कथा : पर्खाइ

~नीलम कार्की निहारिका ~Neelam Karki Niharika

प्यारा  छोरा/ बुहारी /नाति
शुभ आशिष् !

आजआज भोलभोलि भर्दाभन्दै वर्षौं भयो हाम्रो भेट हुन सकेन । तिमीलाई भेट्ने हजारौँ मन हुँदाहुँदै तिमीलाई आऊ भन्न  सकिनँ /अहिले तिमि एक सन्तानको बाबु हौ, तिमी राम्रै अनुमान लाउन  सक्छौ, आफ्ना सन्तानबाट टाढा भएर  बस्न कति गारो हुन्छ । हामीलाई पनि त्यस्तै  गारो भयो बाबू  ! तिमी ठूलो भइसक्यौ तर आमाबाबुको नजर आफ्ना सन्तान काखका बच्चासरह नै हुने रैछन्  । सधैँ उही सानो बालक ¤ तिम्रा साथीहरूसँग भेट हुँदा उनीहरूमा तिमी खोज्दै बसेँ, कहिले कतैबाट तिमीले बाबा भनी बोलाएको जस्तो मानी फर्केर पनि हेरेँ । बाटो हिड्दा, तिमी्र आमा तिमीलाई सम्झेर रातिराति उठेर रुन्थिन् ।

चाडपर्वमा उनको मन मनाउन गारो पथ्रयो , उनको मन केही गरी बुझाउन खोज्थेँ, आफ्नो पीडा कोसँग पोख्थेँ र ? पछिपछि उनलाई  समेत सम्झाउन नसक्ने भएको थिएँ । तिमी गएपछि यो घर मा कुनै वर्ष दसैँ आएको छैन, टीका मुछ्ने जाँगर हुँदैन । तिम्रा दिदीबहिनीको तिहारमा हात रित्तै हुन्छन् । हामीले घरमा  मखमली र सयपत्री रोप्न नै छाडिदियौँ । पर्खियो छोरा, एक दशकभन्दा धेरै यसरी नै पर्खियो । तिम्रो आगामी भविष्य तिम्रा लागि अझै यसरी नै पर्खेथेँ, तर बाबू, अब मसँग तिमीलाई पर्खी बस्ने समय नै छैन, भन म कसरी पर्खूं ? तिमीलाई एक पटक नभेटी म कसरी बिदा हुँ र ? न पर्खी बस्न सक्छु, न त्यसै जान सक्छु । म जान नसके पनि लानेले लगिछाड्छ । तिमी्र आमाले झैँ । त्यहाँ गएर, तिमी्र आमालाई म के जबाफ दिउँला ? उनी मेरो छोरालाई भेट नगरी जाने  भन्थिन्, खबर गरिदिनू एक पटक मुख हेर्छु भन्थिन्, मैले आज आउँछन् छोरा,  भोलि आउँछन भन्दै छलिरहेँ । उनले अन्तिम समयसम्म पनि तिम्रै बाटो हेरिरहेकी थिइन् । एकदम अन्तिमसम्म ।

यस्तै भयो, हामी सँगै बाँच्न पाइएन, तिमीलाई एक पटक भेट्ने धोको छ । तिमिलाई पनि  बाबा भेट्ने मन भए आऊ ! म त  तिमी्र आमाझैँ तिमीलाई भेट्न नपाई जाउँला, तिम्रो  मनमा शूल नपरोस् बाबालाई पनि भेटन नपाएकोमा । मनको शूल डरलाग्दो हुन्छ, बाँच्न दिन्न  त्यसले, नराम्ररी सताउँछ सधैँभरि ।

तिम्रो बाटो हेरी हारेको
तिम्रो बाबा दिननाथ

बयान नम्बर–१

न्युयोर्क सहरलाई पाँच इन्चको हिउँले ढाकेको छ । सहर सुनसान छ । एकदम सुनसान ! पब्लिक यातायात, मेट्रो सबै बन्द छन्, बन्द छन् ठूलाठूला व्यापारिक महलहरू । दिउँसै सडकछेउका बत्तीहरू बलिरहेछन् । हिउँ खसिरहेछ, एकआपससँग जिस्कँदैजिस्कँदै । मात्र एकदुई पद छन् फुटपाथमा, ती यात्रीमध्ये एक हो श्रवण । कालो ओभर कोट, घुँडासम्मको बुट, घाँटीमा स्कार्प लाएर ऊ हिउँ माथि हिँडिरहेछ । उसले पाइला सारेर अलि अगाडि पुग्न नपाउँदै पहिलाको डोबलाई सिमलको भुवा जस्तै खसिरहेको हिउँले ढाकिदिन्छ । मेटाइदिन्छ उसको पाइलो । अलि पर मूलबाटोमा हाजार्डलाइट बलिरहेछ । कालो पत्र बाटो पूरा सेतो छ । श्रवण हिँडिरहेको छेउमा लस्करै पार्क गरिएको कारहरूलाई हिउँले अँगालो हालेर बसेको छ । कारधनीलाई नै  आफ्नो कार चिन्न  मुस्किल पर्ने गरी । दुईतीन ब्लक हिँडेपछि बाटो सफा गरिरहेकाहरू भेटिन्छन् । गाडीबाट नुन फालिरहेछन् । यत्ति नै बेला ठूलो आवाज गरेर एम्बुलेन्स आउँछ । श्रवणको मन अतालिन्छ । सतर्क भएर उभिन्छ । कोटको खोल्तीमा फोन विद्रोह गर्दै छ । भाइब्रेट गरिरहेछ । कोटको खोल्ती यसो बाहिर  हात  निकालेर फोनको स्क्रिनमा  हेर्छ, नम्बर हेरेर राखिदिन्छ, उसलाई कुरा गर्न मन हुने  ।

फोन अझ आन्दोलन गर्छ उसको कालो कोटको खल्तीमा । रिङ बाहिर नै सुनिन्छ । रिङ टोनमा उसले सेट गरेको छ, रातो र चन्द्रसूर्य…नेपाली गीत । ऊ हिउँले ढाकेको आफ्नो बुट हेर्छ र हेर्छ कालो कोट । हिउँ टक टकाउँछ । सबै दोकानहरू बन्द छन् । कुनैकुनै लुकोर स्टोर बाहेक । सात ब्लकको हिँडाइपछि लुकोर स्टोर भेट्छ, अहिलेको गन्तव्यमा पुग्छ । रातो लिपिस्टिक र कानमा ठूलो झुम्का लाएकी सेल्स गर्लले चाख्न का लागि सानो बोतल दिन्छे । ऊ नलिने सङ्गेत गर्छ । हेनेसी एक सोडी, सिराक  फिफ्थ, रेड वाइन, ह्वाइट वाइन एक र अरू एक भोड्का  लिन्छ । रक्सी किन्दा उपहारमा टोपी पाउँछ । विज्ञापन बोकेको टोपी । टोपी र रक्सी प्लास्टिकको झोलामा झुन्ड्याएर निस्कन्छ श्रवण । आउँदा खल्तीमा हात राख्न मिलेको थियो हातले कठाङ्ग्रिनुपरेको थिएन । अहिले झोला झुन्ड्याउन हात निकाल्नुपरेकोले असè हुन्छ हिउँको पोलाइले । झोला नाडीमा झुन्ड्याएर हातको पुर्जा खल्तीमा राख्छ ।

तीन दिनदेखि हिउँमाथि हिउँ थुपिँरदै गएको छ । कतै  तल्लो भाग किस्ट्रल जस्तो भएको छ । श्रवण चिप्लिन्छ । लड्छ हातको भरमा । बोतल आपूmमाथि परेकाले फुट्न पाउँदैनन्, उछिटिएर बोतल पनि हिउँमाथि पनि पुगेको छ । बोतललाई हिउँले बचाउँछ फुट्न पाउँदैन ।  झोला भने छिन्छ / आफ्ना बाबुले रातो माटोमा चिप्लिएर लडेको घटना सुनाएको सम्झन्छ, अगेना वरिपरि पसेर कथा सुनेको सम्झन्छ । कोट टकटकाउँछ सम्झँदै बाबाको हरियो लङ कोट । अब झोला छैन । बोतलहरू छातीमा चेपेर अगाडि बढ्नु छ  । अहिले दुवै हात  बाहिर छन् । रक्सीको बोतलहरू समाउनका लागि । माया गरेर बालक चेपेजस्तै चेप्नु छ रक्सीका बोतलहरू । अझै साढे चार ब्लक  हिँडेपछि आफू बस्ने गरेको अपार्टमेन्ट पुग्छ श्रवण । ऊ अपार्टमेन्टअगाडि पुग्दा औँलाहरू कल बेल थिच्न सक्ने अवस्थामा हुनुन्न ।  हातभन्दा स्विच बलवान बनेको छ । कठाङ्ग्रिएको हातले चाबी खोल्न सक्ने झन् सम्भावना नै थिएन, त्यो हुनाले बेलको स्विच नै थिच्यो । ऊ लिफ्ट चढेर आठौँ तलामा पुग्नु छ ।

आज कनकको जन्मदिन परेकाले नजिकको साथीहरू डाकेकी छ । सबैतिर हिमपातको कारणले बन्द भएकाले एक प्रकारको रमाइलो बिदाको दिन जस्तो मानेका छन् सबैले । वल्लोपल्लो अनि केही ब्लक गरी एघार परिवारलाई डाकेकी छ रक्षाले । परिवारको गन्ती गर्दा कोही एक्लै पनि छन् । खाना बनाउन जुटेकी छ बिहानदेखि रक्षा ।

—किन भोड्का ल्याएको ?

—यति हो रेड वाइन ?

—पुग्छ यस्तो जाडो मा ?

—बियर पनि छ अस्तिको ।

—को खान्छ यो जाडो मा बियर ? यो भोड्का शर्मालाई मात्र ठिक्क हुन्छ । अनि यो वाइन सुलोचना अन्टीलाई । अरेन्ज सकिएको रैछ, अल्मोन्ड पनि छैन । मिस्टर जोशीले सलाद धेरै खानु पर्छ भन्छन्, अरू कुनै स्टोर खुलेको छैन  है ? श्रवण हेर्छ केही बोल्दैन ।  दोकान खुलेको छैन भन्ने सङ्गेत गर्छ टाउकोले ।

—दीपिका  हार्ड नै खान्छिन्, मान्छे बोलाएपछि पुग्ने गरी राख्नुपर्छ नि । टीका दाइ भन्छन् रक्सी नखानु खाएपछि लाग्ने गरी खानु । दिउँसोदेखि सुरु गर्नुपर्छ, बहिनी तास पनि खेल्नुपर्छ भनेर फोन गरेका थिए । टीका दाइलाई दुई जना जम्मा भो कि तास फिट्नकै हतार हुन्छ । अब के गर्ने आँखाको सोधाइ श्रवणको ।

—म कफी बनाइदिन्छु, पिएर जाऊ अनि भोड्का र वाइन  लिएर आऊ । यो पटक हातमा पन्जा लाउँछ र पिठ्यूँमा खाली झोला बोकेर निस्कन्छ फेरि सात ब्लक हिँडाइका लागि ।

बयान नम्बर—२

पिठ्यूँमा झोला जस्तो थैलो बोकेर कोसकोस हिँड्थे दिननाथ । सानो छँदा कहिलेकहीँ स्कुल जाँदा बाबाको बुई चढेर गएको याद गर्छ अझै पनि श्रवण । स्कुल र बाबाले काम गर्न हुलाक नजिकै भएकाले पनि कहिलेकहीँ मौका पाउँथ्यो श्रवण बाबाको पिठ्यूँमा बोकिने । त्यो बेला सदरमुकाममा बाहेक अन्त मोटरको सुविधा थिएन । प्रायः एक सदरमुकामदेखि अर्कोमा पुग्नेबाहेक अरू सबै पैदल यात्रा गनुपथ्र्यो /दसैँको बेला श्रमदान गरेर गोरेटो बाटो खान्थे गाउँलेहरू, हरेक वर्ष बाटो चौडा पार्थे तर मोटर गुड्न सकेको थिएन । मोटरबाटोले छोएको गाउँले आफ्नो क्षेत्रमा परेको बाटो नखनिदेकाले पनि मोटरबाटो जोडिन नसकेको हो । त्यो बेला टेलिफोनको पनि सुविधा थिएन ।

सदरमुकामबाट आ.वा., टेलिग्राम गर्न सकिन्थ्यो । हुलाक नै खबर आदानप्रदानको आधार थियो । सदरमुकामको हुलाक कार्यालयदेखि मान्छेले चिठी बोकेर  पुराउनुपथ्र्यो । पैदल पुराउनुपर्ने हुँदा छोटी हुलाक कार्यालयबाट एक जना कर्मचारीले आधा बाटो चिठी पुराउने अनि सदरमुकामबाट आएकोसँग थैलो साट्ने गरिन्थ्यो । अनि यताको पठाउने दिने, पाउने लिएर आउँथे दिननाथले । छोटी हुलाकमा उनी जस्तै चिठी बोक्ने अर्को साथी थिए धनराज, धनराज र उनी पालो गरेर हिँड्थे । चिठीको थैलो बोलेर जाने दिन झिसमिसेमा निस्कन्थे र फर्कंदा टुकी बल्ने बेला भैसक्थ्यो । चिठी थैलो बोक्न जानु नपर्ने दिन आफ्नो कार्यालयमा हाजिर हुनुपथ्र्यो । त्यो बेला रजिस्ट्री आएको छ भने घरघर पुराउन जानुपर्ने हुन्थ्यो । तीनचार घन्टा लाएर पुग्नुपथ्र्यो । शिक्षाको प्रचारसँगै विद्यालय आउनेको सङ्ख्या बढ्न लाग्यो ।

चारपाँच गाउँ पञ्चायतको एकै माध्यमिक विद्यालय भएको हुँदा टाढाटाढाका पढ्न आउँथे त्यही ठाउँमा अर्थात् श्रवणको गाउँमा । विद्यार्थीहरूसँग उनीहरूको गाउँबासीको चिठी पठाउन थाले । टाढाबाट आएका विद्यार्थीहरू खुसीखुसी आफ्नो गाउँलेको चिठी लगिदिन्थे । बरु स्कुल छुट्दासम्म हुलाक खोलेर पर्खी बस्नुपथ्र्यो । स्कुलतल हुलाक पर्ने हुँदा उनीहरू पनि आफैँ पसेर सोध्ने गर्थे—चिठी लानु छ कि ? सघाउनमा खुसी मान्थे । बोकेर लगेको चिठी बाटोमा कोही भेट भए नजिक घर आफैँ हात ले दिने होइन भने कुनै निश्रित दोकानमा लगेर बुझाइदिन्थे जहाँ मानिसको आवतजावत बढी हुन्थ्यो । दिननाथलाई थैलो साट्न जाने दिन, जस्तै जाडो भए पनि जानैपथ्र्यो र मुसलधारे पानी परे पनि । पुसमाघको जाडोको बेला ओभरकोट र बुट लगाउँथे । श्रवणका हजुरबुबा आर्मीमा जागिर गर्थ रे, इन्डिया आर्मीमा, त्यो बेलाको काने टोपी, हरियो लामो कोट अहिले श्रवणका बाबा लगाउँछन्  । कोटको कुहुनो च्यातिएर टालेका थिए र बुटको सोल पनि धेरै पटक मर्मत गराइसकेका थिए दिननाथले तर जाडोको बेला त्यही नै लगाउँथे ।

जब  दिननाथ कोट निकालेर सुकाउँथे र बुटमा पालिस लाउँथे, त्यो  भनेको जाडो आउन लागेको सङ्गेत हुन्थ्यो गाउँलेका लागि । थैलो साट्न जाने अघिलो दिन नै तीस किलो जाने बोराजत्रो सिलबन्दी थैलो घरमा ल्याई राख्थे । बिहान कुखुराको डाकोसँगै निस्कन्थे, बिहानको खानासमेत बोकेर जान्थे । फर्केर आउँदा त्यस्तै थैलो बोकेर आउँथे र सुरक्षित राख्थे । यदि लगालग भोलि पनि जानु छ भने कार्यालयमा ल्याएको थैली राखिदिन्थे र आफ्ना लागि ठीक पारी राखिदिएको लैजाने  थैलो बोकी घर आउँथे । त्यो बेला इन्डिया या अन्त काम गएकाले  पनि घरखर्चका लागि अलिअलि पैसा चिठीभित्र हालिपठाउने हुनाले डाँका लाग्ने डर हुन्थ्यो । चुक डाँडा काट्ने भीरनजिक एकएक डाँकाले घेरेपछि झापड हुँदा घाउ नै घाउ लिएर फर्किएका थिए । डाँकासँग लडेकोमा स्याबासी पाएका थिए हेड अफिसबाट ।

खेतीपातीबाहेकको आम्दानी भनेको दिननाथको यही जागिर थियो । श्रवण र दिदीबहिनीलाई स्कुल पढ्न पर्याप्त थियो । जागिरबाट  जोगिएको समय उनी खेतीपातीमा लाउँथे । राति आएपछि पनि गोठ भकारी लाउने, तगारो थुन्ने ,कुखुरा–हाँस थुन्ने र  रातिका लागि बस्तुलाई घाँसपराल दिने काम गर्थे । अनि जाडो महिनामा अगेनाछेउ बसेर मकै छोडाउन सघाउँथे । कहिले कुढीमा बसालेको दूध तताइदिन्थे । दिननाथ अगेनाछेउ बसेपछि श्रवण र दिदीबहिनिहरू  झुम्मिन्थे । दिनभर बाटाको कुरा या लोककथा, गाउँखाने कथा सुनाउँथे दिननाथ । यो बेला दिननाथ खुट्टा पसारेर बस्थे भने श्रवणकी आमाले खुट्टामा तेल लाइदिन्थिन् । बेला हिँडाइले डल्ला परेका नीला नसाहरू प्रस्ट देखिन्थ्यो ।  गुजुल्टिएका नसाहरू । तेल लाइदिँदाको आमाको हेराइले प्रस्ट भनिरहेको हुन्थ्यो—तिमी कति दुख गर्छौ हाम्रा लागि ? दिननाथको हेराइको जबाफ हुन्थ्यो—तिमीले  पनि कम दुख गरेकी छैनौ  । घरधन्दा गर्न पानी ल्याउनु, लिपपोत, घर्नु कुटपिस गर्नु, घाँस काट्नु, भकारो सोहर्नु, मोही पार्नु…कम छैन तेरो दुख पनि ।

दिननाथले सुनाउँथे—झन्डै खहरेले बगेको कुरा, चिठी सबै भिजेको कुरा, हुरीले छाता उडाएको कुरा, भन्ज्याङमा बसेर खाजा खान बसेको बेला बाँदरले भाडासँगै खानेकुरा लगेको कुरा  । सबैभन्दा नबिर्सिने डाँकासँग लडेको कुरा । त्यो घटनापछि डाँकाले बाटो कुर्लान् भनेर बाटै फेरीफेरी हिँड्थे रे, कि भन्ज्याङमा पर्खेर कोही बटुवा  आएपछि  चुक डाँडा काट्ने गर्थे । मनलाई अतीतमा हिँदाउँदै श्रवण  लिकर स्टोरमा पुग्छ । भित्र पस्दा एकै पटक न्यानोले अँगालोमा बेरेजस्तो न्यानो अनुभव गर्छ ।  ऊभन्दा अगाडि जाडो बिदा मनाउनेको लाइन छ  । पालो पर्खन्छ । भित्तामा उभिएको ठूलो ऐनामा अनुहार नियाल्छ । थप रक्सी किनेर भिर्न  झोलामा हाल्छ र उस बेला बाबाले चिठी को थैलो पिठ्यूँमा बोकेजस्तै गरी बोक्छ पिठ्यूँमा । आफ्नो बुट हेर्छ,कोट हेर्छ ।

बयान नम्बर—३

पाहुनाहरू आइरहेछन । रक्षा बोल्छे कानैनिर—के न्याउरो मुख लगाएको नि ? पाहुनाहरूले के भन्लान् ? … त्यो कुरा सम्झेर अफसेट भए हो /त्योबारे अहिले केही नसोच । पाहुना बोलाइसकिएको छ राम्ररी उम्काउन पर्छ नि ।… केही पीर नगर के ! म त आजभोलि केही पीर गर्दिनँ । सोच्न छाडिसकेँ । भगवान् भरोसा भन्छु अनि आफ्नो काम गर्छु । यस्तै हो संसार, यसरी नै

चलिरहेछ । चक्र हो चक्र ! श्रवणले ढोकाछेउको क्लजेटमा पाहुनाहरूको कोट झुन्ड्याइदिन्छ । भित्र हिट चलाएर तापक्रम मिलाएको हुँदा बाहिर जति जाडो भए पनि कोठाभित्र पसेपछि एक सरो लुगा लाए पग्छ । कोट खोलेपछि महिलाहरूको शरीरमा पनि एकदम कम लुगा छ । सबै जना चियर्स गर्छ । एपटाइजर लिन्छन् ।

—म एकदम छिटो पिउँछु । मेरो बूढा गाली गर्छ मलाई । कस्तो जडेहाले जस्तो स्वाट्ट खाएको भन्छ ।  मलाई त खाएपछि स्वाट्टै खान मन पर्छ । त्यो भएर म आइस क्युब होइन, हट वाटर राख्छु । आइस क्युबले डिस्टर्ब गर्छ/

—ब्ल्याक फ्राई डे सेलमा टन्न  सपिङ गरेँ मैले त । श्रीमान्ले अब एक्लै जान दिन्न  भनेका छन् । होस् टिप्सको पैसा त हो, दुख गरेपछि रहर  त पूरा गर्न पर्र्यो नि ।

—मैले पनि यो लिएँ । सेलमा राम्रो डिल  पाएँ ।

—मेरो हजबेन्ड भनसिन्छ, मलाई हीराको सेल को विश्वास लाग्दैन र सुनको सेल लागेको कहिलेदेखिको छ ? यहाँ तीन सय पैँसठी दिनमा तीन सय छैसठी दिन सेल लाग्छ ।  मलाई पनि हो जस्तै लाग्छ ।

—मलाई बियर पटक्कै मन पर्दैन । त्यसै फुल भइने । बरु हार्ड नै ठीक अलिकतिमा आन्नद । ल साथीहा, मलाई लागेजस्तो छ है  ।

—रक्षा तिमीले श्रवणजीलाई खुवाउन सकिनौ है । आज त्यही उपहार माग ल । ल आज नखाए हामी पनि नखाने । गिलास टेबलमा राख्छन् । केही पेग चढाइसकेकाहरूले गिलास बिसाउँछन् । गिलासलाई सुस्ताउन दिन्छन् । दुई रुम अपार्टमेन्ट हो यो । रुममेट लोरिडा घुम्न गरेको हुँदा अलि खुल्ला छ । जम्मा भएका बच्चाहरू त्यही कमन रुममा बसेर टिभी हेरिरहेका छन् । जन्मदिन बच्चाको छ, उनीहरूके लागि भन्दा ठूलाको लागि रमाइलोको बहाना जस्तो छ । केटाकेटीहरू अभिभावकको हल्लादेखि झिजिइरहेका छन् । अभिभावकहरू केटाकेटीको । कोक, पिजा र टिभीमा भुलून् भन्नेमा छन् अभिभावकहरू तर घरीघरी आआफ्ना बाउआमालाई डिस्टर्ब गर्न आउँछन् केटाकेटी । आइ फोन दिन्छन् गेम खेल्न, भुलाउन । उनीहरूको चाहना नबिथोलियोस् भेटघाट, रमाइलाको यो क्षण । आज श्रवण चाहन्छ पार्टी छिटो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : नेपाली कथा, पत्र साहित्य | , . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *