छन्द कविता : विवशता

~वासुदेव पाण्डेय~basudev-pandey-prabhakar

छन्द : शार्दूलविक्रीडित

मान्छे मङ्गलमा पुगेर जलको सम्भाव्यता खोज्दछ
हाम्रोमा अझ जातभात चुलिँदो यो तथ्यले घोच्दछ ।
पैले दास,सती प्रथा पनि थिए यो बुद्धको देशमा
उस्तै मानिस जातले दलित छन् अद्यापि यो देशमा ।।

ज्यामी भै जसले ठुला महलको निर्माण पैले ग-यो
पालेले अहिले भने गरिब हो ठानेर आँखा त-यो ।
खट्थ्यो यन्त्र कि गोरुझैॅ जुन उही खाना नपाई म-यो
जोती गोरु, सिई लुगा गरिब भै हर्के दमाई म-यो ।।

गर्नेले सब काम बेर नगरी भन्दा खुरुक्कै गरे
स्वामी,मालिक या त भूपति अरू भण्डार मात्रै भरे ।
मागी बाँच्दछ कर्मवीर खटिई पाउन्न ज्याला हरे !
आधा मानिस देशका दलित वा बालीघरे भै मरे ।।

चल्ने सीप र काम, अर्थ तर ऊ छोइन्न यी हातले
मौका आउँछ बारबार तर ऊ पन्छ्याइने जातले ।
पानी,मन्दिर हुन्छ वर्जित अझै चढ्दै छ मान्छे बलि
जोत्ने काम रहेछ गोरु सबको फेरिन्छ मात्रै हली ।।

गोरे गर्व गरेर गाँस नटिपी अल्पायुमा नै म-यो
काले कर्मठ काममा तर सधैॅ सानो हुनाले ड-यो ।
बिर्खे बाध्य भएर वञ्चित बरा बोली बडो किञ्चन
हर्के हर्षित नै भएन र हिँड्यो हाँस्तै नहाँसीकन ।।

खेदिन्छन् तर छैन भित्र मनमा ईर्ष्या, र हुन् साधक
हेपिन्छन् तर ओठमा छ तिनको मुस्कान आकर्षक ।
मान्छे भैकन बाँच्दथे सब मिली मुस्कान बाँड्थे बरु
हाँस्ता हुन् कति मिल्दथ्यो हक भने रामे र चामेहरू ?

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.