कविता : रातो गुलाब

~छविलाल कोपिला~chhabilal-kopila

यतिबेला,
ग्रहण लागेको सूर्यको घाम ताप्न
धोद्रो सिमलको रुखमुनि बसेर
गिलास सोमरस पिइरहेछ ।
यता, मंसिर भित्र्याएर हँसिया र हटौडा
चीर निन्द्रमा सुतिरहेछ भने,
तिमी कालरात्रिको भजन गाइरहेछौ ।

ठीक यसैबेला,
धनसारबाट मुसाहरु
औंसीको कालो सडक हुँदै
नियतीको बैलगाडामा
कालो नून ओसारिरहेछन्,
तिमी भने जूनलाई अल्मारीमा कैद गरी
आकाशमा तारा गनिरहेछौ ।

लाटोकोसेरोको कर्कश स्वरसंगै
चमेराहरु राता–रात सीमा सारिरहेको बेला
बाजहरुले मेरी आमाको छातीमा
तिख्रा नङ्ग्राले चिथोरिरहेको बेला
तिम्रै आलिशान धमिरा दरबारभित्र
विदेशी कराहीमा
तिम्रै टाउको उमालिदैछ
तिमी भने मेरो माटोको पसल थापेर
डलरमा सौदा गरिरहेछौ ।

त्यसैले
यतिबेला उही माटो माग्न,
जूनसंगै भोलि उठ्ने बिहान माग्न
एक हूल कमिला सडकमा ओर्लिएका छन्,
सु–शासन र शान्ति माग्न
अर्को हूल परेवा आकाशमा उडिरहेछन् ।

विडम्वना,
तिम्रा उन्मत्त साँढेहरु
सडकमै कमिला किचिरहेछन्
आकाशमै परेवा झम्टिरहेछन्
तिमी भने बधशालाभित्र
हतियारमा सान लगाइरहेछौ ।

मलाई याद छ,
सुन्दरभूमिको यौटा भूगोल
नेपाली धरती
अभावको जाँतोमा
भोक पिसिरहेको बेला
तिमी बारुदको हलोमा
दमन नारेर पीडा जोतिरहेका थियौ,
झुप्रामा आगो बालेर
बन्दुकको नालमा उत्पादन गरिएका
रक्त–सराब पिइरहेका थियौ ।

हो, त्यही भूगोल
जहाँ तिमीले पीडा जोत्यौ,
रक्त–सराव पिउँदै
रक्त–सागरमा पौडिखेल्यौ
उही भूगोलमा
यतिबेला,
यौटा सुन्दर गुलाब फुलिरहेछ
सुन्दर रातो गुलाब फुलिरहेछ ।

–देउखुरी–दाङ

(नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा शक्ति एफ.एम. हेटौडाद्वारा आयोजित बहुभाषिक राष्ट्रिय कविता प्रतियोगिता २०७० भदौ २९ गते हेटौडामा प्रस्तुत कविता । जुन मेरो जीवनको पहिलो प्रतियोगी कविता हो । त्यस प्रतियोगितामा विना तामाङको ‘जुनकिरी’ शीर्षकको कविता उत्कृष्ट भएको थियो ।)

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.