कविता : पहराको साँघुरो बाटोमा

~मनु मन्जिल~manu-manjil

पहराको साँघुरो बाटोमा
हजुरसित भेट भएथ्यो …. !
सोचेको थें– हाम्रो भेट
कुनै सहरतिर हुन्छ होला
सोचेको थें– हाम्रो भेट
गाउँतिर हुन्छ होला !

मैले त चौतारो सोचेको थें
कुनै देउराली सोचेको थें
नभए सपनामा भेटूँला
नभए सम्झनामा भेटूँला ….. !
तर, कहिल्यै नसोचेको
पहराको साँघुरो बाटोमा
हजुरसित भेट भएथ्यो !

बाटो साँघुरो भएरै
हजुरलाई छुन पाइयो
यस्सो पन्छिएर …. हजुरको यात्रालाई
बाटो दिन पाइयो !
बाटो साँघुरो भएरै हजुरसँग एक क्षण
सँगै उभिन पाइयो
हजुरलाई भेट्ने कत्रो रहर मेरो
पूरा गर्न पाइयो ।

जीवनमा चौडा सडक नै
जम्मै यात्रा होइन
जीवनमा खुला मैदान मात्रै
खुसीको परिभाषा होइन !
जस्तो कि पहराको साँघुरो बाटोमा
हजुरसित भेट भएथ्यो ……
अनेक फराक संसारमा जो
कहिल्यै सम्भव भएन !
०००

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.