नाटक : मुक्त

~नन्दलाल आचार्य~Nandalal Acharya_1

(ठूलो घडी चित्राङ्कित ठूलो पर्दा झुण्डिएको छ । घडीको केन्द्रमा गोलो घेरा छ । त्यसभित्र लौरो टेकेर टुक्रुक्क बसेको प्रौढ र जवानीमा प्रवेश गर्दै गरेको बाँदर बन्धन मुक्त अवस्थामा रहेको तस्विर छ । प्रौढ त्यसलाई दाने भन्दछ । घडीका किनारामा क्रमशः १, २, ३, ४, ५, ६ र ७ लेखिएका तीर आकृतिका सात वटा सुई छन् । तिनीहरूले क्रमशः दमाई, चमारे, फलामे, मजदुर, लथालिङ्ग, विरक्ति र वर्तमान लेखिएको दाँयाबाट बाँयातर्फ लम्केको स्थानलाई देखाएका छन् ।

सर्वप्रथम छैटौँ सुई जुम हुन्छ । ठूलो अक्षरमा देखिन्छ– विरक्ति ! एकाएक प्रौढ र दाने केन्द्रबाट फुत्त बाहिरिन्छन् । वरपर रुखबिरुवा छन् । मानिस र यातायातका साधनहरूको आवाज अल्पअल्प मात्र सुनिन्छ । दाने भुइँँमा छरिएका अन्नका गेडागुडी टिप्दै खाँदै गर्छ । प्रौढ एक टकले हेरिरहन्छ । दाने वर सर्छ र प्रौढले टेकेको लाठ्ठी तान्छ । उसको तन्द्रा भङ्ग हुन्छ ।)

प्रौढ– जा दाने ! जा । अब तँ आफ्नै लोकमा जा । मैले तेरी आमा र तँलाई धेरै सताएँ । अब म सकुँन्जेल एक्लै श्वास फेर्न चाहन्छु । नसकेमा एक्लै श्वास त्याग्न चाहन्छु । म तेरो रखवारी गर्न विल्कुलै असमर्थ छु ।

(दाने प्रौढको काखमा बसेर दारी खेलाउन थाल्छ । प्रौढ दानेको मायाले पग्लन थाल्छ ।)

बाबु ! तेरो र मेरो इतिहास सुन्ने संसारमा कोही छैन । म तँलाई सारा इतिवृति सुनाइदिन्छु । मगजमा राखेस् भन्दिनँ । तेरो प्राकृतिक स्वभावले जे भन्छ त्यही गरेस् । तर मेरो बाटो सफा गरिदिएस् । एक्लै जिउँछु । जे गर्छु सिर्फ आफ्नै लागि मात्र गर्छु । जीवनभरि खोजेर पनि नपाएको शान्ति यसै बखत पाउन चाहन्छु । ‘मेरो र तेरो’को लडाइँमा लाग्दा ‘विरक्ति’ सिवाय केही नपाइने रहेछ । मान्छे बेहोसीमा जन्मन्छ र पूरै होस् नखुल्दै हराउँछ । डाँडा पारिको जून हुने बेलामा मेरो होस् खुल्दै छ । त्यसैले तँलाईं आफ्नो बाटाबाट पन्छाएर मुक्त हुन खोज्दै छु । (प्रौढ दानेको हात खेलाउन थाल्छ ।)

तेरो कर्ममा के लेखेको छ, त्यो त म जान्दिनँ । तेरी आमालाई भने मैले धानखेतमा ठिङ्ग उभिएको बुट्यानमा साङ्ली बाँधेको अवस्थामा भेटेको थिएँ । स–साना केटाकेटीहरू उसलाई तारो बनाइरहेका थिए । ऊ घाइते अवस्थामा मुक्तिको गुहार गरिरहेकी थिई । धान खान तेरा पुर्खाहरू आउँथे रे । हैरान भएका गाउँलेहरूले घेरेर निक्कैलाई घाइते बनाएछन् । तेरी आमालाई चाहिँ पक्रन सफल भएछन् । र, सबक सिकाउन भन्दै त्यस हालतमा राखेका रहेछन् ।

मेरा पनि कोही थिएनन् । कुनै क्ुराको ठेगान थिएन । अतः त्यसैलाई डोहोर्याएर चार गाउँ पारिको पशु अस्पतालमा पुर्याई उपचार गरेँ । नभन्दै ऊ ठिक भई । ‘सुन्दरी’ नाम राखेँ । डोहोर्याउँदै हिँड्दा पनि कसैले खानेकुरा कसैले पैसा दिन थाले । अँझ एक जनाले चाहिँ सुन्दरीलाई नाच्न सिकाएर सडकमा ‘मङ्की डान्स’ देखाउन सके प्रशस्त धनार्जन गर्न सकिने सल्लाह दियो । त्यस बेला कुरो मन पर्यो । त्यसै गरेँ । दुःखका दिन सकिँदै गए ।

अँझ पैसा जम्मा पार्दै लगेर तेरी आमालाई मुन्द्रा लगाइदिएँ । घाँटी र हातखुट्टामा नाच्दा बज्ने गहनाहरू लगाइदिएर साँच्चिकै सुन्दरी बनाइदिएँ । ऊ मेरो आवाज र डमरुको तालमा नाच्थी । अन्तमा झोली फिँजाएर पैसा माग्थी । दर्शकहरू पनि मन खोलेर सहयोग गर्थे । कोहीकोही मसँग विवाह गर्छेस् समेत भन्थे । ऊ ङिच्च हाँसेर उडाइदिन्थी ।

(दाने लौरो समाएर तान्छ । प्रौढ लौरो छाडिदिन्छ । दाने लौरो हातमा लिएर उभिन्छ र प्रौढलाई हेरिरहन्छ ।)

दाने ! तँ जन्मेको कहिरन समेत बताउँदै छु । नाचगान सिध्याएर फर्कने क्रममा खोलाकिनारामा सुन्दरीलाई बाँधेर म पाइखाना गर्न गएको थिएँ । फर्कँदा त सुन्दरी त्यहाँ थिइन । मैले बोक्ने झोला मात्रै थियो । चारैतिर खोजेँ । मानिसहरूलाई सोधेँ । कतै कुनै सूचना फेला परेन । साह्रै दुःखी भएँ । भातपानी छाडिदिएँ । हर्दम ‘सुन्दरी ! सुन्दरी !’ भनेर पुकार्दो भएँ । मान्छेहरूका नजरमा म फेरि पागल कहलिँदो भएँ ।

त्यस गाउँलाई त्यागेर हिँड्न लागेको थिएँ । एक युवक हस्याङ्फस्याङ गर्दै आयो र सुन्दरी रुखमा अल्झेर हल न चल भएको कुरा बतायो । हत्त न पत्त त्यहाँ पुगेँ । ऊ आँखाभरि आँसु पार्दै जीवनरक्षा गर्न अनुरोध गर्दै थिई । त्यसले बचाउनुस् र साथमा लिनुस् आइन्दा कहिल्यै साथ छोड्दिन भनेजस्तो लाग्यो । सहयोगीहरूको मद्दतले रुखमा चढेँ र उसलाई बन्धन मुक्त पारेँ । कति दिनदेखि केही खान नपाएर ऊ मर्न लागेकी थिई । लगेर पानी खुवाएँ । ऊसँगै बसेर आफूले पनि खानेकुरा खाएँ । उसले पनि मीठो मानेर टन्न खाई । त्यस बेलाको हाम्रो मिलनको आनन्द वर्णन गरी साध्य छैन ।

केही दिनमै उसको पेट बढ्दै गएको देखेँ । छामछामछुमछुम गर्दा बच्चा चलमलाएको स्पष्ट अनुभूत गर्न थालेँ । कस्तो आपत् आइलाग्यो भनेर डराउन थालेँ । सानैदेखि मेरै साथमा रहेकी सुन्दरीको पेटमा बच्चा यो त अद्भूत हुने भो ! कतै मान्छेहरूको शङ्का ममाथि त पर्दैन ! म भित्रभित्रै जल्न थालेँ । एक दिन त्यस गाउँलाई नै त्यागेर हिँडेँ । नयाँ गाउँमा झन कमाइ भयो । सुन्दरीलाई कमै खटाएँ । ऊ दिनानुदिन ठूलो पेट बनाउन थाली । म जङ्गल किनारामा सानो कुटी बनाएर बस्न थालेँ । केही दयालु मानिसहरू अन्न–तरकारी ल्याइदिन्थे । जेनतेन गुजारा चल्दै गयो । एक दिन तँ जन्मिस् । म खुसीले नाच्न थालेँ । जीवनमा कहिल्यै नपाएको खुशी पाएझैँ भयो ।

(दाने प्रौढको टाउकामा गएर बस्छ । प्रौढ उसको खुट्टा पक्रन्छ र गहभरि आँसु पार्छ ।)

आखिरमा नहुनुपर्ने काम भयो । मलाई माफ गरिदे दाने ! तँ पाँच दिनको मात्र थिइस् । तेरी आमाले मेरै काखमा प्राण त्यागी । त्यसको कारण पनि मै हुँ । आमाको दूध राम्ररी चाख्न पनि पाइनस् । बीचरी ! सुत्केरी अवस्थामैं कुकुरहरूको फेला परी । मैले उसलाई मरणासन्न अवस्थामा फेला पारेको थिएँँ । सक्तो कोसिस गरेँ तर यस पटक भने बचाउन सकिनँ ।

के गर्नु ! उसलाई नचाएर पेट भर्थेँ । ऊ मेरो मुखमा माड लगाउने माध्यम थिई । रुख देख्यो कि चढ्न खोज्थी । भूला बाँदर भेट्यो कि उतै लम्कन खोज्थी । त्यसैले मैले कहिल्यै साङ्लीमुक्त पारिनँ । अन्तिम घडीमा मेरै बेहोसीले उसको प्राण गयो ।
(आँसु पुछ्दै) रुखमा राम्ररी बाँधेर पाइखाना बस्न गएको थिएँ । फर्कँदा दुइटा कुकुरले झम्टीझम्टी टोक्दै रहेछन् । बीचरी ! प्राणरक्षाको भीख मागिरहेकी थिई । पशुहरू उसको भाका र भाषा बुझिरहेका थिएनन् । म त्यहाँ पुग्नासाथ दुवै कुकुरले सुइकुच्चा ठोके । अन्ततः मैले सुन्दरीलाई सदाका लागि गुमाएँ ।

त्यस दिन नै मैले तँलाई बन्धन मुक्त पार्ने कसम खाएँ । उसको लास नजिकै साङ्लो पनि गाडिदिएँ । तँ मेरो जिउने सहरा बनेर रहँदो भइस् ।

दाने ! तेरा कुरा कहेँ । मेरा कुरा समयले बताउने छ । हेर्दै जा । तेरो दोषी म हुँ । सिर्फ म हुँ । म तेरो पाउमा परेर माफी माग्न तत्पर छु । तर, मेरो बर्वादीको कारण को हो र के गर्दै छ, सुन्दै जा । गुन्दै जा ।

(प्रौढ र दाने फ्रिज हुन्छन् । घडीको पहिलो सुई जुम हुन्छ । ठूलो अक्षरमा देखिन्छ– दमाई । घडीकेन्द्रबाट एक्कासि एउटा युवक फुत्त बाहिरिन्छ । वरवर हेर्छ । मान्छेको भीडलाई नजर दिन्छ । दौरासुरुवालमाथि छोटो भोटो, टाउकामा ढाका टोपी, टोपीमा सियो धागो घुसारेको स्पष्ट देखिन्छ । नजिकै लुगासिलाउने मेसिन छ । दमाइले बजाउने बाजागाजाका केही सामग्री समेत दृश्यमान छन् ।¬)

युवक– (आफ्नै सुरमा) दमाई भएर म जन्मेँ । लुगा सिलाएँ । बाजा बजाएँ । महाजनका लागि मङ्गल घडी ल्याएँ । बाउबराजेको सिको गरेँ । आफ्नोपन जोगाउनैमा म निर्लिप्त भएँ ।

(आकाशतिर हेर्दै) यसले मलाई पनि छहारी दिएको छ । तर यस नश्वर संसारले छहारी दिन भने सकेन । भक्ते साहू–पुत्र ईश्वरेको बिहे आयो । बाजा बजाउन म पनि डाकिएँ । अरूहरू नाच्थे, हाँस्थे र पिउँथे । मैले भने सजातीय सहकर्मीहरूसँग बाजा बजाउनमै व्यस्त रहनुपर्यो । हाम्रो परिश्रमले अरूको मन प्रफुल्ल हुन्थ्यो । अँझ एक थरी यस्तो धुन बजा भन्थ्यो, अर्को आएर अर्कै धुन बजाउन फरमाइस गर्थ्यो । एकै पटक दुवै थरी धुन बजाउन सकिन्नथ्यो । जसो गर्दा पनि ‘मात्तिएको डाङ्ग्रो’ भन्ने जवाफ भेट्टाइन्थ्यो ।

बेहुली लिएर फर्कियौँ । तीन दिनसम्म बाजा बजाउँदै पैदल यात्रा गर्दा आफ्नै बाबुको बिहे देखियो । डोले र दमाईहरूको दयनीय हालत देखेर डोलीमा बसेको ईश्वरे झन् हर्षित हुन्थ्यो । अरूलाई तडपाएर आनन्द लिने संस्कारको उपज न थियो ईश्वरे, उसमा मानवीय भावनाको लेस पनि थिएन । दया हुने कुरामा हामी रत्तिभर विश्वास गर्दैनथ्यौँ । उसको व्यवहारले चिमोटेको मन थङ्थिलो भइरहन्थ्यो । प्रतिकार गर्नुको सट्टामा उसको मूर्खतालाई अबुझपन भन्दै क्षमा दिने गरिन्थ्यो । हामीहरूमा मालिकहरूलाई हरतरहले खुशी पारेमा मात्र जिउन पाइन्छ भन्ने दासमनोवृत्ति दिनानुदिन मौलाउँदै जाँदो थियो । ईश्वरेको अहङ्कारले चुली चुम्दो थियो ।

जङ्गलको बाटो कटेपछि नदी मुस्किलले तरियो । पारि पुगेर डोली बिसाइयो । ईश्वरेले मलाई डोहोर्याए नदीतर्फ लग्यो र आफूले पानीमा पिसाव फेरिउँजेल जोडजोडसँग बाजा बजाउन लगायो । अलिक पर विश्राम गरिरहेका डोले, बेहुली र केही जन्तीहरूले आवाज नसुनून् भन्नाका खातिर मैले त्यस निर्जन स्थानमा समेत बाजा बजाउनु परेको थियो ।

ऊ फर्कियो र मलाई एक लात बजार्दै भन्यो– ‘ए डाङ्रा ! मेरा बाउले पैसा दिएर तँलाई बाजा बजाउन लगाएका हुन् । कन्जुस्याइँ गर्छस् ? तेरो जन्म हाम्रै सेवा र मनोरञ्जनका लागि त भएको हो नि ।’

यस पटक भने मैले उसलाई क्षमा दिन सकिनँ । त्यही नदी किनारामा उभिएर जोडले कराएँ– ‘ए सुनकोशी महारानी ! म तिम्रै काखमा जन्मे–हुर्केको दमाईको छोरो पुर्खौली बाजा तिमीलाई अर्पण गर्दै प्रण गर्दछु– आइन्दा म दमाई हुने छैन । पुर्खौली कामकाजलाई प्राण बचाउने आधार बनाउने छैन । महाजनहरूको मन बहलाउने माध्यम र आधार विल्कुलै हुने छैन । पुनः म कहिल्यै पनि बाजा बजाउँदै तिम्रो छाती टेक्न आउने छैन । आएको खण्डमा म तिम्रैसामु टाउको फुटेर मरिजाऊँ ।’

ईश्वरे झस्कियो । चुपचाप डोलीमा बस्यो । म भने सरासर अघि बढेँ । कसैले पनि मलाई रोक्न, छेक्न र प्रश्न सोध्न आँट गरेन । कसैलाई पनि नतडपाइकन ईश्वरे समेत घर पुग्यो । जन्ते बाख्रो (प्रीतिभोज) को आयोजना भयो । म गइनँ । भक्तेले बोलायो । आँगनमा उभिएँ । भोजमा सामेल हुन र दक्षिणा थाप्न भन्यो । तर, मैले उल्टै जवाफ फर्काएँ– ‘मैले दमाई हुन र दमाई पेसा अपनाउन छाडिसकेँ । मुठ्ठीभरका अहङ्कारीहरूद्वारा बनाइएको कथित नियम बाहिर आइसकेँ । मैले कसैको दयाको भीखमा बाँच्नछाडिसकेँ । म अब तल्लो स्तरको संस्कारलाई त्यागेर निकै अघि बढिसकेँ । साहूजी ! आफ्नो दयामाया आफ्नै पुत्रमाथि बर्साउनु्स् । र, मजस्ता निमुखाहरूलाई इशारामा नचाउन छाडिदिनुस् ।’

(युवक र त्यहाँको परिवेश फ्रिज हुन्छ । घडीको दोष्रो सुई जुम हुन्छ । एकाएक ठूलो अक्षरमा देखिन्छ– चमारे । बजारको दृश्य छ । अधवैंसे मान्छे जुत्तामा पालिस लगाइरहेछ । मानिसहरू आउँदा छन् । जाँदा छन् । जुत्ता–चप्पल मर्मत गराउँदा छन् । हाताहात पैसा तिरेर सेवा लिँदा छन् । त्यत्तिकैमा काँधमा झोला बोकेको आठ वर्षे बालक स्कुल पोसाकमै हातमा जुत्ता झुण्ड्याउँदै प्रवेश गर्छ ।)

बालक– बाबा ! बाबा ! मेरो साथीले तेरो बाउले सिलाएको जुत्ता दुई दिन पनि टिकेन फेरि बनाएर ल्या नत्र कक्षामा पस्न दिन्न भने झोलामा आफ्नो जुत्ता हालिदियो ।

अधवैंसे– हुन्दे न त छोरा ! केही कैफियत भो अनि फर्काएछन्, म बनाइदिन्छु । लगेर दे न त ।

बालक– जुत्ता ल्याउन र पुर्याउन परेको छैन । यस्तो अरूले गिल्ला गर्ने पेसा अपनाएर के पाउनु छ ? जीवन भनेको इज्जत कमाउने साधन हो भनेर हजुरले नै भन्नुभएको हैन र ?

(अधवैंसे एकछिन सोचमा पर्छ । मर्मत गर्न र सिलाउन दिइएका सम्पूर्ण सामान र आफ्ना सामग्रीहरू नजिकैको सहकर्मी साथीलाई सुम्पन्छ ।)

अधवैंसे– स्वास्नी र दुई छोराहरूका लागि म रातोदिन खट्छु । मैले अपनाएको पेसाले नै यिनीहरूको अन्तस्करणलाई चिमोट्छ भने म यसलाई पनि त्याग्छु । हिँड् छोरा ! हिँड् । अब हामीले नयाँ पेसाको खोजीमा भौतारिनुपर्छ । सङ्घर्षविना मानव जीवन सार्थक हुन्न । मन पोलेर खाँदा क्षणिक सुखानुभूति होला तर कालान्तरमा जीवन बर्बादसिवाय केही हुन्न ।

(त्यत्तिकैमा अधवैंसे र बालक जड हुन्छन् । एकाएक घडीको तेस्रो सुई जुम हुन्छ । ठूलो अक्षरमा देखिन्छ– फलामे । घडीको केन्द्र भागबाट फुत्त एउटा पुग नपुग पचासवर्षको हातमा बडो ह्याम्बर बोकेको मानिस देखापर्छ । ऊ असिनपसिन छ । नजिकै रहेको आरन चलाउँछ । फलाम घुसार्छ । तातेपछि जेडजोडले पिट्न थल्छ ।)

मानिस– (एक्लै आफ्नै सुरमा भुत्भुताउ थाल्छ ।) मलाई समयले उडाइरहेको छ । जहाँ थेचार्छ, म त्यहीँबाट उम्रन खोज्छु । नउम्रे स्वास्नी र दुई छोराहरूको भरणपोषण गर्ने समाजले दिएको ठेक्का कसरी पूरा हुन्छ ? चाहना होस् या वाध्यता समाजमा मुख देखाउन र उभिएर हिँड्न पनि सङ्घर्षलाई प्रिय मित्र बनाउनै पर्दो रहेछ !

(त्यत्तिकैमा एक लामघारे युवक भित्रन्छ । चारैतिर फलामका टुक्रा छरिएका छन् । कचिया, फाली, कोदाली, खुकुरी, भाला, टुक्रे पाइप, बञ्चरो, तीर आदि कुनै बनिसकेका कुनै अधुरै रहेका देखिन्छन् । ऊ छक्क परेर मुढामा बसी फलाम कुटेको हेरिरहन्छ ।)

लामघारे– (अलिक अघि सर्दै) फलामे दाइ ! एक्लै बोलेको देखेर म बोल्ने साथी हुन आएको हुँ । मसँग बोल्न मिल्छ त ?

मानिस– (गला सफा गर्दै) नमिल्ने कुरा केही छैन । मिलेकाले नै संसार छ, म छु र तिमी छौ । कहिलेकाहीँ नमिल्दो देखिँदा एउटा पानी बन्नुपर्छ । आगो स्वतः निभ्छ ।

लामघारे– त्यो त हो । मैले भन्न चाहेको कुरा पछि भनौँला । अहिलेको जीवनको स्वाद कस्तो लागिरहेछ त ?

मानिस– हेर न मकहाँको मान्छे, कहाँ आएर कुन पेसामा बाँधिएको छु । रामप्यारी र सन्तानका लागि आफूलाई पसिना बगाउने खेलमा लगाएको छु । रामेश्वरजीकहाँ दुई महिना काम सिकेँ । खुब मेहनत गरेँ । त्यसैको मद्दतले पेट पाल्ने आधार मज्जाले बनेको छ ।

लामघारे– (एउटा टुक्रे पाइप उठाउँछ । राम्ररी नियाल्छ । भाला उठाउँछ । तीरको लम्बाई नाप्छ । खुकुरीको धार जाँच्छ । र, जहाँबाट उठाएको थियो त्यही थपक्क राखिदिन्छ ।) ¬ आफ्नो जीवन बन्छ भन्दैमा जसले जे भन्छ त्यही गर्नु त नामर्दपन हो । म वरपर नामर्दपनका अवशेषहरू देखिरहेछु ।

मानिस– हैन यो तिमी के भन्दै छौ ? मैले कसैको कुभलो गरेकै छैन । अरूको भलाइ स्खलन हुन लागेमा आफैँले ठाउँ छाड्दै आएको छु । कसरी अरूको भलो गर्न सकिन्छ भन्ने सोचमा निर्लिप्त हुँदाहुँदै उमेर खाइसकियो । (ऊ आश्चर्यमा पर्छ ।)

लामघारे– आफ्नो सीपले विध्वंस मच्चायो भनेर अल्बर्ट आइन्सटाइनले पछुतो मानेझैं तपाईंले पनि मान्नुपर्ने अवस्था देखिरहेछु ।

मानिस– हैन भाइ ! मैले कुन अपराध गरेँ ? तर्क गर्न सजिलो छ तर पुष्टि गर्न चाहिँ उत्तिक्कै गाह्रो हुन्छ है । म सिर्फ समाजसापेक्ष कार्यसम्पादनमा विश्वास गर्छु । विध्वंस मेरो अभिष्ट हैन । मेरो हातले गला रेट्दैन । सीपले रेटेको तर्क कसैले गर्छ भने त्यो अपुष्ट तथ्य हो । त्यसमा सर्जक बोल्दैन । सिर्जनाको दुरुपयोग गरिएमा त्यसको जवाफदेही स्रष्टा कहिल्यै हुँदैन । अहङ्कारी कार्यको जिम्मा उपभोक्ताकै विषय हो ।

लामघारे– अपरिचित मान्छेलाई तपाईंले खुकुरी, भाला, तीर, पाइप बनाइदिनुभएछ । तिनलाई प्रयोग गरेर दुई दर्जन मान्छे एकै चिहान भएका रहेछन् । चारवटा घर भताभुङ्ग भएछन् । दुई ठाउँका पुल काम नलाग्ने अवस्थामा पुगेछन् । के त्यस्तो विनास र विपत्ति आफ्नै आँखाले हेर्न चाहनुहुन्छ ?

मानिस– भाइ ! म यस ठाउँको नयाँ मान्छे हुँ । हप्तादश दिन अघि केही मान्छेले काम गराए । सरक्क ज्याला दिए । म नाथेसँग सम्मानपूर्वक बोले, राम्रो व्यवहार गरे । रातोदिन गरेर माग पूरा गरेँ । अब ती सामग्रीको उपयोग र दुरुपयोगको ठेक्का त कहाँ लिन सकियो र !
(लामघारेको गोजीवाट कलम झिक्दै) यसको उपयोग लेख्ने काममा गर्नुको सट्टा आँखा घोच्दै र घोक्रो फुटाउँदै हिड्ने हो भने समाज नै निर्जन पार्न सकिएला । उपभोक्ताद्वारा त्यसो गरिएमा कलम कारखानाको दोष हुन्छ त ?

लामघारे– गुण–दोषको कुरा गरिएको हैन । नैतिक जवाफदेहिताको प्रश्न उठाइएको हो । विनासमा विकास देख्ने भूललाई मलजल गर्ने कि खबरदारी गरी नागरिक दायित्व पूरा गर्ने ? सवाल यत्ति नै हो ।

(मानिस रन्थनिन्छ । काम गर्न बन्द गर्छ । चल्नीमा दुवै हातले थिच्छ । आँखाको आँसु पुछ्दछ । आफ्ना हत्केला हेर्छ । अनि, हत्केलालाई नै थुथु गर्छ । र, लामघारेसहित फ्रिज हुन्छ ।

घडीको चौथो सुई जुम हुन्छ । ठूलो अक्षरमा लेखिएको हुन्छ– ज्याला–मजदुरी । एकाएक घडीकेन्द्रबाट विभिन्न भाषा र भेषभूषाका मानिसहरू कपडा सिलाउने, आइरन लगाउने टाँक लगाउनेजस्ता कामहरू गरिरहेछन् । ठूलो पेटवाला मान्छे ‘जल्दी करो ! जल्दी करो’ भनिरहेको सुनिन्छ । नेपाली पोशाक लगाएको एक बूढो मानिस कपडा पट्याइरहेको छ । र, नेपाली भाषामै भुत्भुताइरहेको छ ।)

बूढो– कति गर्नु ? जल्दी गर्दागर्दै सास जान लाग्यो । खटाउने बेलामा ‘बहादुर लोग ! इमान्दारी देखाओ’ भन्छ । तलब बढाउन भने दाँतबाट पसिना चुहाउँछ । स्वार्थीहरूको शरणागत भएर बेखबर भएको पनि दुई वर्ष वितिसक्यो । रामप्यारी र छोराहरूको याद मनभित्रै दवाएको पनि धेरै भइसक्यो ।
दमाई काम गर्दिन भनेको यहाँ आएर झण्डै त्यही काम गर्नुपर्यो । धन्न मेसिन चाहिँ छोएको छैन । स्वाभिमानलाई पैतालाले नकुल्चे यहाँ उभिन पनि पाइन्न । आफू दबिनेखालको सम्झौता नगरी टिक्नै सकिन्न । अब भने घर नफिरी भएन ।

(त्यत्तिकैमा परिवेश फ्रिज हुन्छ । घडीको पाँचौँ सुई जुम हुन्छ । ठूलो अक्षरमा लेखिएको हुन्छ– लथालिङ्ग । एकाएक केन्द्रबाट एउटा ठिटो, अधवैंसे नारी र सुतिरहेका दुई बालक भएको परिवेश फुत्त बाहिरिन्छ ।)

ठिटो– बेर नगर प्रिये ! छोराहरू उठे वित्यास पर्छ । गाउँलेहरूले छेके योजना शिसाझैं फुट्छ । तिम्रो बिरसिलो जीवन अँझ रसहिन हुन पुग्छ ।

नारी– केही हुन्न । मलाई मात्र साथ दिनुस्, तपाईंको मनचित्तमा वसन्त भरिदिने ठेक्का मेरो भयो । तर, सानो छोराको मुहारले मलाई अवरोध गर्दै छ । त्यसको प्रत्येक स्पन्दनले मलाई सराप्दै छ । त्यसको आँसुले मलाई पिरोल्दै छ । सायद म माफी पाउन्न होला ।

ठिटो– हामीले तर्ने जङ्घार धेरै टाढा र लामा छन् । बच्चो दाजुकै हात समातेर हिँड्न सिक्छ । गाउँलेहरूकै छत्रछहारीमा नयाँ जीवन अनुभूत गर्छ । दुःख बेहोर्नु पर्दा मान्छे इस्पात बन्छ । पछि त्यसलाई केहीले छुँदैन । लाडप्यारले त मान्छेलाई गुलावको फूल बनाउँछ । सानो धक्काले पनि किचिमिची हुने कोमल बनाउँछ । अबको युग कोमलताको हैन इस्पातको हो । छोरालाई खारिन देऊ । मायाका आँसु बगाएर आफ्नो नारीसुलभ संवेदनशिलतालाई छियाछिया नबाऊ प्रिये !

(त्यत्तिकैमा नारी ठिटोको हात समाउँछे । ठिटो उसलाई डोहोर्याउँदै अज्ञातयात्रामा लाग्नासाथ ठूले आँखा मिच्दै उठ्छ । वरपर नजर गाड्छ । ‘आमा ! आमा !’ भन्दै बोलाउँछ । दगुरेर यता जान्छ, उता पुग्छ । केही अत्तोपत्तो पाउँदैन ।
फर्केर सानेको छेउमै बस्छ । धुरुधुरु रुन्छ । साने पनि उठ्छ । ‘आमा खोई ?’ भन्छ । दुवै रुँदैरुँदै धारातिर लाग्छन् । धारामा एउटी केटी भेटिन्छे ।)

साने– डिडी ! हाम्ली आमा खोई ?
केटी– तिमेर्की आमा पल्लो गाउँको बिर्खेसँग एकाविहानै पोइल हिँडी ।
साने– ट्यो भनेको के नि डिडी ?
केटी– अब त्यो मोरी फर्कन्न । तिर्मेको बाउ आउँछन् । हिँड घर जाम ।

(दुबै घर पुगे । बाउ थिएनन् । साने झन् रुन थाल्यो । ठूले फकाउन व्यस्त रह्यो । छिमेकीले सम्झाएर खानकुरा दिए । दुवैले रुँदैरुँदै दुईचार गाँस खाए । र, जुठै हात निदाए । परिवेश फ्रिज हुन्छ ।
घडीको सातौँ सुई जुम भयो । ठूलो अक्षरमा देखियो – वर्तमान । घडीकेन्द्रबाट प्रौढ र दाने फुत्त निस्केर हिँड्न थाले ।)

प्रौढ– बुझिस् दाने ! मेरा कलिला छोराहरू कसरी बिलाए भनेर ? तँ के बुझ्थिस् ! तँ नजन्मिकनै मेरा छोराहरूलाई सप्तकोशीले बगाइछिन् । दुवै छोरा उनकै प्यारा भएछन् ।

(आँसु पुछ्दै) रामप्यारी बिर्खेसँग हिँडेपछि सानेको बडो बिजोग भएछ । कसैले तेरी आमा सप्तकोशी नदी तरेर गई अब फर्किदिन भनिदिएछ । आमा खोज्न जान्छु भनेर जिद्दी गर्थ्यो रे । एक दिन विहानै उठेर ‘आमा ! आमा !’ भन्दै हिँडेछ । नदी किनारामा पुगेर निक्कै बेर पुकारेछ । सायद कोशी पारि आमाजस्तो कसैलाई देख्यो होला बोलाउँदै अघि बढेछ । ठूले पनि ‘भाइ ! भाइ । रुक, रुक’ भन्दै दौडेको मान्छेहरूले देखेका रे । सानेलाई बचाउन खोज्दा ठूलेले समेत प्राण गुमाएछ ।

(प्रौढ थ्याच्च बसेर रुन थाल्छ । दाने उसको आँखाको आँसु पुछिदिन्छ ।)

मान्छे आफूलाई सर्वश्रेष्ठ ठान्छ । (दानेतिर नजर लगाउदै) यसलाई भने विवेकहीन मान्छ । म कृतघ्न हुँ । पहिले यसकी आमाको कमाइले पेट भरेँ । अहिले यसले कमाएर मलाई दिँदै छ । हुन त मैले जन्मेदेखि नै यसलाई हुर्काएँ । मान्छेको संस्कार दिएँ । मेरै सहारामा संसार देख्यो र चिन्यो । मलाई लत्याउने काम कहिल्यै गरेन । सधैँ कृतज्ञभावले मैले अह्राएको काम गर्यो । नाच भनेँ नाच्यो । हाँस् भनेँ हाँस्यो । खेल देखा भनेँ देखायो । झोली थापेर पैसा सङ्कलन गर् भनेँ इमान्दारीपूर्वक गर्यो । जति दिएँ, त्यति खायो । मीठो–नमीठो, जुठो–चोखो केही भनेन । चोर्न जानेन । छल्न चाहेन । कसैको बहकाउमा आएर गलत मार्गमा हिँडेन । रिस पनि छैन, राग पनि राखेन । खालि नूनको सोझो गर्यो । इमान्दारितालाई आफ्नो परिचय बनायो । कर्मको मर्म बुझेको छ । अलमस्तीलाई सत्रु ठानेको छ । त्यसैले मभन्दा कैयौँ गुणा यही सर्वश्रेष्ठ र बुद्धिमान ठहरिएको छ ।

(अघि बढ्दै जान्छन् । एउटा स्कुल परिसरमा पुग्छन् । विद्यार्थीहरू ‘मङ्की डान्स ! मङ्की डान्स !’ भन्न थाल्छन् । प्रौढ जोसिलो बन्छ । डमरु बजाउन थाल्छ । दाने वरपर घुमेर फराकिलो गोलो घेरा बनाउँछ । र, डमरुको तालसँगै कम्मर मर्काउन थाल्छ । विद्यार्थीको ठूलो भीड जम्मा हुन्छ । प्रौढ बीचमा उभिन्छ र बोल्न थाल्छ ।)

प्यारा नानीबाबुहरू ! म तिमीहरू सबैमा मेरा साने र ठूले देखिरहेको छु । यो मेरो दानेलाई हेर्न तिमीहरू जम्मा भएको पनि बुझेको छु । आज म अलग कुरा भन्छु । सुन र मनमा गुन्न कोसिस गर ।

मुक्त ! मुक्त ! मुक्त ! जगत् मुक्त छ । भाइबहिनीहरू ! तिमीहरू पनि मुक्त छौ । म पनि मुक्त भएँ । मेरो दाने पनि मुक्त छ । मुक्त मनोदशामा बाँच्न सिक । मनलाई नबेच । मुक्तिमार्गमा हिँड । मन खोल र मुक्त बन । आफूजस्तै बन । अरूजस्तो बन्न मरिमेट्ने काम कदापि नगर । आफ्नो स्वभावअनुकूल बनेर संसार उपभोग गर । हामी संसार भोग्न आएका हौँ । हामी हाँस्न र नाच्न आएका र्हौँ ।

बाबुनानीहरू हो ! अरूलाई चिन्ने प्रयास गर्नु अघि आफैंलाई चिनौँ । आफ्नो सामर्थ्यलाई नजिकैबाट ठम्याऔँ । जसले आफूलाई चिन्छ, त्यसले समयलाई जान्दछ । उसैले असली जीवन पाउँछ । आनन्दित जीवन फेला पारौँ । प्रत्येक दिन आफूलाई अध्ययन गर्ने समय निकाल्ने हो भने आनन्द–सागरमा डुबुल्की मार्न पाउँछौँ । र, मोती फेला पार्न सक्छौँ ।

हाम्रो वर्तमान समस्याले थिचिएको छ । कोसिस गरिरहे सम्पूर्ण समस्याका पोकाहरू खुल्दै जान्छन् । समाधानका विकल्प–द्वारहरू समेत तँछाडमछाड गर्दै देखिँदै जान्छन् । केवल आफूलाई हेर्ने जस्तो नजर अन्यत्र पनि हुुनुपर्छ । नमिलेको ठाउँ मिल्दैमिल्दै जान्छ । चुली पनि निहुरिन्छ, मैदान पनि उक्सिन्छ । धन्यवाद ! धन्यवाद !!

(केटाकेटीहरू मुखामुख गर्छन् । प्रौढ डमरु बजाउँछ । दाने नृत्यमा मस्त रहछ । केही बेरमै दाने झोली लिएर पैसा माग्दै घुम्छ । हुनेले दिन्छन् । नहुनेपछि सर्छन् । प्रौढ जम्ला हात गरिरहन्छ ।
पर्दा बिस्तारै खस्छ ।)

–नन्दलाल आचार्य
तपेश्वरी–१, गल्फडिया, उदयपुर
मोनं. ९८४२८२९२०६

(स्रोत : मधुपर्क २०७३ साउन)

This entry was posted in नाटक and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *