कविता : मर्न सकूँ तिम्रा लागि

~हरिभक्त कटुवाल~Haribhakta Katuwal

बल्ल आइपुगेको आमा ! तिम्रो न्यानो काख खोज्दै
माया देऊ, मलाई मायाको भोक लागेको छ।
हात चोपलेर पवित्र पानीमा वाग्मतीको
तिमीलाई फेरि कहिल्यै नछोड्ने किरिया खाइसकेको छु।

मुठ्ठीभर माटो लिएर पावन मातृभूमिको
मेरा अपराधहरुको प्रायश्चित गर्न लागिरहेको छु
यत्तिका दिनसम्म त्यसै भौतारिँदै हिँडे– वारिस विना
केवल दाँत ङिच्याउँदै अरुको भुकाईमा–थुकाईमा।

तर आमा! जहाँ थिएँ– तिम्रै छोरो थिएँ
तिम्रै सौम्य अनुहार हुन्थ्यो मेरो यी आँखाभरि
तिम्रै रगत प्रवाहित थियो मुटुभरि–कलेजोभरि
तिम्रै गौरवगाथा व्याप्त थियो मेरो उत्साहभरि–उमङ्गभरि।

बल्ल आमा ! तिमीलाई ‘आमा’ भन्न पाएको छु
करोडौँ तिम्रा ओजस्वी सन्तानहरुका लाममा–
आफूलाई उभ्याएर आकाशतिर दुईहात उचालिदिएको छु
रहर कुँदिरहेको छु यी पाखुराहरुमा केही गर्न सकूँ तिम्रा लागि
तिम्रो गौरव नै हाम्रो अस्तित्व आमा! मर्न सकूँ तिम्रा लागि।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *