कथा : अमिलो अंगुर

~सुषमा मानन्धर~Shushma Manandhar

किन हो किन, रत्‍नमायालाई आज बिहानदेखि अंगुर खान मन लागेको थियो। यो जाडोमा अंगुर मात्र हैन, उसले कुनै पनि फलफूल मुखमा राखेकी नै थिइन। अक्सर सिजन अनुसारको फलफूलहरु उसले किनेर ल्याइरहेकी नै हुन्थी। आफन्तहरुले पनि यसो भेटघाटमा आउँदा औपचारिकतावश केही न केही ल्याएकै हुन्थे तर अंगुर भने यसपालि कसैले ल्याएका थिएनन्। त्यहीमाथि उसले सँधै किन्ने फलफूलको पसल पनि विगत केही दिनदेखि बन्द थियो।

त्यसैले आज मन्दिरबाट फर्कँदा बाटोमा साइकलमा राखी फलफूल बेच्न बसेको मधेसीसँग उसले अंगुरको लागि निकै मोलभाउ गरी। किलोको सत्तरी भन्दा घटाउनै मानेन। त्यो ठाउँमा बेचिरहने मान्छे अर्को नभएर हो कि कुन्नि उसले रत्‍नमायाको कुरै सुन्न चाहेन। किलोको साठ्ठीमा दिनु भनी ढिपी पनि गरेकी हो। “त्यति त हाम्रै परेको छ साहुनी” भन्दै उसले टेरपुच्छर लाएन। एक पाउमात्र लिने भए त झन पन्ध्र नै पर्ने भन्दै थियो। बाह्रमा दिए आधा किलो लिन्छु भन्दा पनि भाउ घटाउन ऊ टसमस नभएको हुँदा “त्यसो भए आफै खानू” भन्दै रिसाउँदै फत्फताउँदै उसले रहर लाग्दा पोटिला अंगुरका दानाहरु चुकचुक गर्दै छोडेर आई।

उसलाई त्यो अंगुर खुबै लोभ लागेको थियो। बेदाना र रसिला, गुलिया अंगुर उसलाई निकै मन पनि पर्थ्यो। उसले घर आएर सोची, पन्ध्रै रुपियाँमा भए पनि बरु एक पाउ अंगुर किन्नु पर्थ्यो। अंगुरको तलतल आज त बिछट्टै भएको थियो। यो सकसक निकै बढेकोले उसले श्रीमानलाई अंगुर किन्न बाहिर जान अनुरोध गरी।

कोठामा बसी टि.भी.मा हिन्दी फिल्म हेर्दै गरेका उसका श्रीमान बेखामान “म्हाँ, गन पिहाँ वनेगु ! ” भन्दै बाहिर जान चाहेनन्। पुरानो फिल्म भनेपछि साह्रै क्रेजी उनी, हेर्ने लोभ उनी छोड्नै सक्दैनन्। आफ्नो श्रीमानको फिल्मी मोह देखेर रत्‍नमाया फिस्स हाँसी, “हरे ! लोग्नेमान्छे भएर पनि ….।” उसले त राती धन्दा सकेर एकछिन यसो सिरियल हेर्ने हो, त्यो पनि पूरा कहिल्यै हेर्न सक्दिन, निद्राले छोपिहाल्थ्यो। बेखामान डेग नचल्ने भएपछि उसले आफै किन्न जानु पर्ला भनी झ्यालबाट हेर्दा अंगुर बेच्ने मधेसी हिँडिसकेको थियो। पछि घरको कामधन्दामा यताउता अल्मलिएर उसले बिहानको कुरा बिर्सी पनि।

हप्तामा आउने एक दिन विदामा पनि उसलाई फूर्सद हुँदैन। शनिबार झन् त्यो काम, यो काम … पाहुना पासा… नुहाइधुवाइ र सरसफाइ गर्नै पर्‍यो, झन बढी थकाइ लाग्ने।
खाना खाएर लुगा धुन भनी ऊ कपडाको ठूलो रास लिएर तल चोकमा ओर्ली। पछिल्लो हप्ता धुन नपाएकीले थुप्रिएका लुगाहरु उसले एक्लैले धुने आँट गर्न सकिन। अलि बढी काम गर्‍यो कि उसको आङ करकर दुख्ने गर्छ अनि रातभर सुत्‍न सक्दिन। झन् यो पत्थरीको अपरेशन गरेदेखि त ढाड दुख्‍ने रोगले जरै गाडेको छ। त्यसैले उसले आज पनि छिमेकी कान्छीलाई डाकेर सँगै लुगा धुन थाली। घरमा अघिपछि पनि अलि बढी काम भएको बेला ऊ कान्छीलाई डाक्ने गर्थी। काम गरिदिए वापत खाजा ख्वाउने र केही पैसा पनि दिने गरेकीले कान्छीले बोलाउँदा “नाई” भन्दिन।

“बुझ्यौ कान्छी, म त निहुरिएर कामै गर्न सक्दिन, ढाडै भाँच्चिएला जस्तो हुन्छ।” रत्‍नमायाले कपडामा साबुन घोट्दै भनी।

“आ ! दिदीले पनि के कुरा गर्नु भएको, हेर्दा त्यस्तो मोटोघाटो देखिनु हुन्छ।” कान्छीले पत्याइन।

“मोटो भनेर हुन्छ र ! म त ठूलो र गाह्रो काम गर्ने आँटै गर्न सक्दिन। झन् अपरेशन पछि त… कुरै नगर। सँधै तागतिलो चिज खान पाए पो हुन्छ। तिम्रो भिनाजुको तलब उही हो। उसमाथि अहिले फलफूलको भाउ काँ छुन सकिन्छ र ?” उसलाई आज बिहानको अंगुरको सम्झना भयो।

“व ला , खः ! ” कान्छीले मुन्टो हल्लाउँदै सकारी।

“ल कान्छी, अलि छिटो छिटो गर। घाम जाला फेरि। एकछिन भएपनि आङ तताउनु पर्छ। बाह्र नाघ्न पा’ छैन, हावा चलिसक्यो हेर त। ” घामका किरण छेलिएका बादल हेदै रत्‍नमायाले भनी।

दुबै जना मिलेर छिटोछिटो लुगा धुन सकाए उनीहरुले। कान्छीलाई लुगा कौसीमा ल्याउन अह्राइ। ऊ भान्छामा लागी। उसले खाजा तयार गरिसक्दा लुगा पनि सुकाउन सकियो। कान्छीलाई खाजा राखीदिई उसले। अनि सुस्ताउन घाममा बसेकी मात्र के थिई, कोठामा सुताएको छोरा रोएको सुनेर ऊ दौड्दै कोठामा आई। बेखामान छोरालाई फकाउँदै थिए। ” य पुता ! भोक लाग्यो ?” उसले छोराको गालामा च्वाक्क म्वाईँ खाई अनि छोरालाई बोकी श्रीमान अघि लाएर ऊ पनि माथि खाजा खान जान भरेङ चढी। त्यही बेला तल कलबेल बज्यो। झ्यालबाट हेरी। उसका टाढाको साइनो पर्ने नन्द र ज्वाईँ रहेछन्, अलि बढी नाटीकुटी गर्नु पर्ने।

“ए, नानी पो ! माथि आउनु नि, ढोका खुल्लै छ।” शनिबार भनेर उसले कपालसम्म पनि कोरेकी थिइन। साँच्ची भन्ने हो भने कुनै बेला त विदाको दिन ऐनासम्म पनि हेरिँदैन। उसले हत्तपत्त नमिलेको कपाल सम्याई। “विदाको दिन झन कपाल कोर्ने फुर्सदसम्म पनि हुँदैन भने हेर्नुस् न।” उसले नन्दले गिज्याउली भनेर पहिल्यै भूमिका बाँधेर ठीक्क पारी। “सबैको त्यस्तै हो भाउजू। आज यता नेपाली फिल्म हेर्न आएका। बेला भै नसकेकोले भाउज्यूकहाँ पसेको, नआएको पनि त धेरै भैसकेथ्यो। अनि सत्र्चै त हुनु हुन्छ हैन ?”

“खै के सञ्चै भन्नु। ढाड दुख्छ। बुढेसकाल लाग्यो जस्तो छ।” उसले बेखामानतिर पुलुक्क हेरी। “अँ, भाउज्यू पनि। हामी त धेरै बेर बस्न भ्याउँदैनौ है भाउज्यू , हिंडिहाल्छौं। फेरि फिल्म छुट्ला हाम्रो।” नन्दले खित्का छाडी। “कहिलेकाहीँ मात्र आउने, त्यो पनि यस्तो हतार।, एकैछिन भए पनि बसौं, आउनुस् न। “उसले सोफा माथि थन्कयाइएका लुगाहरु हटाउँदै भनी। नन्दले हातमा बोकेका दुइ तीनवटा प्लाष्टिकका झोला झ्यालमा अडाइ र पर्सबाट एउटा क्याडबरी चकलेट निकालेर रत्‍नमायाको छोराको हातमा राखिदिँदै भनी , “कस्तो हिसी परेको यो बाबु। ” “आ… किन चकलेट ल्याइदिनु पर्‍यो, चाहिने हो र? बच्चाको बानी बिग्रिहाल्छ नि।” उसले औपचारिकता निभाई।

नन्दले ल्याएका प्लाष्टिकका पारदर्शी झोलाभरी स्याउ सुन्तला र अंगुर खाँदिएका थिए, उसको मुख रसायो। अघिसम्म बिर्सिएको अंगुरको तिर्सना फेरि जाग्यो उसमा। आज चैं अँगुर खान पाइने भो, द“ग परी ऊ। “बस्दै गर्नु है।” ऊ खाजा ल्याउन भान्छातिर लागी। ढाड भसक्कै दुखेको थियो तैपनि छिटो छिटो छ्वयला साँधी उसले। “केही बनाउन भ्याइन है मैले त।” नन्द ज्वाइँको सामु चिया खाजा राखिदिंदै उसले भनी। “ओहो भाउज्यू, किन दुःख गर्नु भयो ? चिया मात्र बनाउनु भएको भए पनि त पुगिहाल्थ्यो” नन्दले रिकापी तान्दै भनी। ऊ हाँसी मात्र। उसको आँखा अगाडि अंगुरको झुप्पा आइरह्यो। खाजा खाई सकेर ढिला भयो भनी नन्द ज्वाइँले बिदा मागे। ” आउँदै गर्नु न है। ” उसले पनि जुठा कप रिकापीहरु सोहोरी भान्छामा पुर्‍याई। तल ओर्लँदा उनीहरु गैसकेका थिए। रत्‍नमायाले आफूहरुले पनि खाजा खाइसकेर कुचो लिई कोठा चटक्क बढारी। तर अघि झ्यालमा अड्याइएको फलफूलको पोका उसले देखिन। दराज मुन्तिर माथि, टि.भी. निर, टेबुलमा सबैतिर खोजी तर अंगुर भेटिएन। श्रीमानले पो कतैतिर राखिदिए कि भनी उसले बेखामानसँग सोधी पनि, ” हैन, अघि नानीले ल्याउनु भएको अंगुर कहाँ राख्नु भयो ?”

“के कुरा गरेकी, म के जानुँ ? उसले ल्याएकी अंगुर, उसैले लगी नि।” बेखामान हाँसे। श्रीमान हाँसेको पनि मन परेन। उसलाई साह्रै नरमाइलो लाग्यो। नन्दले कोसेली ल्याइदिएकी भन्ने सोचेकी थिइ उसले तर त्यो त शायद उनीहरुले आफैलाई किनेका रहेछन्। बिहान देखिको अंगुरको तलतल र अहिलेको खिस्रिक्कपनाले उसको मन कुँडियो। उसले मनमनै सोची, देख्दा पनि हरियो र सानो सानो गेडा भएको त्यो झुप्पाका अंगुर पक्कै पनि अमिलो थियो। ठीकै भयो नन्दले नछाडेकी।

August 24th, 2008

(स्रोत : माइ संसार डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.