेपाली कथाको आयामलाई फराकिलो बनायो। बैंकमा जागिर खाँदा हिउँदको हिटरको किचलोबाट बैंक प्रशासनका हाकिम र कारिन्दाबीचकोे खिचलोलाई सुन्दर कथा बनाएर पेश गर्‍यो। जागिरे जीवनमा नितान्त नौला कथ्य र जीवनका आयामहरू भेट्यो।

उसले एक पिता र पतिका रूपमा ‘असमर्थ श्लोक’ को प्रभावशाली कविता सिर्जना गर्‍यो। एक्काइसौँ शताब्दीको सुरुवातसँगै ‘एक्काइसौं शताब्दीका भासहरू’ शीर्षकको लामो कविता दियो हामीलाई। समयपीडा, कंगन खित्का, कामरेड ड्राइभरजस्ता कथा संग्रह र भूमिगत लीलाः २०३२, मोटल अमेरिका, सोटिटजस्ता फरकफरक परिवेशका मानवीय संवेदना, पीडा र खुसीलाई आख्यानको रूप दिएर उसले नेपाली साहित्यको भण्डारलाई समृद्ध तुल्यायो। ‘लोचन वंशको साक्ष्य’ नाटक लेखेर मन्चन गरायो। धेरै गर्‍यो, तर मैले धेरै गरेँ भनेर आत्मरतिमा कहिल्यै रमाएन। नेपाली साहित्यका स्वनामधन्य समालोचकका दृष्टि पुगून्–नपुगून्, उसले उति चासो राखेन। मलाई गौरव लाग्छ, ऊ मेरो निकटतम साथी हो।

नेपालगन्जका मुसलमानको जिन्दगीलाई जति गहिराइका साथ उसले कथारूप दियो, अमेरिका बस्न बाध्य नेपाली बेबीसिटरको जिन्दगीलाई पनि उत्तिकै गहिरो संवेदनशीलता र कलात्मक प्रभावकारिताका साथ कथामा ढाल्यो। काठमाडौँको नेवारी समुदायभित्रका भाषिक–सांस्कृतिक व्यवहार र जैविक–प्रतिजैविक खजानाहरूको सूक्ष्म अवलोकन गरेको उसले तिनका पिर र विडम्बनालाई कथा, कविता र उपन्यासमा उन्यो। काठमाडौँको हुर्काइका बारेमा अनुभवले खारिएको दृष्टिमा निबन्ध लेख्यो। र, बारा–पर्साका गाउँ र तिनमा चलखेल गरिएका विभिन्न वर्गका मानिसको सम्बन्धको गतिशीलता, आममानिसका त्वरित् सपना र तिनको उपल्लो वर्गप्रतिको सहज विश्वास अनि राजधानी सहरप्रतिको तिनको स्वैरकल्पनामय उत्कण्ठालाई उसले आफ्नो सोटिट उपन्यासमा गतिलो ठाउँ दियो। यसरी राजवले नेपाली आख्यानको परम्परामा हामी सबैभन्दा धेरै माथिल्लो उचाईंमा पुगेर पनि विश्राम लिएन, बजारिया प्रचारवाजीबाट नितान्त भिन्न ठाउँमा आफुलाई उभ्याएर आख्यान, निबन्ध, नाटक, कविता र उपन्यासको सिर्जनामा होमिरह्यो। यही त उसको समर्पण र ताकत थियो, जुन हामीसँग थिएन।

सायद तीन दशकअघि हुनुपर्छ, ऊ काष्ठमण्डपको ठीक पछाडिको पुरानो चारतल्ले घरको दोस्रो तल्लामा भाडामा बसेको थियो। विमल निभा, नारायण ढकाल र म, तिनै जनासँग उसको भेट नभएको महिनौँ भएको थियो। यद्यपि, म उसको डेराबाट नजिकैको भीमसेनथानको एक गल्लीमा बस्थेँ, विमल निभा पहिले नरदेवी मन्दिरनिर र पछि धुम्बाराहीमा घर बनाएर बस्न थालेका थिए। तत्कालीन नेकपा मालेको भूमिगत राजनीतिमा चुर्लुम्मै डुबेको नारायण ढकाल भन्नलाई मूलपानी बसे पनि उसको भूमिगत काम पश्चिम–दक्षिणको छैमलेदखि सिन्धुपाल्चोकको सीमाक्षेत्रका भोटेचौर र जहरसिंहपौवासम्म फैलिएको थियो। त्यसैले ऊ वास्तवमा कहाँ बस्छ भन्ने कुराको भेउ पाउने ऊ स्वयंबाहेक कोही थिएन। निकट मित्रहरूसँग महिनौँ भेट नहुँदा र केही हदसम्म उसको साहित्यिक अवारापनका कारण माइत गएर केही दिन बढी बसेकी मीना भाउजु अझै घर नफर्किंदा उसमा एकप्रकारको विरक्तिभाव हुर्किरहेको थियो। यस्तैमा म उसकहाँ पुगेँ। उमेरले मभन्दा दुई–चार वर्ष जेठो राजव मेरो भरपर्दो साथी थियो, त्यसैले म उसको खोजखबरमा लागेँ। अनि पुगेँ उसको डेरामा। ऊ एक्लै असरल्ल यताउता परेका कपडा मिलाउँदै थियो। ढप्काइएको ढोकाबाट मुण्टो छिराएँ, ऊ एक्कासि हुत्तिएर मलाई अँगालो मार्न आयो र रोयो। उसका आँखा डब्डबाएका थिए। अब ती आँखाबाट आँसु बग्न थाले। मैले उसको सन्चोबिसन्चो सोधेँ। लाग्थ्यो, उसलाई कतै गहिरो एक्लोपनको अवसादले गाँजेको छ। तर, जब म ऊसँग भएँ, उसको अनुहारमा कान्ति देखा पर्‍यो। सायद हामीले उसलाई माया गरेभन्दा बढी नै साथीभाइलाई अति माया गर्न सक्छ ऊ।

वास्तवमा ऊ कापीमा लेखिएका केही कथा पनि त्यसै बखत च्यातिरहेको थियो। मैले तीमध्ये केहीलाई च्यातिनबाट जोगाएँ। तीमध्ये अझै नच्यातिएको एउटा कथा थियो ‘भैँसी अंकल’। उसको हातबाट कापी छिनेर जब म त्यो कथा पढ्न थालेँ, कथाले मलाई अन्तिमसम्म तानिरह्यो। त्यसमा हाकिमकहाँ आएको कारिन्दाले हाकिमको फुच्चे छोराको मनोरन्जन गराइरहेको दृश्यको अद्भूत वर्णन थियो। बच्चोलाई फुल्याउन नसकीरहेकी त्यसकी आमाले आफ्नो लोग्नेको अफिसको कारिन्दालाई पानी खुवाएर फुल्याइरहेकी थिई। बच्चो जब रुन थाल्थ्यो, उसकी आमा अझ पानी खाइदिनुस् न भन्थी। हािकमको बच्चो फुल्याउन कारिन्दा आफूलाई बढी भइसकेकोे पानी पिउने काम सकीनसकी गरिरहेको थियो। यसरी कारिन्दा भैँसी अंकल बनेको थियो। शोषण र अपमानको यस्तो कथा मैले अन्त कतै पढेको थिइनँ। त्यसैले त्यो कथा जोगाउन मैले उसलाई भनेँ, ‘राजवजी यस्तो अद्भूत कथा नेपालीमा लेखिएकै छैन। यो कथा फाल्नुहुन्न। यसलाई त रुपरेखाजस्तो राम्रो पत्रिकामा छाप्नुपर्छ।’

त्यस कथाको पाण्डुलिपिलाई मैले एकातिर जोगाएर राखेँ। हामीले मित्रतापूर्ण गफगाफ जारी राख्यौँ। उसले विमल र नारायण कता छन् भनेर सोध्यो। यति लामो समयसम्म तपाईंहरू किन भेट नभएको भनेर पनि उसले मलाई केरकार गर्‍यो। वास्तवमा घरमा पत्नी र बालबच्चा नहँुदा, अफिसको एकोहोरो रुटिनमा अल्भि्कँदा र नजिकका मित्रहरूसँग लामो समय भेट नहुँदा एक्लोपनले उसलाई घेरिरहेको थियो तर उसले त्यस्तो अवस्थामा पनि रचनात्मक काम जारी राखेको थियो। कतिपय अब्बल कथा र कविताको रचना गरिरहेको थियो। ‘श्रीरामको काम’ र ‘भैँसी अंकल’ त्यस गहिरो एक्लोपनका बेला उसले लेखेका उत्कृष्ट कथाको सूचीमा पर्छन्।

नेपाली कथामा ‘हाफ क्याबि,’ ‘रोलर’ र ‘एक मन धानको संकेत’ जस्ता कथ्य र शैलीमा विशिष्ट कथाबाट राजवको उचाईं स्थापित त छँदैथियो, उसलाई उत्कृष्ट कथाहरू लेखेर मात्र पनि पुगेको थिएन। ऊ कविता लेख्थ्यो र पत्रिकाको सम्पादन पनि गर्थ्यो। विमल निभा र नारायण ढकालसँग मिलेर उसले त्यसबेलाको उत्कृष्ट प्रगतिशील पत्रिका ‘लहर’को सम्पादनमा यथेष्ट योगदान गरेको थियो। त्यो पत्रिका निकाल्न छोडेपछि उसले आफ्नो पुरानो साथी गणेशभक्त श्रेष्ठको ‘व्यापार दर्पण’ नाममा दर्ता भएको पत्रिकालाई संक्षेपमा ‘व्याद’ बनाएर उत्कृष्ट सम्पादनकला देखायोे। तर, ऊ एक्लैको बलमा थालिएको र यताउता सरुवा भइरहने खालको जागिरले त्यही स्तरमा पत्रिका प्रकाशन जारी राख्न सम्भव थिएन। त्यो पत्रिका एक अंकमै सीमित भयो। त्यतिबेला कवि हरिभक्त कटुवालको निधन भएको थियो। काठमाडौँमा कवि कटुवालको रचनात्मक क्षमतालाई ढाक्ने गरी उनलाई जँड्याहा प्रमाणित गरेर आफूलाई ओभानो राख्ने चलन निकै खतरनाक किसिमले चलेको थियो। राजवले आफ्नो ‘व्याद’ को सम्पादकीयमा निकै तिखो टिप्पणी लेखेर कवि कटुवालको रचनात्मक क्षमताको रक्षा गरेको म सम्झन्छु।

काठमाडौँलाई गाली गर्ने फेसन चलेको छ कवितामा। केही कवि काठमाडौँलाई नै शासक ठानिरहेका छन्। तिनले शासक को हो भनेर ठम्याउन सकेकै हुँदैनन् । तिनलाई व्यर्थैमा काठमाडौँसँग रिस उठ्छ, कविताको नाममा रिस लेख्छन्। यसै काठमाडौँमा आफ्नो भविष्यको तलास गर्न आउने, यहीँ बस्ने, रमाउने र यसैलाई गाली गरेर आफूलाई तिख्खर क्रान्तिकारी देखाउन चाहनेहरूलाई उसले कवितामै जवाफ दियो– ‘काठमाडौँलाई गाली गर्नेहरूलाई’। सायद थोरैले मात्र त्यस कवितालाई नोटिस गरे। बाँकीले नपढेजस्तो गरेर कुनामा मिल्काइदिए। माल अड्डाका श्रेस्तामा काजि भनेर लेखिने काठमाडौँको पूर्वीकाँठ भद्रवास डाँछीको स्थायी वासिन्दा पुडासैनी परिवारको साइँलो छोराका रूपमा ऊ मरुत्वाःमा जन्मेर वा जेपीमा पढेर मात्र काठमाडौँप्रति इमानदार भएको होइन। वास्तविकरूपमा शासित काठमाडौँका दुःख बुझेर नै उसले नक्कली क्रान्तिकारीको प्रहारबाट बचाउन काठमाडौँको प्रतिरक्षा गरेको हो। यो इमानदारी ऊ जहाँ जान्छ, कायम राख्छ। किनकि, उसको चासो व्यापक समाज हो। उसको चासो आफू बाँचेको समय र समाजको संवेदनालाई आफ्नो कलात्मक प्रयासको माध्यमबाट जोगाउनु हो। उसको चासो त दृष्टिकोणको इमानदारीलाई बचाउनु हो। त्यसैले ऊ संकीर्ण निजी वा सामूहिक स्वार्थका लागि कहिल्यै बेइमान बन्न सकेन।

राजव मेरा लागि रुपरेखा, मधुपर्कलगायतका तत्कालीन प्रमुख पत्रपत्रिकामा भूपि शेरचन, रमेश विकल, मनु ब्राजाकी, विमल निभा, जगदीश घिमिरे आदिका झैँ महŒवका साथ पढिने नाम थियो। मलाई उसको कथ्य र कथादृष्टि अरु समकालीन कथाकारको भन्दा नितान्त फरक लाग्थे। उसको यही विशिष्टताले मलाई ऊसँग परिचय गरायो, संगत गरायो र अन्ततः मित्रताको सूत्रमा उनिदियो।

र, पछि म काठमाडौँ आएपछि ऊसँगको परिचय समयको बन्धनभन्दा पर मित्रताको सम्बन्ध घनीभूत भयो। र, हामी जोडिएर चार भयौँ, जसलाई खगेन्द्र संग्रौलाहरू चीनमा त्यतिबेला बदनाम भइसकेको माओ च तुङलाई देउता बनाएर आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न जस्तोसुकै अनैतिक हतियार चलाइरहेको लिन प्याओ र चियाङ चिङ मण्डलीलाई भन्ने गरिएको ‘ग्याङ अफ फोर’ को तर्जमा हामीलाई भन्ने गर्थे ‘ग्याङ अफ फोर’। हाम्रो मित्रतालाई सहज र आत्मीय व्यवहारले जोडेको थियो, केवल राजनीतिक रंगले होइन। आत्मीयता, खुला आलोचना र रचनात्मक सुझाव हाम्रो लेखकीय जीवनका आधार बनेका थिए। त्यसैले ती कमजोर जगमा उभिएका थिएनन्। यही कारण त्यसमाथि उभिएको हाम्रो मित्रताका खाँबा ढुल्मुलाउने र ढलिहाल्ने खालका थिएनन्।   राजवसँगका कैयौँ क्षण आल्हादकारी लाग्छन्। हाम्रा ती दिनमा कतै एकरसता थिएन। पक्कै ती दिन केही पनि सार्थक हस्तक्षेप गर्न नसकिरहेका राजनीतिक दलहरूप्रति घोर निराशाका दिन थिए, तर व्यक्तिगतरूपमा विद्रोहलाई सडक र गल्लीमा पोख्ने आशामयी दिन पनि थिए। त्यही मेसोमा भोटाहिटीबाट वीर अस्पताल छिर्ने गल्लीको गुर्वाचार्यको वासपसः पनि हाम्रो सायंकालीन शरणस्थली बनेको थियो। यसका नियमित पाहुनामध्ये हाम्रो परम्ममित्र कथाकार सन्तोष भट्टराई त छँदैथियो, काठमाडौँ आएका बेला औरही गौशाला निवासी घाघडान कथाशिल्पी मनु ब्राजाकी पनि यतै आउँथे। सन्चयकोषका जागिरे झंकप्रसाद नहँुदा हुन् त त्यो जलसा खल्लो हुन्थ्यो। त्यस्तो बेला गुर्वाचार्यलाई राजव रागमा आधारित पुराना हिन्दी गीत सिकाइरहेको हुन्थ्यो। अनि गुर्वाचार्य एक पेग निलिसकेपछि गाउँथ्यो– ‘…हडी डसनको…आ…।’ जब  राजव तिमीले गाएको मिलेन भनेर आफै गाएर सुनाउँथ्यो, सन्तोष आफ्नो देब्रे कानलाई राजवको मुखैनिर जोतेर सुन्ने प्रयास गर्थ्यो। वास्तवमा ती कसैलाई संगीतको व्याकरण थाहा थिएन। तर, ऊ भोजपुरीमा पनि मीठो गरी गीत गाइदिन्छ। खाँटी नेवारले भन्दा मीठो नेवारी बोल्छ। र, एकपटक त नातिबज्रका साना नेवारी भाषाका कविताको नेपाली अनुवाद गरेर उसको नेवारी भाषाज्ञान प्रमाणित गरिदिएको थियो। मखनका उसका नेवार साथीहरू यो ‘पर्वते बर्मु’ले उनीहरूकै भाषामा महारत हासिल गरेको देख्ता छक्क परेको मैले देखेको छु।

हामीलाई थाहा छ, काठमाडौँ चाँडो निदाउँछ। यसको रात्रि जीवन विश्वका अन्य कतिपय मुलुकका राजधानी सहरजस्तो जाग्राम बस्तैन। अझ तीन–चार दशकअघि यो त्यस्तो देशको राजधानी सहर थियोे जहाँ कोजाग्रत पूर्णिमाको रात जाग्राम बस्ने पुस्ता हराउँदो अवस्थामा थियो, नयाँ पुस्ताको रात्रिकालीन ठेगाना बदलिएको थियो र उदाउँदो सूर्यको प्रकाशको भयले निरंकुश राज्यले बागबजार, असन र भोटाहिटीका अँध्यारा गल्लीहरूमा पुलिसको गस्ती बढाइरहेको हुन्थ्यो। पुलिस अपराधी खोज्दैनथे, परन्तु भूमिगत बैठक बसेर बाहिर निस्केका, प्रेस दौडिरहेका वा भित्तामा पञ्चायतविरोधी नारा लेख्न हिँडेका सज्जनहरूको खोजीमा निर्लिप्त रहन्थे।

एक साँझ। मधुशालाको दुई–चार घन्टे बसाइपछि रातको काठमाडौँको स्वाद लिन झण्डै दस बजेपछि हामी रत्नपार्कको बाटो हुँदै कतै गइरहेका थियौँ। अचानक एक रिक्सावाल हाम्रो छेउबाट गुज्य्रो। राजवले त्यसलाई रोक्यो र मेरो हात समातेर रिक्सामाथि उक्ल्यो। अनि भन्यो, ‘जाउँ्क साथी।’ कता जाने भन्ने सोधेपछि उसले रिक्सावाललाई भन्यो, ‘जाऊँ न जाऊँ।’ अनि ऊ कुनै चल्तीवाला पुरानो जमानाको गीत अलाप्न थाल्यो। यसपछि पञ्चायतलाई सराप्न थाल्यो। मण्डलेहरूविरुद्ध चर्काचर्का गाली गर्न थाल्यो। नारायणहिटीतिर हेर्दै थुक्न थाल्यो।

अल्लि अगाडि बढिरहेकै बेला अचानक एक हुल पुलिस हाम्रो अगाडि बाटो रोकेर दाखिल भए। तिनीहरू रात्रिगस्तीमा थिए। पुलिसहरूलाई अचानक आफ्नै आँखाअगाडि पाएपछि उसले भन्यो, ‘त्यो हेमा मालिनी क्या राम्री छ यार।’ ऊ यस प्रकारले हिरो–हिरोइनका कुरा गर्दै थियो, मानौँ हामी सस्ता हिन्दी फिल्मका गाना र तिनमा हालिएका कामुक दृश्यमा लिप्त युवा हौँ। म अँ यार्, हो यार्, हगि? भन्दै उसलाई अझ गफ हाँक्न प्रेरित गर्दै थिएँ। यसरी कसैले हामीलाई जे हौँ, त्यो ठान्दैनथ्यो र जे होइनौँ, त्यसमाथि विश्वास गर्न सक्थ्यो। हामीलाई त्यस्तो बेला कसैले पनि रन्जना, अशोक वा विश्वज्योति हलमा ब्ल्याकमा टिकट बेचेर हिँड्ने लफंगा ठान्न सक्थ्यो। अथवा, राम्रो पढ्न नसकेर परिवारबाट भागेका लक्ष्यविहीन केटाहरूका रूपमा हेर्न सक्थ्यो।  पुलिसले हामीलाई रातिराति वालपेन्टिङ गर्ने कुनै खतरनाक विद्रोही युवा होलान् भन्ने ठानेका थिए क्यार। राजव र मैले हेमा मालिनीका कुरा गरेको सुनेर उनीहरूलाई हामी त्यस्ता थिएनौँ भन्ने लागेछ क्यारेे। जाऊ भने। हामी अघि बढ्यौँ। अघि बढ्दा उसले ठुल्ठूलो स्वरमा रेखाका पाखुराको चर्चा गर्‍यो। यसर्थ कि, सादा पोशाकमा सहरको बास्ना सुँघ्दै हिँडेका लाभग्राही गुप्तचर वा राइफल र डण्डामा सरकारको शक्ति देखाएर सहरको शान्तिमाथि धावा बोलिरहेका गस्तीवालाहरूबाट कुनै जोखिम नहोस्।

२०३६ सालको सुरुमै भर्खरै बिहे गरेको ऊलगायत नारायण ढकालजस्ता साथीहरूलाई गोरखापत्र जलाउने उद्योग गरेको आरोपमा गुप्तचरको सहयोगमा पुलिसले पक्राउ गरेर यातनागृहमा खाँदिसकेको थियो। बिहे गरेको महिना दिन नपुग्दै ऊ खोरको नारकीय यातनामा परिसकेको थियो। त्यसैले ऊ सकभर फसिकेवको बाटो हिँड्दैनथ्यो। किनभने त्यो यही गल्ली थियो जहाँबाट ऊ र उसको साथी नारायणलाई प्रहरीका बुटले भकुर्दै भर्‍याङबाट गुडाउँदै सडकमा झारेका थिए। हुन त उनीहरूलाई गुप्तचरले आफूहरूको पिछा गरिरहेको थाहा थियो, तैपनि एउटा पुरानो घरको खुला ढोकाबाट छिरेर उनीहरूले पुलिसलाई छक्याउने प्रयास गरिरहेका थिए। अन्ततः उनीहरू फेल भए र पुलिसहरू पास भए। लसुनको रासमा चल्मलाइरहेको राजवलाई पुलिसले उधिनेर बाहिर निकाल्यो। र, उसको मधुमासलाई नरकमा लगेर कोचिदियो। यसरी मीना भाउजु अर्थात् नवदुलही श्रीमती मीना पुडासैनीका दुःख र अनिश्चयका दिन सुरु भए।

न उसलाई, न उसका आफन्तलाई नै उसलाई कहाँ लगियो, कतिसम्म राख्ने हो, कहिले छाड्ने हो वा कस्तोखाले कारबाहीको भागिदार बनाउने हो भन्नेबारे लामो समयसम्म थाहा भएन। हरेक दिन उसलाई ईश्वर सम्झन भनिन्थ्यो र छातीमा राइफल ताकिन्थ्यो। एकचोटि तेरी स्वास्नी सम्झी भनिन्थ्यो। र, यो सिलसिला धेरै लामो समयसम्म चल्यो। यसै कारण उसलाई निकै ठूलो मानसिक आघात भयो। जेलबाट ऊ रिहा भइसकेपछि आजसम्म पनि उसलाई फसिकेवको त्यो बाटो हिँड्न मन लाग्दैन। अहिले पनि मैले उसलाई त्यो बाटोतिर लगेँ भने, ऊ अर्कैतिर लाग्छ। सायद उसलाई लाग्छ, त्यहाँ पञ्चायती राजशाहीको प्रेत बसेको छ!

समयक्रमसँगै राजवले आफूलाई अत्यन्त जिम्मेवार पति, बाबु र साथी प्रमाणित गर्‍यो। राष्ट्रिय वाणिज्य बैंकको सानो जागिरले उसलाई व्यवस्थित जीवन बिताउन केही मद्दत गरेको थियो। छोराछोरीलाई मीना भाउजुको जिम्मा छोडेर कहिले नेपालगन्ज, कहिले आँबुखैरेनी त कहिले काठमाडौँको विशालबजारका शाखा घुम्दै उसले परिवार र साहित्य अनि हामीजस्ता साथीभाइका लागि समय निकाल्यो। उसका लागि एकप्रकारले ती दिन कठिन थिए। तर, कठिनाइको सामना गरेर सार्थक काम गरिरहनु नै त जीवन हो। उसले प्रतिकूल परिस्थितिसँग नझुकीकनै तिनमा अनुकूलताको खोज गर्‍यो। परिवारका सारा सदस्य कांग्रेसी हँुदा पनि ऊ एक्लै वामराजनीतिमा उज्यालो र इमानदारीको तलास गरिरहेको थियो। उसको वैचारिक प्रतिबद्धता साँघुरो थिएन र अध्ययनको क्षितिज पनि फराकिलै थियो। उसका जागिरे बाबु देवराज जहाँजहाँ गए, उतैउतै गएर उसले समाजलाई चिन्यो। मरुहिटीदेखि बन्जरियासम्मलाई आत्मामा सजायो। तिनको भाषामा प्रवेश गर्‍यो। तिनका दुःख–सुखमा एकीकृत भयो। यस्तै लेखकीय गुणले उसलाई अरुभन्दा भिन्न पहिचान दियो।

केही वर्षअघि ६० को उमेर काटेको मेरो साथी राजव समकालीन नेपालको ठूलो लेखक हो। खासगरी कथामा समाजको तल्लो तहका, निम्न र निम्नमध्यमवर्गीय समाजका विडम्बनालाई, तिनको सांस्कृतिक चेत र व्यवहारलाई र तिनका सुख–दुःखलाई कुशलतापूर्वक भित्राउन सक्ने राजवको क्षमता मलाई अद्भूत लाग्छ।

राजवको कथा ‘क्रूर गद्य’ ले हाम्रो समाजमा कस्ताकस्ताखालका क्रूरताका घटना हुन्छन् र तिनले कस्तो असर उत्पन्न गर्छन् भन्ने बु‰न सघाउँछ। जसमा एक बालकलाई नांगै दौडाउँदै कसैले मनोरन्जन गरिरहेको हुन्छ। पाठक कथामा जतिजति अघि बढ्दै जान्छ, अबोध बालकमाथि गरिएको यसप्रकारको हेपाइप्रति ऊ संवेदनशील बन्दै जान्छ, अन्ततः त्यस अधम पात्रप्रति उसको मनमस्तिष्क घृणाले भरिन्छ। त्यस्तै उत्कृष्ट कथाहरूको पहिलो संगालो ‘समय पीडा’ साझा प्रकाशनले प्रकाशित गरेको थियो। पुस्तक छाप्ने क्रममा राजव र म प्रेसमा सँगै हुन्थ्यौँ।

उसको ‘इतिहासको त्यो दिन’ शीर्षकको एउटा लघुकथा २०५७ सालको फागनुको नेपाल साप्ताहिकमा प्रकाशित भएको थियो। त्यस कथामा मधेस देहातको चन्दरवा भन्ने पात्र छ जो सांसद हुँदै मन्त्री पनि भइसकेको छ। मन्त्री भइसकेपछि आफ्ना निकटका साथी र व्यापारीलाई भोज खुवाउँदा उसले आफूले कहिल्यै नभोगेको दुःख, यातना र जेलनेलको बनावटी कहानी बताउँछ। तर, उसले वर्णन गरेको इतिहासका ती दिनमा कथावाचकसँगै ऊ शिवलालको घरमा गोलखाडी खेलिरहेको, धनुकवाको भट्टीमा

सेकुवा र बगेडी खाएर बिताउने गर्थ्यो। बहालवाला मन्त्री चन्दरवाको नक्कली क्रान्तिकारी विगतको धाक सहन नसकेर जब ती क्षणको जीवित साक्षी कथावाचकले उसलाई त्यो क्षण सम्झाइदिन्छ, ऊ रौद्र रूपमा कथावाचकलाई आँखा तर्छ।

लघुकथा यत्ति नै हो। तर, यसले तत्कालीन प्रजातान्त्रिक भनिएको सत्ताको बागडोर कस्ता  मानिसका हातमा पुगेको थियो भन्नेतर्फ पाठकलाई सोच्न बाध्य तुल्याउँछ। यस्ता कथाहरू उसले प्रशस्तै लेखेको छ।

मलाई गौरव लागिरहन्छ, दैलेखको सुदूर गाउँको म नेपालको एक समर्थ कवि र आख्यानकार राजवको मित्र भएकोमा। भाइबर वा स्काइपमा कुरा हुँदा म भन्छु, ‘छिटै नेपाल आऊ न कवि!’ ऊ भन्छ, ‘अब आउँछु यार।’ सायद अब ऊ आउँछ।

-शनिबार, ०७ फागुन २०७३, १२ : ५३

(स्रोत : नागरिक – शनिबार)

This entry was posted in स्रष्टा परिचय and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *