स्रष्टा परिचय : भाषिक कालको विश्लेषणमा डा. तिमल्सिना

~नवराज लम्साल~dr-mohan-timilsina

डा. मोहन तिमल्सिना संस्कृत भाषाका ज्ञाता, अङ्ग्रेजीका अध्येता र नेपाली भाषासाहित्यका प्राध्यापक हुन् । खरा र नीडरपनाका डा. तिमल्सिनासँग जति मात्रामा व्याकरणगत चेतना र भावगम्भीरताको सूक्ष्म अध्ययन छ, त्यति नै मात्रामा काव्यिक कोमलता र भाषा वैज्ञानिक दक्षता छ । भाषिक कालको विश्लेषण नामको अनुसन्धानात्मक ग्रन्थ प्रकाशन गरेर उनले आफ्नो अध्ययनशील र अन्वेषक व्यक्तित्वको पाटो सार्वजनिक गरेका छन् । उनले व्याकरणका क्षेत्रमा अत्यन्त जटिल, कठिन र गहन मानिने भाषिक कालको विवेचनासम्बन्धी नवीनतम क्षितिजको उद्घाटनमा ‘उल्लेखनीय योगदान’ (प्रा.डा. रामचन्द्र लम्साल, भाषिक कालको विश्लेषण भूमिका) गरेका छन् ।

काल – ‘वर्ष, महिना, बार, दिन, रात, घडी आदिका रूपमा गणना हुने दुई घटना वा क्रियाका बीचको समय, बेला, बखत, अवधि, टाइम वा मौसम’ (नेपाली बृहत् शब्दकोश) हो । भाषामा तिनको प्रयोजन्य, परिमार्जित र प्रवाहमान समयक्रम छ र रहन्छ । साथै काल भन्नाले ‘व्याकरणमा कर्म वा अवस्थाका समयलाई बोध गराउने क्रियामा रूप वा रूपावलि (भूत, वर्तमान र भविष्यत)’ (नेपाली बृहत् शब्दकोश) पनि हो । यी बाहेक कालका विविध रूप र परिभाषा छन् तर डा. तिमल्सिनाले भाषिक कालको विश्लेषण भनेर एकातिर भाषाको काल क्रमिक विकास, विस्तार, विविधता र विकासक्रमलाई देखाएका छन् त अर्कोतिर क्रियाकै कालको विविध रूपले व्याख्या गरेका छन् । संस्कृत भाषाको समेत गम्भीर अध्येता डा. तिमल्सिनाले संस्कृत, नेपाली र दुवैको छुट्टाछुट्टै र मिश्रति अध्ययन गरेका छन् । एकै छानामुनि भएको विचारको बग्रेल्ती प्रयोगले भाषिक ज्ञानका Nabaraj Lamsalपीपासुहरूलाई प्रशस्त खुराक दिएका छन् । प्रस्तुत आलेख तिनै सन्दर्भहरूमाथि केन्द्रित हुनेछ ।

डा. तिमल्सिनाको संस्कृत मोह अलि बढी देखिन्छ र संस्कृत भाषिक कालक्रम र त्यसको सेरोफेरोबाट अध्ययन आरम्भ गरेको पाइन्छ । व्याकरणगत प्रयोजनको उद्देश्य भएर पनि होला प्रस्तुत ग्रन्थको उठान नै व्याकरण परम्पराबाट भएको छ र अझ संस्कृत व्याकरण परम्पराबाटै उनले यो गम्भीर अध्ययन आरम्भ गरेका छन् तर यसमा भने उनको संस्कृत मोहले मात्र काम गरेको छैन । किनभने ‘संस्कृत वाङ्मयको भण्डार दक्षिण एसियामा पहिले फेला परेको हो । यहाँ फेला परेको संस्कृत भाषा एकनासको छैन । पाणिनिको अष्टाध्यायीमा नै संस्कृत भाषा मूलतः दुई किसिमको भएको उल्लेख छ । तिनीहरूमध्ये एउटा भेदको नाम वैदिक र अर्को भेदको नाम भाषा मात्र लेखिएको छ ।’ (प्रा.डा. माधवप्रसाद पोखरेल-शब्द सन्दोह भूमिका) संस्कृत र विश्वकै भाषामा त्यसले पारेको सीधा प्रभाव जानेका डा. तिमल्सिनाले संस्कृत भाषाको भाषिक पक्षका विभिन्न कोटिको चर्चालाई ३ भागमा वर्गीकरण गरेका छन् । उनले किटान गरेका छन् -‘भाषाका प्रत्येक कोटिका सबै व्याकरणिक पक्षको साङ्गोपाङ्ग वर्णन गरी व्याकरणात्मक कृति लेखन गर्ने प्रथम व्यक्ति भने पाणिनि नै हुन् । (भाषिक कालको विश्लेषण-पृष्ठ ५) पाणिनिले अष्टाध्यायीमा आफूपूर्व १० जना वैयाकरणिक भएको उल्लेख गरेका छन् तर डा. तिमल्सिनाले भाषिक कालको विश्लेषण ग्रन्थमार्फत त्यसबाहेक कतै तेह्र, कतै पन्ध्र जना वैयाकरणिक भएको उल्लेख गरेका छन् । उनको अध्ययन ३ भागमा विभक्त छ । १. पाणिनिपूर्व काल २. पाणिनि काल र ३. उत्तरपाणिनि काल ।

डा. तिमल्सिनाले पाणिनिपूर्व कालमा पाणिनिले उल्लेख गरेका र नगरेका सबै खाले वैयाकरणको चर्चा गरेका छन् । ई.पू. ७०० पूर्वको समयलाई उनले पाणिनिपूर्व काल तोकेका छन् र त्यतिखेरको वैयाकरणको चर्चा गर्दा इन्द्रसम्म पुगेका छन् । उनले इन्द्रको समय ई.पू. ८४४३ तिर भनेर सङ्केत गरेका छन् । वृहस्पतिले इन्द्रलाई पढाएको भनेर अझ त्यसभन्दा अघिकै समय परम्परालाई सङ्केत गर्न खोज्नु र अध्ययनको क्षितिज उघार्न खोज्नु पनि उनको अर्को विशेषता देखिन्छ । उनको अध्ययनमा वायु, भरद्वाज, भागुरि, पौष्करसादि, चारायण, काशकृत्स्न, वैयाघ्रपद्य, माध्यन्दिनि, रौढि, शौनकि, गौतम र व्यादिसम्मको समय आँकलन, योगदान र यथासम्भव परिचयसमेत उल्लेख गरेका छन् । पाणिनिले उल्लेख नगरेका थप १० वैयाकरणिकको समेत उनले चर्चा गरेका छन् । पाणिनिपूर्व काल भनेर पाणिनिभन्दा पहिलेको समयलाई तोकेका छन् । मानव सभ्यताको त्यो कालखण्ड आफैँमा रहस्य र उत्सुकताले भरिएको छ । तिनले प्रयोग गर्ने भाषा, भाषिक प्रयोग र त्यसको कालक्रमिक विकास, खोजी र अन्वेषणको पाटो अनन्त भोलिहरूसम्मका लागि त्यत्तिकै चाखको विषय हुनेछ । डा. तिमल्सिनाले ती सम्भावना देखाउने जमर्को गर्दै मूल विषयतिर आफूलाई केन्द्रित गरेका छन् ।

उनले पाणिनिकाललाई त्रिमुनि काल पनि भनेका छन् र यो समय खण्ड ई.पू. ७००देखि १५० सम्म तोकेका छन् । पाणिनिको योगदान संस्कृत भाषाका लागि मात्र नभएर विश्वमानव सभ्यताकै लागि स्तुत्य छ । पाणिनिको अष्टाध्यायी, कात्यायनको वार्तिक र पतञ्जलिको महाभाष्य मानवमात्रका अमूल्य निधि हुन् । डा. तिमल्सिनाले तिनको अत्यन्त मीठो तरिकाले यथायोग्य वर्णन गरेका छन् । जुन परम्पराबाट भाषिक गङ्गा निरन्तर प्रवाहित छ, त्यसलाई बिर्सेर कुनै खोज र अनुसन्धान हुन सक्तैन । यही ठम्याइको धरातलमा उभिएका छन् डा. तिमल्सिना ।

संस्कृत वाङ्मयको सुदीर्घ परम्परा छ । सुकिलो चेतना र तत्सम्बन्धी तथ्यपरक विषय विश्लेषणका अनन्त द्वारहरू छन् । जहाँबाट पसे पनि त्यही उज्यालोको सुकिलो मुस्लोमा पुगिन्छ र हृदयको कालोमैलो मेटिन्छ । रसिकहरूका लागि रसको कमी हुन्न र अन्वेषकहरूका लागि अन्वेषणको कुमारी मैदान भेटिन्छ तर यो विराट ज्ञानभडार संस्कृतमा संस्कृत शब्दकै प्रयोग भने निकै पछि भएको पाइन्छ । संस्कृत शब्द सबभन्दा पहिले वाल्मीकि रामायणमा प्रयोग भएको पाइन्छ । त्यो भन्दा पहिले भाषा बुझाउने अर्थमा प्रयोग हुने संस्कृत शब्द संस्कृत वाङ्मयमै कतै प्रयोग पाइँदैन । पाणिनिको व्याकरण बनेपछिमात्र प्रस्तुत भाषालाई संस्कृत र प्राकृत गरी दुई भागमा लगाउने चलन चलेको अड्कल गर्न सकिन्छ । त्यसपछि पाणिनीय व्याकरणअनुसार सिद्ध भएका शब्द र वाक्य मात्र प्रयोग भएको भाषाचाहिँ संस्कृत अनि पाणिनीय व्याकरण अनुसार सिद्ध नभएका शब्द र वाक्य प्रयोग हुने भाषिक भेदचाहिँ प्राकृत भन्ने कोटि बनेको हुनुपर्छ ।’ (प्रा.डा. माधवप्रसाद पोखरेल-शब्द सन्दोह भूमिका) डा.तिमल्सिनाले यिनै संस्कृत सन्दर्भ, उपादेयता, उपलब्धि र योगदानको कोणबाट भाषिक कालक्रमको अध्ययन अघि बढाएका छन् । डा. तिमल्सिनाको अध्ययन निकै फराक देखिन्छ । भाषिककाल क्रमको अध्ययन गर्दा संस्कृत भाषाको मैदान टेकेर जैन व्याकरण परम्परा, बौद्ध व्याकरण परम्परा, पाणिनि सम्प्रदाय र अन्य सन्दर्भको पनि समीचीन चर्चा गरेका छन् । पाणिनिको लकार, त्यसको प्रयोग र त्यसैबाट सिद्ध र स्थिर भएको संस्कृत भाषा । पाणिनिको लकार लट् लिट् लुट् लृट् लेट् लोट् लङ लिङ लुङ् र लृङ् भनेर पढिन्छ । भाषिक क्रियाको कालको व्यवस्थामा यी लकार र यिनले गर्ने समय सङ्केतलाई पाणिनिले प्रष्ट्याएका छन् । यो निकै वैज्ञानिक मानिन्छ पनि । कतिपयले यो व्याकरण सूत्रलाई आजको कम्प्युटर पद्धतिका लागि सजिलो बाटोसमेत भनेका छन् । केही पश्चिमी विश्वविद्यालयमा आज पनि संस्कृत अध्ययन र अन्वेषण गम्भीरतापूर्वक हुने गरेको छ । यही महत्व बुझेका डा. तिमल्सिनाले केस्रा केलाएर गैह्रसंस्कृतपाठीहरूका लागि पनि अध्ययनको सहज बाटो दिएका छन् ।

अष्टाध्यायी व्याकरणले संस्कृत भाषा स्थिर गरेपछि प्राकृत भाषाहरू प्रारम्भ भएको मानिन्छ । ‘बोलचालका त्यस्ता अनेक प्राकृत भाषा १०औँ शताब्दीतिर नेपाली, हिन्दी, काश्मिरी, पञ्जाबी, गुजराती, मराठी, राजस्थानी, मैथिली, भोजपुरी, अवधि, उडिया, बङ्गाली र असमियाँजस्ता आधुनिक भाषाहरूमा विकसित भएका हुन् ।'(प्रा.डा. माधवप्रसाद पोखरेल)

सर विलियम जोन्स (१७८६)ले संस्कृत भाषाका शब्द र व्याकरण, गि्रसेली, ल्याटिन, जर्मनेली र फारसीजस्ता भाषाहरू एउटै माउ भाषाका सन्तान भएको सिद्धान्त स्थापना गरेपछि माउ भाषाको नाम भारोपेली राखिएको छ । फलस्वरूप आज भाषा विज्ञानमा संस्कृत, गि्रक, ल्याटिन, लिथुआनियाली, आर्मोनियाली आदि युरोपेली भाषाहरू संस्कृत भाषाका भगिनी भाषा मानिन्छन् । (प्रा.डा. माधवप्रसाद पोखरेल) यति महìवपूर्ण संस्कृत भाषा र भाषिक अध्ययनको जटिलता मानिने कालको विश्लेषणमा डा. तिमल्सिनाले सीप र कौशल देखाएका छन् ।

प्राध्यापनको लामो अनुभव र अन्वेषण चेतना धर्मले वष्तुनिष्ठ सीप आर्जेका डा. तिमल्सिनाले भाषिक कालको विश्लेषणमा संस्कृत भाषाको कालक्रम हुँदै नेपाली भाषिक कालक्रमको पनि स्पष्ट चिरफार गरेका छन् । झण्डै साढे तीन सय पृष्ठको आकर्षक पुस्तकमा नेपाली व्याकरण परम्पराको गुदी खोतलेका छन् । जे ए एटनको नेपाली भाषाको व्याकरणलाई नै सबै विद्वान्हरूले जस्तै उनले पनि नेपाली व्याकरण लेखन परम्पराको प्रस्थान बिन्दु मानेका छन् । नेपाली व्याकरणलेखनको थालनी स्वदेशी विद्वान्बाट नभएर विदेशीबाट भएकोमा उनको मन खिसि्रक्क भएकै पाइन्छ तर उनले यसलाई नेपाली व्याकरणलेखनको सिरान भनेर स्वीकारेका छन् र भनेका छन् – नेपाली भाषाका व्याकरणात्मक मान्यताहरू के कति प्रकारले भाषिक क्रियाका कालगत रूपमा प्रवाहित भएका छन्, ती सबैलाई आवश्यक मात्रामा नेपालीव्याकरण परम्परामा नै समावेश गर्नुपर्ने हुन्छ ।

डा. तिमल्सिनाले नेपाली व्याकरण परम्पराको अध्ययनका लागि नेपाली भाषाकै काल विभाजन र तिनको सविस्तार वर्णन गरेका छन् । उनले शीलालेखन, ताम्रपत्रलेखन र भोजपत्र लेखनकालीन भाषा हुँदै आधुनिक ज्ञानविज्ञान, सूचना-सञ्चार र अन्य प्राविधिक शब्दसज्जासमेतको समृद्ध नेपाली भाषाको कालक्रमको वर्णन गरेका छन् । यी सबैमा व्याकरणिक आलोक अध्ययनको चेष्टा गरेका छन् र त्यसमा सफल पनि देखिन्छन् । उनका अनुसार प्राचीन काल विसं १०३८ को सउँपाल अडैको शीलालेखबाट सुरू हुन्छ । अनि १५५० को विवोष शाहीको ताम्रपत्र, १३१२ को सउन्त कार्कीको शीलालेख, १३३७ को अक्षय मल्लको शीलालेख, १३७३-७८ को आदित्य मल्लको ताम्रपत्र, १३९३ र १३९४ को पुण्य मल्लको ताम्रपत्र र कनकपत्र र १४०६ को पृथ्वी मल्लको ताम्रपत्रका भाषिक नमुनाभित्र उनले कुनै व्यारकणात्मक सचेतता भेटेनन् । भाषिक विकास चाहिँ भएको तर व्याकरणात्मक चेतना नभएको समय भनेर उनले त्यो समयको वि.सं. १४०९ को निरपालको ताम्रपत्र १४१३ र १४१४ को पृथ्वी मल्लको कनकपत्र र ताम्रपत्र, १४२४ को सूर्य मल्लको ताम्रपत्र, १४१४ को नाग मल्लको ताम्रपत्र र १४४६ को मलय वर्माको ताम्रपत्रसम्मको सन्दर्भ उल्लेख गरेका छन् ।

डा. तिमल्सिनाले १५५० मा लिखित विवोष शाहीको ताम्रपत्रबाट १९५८ मा प्रकाशित गोरखापत्रपूर्वको समयलाई नेपाली भाषाको माध्यामिक काल मानेका छन् । १५५० तिर भनी अनुमान गरिएको ‘राजा गगनिराजको यात्रा’ नामक कृतिलाई उनले नेपाली भाषाको पहिलो मौलिक कृति मानेका छन् । यसै कालका भानुदत्त, शक्तिबल्लभ, भानुभक्त आचार्य र मोतीराम भट्टजस्ता स्रष्टासर्जकको नाम उल्लेख गरेर डा.तिमल्सिनाले यस समयको नेपाली भाषाले गद्यलेखन, पद्यलेखन, लोकलयबद्धलेखन र महाकाव्यलेखन समेतमा सफलता प्राप्त गरी नेपाली भाषा समृद्ध भएकोमा गौरव गरेका छन् तर त्यहीँ पनि व्याकरणात्मक हेराइमा सशक्तता पाएका छैनन् । उनको अध्ययनको निचोड यही हो । उनी भन्छन् – यतिखेर पनि पाणिनीय व्याकरण परम्परा नै यस समयको नेपाली व्याकरणको स्थापत्य हो । उनले ग्रन्थ लेखन क्रममा संस्कृत अध्ययनमाथि खर्चेको समय यहीँ आएर पुष्टि हुन्छ । त्यो संस्कृत अन्वेषणीय चेतना नभएको भए यो ठम्याइ र निर्क्यौल नहुन सक्थ्यो ।

डा. तिमल्सिनाले एटनको व्याकरणलाई व्याकरणहीन यसै समयको उपज मानेका छन् । यतिखेर भाषिक क्रियाको कालको सम्बन्धमा खासै अध्ययन भएको छैन तर कालको चर्चासम्म छ । कालको पक्ष र भाव निर्धारणका सम्बन्धमा कुनै किटानी छैन । आदिकवि समेत मानिएका भानुभक्त आचार्यले -खर अक्षर पर भै बिसर्ग तिमीले क्याले गर्‍यौ लाप भनी ! जस्ता प्रश्न गरेर पाणिनीय व्याकरण परम्पराकै बिँडो थामे र भाषा विकासको गतिमा व्याकरणको कुनै इज्जत देखिएन । बि.सं. १९५८ मा गोरखापत्र प्रकाशनपछिको समयलाई उनले नेपाली भाषा प्रचारप्रसारको समय भनेका छन् । सुन्दरी, माधवीजस्ता पत्रिका र प्रवासबाट प्रकाशित अन्य कतिपय पत्रपत्रिकाको सन्दर्भ जोडेर उनले त्यही समय खण्डबाट नेपाली भाषाको आधुनिक काल प्रारम्भ भएको मानेका छन् । समय विभाजन र समयगत चरित्र चित्रणमा अरू विद्वान्हरू र उनमा त्यति फरक भेटिन्न तर उनले भाषिक कालका आधारमा गर्न खोजेको विश्लेषण भने फरक छ । उनले सबै कालखण्डको भाषिक चरित्रको विशेष वर्णन गरेका छन् । उनले बुँदागतरूपमा ती सबै चरित्र प्रष्ट्याएर व्याकरण अध्ययनको वैधानिक बाटो खोजेका छन् ।

डा. तिमल्सिनाले आफूसँग भएको समालोचकीय चेतना र लामो समयको प्राध्यापनको अनुभवलाई पनि यहाँ भरपुर प्रयोग गरेका छन् । भाषा, यसको अन्य पक्षसँगको सम्बन्ध र विकासक्रमको अध्ययन निकै सशक्त लाग्छ । पुस्तकको शीर्षकले नै सङ्केत गरेको क्रियाको काल, पक्ष, भाव र तिनका अन्तर्सम्बन्धमाथि उनी होशियार देखिन्छन् । संस्कृत भाषाको लकार व्यवस्थाका अतिरिक्त धातु व्यवस्था, वर्गीकरण र अर्थविचारमाथि पनि विशेष विचार गरेका छन् । यसरी संस्कृत परम्पराको अध्ययन गर्दागर्दै नेपाली व्याकरणको काल अवधारणामा पाश्चात्य प्रभावलाई पनि खोतल्न भ्याएका छन् । त्यसो त चन्द्रिका व्याकरण वा नेपाली भाषामा लेखिएका एटन पछिका अधिकांश व्याकरणलाई स्पर्श गर्दै र आवश्यकताअनुरूप त्यसमा डुब्दै र तैरँदै किनारा खोज्ने कोसिस गरेका छन् । उनको चतुर्‍याइँ त्यहीँ छ र अध्ययनको सार पनि त्यहीँ लुकेको छ । नेपाली भाषाका विद्यार्थी र पाठकहरूले यसमा उहाँका सम्बन्धित विचार र विश्लेषणको परिचय पाउने छन् । (प्रा.डा. माधवप्रसाद पोखरेल) नेपाली वाङ्मयको परिप्रेक्ष्यमा भाषिक कालसम्बन्धी विस्तृत चर्चा तथा तिनका विविध आयामहरूको यथोचित विश्लेषण र विवेचन प्रस्तुत ग्रन्थको अनन्य वैशिष्ट्य हो । (प्रा.डा. रामचन्द्र लम्साल)

कालशब्द प्रकृतिप्रत्यय निष्पन्न शब्द हो । निमेषदेखि लिएर कल्पसम्मको काल विभागको गणना गरिने अर्थमा रहेको कल धातुबाटै काल शब्द निष्पन्न हुने हो । ……. क्रिया भेदबाट मात्र काल भेद हुन्छ भन्ने मतलाई पनि संस्कृत व्याकरणले अङ्गीकार गरेको छ । ……….. त्यसैले आधुनिक भाषाशास्त्रीहरूद्वारा प्रतिस्थापित कालको भूत र अभूतसम्बन्धी मान्यता संस्कृत व्याकरणको वैदिक कालबाटै प्रारम्भ भएको धारणा हो । (प्रा.डा. मोहनप्रसाद तिमल्सिना)

काल, पक्ष र भाव वा अर्थ एकअर्काका परिपूरक र अन्योन्याश्रीत शब्दहरू हुन् । भाषिक क्रियाका कालको चर्चा गर्ने क्रममा यी तीनवटैको स्पष्ट अवधारणा नबनेसम्म कालको विश्लेषण अपूरो बन्दछ । बाहिरी रूपमा काल, पक्ष र भाव (अर्थ) समान देखिए पनि यी तीनैमा प्रशस्त भिन्नता पनि छन् । एकै शब्दमा भन्नुपर्दा काल भाषिक क्रियाको बाहिरी आवरण हो भने पक्ष र भाव भाषिक क्रियाका आन्तरिक कलेवर हुन् । वक्ताको कथनसमयका धरातलमा खडा भएर, भनिएको क्रिया घटेको समयको सापेक्षतामा निर्माण हुने वा निर्धारण गरिने समयबिन्दु नै काल हो । डा. तिमल्सिनाको थप भनाइ छ – नेपाली व्याकरणको कालनिर्धारण परम्परामा पाश्चात्य प्रभाव पनि परेको भेटिन्छ । विशेष गरी भूत, वर्तमान र भविष्यत्कालका विभिन्न पक्षको विश्लेषण र तिनको निर्धारणलगायत सबै पक्षका सामान्यार्थ, विध्यार्थ, सम्भावनार्थ, अनिश्चयार्थ, प्रश्नार्थ र सङ्केतार्थ आदिका चर्चाका प्रसङ्गमा परम्परागत अङ्ग्रेजी व्याकरणको प्रत्यक्ष वा परोक्ष प्रभाव परेको छ र संयुक्त क्रियाको निर्धारणमा पनि यसले आंशिक भूमिका खेलेको छ । यसरी डा. तिमल्सिनाले अध्ययनको सीमा फराक बनाएका छन् । एकै ग्रन्थमा यति धेरै विषयको चाङ नलगाएर पुस्तकलाई नै तीन भागमा बाँडेर अलगअलग तीन पुस्तकका रूपमा प्रस्तुत हुन सक्ने विषय सामग्रीहरू छन् तर एकै थलोमा समग्रता दिने लेखकीय कोसिस हुनुपर्छ यो । कतैकतै बग्दै गएको एउटा सन्दर्भलाई टक्क छोडेर अर्को विषय पक्रने र यसको चर्चा गर्नु उपयुक्त होला भनेर विषय बदल्ने क्रमले पाठकलाई असजिलो पार्छ तर त्यो बदलिएको क्रम जब मूल विषयमा आएर जोडिन्छ त्यतिखेर पाठक खुसी हुन्छ । व्याकरण अध्ययन अलि नीरस मानिने सत्य बुझेका लेखकले भाषिक इतिहास, विश्लेषण र तुलनात्मक अध्ययनलाई हाराहारी र बराबरी ठाउँ दिएकाले पुस्तक रुचिपूर्ण पनि लाग्छ ।

जीवनको लामो समय प्राध्यापनमा बिताएका र सामाजिक संघसंस्था र व्यावसायिक संगठनहरूमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरिसकेको हुनाले पनि व्यक्तिको त्यो अनुभवको गुरुत्तर छायाले उनलाई झस्काइरहेको हुनुपर्छ । आफ्नै विद्यार्थीहरूलाई, भाषा साहित्यका रसिकहरूलाई र थप अन्वेषण र अनुसन्धान गर्न चाहनेहरूका लागि नेपाली वाङ्मयमा यो अर्को एउटा महत्त्वपूर्ण प्राप्ति हो र उनी आफैँलाई पनि अरू थप कृतिका लागि यही पुस्तक र यसको प्रतिक्रियाले अझ बढी घच्घच्याओस् भन्ने मेरो कामना छ । प्रा.डा.मोहनप्रसाद तिमल्सिना र उनको प्रस्तुत कृति दुवै हाम्रा निधि हुन् । उनले भनेका छन् – नेपाली भाषाको भाषिक काल निरूपणका क्षेत्रमा देखापर्ने यावत् समस्याको निराकरण हुने गरी यथाशक्य ठोस र वस्तुनिष्ठ परिचय, विश्लेषण र वर्गीकरणका साथ प्रस्तुत कृति पाठक समक्ष प्रस्तुत गर्ने आँट देखाएको छु । उनको यो आँट अठोट, सङ्कल्प र अभिलाषा बन्नेछ र एउटा परिपक्व र विशिष्ट प्राध्यापकको लेखनीबाट नेपाली विद्वत् समाज र वाङ्मयले धेरै कुरा पाउने छ भन्ने कुरामा सुकिलो विश्वास गर्न सकिन्छ ।

mrsukhadukha@gmail.com

सन्दर्भ ग्रन्थसूचीः

१, comrie, bernart, aspect, cambridge university pubilshers-1976
२, comrie, bernart, तभलकभ, cambridge university pubilshers -1985
३. तिमल्सिना डा.मोहनप्रसाद, भाषिक कालको विश्लेषण
४. पण्डित हेमराज – चन्द्रिका दोस्रो संस्करण, साझा प्रकाशन, काठमाडौँ, २०५०
५. सिग्देल सोमनाथ- मध्यचन्द्रिका, आठौँ संस्करण, साझा प्रकाशन, काठमाडौँ, २०५१
६. मीमांसक युधिष्ठिर, संस्कृत व्याकरण शास्त्रका इतिहास (भाग १) चतुर्थ संस्करण, भारतीय सहित्य सदन भवन, लाइब्रेरी रोड, दिल्ली, वि.सं. २०४१

(स्रोत : मधुपर्क २०६८ साउन)

This entry was posted in स्रष्टा परिचय and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *