नियात्रा : सिकागोसँगका अनुभूतिहरू

~राजेन्द्रप्रसाद अर्याल~Rajendra Aryal

सन् २०११ को जुलाई २, ३ र ४ तारिख । अमेरिकीहरूका लागि बिदा र बेग्लै महत्त्वका दिनहरू । यी दिनहरूलाई अमेरिका निवासीहरूले निकै रमाइलो र उमङ्गका साथ मनाएको देखियो । जुलाई ४ तारिख अमेरिकी स्वतन्त्रता दिवसको दिन भएकाले यस दिनमा विशेष उत्सव हुनु, राष्ट्रिय पर्व मनाइनु र चहलपहलमा वृद्धि हुनु कुनै नौलो कुरा भएन । यस दिनसमेतलाई मिसाउँदा कुल तीन दिन लामो सप्ताहान्त पर्नाले अमेरिकीहरूमा विशेष चहलपहल देखिन्थ्यो । महिनौँ पहिलेदेखि यो लङ्विकेन्डलाई कसरी प्रयोग गर्ने भनी योजना बनाएरै बसेका हुँदा रहेछन् अमेरिकीहरू । यस्तो लामो बिदा प्रायः नपर्ने हुँदा यसै विषयमा केन्द्रित भएर एकआपसमा भलाकुसारी हुने रहेछ उनीहरूमा ।

यस उत्सवमय वातावरणबाट हामी पनि अछुता रहेनौँ । यी तीन दिन हामीले पनि घुमफिरमै समय बिताउने निर्णय ग-यौँ । अमेरिकाको तेस्रो ठूलो सहर सिकागोको रामरमिता अवलोकन गर्ने कार्यक्रम बन्यो हाम्रो पनि । जुलाई २ को बिहान ८ बजे मिनिसोटाको इडाइना सहरबाट हामी नौ जनाको एउटा समूह भ्यान लिएर प्रस्थान ग-यौँ सिकागोतर्फ ।

सहरबजारका प्रायः सडकहरू सुनसान थिए । सप्ताहान्तका तीन दिन बिदा पर्नाले प्रायः बाहिर निस्कने निस्किइसकेका थिए भने ननिस्कने जतिले ओछ्यान नछोडेको अवस्था थियो । सहरबजारका सडक सुनसान देखिए पनि मुख्य र ठूला राजमार्गहरू व्यस्त देखिन्थे, लामो बिदाको उपयोगको असर होला सायद । सडकको चाप, चौडाइ, उकालोओरालो आदिको विवेचना गर्दै सवारीगतिका सीमासम्बन्धी निर्देश बोर्डअनुसार साधनको गति मिलाउनुपर्ने । तोकिएको सीमाभन्दा दायाँबायाँ गर्नेउपर प्रहरीको कडा निगरानी र खबरदारीले गर्दा वाहनका सारथीहरू विशेष रूपमा सतर्क हुँदा रहेछन् । सडकका किनारामा कतै कतै प्रहरीका कारवाहीमा परेका गाडीहरू पनि देखिन्थे ।

अमेरिकामा प्रहरी प्रशासनउपर जनमानसको ज्यादै ठूलो विश्वास र भरोसा देखियो । उसका क्रियाकलापहरू जनताका सहयोगी थिए । उनीहरू कानुनको पालनामा दृढ र कटिबद्ध थिए । देख्दैमा भरोसा लाग्ने, सरल, हँसमुख, मृदुभाषी र उज्यालो व्यक्तित्वले उनीहरूलाई थप आदरणीय बनाएका थिए । सवारी चालकहरू प्रहरीको कारवाहीका डरले थर्कमान हुने । हाम्रो नेपालमा जस्तो एउटा माइक्रोड्राइभरले चौरास्तामा माइक्रो तेस्र्याएर बाटो छेके झैँ त्यहाँ न त कसैले बाटो छेक्ने दुस्साहस गर्छ, न त प्रहरीले नै त्यस्ता मिचाहाबाट घुस कुम्ल्याउने कुकृत्य गर्छ । कस्तो राम्रो !

सवारीको कुरा गर्दा अर्को एउटा प्रसङ्गको उल्लेख गर्न मन लाग्यो । साइरन बजाएर वा आपत्कालीन बत्ती बाल्दै आएका एम्बुलेन्स, दमकल र प्रहरीका गाडीहरूलाई सर्लक्कै बाटो खुला गरिदिने संस्कृति रहेछ त्यहाँ । हामीकहाँ पनि नियम नभएको त कहाँ हो र ! तर पालना खै ? एम्बुलेन्स र मन्त्रीका गाडीहरू घन्टौँसम्म भीडमा फसेका दृश्यहरू हामी नेपालीका लागि नौला छैनन् ।

दमकल, एम्बुलेन्स र प्रहरीका आपत्कालीन सेवाका गाडीको ओहोरदोहोरमा चौरास्ताका ट्राफिक बत्तीहरू कतिपय ती गाडीहरूमा जडित सेन्सरको प्रभावले उनीहरूको आगमनतर्फ हरियो बल्ने र अन्यत्र रातो बल्ने हुँदा रहेछन् । यसरी जनताको आकस्मिक सेवामा समर्पित साधनहरूलाई नियमले मात्र संरक्षण नगरी जनताको व्यवहारले पनि अनुमोदन गरेको देखियो यहाँ । त्यसैले त सेवाग्राहीले फोन गरेको पाँच मिनेटभित्रैमा ती आपत्कालीन सेवाप्रदायकको पहँुच सम्भव हँुदो रहेछ ।

मिनीसोटादेखि सिकागोसम्मको दुरीअन्तर्गत धेरै भूभाग विस्कन्सन राज्यको पर्दो रहेछ । विस्कन्सन राज्यको डेल्स भन्ने सहर राजमार्गकै किनारमा रहेछ । त्यो सहर पर्यटकीय हिसाबले नाम चलेको हुँदा त्यसको पनि अवलोकन गर्न त्यतै लाग्यौँ । आखिर हामी डुल्नकै लागि निस्केका त थियौँ ।

डेल्समा बग्रेल्ती पर्यटकहरू देखिन्थे । साँच्ची भन्नुपर्दा खुट्टा राख्ने ठाउँ थिएन । अमेरिकामा डेल्स सहर जलक्रीडाको निम्ति प्रख्यात रहेछ । ठूला ठूला वाटर पार्कहरूले यो सहर भरिएको पायौँ । विविध उमेर समूहका व्यक्तिहरूका रुचि र चाहनाअनुसारका जलक्रीडाका सामग्री र खेलप्रक्रिया आदिले मलाई विशेष रूपमा प्रभावित पारे । जलक्रीडा भन्नाले नदी वा पोखरीमा खेलिने सामान्य पौडी अनि बोटिङ खेल मात्र त हो नि भन्ने मेरो साँघुरो बुझाइ थियो तर जब जलक्रीडाका अनेक रूपरङ, प्रक्रिया र खेल सामग्रीहरू देख्ने मौका पाएँ तब आश्चर्यचकित भएँ । मनले संवाद गरिरहेको थियो— ‘ठूला घरका ठूलै चाला’ । विश्वप्रख्यात नमुनायोग्य वाटर पार्क र रिसोर्टहरू पनि त्यहीँ डेल्समै रहेछन् । जलक्रीडाका विविध सामग्री र रूपहरूले मलाई कति धेरै प्रभावित तुल्याए भने ती मनोहारी दृश्यहरू धेरै दिनपछिसम्म मेरो स्मृतिपटलमा पनि नाचि नै रहे ।

त्यस दिनको प्रभातीय खाना हामीले डेल्समा नै खायौँ । खाना खाएको होटलनजिकैको फुटपाथमा मानिसहरूको लाइन देखियो । उत्सुक पर्यटकहरूको मन खिच्यो त्यसले । त्यता नै पुगेँं म पनि । लाइनमा बस्नेहरूका हात हातमा अमेरिकी एक पैसा ‘पेनी’ देखिन्थ्यो । त्यो तामाको गोलो पैसालाई एउटा सानो मेसिनको प्वालमा छिराएपछि केही लाम्चो आकारको अर्कै छाप लागेर एउटा धातु बाहिर निस्कन्थ्यो । त्यसलाई डेल्सको चिनोको रूपमा सँगाल्ने चाहना राख्दा रहेछन् पर्यटकहरू ।

हामीले डेल्स छाड्यौँ । गन्तव्य धेरै टाढा भएकाले हाम्रो गाडीले हावासँग पौँठेजोरी खेल्न थाल्यो । प्रतिघन्टा ११५ कि.मि.को तेज गतिमा हामी अगाडि बढ्न थाल्यौँ । टाढा अनन्तसम्म मैदानी भूभाग । जता हे¥यो त्यतै मैदानै मैदान । ठूला ठूला प्लटहरूमा घना तथा मलिला मकैका बोटहरू आँखाले नभ्याउन्जेलको दुरीसम्म देखिन्थे । सडकका दायाँबायाँ फाट्टफुट्ट किसानहरूका घर । प्रत्येक किसानको बासस्थानअगाडि गोलो आकारका दुईतीनवटा केही अग्ला अन्न भण्डारहरू । यी दृश्य देख्दा मलाई हाम्रा गाउँघरतिरका आँगनमा उभ्याइने मकैको थाँक्रो वा कुन्युको सम्झना भयो । तरकारी र फलफूल खेती पनि प्रशस्तै देखिए ।

मलाई प्रभावित तुल्याउने अर्को दृश्य थियो सिँचाइको तरिका । २०० देखि ३०० मिटर लामा पानीका पाइपहरू । ती पाइपहरूमा फोहराहरू जडान गरिएका । त्यति लामा पाइपहरू पनि आवश्यकताअनुसार अगाडि पछाडि गुड्दै गएर पानी सिञ्चित भएको दृश्य । यी सब मलाई निकै रमाइला लागे । अमेरिकामा मकैखेतीको महत्त्व धेरै रहेछ । मकैबाट खाने तेलका साथै इन्धनसमेत निकालिने हँुदा पनि यसको आवश्यकता बढी हुन गएको होला ।

जुलाईको महिना । मौसम सफा तथा सुन्दर देखिने । सूर्यको तेजिलो प्रकाश अनन्तसम्म फैलिएको । यस भूभागमा उत्कृष्ट मौसमको समय रहेछ यो । कम्तीमा चार महिनासम्म हिउँको निष्ठुरी प्रहार खेपेका बोटबिरुवाहरू उजाड तथा सिख्रो रूपबाट हरियालीमा रूपान्तरण भएका देखिन्थे । लाग्थ्यो— आ–आङ्खनो सौन्दर्य प्रस्तुत गर्दै सुगन्ध फैलाउँदै छन् यिनीहरू ।

त्यति लामो दुरीको राजमार्गका अधिकांश भाग रुख, बोट, बिरुवा तथा जङ्गलै जङ्गलले ढाकिएका देखिए । जङ्गल र वनस्पतिको उच्च संरक्षण र संवर्धन गरिएको थियो । यात्राकै क्रममा कतै कतै खरायो र मृगजस्ता जनावरहरू देखिन्थे । कहिलेकाहीँ उच्च गतिका वाहनहरूमा ती जनावरहरू ठोक्किनाले दुर्घटना नै हुने रहेछ । त्यसैले कुनै कुनै ठाउँमा यस्तै दुर्घटनाले मारिएका जनावरहरू सडकको छेउछाउमा छरपस्ट लडेका देखिए ।
राजमार्गका यात्रुहरूले कति नम्बरको बाटो समाएर मूल सडकबाट निस्किएमा ग्यास स्टेसन, खाने बस्ने होटल, गाडी मर्मतस्थल, डिपार्टमेन्ट स्टोर, अस्पताल इत्यादिको सेवा लिन सकिन्छ भन्ने जानकारी दिने सूचना पाटीहरू राजमार्गका दायाँबायाँ उभ्याइएका देखिन्थे । राजमार्गहरूका ग्यास स्टेसनहरूमा यात्रुहरूको भीडभाड हुने नै भयो । सवारीमा इन्धन भर्नका लागि मात्र नभई सामान्य खानपिन र शौचकर्मको लागि पनि यस्तो भीडभाड हुने रहेछ । ती स्टेसनहरूलाई सार्वजनिक शौचालय भने पनि हुनेजस्तो लाग्यो मलाई । त्यसमा आश्चर्य मान्नुपर्ने कुरा चाहिँ के थियो भने बहुसङ्ख्याले उपयोग गर्ने उक्त रेस्टरुम अर्थात् शौचालय जहीँतहीँ सफासुग्घर र दुर्गन्धरहित भेटिन्थे ।

अमेरिकी जन जीवन तथा अमेरिकी सभ्यताअन्तर्गत प्रशंसा गर्नलायक महत्त्वपूर्ण विषयवस्तुहरू धेरै पाइए । यहाँको उच्च सीप, सभ्य शैली र व्यवस्थित तरिकाहरूले हामीलाई प्रभावित तुल्याउनु स्वाभाविकै हो । मलाई प्रभावित पारेका विषयवस्तुहरूको लस्करमा रेस्टरुम याने कि शौचालय विशेष थिए । अमेरिकनहरूले शौचालयको व्यवस्थापन पक्षलाई अत्यधिक महत्त्व दिएको देखियो । कुनै पनि ग्याँस स्टेसन, किनमेल भवन, होटल, अस्पताल, उद्योग, कलकारखाना, सरकारी कार्यालयहरू, सार्वजनिक स्थलहरूका शौचालयहरूमा पस्दा कतै पनि दुर्गन्धको कारणले नाक खुम्च्याउनुपर्ने स्थिति थिएन । शौचालयहरू टिलिक्क टल्केका र चमचम चम्केका अवस्थामा थिए । यस्तो राम्रो अवस्था हुनुका पछाडि जनताहरू सरसफाइतर्फ सचेत र सभ्य हुनु एउटा कारण देखिन्थ्यो भने सरकारी संयन्त्रको निगरानी प्रभावकारी हुनुपनि यसको मुख्य कारण देखिन्थ्यो ।

जुनसुकै बन्दव्यापार वा व्यवसाय सरकारी स्वीकृतिमा सञ्चालन हुनुपर्ने, समय समयमा छडके निरीक्षण भैरहने र सफाइमा कमीकमजोरी देखिएमा बन्दव्यापार वा व्यवसाय नै बन्दसम्म हुन सक्ने रहेछ । त्यसैले उपयोगकर्ताको सङ्ख्याको आधारमा महिला, पुरुष, केटाकेटी, अशक्त आदिका लागि बेग्लाबेग्लै शौचकोठा र त्यहाँ पानी, साबुन, ट्वाइलेट पेपर, टावेल आदिको अनिवार्य व्यवस्था गर्नुपर्ने बाध्यात्मक कानुन रहेछ ।

३९९ माइलसम्मको यात्रा अवधिमा देखिएका अनेकन् दृश्यहरूको रसास्वादन गर्दै हामी सिकागो पुग्यौँ र अग्रिम व्यवस्था गरिएको बासस्थानतर्फ लाग्यौँ ।

भोलिपल्ट बिहान सिकागोका मूल सडकहरूमा एक फन्को लगायौँ । त्यहाँको जन जीवन, सरसफाइ, चहलपहल आदिको सामान्य दृश्यावलोकन गर्दै सिकागो नदीमा पानीजहाजबाट यात्राका लागि किनारामा पुग्यौँ ।

त्यहाँको दृश्य रोमाञ्चक थियो । सूर्यको रापिलो किरणले चारैतिर ढाकेको देखिन्थ्यो । कञ्चन निलो आकाशले पुरै सिकागोलाई छोपेको प्रतीत हुन्थ्यो । प्रभातीय सूर्यका किरणहरू क्रमशः छिप्पिँदै गएकाले मानिसहरूको चहलपहल पनि बढ्दो थियो । सिकागो सहरले आङ्खनो वैभव र विशेषता देखाउँदै सफा र आकर्षक मौसम सबका सामु खुल्ला रूपमा पस्केको देखिन्थ्यो । मेरो हृदयमा सल्बलाएको सिकागोसम्बन्धी काल्पनिक तरङ्गलाई यथार्थ परिदृश्यहरूले शान्त पार्दै लगे ।
सिकागो सहरले पर्यटनबाट आङ्खनो अर्थ व्यवस्थालाई मजबुत बनाएको रहेछ । यहाँ बाह्यभन्दा आन्तरिक पर्यटक धेरै भित्रिँदा रहेछन् । यसको प्रमुख विशेषता आर्किटेक्ट रहेछ । साँच्ची भन्ने हो भने सिकागो भन्नु नै ठूला र अग्ला घरहरूको व्यवस्थित घना जङ्गल हो भन्दा अत्युक्ति हुनेछैन ।

सिकागो सहर प्रसिद्ध ताल मिसिगन लेकको किनारमा छ । यहाँ सिकागो सहरले आङ्खनो भव्य सौन्दर्य सबका सामु पस्किरहेको देखियो । यस सहरको प्रसिद्धि र मोहकताको भागीदार मिसिगन लेक पनि हो भन्ने कुरा त्यस लेकमा देखिएका विविध क्रियाकलापहरूले प्रस्ट हुन्थ्यो ।

सिकागो सहरका अग्ला अग्ला घरहरूको बीचबाट त्यस तालको पानीको ठूलो भङ्गालो पसेको रहेछ । त्यसलाई सिकागो रिभर भनिँदो रहेछ । यसलाई उपयोग गर्ने विविध तरिकाहरू रहेछन् । ती तरिकामध्ये एक घण्टाको पानीजहाज यात्रा विशेष महत्त्वको मानिँदो रहेछ । प्रायः पर्यटकहरू त्यसैमा होमिँदा रहेछन् । हामीले पनि पानीजहाज यात्राको टिकट लियौँ र तुरुन्तै त्यसैमा चढ्यौँ पनि ।

मिसिगन लेकभरि साना–ठूला जहाजहरू छपक्कै देखिन्छन् । तिनीहरू चारै दिशातर्फ आआङ्खना गन्तव्यतर्फ पुग्न हतारिएका देखिन्छन् । हाम्रो जहाजको भित्री भागमा भन्दा छतमा यात्रुहरूको भीडभाड देखिन्छ । घमाइलो मौसम, मन्द हावाको चिसो प्रवाहलाई भास्करको तातो स्पर्शले निष्प्राण तुल्याइदिएको थियो । खुला छतमा रमाएका यात्रुहरूको मुहार उल्लासमय देखिन्थ्यो । तालको निलो पानीको छालले हाम्रो जहाज ढलपल–ढलपल गरिरहन्थ्यो । झन्डै ३०० जति मानिसले पानीजहाजको छत भरिभराउ थियो ।

जहाजका कप्तानले हातमा माइक बोकेर यात्रुहरूलाई सम्बोधन गर्न थाले । जहाजको गति तथा अन्य सामान्य केही जानकारी दिएपछि माइक्रोफोन टोप लगाएका अधबैँसे व्यक्तिलाई सुम्पेर उनी चालक सिटमा बस्न गए ।

जहाज मन्द गतिमा बग्न थाल्यो । माइक लिने अधबैँसे उक्त जहाजमा काम गर्ने पथ प्रदर्शक रहेछन् । उनले कर्मकाण्डी ब्राह्मणले नौरथामा दुर्गाकवच पाठ गरे झैँ खररर भट्याउन थाले । हुन पनि उनी एकै सासमा धेरै कुराहरू नअड्किइकन भट्यँउँथे । उनको अभिव्यक्ति शैलीमा चुम्बकीय आकर्षण थियो । उनको कुराको बल्छीमा सोहोरिएका थियौँ सबै । शब्दको माला गाँस्ने काममा सिपालु रहेछन् उनी । उसको त्यो कण्ठाग्रता र विषयवस्तुप्रतिको निपूर्णता देखेर त्यस कार्यमा उनी पूर्ण अनुभवी छन् भन्ने अनुमान लगाउन मलाई गाह्रो परेन ।

सिकागो रिभरको दायाँबायाँका भव्य गगनचुम्बी भवनहरूको दृश्यावलोकन गर्नु र वर्णन सुन्नु त्यस यात्राको प्रमुख उद्देश्य थियो । जाँदा र फर्किंदा गरी नदी किनाराका दुवैतर्फका भवनहरूको निर्माण मिति, कारिगरी किसिम, डिजाइनर, लागत, उपयोगको तरिका, उचाइ, तलासङ्ख्या आदि कुराहरूको यथेष्ट जानकारी दिँदा रहेछन् । मैले पनि जानकारी पाएँ ।

यात्रा बडो रमाइलो छ । पथ प्रदर्शकको भट्याइमा सबै लट्ठिएका छौँ । क्यामराको एकोहोरो क्लिक, क्लिक सुनिन्छ । त्यसबाहेक वातावरण शान्त छ । आँखा झिम्क्याउँदासमेत दृश्य छुट्ला कि जस्तो गरेर हामी सबै भवनहरूतर्फ केन्द्रित छौँ । जग्गेमा दुलही ल्याउँदाजस्तै सबैका आँखा र चित्त त्यतै एकोहोरिएका छन् । मेरा कल्पनाका तरेलीहरूलाई धक्का मार्दै वा गलत साबित गर्दै जहाज अघि बढ्दै छ । मेरो मन आश्चर्यको सागरमा गोता मारिरहेको छ । वास्तवमा मानवनिर्मित ती भौतिक आलिसान धरोहरहरूका कलेवरले मलाई पगालेरै छाडे । बालकका खेलौनाजस्ता चिटिक्क मिलेका, संसारलाई लट्ठ्याउन सक्ने ती विविध कारिगरी साँच्चै लोभलाग्दा थिए । पथ प्रदर्शकको शाब्दिक वर्णनले भन्दा पहिल्यै घरहरूको दृश्यले नै तिनीहरूको महत्ता बताउँथ्यो ।

प्रकृतिलाई शब्दमा जस्ताको तस्तै व्याख्या गर्न खोज्नु दुस्साहस हो भन्ने कुरामा म सहमत थिएँ तर आज म मानवनिर्मित यी अनौठा र बग्रेल्ती भवनहरूलाई समेत शब्दमा उतार्न कठिन देखिरहेछु । निर्जीव घरहरूको जीवित कारिगरीले मलाई लट्ठ्याइरहे, लपक्कै भिजाइरहे ।

यस्तो अद्भुत आकर्षक दृश्य हेर्दै थियौँ । त्यसै समय समान ध्वनिमा बगिरहेको पथ प्रदर्शकको स्वर एक्कासि ह्वात्तै बढ्यो र केही उत्तेजित हुँदै उनले हातले देखाउँदै भने— ँविल्स टावर †” अमेरिकाको सबैभन्दा अग्लो भवन । छानासम्मको उचाइ १४५१ फिट । एन्टेनासम्मको उचाइ १७३० फिट । ११० तलाहरू । एलिभेटर सङ्ख्या १०३ । १९७४ मा निर्मित । सन् १९९६ सम्म संसारको सबैभन्दा अग्लो टावर । हाल संसारकै दोस्रो अग्लो टावर । १९९३ सम्म सियर्स टावर । त्यसपछि विल्स नामकरण †………
विल्स टावरको महत्ता र विशेषताको वर्णन सुनेर म आश्चर्यचकित मात्र भइनँ, मभित्र त्यस टावरप्रति अपनत्वको भावना ह्वात्तै बढेर आयो । त्यस टावरको डिजाइनिङ इन्जिनियरहरू तीन जना रहेछन् । तीमध्येमा हाम्रो छिमेकी देश बङ्गलादेशका फाज्लुर रहमान खान पनि एक रहेछन् । यति टाढाको पराई मुलुकको उच्च र प्रतिष्ठित धरोहरको निर्माणमा आङ्खनो देशको व्यक्ति नभए पनि छिमेकी देशको नागरिकको सहभागिता सुन्दा पनि अनौठो सन्तोष मिल्दो रहेछ । छिमेकी देशको नागरिकले यो टावर बनाउन भूमिका खेलेको थियो भन्ने कुराले पनि मलाई बेग्लै आनन्द मिल्यो । विल्स टावर सिकागोको मूल मौलो नै ठानिँदो रहेछ । सबै यात्रु त्यसैको वरिपरि घुम्दा रहेछन् । म पनि घुमेँ, रमाएँ र चमत्कृत भएँ ।

हाम्रो जहाज एउटा फराकिलो भागमा पुगेर फर्कियो । पूर्ववत् अर्को दिशाका भवनहरूको वर्णनमा आङ्खनो समय खर्चन थाले पथ प्रदर्शकले । वास्तवमा अग्ला अग्ला घरहरूको बिस्कुन सुकाइएको रहेछ सिकागो सहरमा । अमेरिकाको पहिलो, तेस्रो, पाँचौँ र छैटौँ अग्ला घरहरू यसै सहरमा रहेछन् ।

घरहरू मात्र ठड्याएर भएन । चाँदीको थालमा चाँदीकै कचौरा सुहाएजस्तै त्यसवरिपरिका बाटाघाटा र अन्य संरचनाहरू पनि ती प्रख्यात धरोहरहरूको इज्जत जोगाउने खालकै हुनुप¥यो । त्यसैले होला, वरिपरिका बाटाघाटा र अन्य संरचनाहरू पनि आकर्षक र सुहाउँदा बनाइएका थिए । समग्रमा भन्दा वास्तुकलामा मात्र नभई आधुनिकताका विविध विशेषताहरूले सिँगारिएको सहरको रूपमा स्थापित रहेछ सिकागो । सिर्जन कर्मको कारिगरी र सौन्दर्यको प्रकाशले प्रज्वलित रहेछ सिकागो ।

पथ प्रदर्शकले बोल्दाबोल्दै जहाजको मध्य भागबाट एउटा पर्यटकले हात उठाए । उनले आङ्खनो टुटेफुटेको अङ्ग्रेजी भाषामा यो धरोहरभन्दा पहिलेको यस ठाउँको सामान्य इतिहास जान्न खोजेका थिए । यसका लागि उनले नौनीमय नम्रताका साथ याचना गरे ।

बेग्लै इतिहास रहेछ सिकागोको । वर्तमानमा प्रज्वलित हुनका लागि भूत कालमा जल्नुपर्ने नियति सिकागोले पनि बेहोरिसकेको रहेछ । १९ औँ शताब्दीको अमेरिकाको सबैभन्दा ठूलो विपत्ति, आपत् अथवा भीषण दुर्घटना यही सहरले नै खेपेको रहेछ । सन् १८७१ मा भीषण आगलागीबाट १० वर्ग किलोमिटर अर्थात्् यस सहरको तीन भाग सहर जलेर ध्वस्त भएको रहेछ । पर्यटकको याचनापछि पथ प्रदर्शकले यस पीडादायी सत्यको जानकारी दिलाए ।

यस्तो देखेर पनि किन हो मेरो मनमा कता कता के नपुगे नपुगेजस्तो भइरह्यो । कुनै जमानामा विश्वकै तथा वर्तमानमा शक्तिशाली अमेरिकाकै सबैभन्दा अग्ला घर र बडेबडे भवनहरूका घना जङ्गल हेरिरहँदासमेत मेरो मन चङ्गा झैँ उड्न सकिरहेको थिएन । दिलको कुनै भित्री पत्रमा पातलो ग्लानिले नजानिँदो रूपमा बास गरिरहेजस्तो लागिरह्यो । त्यहाँका ती दृश्यहरू देखेर म पूर्णतः फक्रन सकिनँ । मेरो हृदयमा सम्पूर्ण आनन्दको भल पस्न सकेन । उमङ्गको स्वच्छ नदीले मलाई स्वात्तै बगाउन सकेन । घरिघरि भित्रैदेखि न खुसी न बेखुसीको हुक उठेर आइरह्यो । दिलमा आङ्खनो देश र यस सहरको विकासको क्रमलाई नापिरहेर पनि त्यस्तो भएको पो हो कि । सोडापानी उम्लिए झैँ हृदयमा एउटा तुलनात्मक धारणा हुलुक्क उम्लियो—

सय वर्षपहिले आगलागीबाट ध्वस्त स्थानमा खरानीको थुप्रो पन्छाउँदै अमेरिकीहरूले यस्तो चमत्कार गरे । विपत्ति र अभावमा बगेको आँसुको पीडालाई सिर्जनामा बदले । मानवनिर्मित भौतिक धरोहरहरूलाई देखाएर विश्वको ध्यान मात्र खिँचेनन्, संसारभरका यात्रुहरूलाई उतार्न सफल छन् । यी मजस्तो गरिब तथा अविकसित मुलुकको एउटा सामान्य यात्री पनि हजारौँ माइल टाढाबाट अमेरिकीका सीप र जाँगरको पूजा गर्न ठूलो धनराशि खर्चेर आइपुगेको छु । हामीजस्तै यात्रुहरूका धन र दौलतबाट थप नमुनायोग्य धरोहरहरूको निर्माणमा होडबाजी गरिरहेका छन् । अर्कोतर्फ प्रकृतिको उच्चतम उपहारजस्तो मेरो देश…तर अविकसित, आङ्खनो देशको साधन र स्रोतलाई पनि कम आकलन गर्दैन मेरो मन । व्यथित छ त आङ्खनै अकर्मण्यताका कारणले ।

भौतिक रूपमा निर्माण भएका गगनचुम्बी घरहरूभन्दा प्राकृतिक रूपमा निर्मित हाम्रा हिमालहरू धेरै गुणा अग्ला छन् । अमेरिकाको अग्लो भवनको तुलनामा विश्वभरको अग्लो सगरमाथा सय वर्ष होइन, सृष्टिकालदेखि हामीसँगै सुरक्षित छ । मानवनिर्मित धरोहरहरूभन्दा उच्च, श्रेष्ठ र अतुलनीय प्राकृतिक रमणीयताले सिँगारिएका हिम शृङ्खलाहरू हामीसँगै छन् । हरिया पहाडका थुम्कैथुम्काको पत्र पत्र तरेली परेको भूभाग हाम्रै हो । नदीनालाहरूले धनी छौँ हामी । पुर्खाले सुम्पिएर गएका सांस्कृतिक तथा धार्मिक धरोहरहरूको पनि त कमी कहाँ छ र ? तर विश्वलाई लट्ठ्याउन सक्ने चुम्बकीय आकर्षण भएका यी प्राकृतिक सम्पदाहरूको उपयोग गर्न सकेनौँ हामीले । हामीले विश्व बजारमा हाम्रा यी सुन्दर उच्च धरोहरहरूको प्रचारप्रसार गर्न जानेनौँ । दुनियाँको हुलमाझ आङ्खनो यथार्थ चिनारीको मौलो गाड्न सकेनौँ । व्यवस्थापकीय क्षमता र उचित कर्मको यथोचित खेला देखाउन सकेनाँै । त्यसैले त भिल्लका देशका मणिसरह महत्त्वहीन भएका छन् हाम्रा धरोहरहरू । यी अमेरिकीहरूसँग यी चिजबिज अनि साधन, स्रोत भएका भए चरीको दुध उमारेर देखाउने थिए १

सरल र सहज गन्तव्यका लागि आवश्यक पूर्वाधारहरूको निर्माणमा भन्दा आपसी कलह र वाद विवादमा अझै संलग्न छौँ हामी । कस्तूरी मृग र उसभित्रको बिनाको कारुणिक कथाको हरिलट्ठक पात्रसरह हामी भौँतारिरहेका छौँ । सग्लो र वासनादार चामल बेच्न सकेनौँ हामीले तर ढुस्स परेको पिठो किन्न उद्यत छौँ आज । हुँदाहुँदा क्रूर समयले यसरी निचोरेर ल्यायो कि यो दूर देशमा छिमेकीको परिचयमा अस्तित्व घुसार्न विवश बनाइरहेछ । चीन र भारतको बीचमा अवस्थित छ मेरो प्यारो देश नभनेसम्म बुझ्न समर्थ हुनेको सङ्ख्या कमै देख्छु म । यसरी स्वयंको परिचयमा पराईको नाम ओकल्नुपर्ने यो विवशताको पोयो चुँडाउन कहिले सकिएला खै † यस्तो व्यथाले नै रमाइलोमा पनि पूर्ण आनन्दी हुन सकेको छैनँ, खुसीमा पनि फक्रन पाएको छैनँ म ।

यो पराई मुलुकमा व्यक्ति जति नै सम्पन्न, शिक्षित किन नहोस्, आखिर चिनारी भन्नु सर्वप्रथम उसको देश रहेछ । स्वदेशमा रहँदा भन्दा परदेशमा देश बिग्रेको पीडा अत्यधिक महसुस भैरहेछ मलाई । मस्तिष्क र मुटुभरी सर्बमान्य भगवान भएर नेपाल हासिरहेछ । हिउँ जमेसरह छातीभरी देशप्रेम जम्दोरहेछ । अर्थात बिदेशमा देश झन् धेरै दुख्दोरहेछ ।

अन्तमा यात्रा जहाँबाट सुरु भएको थियो त्यही ठाउँमा लगेर कप्तानले हाम्रो जहाज रोके । सहायकले जहाजमा बाँधिएको एउटा बलियो डोरीको अर्को टुप्पोलाई किनारामा गाडिएको ठूलो किलामा बाँधे । पानीको बहाव तथा छालले जहाजलाई बग्नबाट रोकेको होला सायद । हामी सबै ओर्लियौँ । जहाजबाट बाहिर निस्किएपछि अग्रभागमा हाम्रा पथ प्रदर्शक सबैलाई अभिवादन गर्दै बिदाइका निम्ति अदबसाथ उभिएका थिए । धन्यवादस्वरूप यात्रीहरूले उनको हातमा हरिया डलर राखिदिएको देखियो । यस पेसामा आर्थिक उपार्जन बलियै हुँदो रहेछ ।

सिकागो नदीमा जलविहार सम्पन्न के भएको थियो, छ्याङ्ङ आकाश उघ्रिए झैँ मेरो अतीतको स्मृतिको पाना पल्टियो । विचारतरङ्गको वायुयानमा सवार भई मेरो मन पेरिस सहरमा पुग्यो । पेरिस सहरको प्रख्यात सेन नदीमा मैले यसै गरी केही वर्षपहिले जलविहार गरेको थिएँ । यी दुवै विकसित देशहरूको समान किसिमको यात्रालाई मनको तराजुले जोख्न पुग्यो । सिकागो जलविहारमा नदीमाथि देखिएका पुलहरूका केही अंश फुङ्ङ उडेका देखिन्थे, सिँगारपटारविहीनजस्ता थिए । नदी किनारातर्फका तटबन्धहरू सुन्दरीका टम्म मिलेका दन्तलहरजस्ता देखिएनन् ।

सिकागो सहरमा एक सिर्जनशील एवं उत्सुक पर्यटकले वर्षौंवर्ष घुमफिर गरेर समय खर्चन सक्ने सामल रहेछन् । हामीले दुई दिनको बसाइँमा कति पो हेर्न भ्याउँथ्यौँ र ? तैपनि केही महत्त्वपूर्ण स्थलहरू र सहरका विभिन्न भागहरूको एकसरो अवलोकन ग¥यौँ ।

एकातर्फ सहर अवलोकनको प्यास मेट्दै थियौँ, अर्कोतर्फ भोकको प्यास बढ्दै थियो । जिब्राको स्वादतृप्तिका लागि भारतीय बस्तीको खोजीमा लाग्यौँ हामी । वास्तवमा जिब्राको स्वादको शक्ति पनि कम बलवान् हुँदो रहेनछ । त्यही शक्तिको बलले हामी १२÷१५ माइल टाढाको यात्रा सहज रूपमा पार गर्दै ँडेभोन एभिन्यु” पुग्यौँ जसलाई गान्धी मार्ग पनि भनिँदो रहेछ । एक मन त मलाई लाग्छ, यस संसारमा भएका अत्यधिक आविष्कार र उपलब्धिहरूको मूल स्रोत जिब्रोमा भएका असन्तोषी स्वादकोषहरू नै हुन् कि ।

पुरै बस्ती भारतीय मूलका नागरिकहरूले ढाकेका रहेछन् । बस्तीमा डुल्यौँ, घुम्यौँ । त्यो भूभाग घुम्दा, डुल्दा छिमेकी देशमा जाँदासरहको आत्मीय अनुभव भयो । भारतीयहरूको उपस्थिति संसारको जुनसुकै कुनामा पनि देख्न सकिन्छ । सिकागोजस्तो ठूलो सहरमा यिनीहरू नहुने त प्रश्नै भएन । डेभोन बस्तीमा भाषा, भेष, संस्कार एवं संस्कृति पुरै नै भारतीय पायौँ । हामीलाई आङ्खनै घर नभए पनि छिमेकीको घर पुगेजस्तो, आमा नभए पनि सानीमा भेटेजस्तो लाग्यो । भारतीय बजारमा चाहनाअनुसारको स्वाद लिँदै तृप्त भयौँ हामी ।

केही मास्तिर लेक मिचिगनको किनारभरि जात्रासरह मानिसहरूको अत्यधिक भीडभाड देखिन्छ । घमाइलो मौसममा ‘बीच’ प्रेमीहरूको त्यो बाक्लो उपस्थितिभित्र भलिबल लगायतका विविध खेलहरू पनि खेलिरहेछन् मानिसहरू । पौडने र सनबाथमा रमाउनेहरूको लस्कर पनि कम थिएन । प्रायः बीचमा रमाउनेहरू नाङ्गैजस्ता थिए । उनीहरूले सानो त्यान्द्राको सहायताले लाज ढाकेको देखिन्थ्यो । अन्य अवयवहरूसरह गुप्ताङ्गहरूको हल्का प्रदर्शन पनि आधुनिक नकच्चरो सभ्यतामा सामान्यजस्तै भइसकेको रहेछ त्यहाँ ।

दिलभित्र गडेको यौनजनित निकास खोज्न पुग्नेहरू पनि कम देखिएनन् । जवानी र बै‘ँसको उन्मादयुक्त फुर्तीफार्तीभित्र रमाएर होला, आफू बुढो पनि भइने सोच उनीहरूमा पटक्कै देखिँदैनथ्यो । कोही जोडी जोडी मिलेर हात समाई हिँडेका देखिन्थे, कोही चुम्बनमा डुबेका त कोही आलिङ्गनमा कस्सिएर प्रेमपासोमा बाँधिएका देखिन्थे ।
प्रेम शब्दको सम्झनाले यससँगका केही मान्यताहरूसँग खेल्न उद्यत हुन्छ मेरो मन–
प्रेम स्वयंमा अति नै सुन्दर भावना हो । प्रेमविनाको जीवन फलविनाको वृक्ष, गतिविनाको नदी र सुगन्धविनाको फूलजस्तो नीरस लाग्दछ मलाई । वास्तवमा संसारमा अत्यधिक चर्चा र व्याख्या अनि प्रयोग भएर पनि पूर्ण परिभाषित हुन नसकेको शब्दमा पर्छ प्रेम ।
मेरो अन्तस्करणले सवाल गरिरहन्छ— प्रेम समर्पण हो कि प्राप्ति ? आकर्षण हो कि मोह ? अनि स्पर्श हो कि अनुभूति ?

जवाफ फर्काउन सकिन्छ— के मन, विचार र जीवनउपर आधिपत्य जमाउनेको दोस्रो नाम प्रेम होइन ? हिराभन्दा चम्किलो र हिउँभन्दा सेतो सायद त्यही प्रेम हो कि ।
सिकागो सहर इलुनाई राज्यभित्र पर्ने एउटा सहर हो । स्प्रिङफिल्ड राजधानी सहरभन्दा यो ठूलो छ । इलुनाई राज्यलाई लिङ्कन स्टेट पनि भनिँदो रहेछ । अब्राहम लिङ्कनको जन्मभूमि । यही स्टेटबाट प्रतिनिधित्व गर्दै बाराक ओबामा राष्ट्रपति हुन सफल भए ।

यस राज्यले नाम मात्र होइन, बदनामी पनि कमाएको रहेछ । भ्रष्टाचारको मामिलामा यहाँका राजनीतिज्ञहरू कम रहेनछन् । यसअघिका राज्यपालहरूमध्ये चार जना त भ्रष्टाचारकै सिलसिलामा जेलको हावा खाइरहेका छन् भन्ने जानकारी हामीले पायौँ । उखुको स्वाद लिइरहेको मुखमा निमको डाँठ चपाउँदाजस्तो नमीठो अनुभूति हुन गयो मलाई ।

फरवरी २०१२
विस्कन्सन, अमेरिका ।

मधुपर्क जेष्ठ,२०७०

(स्रोत : रचनाकार स्वयंले उपलब्ध गराउनुभएको । )

This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.