छन्द कविता : के संविधान आउला ?

~पूर्ण ओली~Purna Oli

खेलेनौ अगुवा निस्वार्थ भुमिका, नेपालको खातिर
संविधान नआउने लक्षण यो, देखिन्छ चारैतिर
जानेभो अब फुत्किई पकडको सम्भावना सुन्दर !…
तिम्रो मात्र दलीय आग्रह छ रे ! हाम्रो यहाँ के छ र ?

हाम्रो देश इतिहासकै कठिनतम् यो मोडमा ल्याउने
को हो, हात उठाउ, धूर्त दल त्यो ? देशै धमिल्ल्याउने
नारा त्यो सहकार्यको रटिरह्यौ, नाचेर नाच् ताण्डव !
यस्को दोष अदृश्य शक्ति ? दरबार् ? कस्लाइ सार्छौ अब ?

साराको अधिकार बन्धक भयो, बाटो अनिर्णित रह्यो
तिम्रै स्वार्थ ठुलो भयो, मुलुक यो कम्जोर बन्दै गयो
आकांक्षा जनको, कुनै पनि कतै गर्दैन सम्बोधन
दूलोबाट तसर्थ बाधकहरु मन्टो निकाल्दै छन ।

त्यो आन्दोलनबाट व्यक्त अभिमत् सीमान्त भो ख्यालमा
धुर्वे भो कि ? कठै ! ध्रुवीकरण भो ? राज्नीति नेपालमा
पार्यौ खण्डित एकता र सहमेल्, स्पर्धा र बेमेलले
हाम्रो आज बगाइँदैछ सपना बेमौसमी भेलले

सत्तारोहण दाउपेच अति भो, लोक् तन्त्रको नाउँमा
हाम्रो गौरव, मान, इज्जत सबै, थाप्यौ सदा दाउमा
पार्यौ घोर निराश आम जनता ! खै के क्षमा पाउला ?
फर्की भोलि त आउला घरतिरै ! ओठे जवाफ खाउला ।

२०७१।१०।५

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.