व्यङ्ग्य निबन्ध : तपार्इंको यो नयाँ वर्ष

~भैरव अर्याल~Bhairab Aryal

मन्त्री राशिः–
२०२७ साल तपाईंको लागि अशान्तिकारक तथा महत्वहीन वर्ष सिद्ध हुने लक्षण देखिन्छ, किनकी जन्मकुण्डलीका राज्यस्थानमा शनिको र मङ्गलको क्रुरदृष्टि परेकोले ज्यादा दौडधूप तथा अथक परिश्रम गरेता पनि आफ्नो सम्मानित ओहदाबाट ओरालो लाग्नुपर्नेछ । तर धन्दा नमान्नुहोस्, यो वर्षभर मङ्गल ग्रहले राज्य गर्ने भएको हुनाले जीवनभर घ्यू, भात खाएर बाँच्नका लागि यथेष्ट पुग्ने गरी जग्गा–जमिन तथा बङ्गला जोड्नमा अवश्य सफल हुनुहुनेछ तर यस्तो आयश्रोतबाट आर्जन गरेको सम्पतिमा आयकर लगाउन सक्ने तागत करअड्डामा हुने छैन । चन्द्रग्रह शुभ स्थानमा आसीन भएकाले फाटफुट उद्घाटन, भाषण चियापान समारोह तथा विवाहादि समारोहमा सान प्रदर्शन गर्नमा चुक्नुपर्ने छैन । राहुको भ्रमणकारी योगले गर्दा आफ्ना सहोदरी मित्रहरूका सामु अगुवा बन्दै तथा नेपालको तगडा पोलिटिक्सको जादुद्वारा प्रभावित भई “गाउँ फर्क राष्ट्रिय अभियानलाई” बढी प्रभावकारी ढङ्गले क्रियाशील गर्न आफ्नै पहाड कन्दराको झोपडीमा फर्की जीवन गुजारा गर्नुपर्ने सम्भावना देखिएता पनि अशिक्षित असम्पन्न गाउँले दाजु भाइहरूको अगाडि तपाईंको सान मान यथावत् कायमै रहनेछ ।

सम्पादक राशिः–
यो नयाँ वर्षमा तपाईंका ग्रह गोचरहरू सबै यथायोग्य स्थानमा रहेकोले खास तबरले मौलिक परिवर्तन हुने रूपरेखा देखा परी जीवनमा आर्थिक क्रान्ति आउने प्रबल योग परेको छ । शनि पराक्रम स्थानमा भएको हुँदा आफ्नो मण्डलीका सदस्यहरू सबैलाई सङ्गठन गरी पत्रकारिताको क्षेत्रमा आन्दोलन ल्याउने तर्जुमा गरेता पनि सूर्य ग्रहको प्रकोपले गर्दा आफ्नै स्वबन्धुको बीचमा इष्र्या, डाह र गुटबन्दीमा विभाजित भए योजना सफल नहुृने योग परेको छ । धनस्थानमा चन्द्रमा रहेकोले पत्रिकाको स्तर ज्यादै निम्न कोटीको भए तापनि तपाईंउपर लक्ष्मीको कृपापूर्ण दृष्टि रहने छ । जसको फलस्वरूप योजना, कार्यालय तथा संस्थानद्वारा प्रचारको लागि छुट््याइएको रकममध्ये अरू वेला नपाइएता पनि राष्ट्रिय चाडवाड तथा पर्वहरूमा शुभकामना सहितको विज्ञापन पाइनै रहने छ । तर बढ्दो फेशन र अमेरिकाली जीवनस्तर बिताउने ख्वाब साकार गर्न र श्रीमतीको सपना पूरा गर्न उद्यत हुने भएकोले तपाईंलाई आर्थिक सङ्कटले पिछा छोड्ने छैन । आफ्नो सिद्धान्तमा अडिग रही जनआवाजको प्रतिनिधित्व गर्नुको बदला एम्बेसी वा मन्त्रीज्यूका ढोकाहरू चाहारेर भए पनि भिक्षा बटुली सुटेड बुटेड भई लेटेस्ट मोडेलको कारमा सवार हुन पाउने योग छ । तपाईंको गुरू ग्रह अरिष्ट स्थानमा रहेकाले विद्वत्वर्गको लेखलाई हदसेहद सस्तो दाममा भेटाउनुका साथै आफ्ना कृपापात्रहरूको निम्न स्तरका लेखहरूलाई आफ्नो पत्रिकामा स्थान दिन विवश हुनु पर्नेछ । अरू सवै गतिविधिहरू यथावत् रहेता पनि सौम्य बुधग्रहको प्रभावले उच्चपदासीन महनुभावहरूको विदेश यात्रा रेडिमेड भाषण तथा अन्य कार्यकलापहरूलाई ठूला ठूला अक्षरले बढाइचढाई पत्रिकामा फ्लैस गर्न छुट पाउने प्रबल योग निश्चित छ ।

