नाटक : दाना

~खेम थपलिया~Khem Thapaliya

दृश्य एक

समय – बिहान ।
स्थान – अस्पताल परिसर र अन्य ।
पात्र – दाना, चौला, प्रशासक र अन्य

निम्न वर्गीय आदिवासी एवम् मध्यम कदको शारीरिक बनावट भएको दाना माझी मानिस आफ्नी टीबी रोगद्वाराग्रस्त बिरामी श्रीमती आमाङ्गलाई लिएर ६० किलोमिटर टाढादेखि हतार हतार जिल्ला अस्पतालमा आइपुग्छन् । त्यतिखेरसम्म श्रीमतीको अवस्था सामान्य सामान्य नै हुन्छ । मजदुरी गरेर जीवन निर्वाह गर्ने उनीहरू अस्पतालले केही राहत देला कि भन्ने मनसाय लिएर आएका हुन्छन् । उनीहरूका साथमा छोरी चौला पनि हुन्छिन् । डाक्टरले सामान्य चेकजाँच गरेर अर्को कोठामा जाने सल्लाह दिन्छन् । उनी पनि त्यसै गर्छन् । उपचारकै क्रममा बिरामीको रातको समयमा मृत्यु हुन्छ । त्यसपछि अस्पतालले तुरुन्त अमाङ्गको लासलाई त्यहाँबाट निकाल्न आदेश दिन्छ ।

दाना आफ्नी श्रीमती अमाङ्गको लास काँधमा बोकेर सडकमा निस्किएका छन् । उनको पछि पछि लागिन् उनकी छोरी चौला माझी । चर्को घाम लागेको छ । सडक भतभती पोल्ने तातो छ । उखर्माउलो गर्मी छ । उनी कहिले त्यो शव बिसाउँछन् र केहीबेर थकाइ मारेर फेरि बोकेर हिँड्छन् । साथमा छोरी आँखाबाट आँसु झार्दै आफ्नी आमाको शव र बुबाको त्यो बेहाल अवस्था देखेर निकै निराश, थकित र गलित अवस्थामा पछि पछि हिंडिरहेकी छन् । सडकमा मानिसहरू रमिते बनेका छन् । मानौँ कि त्यहाँ केही भएकै छैन ।

दृश्य दुई

समय – मध्यान्ह ।
स्थान – सडक छेउ ।
पात्र – दाना, चौला

सडकमा मोटरहरू ओहोर दोहोर गरिरहेका छन् । मानिसलाई आ–आफ्नै सुरमा छन् । कसलाई के थाहा कि सडकमा एउटा भयनाक घटना घटिरहेको छ । संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक भनिने देशका एक नागरिक यसरी आफ्ना परिवारको प्रियजनका लासलाई बोक्न बाध्य छन् । शासकको असली अनुहार र सीमान्तकृत जनताको हविगत सडकमा छताछुल्ल भएको छ ।

एक त आफन्तको लास, अर्को भोको र अनिंदो शरीरको जीवन्त कथा संसारमा नयाँ ढङ्गले लेखिँदैछ । मृतक श्रीमतीको लास बोकेर १२ किलोमिटर टाढा हिंडेर पुग्नु जिउँदो साहसी र स्वाभिमानी श्रीमान दाना अनि उनकी १२ वर्षीय छोरी चौलाको यथार्थ जीवन तातो सडकमा घिस्रिरहेको छ ।

दाना सडकमा आफ्नो काँधमाथि कपडाले बेरिएको लासको भारी बोकेर छोरीसँगै कष्टपूर्वक सडकमा दौडिरहेका छन् । उनी निकै टाढाको गन्तव्यमा पुग्न हतारिएर हिडिरहेका छन् । चर्को घामका कारण बाबु छोरी दुवैको अनुहार पसिनै–पसिनाले निथ्रुक्क भिजेकोे छ । बुबाको काधँमाथिकोे भारी देखेर रुमालै मुख छोपेर रुँदै गरेकी छोरी चौलाको त्यो हृदयविदारक दृश्य हेर्न संसार विवश छ । दाना लासलाई एकछिन सडकको छेउमा बिसाउँछन् ।

दाना – (पसिना पुछ्दै) ओहो ! कहिले यो बाटो काट्ने हो कुन्नि ? छोरी आऊ यहाँ बस ।

चौला – (बुबाले सङ्केत गरेको ठाउँनेर बस्दै) अस्पतालले एम्बुलेन्स नदिएर त हो नि बाबा । उसले एम्बुलेन्स नदिएर त यस्तो दुःख आइलागेको हो नि । आखिर उनीहरू राक्षस नै रहेछन् ।

दाना – (आफूलाई सम्हाल्दै) हो नि ।

चौला
 – अँ बाबा ।

दाना – थाहा छोरी हामी कति टाढाबाट आएका थियौँ ?

चौला – थाहा छ, हाम्रो घरबाट पूरै ६० किलोमिटर ।

दाना – ओहो ! ६० किलोमिटर पो छ त ? बिरामी बोके जस्तो कहाँ हुने रहेछ र ?

चौला – जाऔँ बुबा ।

दाना – हुन्छ ।

चौला – (सम्झेजस्तो गरेर) अँ बुबा, ममीले अन्तिम बेला केही भन्नुभएको थियो ?

दाना – (अलि सतर्क हुँदै) छोरी चौलाको विशेष ख्याल गर्नू है भनेकी थिइन् ।

चौला – ममीले मलाई कत्ति धेरै माया गर्नुहुन्थ्यो । होस् यो कुरा, जाऔँ …

दाना – हुन्छ ।

दाना मृतक श्रीमतीको लासलाई उठाएर काँधमा राख्न खोज्छन् तर सक्तैनन् । अनि एकछिन भुइँमै राख्छन् । फेरि श्रीमतीलाई दाहिने काँधमा बोकी उनी छोरीको अघि अघि लाग्छन् । पछाडि छोरी सानो आवाजले रुँदै हिँड्दै हुन्छिन् । दानाले बिचबाटोमा आइपुगेपछि काँध फेर्न सडकको छेउमा श्रीमतीको लासलाई बिसाउँछन् । सँगै चौलाले डाँको छोडेर रुन थाल्छिन् । त्यतिखेर टन्टलापुर घामका कारण कोही मान्छेहरू सडकमा आवत जावत गरेका छैनन् । सडकमा हिंडिरहेकाहरू पनि आफ्नै सुरमा छन् ।

जसोतसो छोरीको रुवाइसँगै दानाले १२ किलोमिटरको यात्रा असिना पसिनाका साथ पुरा गर्छन् । उनी सडकको छेउमा एकछिन सुस्ताए । अनि एकछिन् अतीततिर बिलाए ः

दाना – अमाङ्ग, अमाङ्ग । कहाँ हो ?

अमाङ्ग – किन कराको ? कतिखेर आउनुभयो ?

दाना – भर्खरै । चौला खोइ ?

अमाङ्ग – यतै कतै होली । एकछिनअघि त यतै थी ।

दाना – साँझ परिसक्यो । जमाना खाराब भनेको थाहा छैन । सहरमा कस्ता कस्ता घटना भइरहेका छन् । छोरीचेलीलाई जोगाउनै गा¥हो भइसक्यो । सारा हिन्दूस्तान आज बदनाम भएको छ ।

अमाङ्ग – अलि अलि त मलाई पनि थाहा छ ।

चौला आइपुग्छिन् । हातमा कापी र किताब हुन्छ । चौला फरासिली र सुन्दर छिन् । उनी साथीहरूका प्रिय पनि छिन् । कसैसित डराउँदिनन् । हक्की स्वभावकी चौला गा¥हो सा¥हो पर्दा साथीहरू सम्झिहाल्छन् ।

चौला – बाबा कतिखेर आइपुग्नु भयो ? आज त अलि चाँडै नै आउनुभयो नि !

दाना – (हाँस्दै) हो आज अलिकति चाँडै नै आएको नि तिमीहरूको मायाले । आज म काम गनै ठाउँ नजिकै रेपकेस जस्तो नराम्रो घटना घट्यो । मलाई त काम गर्न नै मन लागेन । आजकल हिन्दुस्तानको वातावरण बिग्रिएको छ । कतिखेर के हुन्छ, भन्न नै सकिँदैन । छोडिदिऊँ यो कुरा … ।

चौला – (ममीतिर देखाउँदै) ममी ममी बिहान बाबाले के भनेर जानुभएको थियो रे !

अमाङ्ग – खै मैलाई त थाहा भएन ।

चौला – लौ हेर ढाँटेको । ममी र ड्याडी मिलेर मलाई उल्लु बनाउन खोजेको होला । मलाई थाहा छ ।

दाना – अमाङ्गतिर देखाउँदै साँच्चि के रे । मैले पनि बिर्सेँ ।

अमाङ्ग – के हो ? भनेको कुरा ल्याइदिएको भए भनिदियो भइहाल्यिो नि !

दाना – (चौलाको कपाल मिलाउँदै) त्यै मासुको कुरा त हो नि ! ल्याइदिएको छु । त्यो झोलामा छ, निकाल त ।

अमाङ्ग – (भान्साबाट) ल ल हुन्छ, हवस् ।

चौला – अनि …

दाना – अनि … ए ए ए, त्यो पनि ल्याइदिएको छु । (लौ निकालेर चक्लेट दिन्छन् ।)

दाना – अमाङ्ग सुन त अमाङ्ग …

दाना झसङ्ग हुन्छन् । उनी अतीतबाट यथार्थमा फर्किन्छन् । कठोर यथार्थ, पीडादायी ययार्थ आफ्नो वरिपरि घेरिएर बसेको देखेपछि उनी लामो सासका साथ खुइय गर्छन् ।
पर्दा ।

दृश्य तीन

समय : बेलुकीपख ।
स्थान : सडकछेउ ।
पात्र : दाना, चौला र अन्य

तातो सडकमा श्रीमतीको लास बोकेर दाना थकित छन् । चौला पनि थकित छन् । उनीहरू करिब १२ किलोमिटर वर आइपुगेका छन् । दाना श्रमतीको लासलाई सडकको एक छेउमा राख्छन् । छोरी चौला पनि नजिकै आएर टुसुक्क बस्छिन् । आमाको लास देखेर छोरी चौलालाई आमाले गरेको मायाको स्मरण हुन्छ । उनमा आमाको मायालु व्यवहारको झलझली याद आउँछ । आमाको महत्व र आवश्यकताले चौलालाई निकै चिमोट्छ । चौला एकछिन् टोलाउँदै अतीततिर पुग्छिन् ।

एम्बुलेन्सको टींटीं आवाजले चौला झल्याँस्स हुन्छिन् । उनीहरूका अगाडि एम्बुलेन्स आइपुगिसकेको छ । त्यहाँ केही गाउँका युवाहरू पनि आएका हुन्छन् ।

चालक – जाऔँ । हामी कालहाँडीबाट आएका हाँै ।

त्यहाँ आएका युवाहरूको सहयोगमा दाना श्रीमतीको लसलाई मोटरमा राख्छन् । चौला पनि मोटर चढ्छिन् । मोटर अगाडि हुँकिन्छ । मोटर हुँकिएको सानो आवाज आइरहन्छ ।

नेपथ्यबाट चर्चित प्रगतिवादी कवि निभा शाहको ‘मनसरा’ को कवितात्मक स्वर आइरहेको हुन्छ ।
पसिना बगेर
दुनियाँ बदलिने भए
भरियाको दुनियाँ
उहिल्यै बदलिसक्थ्यो मनसरा ।

रगत बगेर
दुनियाँ बदलिने भए
जनताको दुनियाँ
उहिल्यै बदलिसक्थ्यो मनसरा ।

जब कि मनसरा !
रगत पसिनाले नै
दुनियाँ बदलिने हो
रगत पसिनाले नै
नबदलिएको दुनियाँ
किन बदलिएन ?
कहिल्यै
आगो भर्भराएको
सुन्यौ मनसरा ?
आगो बोलिरहेछ मनसरा ।

आफूले चिरेका दाउरा
अरूले नै बालेपछि
आगो आफ्नो हुँदैन मनसरा
आगो आफ्नो नहुनेको
उज्यालो आफ्नो हुँदैन मनसरा
उज्यालो आफ्नो नहुनेको
दुनियाँ बदलिँदैन मनसरा
कहिल्यै
आगो भर्भराएको
सुन्यौ मनसरा ?
आगो बोलिरहेछ मनसरा ।

आफूले खोरिया खनेको खेत
अरूकै नाममा दर्ता भएपछि
माटो आफ्नो हुँदैन मनसरा
माटो आफ्नो नहुनेको
पेटभरि अन्न हुँदैन मनसरा
पेटभरि अन्न नहुनेको
दुनियाँ बदलिँदैन मनसरा
कहिल्यै
आगो भर्भराएको
सुन्यौ मनसरा ?
आगो बोलिरहेछ मनसरा ।

आफूले बोकेको बन्दुक
अरूले नै कासन गरेपछि
सत्ता आफ्नो हुँदैन मनसरा
सत्ता आफ्नो नहुनेको
दुनियाँ बदलिँदैन मनसरा
कहिल्यै
आगो भर्भराएको
सुन्यौ मनसरा ?
आगो बोलिरहेछ मनसरा
आगोको आवाज सुन मनसरा ।।

नेपथ्यबाट
जब जनता राज्यबाट उपेक्षित हुन्छ, त्यसपछि विद्रोहको जन्म हुन्छ । आज टेलिभिजन तथा सोसल मिडियामा भारतले भू उपग्रह उडायो, नयाँ नयाँ खोज आविष्कार गरयो भन्दै विकासको राग अलापिरहेको छ । भारतीय नेताहरूमा छिमेकी देशहरूमा आफ्ना राजदुतहरूमार्फत विकासे खैरात बाँडेर आफ्नो देश सम्पन्न भएको परिचय दिने होड गरिहेका छन् तर आफ्नै देशका असङ्ख्य आदिवासी नागरिकहरूको श्रीमती उपचारमा मृत्यु अँगाल्न वाध्य छन् । तिनीहरू विकासको खोक्रो नारा अलापेर आफू सम्पन्न भएको ढोंग गरिरहेका छन् तर त्यही देशमा दानाहरू आफ्नी मृत्यु भएकी श्रीमतीको लासलाई काँधमा बोकेर १२|१२ किलोमिटर हिंड्न विवश छन् । आखिर किन ? जसको रगत–पसिनामा राज्य, राज्यको प्रतिष्ठा र सभ्यता उठ्यो, तिनै जनताको रगत, पसिना र जीवनको अवमूल्यन कहिलेसम्म ? आज दाना र दानाहरूको राज्य कहाँ छ ? यो संसारभरका दानाहरूको विद्रोह हो कि होइन ? आखिर दानाहरूलाई विद्रोही बनाउने को हो ? को हो ??

अन्तिम पर्दा ।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in नाटक and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *