कविता : अक्षरको विरासत

~साम्ब ढकाल~Samba Dhakal

अक्षरहरु हिँडिरहे
नपुगुन्जेल हिँडिरहे
अक्षरहरु हिँडिरहे / हिँडिरहे ।

मान्छेहरुलाई भेट्न हिँडिरहे
मान्छे भेटुन्जेल हिँडिरहे
मान्छे फेला पार्न हिँडिरहे
मान्छे फेला नपारेसम्म हिँडिरहे
अक्षरहरु हिँडिरहे/हिँडिरहे ।

हिँड्नु नै ठूलो हो भनेर हिँडिरहे
फगत हिँड्नुलाई भन्दा हिँड्नु पर्छ भनेर हिँडिरहे
अक्षरहरु हिँडिरहे/हिँडिरहे ।

मान्छेबाटै सिकेर हिँड्न थाल्यो उसले
हिँडेरै टाढा पुगेको देखेर
कतै पुग्न हिँडेको देखेर
अक्षरहरु हिँडिरहे /हिँडिरहे ।

कहीँ पुग्न त हिँड्नै पर्ने रहेछ
कतै नपुग्न पनि हिँड्नै पर्ने रहेछ
रोकिनुभन्दा हिँड्नु राम्रो जस्तो लागेर
अक्षरहरु हिँडिरहे/हिँडिरहे ।

अडिनुभन्दा हिँड्नु गजब रहेछ
अडिएर कतै पुगेको देखिएन
कतै पुगेर अडिएको पनि देखिएन
हिँडिरहँदा नै यी सबै हुँदोरहेछ
अक्षरहरु हिँडिरहेछ/ हिँडिरहेछ ।

हिँड्नुको विकल्प अब छँदैछैन
हो रहेछ हिँडिरहेर नै सबैथोक हुनेरहेछ
पुग्नु नपुग्नु मतलबै राखेनन्
नहिँडेरभन्दा हिँडेर नै कतै पुगिने रहेछ ।

हिँड्नु/हिँड्नु/हिँड्नु मात्र हिँड्नु भएको छ
अक्षरहरु हिँडिरहेछ हिँडिरहेछ ।
के मान्छेहरु यहाँसम्म आइपुगेको
हिँडिरहेर होइन ?

(५/५५ अब्बलडाँडा, रचनाकुटी, हेटौँडा)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.