एकाङ्की : नम्र विनम्र

~नन्दलाल आचार्य~

कर्णनाथ : ४५ बर्से अविवाहित युवक । शिक्षित, पठित र बेरोजगार युवक । बेला न कुबेला बोलिरहने । प्रेमसम्बन्धी विभिन्न विद्वान्को भनाइ ख्याल गर्ने स्वार्थविहीन व्यक्ति । कुरामा कुरा चल्दामात्र नत्र अरू पात्रहरू कर्णनाथका कुरामा ध्यान दिँदैनन् । उनी बेला न कुबेला बोले पनि बोलाइमा गम्भीरता हुन्छ ।

नविता : कडा अनुशासनको घेराभित्र एउटा निजी विद्यालयमा कक्षा ९मा अध्ययनरत १७ बर्से अविवाहिता युवती ।

अमित : शिक्षित, पठित र शिक्षण पेसामा आबद्ध ३२ बर्से अविवाहित युवक ।

लोचन : सामान्य शिक्षित र व्यावहारिक एवं नाबालक सन्तानकी महतारी । हरेकी २७ बर्से पत्नी ।

हरे : लोचनका ४२ बर्से पति । शिक्षित, पठित र विगतमा निजी विद्यालयका शिक्षक तर भर्खरै सरकारी विद्यालयमा शिक्षणमा आबद्ध । एकाङ्कीमा प्रत्यक्ष भूमिका नभएको । उनी विद्यालयमा अनुशासनको पाठ पढाउन माहिर मानिन्छन् । अनुशासनका नाममा त्रास फैलाउने काम गरेको कुरा बेलावखत सार्वजनिक हुने गर्छ ।

(रङ्गमञ्चमा ठूलो अक्षरमा ‘नम्र विनम्र’ लेखिएको छ । रङरोगनहीन कुर्सीटेबुलहरू राखिएका छन् । गरिबीका नमूना यत्रतत्र छ । भुइँघरको दलानमा नविता, लोचन, अमित र कर्णनाथ बसेका छन् । कर्णनाथ छटपट गरिरहन्छन् । लोचन निराश छिन् । उनको काखमा दुई नाबालक बच्चा (एकजना छोरा र एकजना छोरी) छन् । नविताको मुहारमा भय र त्रास छ ।)

कर्णनाथ : (मञ्चको चारैतिर घुमेर हेर्दै) गम्भीर ! गम्भीर !! जताततै गम्भीरता !! हेर्नुस् लोचन दिदी र नविता बहिनी ! निरास नहुनुस् । मक्ख पनि नपर्नुस् । (भित्तामा लेखिएको तुल हेर्दै) नम्र त्यसमा पनि अँझ विनम्र ! सानो आश्चर्यमा अर्को ठूलो आश्चर्य !! मौकामा चौका हान्ने बानी नै परिसक्यो मलाई । हेर्नुस्, विवाहित जीवन सफल बनाउनुछ भने प्रेम गर्नुस् । जान्नु हुन्न भने सिक्नुस् ।

अमित : जहाँ प्रिय चीज भेटियो, बुझ्नुस् प्रेम सुरु भयो । प्रेमलाई स्थायीत्व दिन प्रेमकै बाटो अपनाउनुपर्छ ।

कर्णनाथ : जीवनका हरेक परिस्थितिलाई प्रेमको अँगालोमा बाँध्न सकिन्छ । प्रेमपूर्ण जगत्मा जसले पाइला राख्छ, त्यसले नयाँ जीवन भेट्छ–भेट्छ ।

लोचन : अमित सर ! अब प्रसङ्गतिर जाऔँ होला । (नवितालाई औँल्याएर) बहिनी, मलाई मद्दत गर्नुहुन्छ ? (नविता निरास हुन्छे । केही बोल्दिन ।)

कर्णनाथ : नबोल्दैमा समस्याबाट पार पाउने हो भने त मान्छे चुपचाप सुनीमात्र रहन्थ्यो होला । बोल, प्रेमसँग बोल । प्रेमका अगाडि सबै स्वीकार्य छ ।

अमित : लोचन म्याम ! निर्धक्क मनका कुरा भन्नुस् । भन्ने ठाउँ यहीँ हो । सुन्ने मान्छे हामी नै हौँ । अनि नविता ! सुन, अहिले बोल्न, भन्न, सुन्न र मनन गर्न भुल्यौ भने जीवन नीरस हुन्छ ।

कर्णनाथ : हो, देहको प्रेम झुटो हुन्छ । आत्माको प्रेम नै शुद्ध प्रेम हो । यस्तो प्रेममा बाधाव्यवधान केही हुन्न । विछोड भए पनि यस्तो प्रेम मृत्युपर्यन्त कायम रहन्छ । देशमा शान्ति ल्याउन होस् या मान्छेमा सकारात्मक भावना जगाउन, प्रेमबाहेक अरू केही उत्तम हुन सक्तैन ।

अमित : बोल नविता । आज तिमीले बोल्ने प्रयास गर्नुपर्छ । मनका हरेक कुरा रिट्ठो नबिराई भन्नुपर्छ । हामी पराया हैनौँ । तिम्रै शुभचिन्तक हौँ । तिम्रो मनलाई प्रभावित पार्न सक्यौँ भने हामी सफल हुन्छौँ । त्यो प्रभावको बाटो पनि प्रेमपूर्ण नै छ ।

लोचन : बहिनी, भन त । तिम्रो हरे सर अर्थात् मेरा श्रीमान् कुनै केटीसँग प्रेम गर्नुहुन्छ रे । कोसँग गर्नुहुन्छ ? मलाई बताऊ न ।

नविता : (लामो मौनपछि मुख खोल्छे ।) म आफ्ना बारेमा मात्र जान्दछु । अरूका बारेमा न म जानकारी राख्छु न चाहन्छु । मलाई मेरै बारेमा सोध्नुस् ।

लोचन : उसो भए भन त, त्यो प्रेम गर्ने केटी तिमी नै हौ भन्यो रे कसैले । तिम्रो उत्तर के हुन्छ ?

अमित : अब भने हामी विषयवस्तुमा प्रवेश गर्यौँ ।

कर्णनाथ : प्रश्न गर्यो प्रश्नकै दु:ख भने जस्तोमात्र होला नि । आजसम्मको मानवीय जीवनको इतिहासमा असत्यलाई सत्यले, क्रोधलाई प्रेमले, हिंसालाई आत्मियताले जितेको छ ।

नविता : (सकससाथ) सत्य नै बक्नुपर्छ भने ‘हो’ भन्दिन्छु ।

कर्णनाथ : प्रेमले सहन गर्न जान्दछ । यसले लिँदैन मात्र, दिन पनि जान्दछ । अहिले लोचन भिखारी बनेर भिक्षापात्र फैलाइरहेकी छ । देऊ नविता देऊ, जे दिन सक्छौ, देऊ ।

नविता : कुरो अघि नबढ्नु थियो बढिहालेछ । कसैले नसुन्नु थियो, प्रचारप्रसार भइहालेछ ।

लोचन : त्यसैले त भनेकी हुँ ? के सोचेर प्रेम गर्न थाल्यौ ? अब के सोच्दै छौ ? (आफ्ना दुई नाबालक छोरा र छोरीलाई देखाउँदै) यी नानीहरूको अनुहार हेरेर र यो झुप्रोको दारिद्रय नियालेर भन । भन, आज तिमीले भन्नै पर्छ । निष्कर्षमा पुग्नै पर्छ ।

कर्णनाथ : अब भने नविता बहिनीले खाँट्टी कुरा नभनी सुख नपाउने भइन् । सबैसँग प्रेम होस्, थोरैसँग विश्वास होस् तर हानी कसैको नहोस् ।

नविता : भन्ने कुरा भन्छु । मलाई प्रेमको भोक जगाउने काम हरे सरले नै गर्नुभएको हो । मलाई उहाँको प्रेमले छोइसकेको छ । म उहाँलाई धोका दिन सक्तिनँ । मैले ठूलो महत्त्वाकाङ्क्षाको महल खडा गरेकी छैन । जस्तो आउँछ त्यस्तै सहने सोच छ ।

लोचन : हेर, म र यी सन्तानको जीवनमा बल्ल सुख आइपरेको छ । उहाँलाई सरकारी जागिर मिलिसकेको छ । तिमीले बेलामा महसुस गर्दिनौ भने यो सुख दु:खमा रूपान्तरण हुन्छ । अत: तिमीबाट हाम्रो सुखको घर भत्कियोस् र बदलामा दु:खको जग खडा होस् भन्ने म चाहन्नँ ।

नविता : हजुरको कुरा राम्ररी बुझिनँ । म सरमा निर्भर छु । मेरो प्रेम सरसँग भएको हो । यो घर र तपाईंसँग भएको हैन । दु:ख र सुखसँग मैले प्रेम गरेकी हैन । मैले चाहेर पनि प्रेम गरेकी हैन । म हरे सरसँग सम्बन्धित छु । त्यतिमै सीमित रहन्छु । भो अब ?

अमित : बुझ्न असजिलो भो । म्यामको कुरा खुलस्त छ । नविता, तिमीले हरेसँगको सम्पूर्ण सम्बन्ध तोड्नुपर्छ । एक आदर्श गुरुका रूपमा मात्र उहाँलाई हेर्नुपर्छ बरु तिम्रो कुराचाहिँ दुई थरी अर्थ दिने खालका छन् ।

कर्णनाथ : प्रेमले गर्दा पापी पनि सुध्रन्छ । शत्रु पनि मित्र बनाउने अचुक ओखती हो प्रेम । प्रेमले मान्छेलाई मूर्ख बनाउँदैन । चैतन्ययुक्त बनाउनु प्रेमको काम हो । प्रेमले संसारलाई बाँधेको छ । प्रेमपूर्ण आँखाले हेर्ने हो र पाइला चाल्ने हो भने संसारमा असम्भव भन्ने चीज केही छैन । भय निवारणको अस्त्र नै प्रेम हो । हो नविता, प्रेमले दिन जान्दछ; लिन जान्दैन । तिमी लोचन म्यामको झोली रित्तो पार्न लागिरहेकिरहिछौ । त्यसो नगर । अब त्यो झोली भरिदेऊ र संसारलाई प्रेमको पाठ सिकाऊ ।

नविता : (केही सम्झी अघि सरेर बच्चाहरूको मुहारलाई एकक्षण नियाल्छे ।) म कर्णनाथ अंकलका हरेक कुरालाई स्वीकार्दछु । उहाँको भावनाको कदर गर्छु । म प्रेमको नाममा कसैमाथि घृणा फैलाउन चाहन्नँ । सुरुमा उहाँको कडा अनुशासनको डर थियो । जे भन्नु भो त्यही गरेँ । ‘सर्वस्व जिम्मा लगा’ भन्नुभो जिम्मा लगाएँ । नलगाएमा विद्यालयमा सजाय भोग्नुपर्ला र घरमा आमाबुबाको यातना खप्नुपर्ला भन्ठान्थेँ । सुरुमा त उहाँले मलाई नधम्क्याएको हैन, पछि–पछि उहाँ मलाई असाध्य माया गर्न थाल्नुभो । थाहै नपाई म पनि प्रेम गर्न थालिसकेछु । धेरैपछि ज्ञात भो । प्रेमलाई शिखरमा स्थापित गरेँ । यो कतिखेर पतन हुने हो भन्ने त्रास हुन थाल्यो । प्रेमलाई जिउँदो राख्न त्रास जागेको थियो । त्यो अति नै जाग्यो । भनुँ त्रासको शिखर बन्यो । हुँदाहुँदै त्रासको शिखर अकस्मात् गल्र्यामगुर्लुम ढल्यो । प्रेम पनि साथसाथै ढल्यो । त्रास त आर्यघाटमै पुग्यो । प्रेम घायल भयो । त्यो पनि अहिले अवसानको तरखरमा छ । मलाई लाग्छ, प्रेमको मृत्यु हुनु भनेको अर्को प्रेमको उदय हो । मेरो मनमा अर्कै प्रेमको उदय भइसकेको छ । त्यसो हुनुमा यहाँका सम्पूर्ण पात्र र परिस्थिति जिम्मेवार छन् ।

(नविताको कुराले लोचन खुसी हुन्छिन् । नानीहरूलाई म्वाइ खान्छिन् । स्थिति रोमाञ्चक बन्छ । अरूहरू पनि मुस्कुराउँछन् तर अमित भने अँझै सोचमै डुबेको देखिन्छ ।)

कर्णनाथ : नविता, म पनि तिमीसँग यस कुरामा सहमत छु । अँझ म त भन्छु, मनुष्य बनाउने चीजको पुरुषार्थी नाम नै प्रेम हो । शत्रुको वैरभाव मार्ने काम प्रेमले गर्छ ।

अमित : चित्त दुखाउनु हुन्न । प्रेमले कसैको चित्त कुड्याउँदैन । नविता, तिमीले पहिलेको प्रेमको मृत्यु भई अर्कै प्रेमको उदय भइसकेको छ भन्यौ । हामीले त्यसलाई के भनेर बुझ्नु ?

नविता : सर, कतिपय कुरा यस्ता हुँदा रहेछन् । कसैको मुहार हेरेर, कसैको मन बुझेर र परिस्थिति बिचारेर अन्तस्करणको आवाजलाई तिलाञ्जली दिनुपर्दो रहेछ । (आँखाभरि आँसु पारेर ठूलो स्वरले) हो, मैले तिलाञ्जली दिएँ प्रेमलाई । मैले लत्याएँ प्रेमलाई । प्रेमको नाममा म धोकेबाज कहलिउँली । अँझै त्रास छ मनमा । त्यही त्रास मेट्ने काम तपाईंहरूको हो । मेरा लागि यति पनि गर्नुभएन भने म तपाईंहरूलाई धोकेबाज भन्नेछु । हो, मेरो मनमा अर्कै प्रेमको उदय भइसकेको छ । त्यो प्रेम लोचन म्यामको मनसँग, यी अबोध बालकको मुहारसँग, तपाईं कर्णनाथ अंकल र अमित सरको बोलीसँग छ । म प्रेमको सङ्कुचित घेरामा कैद रहेछु । अब म प्रेमको बृहत् दायरामा छु ।

अमित : तिम्रा कुरा विवेकपूर्ण लागे, नविता बहिनी । हाम्रो मनको सानो द्वारलाई फराकिलो बनाइदियौ ।

लोचन : अँझै पनि एउटा कुरो बाँकी नै रह्यो । बहिनीसँग कस्तो त्रास बाँकी छ । त्यो मेट्ने काममा हामी कसरी सहयोगी हुन सक्छौँ ?

नविता : मान्छेको चिनारी आफूभन्दा सानोलाई प्रेम एवं सभ्यतापूर्ण व्यवहार गर्नुमा र आफूभन्दा ठूलाको मानमर्यादा कायम राखी आज्ञापालन गर्नुमा छ । अब म हरे सरसँग कुनै सरोकार राख्दिनँ । यसो गर्दा उहाँको भावनाको खिल्ली उडाएको त ठहरिँदैन ?

अमित : एउटा कुरा बुझ नविता, कर्तव्यबाट टाढा भाग्नेले लाभ पनि गुमाउँछ । श्रीमती एवं छोराछोरीको वर्तमान र भविष्य हातमा लिएको हरेले यसबाट पन्छिन खोज्दा उसले हात परेको अर्को लाभ गुमायो । यसका लागि हामी छौँ । (लोचनतर्फ नजर दौडाउँदै) अब म्यामको काँधमा जिम्मेवारी थपिएको छ । हरेलाई प्रेमपूर्ण बाटोमा ल्याउने मुख्य अभिभारा आएको छ । (एकक्षण सन्नाटा छाउँछ ।)

कर्णनाथ : नैतिकताको बाटोमात्रै प्रेमपूर्ण हुन्छ । हामी हरेलाई नैतिकताको भारी बोकाउँछौँ, त्यो पनि प्रेमले । उसले पनि तिमीले झैँ सम्झिनेछ र शिक्षकको हैसियत बिर्सेकोमा आत्मग्लानि गर्नेछ ।

लोचन : नविता बहिनी, हामी साथमा भएपछि जीवन सुखमय हुन्छ, हैन र ? (सबैमा हाँसो छाउँछ ।)

नविता : म्याम ! वास्तविकताचाहिँ घामजूनझैँ छर्लङ्ग छ । कुरो र कुलो जता लग्यो उतै जान्छ । मैले पनि गलत काम गरेकै हुँ । सरका हरेक कार्यलाई सहर्ष स्वीकार्नुपर्छ भन्ने थिएन । सही समयमा सही निर्णय गर्न सकिनछु । मलाई यस्तै लाग्दै छ । बेला न कुबेला आफ्नो स्तरभन्दा माथि उक्लिँदा पछुतोसिवाय अर्थोक केही नपाइने रहेछ ।

कर्णनाथ : विगतलाई कोट्ट्याएर वर्तमानलाई बिर्सिनु उचित हुँदैन । (‘नम्र विनम्र’ लेखिएको तुल हेर्दै) नम्र त्यसमा पनि विनम्र गाँसिएपछि सुनमा सुगन्ध थपिन्छ । विनम्रका अगाडि संसार झुक्नुपर्छ । बाध्यताका अगाडि शरीर झुक्ला, मन झुक्दैन । शिक्षकको श्रद्धाका कारण तिमीले गलत काम गरिछौ भन्ने मचाहिँ बुझ्दै छु ।

अमित : अन्धो श्रद्धा खतरनाक हुन्छ । अन्धो श्रद्धाभन्दा त चरम सन्देह नै ठिक छ । फेरि झुटो आस्तिकताभन्दा साँचो नास्तिकता हजार गुना माथि हुन्छ । त्यसैले बिग्रेको विगत सपार्न तिम्रो वर्तमानको निर्णय भएकोले यसको नकारात्मक पक्षले वर्तमानमा प्रश्रय नपाओस् ।

कर्णनाथ : अबका दिनमा होसियारीपूर्वक काम गर । दार्शनिक ओसोको कथन छ, होस नै पुण्य हो र बेहोसी नै पाप हो । पाप गर्ने कि पुण्य ? यो आफैँमा निर्भर हुने कुरा हो ।

नविता : म्याम ! यो व्यवस्थित संसारमा हलचल ल्याउने दुष्कर्ममा सहभागी भएँ । यसका लागि म क्षमा चाहन्छु । म पनि यस परिवारकी सदस्य हुँ भन्ठान्छु । ममा बच्चाहरूप्रति माया छ र तपाईंप्रति श्रद्धा छ । मेरो मनको धब्बा मेट्ने सहयोगी पात्र तपाईं कर्णनाथ अंकल र अमित सरको म सदा ऋणिरहिरहनेछु । बस्, यति नै ।

(सबैको मुहारमा मुस्कुराहट छाउँछ । पर्दा बिस्तारै खस्दै जान्छ ।)

(२०६६/०६/०७)

(स्रोत : रचनाकारको नाटक/एकाङ्की सङ्ग्रह “युग उचाल्ने अक्षरकर्मीको अवसान” बाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in एकाङ्की and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *