बाल एकाङ्की : मुक्तिको बाटो रोज

~रन्जु ‘मार्ग’~ranju-acharya-marga

पात्र परिचय –
गीता : डेरामा बसेकी एक नारी
हरि : गीता बसेको घर मालिकको घरमा काम गर्न राखेको एक बालक ।

दृश्य : छिंडिको सानो अँध्यारो कोठामा १०-११ वर्षको बालक हरि रोइरहेको आवाज आउँछ । गीता हरिलाई के भएछ भनी हेर्न जान्छे ।

गीताः (बोलाउँछे) हरि! ए हरि! के भो तिमीलाई किन यसरी रोइरहेको ?

हरिः (रोइरहन्छ) हुँ ! हुँ मलाई पेट दुख्यो । अया ! अया !! मरे नि ! अया !!

गीताः (छाम्दै) खोइ कहाँनेर दुःखेको छ ? अनि मालिक साहेबलाई भनेका छैनौँ त ? हेर पेट पनि कसरी टाँस्सिएको छ । तिमीले खाएको पनि छैन कि के हो ?

हरिः (रुँदै) छैन । हुँ ! हुँ ! मलाई तिनीहरूले खान पनि दिएनन् । अया ! अया !! मरेँ नि आमा!

गीताः के खान्छौ त ? चिउरा खान्छौँ ?

हरिः खान्छु ।

गीताः एकछिन पख है त म भित्रबाट चिउरा ल्याइदिन्छु ।

हरिः (डराउँदै) भो, भो दिदी म खान्न । खाएको तिनीहरूले देखे भने फेरि मलाई पिटछन् ।

गीताः पिट्छन रे ? हैन तिमीलाई तिनीहरूले पिट्छन् पनि ?

हरिः (रुँदै) पिट्छन् दिदी । हिजो राति पनि मलाई लोग्ने-स्वास्नी दुवै भएर पिटे । अया ! अया !

गीताः लोग्ने-स्वास्नी भएर पिटे रे । किन के गर्‍यो र तिमीले त्यस्तो ।

हरिः भाँडा पखाल्दै थिएँ । पानी खाने करुवा भुइँमा खस्यो । त्यतिकैमा मलाई (सुँक्क सुँक्क रूँदै) पिटे ।

गीताः भो, भो, नरोऊ, । के गर्छौ त, अर्काको घरमा बसेपछि । म चिउरा ल्याइदिन्छु खाउ है । भोकले पनि पेट दुखेको हुनसक्छ ।

(गीताभित्र पसेर चिउरा ल्याइदिन्छे) ।

गीताः (दिँदै) ल, खाऊ । चिउरासँग घ्यु चिनी पनि हालिदिएको छु ।

(हरि खान डराउँछ)

गीताः खाउ न डराउनु पर्दैन । तिनीहरूले केही भने भने म छु नि ।

(हरि कचौरा समात्छ र चिउरा खान थाल्छ । खाँदाखाँदै रून थाल्छ ।)

गीताः फेरि किन रोएको नि । नरोइकन खाउ न ।

हरिः दिदी, तपाईं कनि जाती हगि । तपाईंलाई देखेर मलाई त आमाको याद आयो ।

गीताः ल, ल पहिला चिउरा खाइसक, अनि कुरा गरौँला ।

(हरिले एकैछिनमा चिउरा खाइसक्छ ।)

हरिः दिदी मलाई तिनीहरूले बेस्करी कुटे । (कपडा स्यारेर आङ देखाउँदै) यो हेर्नोस् त आङभरि डामै डाम छ ।

गीताः (हेर्दै) ओ हो, यो के हो ? तिनीहरूले यस्तोसँग पिटेका । हैन तिनीहरू मान्छे हुन् कि पशु हँ ?

हरिः यति मात्र होइन दिदी लात्तैलात्ताले मलाई पेटमा पनि हाने । त्यही भएर पेट दुखिरहेको छ । (रूँँदै) म यो घरमा एकछिन पनि बस्न सक्दिन दिदी । मेरो बालाई बोलाइदिनोस् दिदी । म घर जान्छु ।

गीताः हरि तिमीलाई तिनीहरूले सारै नराम्रोसँग पिटेछन् तर के गर्छौ ? न त मलाई तिम्रो बा को ठेगाना थाहा छ न त घर नै । तिमीलाई यहाँ कसले ल्याएको भन त ?

हरिः बा को माइजू पर्नेले । यहाँको मालिक्नी र माइजू एउटै स्कुलमा पढाउँदा रहेछन् । उसैले नै बासँग कुरा गरेर मलाई यहाँ राखेका हुन् । सुरुमा त म आउन मानेको थिइन तर मलाई पनि पढाउने भनेपछि पढ्न पाउने आसाले म यहाँ बसेको हुँ दिदी Û

गीताः अनि तिमीलाई पढाएका छन् त, यिनीहरूले ?

हरिः स्कुलमा भर्ना त गरिदिएका छन् तर स्कुल भने जान दिँदैनन् । घरकै काम गर्नुपर्छ ।

गीताः त्यसो भए तिमी यहाँ किन बस्छौ ? एक्लै घर जान सक्दैनौ ।

हरिः खोइ ! जान त सक्थेँ होला तर आफूसँग एकपैसा पनि छैन । कसरी जाऊँ ? फेरि उनीहरूले भनेका छन् म भागेर गएँ भने मेरा बालाई पुलिस लगाएर पक्डाउँछन् रे । फेरि स्कुल भर्ना गरेको पैसा पनि बाले तिर्नुपर्छ रे । दिदी मेरो बा सोझो हुनुहुन्छ । बालाई पुलिसले पक्ड्यो भने के गर्ने ? फेरि बाले कहाँबाट स्कुल भर्ना गरिदिएको पैसा तिर्न सक्नुहुन्छ र ?

गीताः (लामो सास फेर्दै) कठै ! निर्दयताको पनि हद हुन्छ । यस्तो बालकमाथि यति धेरै अत्याचार कसरी गर्न सकेको । हेर हरि, तिमी घर जान चाहन्छौ भने कतित पैसा लाग्छ म दिन्छु । तिमीले डर मान्नु पर्दैन । हेर ! यो सबै कुरा तिमीलाई गराउन भनेका हुन् ताकि तिमी घरबाट भागेर जाँदैनौ भनेर । त्यसैले आँट गर । यो बन्धनबाट मुक्त हुन खोज । हरि तिमी मुक्तिको बाटो रोज । म तिमीलाई साथ दिन्छु ।

हरिः दिदी तपाईं त मेरो देवतै हुनुहुन्छ । म यो घरमा बसेर मेरो भविष्य अन्धकार बनाउन चाहन्न । त्यसैले आज नै म यो घरबाट निस्कन्छु ।

गीताः स्याबास हरि । तिमीजस्ता हजारौँ बालबालिकाहरू यस्तै नियति भोगेर बाँचिरहेका छन् । उनीहरूलाई पढाउँछु-लेखाउँछु भनेर ठूला-ठालु भनाउँदाहरूले शोषण गरिरहेका छन् । उनीहरू रोएर, आˆनो भाग्यलाई धिक्कारेर दिन बिताइरहेका हुन्छन् तर साहस गर्न सक्दैनन् बन्धनबाट मुक्त हुन । ठूला-ठालु भनाउँदाहरूले बालमष्तिकमा नकारत्मक कुराहरू थोपरी दिएर बालबालिकाहरूलाई डराउने, धम्काउने र तर्साउने गरिरहेका छन् । एउटा कुरा के बुझ्नुपर्छ भने कसैले धम्काउँदैमा कसैले तसार्उदैमा बालबालिकाहरूलाई केही गर्न सक्दैन । किनभने जुनसुकै राष्ट्रमा पनि बाल-अधिकारका कानुन बनेका हुन्छन् । ती कानुनहरूमा स-साना बालकहरूलाई काममा लगाउन हुँदैन भनेर लेखिएको छ । अब यतिमात्र हो, ती बालकहरूले त्यो अधिकारको बारे थाहा पाउन सक्नुपर्नेछ ।

हरिः तर दिदी, त्यो बाल-अधिकारसम्बन्धी कानुनले हामीजस्ता गरिब बालबालिकाहरूलाई न्याय दिन सक्छ त ?

गीताः सक्छ अवश्य सक्छ । हरि ! कानुनले न धनी भन्छ न त गरिब नै भन्छ । कानुन सबैलाई बराबर हुन्छ । त्यसैले तिमी पनि आफूमाथि भएको अन्याय अत्याचार सबै भनिदेउ, तिमीले पनि पक्कै न्याय पाउन सक्छौं ।

हरिः म भन्छु दिदी । म भन्छु । कहाँ कहाँ गएर भन्नुपर्ने हो त्यहाँ गएर भनिदिन्छु ।

दिदीः स्यावास हरि ! तिमी सचेत भयौ खुसी लाग्यो । यसरी नै तिमीजस्ता हजारौं बालबालिकाहरू सचेत भए भने कति राम्रो हुन्थ्यो होला ! तिमीले आफ्नो मनलाई दरिलो बनाएका छौ त्यसले कसैले पनि तिमीलाई केही गर्न सक्दैन । जाऊ, तिम्रा अग्रसर पाइलाहरूलाई हार्दिक शुभकामना छ

(स्रोत : मुना २०६५ फागुन)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in बाल एकाङ्की and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *