यात्रा संस्मरण : प्रत्येकको मन हरिलिएको त्यो क्षण !!!

~पूर्ण ओली~Purna Oli

मेरो फोनको लामो घण्टी उताबाट रिसिभ हुनेबित्तिकै मैले तताइहालेँ, “सिडियो साब्, ६ त बज्नै आँट्यो ।”

चैत्र महिनाको बिहानको ६ बज्न भने अझै २० मिनेट बाँकि छँदै थियो ।

उताबाट सिडिओसाबको जवाफ आयो, “म त रेडी भैसकेँ । अहिल्यै हिँड् भने पनि हिड्न तयार छु । अनि सबै साथीहरुलाई एकपटक फोन लगाउनुभो त ? जाने ईच्छा गर्ने साथीहरु कोही नछुटून् नि फेरि ।”

मलाई विश्वास लागेन, यति सखारै नुहाइधुवाइ सिध्याएर सिडिओ साब् तयार भैसक्नु भयो होला र ? उहाँ यस रमणीय जिल्ला रुकुम टेकेको एक हप्ता पनि नपुगेकोले उहाँको आनीबानी सबै थाहापाइसकेको पनि थिएन मैले ।

“सबैलाई फोन लगाइसकेँ, जिशिअ साबलाई भने फोन लागेन । श्रीमानले पनि ‘उठिसकेँ’ भन्नु भएको छ ।” मैले जवाफ दिएँ ।

“ल, ल, ठीक ६ बजे कालिकाथान आइपुग्नु भएन भने तपाईँ नै कारवाहीमा पर्नुहुन्छ नि फेरि, म त अलि कडा छु !” उहाँले ठट्टा गर्नुभयो । उहाँसंग भेट भएदेखि नै मलाई बेग्लै रसिक लागेको थियो, सिडिओ साब् हरिप्रसाद भण्डारी । आफू कम हाँस्ने तर छोटामीठा र सटिक व्यङ्ग्यबाट श्रोतालाई पेट मिचिमिचि हसाउन माहिर । हुन त उहाँ आफैँ साहित्यकार । लघुकथामा खुप्पै हात दगुर्ने । उहाँका आधा दर्जन जति कृति समेत प्रकाशन भइसकेका छन् रे । उहाँसंग धेरै उठबस नभइसके पनि “काला सर्पको खोजी” भन्ने लघुकथा संग्रहबाट मेरो दिमागमा हल्का छवि बनेको थियो उहाँको । तर उहाँले पहिलो दिनमै मेरो पहिलो प्रस्ताव सहजै स्वीकारिदिनुभएकोले मेरो पहिलो नजरमै उहाँसंग लभ परिसकेको थियो ।

“हस् हजुर, ६ बज्नभन्दा तलमाथि भयो भने जुनसुकै सजाय भोग्न तयार छु” भन्दै मैले फोन राखिदिएँ ।

म बिहान ४ बजे नै उठिसकेको थिएँ । मेरा कार्यालयका सहयोगीहरु कान्छो, टीकाराम गिरी, मालपोत हाकिमसाबको कार्यालय सहयोगीलाई बिहानै उठाएर साढेचारबजे नै ड्राइफूडहरु र केही मसला बोकाएर लोकल भाले खोज्न उकालो चढाइसकेको थिएँ । त्यसपछि भ्याएजति र फोन उठाउने साथीहरुलाई तयारी हुन एकएक कल फोन पनि गरिसकेको थिएँ । सिडियोसाबको ठट्टा सुनाउँदै मसंग डुल्न मन पराउने मित्र टीकाराम खत्रीलाई तु तयार हुन अह्राएँ ।

“हाकिमसाबले जति हतार गरे पनि सबै जम्मा हुँदा आठ बजेनछ भने अनि भन्नुहोला सर् । यति बिहानै को उठ्छ र ?” भन्दै आङ तन्काउँदै बाथरुम छिरे टीकारामजी । मैले केही छुट्यो कि भनी चेकलिष्ट रुजु गरेँ । म अघि नै लुगा लगाएर तयार भइसकेको थिएँ । अनि मालपोत हाकिमसाब हरिचन्द्र बुढालाई ” तु तल झरिहाल्नुस्” भनी फोनबाट ताकेता गरेँ । अनि सिँचाइ हाकिमसाब नियाज वारिसलाई चिकेन फ्राई तयारी बारे जानकारी लिएँ र उहाँलाई पनि सिडिओसाब तयार भैसकेकोले ‘तु कालिकाथान आइपुग्नुस्’ भनी अत्याएँ । सिँचाइ कार्यालय खलङ्गाको पश्चिमपट्टि रहेको एरपोर्ट नजिकै रहेको छ । त्योभन्दा माथिपट्टि जिल्ला अस्पत्ताल रहेको छ । सल्लेको डाँडातिर अलिकति उक्लने हो भने सिस्ने हिमालको दृश्य स्यार्पू ताल र तल सानीभेरीको मनमोहक दृश्यको एकैपटक दृश्यस्वादन गर्न सकिन्छ । सल्ले बिमानस्थबाट नै सानीभेरी क्षितिजसम्म तन्किएर सुतेकी जस्तो भान हुन्छ ।

त्यसपछि एलडिओसाबलाई सिडिओसाब तयार भइसकेको बारे पुनः खबर गरेँ । एलडिओसाब भरतकुमार शर्मा खलंगाको तलको सुन्दर गाउँ सेरीगाउँको बासिन्दा पनि हुनुहुन्छ । पानेखोला नामको खोलाको माथि रहेको यो सुन्दर फराकिलो गाउँ सडकयात्राबाट रुकुम आइपुग्ने नवआगन्तुक जोकोहीलाई पनि हत्तपत्त स्वागत गर्न अघि सर्छ । खलंगा नपुग्दै मुसिकोटको डाँडा समेत रहेको चाँपा जहाँ तरकारी बीउ उत्पादन केन्द्र र जिल्ला वन कार्यालय रहेका छन् यसको आसपासका यात्रीको मन कम्ता लोभ्याउँदैन सेरीगाउँ बजारले । खलंगाको बजारका गुप्ताङ्गहरु सेरीगाउँकै टाउकोको ‘कबाले’ले छोपिदिएको झैँ प्रतित हुन्छ यहाँबाट । सेरीगाउँको बस्ती खलङ्गाको डाँडाभन्दा फेदतिर रहेकोले त्यति चीसो हावा चल्दैन । जाडोको समयमा पनि न्यानो हुने कुरा बताउँछन् सेरीगाउँमा आश्रय लिनेहरुले । सेरीगाउँमा कृषि विकास कार्यालय घरेलु तथा साना उद्योग कार्यालय र शाखा तथ्यांक कार्यालय अवस्थित छन् । माओवादी नेता जनार्दन शर्मा प्रभाकरको जन्मस्थल पनि यहीँ हो ।

म कुरा गर्दै थिएँ एलडिओ साबको । सेरीगाउँ बजार र एलडिओसाब एक अर्काको प्रयाय लाग्छ मलाई । सेरीगाउँजस्तै सुन्दर गाउँले मन गाउँजस्तै फराकिलो मन । जोकोही आगन्तुकलाई आफ्नो शालीन स्वभावले भ्याएसम्म हत्तपत्त स्वागत गर्न अघि सरिहाल्नुहुन्छ । तर भन्नुहुन्छ सखारै उठ्ने कुरामा भने म अलि अल्छी छु है । हिजोपनि त्यसै भन्नुभएको थियो, “मलाई साढे पाँच बजे उठाए हुन्छ । साढे पाँच बज्नुअघि भने प्रयास नगर्नुहोला फोन स्वीचअफ हुन्छ ।” मैले फोन गर्दा उहाँ पनि तयार भइसक्नुभएको जानकारी दिनुभयो, “अब केही बेरमै हिड्छु ।”

अब म ढुक्क भएँ कम्तीमा सिडिओसाब, एलडिओसाब र श्रीमान् तयार हुनुभयो भने मेरो योजना अब सफल हुन्छ । डिएसपि साबको भने सिम्रुतु कार्यक्रम भएकोले जान नपाउने भनिसक्नुभएको थियो । अनि आफ्नो कोठाको ढोका बन्द गरी ताल्चा मार्न थालेँ ।
ढोका बन्द गरेको आवाज सुनेर हतारहतार बाथरुमबाट निस्केर टीकारामजीले भने “सर म पनि आइहालेँ ।”

चैत्र महिनाको आधाआधी बाँकि नै रहेकोले बाहिर चीसो हावा चलिरहेको थियो । शरीरका लुगा चेक गरेँ । तल पातलो पाइन्ट र माथि मैले एउटा सर्ट र जुहारीकोट लगाएको थिएँ । यी लुगाले थेग्दैनन् कि यसरी ठिहिर्‍याउने जाडोलाई । आ जे त होला ठाडो उकालोमा पसिना आइहाल्छन् नि । अब एकछिनमा टण्टलापुर घाम लागिसकेपछि त ।

म सबैलाई जम्मा हुने भनी तोकिएको ठाउँ कालिकाथानमा पुगेँ । त्यहाँ चरोमुसो कोही थिएन । ६ बज्न १० मिनेट बाँकि नै थियो । अलिकति मन खिन्न भयो, ‘नेपालीहरुलाई समयअघि आउनलाई के ले छेक्छ होला ?’ भन्दै । अनि अदालततिर उक्लिएँ । अदालत अगाडि त ऊनी काने टोपी लगाको कोही मान्छे याँमानको लाठो समातेर धुमधुमति बसेको पो देखेँ । यो देखी डरले म खङ्ग्रङ्गै भएँ । मेरो हालत देखेर त्यो आकृतिले गर्जन निकाल्योः “हत्तेरिका के डराको भन्या ! यीः देख्नुभो ? म तपाईँभन्दा पहिल्यै आइपुगेँ ।”
म लाजले रातोपीरो भएँ । नभन्दै सिडिओसाब पो हुनुहुँदो रहेछ । मैले अदालततिर फर्केर बोलाएँ, “श्रीमान्, सिडिओसाब आइसक्नुभो ।” रुकुम जिल्लाका माननीय न्यायाधीश हेमन्त रावल पनि तौलियाले मुख पुछ्दै बाहिर निस्कनुभो ।
“हमाल सर पनि उठिसक्नुभो ?”

श्रीमान्‍को कार्यालय सहयोगीले श्रेस्तेदार लोक हमालको ढोका ढकढकाए । अनि भित्रबाट आएको आवाजलाई हामीसम्म प्रसारण गरे, “उहाँ त नजाने रे साब् ।”

“न गएर पनि कहीँ हुन्छ ? उहाँ जिल्लाको सबै कार्यालयनै सबका सब उठेर जान तयार भैसके !” भन्दै म नै हमालसरको कोठातिर कुदेँ । ढोका खुलै थियो । भित्र छिरेँ । हमाल सर सिरकमा गुटमुटिनुभएको रहेछ । उहाँले जम्ला हात जोर्दै, “हिजो अलि ‘बढी’ नै भएकोले आज आराम गर्न दिनुहोस्” भनी अनुरोध गर्नुभयो ।

“त्यस्तो कहाँ हुन्छ ?” भन्दै मेरो पालो मिल्काइदिएँ सिरक । त्यसपछि त के हेर्नु र ! उहाँ त आपत्तिजनक अवस्थामा पो सुत्नुभएको रहेछ । म आँखा छोप्दै बाहिर निस्किएँ । उहाँ कट्टू लगाएर बाथरुमतिर कुद्नुभयो ।
बाहिर सरकारी वकिल ऋषिकेशव बस्याल, मालपोत हाकिम हरिचन्द्र बुढा, महिला विकास अधिकृत रमा पौडेल, जिल्ला निर्वाचन अधिकारी टंक गौतम समेत आइसक्नु भएको थियो । केही बेरमै एलडिओसाबको गाडी पनि आइपुग्यो । एलडिओ साब यस्तो भ्रमण भनेपछि औधि रमाउने मान्छे ।

यो कार्यक्रम सिडिओसाब् भविश्वर पाण्डे र करसाब् अभिराज आचार्य जिल्लामा कार्यरत छँदाखेरि नै पटक पटक आयोजना गर्न खोजेको थिएँ । भविश्वर पाण्डे सिडिओसाबले पनि यस्तो कार्यकर्ममा सरिक हुन खोज्नुभएको हो । तर सरकारी वकिल ऋषिकेशवजीको अनिच्छाले र मौसमको प्रतिकूलताले रोकिएको थियो । जिल्लामा हुने यस्ता छुट्टीकालीन रमाइलोका कार्यक्रमको प्रस्तावक म हुन्थेँ भने यसका प्रचारप्रसार र हाट्टहुट्ट तथा हाक्कहुक्कका कामहरु ऋषिकेशवजीबाट हुने गरेकोले कुनै कार्यक्रम दुवैजनाले ‘गरौँ’ भन्यो कि ‘सफल’ भइछाड्थ्यो । यस कार्यक्रममा हाट्टहुट्ट गर्ने जिम्मेवारी उहाँले नलग्नुको अर्को कारण उहाँ लामो समयदेखि पिठ्यूँ दुख्ने रोगबाट पीडित हुनुहुन्थ्यो । अतः यति लामो पैदल हिँडाइको कार्यक्रममा उहाँले ऊर्जा थप्ने अवस्था हुन्थेन । जुन कार्यक्रम नयाँ सिडिओ साब आउने बित्तिकै मैले चलाकी गरेर प्रस्ताव गरेको थिएँ । उहाँ पुरानो हुँदैजाँदा जिल्लाको वस्तुस्थिति थाहा भइछाड्थ्यो र जिल्लाका अधिकांश सरकारी कार्यालयका हाकिमसाबहरुलाई यति रमणीय स्थलसम्म पुर्‍याउने मेरो योजना सफल हुन सक्तैनथ्यो । अभिराज करसाबले त साँखमा रहेको सेनाको क्याम्पमा यस टोलीलाई बोलाएर क्याम्पफायर आयोजना गरिसक्नु पनि भएको थियो । उहाँको पनि यस ठाउँमा पुग्ने रहर त थियो तर कार्यक्रम सफल नहुँदै उहाँको सरुवा भइसकेको थियो । नयाँ करसाब रोशन खड्का सरुवा भइ आइपुग्नु भएको एकदुई दिन मात्र भएको र संगसंगै जरसाब समेत जिल्लामा आउने कार्यक्रम रहेकोले मैले उहाँलाई भने खबर गरेको थिइन ।

“अब जिशिअ साब् मात्र आउन बाँकि ।” मैले रिपोर्टिङ गरेँ सिडिओसाबलाई । जिल्ला शिक्षा कार्यालय खलंगाको पश्चिमपट्टि तलको पिपलनेटा भन्ने गाउँमा अवस्थित छ । पिपलनेटा माछ्मी तथा सोलाबाङ नामका सुन्दर साना उपत्यकाका बीचको टाकुरामा रहेको छ । माछ्मी गाउँ भूपू सांसद गोपालजीजङ्ग शाहको गाउँ पनि हो । रुकुमका अधिकांश कार्यालयहरु र सुरक्षानिकायका कार्यालयहरुबाट टाढा रहेको पिपलनेटामा अवस्थित कार्यालय यही एउटा हो । पिपलनेटा हुँदै मध्यपश्चिम लोकमार्गले रुकुमको औद्योगिक केन्द्र चौरजहारीलाई जोडेको छ । पुरानो सदरमुकाम तथा चौबीसे राज्यकालीन रुकुमकोट र बाँफीकोटबाट आउने सरबाटो पिपलनेटा हुँदै खलंगा आइपुग्छ ।

हामी चिया खाँदै गरौँ । मैले नजिकै रहेको चिया पसलमा दूध चियाको अर्डर गरेँ । त्यतिबेलासम्म तयार भएर लोक हमालजी पनि हाम्रो टोलीमा सामेल भइसक्नुभएको थियो । एकछिनमै जिशिअ मित्रमणि खनाल, विद्यालय निरीक्षक मोहन बन्जाडे तथा लेखा अधिकृत विनोद दाहाल आइपुग्नुभयो । चिया खाइसकेपछि हाम्रो टोली मठ हुँदै डिग्रेतिर उक्लियो । मठमा सिँचाइ हाकिमसाब् नियाज वारिसको टोली पनि मिसियो । हामी जतिजति माथितिर उक्लन्थ्यौँ त्यतित्यति सानीभेरीको आकार मसिनो र अझ लामोलामो हुँदै जान्थ्यो । टाढाका डाँडाहरु अग्लिँदै र नजिकनजिक आउँदै गए । मुसिकोटको डाँडा होचिँदै गयो । मठमाथिको बारीपोलेको रानीबनले सबैको मनलाई एकछिन कैद गर्न खोज्यो । अनि देखियो थर्पूको गाउँ । थर्पूको गाउँ मुसिकोटको शिरको टोपीझैँ ढलक्क ढल्केर बसेको थियो । पारितिर खारा, रुँघा, मुरु पेउघा, नुवाकोट, सिम्ली, दुली, मग्मा, झुला, खलंगा, साँख, चौखाबाङ गाविसका करिबकरिब सबै गाउँ र अग्ला अग्ला शिखरहरु एकै पटक देख्न पाउँदा सबैको मन रोमाञ्चित भइरहेको प्रष्टै देखिन्थ्यो ।
न्यायाधी हेमन्त रावलले औँलाले सिकाउँदै भन्नुभयो, “त्यतै होइन खारा हामी दाङतिरबाट आउँदा रुकुम प्रवेश गर्ने ठाउँ ?”

“हो श्रीमान् त्यही हो । रुकुमका झण्डै ३५ गाविसमा सडक पुगिसकेको छ ।” यो गर्व थियो एलडिओ साबको । नयाँ सिडिओसाब मख्ख परेर आफूले प्रशासन गर्ने जिल्लाका कुना कन्दरा हेरेर रमाइरहनुभएको थियो । हामी करिब एक घण्टाजति माथि उक्लिएपछि रुकुमको प्रसिद्ध धार्मिक स्थल डिग्रे साइकुमारीको आँगनमा आइपुगेका थियौँ ।

“आजको भागको आधा बाटो हिँडिसक्यौँ । अब यति उकालो छैन तिर्पायाँ-तिर्पायाँ र तेर्सैतेर्सो छ । आधाभन्दा अलिकति मात्रै बढी होला” मैले टीमका सबै साथीहरुलाई सुनाएँ ।

“हाँसो लाउनुहुन्छ, कोष हाकिम साब् पनि ! अब यै परतिर त हो नि, अब बढीमा आधा घण्टामा हामी गन्तव्यमा पुगिसक्छौँ ।” यो मज्जाक थियो सरकारी वकिल बस्याल सरको ।

“यताबाट आउनुस्, डिग्रे मन्दिरको दर्शन गर्न ।” मैले उकालो सिँढी चढ्दै भनेँ ।

“कहाँबाट त्यताबाट मन्दिर पुगिनू नि ? हामीलाई थाहा छैन र ?” भन्दै उहाँ पूर्वतिरको तेर्छो बाटो समात्नुभो । अरु साथीहरु पनि “हो हो । यतैबाट हामी पनि गएका हौँ ।” भन्दै उहाँलाई नै पछ्याउनुभो ।

म र हरि सर मन्दिर स्थलमा पुग्यौँ । भरखर दुर्गा र साइकुमारीको मूर्ति स्थापना गरेकोले त्यस मूर्तिले नै मन्दिरको रौनक बढाइरहेको थियो । मन्दिरका पूजारी बिराली बाउन “फेरि आयौ बाबु ? आऊ, आऊ, टीका लगाएर जाऊ” भन्दै हत्त न पत्त मन्दिरको ढोका खोल्नुभयो । हामीले टीका लगाइमागेर आशिरवाद् पनि थाप्यौँ । केही समयपछि हाम्रो बीसबाइस जनाको टिम पनि मन्दिर परिसरमा उक्लियो । आफ्ना आफ्ना विधि-विधानअनुसार पूजापाठ गर्दा बिराली बाउन छक्क परेर हेरिराख्नुभो । बिराली बाउनबाट मन्दिर विषयका थुप्रै जिज्ञासाहरु पनि मेटाइए पनि ।

“बस, बस ।” भन्दै हुनुहुन्थ्यो

“हाम्रो यात्रा त निकै टाढाको पो छ त ।’ भनेँ मैले ।

“कहाँ हो र त्यति टाढा ?”

“आज हामी ठूलीदह जाँदैछौँ । जिल्लाको सबैभन्दा मनोरम स्थल । त्यहाँको मनोरमताको अझै उत्खनन गराउने बिचार छ मेरो यी साथीहरुबाट ।”

“यी को हुन् त ?” हाम्रो टोली नेताको छनक पाएछन् बुढाले

“उहाँ सिडिओसाब हुनुहुन्छ ।”

“हाँ ? यिनी हुन् ?? अस्ति कुरा गर्दैथ्या केटाहरुले, नयाँ सिडियो आया गरे भनिकिन । यिनी पो ह्रचन् तो । हाइ तो ।” अनि मेरो प्रश्नतिर ध्यान दिएर भन्न थालेः

“त्यति टारा पुग्न सकौला र बाबु ? पहारमा हिँरेका जस्ता कोही देखिन्नौ । के सकौला र बरु जन्ती डाँडा जाऊ । सबै देखिन्छ । सिस्ने हिमाल र स्यार्पू ताल त हातैले छोइएला जस्तो पो हुन्छ । जाऊ एकघण्टा जतिमा पुगिसक्छौ त्यहाँ । के सकौला र ठूलीदह पुग्न त ?”

जुन कुरा कसैले नभनिदेओस् भन्ने भइरहेको थियो मलाई त्यही कुरा फ्यास्स भनिदिए बुढाले त । ठूलीदहको दूरी बारे एलडिओसाब मालपोत हाकिम र मलाई मात्र जानकारी थियो । आज दिनभरि बिदा भएकोले दिनभरि जङ्गल सफारी गर्ने बिचार थियो हाम्रो । तर नहिँडेर त जङ्गल सफारी हुने कुरा पनि त थिएन । तैपनि बाहुनको जवाफले मलिन देखियो अधिकांशको अनुहार । सबैको मनमथिङ्गलमा घुम्यो होला कसरी पुग्ने होला त्यो रमणीय स्थलमा ?

हामीहरु डिग्रे मन्दिर परिसरमै थियौँ । यहाँबाट ठूलीदह धेरै टाढा रहेको जानकारी पाएपछि हामीमध्ये अधिकांशको आँख्ला केही मरिसकेका थिए । अतः केहीबेर यतै विश्राम गर्ने सर्वसम्मतिले निर्णय पारित भएको थियो ।

“मन्दिर पनि खासै व्यवस्थित देखिएन । श्रद्धालु भक्तजनहरुको पनि पातलै उपस्थिति देखियो । के छ त यसको थप विशेषता ?” सिडिओसाबले सोध्नुभयो,

“यहाँ खासगरी कार्त्तिकमा पर्ने हरिबोधिनी एकादशीदेखि पूर्णिमासम्म पाँच दिनसम्म ठूलो मेला लाग्छ । राप्ती अञ्चलका सबै जिल्ला, भेरी अञ्चलका जाजरकोट, सुर्खेत र बाँके, बर्दियासम्मका, धवलागिरीका र कर्णाली अञ्चलसम्मका तिर्थालु र मेला भर्नेहरु यहाँ आउने गर्दछन् । भाकल गरेको कुरा पूरा हुने जनविश्वास पनि छ । अघिपछि पनि विवाह, ब्रतबन्ध लगायतका शुभकार्यमा यहीँ धाउने गर्छन् धर्मभीरु र भक्तजनहरु । खासगरी एकादशीमा र विदाको दिनमा भीडभाड भए पनि अरु दिनमा त्यति सारो भीड भने हुँदैन ।”

“खलंगाबाट डिग्रे मन्दिरसम्म आइपुग्न त्यति टाढा पनि छैन । मोटरबाट पन्ध्र मिनेटजतिमा नै आइपुगिन्छ । पैदल दूरी पनि खासै टाढा होइन । एकाबिहानै नेपाली सेनाका जवानहरु सल्लेबाट गीत गाउँदै कवाज खेल्दै यहाँसम्म आएर मन्दिरमा पूजा गरी कवाज खेल्दै फर्केको रमणीय दृश्य देखिन्छ ।”

“खलंगाबाट रावलबारा, थर्पू हुँदै पनि डिग्रेसम्म आउने गरिन्छ । हामी भने मठ हुँदै आइपुगेका छौँ । मठबाट आए पनि रावलबारा हुँदै आए पनि सुन्दर रानी वन बीचमा नै पर्छ र समय पनि उस्तैउस्तै लाग्छ । यहाँ बाघ भालु र चितुवाहरु पाइन्छन् भनेर बाटोमा एक्लै हिड्न डराउँछन् मान्छेहरु । खर्सू रयाँज कटुजको बुट्यानको एकदमै बाक्लो वन छ र त वन्यजन्तु समेतको लागि पनि रमणीय छ । बजारबाट केही लामो दूरी, ठाडो उकालो र घना जङ्गलको कारण यस धार्मिक स्थलको यथोचित विकासबाट पछि परेको जस्तो लाग्छ । यदि खलंगाबाट मठ हुँदै डिग्रेसम्म ढुङ्गाको सिँढीहरु ओछ्याइदिने र रावलबारा हुँदै यहाँसम्म केबुल कार बनाइदिने हो भने यस धार्मिक स्थल प्रसिद्ध तिर्थस्थल हुनेमा कुनै शंका छैन ।”
हामी रैथानेहरुले जाने बुझेसम्म सिडिओसाब र जिज्ञासु मित्रहरुलाई मन्दिरको विषयमा बेलिबिस्तार लगाइदियौँ । पूजारीले पनि धार्मिक संयोगहरु बारे उदाहरण सहित बताइदिनुभो ।

“ल, अब ढिला हुन्छ । घाम चर्कियो भने हिड्न सकिँदैन । हिड्ने समय यही नै हो । जाऔँ जाऔँ” मैले विश्राम गरिरहेका साथीहरुलाई अत्याएँ । सबै साथीहरु जर्यादकजुरुक उठे ।

अलिकति पर गएपछि राप्ती राजमार्ग र मध्यपहाडी लोकमार्ग नागबेली आकारमा डाँडाकाँडा र गाउँहरु घुम्दै मिल्न आएको देखिन्थे ।

“ऊ: त्यही हो मध्यपहाडी लोकमार्ग । यसले रुकुमको पुरानो सदरमुकाम रुकुमकोटलाई साँखको गाउँ भएर खलंगालाई जोडेको छ । यो बाटो भएर करिब दुई घण्टामा रुकुमकोटबाट खलंगा आउन सकिन्छ । अहिले यसको स्तरोन्नतिको काम भइरहेको छ । बाग्लुङसम्म ट्र्याक खोलिसकिएको छ । केही समयमा स्तरोन्नति भएर गाडी चल्न थालेमा चार पाँच घण्टामा मुसिकोटबाट बाग्लुङ पुग्न सकिन्छ र एघार बाह्र घण्टामा काठमाण्डौ नै पुग्न सकिन्छ । जबकि आजभोलि काठमाण्डौबाट दाङ हुँदै आउँदा बीस घण्टाभन्दा बढी लाग्ने गरेको छ ।”

हामी गफिँदै बीस मिनेट जतिको हिँडाइमा उन्याचौरमा उक्लियौँ । उन्याचौरको घारितिर कटुज काफल रयाँजको घना जङ्गलमा लेक चराहरुको चिरबिर सुनेर साथीहरु औधी रमाए । पहाडको माथि चिटिक्क परेर बसेको सानो चौर थियो यो ।

“यहाँ सदरमुकाम लगायत विभिन्न बजारका बासिन्दाहरु पिकनिकको लागि आइपुग्छन् ।” मैले साथीहरुलाई सुनाएँ ।

“त्यसोभए ठूलीदह आज नजाऔँ भो । अर्को कुनै दिन जाऔँला । यति सुन्दर चौरमा पिकनिक खानुको मजै बेग्लै हुन्छ ।” सरकारी वकिल र महिला विकास अधिकृतको जोड थियो यो । उहाँहरुलाई थकाइले गलाउँदै लगेको भान हुन्थ्यो । सरकारी वकिलले त कम्मरमा पटुका कसेर आउनुभएको थियो बिचरा ।

“ल, ल यतै बसौँ ।” अरु साथीहरुले पनि भन्न थाले । उभिएर बसेर विभिन्न पोचका फोटोहरु क्लिक क्लिक हुन थाले । बिहान साढे सात बजेतिरको कमलो घामले भुइँको दुबो र सिरुको शीतलाई रङ्चङ्गी शोभा दिइरहेको थियो ।

“हिड्न नसक्ने साथीहरुलाई फर्काइदिने हो कि त ?” मैले सल्लाह लिएँ सिडिओसाबसँग ।

“हुँदैन, हुँदैन, त्यसो कहाँ हुन्छ ? यी म बिरामी बुढो मान्छे त कस्सिएर आएको छु ! तपाईँहरु तन्नेरी केटाहरुले हिम्मत हार्ने ? जहाँ पुग्दा एक कदम चाल्न पनि गाह्रो होला त्यतै बसौँला । जाऔँ अहिले ।” सिडिओसाबले उर्दी जारी गर्नुभयो ।
सबैलाई उठ्न करै लाग्यो । त्यहाँबाट उठ्दा आठ बजिसकेको थियो ।

अब घना जङ्गलको बाटो शुरु भैसकेको थियो । तर बाटो तिर्पाँयाँ-तिर्पाँयाँ नै थियो । हाम्रो हिँडाइको गति पनि अति सुस्त थियो । हिड्नलाई कुनै तकलिफ थिएन । साथीहरुले समूह समूह बनाएर चाख लाग्दा गफहरु झिकिरहेका थिए । यसले पनि बाटो कटेको पत्तै हुँदैनथ्यो ।

हामी हिँड्दै गरेको बाटो खोल्सामा पुगेर फाट्यो । अघिअघि जानेलाई कुन बाटो ठूलीदहको हो थाहा भएन तसर्थ अलमल भयो । बाटो चिन्ने मेरो सहयोगी कान्छो र उसको साथी थिए ।

“लिडिङ गर्नेलाई नै बाटो थाहा नभएपछि त मारिहाल्यो नि ।” यो मविअको मप्रतिको व्यङ्ग्य थियो ।

‘सबै आफैलाई थाहा भएजस्तो पनि त गर्नुभएन नि !” मैले जवाफ फर्काएँ

उनीहरु आइपुगेपछि खोल्साबाट तलतिर लाग्नुपर्ने बताए । माथिको बाटो डालीबाङ गाउँतिर जाँदो रहेछ र डालीबाङ हुँदै खारदह पुग्दो रहेछ । उतापट्टि लम्फाकोट पर्दो रहेछ । हामीले तल्लो बाटो समात्यौँ । केही पर पुगेपछि एउटा सानो गाउँ आइपुग्यो ।

“यसको नाम वसीबाङ हो ।” कान्छाले हामीलाई त्यस सुन्दर सानो वस्तीको नाउँ बतायो र बाङ भनेको चउर भएको ठाउँ हो पनि भन्यो । तलतिर मैले चिनेका डाङडुङ्ङे, घोयलपानी गाउँहरु थिए । मैले त्यतै औँलाले सिकाएर गाउँको नाउँ जानिटोपलेको देखाएँ ।

“ती गाउँको नाम त हामीलाई पनि थाहा छ । हामीलाई सिकाइरहनुपर्दैन । हाम्राे कार्यक्रम पनि पर्छ यतै । हामीहरू यतातिरा अाइरहने ठाउँ हाे । ” म.वि.अ.को अर्को व्यङ्ग्य थियो ममाथि । उहाँले यतातिर आउने नमान्दा नमान्दै सबैको लहैलहैमा लागेर आइपुग्नु भएको थियो त्यसमाथि उहाँ पनि आफैँ बिरामी हुनुहुन्थ्यो ।

“जानेकोले नजानेकोलाई पहिल्यै सिकाइदिनू नि त । यहाँ रुकुमका कुनै गाउँ नचिनेका साथीहरु पनि हुनुहुन्छ के ।” मैले पनि उहाँको असक्तताको परवाह नै गरिन । नभन्दै हाम्रो समूहमा सिडिओ साब र शिक्षाको टिम यताको लागि नयाँ नै थियो ।

एउटा लोकल कुखुरा कान्छाले मठ गाउँबाटै ल्याएको थियो । एउटै कुखुराले बीसबाइसजनाको टिमलाई पुग्ने कुरा पनि थिएन । हिँडाइको थकानले भोक बढ्दै थियो । केही साथीहरु कुखुरा खोज्न थाले हामी भने बाटो काट्नमै भलो हुने देखेकोले अगाडि बढ्दै गयौँ ।
अगाडि फेरि जङ्गल शुरु भयो । बाटो खोलातिर लाग्यो । हामी पानेखोलाको मुहानमा आइपुग्यौँ । यसबेला बिहानको नौ बजिसकेको थियो । मुहानमा पानीको ड्याम बाँधिएको थियो । एकै ठाउँबाट ठूलो खोला भुलभुल गरेर निक्लँदाको दृश्य अत्यन्तै रमणीय थियो । त्योभन्दा बढी रमणीय खोला छङछङ गर्दै ओरालो लाग्दाको थियो ।

त्यहाँ सानो चउर थियो । त्यो पनि पिकनिक स्पट नै थियो ।

“ल साथी हो, अब खाजा खाने बेला भयो ।”

“१० बज्दासम्म के को खाजा नि, खाजा होइन खाना नै खानुपर्छ ।” सरकारी वकिलसाबको जिद्दि थियो यो ।

खाजाको रुपमा चिकेन फ्राइ चिकेन रोष्ट माछा फ्राइ दालमोठ चिउरा भुजियाहरु ल्याइएको थियो । पिउने साथीहरुको लागि ड्राइ जिन तीन लिटर थियो । प्लास्टिकका थाली गिलास र चम्चाहरु पनि ल्याइएकोले खाजा वितरणमा समस्या थिएन ।

ड्राइफुड तताउन कान्छाहरु दाउरा खोज्न थाले । मेरो पालो ड्राइ जिनको बिर्को खोलेर गिलास-गिलासमा राख्न थालेँ । नपिउने साथीहरु र पिउन लजाउने साथीहरु पर पर छरिए । ल जजसलाई थकाइ मेट्न मन लाग्छ तिनीहरुले मात्र लिने सबैलाई कर गर्ने हो भने ड्राइ जिन पुग्ने छैन । मैले एक हातमा चिकेन रोष्ट मुठ्याएर अर्को हातले ड्राइजिन सुरुप्प सुरुप्प पार्न थालेँ । त्यसले थकाइबाट उत्पन्न तिर्खालाई शान्त पार्दै लग्यो । थकाइ हराउँदै गयो । जीउ झुम्म र रोमाञ्चक हुँदै गयो ।

त्यसैबेला सिडिओसाबको फोन आयो । करसाब रोशन खडकाले ‘आफू पनि आउँदै’ गरेको जानकारी गराउनुभएको रहेछ ।

म काँचा आन्द्रा खाएतुल्य भएँ । ओहो मैले उहाँलाई खबर नगर्नु मेरो ठूलो भूल थियो । भूल त थिएन । दुर्गम जिल्ला रुकुममा आउँदाआउँदै जिल्लाको दुर्गम ठाउँमा आउन के रहर गर्नुहोला र भन्ने ठानेकोले खबर गरेको थिइन उहाँलाई ।
“एकपटक खबर गरेकै भए के बिग्रन्थ्यो र ?” सिडिओसाबले खै गर्नुभएको थियो ।

मैले शुरुमा खबर गर्न सकिन पछि भ्याइन । ३५ कार्यालयका प्रमुखलाई गर्दागर्दै करसाबलाई फोन गर्ने हेक्का नै रहेन मेरो । त्यसकै अघिल्लो रात आर्मी ब्यारेकमा जर्नेल साबको स्वागतको लागि केही कार्यालय प्रमुखहरुलाई बोलाइएकोमा म छुटेको थिएँ । त्यस अवसरमा बोलाइएको भए मैले पनि उहाँलाई खबर गर्न सक्थेँ । त्यही कारणले यस भ्रमणमा नबोलाएको अवश्य होइन उहाँलाई । तर त्यही अर्थ लाग्यो कि भनी म नीलोकालो हुन पुगेँ । मलाई ड्राइ जिनको नशाले काम नगर्लाजस्तो भैदियो ।
यसैबेला जङ्गलको पारिपट्टिको बाटोमा मानिस आकृति झल्याकझुलुक देखियो । मेरो मुटुको धडकन बढ्दै गयो । ‘अब के के भन्ने हुन् बुढाले’ भनी तर्सो रहिरह्यो ।

त्यो आकृति नजिक आइपुग्यो । ती मान्छे कर साब नभएर घरेलु हाकिम विष्णु सर हुनुहुँदो रहेछ । कतै बीरसिक्कामा पढेको मित्रताको कथाको झझल्को आइदियो । तीनतीन घण्टाको कठिन जङ्गलको हिँडाइ एक्लै पार गरेर अघि छुटेका मित्रलाई पछ्याउनु कम्ता चुनौतीपूर्ण थिएन होला । मैले उहाँलाई गम्लङ्ग उमालो हालिदिएँ र एकगिलास घट्घट्ति पिलाइदिएँ । उहाँले पनि नाइनास्ती गर्नुभएन । फ्राइ माछा फ्राइ चिकेन चिउरा तताएर बाँड्ने काम कान्छाले गरिरहेको थियो ।

अब भने नशाले फेरि काम गर्न थाल्यो । केही हाता म्यारिज पनि चल्यो । हाम्रा शीर्ष तीन नेताले हाम्रो रमाइलोलाई हेरेरै समर्थन गरिदिनुभयो । उहाँहरु यस पानेखोलाबाट के के उपयोग गर्न सकिन्छ भनी जलविद्यूत माछापालन सिँचाइको विस्तार खानेपानी आदिआदिको योजना बुन्दै हुनुहुन्थ्यो । हाम्रो एक समूह भने बोत्तलमा ल्याएको अर्कै खोलाको पानीले सिँचाइ बिजुलीपानी र माछापालनको काम तत्कालै गर्न व्यस्त थियो ।

यसैबेला एकजना सहयोगी लिएर आइपुग्नुभो करसाब रोशन खडका । मलाई उहाँ आइपुगेको पत्तै भएन । सिडिओसाबले सबैसंग परिचय गराइदिनुभयो उहाँको । निकै हसिलो रसिलो र मजाकको मान्छे हुनुहुँदो रहेछ । एकैछिनमा मसंग चीरपरिचित जस्तो भइहाल्नुभयो । उहाँसंग भेटिएको धेरैबेरपछि पो मेरो डर कता लुकेको थियो ताजुप मानेँ । त्यस कार्यक्रममा नबोलाइएको न उहाँले अनुभूति गर्नुभयो, न त मैले नै यो कारणले उहाँलाई बोलाइन भन्ने आवश्यकता रह्यो ।

“ल अब हिँडौँ !” करिब ४५ मिनेटको थकाइ मेटानपछि हामी फेरि उकालो लाग्यौँ । अब लालीगुराँसका फूलहरुले सुशोभित रक्तरञ्जित जङ्गल शुरु भइसकेको थियो । हाम्रो पेटको रक्तरञ्जित नशाले दृश्यावलोकनलाई अझै रोचक बनाइरहेको थियो । हामी छाडा गफहरु गर्न थालिसकेका थियौँ किनकि रमा पौडेल सम्मिलित टोली हामीभन्दा अघि गैसकेको थियो ।

जब हामी चयाँरीको गाउँमा पुग्यौँ । पछिको टोली आइपुगेन । पछिको टोलमा कान्छो लगायतका सहयोगी साथीहरु थिए । बीचको टोलीमा म, हरिचन्द्र बुढा र टंक गौतम थियौँ ।

कान्छो हतारिँदै आइपुग्यो, “सर पानी ल्याउन कसैले मानेन । ल्याएको पानी समेत पोख्ने चेतावनी दिँदै छन् साथीहरुले । कोही रित्तै हिड्न कोही पानीको भारी बोक्ने भन्दैछन् साथीहरुले ।”
पर्‍यो अप्ठ्यारो । ठूलीदहको नजिकमा पिउने पानी पाइँदैन ।

“दहमा पानी नपाइने भए, किन दह नाम राखेको त ?” यो थियो टंक गौतमजीको जिज्ञासा । हरि सर पनि ट्वाल्ल पर्नुभयो । उहाँ एकपटक अघि पुगिसक्नुभएको थियो ठूलीदह र पानी नपाइने कुरा उहाँलाई पनि थाहा थियो ।

“सर वर्षादमा हुन्छ होला चैत्रतिर सुकिसक्छ ।”

“सुकिसकेको दहको लागि किन हामी मरिह्ते गर्दैछौँ त ?”

“ए, सर अहिले यो जवाफसवाल गर्ने समय होइन । हामीले नै अब पानी बोक्नुपर्ने हुन्छ । बरु त्यसैको लागि तयारी होऔँ । त्यहाँ पकाउनको लागि मात्र होइन पिउनको लागि पनि पानी नभई हुँदैन । त्यहाँ पुग्दासम्म हामी पानीले प्याकप्याकती भइसक्छौँ ।” यति भनेर कान्छाले बोकेर ल्याएको १०/१० लिटरका जर्किन मैले पक्रिएँ । मसंग पहिल्यै ड्राइफुडको बोरा थियो । त्यो हरिसरलाई हस्तान्तरण गरिदिएँ । हरिसर र टंकसरसंग पहिल्यै एकएकवटा झोला थियो । अब दुई दुईवटा बोक्नुपर्ने भयो उहाँहरुले पनि ।
“जाउ कान्छा, तुरुन्त पानी पोखेको भए भरेर ल्याऊ । नपोखेको भए पालोपालो गरेर ल्याऊ । तु गै हाल !”

कान्छो फालहाल्दै खोलाको बाटोतिर झर्‍यो ।

पछि थाहा भयो । बाटोको फोटो तथा भिडिओ हेरेपछि कि पछि रहेका मित्रहरु गोट-मेटिङको दृश्यमा भुलेका पो रहेछन् ।

हामी त्यो टोली आइनपुगुन्जेल चयाँरीमै पर्खियौँ ।

हो करिब ३२०० मिटर उँचाइमा रहेको बस्ती चयाँरी । शिखरको शिरतिर समथर परेको भूधरातल । तर खानेपानीको व्यवस्था समेत नभएको वस्ती । करिब आधा घण्टा तल पानेखोलाको मुहानमा झरेरमात्र पानीको जोहो गर्छन् यहाँका मान्छेहरु । अनि खेतीपाती । दिउँसोको साढेदश बजेसम्म बारी चीसो नै देखिन्छ । सिँचाइको कारणले होइन तर शितले गर्दा । बर्खाको पानी र हिँउदको शितले सिँचित हुन्छ यताको मकै फापर जहुँ कोदो आदि बारी । मकै र कोदोको फसल राम्रै हुन्छ रे । तर अधिकांश बालीको उपयोग जाँडको लागि । तर कोदोको रस खोज्यौँ पाइएन । सर्टपाइन्ट ठाँटिएर आउनेहरुलाई ‘जाँड पाइँदैन’ भनिन्छ होला अनुमान गर्यौँ त्यसै ।

पछिको टोली नजिकनजिक आइपुग्यो । उनीहरुको ‘हिँड्दै गर’ को संकेत पाएपछि हामी अघि बढ्यौँ । बाटो अब फेरि तिर्पायाँ तिर्पाँया नै छ ।

अलि पर पुगेपछि तलतिरको सुन्दर बस्ती छर्लङ्गै देखियो । साँख गाउँ रहेछ । बीचमा ठूलो पोखरी छ । पोखरीमा अलिकति बीचमा नीलो पानी । पानीमा भैँसीले आहाल खेलिरहेका । पोखरीलाई ढुङ्गाको पर्खालले घेर्न प्रयत्न गरिएको । पोखरीकै छेउमै ठूलाठूला चौतारीहरु चौतारीमा ठूलाठूला पिपलका बोटहरु । वरिपरि गहुँका ठूला ठूला गराहरु देखिन्छन् । अलिकति घारितिर गुजुमुज्ज परेर बसेको बस्ती । वरपर जङ्गलै जङ्गल कति सुन्दर बस्ती । करिब एकवर्ष अघि यही गाउँ भएर अलिपरको सैनिक क्याम्पमा अभिराज करसाबको निम्तोमा यही गाउँ भएर गएका थियौँ । नजिकबाट यति विछट्टै सुन्दर देखिएको थिएन यो वस्ती ।

साथीहरुले मख्ख परेर एकोहोरो हेरिरहे । क्लिक क्लिक फोटोहरुमा कैद गरियो यस दृश्यलाई ।

त्यसपछि हामी अझै अघि बढ्न थाल्यौँ । चैते घाम गर्मी चरक्कै चर्किसकेको छ । फेरि शुरु भयो बाक्लो जङ्गल । लेकको जङ्गल लालीगुराँसले नवदुलही जस्तै ठाँटिएको जस्तो । काफलका बोटहरु पनि देखिन्छन् आक्कलझुक्कल । कटुज खर्सू छयाप्ती छ्याप्ती तर पात हेरेपछि मात्र छुट्टिन्छन् रुखहरु । फेद त सबै लेकको झ्याउले लपक्कै बेरिएकोले खैरोहरियो रङका देखिन्छन् । अलिअलि सेता झ्याउहरु पनि देखिन्छन् । यसलाई तारी भनिन्छ रे यता । किलोकै हज्जारौँ रुपैँया पर्छ रे । तर संकलन गर्ने ज्ञान छैन कसैलाई । संकलन त घाँस र दाउरा अत्यधिक हुँदोरहेछ । हामी डिग्रेदेखि उँभो लागेदेखि भारीका भारी घाँसदाउरा सारेका सारेइ छन् मान्छेहरु ।

यसरी बेरोकटोक वन विनाशमा मान्छे संलग्न रहे यो सुन्दरता केही वर्षमै बिलाइजानेछ । तसर्थ यसको सजीव चित्र उतार्नै पर्ने देख्छु मैले । सायद यस्तै सोचिराख्नुभएको होला टंक र हरिजीले पनि ।

अलिकति पर गएपछि पुनः बाटो फाट्छ । एउटा बाटो सिधा तल झर्दै गएको छ अर्को उकालो लागेको छ । कान्छो धेरै पछि परिसकेको छ । हामीले अनुमानको भरमा माथिल्लो बाटो रोज्यौँ केही बेरपछि बाटो मसिनिँदै जङ्गलमै बाटो हराइसक्यो । जता हेर्‍यो खस्रु र चोत्राका काँडाहरु मात्र । ठाउँ ठाउँ कुहिएका रुखका मुढाहरु । सुकेको खरलाई रुखका पातपतिङ्गरले छपक्कै ढाकेकोले हामी त्यसैमा घरिघरि चिप्लिरहेका छौँ । तलको बाटो धेरै तल छुटिसक्यो । अब अगाडि बढ्न सकिने अवस्था नै छैन । हामी अलमलमा पर्छौँ ।

“यताको जङ्गलमा भालु पाइन्छ रे । होशियार हुनुपर्छ । हल्लाखल्ला पनि गरौँ साथी हो ।” हरि सरले सुझाउनुहुन्छ । उहाँलाई हेर्दा मनमा डरको चीसो निकै पसेजस्तो देखिन्छ ।

अनि म चिच्याउँछु, “कान्छाऽऽऽऽऽ । कान्छा हैऽऽऽऽऽऽ । बाटो बिरायौँ हामीले । यता आऊ ।”
टंक सरलाई पनि डरले गाँज्यो होला । एफ एम रेडियो लाउन खोज्नुहुन्छ लाग्दैन । फोनको टावर नै छैन । अनि मोबाइलको गीत लाउडस्पिकरमा घन्काउनुहुन्छ ।
हात १०/१० लिटर पानीले गलिसकेको छ । सबै असिन पसिन भएका छौँ । दिनको एघार बजिसकेको छ ।
अब त धेरै टाढा नहुनुपर्ने हो । बढीमा आधा घण्टामा पुग्छौँ । ठूलीदह ।
“भेटिए पो पुगिन्छ । नभेटिए नि ? सँधैको लागि यही जङ्गलमा हराउन पनि के बेर ।” टंक सर शंका व्यक्त गर्नुहुन्छ ।
“ए, कान्छाऽऽऽऽऽ कान्छा हैऽऽऽऽऽ ।” म फेरि घाँटी सुक्नेगरी कराउँछु, “यता आऊ । यता । हामी हरायौँ ।”
हाम्रो चिच्याहटको ध्वनि माथि जङ्गलबाट प्रतिध्वनित हुन्छ । प्रतिध्वनि होइन रहेछ । घसाराहरु रहेछन् । उनीहरु पनि उसरी नै चिच्याउँछन् । कतै भालु त होइन । भालु चिच्याए त मान्छे कराएको सुन्दै सुन्दैन रे एकपटकमै झ्यापझुप ।
कान थापेर सुन्यौँ । घसार्नीहरुकै आवाज रहेछ । हाम्रो मन अलिकति हलुका भयो । पछि झुलुक्क अर्को दाउरे पनि देखिए । हामीले ठूली दह पुग्न खोजेको तर बाटो बिराएको बारे बतायौँ ।
“अलिकति झरेर सिधा जानुस् । अब आइपुग्न थाल्यो ।” हामी खुशीले बुरुक्कै उफ्रन्छौँ ।
त्यसैबेला पछि छुटेको टोली पनि तल हल्लाखल्ला गर्दै अगाडि बढेको देखियो । त्यसमा बाटो चिन्ने कान्छो पनि छ । मन ठूलो भएर आयो ।
अनि अघि गएको टोली । हामी अलिअलि बाटो चिन्ने कहलिएकाको त यस्तो बिजोग छ भने उनीहरुको झन के हविगत होला । फेरि मन चिसिन पुग्यो । तल्लो टोली आइपुगेपछि फेरि सबै एकैसाथ करायौँ । “एलडिओ साब ! सिडिओसाब ! श्रीमान् ! उहुऽऽऽऽऽ ! हेऽऽऽऽऽ ! हैऽऽऽऽऽऽऽ ! ओऽऽऽऽऽऽऽ !” अनि जिब्रो बटारेर सुसेलिएका सिठ्ठीहरु । अँहँ कतै प्रतिध्वनि सुनिँदैन ।
हामी अघि बढ्दैछौँ ।
अब अझै कैँचीले मिलाएका जस्ता होचाहोचा रुखहरुको जङ्गल शुरु भयो । अलिकति समथर जमिनमा खोला हिँडेकोजस्तो ढुङ्गैढुङ्गैहरु फेला पर्न थाले । अब आइपुग्न थाल्यो गन्तव्यस्थल हामी अझै फुरुङ्ग भयौँ । अघिल्लो टोलीले पनि बाटो बिराए घसारा वा दाउरेहरुले भेट्टाएर ठूलीदहसम्मै पुर्याइदिन्छन् डराउनुपर्दैन कान्छाले भनेपछि हामी ढुक्क भयौँ ।
अलिकति पर पुगेपछि हरियो क्षितिजमा आँखा अल्झियो ।
“आयो, आयो ।”
“ठूलीदह नै आयो ?” टंक सरको सुनिश्चितता खोज्नुभयो ।
“ठूलीदह होइन । सानीदह ।”
“होइन होला । हामी पुग्ने भनेको त ठूलीदह होइन ?”
“हो, हो ।”
अनि पूरै उदाङ्गियो सानीदह सर्वाङ्ग हरियो वस्त्रमा । ज्यामितीविज्ञले गोलो बनाएझैँ पूर्ण वृत्ताकार सानीदह ।
“के हो यो ? गहुँ ??”
“कहाँ हुनु गहुँ यहाँ ? कसले छर्छ र गहुँ यहाँ ?”
“सिरु र लेकको दुबो हो ।”
पर कल्याङमल्याङ सुनियो ।
नभन्दै अगाडि छुटेका साथीहरु सबै एउटा बडेमानको रुखको छहारीमा गोलाकारमा बसी खाजा खाइरहेका ।
हामी चिच्यायौँ, “हुर्रे !!!!!!!!!!!!!!!”
उहाँहरु चिच्याउनुभयो, “हुर्रे !!!!!!!!!!!!!!!!!”
वरिपरिको घना जङ्गल प्रतिध्वनित भयो “हुर्रे !!!!!!!!!!!!!!!”
नजिक पुगेपछि बचेखुचेको खाजा हामीले पनि बाँडेर खायौँ ।
“अब जाऔँ ठूलीदह । ढिला भइसक्यो ।” यतिखेर दिनको बाह्र बजिसकेको थियो ।
“अझै अर्को दह छ र ? यो नै सुन्दर छ यतै बसौँ ।” सरकारी वकिलको स्वीकारोक्ति
“यतै बसौँ । यतै बसौँ ।” मविअको पनि स्वाकारोक्ति ।
“होइन अझै राम्रो छ जाऔँ ।”
फेरि फोटो सेसन क्लिक क्लिक क्लिक क्लिक
“कोही छुट्यौँ कि ?” एकपटक टाउको गन्ती गरियो ।
“… बाइस तेइस चौबीस ।”
“… बाइस तेइस चौबीस ।”
“पूरै छौँ । पूरै छौँ ।”
अब खुट्टा निकै हल्का भैसकेका थिए ।
बिस्तारै एउटै झुण्डमा टोली अगाडि बढ्यो । सानीदह पार गर्न नै बीस मिनेट लाग्यो । पाल्लो छेउ पुग्नेबित्तिकै जङ्गलको पारिपट्टि सुख्खा दहको पुछार देखियो ।
सबैको मन चङ्गाझैँ उडिरहेको छ ।
“ऊः ठूली दह !!!!!!!”
धेरैको आवाज एकैपटक निस्कियो ।
“तर सुख्खा । उदाङ्गो । हरियाली पनि छैन ।” साथीहरुको शंका
“अझै पर छ शिर । यी त खुट्टाका पाइताला मात्र हुन् पाइताला हेरी सुन्दरता कहाँ देखिन्छ । सुन्दरता त शिरको आँखा मुख नाक र गालामा हुन्छ । हो कि होइन ?”
“हो, हो !!”
“होइन, होइन !!”
खर्सुका बोटहरुको बेग्लै बनावट । रँयाजका बोटहरुको बेग्लै सजावटका झ्याम्म रुखहरु । वरिपरि उस्तै घनाजङ्गल । छेउछेउमा विभिन्न रङका बुकीहरु फुलिरहेका । मुलायम लेकाली दुबो । विभिन्न जातिका रङ्गिन झारहरु बगैँचेले योजनावद्ध रुपमा लगाएको जस्तो । मान्छेले नै तयार गरेका जस्ता प्राकृतिक पिकनिक स्पटहरु । बीचबीचमा बोनसाई गरेका जस्ता विभिन्न प्रजातिका रुखहरु । झण्डै एक किलोमिटर मिटर चौडाइ र तीन किलोमिटर जति लम्बाइ रहेको समथर स्थान र उठ्दै गएका वरिपरिका साना ढिस्का जस्तै टाकुराहरु । ती टाकुराको पारिपट्टि पानी पनि पाइन्छ रे तर मुहान भेट्टाउन अलि ठूलै कसरत गर्नुपर्ने ।
न्यायाधीश हेमन्त रावलज्यू आफूलाई औधी मनपरेको एउटा सुन्दर रुख भेट्नेबित्तिकै पलेँटी कसेर हात घुँडामा अड्याएर आँखा चिम्लिई समाधिमा बसिहाल्नुभयो ।
अर्को रुख सिडिओसाबले कब्जा गर्नुभयो र योगामा तल्लिन हुनुभयो ।
अर्को रुख करसाबले कब्जा गर्नुभयो र विविध प्रकारका कवाजका दृश्यहरु देखाउन थाल्नुभयो ।
ठूलीदहको सुन्दरता विषयमा जति बखान गरे पनि केही क्षण अघिसम्म पत्याउँदै नपत्याउने सरकारी वकिल र मविअले अर्को रुख कब्जा गर्नुभयो र ॐ शान्तिको मुद्रामा ध्यानमग्न हुनुभयो ।
प्रत्येकलाई पुग्ने कटिङ गरेर मिलाएका जस्ता ठूलाठूला झ्याम्म परेका रुखहरु छन् । अरुले रुख कब्जा गरे भनेर बाँकिले पिरलो गर्नै नपर्ने ।
“अहिल्यै यतै रुखहरु कब्जा गरेर नबस्नोस् । हामी बीच भागमा मात्र आइपुगेका छौँ । शिर भाग त अझै पर छ ।”
“खाना उतै बन्छ ।”
पर पुगेपछि अर्कै रुखका झुण्डहरु छन् । त्यसैको एक रुखमुनि हामीले चुलो मिलाउन थाल्यौँ । वरिपरि सुकेका पातपतंगर र दाउरा जति चाहिए पनि छन् । मुढै बाल्छु भने पनि वर्षौँदेखि कुहिएर रहेका मुढाहरु पनि यत्रतत्र देखिन्छन् । एकैछिनमा चुलोमा आगो ह्वार्ह्वार्ति बल्न थाल्यो । धुवाँ कुइरीमण्डल भएर बिस्तारै आकाश छुन थाल्यो । हामी सबै परापूर्वकालिन ऋषिमुनि जस्ता प्रतित हुन्थ्यौँ होला अरुको नजरमा यस अग्निको धुनिको कारण ।
हाम्रो भोजका सामलतुमल अघिपछिका भन्दा निकै भिन्न थिए । हामीसंग पुलाउ वा मिष्ठान्न भोजनका कच्चापदार्थ थिएनन् । सिर्फ तीन मानाजति मकैको पीठो र सिन्की तथा गुन्द्रुकको धुलो मात्र थियो । पकाउने धेरै भाँडाहरुको दरकार पनि थिएन । सिर्फ दुई थान साना कराइ र एक थान पन्यूँ एकथान डाडु । अरु सब प्लास्टिकका भाँडावर्तन ।
करसाबका सहयोगीलाई ढिँडो पार्न आउँदो रहेछ । उनले पीठो पाउने बित्तिकै मुखमा र्याल काढ्दै एउटा कराइमा ढिडो लस्काउन थालिहाले । अर्को फ्राइप्यानमा सिन्की र गुन्द्रुक छड्किन थाल्यो । मासु पुलाउको कवाफले पार्ने प्रभावभन्दा बढी प्रभावित पार्‍यो यस परिकारले दर्शकहरुलाई । मतलब प्रत्येकको मुखमा पानी ल्याइछाड्यो ।
कान्छाले कुखुरालाई मर्मत गरेर भुटभाट पार्न थाल्यो । त्यसैबेला आत्तिँदै भन्यो, “सर, बेसार र मसला छैन । ल्याउनै बिर्सिएछ !”
“ला, अब के गर्ने त ? मारिहाल्यो नि कान्छाले । नजिकको गाउँ पुग्न र फर्किनै ४ घण्टा लाग्छ । सम्भवै छैन । धत्तेरिका ”
“के गर्ने ?
के गर्ने ?”
“जे छ त्यसैले काम चलाउने ।” लोकल कुखुराको झोल रातो रगतको झोलझैँ देखियो । सिन्की र गुन्द्रुक कालो मसी झैँ देखियो । सबैको मन खिन्न भएर आयो । देख्दै यस्तो छ के मीठो होला र ।
खेलाडी मित्रहरुबीच एकदुई हाता कलब्रेक र एकदुई हाता म्यारिज पनि चल्यो ।
हमाल सरले बाँकी रहेको ड्राइजीनको बोत्तल खोलेर सोमरस पारखीहरुलाई सर्भ गर्न थाल्नुभयो ।
“चियर्स !!!!!!!!!”
जङ्गलले पनि ‘चियर्स……” गर्‍यो ।
खेल्न र पिउनभन्दा घुम्न मन पराउनेको टिम छुट्टै बन्यो र टाकुरातिर हिँड्यो । उक्त टिममा श्रीमान् सिडिओसाब एलडिओसाब करसाब हरि सर टंक सर र म सम्मिलित थियौँ ।
टाकुराबाट नजिकैजस्तो लाग्ने सिस्ने हिमाल देखियो र पुथा हिमाल लगायत हिमश्रृङ्खलाको एक लहरै देखियो । सबै मन हरक्क उघ्रियो । बुरुक्क उफ्रियो ।।
मैले भनेँ, “अलकति समय उभ्रिएन । अलिकति पर पुगेमा बाउन्न टाकुरी, त्रिपन्न पोखरी भनेर चिनिने रुकुमकोटको सम्पूर्ण वस्ती माथिबाटै नजिकै देखिन्छ । थुम्कैथुम्का र पोखरीपोखरीले मात्र बनेको गाउँ । रुकुमको अर्को प्रसिद्ध ठूलो ताल कमल तालको सुन्दर दृश्य पनि नजिकै माथिबाट देख्न सकिन्छ । उत्तरतिरका बाँफिकोट पिपल पोखरा मोराबाङ प्वाङ जाङ काँक्री सिस्नेसम्मका गाविसहरु पनि देखिन्छन् ।”
वारिपट्टि ठूलीदको सम्पूर्ण भाग माथिबाट छर्लङ्गै देखियो । हामी ठूलीदहको भविष्य बारे चिन्तन गर्न थाल्यौँ ।
“यसलाई अलिकति मात्रै दुःख गर्ने हो भने अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सकिन्छ ।”
“अन्तर्राष्ट्रिय चिडियाखाना बनाउन सकिन्छ ।”
“नेशनल पार्क बनाउन सके वेश ।”
“प्राकृतिक बगैँचा बनाउन सके वेश ।”
‘होइन खेलकूदको लागि राष्ट्रिय रंगशाला बनाउनुपर्छ ।”
“अनि कहाँबाट आइपुग्दछन् यति टाढा खेलाडी ? मुसिकोटबाटै म्याराथुन वा रिले दौड गराउनुपर्ने होला हैन ?”
“त्यति टाढा कहाँ हो र ? मोटरबाटो ल्याइ पुर्याउने हो भने ४५ मिनेटको दुरी त हो नि । यो प्रस्तावित मुसिकोट नगरपालिकाभित्रै पर्ने ठाउँ हो । नगरपालिकाभित्रको ठाउँ पनि दुर्गम हुन्छ कतै ?”
“होइन, होइन यसको प्राकृतिक सुन्दरतालाई आधुनिक यातायातका साधनले किमार्थ मास्नुहुँदैन । बरु प्राकृतिक सुन्दरता बढाउने उपायहरु गरिनुपर्छ ।”
हाम्रो नजर चउरको एकभाग ढाकेर चरिरहेका भेडाहरु र भेडीगोठालातिर पुग्यो ।
“यति सुन्दर ठाउँलाई संरक्षण नगरी जथाभावी रुख कटान र भेडा चउर मात्र बनाउने हो भने केही दिनमा नै यसको प्राकृतिक सुन्दरता लोप भइसक्नेछ । तसर्थ पहिलो आवश्यकता यसको संरक्षण गरिनुपर्छ । संरक्षण गरिएमा यो यत्तिकै आफैमा सुन्दर छ । अरु केही बनाउनु नै पर्दैन । वश् यसको प्रचारप्रसार भने अवश्य गरिनुपर्छ । ल एलडिओसाब यतातिर सोचिहाल्नुस् ।” श्रीमानको अन्तिम सुझाव ।
हामी यस अनुपम दृश्यस्वादनपछि तल चउरमै झर्यौँ ।
चउरमा मोबाइलमा गीत घन्काएर काभ्रे डान्स डिस्को डान्स टप्पा डान्स नाचको प्रतिस्पर्धा नै चलेको छ । नाचमा एलडिओसाब पनि सामेल हुनुभयो र बैलाई जितिहाल्नुभयो ।
दौड प्रतियोगिता भयो टाकुरामा पुग्ने मैले जितिछाडेँ ।
पकाउनमा करसाबको सहयोगीले जिते ।
गोठालाहरुले हाम्रा क्रियाकलापहरु झुम्मी झुम्मी हेर्नथाले ।
बुकी फूललाई लहरे फूलले माला उइनिए र बिजेताहरुलाई एलडिओसाबले लगाइदिनुभयो ।
एकछिनको रमाइलोपछि खाना पाकिसकेकोले गोलघेरामा बसेर खानपिन शुरु भयो ।
ढिँडोमा सिन्की र गुन्द्रुक मुछी लोकल कुखुराको झोल रमाईरमाई मीठो मानी मानी सोप्र्याक-सोप्र्याक खाइयो । खानाका पारखीहरुले थपीथपी खानुभयो ।
फेरि नाचगान र कला प्रदर्शनी शुरु भयो । प्रत्येकको भिन्नभिन्न कला । कलाबिहिन कोही पनि छैन । मानौँ ईश्वरले प्रत्येकको लागि एकएक विशिष्ट विशेषता दिएरै यहाँ पठाउनुभएको हो ।
“अब जाऔँ ।” अहिले हतार गर्नमा कान्छो अघि सर्‍यो ।
“कति बज्यो ?”
“चार नाघिसक्यो ?”
“चार बजेकै छैन । दुई मात्र बज्यो ।”
“कहाँ जाउँ भनेको हो यल्ले ?”
“को हो जाउँ भन्ने ? जाउँ भन्नेलाई कडा कारवाही होओस् श्रीमान् ।” श्रीमानले केश हेर्नुपर्ने भयो ।
श्रीमान् एकछिन सोचमग्न हुनुभयो । अनि यसप्रकारको फैसला हान्नुभयोः
“वादी कान्छाले प्रतिवादी हामीहरु सबैलाई यहाँसम्म ल्याई हामी प्रत्येकको मन हरिलिएको कसूर ठहर्छ । समय दगुरेको चालै नपाउनेसम्मको अनुभूति दिलाउनु मूख्य प्रमाण हो । तसर्थ निजले पुनः हामीहरु प्रत्येकलाई अर्को पटक यहाँ ल्याएर आ-आफ्नो मन फिर्ता नगरेसम्मको लागि निजको मनलाई यही ठूलीदहमा कैद गरिदिने सजाय तोकिएको छ । साथै हामी सबैको आआफ्नो मन बिनसित्तै हराएवापत हामी सबैलाई अर्को सजाय तोकिएको छ । त्योभन्दा अघि कसैले समय हेर्न पाउनेछैन ।”
“त्यो के श्रीमान् ?” विस्मयले सबै चिच्यायौँ ।
“हामीले यस चउरमा छाडेको प्रत्येक फोहोर वस्तु कि जलाउने नजल्ने चिजहरु बोकेर आफूसंगै लैजाने ।”
“मञ्जुर श्रीमान्” कान्छो तीन बित्ता उफ्रियो । उसको आफूले मात्रै सजाय भोगेँ भन्ने डाह र पिडा एकैपटक छताछुल्ल भैदियो ।
हामी प्रत्येकले कुनै कसर बाँकि नराखी श्रीमानको सजाय शिरोपर गर्यौँ । हामीले प्रयोग गरेको चउर पहिलेकै जस्तै सफा र सुन्दर बन्न पुग्यो । हामीले भ्याएसम्मको बाँकी चउर पनि सफा गरिदियौँ ।
“अब आआफ्ना घडीहरु हेर्नुस् !”
सबैका आँखा आआफ्ना घडीहरुमा पुगे ।
हो, साँच्चिकै साढे चार बजिसकेको रहेछ ।
श्रीमानको मुद्दा छिनाइबाट हामी सबै मन्त्रमुग्ध भयौँ ।
“बर्बाद भयो ! अब आउँदाजस्तै जाँदा पनि छ घण्टा लाग्यो भने मध्यराति मात्र पुगिन्छ खलंगा ! कसैले पनि टर्चलाइटहरु बोकेका छैनौँ । त्यत्रो जङ्गल भीरपाखा छिचोल्दै कसरी पुग्ने त्यहाँसम्म !”
“जाउँ, जाउँ, जाउँ ।”
“तुरुन्तै गइहालौँ ।” सबैको अनुहार अँध्यारिएर निस्लोट भयो ।
“चिन्ता लिनुपर्दैन सर, हामी सबैलाई साँखमा गाडीको प्रबन्ध भइसकेको छ । साँखसम्म पुग्न एकडेढ घण्टा मात्र हो ।” कान्छाले ढाढस दियो ।
अब तीनबित्ता उफ्रने पालो हाम्रो थियो । हामीहरु एकेक उफ्रियौँ । सबभन्दा बढी उफ्राइ श्रीमानकै रहेछ । पुनः सबैको अनुहार उज्यालियो र सबैले भन्यौँ, “अर्काको मन बिनसित्तै हरिलिने फटाहा कान्छा !” “फटाहा कान्छा !”
हामी ढुक्कसंग साढेचार बजेतिर सिधै साँख झर्यौँ । करिब डेढ घण्टा लाग्यो सिधा ओर्लन पनि । साँख पुग्दा सम्साँझ भइसकेको थियो ।
नभन्दै हाम्रो लागि गाडीहरु तयार थिए । हामी सबै त्यस मनमोहक स्थल ठूलीदह र साँख गाउँलाई पछि पार्दै गाडी चढ्यौँ र गाडीमै ठूलीदहकै मनमोहकताका टुक्काहरु जोडेर दोहोरी खेल्दै सदरमुकामतिर रवाना भयौँ ।

रचनाकारको ब्लग : www.purnaoli.com.np

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *