अनूदित कथा : खोलिदेऊ

~सअदत हसन मण्टो~Sadat Hasan Manto
अनुवाद : सरोज देवकोटा

अमृतसरबाट दिउँसो २ बजे छुटेको त्यो खास रेलले मुगलपुर, लाहोर आइपुग्न झन्डै ८ घण्टा लगायो । कति मानिस त बाटोमै मारिएका थिए, कति घाइते र कैयौं त हराएका पनि ।

सिराजुद्दिनलाई होसमा फर्कन भोलिपल्टको १० बज्नुप¥यो । ऊ खाली मैदानमा ढलेको थियो । महिला, पुरुष र अन्य केटाकेटीले उसलाई घेरा हालेर होहल्ला मच्चाइरहेका थिए । हुन त यसले उसलाई केही प्रभाव पारेको थिएन ।

ऊ नचल्मलाई नीलो आकाशमा एकटक हेरिरहेको थियो । होहल्ला र त्यस माहोललाई उसले खास वास्ता गरेन । एक अपरिचित व्यक्तिका लागि त ऊ गहिरो चिन्तनमा परेको बूढो मानिसझैं देखिन्थ्यो । तर, कुरा खास अर्कै थियो । ऊ त समस्यै समस्याले झेलिएको र मर्माहित भएको अपांगझैं थियो ।

अन्तमा उसले आँखा खोल्यो, डुलायो र एक्कासि सूर्यलाई नियाल्यो । अनि फेरि आँखाका ढोका बन्द ग¥यो । उसका आँखामा फिल्मको रिल नाचेभैंm तस्बिरहरू नाच्न लागे ।
आक्रमण … आगो … फरार … रेल स्टेसन … रात … । र सकिना ।

ऊ एक्कासि उठ्यो र त्यो शिविरको भीडमा कसैलाई खोजेझैं गर्न थाल्यो ।

उसले घण्टौं लगाएर कसैलाई खोज्यो र ‘सकिना ! सकिना !!’ भन्दै आफ्नी छोरीलाई चिच्याएर बोलायो । ऊ रोयो । तर सकिनालाई कहीँ भेट्न सकेन ।

शिविरभरि होहल्ला मच्चिसकेको थियो । मानिसहरु यताउति कसैको खोजीमा तल्लीन रहेझैं देखिन्थे । सिराजुद्दिनले भने हार मानिसकेको थियो । भीडभन्दा अलि पर भुइँमा ऊ थचक्क बस्यो र केही सम्झने कोसिस ग¥यो । उसकी छोरी सकिना र श्रीमतीबाट ऊ कसरी अलग्गियो भनेर सोच्यो । अनि दिव्यप्रकाश आएझैं एउटा तस्बिर उसका आँखामा नाच्न थाल्यो, उसकी श्रीमतीको नांगो तर मृत शरीर !

सकिनाकी आमा पहिल्यै मरिसकेकी थिई । यो धु्रवसत्य थियो । उसकै आँखाअगाडि ऊ मरेकी थिई । उसले निकालेको अन्तिम आवाज आज पनि सिराजुद्दिनको कानमा गुञ्जन्छ कहिलेकाहीँ, “मलाई यहीँ छाड्नुस्, छोरीलाई यहाँबाट टाढा लैजानुस् ।”

बाउ–छोरी त्यहाँबाट भागेका थिए, हावाको वेगसँगै दगुरेका थिए । सकिनाको पछ्यौरी भुइँमा खसेको थियो र ऊ टिप्न निहुँरिदा छोरीले ‘बाबा, भैगो, छाड्दिनुस्’ भनेकी थिई ।
उसले गोजीमा हात हाल्यो । भुक्क फुलेको गोजीमा केही भएको महसुस ग¥यो । त्यो कपडाको टुक्रा थियो । हो, उसलाई याद आयो– सकिनाको त्यही पछ्यौरी थियो, जुन उनीहरु भाग्दा भुइँमा खसेको थियो ।

तर, सकिना खोइ ? कहाँ छे ? ऊ फेरि रोयो ।

के सकिना ऊसँग हेल स्टेसनसम्म आएकी थिइन ? के रेलको डिब्बामा सकिना ऊसँगै बसेकी थिई ? के रेलमा छाडेका ती बन्दुकधारीले उसलाई लगे त ?

उसलाई केही सम्झना आएन ।

जिज्ञासाहरू धेरै थिए तर उत्तर थिएन । उसलाई डाँको छाडेर रुन मन लाग्यो तर आँसु सकिइसकेका थिए । अब हार मान्नु हुँदैन, केही गर्नुपर्छ भनेर ऊ जुरुक्क उठ्यो ।

उसले केही पर बन्दुक बोकेका ८ आठ युवा देख्यो । सहयोग माग्ने विचार ग¥यो । स्टेसनमा छुटेका केही महिला र केटाकेटीलाई यी युवाहरूले उद्धार गरेको सुनेको थियो उसले । अनि उसले छोरीको परिचय खुल्ने विवरण सुनायो– भेटिने आशामा ।

“मेरी छोरी सुन्दर र राम्री छिन् । १७ वर्षकी, ठूला आँखा, कालो कपाल र देब्रे गालामा कालो कोठी । मेरी छोरी खोजिदिनुस् । भगवान्ले तपाईंहरूको कल्याण गर्नेछन् ।”

ती युवाहरूले सिराजुद्दिनलाई भने, “तपाईंकी छोरी जीवित भए हामी खोजेर ल्याइदिनेछौं ।”

उनीहरूले कोसिस नगरेका पनि होइनन् । आफ्नै जीवनको परवाह नगरी अमृतसर गएर उनीहरुले धेरै महिला र केटाकेटीको उद्धार गरेका थिए । तर, उनीहरूले सकिनालाई भेट्टाउन सकेका थिएनन् ।
फेरि पनि खोजीमा निस्किँदा उनीहरूले एउटी केटीलाई बाटोछेउमा भेट्टाएका थिए । शायद उनीहरुसँग डराएर त्यो केटी भागेकी पनि थिई । ट्रकबाट ओर्लेर उनीहरू त्यो केटीको पछाडि कुदेका थिए र खेतको गह्रामा उसलाई भेट्टाएका थिए । ऊ राम्री थिई र देब्रे गालामा कालो कोठी पनि थियो । त्यसमध्ये एकजनाले भनेको थियो, “तिमी नआत्तेऊ । तिम्रो नाम सकिना हैन र ?”

ऊ पहेँली भएकी थिई र निकैबेर नियालेपछि आफू सिराजुद्दिनको छोरी सकिना भएकी बताएकी थिई ।

ती युवकहरू निकै दयालु देखिन्थे । उनीहरूले सकिनालाई खाना खुवाए, पिउन दूध दिए र ट्रकमा बसाए । एक जनाले त आफ्नो ज्याकेट नै दिएको थियो । आफ्नो पछ्यौरी नभएर अप्ठ्यारो मानेकी सकिनाले केही सहज महसुस गरेकी थिई ।

धेरै दिन बितिसक्दा पनि सिराजुद्दिनले छोरीको खबर पाउन सकेको थिएन । ऊ सबै समय शिविरमा यताउता दगुरीमात्र रहन्थ्यो । हरेक रात ती युवाहरूले छोरी भेटून् भनेर भगवान्सँग कामना गथ्र्यो ।
‘तपाईंकी छोरी जीवित भए हामी खोजेर ल्याइदिनेछौं’ भनेकाले ऊ छोरी भेटिने आशामा थियो ।

एकदिन उसले शिविरमा ती युवाहरू देख्यो ।

“बाबु, तपार्इंहरूले मेरी छोरी सकिनालाई भेट्नुभयो ?” उसले गम्भीर मुद्रामा सोध्यो ।

उनीहरूले ‘भेट्टाउँछौ, भेट्टाउँछौं’ भनेर एकै स्वरमा जवाफ दिए । सिराजुद्दिनले उनीहरूका लागि प्रार्थना ग¥यो र केही शान्ति महसुस ग¥यो ।

त्यस रात शिविरमा केही अप्रत्याशित घटना घट्यो । चार युवकले भर्खरै रेलको लिकमा भेटिएकी बेहोस देखिने एउटी जवान केटीलाई बोकेर ल्याएको उसले देख्यो । ती युवकले जवान केटीलाई बोकेर अस्पतालमा ल्याएका थिए । ऊ ती युवाहरूको पछि लाग्यो र अस्पतालसम्म पुग्यो । केही समय बाहिर उभियो र भित्र पस्यो ।

एउटा शय्यामा एउटी जवान केटी सुतिरहेकी देख्यो । बत्ती बल्यो, एउटी राम्री केटी, देब्रे गालामा कालो कोठी !

“सकिना ! सकिना !!” सिराजुद्दिन करायो ।

भर्खरै बत्ती बालेका एक डक्टरले सिराजुद्दिनलाई एकोहोरो हे¥यो ।

“म यिनको पिता हुँ,” ऊ भक्ककायो ।

डक्टरले अर्धचेत शरीरलाई नियालेर हे¥यो र नाडी छाम्यो । अनि बूढा मानिसतिर फर्केर भन्यो, “झ्याल खोल्देऊ ।”

शय्यामा सुतेकी केटी बिस्तारै चलमलाई । उसको कानमा ‘खोल्देऊ’ शब्द प¥यो । ऊ उठी । आफ्नो हात सुरुवालको तुनामा पु¥याई । साह्रै डराउँदै र बिस्तारै तुना फुकाली । सुरुवात तल घुँडासम्म पुग्ने गरी खोली र आफ्नो नांगो तिघ्रा देखाई ।

छोरी उठेको देखेर सिराजुद्दिन हर्षले बुरुक्क उफ्रियो ।

“मेरी छोरी जिउँदै छे डाक्टरसा’ब, मेरी छोरी जिउँदै छे,” ऊ खुसीले चिच्यायो ।

तर, डक्टर पसिनाले निथ्रुक्क भिजिसकेका थिए ।

(स्रोत : बाह्रखरी डट कम)

This entry was posted in अनूदित कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *