समीक्षा : कोरियाली कविता सिजोको सिर्जना कला

~रामकुमार पाँडे~Ram Kumar Pande

पूर्वीय परम्परामा कविताकै विशेष महत्त्व छ । जप, मन्त्र, प्रार्थनादेखि भजनकीर्तन, सिलोक (श्लोक ?), लोकगीत अनेकौँ प्रकारका पद्य प्रचलित छन् । नेपाली समाजमा काव्य परम्परा उन्नत छ । दार्शनिकदेखि आमोद-प्रमोदमा प्रयुक्त कविता गीतका रूपमा त लोक साहित्यमा विविधापूर्ण छ । कविताले मनोरञ्जन प्राप्ति मात्र नभई भावनात्मक तृप्ति पनि हुने हुँदा युगौँदेखि नेपाली जीवनमा रङ्गरञ्जित छ । स्वर, लयमा सङ्गीतात्मक, भाव र अनुभूतिमा रागात्मकताको उच्चता नेपाली लोककाव्यको विशिष्टता हो । दुःख-सुख, प्रकृति-प्रणय, संस्कार-विकारदेखि रीति र ऋतुको रसानुभूतिले नेपाली जीवन कवितामय बनाएको छ । पूर्वीय साहित्यको काव्य जगत् राजाश्रयबाट फस्टाएको दृष्टान्त जापान, कोरिया, भारत र नेपाल एवं यस क्षेत्रका कतिपय मुलुकहरूको इतिहासमा व्याप्त छ । जापानलाई चिनाउने छोटा शैलीका कविताहरूको जरा यसै परम्परामा हुर्केको देखिन्छ । कोरियाली साहित्यको परम्परा पनि उन्नत छ । मध्ययुगमा कोरियामा काव्यको विशिष्ट महत्त्व थियो । मन्त्री हुन राज्यले लिने जाँचमा कविता रचना मुख्य विषय थियो । शीर्षक दिएर कविता सिर्जना गराइन्थ्यो । राम्रो कविताको रचनाकार नै कर्मचारी बन्थ्यो, बनाइन्थ्यो । कोरियामा कविताको आधारमा मान्छे छान्ने गरिन्थ्यो । देशप्रेम र जीवन दर्शन बुझ्ने माध्यम कविता नै थियो । यसैले यो परम्परा ५०० वर्षभन्दा बढी प्रथाको रूपमा प्रचलित भयो । राष्ट्रिय नेता हुने योग्यताका लागि कविता पूर्वावश्यक विषय थियो । वास्तवमा साहित्यानुरागी र सर्जकको बुद्धिविवेक अलि उन्न नै देखिन्छ । मानवीय मूल्य, मान्यता र अनुराग विशिष्ट नै रहन्छ ।

कोरियाको परम्परामा छोटाखाले कविता ‘सिजो’ ले विशिष्ट पहिचान राख्दछ । सिजोमा कोमलता, मिठास र प्रभावकारिता भएकै कारणले दरवारमा प्रयुक्त भएको पाइन्छ ।

सिजो पनि जापानी हाइकुजस्ता मात्रात्मकरूपमा छोटो रचना हो । हाइकु रचना ५-७-५ अक्षरयुक्त ३ हरफमा गरिन्छ । सिजो पनि ३ हरफमा नै रचना गरिन्छ तर यो भाँचेर ६ हरफमा पनि पार्न सकिन्छ । सिजोको रचना पहिलो हरफमा ३-४-३-४ वा ३-४-४-४ अक्षरयुक्त हुन्छ । दोस्रो हरफमा ३-४-३-४ अक्षर हुन्छ । तेस्रो हरफमा ३-५-४-३ अक्षरका शब्द चयन हुन्छ । सिजोमा ३, ४ र ५ अक्षर लम्बाइका शब्द हुने हुँदा यो हाइकुबाट पृथक छ । यस प्रकार सिजोको हरफ १४-१६ अक्षर गरी पूर्णमा ४२-४६ हुने हुँदा यसको रचना अलि खुकुलो र खुला ढङ्गमा गर्न सकिन्छ । सिजो शब्द चयनमा कसिलो र खँदिलो हुन्छ । सिजोमा श्लेष, सङ्केत आउन सक्छ । शब्दमा खेल्न सकिन्छ । रूपक प्रयोग हुन सक्छ । रूपात्मक भाषा प्रतीकात्मक र खुलारूपमा प्रयोग हुन्छ । अन्तिम हरफमा मोड्ने घुमाउने गरिन्छ । अच्चम्भित पार्ने अर्थ, स्वर, ध्वनि आदि प्रविधि प्रयोग हुन सक्छ । सिजो विषयात्मक र वैयक्तिक हुन सक्छ । यो ठटेउलो पनि हुन्छ । उखानजस्तै मोड लिन सक्छ । शब्दको संयुक्तिले वाक्यांशको उक्ति बलियो बनाइन्छ ।

विविधतापूर्ण विषय अँगाल्ने सिजो मात्रा प्रयोग र विषय व्यप्तिमा उदार छ । प्रेम प्रणय, जीवन, सङ्गीत मात्र हैन, राजनीति पनि सिजोमा समेटिन्छ । प्रकृति र एकान्तिकता उद्वोध हुन्छ । वैयक्तिक, सांसारिक कुरा अभिव्यक्त हुन्छ । वृद्धानुभूति, सोमरसानुभूति यसमा आउँछ । दुःख र आशा कोरियाली जीवनको केन्द्र विषय जसलाई ‘हान’ भनिन्छ, त्यस्ता जटिल र अद्वितीय अवधारणा सिजोमा अङ्गिकृत हुन्छ ।

कोरियाको पारम्परिक कविता सिजोमा हाइकु र गजलको तत्त्व भेटिन्छ । मूलतः सिजो गीत नै हो । धार्मिक र दार्शनिक गीति ढाँचाको सिजो साहित्य जनताबीच पनि लोक कविताका रूपमा गेयात्मक उच्चारण हुँदै रहृयो । सिजो सङ्गीतात्मतायुक्त मानिए पनि यो गीत पनि हो । अतः सिजो भन्नाले ३-६ हरफको काव्यजगत्को ३-४ अक्षरका शब्द चयन हुने छोटो गीत कविता हो । सिजोमा मात्राको महत्त्वभन्दा पनि सङ्गीतात्मकताको महत्ता छ ।

सिजो पहिला शीर्षकविहीन रचना गरिन्थ्यो । सिजो चौथाइ हरफ बाँडे पनि बिराम हुनु जाती मानिन्छ । सिजोमा दोहोराउन सकिन्छ । वाक्यांश एवं पद पुनरूक्ति हुन सक्छ । यो मन्त्र पढेझैँ गर्न सकिन्छ । पाश्चात्य मुलुकको सिजो ३ हरफमा प्रत्येकलाई प्राकृतिकरूपमा भाँचेर ६ हरफमा छाप्ने गरिन्छ । मूलतः अनुवादक एवं कवि स्वयंले परिवर्तन गरेको पाइन्छ । लामो हरफ प्रत्येकलाई विभाजन गरी पुनः औसतमा चौथाइमा परिवर्तन पनि गरिन्छ । चौथाइ विभाजनमा ३-५ अक्षर हुन्छ ।

यसप्रकार सिजो ३ हरफे पङ्क्ति र ६ हरफे पङ्क्ति दुवैमा रचना हुने गर्छ ।

सल्लाहरु बिना । पवन मूक ः छ
पवन बिना । सल्लाहरू अचल छन्
तिमी बिना । मेरो मुटु स्वरहीन छ
त्यो स्वर बिना । मेरो मुटु मृत छ
कस्तो शक्ति । याङ र यिन जोडी छ हामीलाई
हामी सुत्नु अघि ।
(एक अनुवाद)

सिजोलाई गेयात्मक प्रभाव दिन लामो हरफ आधा र चौथाइमा विभाजित गरिन्छ । चौथाइ पार्दा ३-५ अक्षरसम्म हुनपुग्छ । वाक्यांश वाक्पद्धति सूक्तिय हुँदा यो बलियो बन्छ । यसैले केवल मात्रा मात्र सबथोक हो भनिँदैन । सिजोमा सङ्गीतात्मक सम्बन्ध महत्त्वपूर्ण छ । सिजोको वाक्य टुक्र्याइदा बीचको टुक्रामा दुई चिरक -//) र चौथाइ हरफमा एक चिरक -/) ले छुट्याउनुपर्छ ।

कस्तो प्रेमालु । यो स्प्रुस रुख ।।
यसको अङ्ग बोझ । कुमारी हिउँ रक्त रङ्ग ।
रोविनको छाती माथि ।। आकाशे नीलो ।
पर्वतको यस्तो आश्चर्य ।
जुन बुद्धिमान मान्छे ।। अज्ञात छ । उसको स्रष्टा ?
(सिजो फोरमबाट)

हिमालको दक्षिणी भेक काव्यशास्त्रमा सर्वाधिक सम्पन्न छ । यस क्षेत्रमा काव्यको यति महत्त्व थियो कि काव्यको प्रभावले विकृति कुलेलम ठोक्छ भन्ने गरिन्थ्यो ।

यस क्षेत्रका राजाहरूले आफ्ना दरबारमा कवि सम्मेलन आयोजना गर्थे । यो एक प्रकारले नियमित हुने राजसभा नै थियो । यो सभा कवि जाँच्ने कसी पनि हुने गर्थ्यो । भाषा, भाव र अभिव्यक्तिमा मूल्याङ्कन हुन्थ्यो । अप्ठेरा अक्षर र उच्चारण र मर्यादाको ख्याल गरिन्थ्यो । यो परम्परा मासिँदै अविकसित देशमा साहित्य अराजक भएको मात्र हैन राजनेताहरू यसबाट वञ्चित बन्दै गएबाट रुखासुखा र निर्बुद्धिले आफैँ अवमूल्यन हुँदै गए । नेपालमा साहित्यमा रुचि राख्ने नेताहरू अत्यन्तै न्यून छन् । त्यसैले तिनका हृदय कठोर र दिमाग अन्धकार भएर व्यवहार एवं बोलीवचनमा मिठास भेटिन्न । नेपाली शिक्षा र व्यवहारले पाश्चात्य शैलीको बाटो लिएपछि नै आफ्ना मौलिक परम्परा र विशेषतापूर्ण पहिचानका धरोहर विकृत बन्दै गए तर एसियाकै कतिपय मुलुकमा ऐतिहासिक आरोह-अवरोह र उथलपुथल हुँदासम्म आफ्ना पहिचानका सम्पदा अडिग रहे । आधुनिकीकरणको चरम उत्कर्षमा पुगे पनि जापानले हाइकुलाई विश्वव्याप्त बनाउन बचाइरहेछ र विकास बढाइरहेछ । कोरियामा पनि आन्तरिक विद्रोह, जापान (१८७१) मङ्गोलियाको अतिक्रमण ग्रस्त भएपछि मौलिकता निस्तेज पार्ने प्रयास भयो । जापानी शैली अपनाउन बल गरियो । कविहरू जङ्गल पुगेर पनि आफ्ना कलालाई सेन्सरबाट बचाउन र आफ्नोपन जीवित राख्न प्रयत्नशील रहे । नेपालमा पृथ्वीनारायण शाहले काठमाडौँ कब्जा गरेपछि सांस्कृतिक परम्परा यथावत राखे तर आधुनिक नेपाल विदेशीले पूर्ण पाश्चात्य प्रभावका लागि शिक्षामा आफूखुसी परिवर्तन गरे । फलस्वरूप, हाम्रा वर्तमान पिँढी नेपाल र नेपाली चिनाउने मौलिक कुराहरू नअँगाली बाहिरबाट बिग्रेको प्रयोग आयात हुँदै गरेको छ । मानव समाज र सभ्यता विकासमा राम्रा कुरा संसारबाट सिक्नु र प्रयोग गर्नु राम्रो कुरा हो । जुन विकसित देशमा देखिन्छ तर कुनै पनि देशको राम्रो कुरा नक्कल गरे पनि देश, काल, परिस्थिति सुहाउँदो र मिल्दो हुनु वाञ्छित छ । त्यो पनि विकृतरूपमा प्रयोग हैन, राम्ररी पहिचान गरी प्रयोग भएमा त्यसले समाजलाई हित नै गर्नेछ । यसै सन्दर्भमा गजल र हाइकुको नेपालमा राम्रै विकास भएको छ तर हाइकु र गजल दुवैको खँदिलो काव्यात्मकता र गीतात्मकता भेटिने कोरियाली सिजो धेरै पछि मात्र नेपाल भित्रेको छ ।

सिजो हाइकुजस्तो देखिए पनि यो हाइकु होइन । कोरियाली मौलिक भाषामा सिजोको सुन्दरता मोहक र अद्वितीय छ । यो अनुवाद गर्न कठिन छ । कुशलहस्तीको शिल्पशैलीमा यसको उच्चता बुझिन्छ । शब्द चयन कसिलो र खँदिलो हुन्छ । उक्ति वैचित्र्य र भावको गहनताले सक्कली सिजो सुन्दा दर्शक मूक वाचाल बन्छन् । यसले मोहित पार्छ । शब्दले सङ्गीत सिर्जना गर्ने सिजो गणितीय सूत्रमा पूर्ण हुन्छ । यो अति सुन्दर वस्तुपरक काव्य ढाँचा प्रस्तुति र अभिव्यक्ति हो ।

अङ्ग्रेजीमा यो लेख्न कठिन छ । अङ्ग्रेजीमा आन्तरिकरूपमा गेयभाव भए पनि रमाइलो पङ्क्ति मात्र सिर्जना हुनसक्छ । विदेशी सिजोले प्रभाव त पार्छ तर कोरियाली मौलिक सिजोले झैँ प्रभाव दिँदैन । कहिलेकहीँ हाइकु र सिजो अङ्ग्रेजीमा उस्तैउस्तै देखिन सक्छ तर नेपाली भाषा देवनागरी र संस्कृतको भण्डारले सिजो दरिलो, भरिलो, र झरिलो बन्न सक्छ । सिजो संरचनात्मक हो, यो खुला कविता हैन । कसेर बुनेको ३ हरफ लामो भए पनि यो हाइकुभन्दा फराकिलो, मीठो र बलियो संरचनामा उत्रने पद्यको विशिष्ट माध्यम मान्न सकिन्छ । अर्थ प्रत्येक शब्दमा र अक्षरको ध्वनिमा प्रवाहित हुन्छ ।

प्रारम्भमा प्रत्येक हरफमा सामान्यतः १४ -१६ र सम्पूर्णमा ४२-४६ अक्षरभित्र मात्रालाई हैन भावलाई बढी महत्त्व दिई सिजो सिर्जना भयो । पछि सिजोको मात्राभित्र रही पहिलो हरफमा ३-४-३-४ वा ३-४-४-४ गरी ३ र ४ अक्षरका शब्दाङ्कन दोस्रो हरफमा ३-४-३-४ र तेस्रोमा ३-५-४-३ अक्षरका शब्दको संरचनामा सिजो निर्माण गर्दा केही फरक स्पष्ट देख्न सकिन्छ । कविताको सार यस प्रणालीमा ५ अक्षरको शब्दले कथा मोडिन्छ र पाठकलाई उत्तेजित प्रभाव वा जादुपूर्ण प्रभाव दिइन्छ । खुला र कसिलो परम्पराको सिजो अभिव्यक्तिमा विम्ब प्रदान गर्दै प्रभावपूर्ण बनाउन नेपाली भाषामा अङ्ग्रेजीमा जस्तो अप्ठेरोमा नपर्ने स्पष्ट हुन्छ । यस पङ्क्तिकारको पहिलो रचना २०६४, फागुनमा प्रकाशित भएको थियो ।

विदेशी भाषामा सिजो ट्वाक्कै पार्न कठिन भनिए पनि नेपाली रचनामा स्वाद चाहिँ दिन नसकिने हैन । सिजोको स्वरूप र भावभूमिभित्र नेपाली अभिव्यक्ति राम्रै खुल्न सक्छ ।

कोरियाली छोटो शैलीको विशेष कविता सिजो कोरियाका राजा युरीको ईशापूर्व १७ औँ शताब्दीताक रचना गरेको मानिन्छ तर यो त्यसभन्दा पनि पहिला चिनियाँको प्रभाव कन्फुसियाली भिक्षु एघाराँै शताब्दीसम्म तन्काउने गरिन्छ । सिजोको जरा जति प्राचीन भए पनि यो पुरानो कविता शैली आज पनि त्यति नै प्रखर र प्रचलित छ । सिजोको स्पष्ट इतिहास लगभग ७०० वर्ष पुरानो छ । सन् १९०८ अघि परम्परागत सिजो प्रचलित थियो भने पछि आधुनिक सिजोको प्रारम्भ भयो ।

कोरियाको इतिहासमा ३६ वर्ष जापानले उपनिवेश बनाउँदा भाषा-साहित्यको मौलिकतामा ठूलो छायाँ पर्‍यो । जापानी ग्रहण हटेपछि पनि कोरियालीहरूको खुसी धेरै टिकेन र दुई कोरिया विभाजनमा गयो । यस्ता ठूला ऐतिहासिक प्रलयले सिजो साहित्यलाई पनि प्रभाव पर्‍यो । वास्तवमा निकैपछि सन् १९४० -५० को दशकमा आएर मात्र सिजोको पुनर्जागरण भयो । यो पुनस्र्थापनले सिजोलाई उठायो । सिजोका सङ्कलनहरू गरिए । अनुसन्धानहरू भए । सिजो सिर्जना र सैद्धान्तिक विकासले यसको पूर्ण उत्थान भयो । फलस्वरूप, सन् १९६० पछि थुप्रै सिजो कवि देखिए । सिजो पत्रिका प्रकाशनहरू भए । सिजो सङ्गठन बन्यो । सन् ७० देखि सिजोमा नयाँ प्रवृत्ति देखापर्‍यो । लामो सिजो सिर्जनामा आग्रहात्मक, संवेगात्मक सिजो लेखनमा आग्रह, तीन अक्षर ढाँचा बहिस्कार, बाल सिजो लेखनमा आग्रह, सिजो मण्डली क्रियाकलाप आदि र बाल सिजो र सिजो मण्डली कार्यकलाप उपयुक्त मानिँदा लामो सिजोमा आग्रह अथवा भावावेगको विरोधबाट सिजो पहिचानमा कठिन भयो । यसले सिजो र कविता छुट्याउन मुस्किल पर्‍यो ।

कोरियाको भाषा हाङगुल आविष्कार भएपछि सिजो प्रखर बन्यो । पहिलापहिला वर्णनात्मक गीतका रूपमा सिजो उठेको पाइन्छ । सिजो युवकयुवतीको प्रणयगाथा जस्तै पनि रचना हुने गर्थे । कोरियाको भाषा र हाङ्गुल लिपिको प्रकृतिअनुसार सिजो संरचना कसिलो, दरिलो र भरिलो हुने हुँदा नै अन्य भाषा लिपिमा त्यो रूप त्यति नखुल्ने मानिन्छ । कोरियाली वर्णमाला हाङ्गुल पन्ध्रौँ (१४४६) शताब्दीमा देखा पर्‍यो । यसैले पन्ध्र र सोह्र शताब्दीमा यसको उच्च विकास भयो । प्राप्त सर्वाधिक पुरानो तेह्रौँ-चौँधौँ शताब्दीमा रचना भएको देखिन्छ । त्यो ६-७ सय वर्ष पुरानो सिजोले बुढ्यौलीको कालानुभव प्रकृतिको सुन्दरता अभिव्यक्त छ ।

वासन्ती हिउँ पग्ल्यो वायु छुँदा पहाडमा
हरायो द्रूतगति पग्लिगयो अदृश्य इच्छामा
सापट मेरो कपाल उडाउन ।

उयर्युक्त सिजो (१२६२-१३४२) नै सर्वाधिक पुरानो मानिन्छ । सिजो जापानी हाइकुभन्दा पुरानो मानिन्छ । यसको पुर्खा हाइकु र ताङ्का चिनियाँ पौराणिक ढाँचामा आधारित छ । हाइकुको पूर्ण रूपभन्दा सिजोको पूर्णरूप पुरानो हो र यो अझ अभिव्यक्तिमा उन्मुक्त र गहिरोभावयुक्त मात्र हैन मनोहर र रसिलो छ । विषयवस्तुको परिपूर्णता, तुकान्त, अन्त्यानुप्रास वा छन्दोवद्धमा विभिन्नता र शब्द संरचना छनोट मुख्य मानिन्छ । बीसौँ शताब्दीको प्रथम चौथाइ चरणमा सिजोका बारे उत्पत्तिस्वरूप र संरचना विधिमा बढी विमर्शहरू भए । सोह्रौँ र सत्रौँ शताब्दीमा यो विकसित थियो । पुरानो सिजोमा अक्षर मिलाउने भए तापनि त्यसमा मात्र ध्यान नदिई सूक्ति वाक्यांश बनाउनु बल गरिन्थ्यो । सकभर पुरानो ३ हरफमा मिलेसम्म त्यसभित्रै रचना राम्रो हुन सक्छ । अङ्ग्रेजी र पाश्चात्य मुलुकमा सजिलोका लागि वाक्य टुक्र्याउने गरिएको छ । मुद्रणमा सम्पादकले सजिलोका लागि यो प्रचलन गरेको हुन सक्छ । सिजो जुन ढाँचामा लेखे पनि यसको आधारभूत संरचना बिगार्नु हुँदैन । यसको सङ्गीतात्मकता र गेयात्मकता तत्त्व पर्नैपर्छ र अन्तिममा अर्थात् सारलाई मोड्न, घुमाउन सक्नुपर्छ । नयाँ ढाँचाको सिजोमा आजको दिशा र चरित्र दिने दृष्टि नै आधुनिक सिजो हो । कोरियाको सिजो आधुनिक कविताजस्तै विम्ब सबै ढङ्गमा प्रस्तुत हुन सक्छ । हाइकु र अन्य छोटो कविताभन्दा सिजो यस अर्थमा सफल छ ।

(स्रोत : मधुपर्क २०६८ जेठ)

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.