कविता : आशङ्का

~नारायण निरासी~

उडायो आँधीले पतकरसरी छप्पर पर
बगायो बाढीले जिउधनसँगै गोठ र घर।
दुखिन् मायादेवी सहन नसकी यो मन दुख्यो
तराईको खम्बा ढलपल गर्‍यो ढल्छ कि अहो!

डुब्यो कालापानी घरिघरि डुब्यो लक्ष्मणपुर
सहारा खोज्दै छन् हरिपुरसँगै सन्दकपुर।
सहेली पाइन्नन् किनकिन यहाँ दुःखसुखका?
चुलो बाल्ने कल्ले मुसहर मियाँ राजपुतका?

बढेको गर्मीमा यकिन नहुने सर्प कति छन्!
मधेसीका छाती भरिभरि यहाँ दर्द अति छन्।
चल्यो ठण्डी बढ्दा शिशिर ऋतुमा शीतलहर
यिनै गैँडा-हात्ती घरघर पसे लाग्दछ डर।

कसैले त्यागेनन् करतुत ढिपी स्वार्थ र हठ
बिरूपी पार्दै छन् दलबल मिली मन्दिर-मठ।
बिलौना गर्दै छन् कति कमलरी शोषित हुँदा
निकासा खोज्ला को प्रलयलयमा पीडित रुँदा?

चिरेको छातीमा जलन नबढोस् भन्दछु बढ्यो
नदी तर्दातर्दै बिचतिर पुगी नाविक डुब्यो।
परेवा उड्दैनन् गगनभरमा बारुद उडे
परिन् मुर्च्छा आमा छटपट गरी बालक मरे।

हरे! त्यागी बन्दै मुलुक कसले हाँक्छ अहिले?
पराले यी झुप्रा हुरहुर बले, निभ्छ कहिले?
बगैँचामा आँखा हुचिल-चिलको पर्छ कि अब!
पिलो टन्क्यो झन्‍झन् अवयव कुनै झर्छ कि अब!

(स्रोत : थाहा खबर डट कम )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.