कविता : माटो

~निरज थापा~niraj-thapa

माटोमै उम्रन्छ
सुनको बोट
देशको डाइमन्ड सपना।

माटो भेटेपछि नै तपाईँको घर बनिन्छ
महल बनिऩ्छ
ढुङ्गालाई अड्याएर राख्ने जिम्मेवारी पनि छ
माटोलाई
माया गरेर राख्छ कोखिलामा।

माटो खाएर हुर्कन्छ हाम्रो
फुच्चे भविश्य
देशको कोमलता बोक्छ
कठोरता बोक्छ
पानी बोक्छ
शीत,आँशु सप्पै समेटेर राख्छ मेरी बुडी बज्यैलेजस्तै
पोल्टोमा
जत्ति होस् शूलहरू
सम्हालेर राख्छ
हरियाली बोक्छ ।

थाक्दैन कहिल्यै दुख्नुदेखि
भाग्दैन संघर्षदेखि
असिनाको चडकन सहन्छ
बर्खा सहन्छ
आधी बेह्री सहन्छ
भेल सहन्छ
खहरे वैंश सहन्छ।

सपभन्दा बेसी सहन्छ झन्डा
झन्डाको लन्ठा
ग्वाम् ग्वाम् छातीमा गाडिँदा पनि चुपचाप बस्छ
नाना थरीको बुटको थर्कन सह्न्छ, तर्कन सहन्छ
जुनेली रातको शीतलता बोक्छ आँखामा
गुलाब, गुराँस, मखमली र सयपत्रीसित
अङ्कमाल गर्छ
साटाक सुटुक अन्नका परिच्छेदहरूसित म्वाइ साट्छ
धान, मकै, कोदोसित सम्भोग गर्छ
लहलह पार्छ भाल्डाङ भुल्डुङ इच्छा।
तर
देशका वासी भनाउदाहरू भने
प्रत्येक पल माटोका सौदा गरिरहेका हुन्छन्
आमा र इमान बेचिरहेका हुन्छन्
युगका दाउदहरू
संसद भवनमा माटोको सुगन्धको चर्चा होइन
लिलाम भइरहेको हुन्छ।

माटोको सुगन्धलाई पनि दुर्गन्धित् पार्छ
देशको बेश्या राजनीति
इतिहास, दर्शन, भुगोललाई माडाक् मुडुक पार्छ
माटोको कसले वासनामय बन्छ
स्विस् ब्याङ्क।
लु सोच्नोस् त!
के माटोबिना देश हुन्छ?
कि माटोबिनाको देशवासी हुन्छ?

निरज थापा, लङ्कु
हाल- सिलगढी

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *