स्रष्टा जीवनी : कविशिरोमणि लेखनाथ पौड्याल

~नरेन्द्रराज प्रसाई~Lekhnath Poudel

लेखनाथ पौड्यालको जन्म १९४१ साल पुस १५ गते कास्कीको अर्र्घौअर्चलेमा भएको थियो । यिनलाई जन्माउने आमाबाबु वसुन्धरादेवी र पं. दुर्गादत्त थिए ।पौडयालले र्सवप्रथम गङ्गागणेशस्तोत्र, अमरकोश, चण्डी पढेर आफूभित्रको जागृतिको दैलो उघारेका थिए । उनले आफू साहित्यलेखनमा लाग्न पितृप्रसादको सहयोग लिन खोज्दा उनीबाट उल्टै हप्काइ खाएका थिए । वास्तवमा त्यही ईख र दधिराम मरासिनीको स्नेह, सहयोग र सद्भावनाले उनले काव्य सृजनाको लेखनविन्दूमा आफूलाई पुर्‍याएका थिए । पौड्याल आफू पन्ध्र वर्षको हुँदा काठमाडौँको तीनधारा संस्कृत पाठशालामा भर्ना भए । त्यसपछि उनी कविता लेखनमा पनि आबद्ध हुन थाले । त्यही तीन वर्षपढेर उनी बनारसमा संस्कृत मध्यमाको परीक्षा दिन गए, तर उनी फेल भए । त्यसपछि उनले पढ्ने कामबाट मन झिके । यति हुँदाहुँदै पनि नेपाली र संस्कृत भाषामा उनी पण्डितलाई पनि जित्ने भए । उनको ज्ञानका कारण बनारसबाट प्रकाशित ‘सूक्तिसूधा’ र ‘कविताकल्पद्रुम’मा उनका नेपाली र संस्कृत भाषामा कविता छापिए । साथै सुन्दरी, माधवी, चन्द्र, चन्द्रिका साहित्यिक पत्रिकाले लेख छापेर यिनलाई प्रोत्साहन गरे ।पौड्याल पठनपाठनमा नभएकाले बरालिन पनि थाले । त्यही क्रममा उनी आफ्ना बाजे राधाकृष्णलाई पछ्याउँदै तराईको वीरपुर पुगे । त्यहाँ पनि उनले काम नपाएपछि उनी भौतारिंदै भारतको आसामतिर लागे । त्यसैबीच उनीसँग राममणि आदीको सम्पर्क भयो ।

घटराज भट्टराईका अनुसार त्यसैताका “हलन्त बहिष्कार अभियानमा आचार्य र पौडयालको सहमति बन्यो । पछि राममणि राणाका दरबार घुस्रेपछि पौडयाल उनलाई पछयाउँदै काठमाडौँ आए । तर सुरुका दिनमा उनले काठमाडौंमा राम्ररी टेक्ने ठाउँ भेटेनन् । पछिचाहिं उनले भीमशमशेर जबराका नातिहरू पढाउने जागिर पाए । राणाका सन्तान पढाउन थालेपछि पौड्यालको बिहानबेलुकाको गर्ज पनि राम्ररी टर्न थाल्यो । त्यही समय उनले आफ्नो काव्यात्मक व्यक्तित्वलाई पनि पालिस गर्ने अवसर पाए । उनको कविता पढेर नै भीमशमशेरले उनलाई हजुरिया बनाए । तर जुद्धशमशेर श्री ३ भएपछि पौडयालको शिरमा बल्लबल्ल लागेको घाम पनि अस्तायो ।शारदाको प्रकाशनको आरम्भमा पौड्याल पनि शारदामा लेख्न पुगे । शारदाको अपरिहार्य आवश्यकताका रूपमा उनका रचनाहरू रहन थाले । त्यस कालखण्डमा उनी राणाको स्तुतिगान लेखेर थाकेनन् । त्यति बेला उनको र देवकोटाको राणाको स्तुति लेख्न होड चल्थ्यो । तर २००७ सालको प्रजातन्त्र आएपछि पौड्याललाई चाहिं राणाको स्तुति लेखेकोमा पछुतो भएको थियो । त्यसैले त्यसपछि पौडयालले नेपाली काङ्ग्रेसको चारतारे विल्ला लगाएर आफूलाई जनमाझ कट्टर प्रजातन्त्रवादीको प्रदर्शन गरेका थिए ।२००८ साल असार २९ गते पौड्याललाई राजा त्रिभुवनले कविशिरोमणिको पद र मासिक दुई सय रुपियाँ आजीवन भत्ता प्रदान गरेका थिए ।लेखनाथ पौड्यालले ‘कविशिरोमणि’को पद पाएपछि उनले र्सवप्रथम आफ्ना गुरू दधिराम मरासिनीलाई एउटा चिठी लेखे ”मेरा पूज्य गुरू ! तपाईंले मेरा हात समाएर मलाई कवितायात्रामा प्रवेश गराउनाले नै आज म कविशिरोमणि भएको छु ।”

कविशिरोमणिको सम्मान पाएपछि पौड्यालले आफ्नो शिर उठेको ठाने । त्यसपछि उनी कविता लेखनमा मात्रै आबद्ध हुन थाले । साहित्यिक सङ्घसंस्थाहरूले पनि उनैलाई प्रमुख अतिथि बनाएर कार्यक्रमहरू गर्न थाले ।लेखनाथ पौड्याल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटा खुवै मिल्थे । यिनीहरू प्रायः छुट्टिँदैन थिए । त्यसैले २००९ सालमा उनीहरू इलामको कर्फोक पुग्दा त्यहाँ उनीहरूको भव्य स्वागत भएको थियो । त्यसैताका उनीहरू दार्जीलिङ जाँदा त्यहाँका त्रिमूर्ति सूधपा अर्थात् सूर्यविक्रम ज्ञावाली, धरणीधर शर्मा र पारसमणि प्रधानले यिनीहरूलाई पनि त्रिमूर्तिको सम्बोधन गरेका थिए । त्यसपछि नेपाली भाषासाहित्यमा त्रिमूर्ति भन्ने वित्तिक्कै पौड्याल, सम र देवकोटा कहलिन थाले ।२०११ सालको कुरा हो; पौड्यालकै शुभजन्मोत्सवको उपलक्ष्यमा काठमाडौँमा उनको रथयात्रा गरियो । यो काम गर्ने प्रमुख हस्ती थिए गोपाल पाण्डे असीम । साथै यस कार्यमा छाता ओडाउने काम चाहिं महाकवि लक्ष्मीप्रसाद देवकोटाले गरेका थिए । त्यसै बेला देवकोटा र समले पौडयाललाई रथारोहण गराएका थिए । त्यस दिन पौडयालका हातमा जनअभिनन्दनपत्रका साथमा पाँच हजार रुपियाँको थैली पनि राखिएको थियो । त्यस घटनाको खुशियालीमा पौड्याल रोएका थिए । पौड्याललाई रथारोहण गराइएको विषयमा उत्तम कुँवरले लेखेका छन् “२०११ पुस २० गतेको मध्य दिनमा जिउँदा कविलाई रथमा राखेर हजारौँ जनताले तँ छाड र म छाड गर्दै ठमेल सल्लाघारीदेखि टुँडिखेलको ऐतिहासिक खरीको बोटसम्म ल्याए ।

शिरोमणिका आँखामा आँसु थियो, जनता हर्षोल्लासमा चुर्लुम्म डुबेका थिए । नेपालको निम्ति मात्र होइन सारा विश्वकै निम्ति यो साँच्चै नै ठूलो ऐतिहासिक घटना थियो ।”पौडयालका डेढ दर्जन जति कृति प्रकाशनमा आए । उनका कृतिहरू नेपाली आधुनिक भाषासाहित्यका अनुपम नमुना मानिन्छन् । उनका कृतिगत योगदानले उनी नेपाली परिवेशमा र्सवत्र फैलिए । त्यसैले साहित्यप्रतिको कदरस्वरूप उनलाई मरणोपरान्त २०२६ सालमा त्रिभुवन प्रज्ञापुरस्कार पनि प्रदान गरियो । महाकवि देवकोटाका जोडले पौडयाल नेपाल एकेडेमीको पनि सदस्य भए । एकेडेमीका भ्वाइसचान्सलर बालचन्द्र शर्माले पौडयाललाई नपढेको भनेर राजा महेन्द्रलाई एकोहोर्‍याएका थिए; तर देवकोटाले राजालाई सन्देश पठाए “ती ऋषिकल्प प्राज्ञ नभएको ठाउँमा मैले खुट्टा टेक्न मिल्दैन । त्यसपछि पौडयाल पनि सदस्यमा मनोनीत भए ।पौडयालका मनपर्ने लेखक कालिदास थिए । उनका मनपर्ने अर्का स्रष्टा मैथीलिशरण गुप्ता थिए । साथै नेपाली भाषासाहित्यमा पौड्यालका मन पर्ने स्रष्टा लक्ष्मीप्रसाद देवकोटा र माधव घिमिरे थिए । लेखनाथलाई सबैभन्दा पहिला कविसम्राट्को उपाधी लेख्ने पनि देवकोटा नै थिए । वास्तवमा पौड्याल आधुनिक नेपाली भाषासाहित्यका कविहरूका पनि कवि थिए ।पौड्याललाई आर्थिक अभाव भइरहन्थ्यो । उनलाई गर्ज टार्ने काम राजा महेन्द्रले पनि गरिरहन्थे । त्यति मात्र होइन उनको बिहानबेलुकाको चुल्हो बाल्ने काम पनि राजा महेन्द्रले नै गरिदिए । यसबारे पौड्यालले भने “मेरा साथ पैसा रहँदैन, दुःखको दुखै हुन्छ । साँझ सबेरचाहिँ राजाको कृपाबाट चलिरहेको छ ।”राणाकालीन युगमा खुलेर साहित्य लेख्न पाइँदैनथ्यो ।

राम्रा सृजना पनि आगोमा झोस्नुपथ्र्यो या त स्रष्टाले चिसो खोरमा सुत्न जानुपथ्र्यो । त्यसैले पौड्यालले जति लेखे धेरै लेखे । यसै प्रसङ्गमा उनी आफै भन्थे “मेरो समयमा त म एक्लो जस्तै थिएँ । त्यति बेला लेख्नु त पापै सम्झिन्थ्यो । तर मैले त्यस्तो समयमा पनि लेखेँ नि !”पौडयालले दुई जनासँग बिहे गरे । उनका छोरा अनन्त पौडयाल नेपाल सरकारका सचिव भए । साथै उनका दुई छोरी पुण्यप्रभादेवी ढुङ्गाना र कुन्तिदेवी भट्टराईले पनि साहित्यमा आफूहरूलाई उभ्याए ।पौडयालको स्वास्थ्य क्रमशः खच्किन थाल्यो । खास गरेर २०२० सालपछि उनको देब्रे आँखालाई मोती विन्दूले ढपक्कै छोपेको थियो; त्यसैले उनी एउटा आँखामात्र देख्थे । २०२२ सालमा उनी तीर्थ गर्न बनारस लागे । तर भारतको रक्सौलमा पुगेपछि उनी थला परे । अनि उनले भने “अब म मर्छु । म मर्न मेरै देशमा र्फकन्छु ।” त्यसपछि उनलाई रातोरात नारायणगढको नारायणीनदीमा ल्याइपुर्‍याइयो । उनको त्यो समाचार राजा महेन्द्रले सुनेर उपचारार्थ तुरुन्तै दस हजार रुपियाँ पठाइदिए । अन्ततः २०२२ सालको शिवरात्री अर्थात् फागुन ७ गते कविशिरोमणि लेखनाथ पौड्याल दिवंगत भए । यो समाचार सुन्नेवित्तिकै नाट्यसम्राट् बालकृष्ण सम रोए । त्यसपछि त्यस लहरले नेपाल राष्ट्र ढाक्यो र क्रमशः नेपाली साहित्य बोलिने सारासंसासरमा यो बेहोराको सम्प्रेषण भयो ।

This entry was posted in स्रष्टा जीवनी and tagged , . Bookmark the permalink.

1 Response to स्रष्टा जीवनी : कविशिरोमणि लेखनाथ पौड्याल

  1. Pingback: Unleashing Nepal's Best: 1 Ultimate Nepali Quiz Collection! - Gandaki Info

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.