व्यापारी राशिः–
भाग्यशाली व्यापारी ! तपाईंको जन्मकुण्डलीमा रहेका प्रायः धेरैजसो ग्रहहरूको धन स्थानमा पूर्ण दृष्टि केन्द्रित भएको हुँदा कुनियत, सुनियत, धोकावाजी र हरसम्भव प्रयासद्वारा लक्ष्मीलाई आफूतिर तान्नमा सफल हुने निश्चित छ । बुधको शुभ दृष्टिपातले गर्दा मौकामौकामा उपभोग्य निर्यात वस्तुहरूलाई स्टकमा कुहाई राख्नु परेता पनि दोब्बर चौब्बर बढी मोलमा बेच्न पाउने सुवर्ण योग परेको छ । धनधान्यादिको बृद्धि हुनुका साथै मान यश तथा कीर्ति बढ्ने, बहुरूपी क्षेत्रमा नाना प्रकारका रूप आफूलाई अग्रणी बनाई समाजसेवी, ईश्वरको अनन्य भक्त एवम् परोपरकारी जस्ता ढाेंगी उपाधिहरूले विभूषित हुन पाउने लक्षण देखा परेता पनि मानसिक अशान्तिले तपाईको हृदयकाशमा वर्षभरी साम्राज्य गर्ने छ । यो साल शनिले लाभ स्थानमा कुदृष्टि पु¥याएको हुँदा लाभमा केही कमी हुनुको साथै अनावश्यक र वाहियात कार्यमा ज्यादा रकम खर्च हुने देखिन्छ जसको परिणाम स्वरूप समुद्रपारबाट आउने गिफ्ट पार्सलमा पनि भन्सार लाग्ने भई खास मुनाफा नआउने र आयकर पनि गत वर्षमा भन्दा चौवर निर्धारित हुने भई सम्बन्धित अधिकारीको विस्तुत हुँदै गएको झोलामा नोटले टम्म भर्नुपर्ने स्थिति उत्पन्न पार्नेछ । तथापि धेरैजसो ग्रहहरू वलिष्ठ भई “धनं वृद्धि कुरू” भन्ने योग पारेकोले वर्षभरी लक्ष्मीले साथ नछोड्ने निश्चित छ ।

वकिल राशिः–
वाह रे वकिल ! कलौ पापाधिकं फलम् भन्ने तथ्यलाई चरितार्थ गर्दै आफ्नो वाक्चार्तुयता र लेखनी कलाद्वारा तिलको दानालाई पहाड र असत्यलाई सत्यमा प्रमाणित गर्न सक्ने खुवी रहेकोले यो वर्षभर पनि तपार्इंको साथ उत्साह उमङ्ग तथा झगडियाहरूको घुइँचोको घेरामा परी बित्ने सौभाग्य योग परेको छ । तपाईंको कुण्डलीमा भएका पाप ग्रहहरू सबै बलवान् भएकाले तार्किक बुद्धिद्वारा झुठ, जालसाजी, बेइमानी भ्रष्टाचारीहरूको मुद्दा मामिलालाई पनि न्यायाधीशको आँखामा छारो हाल्दै जिताउन सक्ने अवसर बरोबर आउने लक्षण देखिएता पनि मानिसक स्थिति सधै डावाँडोल नै रहने छ । किनकी तपाइँको प्रयास सिर्फ मुद्दा जिताउने मात्र नभई लम्याउने लक्षसमेत हुुनेहुँदा पृष्ठपोषकहरूसँग समेत हातेमालो गरी आफ्नो स्वार्थ सिद्धी गर्न तम्सिने भएकोले सँधै चुलबुल मनस्थिति रहने र राहुले सताउने लक्षण देखा परेको छ । असत्य तथा आडम्बरी शब्दलाई पनि श्रृङ्गार गरी माकुराले आफ्ना जालमा माखालाई पारेझैँ इष्र्या, वैमनस्यता र कटुताको फाटोलाई चौड्याई झगडियाहरूको सङ्ख्यामा कमी हुन नदिने गुण शनिग्रहले तपाईंलाई वर्षभरी प्रदान गरेको छ । त्यसैले आलस्य, थकाई र बेकारीको शिकार हुन नपरी चहलपहलमा नै वर्ष बित्ने योग परेको छ ।

विद्यार्थी राशिः–
२०२७ सालको सुभारम्भदेखि नै तपाईंको गतिविधि तथा बाँदर पुरूषार्थी कर्महरू तीब्र गतिले बढदै जाने छ । विद्यार्थी एकताको भावना जागृत गराई परीक्षा नदिई डर, त्रास, धम्की तथा विध्वंशकारी कार्यहरू गरी सर्टिफिकेट हासिल गर्ने प्रयाश जारी गर्न मङ्गल ग्रहले बुद्धि प्रदान गरेता पनि यो वर्ष भरीनै विद्यार्थीहरूको कुण्डलीको पञ्चम स्थानमा शनिको क्रुर दृष्टि परेको हुँदा योजना शत प्रतिशत विफल हुने देखिन्छ । तथापि अन्य सामान्य ग्रहहरूले ठीकै स्थान ओगेटेको हुँदा स्कुल, कलेज बरोबर हडताल भै विदामा बस्न पाउने योग छ । शुक्रग्रह शुभस्थानमा भएकोले यो वर्षमा तपाइँको रोमान्स, डान्स, पिकनिक, तथा गल्लीगल्लीमा घुमी गीत गाउने प्रबल ईच्छा ज्यादा बढ्ने भई नोटकपीमा गीत, प्रेमपत्रहरू र कविताले टम्म भरिनेछ । हिप्पी समुदायको सदस्य र नक्कल गर्ने बानी पर्ने भएकोले यो वर्षमा खुलेआम रक्सीको सुरमा लड्कीहरूलाई छेडछाड गरी किड्न्याप गर्न नहिचकिचाउने सामथ्र्य पनि तपार्इंमा आउने छ र शिक्षक तथा प्रध्यापक वर्गहरू समेत “शिष्यदेवो भवः” भन्ने सुक्तिलाई पाठ गर्दै तपाईंको शरणमा पर्न आउने भएकाले यो वर्ष तपाईंका लागि ज्यादै महत्वदायी ठान्नुपर्दछ ।

कर्मचारी राशिः–
विगत वर्षहरू झैँ यो नववर्ष तपार्इंको लागि खेदकारी छ किनकी लाभस्थानमा एक ग्रह मात्र बसी वाँकी सबै ग्रहहरू ब्ययस्थानमा सरिसकेको हुँदा तपार्इंको आयभन्दा घरायसी खर्च चौगुणा बढ्नेछ । जसको फलस्वरूप पौष्टिक आहारको कमी हुन गई शिर चक्कराउने, शरिरमा स्फुर्ति नआउने र बालबच्चाको रोदनले दिमाग असन्तुलन रहने भई काम समेत बिग्रन जानेछ जागिरबाट समेत बर्खास्त हुनुपर्ला कि भन्ने अवस्था पर्न आएता पनि निच शनिग्रहको प्रभावले तपाईंको नोकरीसम्म अडिने सम्भावना छ । ठूलाठालुका घरघरमा गई हात मल्ने र चाकडी गर्ने प्रवृत्ति आएता पनि यो वर्ष तलबमा बृद्धि र पदोन्नति हुने कुनै लक्षण छैन । सप्तम स्थानमा पनि मङ्गलको दृष्टि परेको हुँदा आफ्नै धर्मपत्नीसँग दिनरात कुकुर–बिरालो झैँ झगडा गर्नु पर्नेछ । किनकी बजारको बढ्दो महँगीले गर्दा चुलो बाल्ने समस्यामा निरन्तर व्यस्त रहनुपर्ने हुँदा तपाईंले श्रीमतीको मागलाई पूर्ति गर्न नसकी भविष्यको सुनौलो सपनालाई ईङ्गित गर्दै अर्को महिनामा सारा विलासका सामग्रीहरू जुटाई दिन श्रीमतीको सामु नतमस्तक भई किरिया खानुपर्ने छ । तपाईंका कुण्डलीमा केतुद्रुम योग परेको हुँदा सँधै दरिद्रतापूर्वक जीवनयापन गर्नु परेता पनि कर्मस्थानमा शुभग्रह भएबाट अफिसको डनलप कुर्सीमा बस्दा र मोटरकार हाँकी अफिस जाँदा तपाईंको रोव तथा शानको कदर आफूभन्दा मुनिका कर्मचारीहरूले अवश्य गर्ने छन् ।

कुमारी अर्थात स्त्री राशिः–
२०२७ सालले पदार्पण गरेको दिनदेखि नै तपार्इंको भाग्यको सितारा चम्कने छ तर भाग्यको साथसाथै दुर्भाग्यले नववर्षको आधाआधीदेखि नै आफ्नो प्रकोपसमेत जमाउने लक्षण परेको छ । विभिन्न आकर्षक पहिरण, चालढाल, तथा बोलीचालीमा परिवर्तन आउने भएकाले महका चाकामा मौरीहरू भुनभुनाए झैँ चकलेट–लभरहरू तपाईंको अंँगालोको पाशोमा जकडिन्छन् । विषेशतः आफ्नै कुमारी नर्स साथीहरूको सङ्गतको प्रभावले नशच्छेदन गरिएका पुरुषहरू खोजीखोजी रोमान्स लडाउन पाउने र एकपछि अर्को गरी इच्छाएका राजकुमारहरूसित सम्पर्क राख्न पाई रेष्टुराँ बार तथा सिनेमा हलमा जान पाउने प्रबल योग परेकोले शुक्रग्रह अति राम्रो देखा परेको छ । तपार्इंको चालढालबाटै गुप्त लभमैरिज र पारपाचुकेको व्यापारमा निरन्तर संलग्न रहने बानी भइसकेकोले अर्काको बन्धनमा दुलही बनी जकिडनुपर्ने छैन र सप्तमेश मङ्गलको प्रभावले एकै श्रीमान् बनाउने दुर्दशा नपरेता पनि रोमान्टिक लवरहरूले तपाईंलाई खाली भैसकेको रक्सीको बोतललाई तिरस्कृत गर्दै फ्याँके झैँ “धोबीको कुकुर घरको न घाटको” गरी वर्षको अन्तिम महिनातिर व्यवहार गर्ने छन् । तर तपाईलाई यसबाट पनि सन्तोष नै मिल्ने छ ।

व्यापारिक राशिः–
तपार्इंको जन्मकुण्डलीमा सबै ग्रहहरू घटिया भएकोले विगत वर्षहरूमा दुःख भुक्तमान गरे झैँ यो वर्ष पनि तपार्इंका दिनहरू सङ्कट, झमेला तथा उल्झनमा नै व्यतित हुने छ । शनिको कुदृष्टिको फेरोे सदा तपाईंमाथि रहिनै रहने हुनाले, आर्थिक सङ्कटको सामना, पढाइमा आलस्य लाग्नुका साथै शारीरिक र मानसिक अस्वस्थता सधै महसुश हुने छ । ल्कासमा पनि तपार्इं विद्यार्थीको पूज्य गुरू बन्नुको बदला एक हास्य अभिनेताको अभिनय गर्दै कहिले गफमा र कहिले निन्द्रामा आफूलाई भुल्ने बानी बसाल्नु हुने छ । जसको फलस्वरूप विद्यार्थीहरू होनहार भई देशका कर्मठ नेता, कलाकार एवम् साहित्यकारको जीवन निर्माण गर्नुको बदला पुरूषार्थहीन समाजद्रोही तथा देशका कपूत बनाउन तपाईंलाई कुग्रहहरूले विवश पार्ने छन् । ट्यूसनको क्रममा ज्यादा महिना व्यतित हुने भएता पनि तपाईं अर्धभाग्य हुनुभएको हुनाले विद्यार्थीहरूबाट ट्यूसन फि असुल गर्न गाह्रै पर्ने छ । घरमा परिवारको र स्कुलमा विद्यार्थीहरूको कोपभाजनको पात्र हुने भएकाले यो वर्षभरी तपाईंलाई ग्रहहरूको दुस्ट्याइँ योग पर्न आएको छ ।

पुरोहित राशिः–
यो २०२७ तपाईंको लागि खुब श्रेयकारक छ ! किनकी वर्षभरी लक्ष्मीका कृपादृष्टिको पूर्ण छाया तपार्इंउपर परी नै रहने हुँदा एक श्रोतबाट मात्र नभई सहस्र मार्गबाट तपाईंको आम्दानीको मुहान खुल्ने छ । पुरोहितहरूको सङ्ख्यामा कमी हुन गई जुनसुकै आचारहीन पुरोहितबाट कर्मकाण्ड चलाउनेमा बन्देजको वास्ता क्रमशः घट्दै जाने ग्रहगोचरबाट देखिएको हुँदा तपाईंले सुरा र सुन्दरीलाई सेवन गर्दै अर्थ न बर्थका श्लोकहरू भट्भट्याउँदै दान दक्षिणा, होम श्राद्धका कार्यहरू सम्पन्न गरेता पनि तपाईंको मान तथा कदर पूर्ववत् कायमै रहने छ र प्रतिष्ठामा कुनै आँच आउने छैन । आसुरी सम्पतिहरूको सङ्ग्रहले तपाईंको बुद्धिमा हेरफेर आएता पनि वुद्धि स्थानमा शनिग्रह बसेकाले शास्त्रीय तथ्यहरूलाई वैज्ञानिक तथा तार्किक कसीमा घोटी विश्लेषण गर्न समर्थ हुने योग छ ।

पुलिस राशिः–
यो नयाँ वर्ष पुलिस वर्गको लागि अनिष्टकारक छ । किनकी शनि र मङ्गलको आपसी दृष्टि कुण्डलीमा परेको हुँदा ज्यादा समय मुठभेड र हुलदङ्गाका सङ्घर्षमा बिताउनुपर्ने छ । राहुले बक्र दृष्टिले हेरेको हुँदा तपाईंले यो वर्षभरी गरेका जुनसुकै जघन्य अपराध र गुप्त पाप कार्यहरू जनता जनार्दनको सामु देखा नपरी उल्टो आफ्ना अफिसहरूबाट स्याबासी पाउने योग देखा परेको छ । आर्थिक कठिनाइले पिछा छोड्ने छैन तर पापग्रहहरू तगडा भएको हुँदा सिधासाधा व्यक्तिहरूबाट आफ्नो गर्जसम्म टर्ने रकम असुल गर्न सकिनेछ । मूर्तिचोरहरूको नयाँनयाँ तरिका र अनौठो चालबाजीले गर्दा तपाईंलाई हैरान पार्ने छ । तर मुसो पकडेर बाघको कल्पना गर्नुको बदला बाघ समात्न पासो थाप्नुमा तपाईंलाई गुरुग्रहले विलक्षण बुद्धि प्रदान गर्ने प्रबल योग देखिन्छ । यो २०२७ सालमा ज्यादा सतर्क रही शनिदेवको आराधना गरेमा तपाईंको दिन कष्टपूर्ण नबन्ने सम्भावना छ ।

डाक्टर राशिः–
यो वर्ष विगत वर्षहरूको दाँजोमा अत्यन्त लाभप्रद, सुखदायी र प्रेरणायुक्त रहने देखिन्छ, किनकी शुभ ग्रहहरूले आफ्नै स्वगृहमा पूर्ण दृष्टि दिएको हुँदा तपाईंको यो वर्ष अत्यन्त महत्वपूर्ण सिद्ध हुने छ । अन्जान तथा अज्ञानवश ८÷१० रोगीहरूको ज्यान लिई हासिल गरेको परिपक्व मेडिकल नलेजलाई सामान्य रोगोपचार गरी नाम कमाउन पाउने र सेम्पलको लागि वितरण गरिएको मुफ्त औषधीहरूको बिक्रीद्वारा पकेटखर्च उठाउन पाउने शुभयोग ग्रहहरूले पारेको छ । आमोद–प्रमोदमा तपाईंले डुबुल्की लगाउन पाउने योग छ किनकी जस्तोसुकै बोर लाग्दो उपचारमा पनि मदयुक्त सिस्टरहरूको साथ पाउने हुनाले तपार्इंलाई १० घण्टाको ड्यूटी १ घण्टामा सकिए जस्तो लाग्नेछ । नवीन–नवीन रोगका शिकार भएका रोगीहरूको ताँतीले तपाईंलाई बेफुर्सद पार्ने सम्भावना भएता पनि तपाईंको भाग्य जाग्ने बखत भएको हुँदा रोग पत्ता लगाउन नसकी नानाथरिका औषधी प्रिस्क्राइव गरी लामो अवधिसम्मका लागि रोगीहरूबाट चाकडी पाउने सौभाग्य तपाईंलाई अवश्य प्राप्त हुने छ । यसरी आर्जन भएको पैसा बुद्धग्रहको प्रभावबाट बैंकमा जम्मा गराउनुको बदला कहिल्यै झिक्न नहुने बैंकमा डिपोजिट गर्ने प्रबल ईच्छा रहने छ ।

बेकारी राशिः–
२०२७ साल तपाईंको लागि बेकम्मा छ । तपार्इंको जन्मकुण्डलीमा सबै ग्रहहरू नीच अवस्थामा रहेको हुँदा, वर्षभरी विफलता, निराशा तथा हैरानीको पोको बोकी यताउति लाग्नुपर्ने छ । नोकरी खोज्ने सिलसिलामा विभिन्न कार्यालय, संस्थान तथा प्राइभेट फर्महरूमा अन्तर्वार्ताको लागि सामेल हुनुपर्ने योग परेता पनि क्रियाशील ग्रहको राज्यस्थानमा दृष्टि नपरेको हुँदा तपार्इंलाईं दौडधूप गर्नु सिवाय अरू केही हात पर्ने सम्भावना देखिँदैन । धनस्थानमा शनिको दृष्टि परेको हुँदा बाबुबाजेले आर्जन गरेको सञ्चितधन पनि क्षिण हुँदै जाने छ । परन्तु वर्षको अन्ततिर शुक्रग्रहको दृष्टि राज्यस्थानमा परेकाले स्त्रीजातिबाट तपाईंको भाग्य उदय हुने लक्षण छ । अतः अहिलेदेखि विचार गरी उच्च ओहदामा पुगेका व्यक्तिको छोरी या बहिनीसँग वैवाहिक सम्बन्ध जोड्न या लभ गर्न तरखर गर्नुमा श्रेय देखिन्छ । नत्र जीवनभरी बेकारीमा नै रहनुपर्ला । अस्तु ।

‘अर्पण’ वर्ष ५, अङ्क ८, २०२७ बाट

(स्रोत : फित्कौली डटकम)

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.