व्यङ्ग्य : पत्रकार र उपप्रधानमन्त्रीबीचको व्यङ्ग्यलाप

~राम लोहनी~ram-lohani

अर्घाखाँचीमा यसरी स्कुलका नानीहरुलाई भारतीय स्तुति गान गाउन लगाइयो तर उपप्रधानमन्त्री भने मुख दर्शक भएर बसेको खबर सार्वजनिक भएको छ । सोहि घटनामा आधारित यो पत्रकार र उपप्रधानमन्त्रीबीचको व्यंग्यलाप 

पत्रकार — हैन तपाईँ उपस्थित कार्यक्रममा भारतको यशोगान गाउनुभयो रे नि?

उपप्रम — मैले गाएको होइन, बच्चाहरूले गाएछन्।

पत्रकार — सुन्नुभएन तपाईँले?

उपप्रम — सुन्न त सुनेँ नि। सुन्दैमा मेरो मन मैलो भएको त छैन नि।

पत्रकार — त्यसरी भारतलाई खुल्ला आमन्त्रण गर्दा तपाईँलाई खल्लो लागेन?

उपप्रम — गीत सुन्दै गर्दा गुलियो चिया खाँदैथेँ। खल्लो त लागेन। टन्न चिनी हालिदिएका रहेछन्।

पत्रकार — गीतको भावले खल्लो लागेन?

उपप्रम — हामी भौतिकवादीहरू भावनामा बग्दैनौं।

पत्रकार — त्यसलाई यहाँले सहज रूपमा लिनुभयो?

उपप्रम — हैन, मैले घुमाएर विरोध गरेँ।

पत्रकार — घुमाएर भन्नाले?

उपप्रम — घुमाएर भनेको वृत्ताकारमा भनेको।

पत्रकार — त्यो गीत बच्चाहरूकै सिर्जना त होइन होला!

उपप्रम — खोइ, त्यहाँ त बच्चाहरूले नै गाएका थिए। बच्चाहरूले “अन्जान” मै गाए भनेर प्रधानाध्यापकले नै भन्नुभयो। अन्जानमा भएका गल्तीहरूलाई राष्ट्रिय मेलमिलाप आयोगमार्फत समाधान गर्नुपर्छ भनेर मैले धेरै विरोध पनि गरिनँ।

पत्रकार — यस्तो गायनलाई प्रोत्साहन दिने काम उपप्रमबाट भएको बुझिएन र?

उपप्रम — हैन तपाईँ पत्रकारको काम छैन कि क्या हो? एउटै कुरालाई खोतलिरहनु हुन्छ? जिल्लाको एउटा कुनामा भारतले स्कुल बनाइदिएको छ त उनीहरूले धन्यवाद भन्न पनि पाउनुपर्छ। यसलाइ राष्ट्रिय राजनीतिकै अङ्ग जसरी हाइलाइट गर्न खोज्‍नुहुन्छ। फेरि त्यहाँ दाता पनि पुगेका थिए। दातालाई अलिकति प्रशंसा गर्ने त हाम्रो संस्कारै हो नि। अब तपाईँ पनि बिर्सनुस्, म पनि बिर्सन्छु त्यो कुरा।

पत्रकार — त्यस्तो गीतको पुनरावृत्त हुँदैन त अब?

उपप्रम — जनताको कुरा! त्यो म ग्यारेन्टी कसरी गर्न सक्छु। अर्को पटकको कुरा अर्कै पटक सोध्‍नुहोला।

पत्रकार — त्यस्तो राष्ट्रहितको विपक्षमा गीत गाउनेलाई कारवाही हुन्छ कि हुँदैन?

उपप्रम — ती गाउने बच्चाहरूलाई हिरासतमा लिएर अनुसन्धान गर्नपर्छ। तिनीहरूले गाएकै हुन् भने तिनलाई कार्वाही हुन्छ। गाएका होइनन् भने कारवाही गर्न मिल्ने कुरा भएन।

पत्रकार — हैन, तपाईँकै कानले सुनेको होइन र?

उपप्रम — मैले सुनेको कुरा प्रमाणमा लिन मिल्छ? अख्तियारले त्यसलाई स्मृतिमा राखेको छ? अब प्रमाणले जे बोल्छ, त्यही हुन्छ। हामी भौतिकवादीहरू भौतिक प्रमाणमा विश्वास गर्छौंं। प्रमाणित भयो भने दोषीलाई भौतिक कारवाही हुन्छ।

(स्रोत : Kantipath.com)

This entry was posted in हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.