नैतिक कथा : जस्तो लाई तेस्तै

~अज्ञात~

एउटा गाउँमा ७० वर्ष काटिसकेका दयासिंह नामका बूढा थिए। केही वर्ष अघि उनका स्त्री मरिछन्। त्यसपछि उनका छोरा निष्ठुरसिंह र बुहारी कटुगराले उनका हातबाट घरको सबै सम्पत्तिको साँचो कब्जामा लिए। त्यसपछि बूढालाई उनीहरूले चीसो छिंडीको एउटा कुनामा राखेछन् र खानलाई दिनको ४ मुठी पीठो खटाएछन्।

छोरा जन्मँदा हर्षको आँसु खसालेको उनको आँखाबाट त्यही छोराको निष्ठुरपनले अहिले दु:ख र पीडाका आँसु बगिरहेको थियो। एकदिन दयासिंह रीस र शोकले आफ्ना सामुन्नेका भाँडाहरु एकातिर मिल्काई थोत्रो टिनमा दु:खका बाजा बजाउँदै थियो। त्यसदिन निष्ठुरसिंह र कटुगरा दुबै घरबाट बाहिर गएका रहेछन्। घरमा निष्ठुरसिंहको छोरो ९ वर्षे बालक चलाकसिंह मात्र थियो। बूढाले बजाएको पीडाको बाजा चलाकसिंहले सुने र अनि दयासिंहलाई बाजा बजाउनुको कारण सोधे। बुढाले भने- “हेर बाबू, म यो बाजा किन त्यसै बजाउँथें र? यो दयासिंह सुनको थालमा भात खान्थ्यो, आज उसलाई प्वाल परेको टिनको थालमा कोदोको खोले? यही दु:खले यो बाजा बजाउँदै छु। बाबू चलाकसिंह तिमी तिम्रा बाबु झैं नबन्नू।”

यो सुनेर चलाकसिंहको ह्रदय पग्लियो। सानै भएपनि उ चलाक, साहसी र अक्कली थियो। उसले बूढालाई भन्यो- “भरे हाम्रा बा घर आएपछि यसैगरी टिन बजाउनू र त्यस बखत म जे भन्छु त्यसमा हजूरले खिन्न नहुनू।”

बेलुका चलाकसिंहका बाबुआमा घर आए। बूढाले टिन बजाउन थाल्यो। चलाकसिंहले कराएर भन्यो- “ए बूढा किन टिन ठटाएको?”

बूढाले जवाफ दियो- “खान नपाएर।”

चलाकसिंहले फेरि भन्यो- “तिमीले खान नपाएर केही फरक भएन। तर त्यो टिन चाहिं नफुटाई देऊ। नत्र हाम्रा बा बूढा भएपछि हाम्रा बालाई चाहिं के मा खान दिनु !”

निष्ठुरसिंहले सबै कुरा सुनिरहेको थियो। यो सबै सुनेपछि उ सपनाबाट झल्याँस्स ब्यूँझे झैं भयो र उसले सोच्यो- “मैले बाबुलाई यही काइदाले राखें भने त मेरो छोराले पनि यही देखासिकी गरेर पछि मलाई यसै गर्नेछ।”

त्यसपछि निष्ठुरसिंहले बाबुलाई राम्रोसँग खानलाउन दिएर राख्न थाल्यो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : नैतिक कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *