कविता : शरमको अर्थ

~केशव शिलवाल~keshab-silwal

बादलको घुम्टो ओढेर
लजाउँदै–लजाउँदै
आकाशमा प्रकट भएको घाम देखेर
मलाई शरम लाग्छ
शरम गर–
यो शरमको कुरा हो

मानिसको छातीलाई पिच बनाएर
मानवताको छक्का हान्ने क्रिकेटरले नै
मानवताको गीत गाउनु–
यो शरमको कुरा हो
खुल्लमखुला मृत्यु बेच्ने व्यापारीले नै
लामो उमेरको आशीर्वाद दिनु–
यो शरमको कुरा हो

सहरको माथिल्लो भागबाट बहन्छ
असह्य तातो लू
त्यसकै हातमा छ सा“चो
जो खुँखार चोर हो
उसले चोर्छ वैधानिक तवरले
स्वतन्त्रता–
कसैकी रखौटी हो
जो पटक–पटक बलात्कारको सिकार भएकी छे
आँखा च्यातेर
बलात्कारको दृश्यमा रमाउनु–
यो शरमको कुरा हो

म छक्क पर्छु–
के भएको छ हिजोआज शरमलाई ?
हजार शरम आउने कृत्य गरे पनि
पटक्कै आउँदैन शरम
छोराहरू बेचिरहेका छन् आफ्नै आमालाई
इदि अमिनहरू खोलिरहेका छन् पसल
जहाँ मान्छेको मासु पाइन्छ
अरूको अस्तित्वलाई ओछयान बनाएर सुत्नु
कसैको सोख हुन सक्छ

म छक्क पर्छु –
के भएको छ हिजोआज शरमलाई ?
शरम नै नांगिएर
हामीसामु उपस्थित छ

नदीको किनारमा खुल्लमखुला
शौच गर्छन् चेतनशीलहरू
र उठाउँछन् सफा नदीको विषय
न्यायालयको मठाधीस छन् बगरेहरू
बगरे बनेका छन् डाक्टरहरू
पूmल कुल्चिनेहरू नै बनेका छन् माली
जुवाघर भएको छ संसद्
आफ्नो घरमा आगो झोस्दै छन्
भर्खर कालो घोडाबाट ओर्लिएकाहरू
यस्तो समयमा–
मर्नुभन्दा बौलाउनु निको भन्दै
घाँस दाउरा गर्न छोडेर
दिउँसै घाममा सुतेका छन् सामान्य मानिस
शरम गर–
यो शरमको कुरा हो ।

(स्रोत : फित्कौली)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.