निबन्ध : स्वाँठ बन्ने कि मानिस ?

~रत्ननिधि रेग्मी ‘शुक्राचार्य’~ratnanidhi-regmi-shukracharya

महामानव गौतम बुद्धकहाँ पहिले ईश्वर छ र छैनको विवाद गर्न आउनेको निकै ठूलो भीड लाग्थ्यो । कुनै बेला तीन ग्रुप वा चार ग्रुप पनि हुन्थे । बुद्धको सबभन्दा ठूलो विशेषता भनेकै अरूको कुरा सुनिरहने र आपूmले कुनै प्रतिक्रिया नदिने थियो । यस्तैमा एक दिन ईश्वरवादीले आएर ईश्वरको महिमा बखान गरे । बुद्धले केही जवाफ दिएनन् । बुद्धले कुनै प्रतिक्रिया नदिएकाले ती ईश्वरवादीले बुद्धलाई सोधे ‘भन्ते ! किन कुनै उत्तर दिनुभएन ?’

बुद्धले भने ‘मलाई त ईश्वर छैन भन्ने लाग्छ, त्यसैले केही नबोलेको हुँ ।’

फेरि अर्को व्यक्ति आएर भन्यो ‘यो संसारमा ईश्वर छैन, ईश्वर भएको भए त यस्तो अन्याय हुने नै थिएन । यस्तो उल्टोपाल्टो हुने नै थिएन ।’

बुद्धले कुनै प्रतिक्रिया नदिएकाले उसले सोध्यो, ‘सास्ता, किन केही उत्तर दिनुभएन नि ?’

बुद्धले भने, ‘मलाई त ईश्वर छ भन्ने पूरापूर विश्वास छ, त्यसैले नबोलेको हुँ ।’

फेरि तेस्रो व्यक्ति आएर ईश्वर छ र छैन भन्ने दुवै कुरा उत्तिकै शक्तिशाली भएको तर्क राख्यो । तर, पनि बुद्धले कुनै जवाफ दिएनन् ।

बुद्धलाई फेरि उसले सोध्यो, ‘हे तथागत ! किन केही नबोल्नुभएको ?’

बुद्धले भने, ‘महाशय तपाईंले गरिरहेको तर्क नै वाहियात भएकोले मलाई केही भन्नु निको लागेन ।’

चौथो व्यक्ति आएर भन्यो, ‘हे बुद्ध, हे महामानव ! मचाहिँ यो ईश्वर छ र छैन भन्ने विवादबाट अलग्गै बसेको छु, यी दुवै तर्क मलाई ठीक नलागेकाले म त कतै सामेल भइनँ । के मैले ठीक गरिरहेको छु त ?’

बुद्धले भने, ‘तपाईंको तर्क एकदम मनासिव र जायज छ ।’

बुद्धको यस्तो व्यवहार देख्ता आनन्दलाई आश्चर्य लागेर जिज्ञासा प्रकट गरेछन् । बुद्धले आनन्दलाई भनेछन्, ‘त्यो ईश्वरको बखानमा लागेकाले अरू कुरा नसोची एकोहोरो भएको थियो, मैले ईश्वर छैन भनिदिँदा उसले भौतिकवादतिर सोच्ने भयो । जो ईश्वर छैन भन्थ्यो, ऊ पनि परम् नास्तिकतामा एकोहोरो भइरहेको थियो । उसलाई ईश्वर छ भनिदिँदा उसले अध्यात्मतिर पनि चिन्तन गर्ने भयो । जो ईश्वर छ र छैन दुवै तर्क ठीक भन्थ्यो, त्यसलाई मैले बेठीक भनिदिँदा ऊ दुवै तर्कबाहिर सोच्न बाध्य हुन्छ । जसले यी दुवै तर्कमा म सामेल छैन भन्थ्यो, उसलाई मैले ठीक भनेकोचाहिँ नदेखेको वा प्रमाण नभएको विषयमा नलागेर उसले आफ्नो दिमागलाई खाली राखेकाले हो । तसर्थ जुन कुरा गरेर केही अर्थ छैन, जुन कुरा हामीले सिद्ध गर्न सक्तैनौँ, त्यस्ता विषयमा अनावश्यक चिन्तन गरेर समय खेर फाल्नुहुँदैन । दिमागलाई नचाहिने कुराले भरिरहनुहुँदैन । ईश्वर छ भन्नेले पनि प्रमाण दिन सक्तैनन् र छैन भन्नेले पनि । हामीले यस्ता निरर्थक विषयपट्टि नलागेर लोकहितका कुरातिर लाग्नुपर्छ । अनावश्यक वादविवाद गर्नुहुँदैन ।’

ठीक अहिले हामीहरू यस्तै काम नलाग्ने, अप्रमाणित र प्रयोग नहुने तर्कमा अल्झेर महत्वपूर्ण समय खेर फालिरहेछौँ । त्यसमा पनि भूकम्प आएपछि विश्व नै काम नलाग्ने तर्कको पछि दौडिएको देखियो । एक समय पृथ्वीको प्लेट फाट्टिएर भूकम्प आएको बकम्फुसे तर्क चल्यो । अझ तिब्बेतीयन र इन्डियन प्लेट फाट्टिएकाले नेपालमा भूकम्प गयो भन्ने हल्ला चल्यो । तर, जापान र मलेसियामा पनि भूकम्प गएपछि त्यो भनाइले हावा खायो । अहिले फेरि डाइनोसारजस्तै मानिस पनि लोप हुने हल्ला चल्न थालेको छ । पटक–पटक मानिस लोप भएको देखेको जानेको भए त त्यो तर्क ठीक ठान्न हुन्थ्यो । डाइनोसार पृथ्वीमा थियो भनेर जान्यो कसले ? अनि त्यो लोप भएको देख्यो कसले ? त्यो बेला कसले तिनको तस्बिर खिचेर राखेथ्यो होला ? हुँदै नभएको कुरा आपैँm सिर्जना ग-यो, अनि नासियो भन्यो आपैँmले । त्यो थियो र नासियो भनेर कसैले नदेखेको, नभोगेको कुरा ग-यो र संसारलाई बेबकुफ बनायो । यस्तो त विज्ञानले वा वैज्ञानिक भनिनेहरूले नगर्नुपर्ने हो । तर, किन भइरहेछ, आश्चर्यको विषय बनेको छ ।

एकपल्ट बाँदरबाट मानिस भएको हो भन्ने पनि ठूलो हौवा पिटियो । जब अर्को वैज्ञानिकले त्यसको सप्रमाण खण्डन ग-यो, तब त्यो हौवा त्यसै सेलायो । विशेषगरी पश्चिमाहरू अनावश्यक हौवा फिँजाउँछन् । एकपल्ट माया पञ्चाङ्गको हवाला दिँदै चार वर्षअघि २१ डिसेम्बरबाट पृथ्वी नरहने हौवा प्रचार भयो । फेरि लगत्तै ख्रिस्तानहरूले पृथ्वी प्रलय हुने उडन्ते गफ पिटे । अहिले पनि पश्चिमाहरूका यस्तै हावा गफहरू यत्रतत्र सुन्न पाइन्छ । तर, तथ्यचाहिँ उनीहरूले भन्दै आएका कुराबाट बिल्कुलै विपरीत हुँदै आएको छ । सबैभन्दा ठूला वैज्ञानिक भनेका अल्बर्ट आइन्स्टाइन हुन्, तर उनले पृथ्वीबारे त्यस्तो कुनै भविष्यवाणी गरेनन् । कुनैबेला सूर्यको चोइटा झरेर पृथ्वी भएको भन्ने तर्क आयो । फेरि तिनै वैज्ञानिकले सूर्य त हाइड्रोजन र हिलियम भन्ने ग्यासको पिण्ड हो पनि भने । अब कुनचाहिँ ग्यास गएर ढुङ्गा र माटो बन्दो हो ? यस्ता केटाकेटीले पनि नपत्याउने तर्क झिकेर पश्चिमाहरू मानिसलाई मूर्ख बनाइरहेका छन् । कुनैबेला ढुङ्गा जुधेर आगोको उत्पत्ति भएको भनियो । तर, त्यसपछि पनि ढुङ्गा त जुधिरहेका छन् । यत्रा ठूलठूला पहिरा जाँदा पनि ढुङ्गा त एक–आपसमा जुधिरहेका हुन्छन्, तर किन आगो बल्दैनन् ? अहिले विज्ञानले यसो भनेको छ भनेर त्यसका पछाडि कुद्ने विश्वभरिका मूर्ख मानिसहरूको हालत देख्ता पो आश्चर्य लाग्छ । अलिकति दिमाग लगायो भने सहजै अनुमान गर्न सकिने कुरामा पनि नलाग्ने र हौवाका पछाडि कुद्ने मानिसहरूमा नेपालीहरू नै बेसी देखियो । यस्ता नेपाली, त्यसमाथि बुद्धिजीवी (?) हरूले के देश विकास गर्दा हुन् ?

बुद्धलाई एकपल्ट एकजना पण्डितले स्वर्गको बयान सुनाए । बुद्धले जवाफ दिए, लौ स्वर्ग छ रे, के त्यहाँ धर्म नगरी पुग्छ ? लौ ईश्वर छ रे, के धर्म नगरी उसले तिमीलाई स्वर्गमा लैजान्छ ? आखिर धर्म गरेको छैन भने ईश्वरै भए पनि के ? ईश्वरै नभए पनि धर्म गरेको छ भने केही फरक पर्दैन । आखिर कुरा त धर्मसँग पो हो त । ईश्वर र स्वर्गसितको होइन । धर्मबारे धेरैका धेरै मत छन् । वेदव्यासले परोपकारलाई धर्म मानेका छन् । दया, करुणा, उपकारलाई धर्म मान्ने बुद्धले महापरिनिर्वाणलाई मोक्ष मानेका छन् । धर्म दैनिक व्यवहार हो भने मोक्ष अन्तिम लक्ष्य हो । सबै शास्त्रहरूको अन्तिम लक्ष्य भनेकै जीवनपछिको मुक्ति हो । यस्ता कुरातिर नलागेर मानिस किन यो काम नलाग्ने विषयतिर लागेको हो ? मलाई आश्चर्य लागेको छ । मानिस जतिसुकै सम्पन्न भए पनि अन्त्यमा मर्ने कुरा ध्रुवसत्य हो । मानिसले बनाएका हरचिज नासिएकै छन् । मानिस त अजम्बरी हुँदैन भने मानिसले बनाएका चिजहरू त हुने कुरै भएन । तर पनि मानिस किन सत्ता र शक्तिका निमित्त हिरिक्क बनिरहेको छ ? अर्को अचम्म छ । लौ, पृथ्वीकै प्लेट फाट्टियो रे ! के त्यो मानिसले जोड्न सक्छ ? लौ मान्छे बाँदरबाटै विकास भयो रे ? के मानिस फेरि बाँदरै बन्छ त ? लौ सूर्यको चोइटोले पृथ्वी बन्यो रे ! के फेरि पृथ्वी सूर्यमै टाँसिन जान्छ त ? हामीले किन त्यसका पछि कुदेर दिमागलाई बोझ बनाइरेका छौँ । जुन कुरा हाम्रा क्षमताबाहिर छ, भए पनि नभए पनि केही फरक पर्दैन, त्यस्ता अनावश्यक विषयमा किन अल्झिरहने ? बरु यस्ता हल्लाका पछि लागेर नष्ट गरिने समय ज्ञानका पुस्तक पढेर ज्ञान लिन सके व्यवहारमा सजिलो पथ्र्यो कि ? कतिपय प्रजातन्त्रका कुरा गर्छन्, कोही जनतन्त्रका ! आखिर काम गर्ने मानिसका लागि जे तन्त्र भए पनि के फरक पर्छ त । जसले कामै गर्दैन त्यसलाई न हो विभिन्न तन्त्र चाहिने ! बुद्ध, देवकोटा, प्लेटो, अरस्तु आदिले कुन तन्त्रका आधारमा काम गरेका थिए र ? तन्त्र भन्ने त एउटा बाटो मात्र हो । जो कि मानिसको सम्पूर्ण पक्ष होइन । तसर्थ सम्पूर्ण मानिस लोप भए पनि के ? नभए पनि के ? कि मानिस अजम्बरी प्राणी भए यसमा तर्क गरिरहनु ठीक हुन्थ्यो । जाबो एउटा नश्वर शरीर छ, त्यसमा यत्रो चिन्ता ? यस्तो चिन्ता व्यक्त गर्नेले मानिसलाई बदले भइहाल्यो नि ! त्यसकारण यस्ता हौवाका पछि दौडिएर समय किन खेर फाल्ने काम राम्रो होइन । असल काम गरौँ, सकिँदैन भने कुनै काम नगरौँ । तर, काम केही नगरी हल्ला गर्दै हिँड्नु मूर्खता हो भने हल्लाको पछि कुद्नु भनेको महास्वाँठ हुनु हो । त्यसकारण हामी स्वाँठ होइन मानिस बनौँ ।

(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिक – “इन्द्रेणी”)

This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.