अनूदित कथा : चराको दाह्री

~अलेक्सान्द्र त्रोफिमोभ~alexander-trofimov
अनु. कृष्णप्रकाश श्रेष्ठ.

“हाम्रो वनमा, जहाँ दयालु वनदेवता बस्छ, हुदका हुल मानिसहरु देखा परे ।” कोही त्यसै घुम्न आउँथे चने कोही च्याउँ बटुल्न, बदाम टिप्न, फलफूलल लिन आउँथे । कोही कोही त आराले रुख ढाल्न समेत आउने गर्दथे । हामी वनवासीहरुलाई सारा शहरवासीहरु उल्टेर सधैंका लागि वनमा आएजस्तो लाग्न थालेको थियो । के हामी वनमा बस्नेहरुले शहरतिर बसाइँ सरेर शहरवासीहरुको घरमा वास बस्न जानुपर्ने भयो त ? यस्तो समेत विचार गर्न थालिएको थियो । तर कुरा यत्तिमै सीमित रहेन । मिखाइल पोतापिच भनेर चिनिने वनको भालु त टिकट किन्न भनेर रेलको स्टेशनसम्म पनि पुग्यो । तर यसको नतीजा अर्कै निस्कियो । टिकट बेच्ने महिलाले तुरुन्त झ्यालढोका ढ्याम्म थुनी र “गुहार ।” भनेर चिच्याउन थाली । उसको वन नै थकाउने खालको कंकला स्वर सुनेर त्यहाँ आइपुगेको प्रहरी चाहिं आफ्नै गाडीमा सवार भएर त्यसलाई यसरी दगुराउन थाल्यो, मानौं हेलिकोप्टरमै सवार भएको होस् । Krishnaprakash Shrestha

यसरी वनवासीहरुले शहरवासी बन्ने सम्भावना पाएनन् । नत्र कति मजा आउने थियो ः खरायोलाई घरको पहिलो तलामा बस्न दिइँदो हो, फ्याउरो लाई दोस्रोमा, दुम्सीलाई तेस्रोमा, लोखर्केलाई चौथोमा, व्बाँसोलार्य पाँचौंमा, भाल छैटौंमा, च्याउँहरुलाई सातौंमा, झ्याउहरुलाई आठौंमा, चराचुरुंगीहरुलाई चाहिं नवौ तलामा, माकुरालाई दशौंमा, माहुरीहरुलाई एघारौंमा र यस्तै रीतले हरेक प्रकारको जीवजन्तुलाई फरक फरक तलामा बस्न दिन सकिन्थ्यो … “

तलाहरुको गन्ती गर्दै कसलाई कुन तला दिने भन्ने बयान गदौगर्दै मेरी फिस्टो चरी थाकेर एक छिन चूप लागी । फिस्टो चरीको बालसुलभ रमाइलो कथा सुन्दै म मुस्कुराइरहेको थिएँ । केही बेर पछि उसले कथा अगाडि बढाउँदै थपी ः

“मान्छैहरुले घन्टीफूल कुल्चेर सखापै पारिसके । फेरि च्याउँहरु मात्र टिपे त हुन्थ्यो नि, उनीहरु त जरै समेत उखेल्छन् र पो । अनि कसरी च्याउँहरु बढ्न सक्छन र ? केटाहरुले चाहिं चराचुरुंगीका गुँढहरु नै बिगारिदिन्छन् । ठूलाबडाहरु चाहिं राम्रा राम्रा रुखहरु आराले काटेर ढाल्दछन् । अनि रुखहरु पनि कसरी आकाश छुन सक्ने हुनु ? छोटकरीमा भन्ने हो भने मान्छैहरुको उधुम अत्याचारले गर्दा वनवासीहरुले भोग्नुपरेको आपद्विपद्को गन्ती गरेर साध्य छैन । उनीहरुले हाम्रो वनलाई हुनसम्म क्षति पुर्याइसके ।” लामो सास फेर्दै फिस्टो चरी मेरी सानी छोरीझैं रुन पो लागी ।

मैले बिस्तारै उसको मुण्टो मुसारिदिएँ । उसका प्वाखहरु ज्यादै छोटा र मुलायम थिए । मलार्य उसप्रति कतिसम्म दया जागेर आयो भने उसलाई कतै जान नदिएर आफ्नो छातीमा टाँस्न मन लाग्यो । वनमा उसको लागि जताततै खतरैखतरा भएको मलाई भान भयो । वन भनेको वन नै त हो । त्यहाँ न प्रहरीहरु छन्, न त हरेक रुखमा पाले नै …

तर मेरी फिस्टो चरी उमेरदार भइसकेकी थिई । उसका आफ्नै बालबच्चाहरु पनि जन्मिसकेका थिए । के उसलाई छातीमा टाँसेर राख्न सकिन्थ्यो र ?।

फिस्टो चरीले फेरि आफ्नो दयनीय रामकहानी सुनाउन थाली :
“मान्छेहरुले वन विनाश गरेको वनदेउताले पनि टुलुटुलु हेरिरहनुपरेको छ । ऊ ज्यालै चिन्तित भएको छ । जे भए तापनि ऊ वनको देवता नै हो, वनको रहस्यमय आत्मा हो । एकपल्ट उसले घन्टीफूलको शोकाकूल स्वर सुनेको थियो । घडीफूलहरुको टिनटिन रोदनझैं प्रतीत हुन्थ्यो । मान्छैहरुले वनमा फुल्ने घडीफूलको आवाज सुन्न समेत सक्तैनन् । यसमा आश्चर्यको केरै के छ र ? मान्छेहरु अक्सर गिर्जाघरमा बजाइने ठूल्ठूला घन्टहरुको आवाज समेत सुन्दैनन् त ।”

“रक्षा गर, वन देवता, रक्षा गर । हाम्रो रक्षा गर्ने कोही भएन ।,, घन्टीफूलहरु प्राचीन वनदेवताको आँखाको नानीको गहिराईमा भित्रसम्म हेरेर पुकारा गर्दै थिए ।

वनदेवताको हृदय असहनीय पीडाले भरियो । तर उसले घन्टीफूलहरुको रक्षा कसरी गर्न सक्तथ्यो ? एकाएक उसले भन्यो : “बुझ्यौ त, तिमीहरु मेरो कानमा बसाइँ सर ।”

उनीहरुको यस्तो वार्तालाप सुनिरहेको लोखर्केले अचम्म मान्दै बादलको उँचाईसम्म उफ्रेर उद्गार प्रकट गर्दै भन्यो : “कस्तो अनौठो प्रस्ताव । तर कति मौलिक, कति चमत्कारपूर्ण ।”

घडीफूलहरुले आफ्ना हरिया आत्माहरुद्वारा गमेर सोचविचार गरेपछि वनदेवताको प्रस्ताव स्वीकार गरे ।

वनदेवताका कानहरु निकै ठूला थिए, किनभने वनको सम्पूर्ण आवाज सुन्न सक्नुपर्दथ्यो । अनि मान्छेहरुको संहारबाट कति थोरै घडीफूलहरु बचेका थिए भने ती सकै वनदेउताको एउटै कानमा अटाइहाले । यसरी घडीफूलहरुले बस्नका लागि नयाँ ठाउँ पाए ।

“आफ्नो अनुहार पोखरीमा हेर । पानीमा आफूलाई एकपल्ट त हेर । तिमी कति सुन्दर देखिन्छौ ?” घडीफूलहरुले टिन टिन गर्दै सुरिलो आवाज निकाल्दै एकै स्वरमा वनदेवतालाई भने ।

वनदेवताले पोखरीको निर्मल पानीमा हेर्दा आफ्नो टाउकोको ठाउँमा पूरै घडीफूलको रमणीय बगैंचा देखे । उनको कानमा घडीफूलहरु सुखपूर्वक रमाएको स्वर गुञ्जिरहेको थियो । म पनि फिस्टो चरीको मोहक कथा सुनेर मख्ख परिरहेको थिएँ र मेरो कानमा पनि आनन्दले रमाइरहेका फूलहरुको गुञ्जन घन्किरहेको थियो, उनीहरुको सुमधुर संगीत गुञ्जिरहेको थियो ।

“वन्य जन्तुहरुको माझमा रेम्ब्रांट अथवा भान गोग पनि हुँदा हुन् त यस्तो सौन्दर्यको चित्रण अवश्य गर्दा हुन् । चित्रकारहरुका कुचीले स्वतः नै क्यानभासमा भव्य चित्र लेख्ता हुन् । यस्तो दिव्य सौन्दर्यको रसपान नगरी कोही पनि अगाडि बढ्ने थिएन होला ।”
यसरी फिस्टो चरी आफ्नो कथा भन्दै थिई । उसले अगाडि थपी :

“हाम्रो गुँड सखाप पार्न थालिएको देखेर मैले वनदेवता कुन वेला निदाउँछ भनेर चियो बस्ने अठोट गरें । ऊ निदाएपछि मैले आफ्ना पतिको साथमा मिलेर छिटो छिटो उनको दाह्रीमा नै नयाँ गुँड बनायौं । त्यहाँ कसैले पनि हामीलाई देख्न सक्तैनथ्यो । हाम्रा सम्माननीय वनदेवताको बाक्लो दाह्रीमा घना झाडीमा जस्तै कसैले पनि हाम्रो गुँड देख्न सकेन । त्यतिखेर नै हामीले वास्तविक पारिवारिक सुखको अनुभव गर्न पायौं । दिउँसो आराम लिन भनेर वनदेवता सुतेको मौका पारेर मात्र हामी गुँडबाट उडेर बचेराहरुका लागि चारा खोज्न निस्कन्थ्यौं । त्यतिखेर बचेराहरुलाई पनि रुन र कराउन हुँदैन भनेर कडा चेतावनी दिनेगरेका थियौं । हाम्रा बचेराहरु भनेको खूब मान्दथे र हामी नफर्कुञ्जेल चूप लागेर बसिरहन्थे । उनीहरु न रुन्थे, न कराउँथे, न त गीत नै गाउँथे, न ता चुलबुल नै गर्दथे । हाम्रा बचेराहरु निकै ज्ञानी बनेर हुर्केका छन् । यस्ता बच्चाहरुको आमा बन्न पाउनु पनि सौभाग्यको कुरा हो ।” फिस्टो चरीले गवौक्ति प्रकट गरी ।

“पितृत्व पनि त गर्वकै कुरा हो नि ।” मैले आफ्नी छोरी माशालाई सम्झेर सही थापें ।

“यस कथनप्रति मेरो पूर्ण सहमति छ ।” फिस्टो चरीले समर्थन जनाई । “वनमा हरेकले राम्रो काम गर्ने अवसर पाउँछ । दृष्टान्तको लागि भनौं ः दाह्री पाल्नु र फिस्टो चरालाई त्यसमा गुँड लगाउन दिनु ।”

यसो भन्दा फिस्टो चरीले मेरो दाह्रीतर्फ पुलुक्क हेरी । मैले अलि सतर्क भएर एैनामा आफ्नो मुख हेरें । मेरो च्यूँडोमा बाक्लो दाह्री उम्रिराखेको थियो । म दाह्री खौरन चाहन्नथें, त्यसैले दाह्रीले पनि मलाई निकै मन पराएको थियो र के पूर्व र पश्चिम, के उत्तर र दक्षिण चारै दिशातिर एकैनाससित लम्बिएर फैलिरहेको थियो । यदि संसारमा पाँचौं दिशा हुँदो हो त त्यतातिर पनि अवश्य नै मेरो दाह्री बढेर जाँदो हो ।

“सुन त । मेरा बचेराहरुको निम्ति तिम्रो बाक्लो दाह्रीमा गुँड बनाउन देऊ । त्यहाँ उनीहरु आनन्दसित बस्न सक्नेछन् । यसरी तिम्रो दाह्रीको केही सदुपयोग त हुनेछ । सित्तैमा दाह्री पालेर के फाइदा ?”

मलाई निःशुल्क वनको भाषा सिकाउने फिस्टो चरीले मलाई फुर्काउँदै भनी । अनि ऊ मेरो दाह्रीतर्फ फुर्र उडेर आई र ठुंगले बिस्तारै मेरो दाह्रीको रौं मिलाउन लागी ।

“तिम्रो प्रस्ताव नै अलि अप्ठेरो खालको छ ।” मैले अकमक्क परेर टिप्पणी गरें । ” दाह्रीमा न गुँड बनाउन मिल्छ, न त धेरै तला भएको घर नै निर्माण गर्न सकिन्छ ।”

“संसारमा बाच्नु भनेको पनि त अप्ठेरै खालको छ नि । तैपनि हामी सबै बाँचैकै छौं क्यारे ।” दार्शनिक पाराले फिस्टोचरीले आफ्नो भनाइ राखी ।

“मैलै दाह्री काटेर फाल्ने विचार गरेको छु … ” केही वर्षअघि मेरो मनमा आएको विचार मैलै प्रकट गरें ।

“पर्दैन, पर्दैन ।” एकाएक तीनै बचेराहरु कताबाट हो कुन्नि भुर्र उडेर आए । उनीहरु तँछाड् मछाड् गर्दै भनिरहेका थिए : “हामीले अब आफ्नो परिवार बसाउनु छ । तिम्रो दाह्रीमा तीन कोठा भएको राम्रो घर बनाउन सकिन्छ । हामी त्यसमा मजाले बस्न सक्नेछौं । गँडेउलाको मीठो भोजन खान हामीकहाँ तिमी पनि पाहुना बन्न सक्नेछौ । चाहन्छौ भने तिम्रो लागि हामी गँडेउलाको भुटुवा बनाऔंला, होइन भने गँडेउलाको सुरुवा नै सही । अँ, आलो गँडेउला नै खाने मन भए पनि तुरुन्त खोजेर ल्याई हामी नै तिम्रो मुखमा हालिदिऔंला ।” बचेराहरुले आतिथ्यसत्कारको वचन दिए ।

“धन्यवाद । धन्यवाद । म भोको छैन ।” तर्सेर मेचमा अडेस लिंदै मैले भनें ।

(अनु. कृष्णप्रकाश श्रेष्ठ, २६ जनवरी २००२)

(स्रोत : Freenepal)

This entry was posted in अनूदित कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *