अनूदित कविता : देवदूत

~खालिल जीब्रान~Khalil Gibran

[ खलिल जिब्रानको जन्म ६ डिसेम्बर १८८३ मा उत्तरी लेबनानको पहाडी जिल्ला बिसर्रीमा एउटा सामान्य परिवारमा भएको थियो। सानै उमेरदेखि उनी एकान्त मन पराउने खालका थिए। बाबुबाट उनले कुनै स्नेह पाएनन्। रक्स्याहा र झगडालु स्वभावका उनले परिवारको कुनै देखभाल गरेनन्। त्यसैले गरिबी र पारिवारिक कलहको कारण खलिलकी आमा १८९४ मा आफ्ना छोराछोरीसमेत अमेरिकाको बोस्टोनमा बसाइँ सरिन्। खलिलको शिक्षा अमेरिकामा र लेबनानमा भयो। उनमा साहित्यको रुचि सानैदेखि थियो। अरबी र पश्चिमी साहित्य र समकालिन दर्शनमा उनको राम्रो अध्ययन थियो। यसबाहेक चित्रकला उनको अर्को रुचिको विषय थियो। आफ्ना रचनाहरूलाई ठाउँ ठाउँमा सुहाँउदा चित्रहरूले सजाउने उनको शैली प्रभावशाली रहेको छ। १९१२ मा उनले सुश्री मेरी ह्यास्केलको मद्दतले न्युयोर्कमा एउटा स्टुडियो खोले र चित्र बनाउने काम गर्न थाले। जिब्रानको जीवनमा यी महिलाको ठूलो सहयोग रहेको थियो। सँगसँगै उनी साहित्य रचनामा लागिरहे। उनका सुरुका रचनाहरू अरबीमा लेखिएका थिए। पागल (१९१८, The madman) उनको पहिलो अङ्ग्रेजी कृति हो। १९२३ मा छापिएको देवदूत (The Prophet) ले उनलाई ख्याति दिलायो। आर्थिक स्थितिमा पनि सुधार ल्यायो।

देवदूतलाई उनको जीवन दृष्टिलाई लिएर लेखिएको रचनाको रूपमा लिइन्छ। खासमा उनले आफ्नो जीवन दृष्टिकोणलाई लिएर तीनवटा रचनाको एउटा सेरिजको योजना गरेका थिए। मानिस मानिसबीचको सम्बन्धलाई लिएर देवदूत लेखे। मानिस र प्रकृतिको सम्बन्धको उनको रचना देवदूतको बगैँचा (The garden of the Prophet) शीर्षकमा उनको मरणोपरान्त १९३३ मा आयो। मानिस र ईश्वरको सम्बन्धको विषयमा लेख्ने अवसर उनले पाएनन्। उनको सपना अधुरै रह्यो।

जिब्रानको जीवनमा धेरै महिलाहरू आए। उनको प्रेम प्रसङ्गहरू चर्चाको विषय बनिरह्यो। उनको मृत्युपरान्त उनको प्रेमिका हो भनेर दाबी गर्नेको सङ्ख्या पनि प्रशस्तै भयो। तर उनी अविवाहित रहे। प्रेम धेरैसँग गरे, तर विवाह कसैसँग पनि गरेनन्। विवाह गर्ने उनको उद्देश्य अकस्मात घातक रोगको कारण स्थगित भएको बताइन्छ। उनको स्वभाव नै यस्तो थियो कि महिलाहरू उनीसँग त्यसै आकर्षित हुन्थे। भनिन्छ कि बत्तीको अगाडि पुतली झुम्मिए झैँ महिलाहरू उनको वरिपरि झुम्मिन्थे। आफ्नो मुलुक र मुलुकबासीप्रति उनको अगाध स्नेह र श्रद्धा थियो। आफ्नो देश लेबनानको लागि बाचुञ्जेल आफ्नो ठाउँबाट योगदान गरि नै रहे जिब्रानले। १९३१ अप्रिल १० को रातको ११ बजे यी प्रतिभाशाली व्यक्तिको जीवन अल्पायुमै समाप्त भयो।

आत्मसंवाद

विदाइको दिन र मिलनको दिन एउटै हुन्छ होला?
अनि मेरो विलय वास्तवमै मेरो नयाँ उदय थियो भनेर मानिसहरूले भन्लान्?
जोत्दै गरेको हलो सियोमा चटक्क छोडेर हिँड्ने अनि अमृत निकालिरहेको कोलको पाङ्ग्रा टक्क रोक्नेलाई म के उपहार दिऊँ?
मेरो हृयय फलफूलले लटरम्म भएको वृक्ष बन्ला त, ताकि यिनै फल टिपेर तिनलाई अर्पण गर्न सकूँ?
मेरा कामनाहरू झरना जस्तै सलल्ल बग्लान् त, ताकि म तिनीहरूको अञ्जुली भर्न सकूँ?
प्रभुका हातले स्पर्श गर्ने विणाको तार हुँ त म? अथवा उहाँको सासले गुञ्जित हुने बाँसुरी पो हुँ कि?
मौनताको एक अन्वेषक हुँ म, अनि मौनतामा फेला परेको कस्तो खजाना ढुक्कसँग प्रदान गर्न सक्छु र म?
यो मरो बाली भित्र्याउने बेला हो भने कुन जमिनमा मैले बिउ रोपेको छु, र विस्मृतिको कुन याममा त्यसो गरेँ हुँला?
मैले मेरो दियो उठाउने क्षण यो नै हो भने त्यसमा प्रज्वलित ज्योति मेरो होइन।
मेरो दियो रित्तो र अँध्यारो नै मैले उठाउनु पर्छ,
र रात्रीका संरक्षक तिनै परिपालकले नै यसमा तेल सिञ्चन गर्नेछन्, अनि ज्योति पनि भर्नेछन्।
शब्दमा त उसले यत्ति कुरा मात्र बोल्यो। मनमा उब्जेका धेरै कुरा नबोलिएरै थन्किए। किनभने ऊ स्वयंले नै आफ्नो कुरा अभिव्यक्त गर्न सकेन।

अनुरोध

बस्तीका पाका मानिसहरू अगाडि सरे र बोले:
हाम्रा बस्तीमा तिमी प्रकाश भएर आयौ, तिम्रो यौवनले हामीलाई सपना देख्ने ताकत दिएको छ।
तिमी कुनै पराई होइनौ हाम्रा माझ, पाहुना पनि होइनौ। हाम्रा आफ्नै सन्तान हौ तिमी, हाम्रा परमपृय।
तिम्रो मुहारको भोको हाम्रा आँखालाई अझ नतड्पाऊ।
त्यसपछि विद्वान, विदुषीहरू अगाडि आए र भने:
समुद्रका छालहरूले हामीलाई विभाजित नगरून्, हाम्रा माझ तिमीले बिताएका दिनहरू स्मृति मात्र नबनून्। तिमी हाम्रा माझ उत्साह भएर गुज्रेका छौ, र तिम्रो छाया हाम्रो अनुहारमा प्रदिप्त ज्योति बनेर पोखिएको छ।
अपार प्रेम गरेका ‍छौँ हामीले तिमीलाई। तर मूक थियो हाम्रो प्रेम, घुम्टोभित्र लुकिराखेको छ यो।
तर अब यसले जोडले पुकार्छ तिमीलाई, बाहिर निस्केर तिम्रो अगाडि प्रकट खडा हुनेछ यो।
वियोगको यो अन्तिम क्षण नआइपुग्दासम्म प्रेमलाई स्वयं आफ्नो असीम गहिराइको कुनै बोध नै हुन सकेको थिएन।
र, एवम् रितले अरू पनि अगाडि आए र आफ्नो अनुनय निवेदन गरे उसका सम्मुख। तर उसको ओठबाट कसैका लागि जवाफ निस्केन। शिर निहुराइरह्यो उसले। नजिकै उभिरहेकाहरूले उसका आँखाबाट बलिन्ध्र धारा आसुँ छातीतिर बग्दै गरेको मात्र देखे।
अनि ऊ र ती सबै मानिसहरू मन्दिर अगाडिको ठूलो पटाङ्गिनीतिर लम्के।
र, त्यहाँ त्यस पवित्र गृहगर्भबाट एक स्त्री बाहिर निस्किन्। तिनको नाम अलमित्रा थियो। एक तपस्वीनी थिइन् तिनी।
अभिवादन गर्दै भनिन् तिनले:
हे देवदूत! हे अखण्ड साधक! तिमी आफ्नो जहाजको खोजिमा चिरकालदेखि भौँतारिरहेका छौ।
र अब तिम्रो जहाज आइपुगेको छ। तिम्रो जाने बेला भयो, तिमी जानुपर्छ।
आफ्नो स्मृतिको देश र हृदयमा सजाइराखेका ती महान अभिलाषाहरूको आश्रयस्थलका लागि तिम्रो मनमा धेरै गहिरो चाहना छ। हाम्रो प्रेमले तिमीलाई बाँध्ने छैन, हाम्रा आवश्यकताहरूले तिमीलाई बेर्ने छैनन्।
हामी यति मात्र अनुरोध गर्दछौँ कि तिमी प्रस्थान गर्नुअघि केही समय सत्सङ्ग गर्ने अवसर हामीलाई प्राप्त होओस्। ताकि हामी तिम्रा मुखारविन्दबाट केही अमृतवाणी श्रवण गर्न पाऔँ।
हामी यसलाई हाम्रा सन्तानमा सार्दछौँ, उनीहरू आफ्ना सन्तानमा हस्तान्तरित गर्नेछन्। एवम् क्रमले यो चिरकालपर्यन्त कहिल्यै विलय हुनेछैन।
तिमीले एकान्तमा हाम्रा दैनिकीलाई नियालेका छौ, र आफ्नो जागृतिमा हाम्रा निद्राका क्रन्दन र हाँसोलाई सुनेका छौ।
त्यसैले अब हामी आफू को हौँ भनेर हामीलाई चिनाइदेऊ, जीवन र मरणको बारेमा तिमीले देखेजानेका जति कुरा हामीलाई बताऊ।

देवदूत वाणी

१. प्रेम

जब तिमीलाई प्रेमले बोलाउँछ, निशङ्कोच तिमी त्यसलाई पछ्याऊ,
यद्यपि यसको मार्ग असाध्य र दुरूह छ।
र जब यसले आफ्ना पखेँटाहरूमा तिमीलाई समेट्न खोज्छ, आफूलाई उसमा समर्पण गरिदेऊ,
यद्यपि प्वाँखभित्रको अदृश्य छुरीले तिमीलाई घायल पनि पार्न सक्छ।
उसले तिमीलाई बताएका कुराहरूमा विश्वास गर,
यद्यपि चिसो सिरेटोले बघैँचा तहसनहस पारेजस्तै उसको बोलीले तिम्रा सपनाहरू चकनाचूर पारिदिन पनि सक्छ।
किनभने प्रेमले जसरी तिमीलाई ताज पहिर्याउँछ, त्यसै गरी शुलीमा टाँग्न पनि सक्छ। जसरी यो तिम्रो उन्नतिको द्योतक हो, त्यसै गरी तिमीलाई काँटछाँट गर्ने औजार पनि हो।
जसरी यो तिम्रो गजूरसम्म चढ्छ र सुर्यको लालिमामा तरङ्गित तिम्रा सुकोमल हाँगाहरूलाई मुसार्छ,
त्यसै गरी यसले तिम्रो जगैसम्म पुगेर तिम्रा जराहरूलाई खल्बल्याइदिन्छ।
मकैका घोगामा मिलेर रहेका दानाहरू जस्तै लयबद्ध उनेर यसले तिमीलाई आफूमा समाहित गर्दछ।
थचार्दै झाँटेर यसले तिमीलाई नङ्ग्याउँछ।
यसले तिमीलाई भुसबाट अलग्ग गरेर स्वतन्त्र गरिदिन्छ।
तिमीमा निख्खारता ल्याउन पिँध्छ यसले तिमीलाई।
मुलायम नहुञ्जेल यसले तिमीलाई बेल्छ।
अनि यसले तिमीलाई आफ्नो पवित्र अग्नीमा पकाउँछ ताकि तिमी प्रभुलाई अर्पण गर्न योग्य प्रसाद बन्न सकौ।
प्रेमले यो सब तिमीमाथि यसकारणले गर्दछ कि तिमीले आफ्नो अन्तस्करणको गूढ रहस्य बोध गर्न सकौ, र यो ज्ञानामृतमा खारिएर यस जीवनजगतको महास्पन्दनको एक अभिन्न अंशको रूपमा तिम्रो कायाकल्प हुन सकोस्।
तर यदि भयवश तिमीले प्रेमको नाममा शान्ति र उल्लासको मात्र कामना व्यक्त गर्यौ भने, तब तिम्रो लागि आफ्नो मौलिकतालाई छोपछाप पारेर प्रेमको यस प्रशोधनशालाबाट भाग्नु नै श्रेयस्कर हुनेछ,
जीवनहीन त्यो संसारमा, जहाँ तिमी हाँस्नेछौ तर पूर्ण हाँसो हाँस्न सक्ने छैनौ, जहाँ तिमी रुनेछौ तर तिम्रा आँसुले तिमीलाई पूरै साथ दिने छैनन्।
प्रेमले स्वयं आफू सिवाय केही दिँदैन र आफूसँग बाहेक अरूसँग केही लिँदैन।
प्रेमले कसैमाथि अधिकार पनि देखाउँदैन, र कसैको अधिनस्थ पनि हुँदैन।
किनभने प्रेम स्वयंमा परिपूर्ण छ।
तिमी प्रेमभावले ओतप्रोत छौ भने तिमीले “मेरो हृदयमा भगवानको बास छ” होइन “भगवानको हृदयमा मेरो बास छ” भन्न सक्नुपर्दछ।
र, प्रेमको धारालाई डोर्याउन सक्छु भन्ने कदापि नसोच। किनभने प्रेमलाई तिमी सतपात्र हौ भन्ने लाग्यो भने यसले नै तिमीलाई बाटो देखाउँछ।
स्वयंलाई परिपूर्ण पार्नुबाहेक प्रेमको अरू कुनै अभिलाषा छैन।
तर तिमी प्रेममा छौ र तिम्रा आवश्यकताको लागि कामनाको जरुरी भएछन् भने तिम्रा कामना यिनै होऊन्:
द्रविभूत भएर रातलाई सुमधुर गीतले सिङ्गार्न सक्ने मधुर झरनाजस्तो हुन सकूँ।
अति कोमलताको वेदना अनुभूत गर्न सकूँ।
आफ्नै प्रेमको अनुभूतिले मर्माहत हुन सकूँ।
इच्छापूर्वक र आनन्दभावले रगत बहाउन सकूँ।
प्रभातमा मेरो जाग्राम मुक्त हृदयले युक्त होओस् र अर्को एउटा प्रेमपूर्ण दिनको लागि प्रभुलाई कृतज्ञता ज्ञापन गर्न सकूँ।
सन्ध्यामा कृतज्ञभावले घर फर्कन सकूँ।
अनि रातमा परमपृयको लागि हृदयमा प्रार्थना र ओठमा स्तुति भर्दै निद्रादेवीको काखमा प्रवेश गर्न पाऊँ।

२. विवाह

तिमीहरू एकसाथ जन्मेका थियौ र जन्मजन्मान्तर साथसाथ रहनेछौ।
मृत्युको पञ्जाले तिमीहरूको जीवन चकनाचूर पार्दा पनि तिमीहरू एकसाथ रहनेछौ।
र, प्रभुको मौन स्मृतिमा पनि तिमीहरू एकसाथ रहनेछौ।
तर आफूहरूको बीचमा एउटा सानो अवकाश कायम रहन देऊ।
त्यो स्थानमा स्वर्गीय पवनलाई रमाउन देऊ।
एक अर्कालाई प्रेम गर, तर प्रेमको बन्धन नबनाओ।
प्रेमलाई दुई आत्माको किनारको बीच भएर बग्ने पवित्र गङ्गा बन्न देओ।
एक अर्काका घडा भर्दै जाओ तर एउटै घडाबाट नपिओ।
एकअर्कालाई आफ्नो भोजनबाट भाग लगाओ तर एउटै भाग दुबैले नखाओ।
नाचगान सँगै गर र एकसाथ आनन्दित पनि होऊ, तर एकअर्कालाई एकान्तको अवसर पनि देऊ।
विणाका तारहरू अलग-अलग नै छन् तर तिनीहरू एउटै तालमा बज्दछन्।
आफ्नो हृदय समर्पित गर तर परस्परको जिम्मामा चाहिँ नछोड।
किनभने जीवनको मुठ्ठीमा तिम्रो हृदय अटाउँछ।
र, एकसाथ उभिऊ तर असाध्यै नजिक कहिल्यै नहोऊ।
किनभने मन्दिरका खम्बाहरू पनि निश्चित दुरीमा खडा भएका हुन्छन्।
उत्तिस र कटुसका विरुवाहरू पनि एकअर्काका छायामा हुर्किन सक्दैनन्।

३. सन्तान

तिम्रा सन्तान तिम्रा हैनन्।
तिनीहरू जीन्दगीको स्वयंप्रतिको मोहका परिणाम हुन्।
तिनीहरू तिम्रा माध्यमबाट गुज्रेका हुन्, तिमीबाट निःसृत होइनन्।
र तिनीहरू तिम्रो साथमा हुँदाहुँदै पनि तिमीसँग सम्बन्धित छैनन्।
तिमी उनीहरूलाई प्रेम दिन सक्छौ तर विचार नदेऊ,
किनभने तिनीहरू आफैँ विचारवान् छन्।
तिमी उनीहरूका शरीरलाई बाँध्न सक्छौ तर तिनका आत्मालाई सक्दैनौ,
किनभने तिनका आत्मा भोलिको संसारमा बाँचिरहेका हुन्छन्, त्यो संसार जहाँ तिमी कहिल्यै पुग्न सक्दैनौ – सपनामा पनि सक्दैनौ।
सक्छौ भने तिमी आफैँ उनीहरू जस्तो बन्न खोज, तर उनीहरूलाई आफूजस्तो बनाउन कदापि प्रयाय नगर।
किनभने जीन्दगी पछि फर्केर हिँड्दैन, विगतमा अल्झिएर बस्न पनि यो सक्दैन।
तिमी त धनु जस्तै हौ जसबाट बाँणरूपी केटाकेटी उछिट्टिएर बाहिर निस्कन्छन्।
धनुर्धारीले अनन्तमा कतै निशाना देखेको हुन्छ, र त्यसैले आफ्नो बाँण द्रुत गतिमा धेरै टाढासम्म पुगोस् भनेर शक्तिले भ्याएसम्म खैँचेर तिमीलाई आफूतिर तान्छ।
धनुर्धारीको हातमा ताँदो चढाइको लक्ष्य तिम्रो आनन्दको लागि हो,
किनभने ताँदोबाट छुटेको बाँणलाई ऊ जति स्नेह गर्छ, आफ्नो हातमा स्थिर धनुलाई पनि ऊ त्यत्तिकै प्रेम गर्दछ।

(यहाँ जिब्रानको देवदूतको केही अंशलाई अनुवाद गरेर प्रस्तुत गरेको छु। शीर्षकहरू मूल लेखनीमा छैनन्। सहजताको लागि थपिएका हुन्। पुस्तकको बाँकी खण्डमा पनि उनको काव्यात्मक शैली छताछुल्ल भएर पोखिएको छ। एकचोटी मात्र पढेर धित मर्दैन। जिब्रानका अन्य कृतिहरूमा पनि काव्यिक शैली प्रखर रहेको पाइन्छ – हरेक वाक्य पेचिला, मर्मस्पर्शी र भावले गह्रुँगा। मानौँ उनको पुस्तक एउटा ठूलो बगैँचा हो जसका एक एक वाक्य एक एक फूल। शीर्षक छुट्टयाउँदा बीचबीचका केही हरफहरूको अनुवाद यहाँबाट हटाइएका छन्। अनु. – अलर्क।)]

(स्रोत : माइ संसार डट कम)

This entry was posted in अनूदित कविता and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *