कविता : मातृभूमिको माटो रुन्छ !

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

कसले सुन्छ ? कसले सुन्छ ?
मातृभूमिको माटो रुन्छ !
तुहिनाचलले आफ्नो छाती, च्याती, च्याती,
उर्वर साधन पारे छरवर !
स्वर्गका नव किरणहरुका फेर समाती,
मन्त्रै साधी
समाधि बाँधी—
वर्षा, वज्र, विजुलीहरुका मन्त्रोच्चारणहरुले बाँधी,
नटिनीहरुकन बोक्न लगाए, भारी लादी,
छरछर भन्दै वरपर, वरपर,
छालहरुका करले छरवर,
भविष्यको एक लहलह स्वपना कल्पिरहेथे ती तुहिनाकर,
सिर्जी पहिलो मानवजाति
विस्तीर्ण क्षेत्र दी भाँति, भाँति !
गर, गर भन्छन्, रोप, फलाऊ
बाली सुनौला धनका जाति
तर हा ! अझ तक यस नेपाली मृत्तिकाको जादू कुहुन्छ !
कसले सुन्छ ? कसले सुन्छ ?
मातृभूमिको माटो रुन्छ !
हिमाल यिनै हुन्, सेता, बूढा !
मानवका रे पहिला पिता !
तिनको छाती चूर, चूर हुन्छ !
मातृभूमिको माटो रुन्छ !
नेपाली ए ! इन्द्रिय–सकुशल !
प्रथम पुत्र ए मानवपिताका !
अलमल ! अलमल !
छाया लिएनौ किन चुचुराका ?
झलमल ! झलमल !
हिमाल पिता छन् दृगमा टलबल !
आँशु उनको बगिरहेछ !
माली बगैँचा ठगिरहेछ !
कुटो लिने कुन सपूत रहन्छ?
मातृभूमिको माटो रुन्छ !
सुन्छु बराबर मुर्दा राती !
चिच्च्याईकन एकास्सि,
उठ्छ कराई स्वदेशी माटी !
प्रथम क्षेत्र यो, पहिलो आली—
एशियाली उरको मुटुझैं
पहिलो जिउँदो ढुकढुक खालि !
सम्भावना सब पाद–दलितले
उठ्छ बराबर कोकोलो हाली !
अद्र्धरातमा, मध्यरातमा,
सूनसानको पर्दा डाली,
मुर्दा सदृश जब सुत्छन्, अलसी
श्याउपरमा नेपाली !
माटो यो छ पहिलो किरणको टकवाला !
दुनियाँ पोस्ने शक्ति भएको
यस्तो सुनको टुक्रोका ए हकवाला !
यस माटाका ए धनी हो !
यस्तो जमीन !
अफसोस तिमी छौ यस्ता हीन
यस्ता दीन !
यस माटोमा आँसु चुहुन्छ !
मातृभूमिको माटो रुन्छ !
आज हाम्रो औंसी रात छ !
उपत्यका सब गर्त अगाध छ !
पर्वत निष्ठुर अन्याय प्रतीक !
कोपिलैमा पूmल कुहुन्छ !
मातृभूमिको माटो रुन्छ !
बाँझहरुका आशामुख सब बीज सडे, बीज मरे !
घर बन्दैन !
आगो ताप्ने हुन्न भरे !
चिसो हिउँदले खाला देश !
तर हा ! कसले बिउँझी सुन्छ ?
मातृभूमिको माटो रुन्छ !
यस माटाका हुङ्कारहरुले
बीचबीचमा थक्र्यो विश्व !
जिल्ल परेका अन्य जातिले
हेरे चौँकी, जादू अवश्य !
दूर, दूर, तक बास्ना बराबर
पुराना हवामा फैलेर
आश्चर्यान्वित देशहरुले
अझ सोध्दै छन् जिल्लेर
आवादी पनि उजाड बनीकन
आज बरफ सहन्छ !
कसले सुन्छ ? कसले सुन्छ ?
मातृभूमिको माटो रुन्छ !
विधिले हेर ! चक्र चलाए,
यस माटोले मूर्ति बनाए,
भीम !
भटमास चपाई, दाउरा भारी शिरमा लादी, अधमर नर त्यो,
स्याउला बाँधी,
ठिठुरी, काँपी कठयाङ्ग्री, काँधी,
सात कोसका दूरी साधी,
(शिकार इरोजनहरुको ज्यादी),
नशाहरुको डोरो बटारी,
मस्तिष्कका सब स्नायु मसिना तानी, फारी,
दुःखको भर्छ भकारी,
कर्कलखुट्टी भन्टयाङ भुन्छुङ, पहेंला, रोगी,
जहान सह्यारी,
भोका मुख सब ! भोका मुख !
तिम्रा द्धार चहारी !
कत्रो शक्ति असीम !
त्यसका चिथराबाट चिहाउँछ युगको आँखा,
त्यसको अमुखर हृदय रुन्छ
कविको भाखा !
एउटा भीम कुहुन्छ !
मातृभूमिको माटो रुन्छ !
झ्याउरे त्यो, झुस्स सुकेको,
पारिवारिक प्रलय सधैभर डरमा लुकेको,
समाज अगाडि नझुकेको,
कवि वा कलाकार !
लेखन–व्यापार !
दिव्य स्फुलिङ्ग सेलाइरहेको जीवनसँगमा, दारु नदारत,
क्षय–वमिार !
आफ्नै बालक बलि खाएर, ज्वलित अन्तरको नित खार !
उपहासित नित,
रात्रिपराजित,
काँच बनेको दृष्टिद्धार !
क्रूर व्यवस्थाहरुको जसले बोक्दछ ढाड–भाँचा
निष्ठुर भार !
त्यसमा स्वर्गिक किरण छ छटपट, छटपछ, छटपट !
प्राणहरुसँग फटफट हुन्छ !
मातृभूमिको माटो रुन्छ !
दलित सनातन, ज्वलित सनातन,
स्तर, स्तर तल्ला ।
कृमिका मैला सहवासी,
मरिरहेछन् काम गरी, गरी,
यस युगमा ती उपवासी ।
एक नरकको खल्तीभित्र जुत्ता गाँसी,
लकडी ताछी,
रोई, हाँसी,
सियो निकासी, माटो छाँसी,
मलभारोले गर्धन मासी !
एक हवाले तिनको अन्तर–चीत्कारहरुको कथा कहन्छ ।
कसले सुन्छ ? कसले सुन्छ ?
मातृभमिको माटो रुन्छ !
चौघडाले बच्चा काढ्छन्, बच्चा काढ्छन् ।
सुकेनासले नाना फार्छन्, नाना फार्छन् ।
अगणित एउटा बालकहरुको पहेँलो ताँती
घ्यारघ्यारहरुको गलाको ड्रम ली,
यस युगपथमा रणको नकली, खेल गरीकन बिलसन्छ ।
कसले सुन्छ ? कसले सन्छ ?
मातृभूमिको माटो रुन्छ !
सारा मानिस सुतिरहेछन् !
सारा आत्मा घुर्छन् मस्त !
मध्यरातमा जागा कवि छ !
यस क्रन्दनले बन्दछ ग्रस्त !
उसको मुटुको गाँठो केवल
जसले फुहुन्छ, जसले फुहुन्छ !
कसले सुन्छ ? कसले सुन्छ ?
मातृभूमिको माटो रुन्छ !

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.