कथा : एउटा सडकका दुइटा कथा

~रजित ओझा~Rajit Ojha

जगतले झ्यालबाट टाउको बाहिर निकाल्दै टाढैसम्म हेर्न खोजेको थियो, तर उसको नजर चार वटा गाडीभन्दा परको पहरामा गएर ठोक्कियो । त्यहाँबाट बाटो मोडिन्छ । जति घाँटी बाहिर निकाले पनि उसले त्यहाँभन्दा पर देख्ने छैन ।

कसैले उसको कलर कोट्याउँदै सोध्यो, “दाइ काँक्रा खाने हो ? चिसो छ । मीठो छ ।”

सिमसिम पानी परे पनि बाहिर गर्मी नै छ । उसलाई पसिना बढी नै आउँछ । पसिना गन्हाउने पिरले उसलाई सधैं पिरोल्छ । हुन त ऊ त्यति साह्रो मोटो छैन धेरै पसिना आउनलाई । मान्छेअनुसार पसिना आउने/नआउने फरक पर्छ शायद ।

“दाइ के भएछ ?” पाँच मिनट गाडी रोकिइसकेपछि उसले सोध्यो । उसलाई के भएको भन्ने कुरासँग खासै मतलब थिएन । तर पनि सोध्यो । त्यो समयमा पिसाब फेर्न भ्याउने/नभ्याउने चाहिँ उसको चासोको विषय थियो ।

“पहिरो गयो रे ! टाइम लाग्छ जस्तो छ !” उसले जवाफ पायो ।

जगत झसंग भयो । जसरी भए पनि उसलाई आजै पुग्नुपर्ने छ काठमाडौं । उसले चोर गोजीमा रहेको एक लाख रुपैयाँ छाम्यो । त्यहीँ छ । जाओस् पनि कहाँ ? गोजीमा बन्दी बनेको छ त्यो पैसाको बिटो । हुन त पैसाका पखेटा हुन्छन् । आजै बेलुका तिनका पखेटा लागेर म्यानपावर कम्पनीका मान्छेसम्म पुगिसक्नुपर्ने हो ! तर, बाटोको पहिरोले उसको सेड्युल बिगार्यो ।

जगतले अनायसै आकाशतिर हेर्यो । आकाश कालो हुँदैछ । अहिले नै चुहिएला जस्तो । फेरि पानी पर्ला जस्तो छ । भित्रभित्रै डर लागेर आयो । फेरि पानी परेर अर्को पहिरो आयो भने ? एकछिनका लागि उसले च्यापिराखेको पिसाबसमेत बिर्सियो । तर, मान्छेले रोक्न नसक्ने भएकोले शायद ‘नेचर्स कल’ भन्छन् होला । ऊ खुत्रुक-खुत्रुक गर्दै तल झर्यो । अनि थोरै टाढा गएर पिसाब फेर्दै सोच्न थाल्यो । केटा मान्छेका लागि यो शून्य समय हुन्छ । पिसाब फेरिराखेको समय । धेरैजसो मान्छेले दत्तचित्त भएर केही उत्पादक सोचेर बिताउँछन् । उसले भने काठमाडौंमा गर्नुपर्ने कामहरु मनमनै दोहोर्यायो । उसका लागि त्यो पनि उत्पादक नै थियो । अझै काम भ्याउने नै देखिएपछि ऊ थोरै ढुक्क देखियो ।

प्यास पनि लागेको छ भन्ने उसलाई बल्ल हेक्का भयो । कोकको बोतलमा चन्द्रनिगाहपुरको होटलबाहिर चापाकलमा भरेको पानी ब्यागको बाहिरपट्टि छ । तर, उसलाई भित्र छिर्न मन छैन । छेवैकी दिदीले प्लास्टिक माग्न भ्याएकी थिइनन् । भुइँभरि चन्द्रनिगाहपुरमा खाएको भात घोप्ट्याइदिएकी थिइन् । जगतले झ्याल खोल्दै बाहिरको हावा लिँदै जंगिएको थियो, “कस्तो मान्छे होला, प्लास्टिक माग्नु पर्दैन ?”

ती महिलाले प्लास्टिक मागेर तल पोखिएको फोहोर पुछेकी थिइन् । प्लास्टिकले पुछेर कहाँ जान्थ्यो ! अझै भातका सिताहरु उसको सिटतल ओछ्याएको म्याटमा अड्किएका थिए । सम्झेर नै हच्कियो ऊ । अचानक उसलाई सम्झना आयो– कसैले उसको कलर कोट्याउँदै सोधेको थियो, “दाइ काँक्रा खाने हो ? चिसो छ । मीठो छ ।”

० ० ०

“चाँडो चाँडो खुर्सानी पिस् अनि काँक्रो काट् !”

सरिता भर्खरै स्कुलबाट आइमात्र पुगेकी थिई । पसिना पुछ्न पनि भ्याइन । उसकी आमा परैबाट कराई ।

सामान्यतया उसकी आमा यतिखेर घरमा हुन्निन् । माथि बजारमा एउटा ढाकीमा काँक्रो बेचिराखेकी हुन्छिन् । उसकी आमालाई हाइवेको कुन खण्डमा कति गाडी रोकिन्छन्, थाहा छ । हाइवेमा जंगल, खोँच अब थोरै ठाउँमा मात्रै बाँकी छन् । अरु त सबै घर बनिसके । सरिताकी आमा तिनै ठाउँमा बल्छी हानेर बस्छिन् । गाडीमा कसै न कसैलाई पिसाब लागोस् अनि गाडी थोरै समयका लागि रोकियोस् भनेर प्रार्थना गर्छिन् । कहिले भगवानले प्रार्थना सुन्छन्, कहिले सुन्दैनन् । आज भगवानलाई उनको अचाक्ली माया लागेर आएजस्तो थियो । बाटोमा आएको पहिरोले गर्दा गाडी रोकिन थालिसकेका थिए । पहिलोचोटिको काँक्रा बेचेर भ्याइसकेकी ऊ हतार हतार गरेर घर झरेकी थिई । सरितालाई देख्दा उसले सघाउने हात पाएझैँ लाग्यो । उसले अह्राइहाली ।

“किन ?” सरिताले अल्छी हुँदै प्रश्न राखी । भर्खर पढिसकेर ओरालो झरेकी सरितालाई फेरि उकालो चढ्नु पर्ने थियो ।

“आज मैले लिएर गएको काँक्रो सिद्धियो !” उनको अनुहारमा चमक थियो । त्यस्तो गर्मी र पसिनै पसिनाको बीचमा पनि उनको अनुहार उज्यालो देखिएको थियो ।

सरिता ढाकीभरि काँक्रा बोकेर उकालो लागी । उकालो चढ्दा उसलाई एउटै प्रश्नले पिरोल्छ, “सबै बाटा सम्म किन हुँदैनन् ?”

माथि पुगेर यताउता हेरी । छेवैमा भएको गाडीबाट कोही टाउको निकालिराखेको थियो । उसले कोट्याउन चाही, भेटिन । दोस्रो पटक औँलाको भरमा थोरै पैताला उठाउँदै उसको कलर कोट्याउन भ्याई अनि सोधी, “दाइ काँक्रा खाने हो ? चिसो छ । मीठो छ ।”

० ० ०

उसले खोजी गर्यो, काँक्रा बेच्दै गरेकी केटी अलि पर देखिई । सरिता । ऊ नजिकै गयो । नियाल्यो । आकाशे रंगको सर्ट अनि नीलो रंगको फ्रक । स्कुले ड्रेस । कपाल भने छोडेकी थिई ।

“पहिला पहिला स्कुलमा दुई चुल्ठा बाँध्थे, आजकल बाँध्दैनन् क्यार !” मनमनै सोच्यो मात्र । भन्नचाहिँ भनेन ।

“काँक्राको कति ?”

“पन्ध्र रुपियाँ !”

“कस्तो महँगो !”

“नुन खोर्सानी फिरीमा दिन्छु !” ऊ खितित्त हाँसी ।

ऊ केही बोलेन । खल्ती हेर्यो । पाँच सयभन्दा तलका नोट थिएनन् । उसले त्यही पाँच सयको नोट तेर्स्याइदियो । गोजीभित्रको एक लाखलाई थोरै औँलाले चलाएर मिलायो ठीक ठाउँमा । किन-किन जगतलाई बुवाको सम्झना आयो । त्यही जग्गा छोडेका थिए बुवाले जानुअघि- पाँच दाजुभाइमा । उसको भागमा लागेको बेचेर ऊ बाहिर जान खोज्दै थियो । अघिल्लो किस्ता बुझाउनुअघि नै म्यानपावर कम्पनीसँग चिनाइदिने दाइले भनेको थियो, “पक्राउ पर्यौ भने मेरो नाम लिन पाउने छैनौ !”

उसले टाउको हल्लाएको थियो ।

“बाटोमा पानीजहाजमा लुकेर जाने हो ! पछि डिटेलमा उसैले भन्छ ।”

उसले झल्याँस्स त्यही दिन पत्रिकामा पढेको प्रधानमन्त्रीको भाषण सम्झेको थियो, “अब नेपालको आफ्नै पानीजहाज हुन्छ ।”

“कस्को पानीजहाज ?” उसले अनायसै प्रश्न राखेको थियो ।

“मलाई के थाहा ? म पानीजहाज कम्पनीमा काम गर्ने मान्छे हो र ?” उसको दाजु अनायसै जंगेको थियो ।

“खुजुरा छैन दाई !” जगत वर्तमानमा फर्कियो, जहाँ सरिता नाक खुम्च्याउँदै अनकनाइरहेकी थिई ।

ऊ केही बोलेन । नजिकैको रोडको ग्याबेनमा अडेस लाग्यो । दुई-चार ढुंगा बाहिर निस्किसकेका थिए । कसैले कोट्याएर बाहिर निकालिदिए जस्तो । जगतको जीवन पनि आखिर कसैले कोट्याएर निकालेको ढुंगाजस्तै भएको छ । कहाँ पुग्ने, पत्तो छैन । समयले सजिलोसँग उसलाई केही पनि त दिएको छैन । आज पनि पहिरो आयो । घडी हेर्यो, साढे ४ बजेको थियो । यति खेर ऊ नागढुंगाको छेउछाउ पुगेको हुनुपर्ने हो ।

“स्कुल छोडेर काँक्रा बेच्न किन ?” अनायसै प्रश्न गर्यो उसले । सरिताले उसलाई पुलुक्क हेरी ।

“स्कुल छुट्टी भइसक्यो !”

“कति चाँडो त !”

“सरकारी हो नि त !” सरिताको जवाफ उसको मनमा चसक्क बिझ्यो । उसले पनि सरकारी नै स्कुल पढेको । स्कुलको पढाइप्रति सन्तुष्ट नै छ । उसको गाडीको पछाडि धेरै भीड लागिसकेपछि सरिता त्यतै दौडिई । उसले घडी हेर्यो । करिब एक घण्टा बितिसकेको छ । उसले सोचेको सेड्युलअनुसार नहोला जस्तो छ । आजसम्म त्यो म्यानपावरलाई डक्युमेन्ट बुझाइदिनू भनेको थियो । बेलुकै आए पनि हुन्छ भनेको थियो । तर बेलुका पनि नपुगिएला जस्तो छ । मोबाइल थिच्न खोज्यो, टावर छैन । जुत्ताले बाटोको ढुंगालाई थोरै पर धकेल्यो, त्यही ग्याबेनबाट निक्लेको !

० ० ०

सरिताकी आमाले यसपालि उसलाई सकेसम्म बोर्डिङ हाल्छु भनेकी छन् । सरिता टाई लाउन पाइन्छ भनेर मख्ख थिई । तर, शायद फेरि ८ नै पढ्नुपर्ला । बोर्डिङले सरकारी स्कुलकालाई एक क्लास घटाएर मात्रै लिन्छन् । उसले आमाको दु:ख देखेकी छे । तर आजको दिन भिन्न थियो । आमा खुसी थिइन् । हिजो नै आमा आएर सडकबाट फर्केपछि भनेकी थिइन्, “आज डोजरले सोर्यो तर पानी परिराख्यो भने भोलि फेरि खस्छ !”

बिहान दोकान गएर साहूसँग काक्रा किनिन् अनि घरमा थुपारिन् । पहिलोचोटि उनले चिताए जस्तो भएको थियो । सरिताले एकचोटि परसम्म पुगेर पहिरो हेरेकी थिई । अजंगको पहाडको पाटोबाट दहीजस्तै गरी माटो बगेको थियो । नजिकै भएका हरियो टल्किने ज्याकेट लाउने दाइहरुले उसलाई अरु पर जान दिएनन् । दुई-चारचोटि यस्तै भो भने उसलाई बोर्डिङ जान सजिलो होला । खुसी भएर बिक्री भइसकेको काँक्राको ढकी लिएर फर्की ।

० ० ०

डोजरले माटो उठाउन थालेको खबरले जगत थोरै खुसी भयो तर उसले सोचेजति गतिमा काम भने भएको थिएन । ऊ हेर्नलाई यसरी सुरिएर गएको थियो- मानौँ कोदालो भएको भए ऊ पनि सघाउन थाल्ने थियो माटो उठाउन । नजिकै भएका हरियो टल्किने ज्याकेट लाउने दाइहरुले उसलाई अरु पर जान दिएनन् । ऊ फर्कियो, निराश भएर । बिस्तारै बिस्तारै उसलाई भोक पनि लाग्न थालेको थियो । अनि चुरोटको तलतल पनि । उसले चुरोट नछुटाउन खोजेको पनि होइन । चुरोटको लत त्यति चाँडो छुट्दैन । चुरोट र दशा उस्तै हुन् । दशा लागेपछि एकपछि अरु लाग्छन्, चुरोट पनि लत लागेपछि दिनदिनै बढ्दै जान्छ । मोबाइललाई आफ्ना दुई औँलाबीच खेलाइरह्यो । झन्डै झर्यो उसको मोबाइल । त्यति नयाँ त छैन, तैपनि पैसा नभएका बेला उसलाई आना, सुकीकै महत्व छ । सरिता नयाँ ढकीमा काँक्रा बोकेर आइसकेकी थिई । फेरि नजिकै गयो अनि सोध्यो, “यहाँ नजिकै कता टावर टिप्छ ?”

“अलि पर दुई खोँच कटेपछि आउँछ होला !” उसले सुस्तरी जवाफ फर्काई ।

जगत त्यतैतिर लाग्यो । करिब १० मिनेट हिँडेपछि मोबाइलमा टावरको एक धर्सो देखियो । उसले फोन डायल गर्यो । उठाउनेले उठायो पनि ।

“दाइ म यहाँ पहिरोमा फसेँ !” ऊ सुस्तरी बोल्यो ।

“कस्तो मान्छे होला, त्यत्रो ठूलो काम गर्न आउने मान्छे प्लेनमै आए पनि त हुन्थ्यो !”

हुन त जगतलाई त्यो पनि विचारमा आएको हो । तर, प्लेनमा उड्ने पैसाले त काठमाडौंमा १०-१५ दिन बस्न पुग्थ्यो । त्यही भएर उसले त्यो विचार पन्छाएको थियो ।

“खै दाइ, बुद्धि पुगेन !” उसको बोली अझ न्याउरो भो ।

“मलाई अरु थाहा छैन, आज भएन भने हुन्न !”

फोन काटियो । उसले हेर्दा मोबाइलको टाउकोमा फेरि त्यही ‘इमर्जेन्सी कल्स अन्ली’ देखायो । उसको कल पनि त इमर्जेन्सी नै हो । तर, मोबाइलको ‘इमर्जेन्सी’ र उसको ‘इमर्जेन्सी’ नितान्त फरक हुन् ! मोबाइल त्यही पहाडको भित्तामा बजारिदिऊँ जस्तो लाग्यो उसलाई । फर्कियो आफ्नै बसतिर । ताँती अझ बढ्दै थियो । उसको गाडीका गुरुजीहरु प्लास्टिक ओछ्याएर तास खेल्न बसेछन् । गुरुजीको टनेला आएको थियो, सिक्वेन्स थिएन । माथिका १८ तासमा घर पनि छैन । उसकै जीवनजस्तो केही नमिलेको तास ।

० ० ०

डोजर आइसकेको थियो । बडेमानको डोजर । अब बाटो खुल्छ । बोरामा आधा काँक्रा अझै बाँकी छन् । सरितालाई डोजरले माटो हैन, उसको सपना बिस्तारै सोर्दै गरेजस्तो लाग्यो । उसको बोर्डिङ जाने सपना ! आज बिक्री नभए काँक्रा ओइलिन्छन् । पहेँला हुन्छन् । त्यसपछि मान्छेले खासै किन्ने छैनन् ।

चर्को स्वरमा कराई, “काँक्रा काँक्रा !!! चिसो !! मीठो !!”

पर पहाडको कुनै कुनाबाट घाम अस्ताउँदै थियो ।

“बहिनी काँक्राको कति ?” एउटाले सोध्यो ।

“१५ रुपियाँ !”

“अनि काँक्रावाल्नीको ?” ऊ छिलियो ।

“मन नभए नकिन्नू नि !” उसलाई रिस उठ्यो । उसकी आमा नजिकै आइन् । उसको कानमा केही खासखुस गरिन् । सरिताले हुन्छ भन्ने भावमा टाउको हल्लाई ।

० ० ०

जगतले एकचोटि फेरि सरिताको चर्को आवाज सुन्यो ।

“काँक्रा काँक्रा !!! चिसो !!! मीठो !!!”

“बहिनी ! खुजुरा भएन ?” उसले आग्रही भावमा सोध्यो ।

उसले आमाले कानैमा भनेको सम्झी, “भयो तर काँक्रा अब ३० रुपियाँ !”

जगत वाल्ल पर्यो ।

“लुट्न आकी सडकमा ?” ऊ रिसायो ।

“हामीले पनि महँगो नै किनेको ! नत्र कुहिन्छ !” उसलाई आमाले सिकाएका शब्द-शब्द याद थिए । उसको सपना पनि झल्झल्ती थियो ।

साँझ पर्दैछ । गाडी घस्रिउँला जस्तो गरेर हर्न बजाउन थालेका थिए । उसलाई भोक पनि लागेको थियो ।

“तर साह्रै महँगो भयो बहिनी !” उसले खल्तीबाट ५ सयको नोट झिक्यो । एक लाखको बिटोलाई फेरि मिलायो ।

“नुन खोर्सानी फिरीमा दिन्छु !” सरिता खितित्त हाँसी ।

(स्रोत : बाह्रखरी डट कम)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *