~क्षेत्र प्रताप अधिकारी~
अँधेरोमा एउटा जून खोज दुखी
अलिनोमा थोरै नून खोज दुखी
सामन्तहरू बैगुनी हुन्छन्
बैगुनीमा कतै गुन खोज दुखी
सबै दूध मालिकले खायो
तिमी पनि यौटा थून खोज दुखी
सुखी त सुखी भैगए सबै
दुखी बगरमा सून खोज दुखी
संसार सबै सेतोघर भइसक्यो
तिम्रो घर पोत्न चून खोज दुखी
दुखीलाई त मार्नसम्म मारे
अब त आफ्नो खून खोज दुखी
(गत चैत ३० गते दिवंगत भएका क्षेत्रप्रताप अधिकारीको सिरानीमा उनका छोरा अजर अधिकारी र अमन अधिकारीले एउटा पुरानाे खाममा शिशाकलमले खेस्रा गरिएको यो गीत भेटेका थिए।)
(स्रोत : सेतोपाटी डट कम)