कथा : ऊनि , म र पौल्सर

~रजित ओझा~Rajit Ojha

ट्राफिक सिग्नल जस्तै थियो उनको लिपस्टिक पनी, परै बाट रातो ! किन दल्छन् केटीहरु यती धेरै लिपस्टिक ? कृत्रिमता, कृत्रिमता अनी मात्र कृत्रिमता !!! म छक्क पर्छु !

“अहो मनोज सर, आरामै ?” उसले म कुर्सिमा बस्ने बित्तिकै अनायासै मुस्कुराउँदै भनी । अहँ तिमीलाई देखे पछि फेरी मेरो ब्लड प्रेसर बढ़न थाल्यो भन्न मन लागेको थियो तर सकीन ……..

“हेर्नुस न हिजो भर्खर काभ्रे फिल्ड पुगेर आएको, खुट्टा सुन्नीएर मेरो त बिजोग भयो नी मनोज सर!” उसले मलाई फेरी पनि बोल्ने मौका दिईन ।पेशा ले उ एउटा इन्भाइरोमेन्टलीस्ट र म इन्जीनीयर । उसलाई जती फिल्ड जाँदाको अनुभव छ, मलाई पनी छ ! तर पनि उसले सुन्निएको खुट्टा देखाउन मलाई खुट्टा तेर्स्याइ, किन हो थाहा छैन……..

“स्यान्डल राम्रो छ !” म सीधै पोइन्ट म आएँ, आखिरमा उसले खोजेको पनि त्यही हो क्यारे ! अनी मलाई काम पनि त गर्नु छ ।

“हेर्नुस न मेरो वहाँ ले अस्ती मेरो बर्थडे मा गिफ्ट दिनु भएको तर मलाई त कलर मनै परेन, धन्न मलाई जे पनि सुट गर्छ र मात्रै !”

कस्तो ओभरकन्फीडेन्स, म मनमनै मुस्कुराएँ ……….

“शीला मलाई थोरै काम गर्नुछ, एकछीन पछी गफ गरौंला नी हुन्न ?”

“हुन्छ नि, किन नहुनु !”

शायद उसको मसंग को गफ को कोटा सिद्धिएको थियो, आजलाई ! म काम मा ब्यस्त भएँ, ऊ भने अर्को कुनै कुर्सी चाहार्न तीर लागी, अर्को श्रोता को खोजिमा……….

“मनोज सर, आज त निकै चीटीक्क परेर आउनु भएछ नि ! भाउजुले धेरै मेहेनत गर्न थाल्नु भएछ अचेल तपाईको सरसफाइमा ! कान्छी ल्याउनुहुन्छ भन्ने पनि डर नभै ……”

“किन तिम्रो बुढो झुम्रे भएर हिंडछ र ?” मलाई झनक्क रिस उठ्यो, थाहा छ मलाई, म अली कालो छु, थोरै होचो छु, तर पनि के एपियरेन्स नै सबै कुरा हो र ?

“होइन रिसाउनु पो भयो सर त ! मैले त जोक मात्रै गरेको ! तपाई सारै सिरीयसली लिनु हुन्छ क्या कुरा ! “

कति बोल्छे बोल्छे यो ! बुढो त पक्कै बहीरो होला !यस्ता केटी हरु tolerate गर्न बुढो बहिरो हुने पर्छ !

“अनी हिजो सपींग मा के के किनियो त ?” मिले हिजो उसलाई सपींग मॉल मा भेटेको थिएँ, एक्लै थिइ । किन नहोस, उसको सपींग देख्द्दै सातो जन्छ होला बुढोको ! एलिजाबेथ की बहिनी, हरेक कुरा इम्पोर्टेड चाहिन्छ ।

“होइना हिजो त वहाँ को लागी मत्रै हो किन्न गएको !”

“वहाँ को लागी किन्न गएको, वहाँ नै हुनुहुन्न थियो त !” म हाँसें, पहिलो चोटी उसलाई गिज्याएर हाँस्न पाएको, कहाँ छोड्थें र म !

“होइन, हिजो बीजी हुनुहुन्थ्यो क्या !”

“सेक्रेटरी संग ?”

“छ्या ! कस्तो सोझो हुनुन्छा वहाँ !तपाइँ जस्तो हो त “

मलाई थाहा छ केटाहरु कस्ता हुन्छन्, मलाई पनि मेरी श्रीमती सोझो नै सोच्दी हो !

“आज नि मनोज सर, म साह्रै खुशी छू !”

मानौँ उसको सुख दुख सुन्ने मैले मात्र ठेक्का लिएको छु । गएर रामेलाई बहाना भन न भन्न मन मन लाग्यो, तर सकीन ।रामे लाई पनी कहाँ फुर्सद होला रा हाकिम लाई कहिले चिया चाहिंछ कहिले के कहिले के

“किन नी ?” अनायासै मेरो मुख बाट प्रश्न फुत्कियो …

“मैले सोचेको थिएँ, बिहे पछी प्रेम कम हुन्छा होला भनेर तर आज हामी नगरकोट जाने, डेटींग मा !”

जोइटीङग्रे मोरो काम छैन, कहीं नभाकी त्यसकी बुढी !

“अनी हाकिम ले छुट्टी दिए त ?”

“आजलाई !”

दिइहल्छ नि, मुसुक्क हाँस्दी होला किन नदिनु ? ऊ बहिर निस्की, मैले झ्यालबाट हेरें, पौल्सर बाइकमा चपक्क टाँस्सिएर दुबै जना हुईँकिए ।

घर पुगने बित्तीकै श्रीमतीले सोधीन, “कस्तो गलेको जस्तो देखिनु भाको ! काम धेरै थियो हो ?”

“अँ, त्यस्तै त्यस्तै, गाड़ीमै गलें, अबा इन्स्टलमेन्टमै भएपनि एउटा बाइक चै किन्नु पर्ला !”

“ए, ल एकदम राम्रो बिचार, साँची कुन किन्ने ?” उ साँच्चै खुशी भई ।मैले चपक्क टाँस्सिएर दुबै जना हुईँकिएको समझिए ।

“पौल्सर नै ठीक होला नी होइन ?” म संग किन पौल्सर ठीक त्यसको भने जवाफ थिएन ।

समाप्त ।।।।।

01-04-08 11:53 PM

(स्रोत : साझा डट कम)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *