अनूदित निबन्ध : युवा लेखकहरुसित कुराकानी

~म्याक्सिम गोर्की~Maxim Gorki

आफ्नो जीवनलाई सञ्चालन गर्ने मूल शक्तिहरूलाई पत्ता लगाउन नभएर, आफ्ना विचारहरूलाई कुनै खास ठाउँमा पु¥याएर विश्राम गर्ने आतुरी भएको कारणले धेरै मानिसहरू सोच्ने र तर्क–वितर्क गर्ने काम गर्दछन् । उनीहरूमा प्रायः “तर्क अथवा सन्देहभन्दा टाढाका” सत्यहरूको स्थापना गर्ने आतुरी मुख्यरूपले आलोचकहरूमा पाइन्छ र उपन्यासकार र कथाकारहरूमा पनि यसको नराम्रो प्रभाव पर्दछ । लेखकको काम धेरै नै श्रेयष्कर हुन्छ, किनभने त्यसको अनिवार्य परिणाम जीवन र निरन्तर परिवर्तनशील वास्तविकताहरूमा निहित सत्य सङ्कुचित व विकृत हुन जान्छ । एङ्गेल्सले (एङ्गेल्स अति नै बुद्विमान मानिस थिए) माक्र्सवाद कुनै जड सिद्धान्त नभएर कार्यक्षेत्रमा बाटो देखाउँने दर्शन हो भनेर एकदमै सही भनेका हुन् । यदि साधारणरूपमा भन्ने हो भने हामी के भन्न सक्दछौँ भने हाम्रा सम्पूर्ण कामहरूको उद्देश्य पुरानो संसारलाई बदलेर नयाँको निर्माण गर्नु हो । सोभियत श्रमिकहरूको सोह वर्षको वीरतापूर्ण श्रमका कल्पनातीत फलहरूले सारा संसारलाई असदिग्धरूपले के देखाएको छ भने श्रमिक वर्गमा कति जीवन–शक्ति, कति प्रतिभा र कति विराट् रचनात्मक कौशल हुन्छ । सोभियत सङ्घका हामी लेखकहरूले अहिलेसम्म न यस श्रमको असिम शक्तिमत्तालाई न त त्यसका सफलताका विविधता र वाहुल्यतालाई बुझेका छौँ ।

व्यावहारिक अनुभवको ठोस आधारमा टिकेको विश्वासका साथ के भन्न सकिन्छ भने हामी आज संसारमा जुन काम गर्दैछौँ, त्यसका सम्भावनाहरू आजका सबै कुराभन्दा र मानिसका आजसम्मका हजारौँ वर्षका हरेक किसिमका श्रमबाट निर्मित कुराहरूभन्दा बढी छन् । आफ्नो देशका प्रति, आफ्नो साहित्यको उत्तरदायित्वलाई बुझ्न र त्यसलाई पूरा गर्न हामीले आधुनिक संसारको गम्भीर र विशिष्ट अध्ययन गर्नु जरूरी छ ।

साहित्यका के के अङ्ग छन् ? अर्थात् बिम्वहरू, चरित्रहरू र समष्टिको प्रतितिधित्व गर्ने (टाइप) पात्रहरूको शब्दहरूद्वारा चित्रण कसरी हुन्छ ? शब्दहरूका दर्पणमा जीवनका घटनाहरू र वास्तविकताहरू, प्राकृतिक दृष्यहरू र चिन्तनका प्रक्रियाहरूको प्रतिबिम्वन कसरी गरिन्छ ?

सँहित्यको मूल तत्व हो भाषा । भाषा नै साहित्यको मुख्य साधन हो र जीवनका यथार्थहरूसित गहिरो सम्पर्कमा आएपछि भाषाले साहित्यको कच्चा पदार्थका काम गर्दछ र यसैबाट साहित्यको निर्माण हुन्छ । एउटा असाध्यै राम्रो उखानमा भाषाको परिभाषा दिइएको छ– “यो मह त होइन तर सबै ठाउँमा टाँसिन्छ ।” यसको अर्थ के हो भने संसारमा सङ्ज्ञा नभएको कुनै कुरो छैन । शब्द नै समस्त घटनाहरू र विचारहरूको परिधान हो । तर हरेक घटनाको सामाजिक महत्व त्यस घटनामा लुकेर रहेको हुन्छ र हरेक विचारमा किन कुनै विचारको रूप अरू नभएर त्यही नै हुन्छ, यसको कुनै–न–कुनै कारण हुन्छ । यदि कुनै साहित्यिक रचनाको उद्देश्य घटनाहरूभित्र लुकेको सामाजिक अभिप्रायलाई समग्र भावले, अति स्पस्टता र पूर्णतासहित उद्घाटन गर्नु रहेको छ भने सरल र भावहरूलाई एकदमै ठीक–ठीकरूपमा अभिव्यक्त गर्ने क्षमतासम्पन्न भाषाको आवश्यकता हुन्छ । यस कामका लागि होसियारीसाथ छानिएका शब्दहरू चाहिन्छ । हाम्रा पुराना कलाकारहरूको भाषा यस्तै थियो । त्यो त्यस्तो भाषा थियो, जसलाई शताब्दीयौँको विकासले पुष्ट बनाएको थियो । त्यो एक वास्तविक अर्थमा साहित्यिक भाषा हो, यद्यपि त्यसको उद्भव जनताको बोलीचालीको भाषबाट भएको हो । तथापि त्यो आफ्नो मूल श्रोतभन्दा धेरै नै फरक छ, किनभने वस्तुहरूलाई शब्दद्वारा प्रस्तुत गर्ने क्रियामा त्यसमा भएका सबै क्षणिक, अस्थिर, अपष्किृत र विकृत ध्वनि भएका तत्वहरू निस्किएका छन्, जुन बोलीचालीका भाषामा पाइन्छन् । तर थुप्रै कारणले तिनको भाषाको मूल आत्मासित मेल हुँदैन । भाषाको मूल आत्मा भन्नाले हाम्रो मूल आसय भाषाको त्यो रूपसित छ, जुन त्यसलाई बोल्ने मानिसहरूमा समानरूपले प्रचलित छ । बोलीचालीको भाषा लेखकहरूद्वारा चित्रित चरित्रहरूको कथोपकथनमा सुरक्षित रहन्छ भन्ने स्वयंसिद्ध कुरो हो । तर त्यसको उपयोग चरित्रलाई अझ बढी सजीव ढङ्गले प्रस्तुत गर्नका लागि गरिनुपर्दछ ।

युवावस्थामा मलाई पनि नयाँ शब्द निर्माण गर्ने ठूलो सनक चलेको थियो । सरकारी वकिलहरू र अभियुक्तहरूका वकिलहरूको धारा प्रवाही वक्तृताले ती केटौले प्रयत्नहरूलाई धेरै नै प्रोत्साहन मिल्दथ्यो । त्यहाँ पाप र पुण्य दुवै एउटै समान सुन्दर शब्दहरूमा छाँटिएर उभिएका हुन्थे र अभियोग लगाउँनेहरू तथा अभियोगबाट आफूलाई बचाउँनेहरू दुवै नै एउटै शब्दावलीको प्रयोग उस्तै चातुर्यका साथ गर्दथे । मलाई त्यो देखेर अचम्म लाग्दथ्यो र मचाहिँ नयाँ शब्द बनाउँने मूर्खतापूर्ण प्रयत्नहरूमा कापीहरू एक–पछि–अर्को रङ्गाएर फ्याक्दै जाँदै थिए । यो पनि एक किसिमको रोग नै थियो । मैले वास्तविक जीवनलाई के कुराका लागि धन्यवाद दिनैपर्दछ भने उसले एउटा राम्रो चिकित्सकले झैँ मलाई चाँडै नै यस रोगबाट निको पा¥यो ।

संस्कृतिको इतिहासले हामीलाई के भन्दछ भने भाषाहरूले विशेषगरी त्यसकालमा समृद्धि लाभ गर्दछन्, जतिखेर सामाजिक आन्दोलनले तीव्र रूप लिएको हुन्छ, जतिखेर उत्पादनका नयाँ साधनहरूको प्रयोग हुन थाल्दछ र वर्गसङ्घर्ष तीक्ष्णतर हुन्छ ।

हाम्रो यस भनाईको पुष्टि लोकगीत, लोकोक्ति आदिबाट पुष्टि हुन्छ । बोलीचालीको भाषाको विकासको प्राकृतिक ढङ्ग पनि यही नै हो । यस क्षेत्रमा कृत्रिम “मौलिकताहरू” को पनि त्यसरी नै स्थान हुदैन, जसरी पुराना शब्दहरूलाई अर्थात् अर्थ घोटिँदा–घोटिँदा नष्ट भैसकेका शब्दहरूलाई समातेर बसिरहँने प्रवृतिलाई स्थान हुँदैन । आफ्नो कुरो प्रष्ट पार्न म के भनिहालौँ भने मास्कोका सडकहरूमा हुँने गफप्रति पुस्किनका मनमा निकै आदर थियो र यस दिशामा उनले आफ्नी नर्स अरिना रेदियोनोभ्नाबाट धेरै नै सिकेका थिए । हाम्रो बोलीचालीको भाषाका अनुपम विद्वान लेस्कोभले पनि एक सैनिककी पत्नी, आफ्नी नर्सबाट धेरै नै सिकेका थिए । सामान्यरूपले कुन कुरो लक्ष्य गर्न सकिन्छ भने नर्सहरू, ड्राइभरहरू, माझीहरू, सिकारीहरू र शारिरीक श्रम गर्ने सामान्य स्थितिका महिला–पुरूषहरूले हाम्रो साहित्यिक भाषाको विकासलाई निश्चितरूपले प्रभाव पारेका छन् । तर ती साहित्यकार नै थिए, जसले दैनिक जीवनको बोलीचालीको भाषाको निर्बन्ध धाराहरूका माझबाट सबभन्दा सरल, सबभन्दा बढी अर्थवाही र अधिकाधिक उपयुक्त शब्द चयन गरेर भाषालाई समृद्ध बनाए ।

साहित्यको दोस्रो अङ्ग हो– विषयवस्तु । विषयवस्तुको अभिप्राय त्यस विचारसित छ, जुन साहित्यकारको मनमा जीवनबाट प्राप्त हुँने अनुभवबाट उत्पन्न हुन्छ । यो विचार साहित्यकारको मष्तिस्कमा रूप ग्रहण नगरी बसिरहेको हुन्छ र यसले आफूलाई रूप देऊ, चित्रित गर भनेर साहित्यकारलाई निरन्तर उद्वेलित गरिरहन्छ ।

संसारमा अनेक किसिममा विषय छन्– केहीलाई सनातन विषय भन्न सकिन्छ, जस्तो मृत्यु र प्रेम । केही यस्ता विषय हुन्छन्, जुन सामाजिक परिस्थितिहरूबाट उत्पन्न हुन्छन् र जसको मूलमा व्यक्तिवाद हुन्छ, जस्तो ईष्र्या, प्रतिशोध, लोभ आदि । तर धेरै समयअघि नै कुन कुरो भनिसकिएको छ भने हरेक कुरो परिवर्तन हुन्छ र घाम वा जूनको छायाँमा शास्वत भन्ने कुनै कुरो छैन । अब क्रान्तिको घाम उदाएको छ र त्यसले हाम्रो संसारमाथि प्रकाश फैलाइरहेको छ । त्यस प्रकाशमा हामी के देख्न सक्छौँ भने ती “शास्वत” विषयहरूका मूलमा व्यक्तिको त्यो असहायता र करूण मित्रहीनता थियो, जुन हिंस्रक वर्गसङ्घर्षमा आधारित समाजमा व्यक्तिका लागि अनिवार्य हुन्छ, यो त्यस्तो सङघर्ष हो, जसमा हरेक व्यक्ति अर्को व्यक्तिसित भातको एक गासका लागि र शक्तिका लागि लड्दैछ । धेरै मानिसहरू राम्ररी नै कुन कुरो जान्दछन् भने पुँजीवादी समाजको ज्यादै ठूलो विशेषता यसका अधिकांश सदस्य जीवनका सामान्यभन्दा सामान्य आवश्यकताका वस्तुहरू जुटाउन आफ्नो सम्पूर्ण शक्ति खर्च गर्दछन् । मानिसहरू आफ्नो जीवनको यो घृणित र अपमानजनक “विशेषता” मा अभ्यस्त भएका छन् र यसकारणले उनीहरूले आफ्नो सम्पूर्ण ध्यान आफैमाथि केन्द्रीत गर्नुपर्दछ र आफ्नैबारेमा चौबिसै घण्टा सोचिरहँनुपर्दछ । त्यसो भएर पनि यस सामाजिक प्रणालीको यो भयावह प्रकृतिलाई बुझ्ने मानिसहरू भने कमै मात्र फेला पर्दछन् ।

समाजवादी वर्गहीन समाजनको स्थापना भएपछि जुन नयाँ सामाजिक अवस्था उत्पन्न भएको छ, त्यसका कारणले यी “शास्वत” साहित्यिक विषयहरूमध्ये केही लोप भैसकेका छन् भने केहीको चाहिँ अर्थ नै पूर्णत बललिएको छ । हाम्रो युग त्यस्तो छ, जहाँ एक व्यक्तिको मृत्यु (उसको सामाजिक महत्व जतिसुकै ठूलो किन नहोस्) भन्दा कता हो कता बढी महत्वपूर्ण र धेरै करूण विषयहरू साहित्यकारले सहजै भेट्टाउँछन् । व्यक्तिवादीहरूलाई यो कुरो राम्रो लाग्दैन, तर इतिहासले त स्वयं व्यक्तिहरूलाई नै मृत्युको सजाय दिइसकेको छ ।

साहित्यको तेस्रो अङ्ग हो– विन्यास अर्थात् मानिसहरूको पारस्परिक सम्बन्ध, अन्तरविरोध, सहानुभुति, वैमनस्य र तिनको सामान्य आपसी सम्बन्ध । म के ठान्दछे भने यी तीन अङ्गबाट “साहित्य” शब्दको समग्र अर्थको बोध हुन्छ, यदि हामी त्यसभित्र केवल नाटक, उपन्यास र कथालाई पार्दछौँ भने शैलीका सम्बन्धमा हामी कुराकानी गर्न सक्दछौँ तर त्यो एउटा त्यस्तो कुरो हो, जुन लेखकको प्रतिभाको व्यक्तिगत गुण हो, यद्यपि के कुरो बिर्सन हुँदैन भने यी व्यक्तिगत विशेषताहरूको उत्पत्ति र विकास पनि बाहिरी कारणबाट निर्धारित हुन्छ ।

म केही कुराहरू यथार्थवादका बारेमा भन्न चाहान्छु । कुन दृष्टिले भने यो उन्नाइसौँ शताब्दीको साहित्यको आधारभुत र सबभन्दा बढी फलप्रद प्रवृति हो । एउटा त्यस्तो प्रवृति, जुन बिसौँ शताब्दीसम्म प्रचलनमा छ । यस प्रवृतिको सबभन्दा ठूलो विशेषता यसको तीक्ष्ण बुद्धिवाद र आलोचना दृष्टि हो । जुन मानिसहरूले यसलाई जन्माए, ती मानिसहरू खासगरी त्यस्ता मानिस थिए, जो बौद्विकरूपले आफ्नो पारिपाश्र्विक समाजभन्दा अघि बढेका थिए र जो प्रस्टरूपमा आफ्नो वर्ग सामाजिक र रचनात्मक दृष्टिले पुंसत्वहीनताको परिचय उनीहरूले आफ्नो शक्तिलाई यथावत राख्ने प्रयत्वस्वरूप यस वर्गले गरेको वर्वर दमनमा पाए । यी मानिसहरूलाई पुँजीपति वर्गका “उच्शृङखल पुत्र” भन्न सकिन्छ । बाइबलमा जुन “प्रोडिगल सन” को उल्लेख भएको हो, त्यही सरह यी मानिसहरूले आफ्नो परिवारको कारागारलाई भत्काए र जड मतवादी र परम्पराबाट प्राप्त संस्कारहरूको भारीबाट आफूलाई मुक्त पारे । यीमध्ये धेरैजसो मानिसहरू आफ्नो मन परेको खाना खान फेरि आफ्नो वर्गमा फर्किएनन्, यसका लागि हामीले तिनलाई धन्यवाद दिनैपर्दछ । उन्नाइसौँ शताब्दीको युरोपेली यथार्थवादीहरूका बारेमा हाम्रो दृष्टिकोण बुर्जुवा आलोचकहरूको मतबाट धेरै नै प्रभावित छ । यी आलोचक भाषा र विषयको गुण–दोषको विवेचना गर्दछन् तर विषयवस्तुको सामाजिक महत्वलाई पत्ता लगाउँने र तिनको उद्घाटन गर्ने साहित्यको सामाजिक महत्वलाई बुझे । स्तान्धालको स्वागत आलोचकहरू मौनताले गरे । हाम्रो देशमा ज्यादै थोरै मानिसहरू विदेशी पुस्तकहरू मौलिक भाषामा पढ्दछन् र त्यसभन्दा पनि कम मानिसहरू पश्चिमका साहित्यकारहरूको जीवनको इतिहास, उनीहरूको कार्यप्रणाली र विकाससित परिचित छन् ।

पुँजीपति वर्गका यी “उच्शृङखल पुत्रहरू” को साहित्य कुन दृष्टिले ज्यादै मुल्यवान छ भने वास्तविकताहरूप्रति यिनको दृष्टिकोण आलोचकको छ । उन्नाइसौँ शताब्दीमा धेरै वैज्ञानिक र ओद्योगिक प्रगति भयो । यसको फलस्वरूप पुँजीवादी राज्यहरूको आर्थिक आधारलाई सुदृढ बनाउन निकै नै सफलता प्राप्त भयो । तर फ्रान्सेली साहित्य—त्यतिखेर यो युरोपको प्रधान साहित्य थियो—पुँजीपतिहरूको यस हलचलबाट त्यति खुसी थिएन र उसले मेसिनहरूको बढ्दो प्रभावको प्रशस्तिमा गीत गाएन ।

त्यस समाजमा व्यक्तिलाई आफ्नो स्थिति अनिश्चित लाग्दथ्यो । त्यही अनिश्चितताजन्य निराशाको पूर्ण स्वीकृति उन्नाइसौँ शताब्दीको साहित्यको मौलिक र मुख्य विषयवस्तु हो । शोपनहावर, हार्टमन, लियोपार्दी, स्टर्नर र अन्य अनेकौँ दार्शनिकहरूले जीवनको व्यर्थताको उपदेश दिएर यस चेतनालाई अझ बढी पुष्ट बनाए । जीवनलाई व्यर्थ ठान्ने यस दर्शनको मूलमा पनि व्यक्तिको अरक्षणीयता र समाजमा उसको एक्लोपनको चेतनाले नै काम गरेको थियो । सोभियत सङ्घको विजयी वर्गले जुन नयाँ संसारको निर्माण गरेको छ, त्यसमा व्यक्ति आर्केटिकको हिम–प्रदेशहरूमा हराउँने वा मृत्युको स्थायी आशङ्कामा रहँनुपर्ने स्थितिमा समेत आफूलाई एक्लो र असहाय अनुभव गर्दैन ।

उन्नाइसौँ शताब्दी निराशावादी दर्शनहरूको शताब्दी हो । बीशौँ शताब्दीमा आएर यो निराशावादले स्वभाविकरूपले ह«ासोन्मुख समाजतिर घोरतम उदासिनता र कठोरतम नैराश्यको रूप लिन पुग्यो । यसको भुमरीमा परेर त्यो मानवतावादलाई पनि पूर्णतया तिलाञ्जलि दिइयो, जसका बारेमा पहिलेका सबै पुँजीपतिहरूलाई ठूलो घमन्ड थियो । दया र सहानुभुतिको जुन ढोङ र आडम्बरले भरिपूर्ण नैतिकताको प्रतिपादन शोपेनहावरले गरेका थिए, धेरैले जसलाई स्वीकार पनि गरेको थिए, त्यसमाथि सिद्धान्तको क्षेत्रबाट नित्सेले भयानकरूपले प्रहार गरे भने व्यवहारको क्षेत्रबाट फासिवादले अझ अरू भयानक र निश्चयात्मकरूपमा त्यसलाई क्षत्–विक्षत् बनाउँने काम ग¥यो । आज पुँजीपति वर्गको कमजोर हुँदै गएको हातबाट यो शक्ति कायम राख्न पुँजीपति वर्ग हिटलरी फासिवादको रूपमा जुन वर्गसङ्घर्षमा प्रवृत्त हुन्छ, त्यसमा ऊ मानिसप्रति घृणा र जीवनप्रति असिम नैराश्यको प्रचारलाई नै आफ्नो मुख्य हतियार बनाउँछ ।

यहीनेर के पनि थप्नु उचिन होला भने पुँजीवादका केही सुयोग्य नोकरहरूलाई पनि (पुँजीवादी व्यवस्थामा) व्यक्तिको सामाजिक स्थितिको अस्थायित्वको आभाष र आभाषमात्र होइन, ज्ञानसमेत थियो । उन्नाइसौँ शताब्दीको लगभग सबै आत्मजीवनी छाडेर जाने प्रमुख सार्वजनिक मानिसहरूले पुँजीवादी समाजको अत्यन्त असन्तोषजनक सङ्घटनका बारेमा विस्तृतरूपमा लेखेका छन् ।

सोभियत सङ्घका विजयी श्रमिकहरूले आजसम्म जुन अनेकौँ सेवाहरू गरेका छन्, तिनमा एउटा के पनि हो भने उसका आश्चर्यजनक र वीरतापूर्ण कार्यहरूले संसारबाटै निराशावादका खियाहरूलाई खुर्केर फ्याँकिएको छ ।

पुँजीपति वर्गका “उच्शृङ्खल पुत्रहरू” को यथार्थवादको दृष्टि आलोचनापरक थियो । त्यसले समाजका खरावीहरूको अनावरण ग¥यो र पारिवारिक संस्कारहरू, धार्मिक जडताहरू वा कानुनी दाउपेचहरूको बन्धनमा जकडिएको व्यक्तिको जीवनको रोमाञ्चक कथा लेख्यो । तर यसले मानिसहरूलाई यो कारागारबाट मुक्त हुँने बाटो भने देखाउन सकेन । हरेक कुराको आलोचना गर्नु त सहज थियो तर आलोचकहरूसित सामाजिक जीवन वा साधारणतयाः “जीवन” एउटा एकदमै निरर्थक बेइमानी कुरो हो भन्नुभन्दा अरू केही नै थिएन । आलोचक स्वयंले कुनखालको समाज चाहान्छन् ? त्यसको कुनै निश्चित रूपरेखा उनीहरूसित थिएन । यो कुरो बाइरनदेखि टमस हार्डी (सन् ३२ मा मरे) सम्म, शातोब्रियाँका पुस्तकहरूदेखि बोदलेयर र अनातोले फ्रान्स (यिनको सन्देहवाद धेरैजसो निराशावादसित मिल्दोजुल्दो छ) सम्म अनेकौँ लेखकले भनेका छन् ।

साहित्यमा समाजवादी यथार्थवादको अवतरण कुन किसिमले हुन सक्छ भने यो वास्तविक जीवनमा घट्ने समाजवादी रचनात्मक क्रियाहरूको दर्पण बनोस् । के हाम्रो साहित्यमा यस्तो यथार्थवादको आगमन हुन सक्दछ ? हुन सक्ने मात्रै होइन, अवश्य नै हुन्छ, किनभने अहिलेको बेलामा पनि क्रान्तिकारी समाज रचनाका त्यस्ता उदाहरण हाम्रो देशमा छन् र तिनको सङ्ख्या बढ्दै मात्र जाँदो छ । हामी त्यस्तो देशमा बस्छौँ र काम गर्छौँ, जहाँ गौरवपूर्ण, सम्मानपूर्ण र वीरतापूर्ण काम हुँनु एउटा कति साधारण कुरोजस्तो मात्र हुन थालेको छ भने धेरैको त दैनिक पत्रपत्रिकाहरूमा चर्चासम्म हुँदैन । जहाँसम्म हाम्रा लेखकहरूको सम्बन्ध छ, उनीहरू यिनका बारेमा किन लेख्दैनन् भने उनीहरूको ध्यान अहिलेसम्म पनि आलोचनापरक यथार्थवादको त्यही धारासम्म सीमित छ, जसको दृष्टि एकदमै स्वभाविक र सङ्गतरूपले जीवनका न्युनता र अक्षमताहरूमा छ ।

यहाँ म कुन कुरामा तपाईको ध्यान आकृष्ट गर्न चाहान्छु भने मिथ्या भाषण, पाखन्ड र सङ्कीर्ण मानसिकता आदि यस्ता दोष हुन्, जुन प्राकृतिक कारणहरूबाट उत्पन्न हुन्छन् र यी कारणहरूलाई हटाउन सकिन्छ ।

युवा लेखकहरूले साहित्यिक कार्यको कठिनतालाई बुझ्नु आवश्यक छ । यसका साथै उनीहरूले सधैभरिू केमा पनि ध्यान दिनुपर्दछ भने हाम्रो युगले हामीसित कस्तो साहित्यको माग गरेको छ र लेखकका रूपमा आफ्ना पाठकहरूप्रति हाम्रो के उत्तरदायित्व हुन्छ । यसभन्दा पहिले यस्तो कुनै पाठक समुदाय थिएन, जो हाम्रो स्नेह र आदरको त्यत्तिकै पात्र होस्, जति आजको सोभियत पाठक समुदाय छ ।

सत्यको अनुशीलन ज्ञानको उपलब्धीको साधन हो । यो एउटा खुड्किलो हो, जसले मानिसहरूलाई माथि चढाउँछ र अघि बढाउँछ । मानिसको श्रमले नै मानिसको सांस्कृतिक विकासको सम्पूर्ण इतिहासले गर्दछ ।

म प्रायः के भन्ने गर्दछु भने जुन देशको जति अग्लो लक्ष्य हुन्छ (त्यसको सिद्धिका निम्ति मानिसहरू प्रयत्न गर्दछन्) उसको प्रतिभा र कौशलको विकास त्यति नै दू्रत र सामाजिक दृष्टिले फलप्रदः हुन्छ । म फेरि पनि जोड दिएर भन्न चाहान्छु, यो सही कुरो हो । म यो कुरो मेरो जीवनको सम्पूर्ण अनुभवहरूको आधारमा अर्थात् मैले जे–जति देखेको, पढेको र सोचेको छु, त्यसका आधारमा भन्दैछ, । सोभियत जीवनका वास्तविकताहरूले यस सत्यलाई अरू ठोस र प्रमाणिकरूपले पुष्टि गर्दछन् ।

लेनिनको कालमा सोभियत समजवादी सङ्घमा लेनिनको क्रान्तिकारी व्यक्तित्व उच्चतम लक्ष्यहरूको सिद्धिका लागि श्रमिकहरूलाई सञ्चालित गर्दै थियो र अहिले सोभियत युनियतका करोडौँ श्रमिकहरू त्यस जाज्वल्यमान लक्ष्यलाई कार्यरूपमा परिणत गर्न महान् प्रयत्न गर्दैछन् र उनीहरूको यस प्रयत्नहरूबाट संसारभरिका मजदुरहरूको क्रान्तिकारी भावना बढी–भन्दा–बढी जागृत भएको देखिन्छ । उनीहरूका यी प्रयत्नहरूलाई संसारभरिका सबै असल मानिसहरूले आदरपूर्वक प्रशंसा गर्दछन् र सबै बदमासहरू त्यससित त्यत्तिकै विद्वेष पनि राख्दछन् ।

“सांसारिक मानिसहरू” अर्थात् ती मानिसहरू, जसलाई कुनै आदर्शको गरिमाले स्पर्श गर्दैन, र सबथोक जान्दछन्, जो परिस्थिति, संस्कार र जड मतवादहरू र नियम–कानुनका दबावमा परेर त्यसअनुसार आचरण गर्नमै आफ्नो कल्याण ठान्दछन्, ती मानिसहरू हाम्रो यस लक्ष्यका बारेमा के भन्दछन् भने यो एकदमै हवाई कुरो हो र यसलाई पूरा गर्नु नितान्त असम्भव छ । तर यिनै मानिसहरू हाम्रो सङ्घर्षमा सहयोग नगरेर एकदमै चलाखीका साथ जीतका फलहरूमा भाग लिन आइपुग्छन् । यस्ता मानिसहरूका लागि दाँतेको नरकको घेरामा विशेष स्थान निश्चित गरिएको छ ।

सोभियत सङ्घमा यस “हवाई” लक्ष्यको दिशामा जे–जति प्रयत्न भएका छन्, तिनले वीरताका ऐतिहासिक कार्यहरूलाई, अद्भुत श्रम र खतरापूर्ण साहसिक कार्यहरूलाई जन्म दिएका छन् । यो तिनको गणना गर्ने ठाउँ होइन, तर हाम्रा लेखकहरूले यी कुराहरूलाई कार्यरूपमा परिणत हुँनु, इतिहासको घटना बन्नुभन्दा पहिले नै जान्नु आवश्यक छ । दाल, भात, रोटी उपयोगी हुन्छ । तर कसरी मानिसहरू गहुँ एकपटकको बिउले वर्षौँ–वर्ष जङ्गली घाससरह आफै उम्रने विरूवाको रूपमा परिवर्तन गर्न प्रयास गर्दैछन्, जसले गर्दा वर्षैपिच्छे खेत जोत्ने कार्यमा अकारण बन्दी बनेको शक्तिलाई मुक्त गर्न सकिन्छ भन्ने जान्नु पनि धेरै उपयोगी हुन्छ ।

यसरी समाजवादी वर्गहीन समाजको स्थापनाको उच्च लक्ष्यको दिशामा हुँने समाजपयोगी श्रमबाट सत्यको सृष्टि हुन्छ, यस्तो समाजवादी वर्गहीन समाजमा अनावश्यकरूपले खर्च हुँने धेरै नै शारीरिक शक्तिलाई बौद्विक शक्तिका रूपमा परिवर्तन गर्न सकिनेछ र यसमा सबैको प्रतिभा र योग्यताको विकासका लागि असीम क्षेत्र हुँनेछ ।

साहित्यको दायित्व जीवन एवं श्रमको दर्पण बन्नु, तिनको चित्रण गर्न र सत्यलाई बिम्वहरू र चरित्रहरूको रूपमा प्रस्तुत गर्नु हो, त्यस्ता चरित्रहरूको चित्रण गर्नु, जसले सार्वजनिक चरित्रका रूपमा मानिसको समष्टिलाई द्योतन गर्न सकुन् । एउटा भनाई छ, जति तिमी माथि चढ्न सक्छौ, त्यति नै टाढासम्म देख्न पाउँछौ । साथीहरू घ् आफ्नो यो महान् लक्ष्यको उचाईबाट तपाईहरूले तपाईको विषयवस्ते र रचना–विधिले कतिसम्म क्रान्तिद्वारा प्रोत्साहित रचनाशक्तिलाई आकार दिन सक्दछ र स्वयं तपाईहरूले कतिसम्म क्रान्तिको प्रभावलाई अनुभव गर्नु हुन्छ ? त्यो हेर्न सक्नु हुँनेछ ।

म यथार्थवादी साहित्यकार होइन । साहित्य जीवनको वास्तविकता भन्दा माथि उठोस् र माथिबाट वास्तविकतामाथि दृष्टिपात गरोस्, किनभने साहित्यको उद्देश्य जीवनको छायाँचित्र निकाल्नुभन्दा महत् छ भन्ने म मान्दछु । जे कुराहरू हाम्रा अघि छन्, तिनैको मात्र चित्रण गर्नु पर्याप्त छैन– हामीले जे कुराको आकाङ्क्षा गरेका छौँ र जसलाई उपलब्ध गर्न सकिन्छ, ती कुराहरूप्रति पनि ध्यान दिनु आवश्यक हुन्छ । अझ अगागि बढेर भन्दा हामीले जीवनका मूल शक्तिहरूलाई रूपायित गर्नुपर्दछ । हामीले साना तर आफ्नो मौलिक विशेषतायुक्त कुराहरूलाई हामीले लिनुपर्दछ र तिनलाई यस्तो महान् कुरो बनाइदिनुपर्दछ, जसबाट एउटा समष्टिको बोध होस् र जसले आफूभित्र त्यस किसिमका सबै कुराहरूका समग्र विशेषतालाई समावेश गर्न सकोस् । यही नै साहित्यको कर्तव्य हो । यदि तपाईहरूले उदाहरणका लागि उन्नाइसौँ शताब्दीका महान् रचनाहरूलाई हेर्नुभयो भने तपाईले साहित्यले दिा यस्तै गर्ने प्रयत्न गरेको पाउँनु हुँनेछ । उदाहरणका लागि बाल्जाक (उनको नाम धेरै लिइन्छ, तर उनलाई धेरै कम मानिसले मात्र जानेका छन्) जस्ता महान् लेखकहरूलाई यस कार्यमा सफलता पनि प्राप्त भएको छ ।

हाम्रो साहित्यले सबै कुराको आफूमा सामेल गर्नुपर्ने हुन्छ । मास्को रिजनका बोगोरोद्स्कका कुनै भुगोलशास्त्रीका बारेमा मथा लेख्न बस्दा हामीले त्यसको चित्रण अन्य भुगोलशास्त्रीहरूसित मिल्दोजुल्दो हुँने गरी गर्नुपर्दछ । त्यो भुगोलशास्त्री चाहे जहाँसुकैको होस्, अस्त्राखान, मुर्मान्स वा अन्यत्र कतैको केही फरक पर्दैन । हामी सोभियत सङ्घका लेखकहरूलाई के भन्ने अधिकार छ भने संसारमा एउटा त्यस्तो मानिसको जन्म भएको छ, जसको दिमाग सिक्रीहरूले बाँधिएको छैन र जो आफू स्वयंलाई र आफ्नो प्रतिभालाई, आफ्ना विशेषताहरूलाई सबैका अघि राख्न चाहान्छ । जुन बौद्विक शक्ति अहिलेसम्म दबिएर रहेको थियो र काममा उपयोग भैरहेको थिएन, त्यो अब अद्भुतरूपले क्रियाशील छ । हाम्रा अधिकांश किसान पहिले मात्र ६ इञ्चसम्म गहिरो खन्दथे भने अब हामी यति गहिरोगरी हलो जोत्दैछौँ कि त्यसको भन्डारका नयाँ–नयाँ सम्पदाहरू हाम्रासामु आउँदैछन् । हामी सक्रियरूपले सङ्घटित मानव बुद्विलाई प्रकृतिको यान्त्रिक नियमवद्धताका विरूद्ध सङ्घर्षमा आवद्ध भएको देखिरहेका छौँ, यो सङ्घर्ष उत्तरोत्तर तीक्ष्ण भैरहेको छ र यसमा मनुष्यको विजय भैरहेको छ ।

(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ३४ – २०६८ श्रावण ०४ गते, बुधबार )

This entry was posted in अनूदित निबन्ध and tagged , , , . Bookmark the permalink.

One Response to अनूदित निबन्ध : युवा लेखकहरुसित कुराकानी

  1. Nijal Lama says:

    बिचार निक्कै राम्रो

Leave a Reply

Your email address will not be published. Required fields are marked *