पुस्तक समीक्षा : आञ्चलिक आँखीझ्याल सूर्य सुवेदीका कथाहरू

~आनन्द राई~

तेह्रथुमका रुपलाल रिजाल त्यसै ‘सोह्रमाने साहू’ कहलिएका थिएनन्, अरूले रुपियाँको २२ माना चामल बेच्दा उनी १६ माना दिन्थे । तर, समयकालमा छोरो नालायक निस्क्यो । दुष्ट भतिजाहरूले घरबार, २६ खला खेतबारी, सयौं तोला सुनचाँदी, २० धार्नी काँसका भाँडाकुँडा हडपेर जीवनभर अदालत धाउन बाध्य पारे । अदालतमा डिट्ठासँग निसाफको याचना गर्दागर्दै बूढा सकिँदा उनका शक्तिशाली भतिजाहरू न्यायाधीशसँग गफ लडाइरहेका थिए ।(निसाफ) ६० वर्ष पुरानो बूढा कामीको आरनमा दैनिक तीन बीस बिष्ट नआई धर पाउन्नन् । तीन छोरा र बुहारीको काँध पाएर अधियाँमा १० खला खेत कमाएका बूढा बिरामी पर्दा झँक्रीको ताँती लाग्छ । आँगनभरि सुँगुर, कुखुरा र खसीबाख्राका बथान छन् । दशैंमा दुइटी बुहारीलाई थुन्से बोकाएर बाली उठाउन गाउँ पसेकी बूढी चाउरी परेका गालामा तीनपानेको लाली चढाएर मतवाली बिष्टको घरबाट निस्किँदा तागाधारीले आफैं जोगिएर हिँड्नुपर्छ । अगाडि प¥यो कि बुढियाले छाँसिहाल्छिन्— तिमेरु ढङ्ग न सीपका ठालुहरू के फुर्ती लाउँछौ ! (आरन) बाँझे ढाँडबारीमा घरबास माग्न कोसेली (ढोयो)मा बियाउने थोरे घिसार्दै आएको बिर्खबहादुर लामिछानेलाई सुवेदार बाजे भन्छन्— तँ पनि छोरैसरह होस् । तेरा बाबुबाजे र हाम्रा पुर्खा सातआठ पुस्तादेखि सँगै बस्दै आएका हौं । ढोयो लिएर आइस्, अब मैले के भन्ने र ! (ढोयो)

२०१७–१८ सालतिरको पूर्वी पहाडका यी पात्र, परिवेश र परिबन्द हालै प्रकाशित सूर्य सुवेदीका कथाहरू का हुन्, जो ताँती लागेर मधेश झ्र्छन्, आसाम पस्छन्, घरेलु तनावबाट बहुलाउँदा पनि आफूले स्याहारेका वस्तुभाउको नाम बिर्संदैनन् । उत्सव र पिरलोको पोको बनेर चाडवाड आउने गाउँघरमा रातैपिच्छे रिट्ठे झँक्री चिन्ता बस्छ । ३० वटा छोटा कथा समेटिएका सुवेदीको कृतिलाई पूर्वी नेपाल चियाउने मोहक आँखीझयाल भन्न सकिन्छ । प्रा.डा. अभि सुवेदीको भूमिका र प्रा.डा. दयाराम श्रेष्ठको अग्रलेखले पाठकलाई सङ्ग्रहको आत्मा बुझन सजिलो पारिदिएका छन् ।

‘बौलाही मञ्जु’, ‘त्रिशूल बाबा’ र ‘खाते’ काठमाडौंकेन्द्रित कथा हुन् भने बाँकी लेखककै तेह्रथुम र छेउछाउका । ‘रतेली’, ‘देउराली’ लगायतका कथामा कथाकार सुवेदी सांस्कृतिक समीक्षक जस्ता देखिन्छन् । ‘रतेली’मा खवतर्नी ठूली, तल्लाघरे राम्री र गदाल्नी कान्छीका अगाडि आधुनिक गीतसङ्गीतमा चम्केका धनकुटा कलेजका राधा, चम्पा र गीता फिका लाग्छन् । गाउँले रतेलीको मातले यी आधुनिक मार्काका तरुनीलाई पनि बिहे गरुँ–गरुँ लगाउँछ । ‘श्याम फर्केला त ?’ र ‘रौनक नभएको दशैं’ले माओवादी द्वन्द्वको दुष्प्रभाव उतारेका छन् । ‘ढाक्रे’ले सडकले श्रमजीवी भरियाहरूको भात रुच्ने, निद्रा लाग्ने र घरखर्च पनि चल्ने पेशा कसरी हरण गरेको छ भनेर देखाउँछ । ‘रमिते पाखा’, ‘रानी वन’ र ‘सानी बज्यै’मा गरिखाने जनताले जीविकाका लागि सामन्तहरूसँग गर्नुपरेको सङ्घर्षको घतलाग्दो वर्णन छ ।

सुवेदीका कथाहरूमा जटिल संरचना, चरित्रहरूको तानातानी र जीवनदर्शन खुलाउने अभ्यास छैनन् । स–साना फाँकीमा सरल पहाडी जिजीविषाको विहङ्गम वर्णन उनको विशेषता हो । एउटै वाक्यमा शब्दहरू र एकै अनुच्छेदमा वाक्यहरू दोहो¥याउने कमजोरी हुँदाहुँदै पनि कथाहरू पढिसकिहालौं लाग्ने गरी छोटा छन् । किताब छिचोलिसक्दा पाठकको मनमा गाउँघरको सम्झ्ना ताजा भएर आउँछ ।

सूर्य सुवेदीका कथाहरू
लेखकः सूर्य सुवेदी
प्रकाशकः खगेन्द्र सुवेदी, ओम सुवेदी र परशुराम सुवेदी
पृष्ठः १२२+१२, मूल्यः रु.१५०

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.