नाटक : दृश्य – तीन

~अप्सरा अज्ञात~

(साँझ ७ बजे, प्राचार्य कृष्णको निवासको एक बैठक कोठामा एक्लै बसेर कापीमा लैख्दै हुन्छ। घण्टी बज्छ र एकजना व्यक्तिको प्रवेश हुन्छ।)

श्याम मगर: नमस्कार प्राचार्यज्यू ! शुभकामना र बधाई छ ! मेरो नाम श्याम मगर हो, हजुर ! म एउटा क्याटरिङ चलाउँछु र यस विद्यालय र कलेजको स्थापना दिवस, पुरस्कार कार्यक्रम, पिकनिक अर्थात् वनभोज, बिदाइ र स्वागत समारोह आदि कार्यक्रममा पहिलेदेखि सेवा गर्दै आएको हुँ। अब हजुरको कार्यकालमा पनि हामीले विद्यालय परिवारको सेवा गर्न पाए धन्य हुने थियौं।

प्राचार्य: पहिले त केही गुनासो थियो नि तपाईँको सप्लाईको मिठाइ, मासु, निम्किन, फलफूल आदिमा?

श्याम मगर: होला हजूर, हामीबाट कुनै गल्ती हुँदैन कल्पना म गर्न सक्दिनँ। तर मैले कहिलेकाहीं केही शिक्षकहरूको र कर्मचारीको समेत माग पूरा गर्नुपर्ने हुँदा कमी–कमजोरी हुन गएको होला। के गर्नु हजुर हामीले पनि २–४ पैसा नाफाकै निम्ति काम गर्छौं, अब प्राचार्यज्यूको पालामा हामीबाट कुनै गल्ती हुनेछैन। बरू हजुरको केही शर्त वा इच्छा मर्जि होस्।

प्राचार्य: अहँ, अहँ, मेरो केही सर्त र इच्छा छैन, अब तिमी गए हुन्छ।

(श्याम ‘नमस्ते’ गर्दै बाहिर जान्छ, नयाँ मान्छे प्रवेश गर्छ।)

राजन कोजू: नमस्कार, हजूर। मेरो नाम राजन कोजू हो। यस जिल्लाको पुस्तक बिक्रेता र शैक्षिक सामग्री सप्लायर हुँ। शिक्षालयको पुस्तकालय, पुरस्कार र शिक्षकहरूको रेफरेन्स बूकहरू तथा विज्ञान प्रयोगशालासम्बन्धी सबै अपार्टसहरूको सप्लाई गर्छु र गर्दै आएको छु। समय–समयमा केही शिक्षक र कर्मचारीहरूसँग सल्लाह गरी काम गर्दै आएको छु। सम्मान, पदक र उपहार वा मायाको चिनोसमेत हामी सबै बनाउँछौं, परीक्षा वा परीक्षा समितिका प्रश्नपत्रहरू, परीक्षाफल र प्रमाणपत्र, निमन्त्रणा कार्ड आदि सबै छपाइको काम पनि गर्छौं। (ब्रिफकेशबाट केही उपहार झिक्दै) हाम्रा केही उपहार र नमुनाहरू !

प्राचार्य: बुझें, उपहार र नमुना विद्यालयमै लानुस्, त्यही कुरा गरौंला (राजन कोजू ‘नमस्ते’ भन्दै बाहिरिन्छ। (नयाँ व्यक्तिको प्रवेश) (नवआगन्तुकभित्र पस्छ ‘नमस्ते’ गर्दै आफ्नो परिचय दिन थाल्छन्।)

नवआगन्तुक: बधाई छ, प्राचार्यज्यू ! मेरो नाम डा. कोजू हो। म केही वर्षदेखि एक अस्पतालमा काम गर्दैछु। अन्य विद्यालय र महाविद्यालयमा स्वास्थ्य शिविर चलाउँदै आएको छु। दिसा–पिसाब, रगत र अन्य सामान्य परीक्षणदेखि महिला र छात्राहरूको स्तन क्यान्सरबारे जानकारी पनि दिंदै आएको छु। प्राचार्यज्यूले स्वीकृति प्रदान गर्नुभए म आफ्नो टीम लिएर एक हप्ताभित्र शिविर चलाउँछु।

प्राचार्य कृष्ण: डाक्टर ! तपाईंको ठेगाना कहाँ हो?

डा. कोजू: म यही जिल्लाको नागरिक हुँ, मेरो नगर र गाविसमा पनि घरहरू छन्। यसकारण म २–३ ठाउँको ठेगाना प्रयोग गर्छु।

प्राचार्य: डाक्टर, परिवार अर्थात् बुबाको नाम के हो? सम्भवत: म पनि चिन्छु होला ! (जिज्ञासा देखाउँछ।)

डा. कोजू: मेरो ससुराको नाम हो – बाबु सुवाल र मेरी श्रीमतीको नाम हो – सुन्दरी सुवाल।

प्राचार्य: मैले ससुराको नाम होइन, तपाईंको बुबाको नाम सोधेको हुँ, चिनेजानेकै नाम हो कि भनी ! डा. कोजू: मेरोे बुबा त यस जिल्लाको नाउँ चलेकै साहु हुनुहुन्छ, उहाँ त यस जिल्लाको सुरूकै घर–जग्गामा कारोबार जसलाई अङग्रेजीमा रियल स्टेट भनिन्छ – त्यसकै एजेन्ट हुन्। उहाँको राजनैतिक छवि त देशका चारै शासक दलसँग सम्बन्ध छ र सबै शासक दल सरकारमा हुँदा आर्थिक सहयोग गर्नुहुन्छ, कति स्थानीय राजनैतिक कार्यकर्ताहरू हाम्रै बुबाबाट पालिएकै छन्। हाम्रो बुबा स्वास्थ्य क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ, क्षयरोग, क्यान्सर, आदि।

परोपकार संस्थामा सक्रिय हुनुहुन्छ र कति निजी अस्पतालहरूमा पनि लगानी गर्नुभएको छ, पत्रपत्रिका पनि सम्पादन गर्नुहुन्छ। कति पत्रकार मित्रहरूलाई आर्थिक सहयोग गर्नुहुन्छ।

प्राचार्य: डाक्टर, तपाइँको बुबा त बहुआयामिक व्यक्तित्वका धनी हुनुहुन्छ, सुनेर खुसी लाग्यो, तर बुबाको नाम त भन्न बिर्सनुभयो।

डा. कोजू: म सधैं बुबालाई आदरपूर्वक ‘अब्वा’ ले सम्बोधन गर्छु। जसरी पहिले श्रीमतीहरूले आफ्नो श्रीमान्को नाम लिंदैनन्, त्यस्तै म बुबालाई ‘अब्वा’ नै भन्छु। म कान्छी आमाको छोरो हुँ। त्यसो त जेठी, महिला माँ र साहिली माँका छोरा–छोरी अथवा मेरो अरू पनि दाइ र दिदीहरू हुनुहुन्छ। हाम्रो परिवार ठूलो छ।

प्राचार्यज्यू, मैले जिल्लाको झण्डै एक चौथाइ विद्यालय र कलेजहरूमा स्वास्थ्य परीक्षण गरिसकें, कुनै पनि हेड्सर र प्राचार्यज्यूहरूले मेरो व्यक्तिगत र पारिवारिक पृष्ठभूमि कहिले सोध्नुभएन।

प्राचार्य: ए ! त्यसको पनि कारण छ कि?

डा. कोजू: हरेक स्कूल र कलेजमा मेरा सहपाठी, साथी र शिक्षक साथीहरू छन्। कति ठाउँमा मैले कर्मचारीहरूलाई पनि प्रयोग गर्ने गर्छु।

प्राचार्य: यी सबै गतिविधि गर्न व्यक्तिलाई त गार्‍हो हुन्छ, तपाईंले कसरी आर्थिक सहयोग मिलाउनुहुन्छ?

डा. कोजू: एउटा अस्पतालसँग मेरो सम्बन्ध छ र अस्पतालको व्यवस्थापन समितिका अध्यक्ष, सदस्यहरू र मेरो एउटै राजनैतिक पार्टी भएकोले मलाई सजिलो छ। केही विदेशी चन्दा पनि आउँछ, अनि हामीसँग मिल्ने अन्य डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरूलाई पनि अलि अलि आर्थिक सहयोग गरी काम लिन्छु।

प्राचार्य: स्वास्थ्य शिविर गर्दा स्थानीय जनता र विद्यालयहरूले नै आर्थिक खर्च व्यहोर्ने होइन र?

डा. कोजू: हामीले त हामीलाई सहयोग गर्ने व्यक्तिहरूलाई समेत सहयोग गछार्ंै, त्यसैले हाम्रो विषयमा खोजखबर गर्दैन। यस शिक्षालयमा पनि यहाँका स्टाफहरूसँग मेरो सम्बन्ध छ।

प्राचार्य: ए ! डाक्टर कोजू, त्यसो भए म सञ्चालक समिति र स्टाफ बैठक राखेर निर्णय गर्छु, अनि तपाईंलाई खबर गर्छु।

डा. कोजू: सञ्चालक समितिसँग सल्लाह गर्नुपर्दैन होला, प्राचार्यज्यू !

प्राचार्य: यो मेरो मामला हो, तपाईं अहिले जान सक्नुहुन्छ। (डाक्टर नमस्ते गर्दै बाहिर निस्कन्छ ) हरेक क्षेत्रमा दलालहरू सक्रिय छन्। मेचबाट दिक्क मान्दै उठ्छन्।

(पर्दा खस्छ)

प्रेम खत्री: प्राचार्यज्यू, नमस्कार र बधाई ! म पेशाले एक विज्ञान शिक्षक र कम्प्युटर सेन्टरको मालिक हुँ। म विद्यालय र क्याम्पसहरूलाई चाहिने कम्प्युटर पनि सप्लाई गर्छु।

प्राचार्य: पहिले तपाईं कुन विद्यालयको शिक्षक हुनुहुन्थ्यो !

प्रेम खत्री: प्राचार्यज्यू, मूलतः एक विज्ञान शिक्षक थिएँ, मैले भौतिक शास्त्रमा एमए गरें। पछि साथीहरूको सल्लाहअनुसार निजी विद्यालय खोलें, हजुरलाई थाहै छ – समाज पिछडिएको हुँदा नाफा वा आम्दानीको विषयलाई लिएर आपसमा मेल भएन, विद्यालय नै बेच्नुपर्‍यो र मैले मावि खोलें। मैले त्यस माविबाट वर्षको २२ लाख कमाएँ।

प्राचार्य: होइन विद्यालयबाट एकजना हेडसरलाई कसरी वर्षमा २२ लाखको आम्दानी हुन्छ?

प्रेम खत्री: निजी विद्यालय अहिले व्यापार हो–प्राचार्यज्यू, शिक्षा प्रचार होइन। कुनै कुनै विद्यालयको खेतबारी, घर सबै जोडिसकें, त्यसैले त नाफाकै निम्ति हाम्रो देशमा विदेशी विद्यालय र महाविद्यालय खुल्दैछन्, शिक्षकहरूलाई तलब कम र सुविधा कम दिने, विद्यार्थीहरूसँग बढीभन्दा बढी अनेक शुल्क लिने, ड्रेस, खेलकुद शुल्क, बस र झिलिमिली सेवा देखाउने, अनि पैसा कमाउन के चाहियो र !

प्राचार्य: अनि फेरि व्यापारी कसरी बन्नुभयो?

प्रेम खत्री: विद्यालयमा शिक्षकहरूले हड्ताल गरंे, फेरि विद्यालय बेच्दै गरे, पछि मैले एक इञ्जिनियरिङ्ग कलेजमा चिनजानको क्याम्पस प्रमुखमार्फत् बसें, चाहिने सबै कम्प्युटर र सामान सप्लाई गरें, क्याम्पस प्रमुखलाई व्यापारको पार्टनर बनाएर व्यापारी बनें।

प्राचार्य: त्यसो भए प्रेम सर त बहुप्रतिभासम्पन्न व्यक्तित्त्व हुनुहुन्छ हगि !

प्रेम खत्री: मेरो व्यक्तित्त्वको तारिफमा धन्यवाद दिन चाहन्छु। प्राचार्यज्यू, हजुरको विद्यालय र माथिल्लो कक्षाको निम्ति कम्प्युटरको आवश्यकता म पूरा गर्नसक्छु। मैले तपाईंको एकाउन्टसँग सोधें, यसपालि कम्प्युटरको निम्ति २०–३० लाख रूपैयाँ रहेछ, मैले तपाईंको स्टोरकिपरलाई नयाँ घर बनाउने सहयोग पनि गरेको थिएँ। प्राचार्यज्यू, म सबैलाई सहयोग गर्दै सहयोग लिने गर्छु। (ब्रिफकेशबाट दामी ब्राण्डीको बट्टा निकाल्दै) प्राचार्यज्यू, शिक्षाको काम सार्‍है तनावपूर्ण हुन्छ, शिक्षक, स्टाफ, कर्मचारी, विद्यार्थी, अभिभावक आदि सबैसँग व्यवहार गर्दा थाक्नु स्वाभाविक हो तर, मेरो तर्फबाट हजुरको रिलिफ वा राती शुक्लाभन्दा पहिले आरामको निम्ति एक–दुई पेग लगाउँदा शरीर र स्नायुको निम्ति उपयुक्त नै हुन्छ।

प्राचार्य: यो उपहार भोलि विद्यालयमै ल्याउनु खत्री जी, कम्प्युटर खरिदको निम्ति सञ्चालक समितिमा राख्नुपर्छ।

प्रेमखत्री: सञ्चालक समिति र त्यसको अध्यक्ष त नाउँको मात्रै न हो, त्यसलाई त काठमाडौं उपत्यकामा ‘बुँख्याचा’ भनिन्छ। सोझो, लठेब्रो र हेडसरहरूको निर्णयमा सही गर्नेहरू त हुन् नि। हेडसर र प्राचार्यहरू त सार्वभौम अधिकार प्राप्त ठूलै व्यक्ति हुन् नि ! बरू सरले एक दुईजना शिक्षक–शिक्षिका पनि नियुक्ति गर्नुहोला, हजुरलाई सहयोग मिल्छ। अहिले गुटबन्दी नगरी केही हुन्न। सरकार त भागवण्डामा चल्छ।

प्राचार्य: लौ, अब केही कुरा गर्नुपर्‍यो भने घरमा होइन, विद्यालयमै आउनुहोला। (श्रीमती प्राचार्यको प्रवेश, प्रेम खत्री उठेर)

प्रेम खत्री: नमस्कार म्याडम्, प्राचार्यज्यूसँग राम्रै कुराकानी भयो, म्याडमको पनि सहयोग चाहिन्छ।

म्याडम: हो, हो, उहाँ सार्‍है राम्रो व्यापारी हुनुहुन्छ, साथै एक इञ्जिनियरिङ कलेजमा पनि सक्रिय हुनुहुन्छ। उहाँसँग मैले एउटा ल्यापटपको कुराकानी गर्दैछु।

प्राचार्य: लौ त खत्रीजी विद्यालयमै आउनुहोला, सञ्चालक समिति, विद्यालयहरू र अध्यक्षज्यूहरूप्रति तपाईंको दृष्टिकोणबारे एउटा गोष्ठी नै राखौंला।

प्रेमखत्री: (अलि अँध्यारो मुख लाउँदै) हवस् त हजुर समय दिनुभयो, धन्यवाद ! नमस्ते बिदा।

(बाहिर जान्छ)

म्याडम: के हजुर उनीसँग कुरा मिलेन?

प्राचार्य: विद्यालयको बैठकमै छलफल होला र मिल्छ नि !

म्याडम: हजुर कस्तो मानिस होइसिन्छ ! प्राइभेट कुरा पनि कार्यालयमा गर्नुहुन्छ?

प्राचार्य: कार्यालयमा पनि खुला र गुप्त सबै कुरा हुन्छ। कलेज र विश्वविद्यालयमा पनि षड्यन्त्र, अनियमितता र भागवण्डा हुन्छ।

म्याडम: बाहिर को? (म्याडम बाहिर जान्छिन् र नवआगन्तुकको प्रवेशसँगै म्याडम पनि)

सीता: बधाई छ भिनाजू ! अब तपाईंले नयाँ जाँगरका साथ उच्च मावि र कलेजलाई पनि नयाँ मोडेलमा प्रगति गर्नुपर्छ, बरू हामी पनि सहयोग गर्छौं। कुनै पनि कामलाई सफलतामा पुर्‍याउन टीमवर्क नभई हुन्न, जहाँ पनि पछाडिबाट खुट्टा तान्ने मान्छे हुन्छ, यसकारण आफ्नो मान्छे घुसाउनैपर्छ, भिनाजू। विज्ञान, गणित र अङ्ग्रेजीका राम्रा शिक्षकहरू मेरा साथीहरू छन्, अहिले काम गरेको ठाउँमा पाउने तलबभन्दा एक–दुई हजार बढी दिएपछि आइहाल्छन्, यता।

अहिले हाम्रा शिक्षक र प्राध्यापकहरूमा सिद्धान्त, कर्तव्य, अडान, प्रतिबद्धताजस्ता भावना कहाँ पाइन्छ र ! उपत्यका बाहिरका सबैजस्तो शिक्षक, प्राध्यापक र कर्मचारीको मुख्य उद्देश्य नै काठमाडौंमा एउटा घर बनाउने हुन्छ, २–४ विद्यालय, कलेज वा अन्य ठाउँमा छोडेर त्यसैको निम्ति ज्यान फाल्छ। नगरूँ पनि किन, फेरि गाउँमा फर्केर के गर्ने? कम्युनिष्ट देशमा जस्तै सबैलाई आवासको बन्दोबस्त सरकारले गर्दैन !

प्राचार्य: आफ्नो नाता–गोता वा भाइ–भतिजाले विद्यालय भर्दा अरूले भन्दैन? हामी एकातिर सामन्तवादको विरोध गर्ने काम फेरि त्यही गर्न मिल्ला सीता?

म्याडम: हजुरको कुरै यस्तो? एउटा क्याम्पसमा भाइ–बुहारी, छोरा, ज्वाइँ, छोरी गरी ५–६ जना एउटै परिवारको सदस्य कार्यरत क्याम्पस छैन यही जिल्लामा? शिक्षा क्षेत्रमा मात्रै हो र? सबै ठाउँमा त्यस्तै हो !

सीता: अँ, भिनाजू रेडियो नेपालदेखि सिंहदरबारका मन्त्रालय र विश्वविद्यालयमा समेत कोइराला थिए, अधिकारी प्रधानमन्त्री हुँदा सबै ठाउँमा अधिकारी, दाहाल, माधव नेपाल, भट्टराई, खनाल सबैको पालामा त्यस्तै हो। कोही आफ्नै छोराछोरीलाई राज गराउने, कोही आफ्नै भाइ–भतिजालाई गर्नै नहुने ठाउँमा प्रमोसन गर्ने, कोही खानेपानी, नास्ट, लोकसेवा आयोग आदि सबै ठाउँमा आ–आफ्ना सालासाली, दिदी बहिनी आदि भएभरको पद भर्ने, कसैले खनालै खनाल घुसाए भने हामीमात्रै किन आदर्शवादी बन्ने? २५०० छात्रछात्रा भएको यस्तो विद्यालयमा हजुर एक्लैले सम्हाल्न सक्नुहुन्न।

प्राचार्य: अरूले खराब काम गर्दैमा हामीले पनि झनै खराब गर्नुपर्छ भन्ने छैन सीता, नत्र हामी र अरूमा के फरक?

सीता: भिनाजूको सिद्धान्त र विचारको म कदर गर्छु, तर व्यवहारिक पनि बनाउनु पर्‍यो भन्ने हाम्रो जिकिर हो – भिनाजू ! यहाँ त कत्ति विद्यालयमा शारीरिक तन्दुरूस्तीको निमित्त खेलकुदको कोच राखेर विद्यार्थी फूर्तिलो बनाइयो, ती नै कोचहरू महँगा कलेजहरूमा पनि खेलकुद शिक्षक बनाएको थाहा नपाउँदा विशेषज्ञता र प्रथम दर्जाका छात्र–छात्रा सबै कलेजहरूकै कारण ती कलेजमा पुर्‍याउने एजेन्टको काम गरे।

प्राचार्य: त्यही त नैतिक प्रश्न उठाउने गर्छ !

सीता: भिनाजु खाली शिक्षा, शिक्षास्तर र शिक्षकको कर्तव्यबारे चिन्ता लिनुहुन्छ – हाम्रो समाज एक एक पाइला गरेर ‘नाफा’को खाडलमा फस्दैछ, जहाँबाट उम्कने बाटै छैन। अहिले म एउटा उदाहरण दिन्छु, – भिनाजु प्राचार्यको नियुक्तिपछि जति पनि मानिसहरू अर्थात् प्रकाशक, स्टेशनरी फर्म, टेलरिङ्ग कम्पनी, सञ्चार संस्था, क्याटरिङ, पुस्तक र शिक्षा सामग्री केन्द्र, कम्प्युटर सप्लायर्स आदि सबै केन्द्रबाट सञ्चालित छन्।

प्राचार्य: कसरी?

सीता: अहिले इँटा भट्टा, घर–जग्गा, खानेपानी, मोटर, ट्रयाक्टर र डोजर सप्लायर्स, म्यानपावर कम्पनी सबैको एउटै सहकारी संस्था र फाइनान्स कम्पनी छ। त्यही कम्पनीबाट स्कूल–कलेजसँग सम्बन्धित सबै व्यापारीहरू सञ्चालित छन्। एकजना घर–जग्गाका दलालले पनि भिनाजूलाई भेट्न आउने सबै संस्था, फर्म र कम्पनीका २–२ लाख रूपैयाँ लगानी गरेको हुन्छ। इञ्जिनियरिङ र मेडिकल कलेजमात्रै होइन विश्वविद्यालयसमेत त्यही चल्दैछ।

प्राचार्य: के यस्तो एकाधिकार पूँजीको रूप नेपालमा पनि पस्यो?

सीता: त्यही हो भिनाजू, नेपालको पूँजीपतिहरूले विदेशमा लगानी गर्दैछन्। (प्राचार्य जिलिन्छन्।)

पर्दा खस्छ।

(स्रोत : श्रमिक साप्ताहिक)

This entry was posted in नाटक and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *