लघुकथा : विज्ञापन

~त्रिभुवनचन्द्र वाग्ले~

रुँदारुँदै उसको आँशु सकियो । जलिरहेको आमाको चिता हेर्दै ऊ त्यहाँबाट उठेर हिड्यो । कहाँ गयो ? कसैलाई चासो भएन । आमाको तेह्रौ नसकिदै ऊ बेपत्ता भयो तर उसले गाउँ र गाउँलेलाई नजिकबाट हेरिरह्यो । आमाको वार्षिकीमा ऊ गाउँ गयो । कसैको सहयोग पाएन । सामान्य तरिकाले वार्षिकी सक्यो । उसको घर भत्केको थियो । कसैले आज यतै बस् भन्छन् कि भनेर ऊ दुईचार घर पुग्यो । कोही उसलाई आफ्नो घरमा बसाउन तयार भएनन् ।

खण्डहर घरको ढिकिरीको पुच्छारतिर उसले निदाउने प्रयास ग-यो । सजिलैसँग निद्रा आएन । सम्झियो, आमालाई । भनिथिन् आमाले ‘धान कुट्दै गर्दा तँ यहीं जन्मेको होस्, ढिकिरीको ओखलमा त घान पर्छ, तँ भोकै मर्दैनस् । कतिखेर निदायो ऊ, थाह भएन । भोलिपल्ट ब्यूझदा उसको आडमा कुकुर थियो ।

‘बहा ! यत्रो बस्तीमा मसँग नाता लगाउने त मात्र रहेछस् ।’ धन्यवाद दिदै उसले कुकुरलाई भन्यो ।

के उपाय गर्ने ? मर्नभन्दा बौलाउन निको । उसले जुक्ति झिक्यो विज्ञापन छपाउने । विज्ञापनको पैसा कसरी तिर्ने ?

फेरि जुक्ति झिक्यो सम्पादकलाई टन्न दारु खुवाउने ।

टन्न दारु के ले खुवाउने ?

फेरि जुक्ति झिक्यो ‘होटलमा बसेर विज्ञापनको मस्यौदा तयार गर्ने, साउजीलाई देखाउने’
विज्ञापनको व्यहोरा तयार ग-यो–

‘तनहुँ जिल्ला क्यामिन गाविसका त्रिलोकीलाई अमेरिकी दशलाख डलर चिठ्ठा प¥यो, एक करोड आफ्नो जन्मस्थानमा लगानी गर्ने ।’

विज्ञापन छापियो । दारुदेखि विज्ञापन उदारोमा चल्यो ।

भोलिपल्टदेखि लगातार मोबाइल बज्न थाल्यो– ‘मोरा तँ त राजग्रह लिएर जन्मेको थिइस्’ पण्डित अरुणदेवले भने ।

तलाई त मैले धाई आमा भएर दुध ख्याएकी हुँ नि लक्ष्मी घर्तीले भनी, ‘बाबु म तेरो मितबा रामबहादुर’ अर्को स्वर आयो ।

‘दाई यसपटक त हजुरलाई म तिहारमा टीका लगाउने हो’ सुमित्राले भनी

तिम्रो फोटो हेरेर दिन काटिरहेकी छु, यो जोवान तिम्रै लागि उत्सर्ग गरिदिन्छु । सान्ननी इत्तरी
ए जोडी भञ्ज्याङको भट्टीमा ननाचेको वर्षौं भयो, तिमीबिनाको नाच नि के नाच ? स्कुले सहपाठीले फोन राख्नै दिएनन् ।

राजनीतिक नेताले फोन गरे–गाउँले तिम्रो नेतृत्व खोजेको छ । हामी आतुर छौं ।

‘तपाईंलाई उदाहरणीय व्यक्तित्व सम्मान प्रदान गर्ने कार्यक्रम तय भएको छ’–साहित्यकारले सुनाए ।
फोनको व्याट्री सकियो, बन्द भयो । बल्ल उसले सुख पायो । विज्ञापन छापिएको पत्रिकामा फोनको सेट पछार्दै भन्यो– साला दुष्ट हो, मलाई चिठ्ठा परेको छैन ।

आमालाई धन्यवाद दिदै उसले भन्यो ‘ आमा ! लोभीहरूको राज्यमा जुक्तिवान भोकै मर्दैन ।’

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.